Thursday, July 19, 2012

केही शव्द पहिला 'सुपरस्टार' राजेशको नाममा

फिल्म आराधनाबाट सुपरस्टार घोषित भएका भारतीय अभिनेता राजेश खन्नाको मृत्युले बलिउडलाई शोकमग्न बनायो । हिन्दि सिनेमाको लभस्टोरीका प्रमुख फ्याक्टरका रुपमा उनलाई बुझिन्थ्यो । खास परिवारले धर्मपुत्रका रुपमा उनलाई पालेका थिए । 

१९४२ मा जन्मिएका खन्नाको २०१२ मा क्यान्सरकै कारण मृत्यु भयो । जवकी अमिताभ बच्चनसँगको ड्वेड मुभी आनंदमा उनले क्यान्सर रोगीको भुमिका निर्वाह गरेका थिए । काका उपनामले बलिउडलाई हल्लाएका खन्नाका बारेमा हिन्दिमा एउटा नयाँ उखान बनेको थियो–‘उपर आका, निचे काका’ । ७० को दशकका गजवका अभिनेता खन्नाको सेतो कारमा त्यस वखतका केटीहरुको चुम्वाको वर्षा यतिसम्म हुन्थ्यो की कार नै रातो हुन्थ्यो । ‘ए जो महोव्वत है, ए उनका है काम’ जस्ता गीतमा अभिनय गरेका खन्नाको हात माथि राख्ने तथा टाउको हल्लाउने उनको अन्दाज फरक थियो ।
डिम्पल कवाडीयाको पहिलो फिल्म बबी रिलिज नहुँदै उनको सुन्दरतामा माथ खाएका खन्नाले डिम्पलसँग विवाह गरेपछि बबी रिलिज भएको थियो । सोलो मुभी खेल्न रुचाउने खन्नाले आफ्नो ४० वर्षे वलिउड यात्रामा एक सय ६३ फिल्म खेले जसमध्ये एक सय ६ फिल्महरु उनका सोलो थिए । उनी सोलो फिल्मखेल्न रुचाउने र अलि घमण्डी व्यवाहारका थिए । निर्देशक जिपी सिप्पीको फिल्मबाट बलिउडमा प्रवेश गरेका खन्ना १० हजार जनाको रियालिटी शोमा अभिनयमा प्रथम पनि भएका थिए ।
 
बाँकी आगामी पत्रपत्रिकामा गजवको स्टोरी बनाउने प्रयत्नमा छु, राजेश खन्नाका भित्रि कुराहरु हेर्दैगर्नुहोला विभिन्न पत्रपत्रिका ।

Wednesday, July 18, 2012

'परिश्रम गर्न जानियो '


१५ महिना अघि नेपाल छाड्दा विदेशको काम कस्तो न होला भन्ने रहरले भुइमा खुट्टा थिएन दिनेश विष्टको । सप्तरी फत्तेपुर घर भएका विष्ट अहिले कतारमा नियमित र राम्रोसँग काम गरिरहेका छन् । एक सेल्स कम्पनीमा काम गरिरहेका उनको अनुभव उनकै शव्दमा : 

अहिले म यहाँको पिएसएस भन्ने एक मार्केटिङ कम्पनीमा काम गरिरहेको छु । यसले हरप्रकारका सामानहरु विक्रिवितरण गर्दछ । यहाँको कार्यकारी वितरकको पदमा रहेर काम गरिरहेको छु । तलव पनि सन्तुष्टि छ । म व्यक्तिगत तानुवा भिसामा आएका कारण मैले विभिन्न दलाल कम्पनीहरुको समस्या खेप्नु परेको छैन । एक हजार पाँच सय रियालजति कमाउन सकिन्छ । त्योभन्दा बढि पनि कमाउन सकिन्छ । यहाँ निक्कै नेपालीहरु काम गरिरहेका छन् । दोहाको उमसलाला भन्ने ठाउँमा बसिरहेको छ । यहाँ आएको १५ महिना भयो । भिसा र टिकट गरेर ५० हजार रुपियाँ नेपाली खर्च गरेर आएको हुँ । म्यानपावर कम्पनीमार्फत आएको भए त एक लाखभन्दा ज्यादा खर्च हुने रहेछ ।
मैले यहाँ १५ महिना काम गर्दा जानेको मुख्य कुरा मेहनत गर्न हो । मेहनत गर्नेलाई पुरस्कार र कानुन मिच्नेलाई कडा दण्ड दिने कतारको नियम छ । यहाँ आउनेहरुले कतारको कानुनको बारेमा जान्नु निक्कै आवश्यक छ । नेपाली कानुनजस्तो छैन । अवसर दिने र मेहनत पनि कडा गर्नुपर्ने यहाँका कम्पनीहरुको नियम हुन्छ । तेस्रो मुलुकको भएका कारण केही समस्या महसुस गरेतापनि विस्तारै कतारको अनुभवी कामदार हुँदा यहाँ सम्मान गर्ने प्रचलनपनि रहेछ । भाषा, कतारको धार्मिक संस्कृति, परम्परा र यहाँको राज्यको नियमलाई सम्मान नगर्ने, नेपालको जस्तो संगठित रुपमा असन्तुष्टि राख्नेहरुका लागि ठाउँ रहेनछ । समस्या परेपनि सम्बन्धित कम्पनी अथवा नेपाली दुतावास हुँदै नियमसंगत गयोभने न्याय पाउनसकिने व्यवस्था हुनसक्छ । अन्यथा यहाँ अरु कुनै विकल्पले काम गर्न सक्तैन ।
दलालहरुले विभिन्न कम्पनीहरुको नाममा ठगेर नेपाली मजदुर पठाएका कारण समस्यामा पर्दा रहेछन् । तर, काम बुझेर, विश्वासिलो मानिसमार्फत आए काम पाउन र तलवमा पनि समस्या हुँदैन । हचुवाका भरमा लोभमा फँसेर आउने समस्यामा पर्छन । म सेल्समा काम गर्ने भएका कारण सडकमा पनि गाडी लिएर हिँड्नुपर्छ यहाँको सडक नियमपनि राम्रोसँग बुझ्नुपर्दछ । अन्यथा सवारी दुर्घटनामा निक्कै नेपाली परेर घाइते भएका छन् । यहाँको वातावरण अनुकुल हुन असहज हुन्छ त्यसकारण वातावरण र कामबारे प्रष्ट जानकार भएर आउनु राम्रो कुरा रहेछ । मलाई सुरुमा एडजष्ट हुन निक्कै कठिन भएको थियो, अहिले त बानीपरिसकेको छु ।

नेपाली माटोमा मलेशियाको अनुभव

विनोद ढकाल
काठमाडौ किर्तिपुरका उव्जनीयोग्य जमिनको अवलोकनमा जाने हो भने अहिलेपनि कम्मरमा पटुकी बाँधेर विभिन्न उत्पादनमुलक काममा खटिएका समुहहरु देखिन्छन् । उनीहरु खेतका गरामा वैठक गर्छन् र कस्तो उत्पादन गर्दा सजिलो होला भन्ने छलफल गर्छन् । के महिला के पुरुष सवैले आफ्ना विदेशको अनुभवलाईपनि साटिरहेका भेटिन्छन् । खासगरी, मलेशियामा गरिएको कृषिका विभिन्न उत्पादनमुलक कामको अनुभव साटेर उनीहरु नयाँ कामलाई कसरी थाल्ने ? भन्ने चर्चा गरिरहेका हुन्छन् । किर्तिपुर, बालाजु, साँगा क्षेत्रका उत्पादनमुलक जमिनमा देखिने भिँडहरु अचेल यस्तै अनुभवीहरुको हुने गरेको छ । त्यसो त काठमाडौं बाहिरका जिल्लाहरुमा पनि विदेशको अनुभवलाई आफ्नो पेसामा उपयोग गरेर सन्तुष्ट हुनेहरु पनि कम छैनन् । उनीहरु त गाउँकै उदाहरण समेत बनेका छन् ।
नगरे केही हुन्न तर गरे जेपनि हुनसक्छ भन्ने उदाहरणका यस्तै पात्र हुन् बागलुङ्का टिका अविरल । पाँच वर्ष मलेशियामा कृषि क्षेत्रमा काम गरेर फर्केका टिकाले अहिले गाउँमै कृषि उत्पादनको काम थालेका छन् । बाहै्रमास हुने तरकारी खेतीको प्राविधिक ज्ञान लिएर आएका अविरलले अहिले वागलुङ्मा पनि त्यस्तै खेती थालेका छन् । भन्छन्–‘मलेशियामा हामी श्रमिकका रुपमा काम सिकेर आएका छौं । त्यहा विदेशी प्रविधिको उपयोग र नेपाली श्रम खर्च भइरहेको छ । हामीकहाँ प्रविधि भित्राउने हो भने श्रम खर्च गर्न सक्छौं, जसको राम्रो उपयोग हुने मैले देखेको छु ।’ ग्रामिण भेगबाट युवाको लर्को परदेशतिर लम्किरहेका वेला उनीभने परदेशबाट फर्केर आफ्नै गाउँमा उत्पादनमुलक काम गरिरहेका छन् । ‘विदेश जाने र त्यहाँको सीप सिकेर नेपालमै आएर प्रयोग गर्दा राम्रो हुन्छ ।’ उनी भन्छन्–‘विदेशको काममा गएर हर क्षेत्रको ज्ञान बटुलेर त्यहाँ कमाएको पैसाले नेपालमा लगानी गरे राम्रो हुन्छ ।’
मरुभुमी र जंगलमात्र भएका खाडी तथा मलेशिया र इजरायलजस्ता ठाउँमा कृषि उत्पादन बढ्दो छ । जहाँ नेपाली युवाहरु अवसरको खोजीमा हज्जारौंको संख्यामा पुगिरहेका छन् । लामो समय बसेर फर्केकाहरु अनेक पेसा गरिरहेका छन् तर यस्ता व्यक्तिहरु पनि छन जसले त्यहाँ सिकेको उत्पादनमुखी सीपलाई देश अनुकुल बनाएर प्रयोग गरिरहेका छन् । मलेशियामा कमाएको दुईचार लाख रुपियाँ जम्मा पारेर अहिले कृषि क्षेत्रमा लगानी गर्नेको संख्या पनि बढ्दै गइरहेको छ । काठमाडौंमै हाइड्रो एग्रोटेक नामक कृषि फार्म नै खोलेर बसेका छन्, मलेशियामा लामो समय कृषि क्षेत्रमा काम गरेर फर्केका व्यक्तिहरु । धनबहादुर देवान, लोप्टन देवान, मङ्गलसेन लिम्बु र सुरेन्द्र लिम्बुले अहिले संयुक्त रुपमा बङ्गुरपालन र तरकारी खेतीमा हात हालेका छन् । ‘विदेशमा लामो समय काम गरियो, त्यहाँ सँगालेको अनुभवलाई आफ्नै भुमीमा प्रयोग गर्नुको मज्जा नै वेग्लै हुन्छ ।’ धनबहादुर भन्छन्–‘नदेखी र नसिकी केहीपनि जानिँदैन, विदेश गएर सिकेको सीपलाई फर्केपछि उपयोगी बनाउनुपर्छ भन्ने नै हो । मलेशियामा लामो समय बसुन्जेल सिकेको कृषिसम्बन्धि सीपलाई हामीले संयुक्त रुपमा यहाँ प्रयोग गरेका छौं ।’
विदेशमा कामदारका रुपमा खटेर नेपाल फर्किएका सीपालुहरु कामदारबाट मालिक बन्ने धोकोमा छन् । राज्यको कृषि उत्पादन दैनिकजसो खस्किएपनि कृषिमै सम्भावना देखेर फर्किएका अनुभवीहरुलाई सहयोग गरिरहेका व्यावसायीक तरकारी उत्पादक कृषक सञ्जालका संयोजक रमेश तुफानका अनुसार विदेशको अनुभवलाई नेपालमा उपयोग र उपभोगमुखि बनाउने काम सुरु भएको छ । सन् २००२ देखि २०१० सम्म मलेशियामा नेपाली श्रमिकको श्रम, उनीहरुले गरेको कामबारे अध्ययन र अनुसन्धानमा खटिएका उनले मलेशियाबाट नेपाल फर्किएका श्रमिकहरुलाई उत्पादनमुखि कामको एउटै धागोमा बाँध्ने प्रयास गरेका छन् । भन्छन्–‘मलेशियामा एडभान्स टेक्नोलोजीमा खेती भइरहेको छ तर श्रमखर्च गर्नेचाँही नेपाली । अध्ययनका क्रममा नेपाल भन्दा कयौं गुना कमजोर माटोलाई उनीहरुले नेपाली श्रम र आधुनिक प्रविधिलाई प्रयोग गरेर उत्पादनमुखि बनाएका छन्, त्यहाँ कामगरेका नेपाली स्वदेश फर्किएपछि किन त्यसो नगर्ने भन्ने विचारले संगठित र सम्पर्कमा रहेर अहिले कृषि उत्पादन सम्बन्धि कामको सुरुआत भएको छ ।’
मलेशियाको वंजड जमिन थियो क्यामरुन हाइलेन । उच्च स्थानमा रहेको त्यो जंगल नेपाली श्रमिकहरुको पसिनाले अहिले उर्वर भुमी भएको छ । चिनियाँ कम्पनीको टेक्नोलोजी र नेपालीको श्रमका कारण जंगलमा पनि कृषि उत्पादन गर्न सकिने भएपछि सोही क्षेत्रमा लामो समय काम गरेर आएका धेरै मेहनती अहिले नेपालमा नै कृषि उत्पादनमा लागेका छन् । उनीहरुले मेहनत गरे विदेशमा सिकेको सीपलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण दिएका छन् ।  क्यामरुन हाइलेन मलेशिया सरकारले त्यहाँका विद्रोही कम्युनिष्टहरु राख्ने जंगल थियो । तर, प्रविधि र श्रमलाई मुख्यविन्दुमा राखेर विकासको गति पक्रेको मलेशियाले अहिले सो भुमीलाई उत्पादनमुखीमात्र बनाएको छैन, एग्रो टुरिजमस्थलका रुपमा नामाकरण गरी पर्यटक पनि भित्राइरहेको छ । जहाँ पाँच सयभन्दा बढि नेपाली श्रमिकको पसिना खर्च भएको थियो । अहिलेपनि मलेशिया जाने प्रायः नेपाली श्रमिकहरु सोही स्थानमा पु¥याउने गरिएको छ ।
कृषिमा राज्यले कस्तो नीति बनाउँदैछ, कस्तो सहयोग गर्दछ भन्नेबारेमा पनि उनीहरुलाई कुनै चासो छैन । राज्यले कृषिलाई उपेक्षा गरेपनि नेपाली भुमिमा कृषिको विकल्प छैन भन्ने उदाहरण बनेका छन्, मलेशियाबाट फर्किएका नेपालीहरु । विदेशको अनुभव र व्यक्तिगत तथा सामुहिक लगानी गरेपनि कृषि अर्थतन्त्रमा थोरै प्रभाव पार्न सकिने सोच उनीहरुले बनाएका छन् । अहिले काठमाडौं लगायत विभिन्न जिल्लामा एकअर्काले गरेको अनुभवलाई आदानप्रदान गरी सामुहिक रुपमा पनि विभिन्न तरकारी खेती थालेका छन् । ‘बाह्रैमास हुने टमाटर खेती पनि सुरु गरिएको छ । हरिसिद्धि, खोकना, लेले, थली, मुलपानी, साँखु लगायतका क्षेत्रमा पनि यसरी खेती थालिएको छ, जसको सम्भावना राम्रो छ ।’ रमेश भन्छन्,‘दुई सय जति साना–साना समुहहरु बनाएका छौं । नेपाल फर्किएर काम गर्न चाहने इच्छा भएकाहरु अहिले कृषिमा नै आकर्षित भएको हामीले पायौं ।’ वागलुङ, स्याङ्जा, भोजपुर, ताप्लेजुङ लगायतका जिल्लाहरुमा पनि अहिले मलेशियामा श्रम खर्च गरी अनुभव बटुलेर आएका व्यक्तिहरु कृषितर्फ आकर्षित भएका छन् । उनीहरुले पनि व्यावसायिक खेतीको सुरुआत गरेका छन् । र, नयाँ प्रविधिलाई कसरी भित्राउनसकिन्छ भनेर सल्लाह पनि गरिरहेका छन् ।
नेपालमा पनि राम्रो काम गर्न सकिन्छ भन्ने चेतना मलेशियामा काम गर्दाको अनुभव र सीपबाट ने प्राप्त भएको भन्ने उनीहरुले ठानेका छन् । नगर्दा केही हुन्न तर सामुहिक रुपमा गर्नचाह्यो भने जेपनि गर्नसकिन्छ भन्ने धारणा उनीहरुको छ । ‘विदेशमा गएर कमाएको पैसालाई स्वदेशमा कसरी उत्पादनमुखि बनाउन सकिन्छ भन्ने सोच राखेर विदेशतिर गएमात्र भोलीको पारिवारिक तथा देशको पनि भविष्य उज्वल हुनसक्ने सन्देश दिन चाहेका हौं ।’ रमेश भन्छन्,‘विदेशमा मजदुरमात्रको काम गरेका हामी नेपाली, मजदुर र मालिकको भुमिकामा देखिनसक्नुपर्छ भन्ने हाम्रो अभियान हो ।’
अहिले पाँच लाखभन्दा बढि युवाहरु मलेशियामा कार्यरत छन् । झण्डै तीस प्रतिशतभन्दा ज्यादा नेपाली श्रमिकहरु कृषि क्षेत्रमा कार्यरत छन् । अन्य भने निर्माणमा क्षेत्रमा कार्यरत रहेका छन् । अहिलेपनि मलेशियामा नेपाली श्रमिकको माग बढ्नुको कारण उनीहरुको कामको लगनशिलता र कृषि क्षेत्रमा पढि खटाउनसकिने मलेशियाली कम्पनीहरुको विश्वास रहेको बताउँछन् रमेश । भन्छन्–‘हामीले मलेशियामा संचारमार्फत त्यहाँका जनबोली, अनुभवहरु संकलन गर्दा यस्तै तथ्य पाएका छौं ।’

Tuesday, July 17, 2012

प्रवासमा महिला कामदार

विनोद ढकाल
दलालका भरमा खाडी पुग्ने महिलाका कथा–व्यथा देशैभरि छरिएका छन् । घरेलु कामदारको रुमा खाडी जान चाहने महिलालाई त्यता पठाउन दैनिक सयौं दलाल श्रम विभागको कोठाचोटा गर्छन् । पहिला अवैध रुपमा भिजिट भीसा वा तेस्रो मुलुक हुँदै पठाउनेहरु अहिले वैध रुपमा व्यक्तिगत श्रमम स्वीकृति मा पठाउँदै छन । उनीहरु केसम्म गर्छन् भन्ने कुरा काठमाडौं कमलपोखरीको एउटा घरमा नरबहादुर खड्काले थुनेर राखेका ६ महिलाको ८ वैशाखमा भएको उद्दारले देखाउँछ । पत्नीको खोजी गर्दै काठमाडौं आएका झापा तोपगाछी–३ का नारायणप्रसाद न्यौपानेले प्रहरी गुहारेपछि तिनको उद्दार भएको थियो । यी बाहेक अखबारले खोज्न सकेका वैदेशिक रोजगारीका पीडा खेप्ने महिलाहरुको कथा निक्कै चोटिलो छ । साउदी अरब पुगेको ६ महीनापछि ५ माघ २०६८ मा काठमाडौं फर्केकी सुनसरी झुम्का–५ की किसुनवती सरदारलाई आउन नपाई सुत्केरी व्यथाले अस्पताल लैजानु प¥यो । दलालहरुले उनलाई गर्भवती नभएको झुठो मेडिकल रिपोर्ट बनाएर पठाएका थिए । अशोक राई नामको दलालद्वारा बलात्कृत ललितपुरकी शान्ति लामाले कुबेतमा काम गर्दागर्दै छोरी पाएर गएको माघमै नेपाल फकिर्नु परेको तथ्या सवैका सामु छर्लङ्ग छ । घरेलु काम गर्न गत वर्षको भदौमा साउदी अरब पुगेकी बागलुङ मल्म–६ की गंगा सुनारले १ फागुनमा आत्महत्या गरिन् । नक्कली पासपोर्टमा गएकीले काठमाडौंमा उनको शव बुझन पति सुरेशले प्रशस्त कानूनी झमेला व्यहोर्नुप¥यो । चितवन भण्डारा–२ का तिलक थापाले मानसिक सन्तुलन गुमाएर २०६७ कात्तिकमा लेबनानबाट फर्केकी पत्नी विनिताको उपचारमा धेरै ऋण बोक्नु परेको छ ।  सुर्खेत लाटीकोइली–९ की प्रेमा राना पाँचवर्ष घरभित्र बन्दी अवस्थामा काम गरेर २०६७ चैतमा लेबनानबाट रित्तोहात फकिनर्् । उनलाई शेरबहादुर लामा भन्ने दलालले बेचेको थियो । खाडी मुलुकमा अनेक बाटो भएर पुग्ने महिलाहरुको यस्ता पीडाहरु सञ्चारमाध्यमको सम्पर्कमा आउनसक्दा खुलेको हो । तर, यस्ता अनेक पीडा र कथाहरु खडी लगायतका विभिन्न मुलुकमा अहिलेपनि महिलाहरुले भोगिरहेका छन् । देशभित्र र देशबाहिर अनेक किसिमले भोग्नुपरेको महिलाको पीडा न्युनिकरण सरकारको मुख्य दायित्व हुन्छ । वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य भएका कारण त्यसलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने र महिला कामदार पुगेका मुलुकमा एउटा सौहार्दपूर्ण सम्झौता गर्नुपर्ने दायित्व पनि सरकारको हो । सवै काम सरकारकोमात्र नभएर वैदेशिक रोजगारीमा जान इच्छुक महिलाहरुले वैदेशिक रोजगारीको बारेमा बुझ्ने इच्छाशक्तिलाई पनि प्रभावकारी बनाउनै पर्दछ । यद्यपि, खाडीका केही मुलुकले नयाँ नियम र आदेशहरु जारी गरेपछि पाएको राहतलाईपनि बिर्सनु हुँदैन । जुन, पुनः रोजगारीमा जाने महिलाहरुका लागि गजवको सिकाई समेत भएको छ ।
गत वर्षमात्र कुवेत सरकारले आममाफीको घोषणासँगै नेपाली दुतावास खुलाएपछि कुवेतमा पीडित भएर बसेका नेपाली महिला कामदारहरु भटाभट नेपाल फर्कन थाले । र, कुवेतलाई श्रमगन्तव्य बनाउन चहाने महिलाहरु पनि वैधानिक बाटो रोजेर वैदेशिक रोजगार विभागको सुझाव र तालिम लिएरमात्र कुवेत जान थाले । कुवेतमा भएको आममाफीले त्यहाँ पीडा खेपीरहेका, बन्दि रहेका महिलाहरुले ठूलो राहतको महसुस गरेका थिए । केही साताअघिमात्र कतारबाट प्रकाशित हुने द पेनिनशुला दैनिकले कतारमा कार्यरत प्रवासी कामदारका लागि सुखद खबर प्रकाशित गरेको थियो । अव कतारका घरघरमा सरकारले क्यामेरा जडान गर्नेछ, जहाँ प्रवासी कामदार रहन्छन् । यो खबर नेपाली लगायत अन्य मुलुकका कामदारका लागि सुरक्षाको दृष्टिकोणबाट सुखद खबर हो । अव कतार सरकारले यसलाई कहिलेदेखि लागु गर्नेछ त्योचाँही हेर्न बाँकी छ । खासगरी नेपाली महिला कामदारका लागि यो सुखद समाचार बनेको छ । किनभने नेपाली महिला कामदारहरु कतारमा घरेलु कामदारका रुपमा कार्यरत छन् भने त्यसबाहेकका मुलुकमा पनि घरेलु कामदारका रुपमा जाने गरेका छन् । वैदेशिक रोजगार नेपाली युवा÷युवतीका लागि मुल गन्तव्य भइसकेको छ । गतवर्ष विदेश जानेमध्ये तीन प्रतिशतको संख्यामा रहेको महिलाहरुको संख्या दोव्वर भएर बढेको छ । यस वर्षको जेठमसान्तसम्ममा नै छ प्रतिशत पुगिसकेको थियो । ०६८÷०६९ को वर्षको जेठ मसान्तसम्ममात्र तीन लाख ४९ हजार ९ सय ३३ जना मध्ये २० हजार ९ सय ७१ जना महिला वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मुलुकबाट पलायन भइसकेका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कुल संख्याको छ प्रतिशत महिलाको संख्या पुगेको छ । यो गत वर्षको तुलनामा झण्डै ३ प्रतिशतको बृद्धि हो । जसरी महिला कामदारको संख्या बढिरहेको जोखिम पनि उत्तिकै बढिरहेको देखिन्छ । विभागमा रहेको तथ्याङ्क अनुसार हालसम्म नेपाली महिला कामदारहरु कुवेतमा २१ हजार बढि छन् । लेवनानमा ९ हजार छ सय ७८, युएइमा ९ हजार ४६, कतारमा २ हजार १ सय ४, बहराइनमा १ हजार ८ सय २३, ओमानमा १ हजार २ सय ७ तथा साउदी अरवमा ७ सय ११ जना महिला रोजगारीका लागि पुगेका छन् । मलेशियामा ३ हजार छ सय ९ जना पुगेका छन् । त्यस्तै इजरायलमा ३ हजार २ सय ९७ जना रोजगारीका लागि पुगिसकेका छन् । उनीहरु प््रायः सवै घरेलु कामदारका लागि पुगेका हुन् । तर, उनीहरुको सुरक्षाको ग्यारेण्टि के छ त ? जोखिम कसरी न्युनिकरण हुन सक्छ ? भन्ने विषयमा ठोस दृष्टिकोण र संयोजनको कार्यसम्पादन गतिलोसँग हुन सकेको छैन । यी तथ्यहरुबाट वैदेशिक रोजगार विभाग अनविज्ञ छैन । त्यसकारण विभागले अहिले तालिमको व्यवस्थामात्र गरेको छैन, सुरक्षाका लागि एउटा विशेष प्रकारको नियम लागुगर्नुपर्ने प्रस्ताव पनि गरेको छ ।
श्रम मन्त्रालयमा अहिले निर्णयविहीन भएर थन्किएको वैदेशिक रोजगार विभागको नयाँ श्रमसम्बन्धि प्रस्तावलाई सरकारले तत्काल पारित गर्दा वैदेशिक रोजगारीमा होमिएको महिलाहरुको जोखिम व्यवस्थापन सहज हुन्छ भने पीडित महिलाहरुको संख्यापनि न्युनिकरण हुँदै जानेछ । घरेलु कामदारका लागिपनि कम्पनी नियम र अलग आवास तथा सुरक्षासम्बन्धि त्यो प्रस्तावबारे सरकार तत्काल निर्णयमा पुग्न सकोस । अहिले खाडी मुलुकमा पुरुष कामदारसँगै महिला कामदार जाने संख्यापनि तिव्र भएको छ । त्यसकारण त्यस्ता मुलुकमा महिलाको सुरक्षाका विषयमा सम्बन्धित दुतावासहरुलाई जानकार र सक्रिय बनाउन घनिभूत गृहकार्यको आवश्यकता छ ।
 

2069, 2 sawan @ GORKHAPATRA NEPALI DAILY
2 साउनको गोरखापत्र दैनिकमा प्रकाशित लेख हो ।

Tuesday, July 10, 2012

सलमान पाकिस्तान जान इच्छुक

बहुचर्चित अभिनेता सलमान खानको आउनै लागेको नयाँ फिल्म 'एक था टाइगर' पाकिस्तान विरोधी भन्दै पाकिस्तानको सेन्सर बोर्डले रोक लगाउने तयारी गरिरहेका वेला, सलमान खानले फिल्म पाकिस्तान विरोधी नभएको अभिव्यक्ति दिएका छन् । र, उनले पाकिस्तानको सेन्सरबोर्डलाई कन्भिन्स गरेका छन् । उनले फिल्मको दौरानमा आफु पाकिस्तान घुम्न चाहेको समेत बताएका छन् । 
एक था टाइगर एक जासुसको जीवनकथामा आधारित छ । पाकिस्तानी गुप्तचरसंस्था आइएसआई र भारतीय गुप्तचर संस्था रअको रणनीतिक योजनाहरुको आधारमा यो चलचित्रलाई निर्देशक कविर खानले पस्कन लागेका हुन् । फिल्मको प्रोमो बजारमा आइसकेका कारण सलमानको यो अर्को वक्स अफिसमा रेकर्ड ब्रेक गर्नसक्ने फिल्मका रुपमा अनुमान गरिएको छ ।
खासकुरो के भने उनकी प्रेमीका तथा बलिउडकी सिलाकी जवानी गर्ल क्याट्रिना कैफ यो फिल्ममा देखिनेछिन् । सलमान र क्याट्रिनाको अफेयर फिल्ममा देखाएको छ । यो उनीहरुको पहिलो सोलो मुभी पनि हो ।

Wednesday, July 4, 2012

उषाको निसाफ युद्ध

काठमाडौं–‘नेपाल फर्कनका लागि आतुर छु । तर, यहाँ काम गरेको रकम नलिई कसरी फर्कनु ?’ कतारको दोहस्थित नेपाली दुतावासमा आश्रय लिएकी धरान–५ की उषा लिम्बु गुनासो पोख्छिन्,‘विमाको पैसाका लागि कम्पनी विरुद्ध मुद्दा हालेकी छु अनि यहाँको श्रम अदालतमा पनि मुद्दा दिएकी छु ।’ लिम्बु नौ महिना अघि वैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेकी थिइन् ।
दोहास्थित सनैयाँ ४६ नम्बरमा रहेको कम्पनीमा काम थालेको तीन दिन पुग्दा नपुग्दै उनी सवारी दुर्घटनामा घाइते भइन् । गम्भिर चोट लागेपछि एक हप्ताभन्दा बढि अस्पताल बसेकी लिम्बुले अस्पतालमा उपचारका लागि भर्ना हुनप¥यो । भन्छिन–‘यहाँ बसेर पैसा कमाउँला भन्ने कत्रो सपना थियो । तर, दुर्घटनामा परेर खुट्टामा गम्भिर चोट लाग्यो, उल्टै पैसा खर्चमात्र भयो ।’ आठ दिनसम्म दोहास्थि हमाद अस्पतालमा उपचार गरेर सकीनसकी कम्पनीमा काम गरेकी लिम्बुले उपचार खर्च त परैजाओस कम्पनीबाट नियमति तलव पनि पाएकी छैनन् । ‘एक त उपचारमा पैसा सकियो, अर्कातिर छ महिनाको तलव पाउन बाँकी छ ।’ उनी भन्छिन् । तलव नदिएपनि कम्पनीको आवाससुविधा उनले पाउँदै आएकी थिइन् । आफू समस्यामा परेको भन्दै कम्पनीसँग हारगुहार गर्दापनि उनले तलव पाइनन् । बरु, कम्पनीले बस्न दिएको सुविधा पनि खोस्यो । उनलाई कम्पनीको क्याम्पबाटै निस्कासन गरिदियो । ‘छ महिनाको तलव लिन बाँकी छ । काम गरेको पैसा लिनका लागि पनि समस्या प¥यो । सवै विषयमा दुतावासमा जानकारी गराएको छु ।’ उनी भन्छिन्,‘१० हजार रियाल खर्च गरेर मैले उपचार गरेको छु । यहाँको श्रम अदालतले पनि कम्पनीले ४० हजार दिनुपर्ने दावी गरेको छ । तर, अहिलेसम्म केही पाएको छैन ।’ उनले अहिले विमाको रकम दावी गर्दै दोहास्थित उच्च न्यायालयमा कम्पनीलाई विपक्षी बनाएर मुद्दा चलाएकी छन् । ‘दुतावास, श्रम अदालत मेरो पक्षमा छन् । तर कम्पनीसँग मुद्दा हारे त म बर्बादै हुन्छु ।’ भावुक हुँदै भन्छिन्,‘धेरै सपना बोकेर कतार आएको थिएँ, तर सपना सवै भत्किए ।’
श्रीमान् थमबहादुर राईपनि कतारमा नै कार्यरत भएका कारण उनको उपचारको खर्चका लागि समस्या भएन । तर, श्रीमान्ले कमाएको पैसाले गाउँघरको खर्च र ऋण तिर्ने धोको पनि सकिएको गुनासो उनको छ । भन्छिन्,‘विमावापतको रकम पाइन भने त हामी जोइपोई नै डुव्छौं ।’ दुर्घटनापछि हिँड्नमा समस्या झेलीरहेकी लिम्बु यस अघि पनि वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा ७ महिना बसेकी थिइन् । साउदी अरवमा पनि तलवको समस्या र कम्पनीको दुव्र्यवाहारका कारण उनी नेपाल फर्कन बाध्य भएकी थिइन् । नेपाल फर्कनासाथ श्रीमान् थमबहादुरसँग सल्लाह गरेर कतार पुगेकी उषा, न्यायका लागि लडिरहेकी छन् । ‘श्रम अदालतको दावी समेत भएका कारणले उषाको मुद्दा सफल हुनसक्ने अनुमान गरिएको छ । तर, यहाँको कम्पनीको पक्षमा फैसला भयो भने उषालाई समस्या हुनसक्छ ।’ कतारस्थित सञ्चारकर्मी प्रेम लामा भन्छन्,‘यहाँ महिलाको समस्या यसरी नै बढिरहेको छ ।’
अहिलेपनि दूतावासको शरणमा विभिन्न ठाउँका महिलाहरु समस्याको चाङ लिएर बसेका छन् । दुतावासले समस्याबारे बुझ्ने र नेपाल फर्कन चाहनेलाई व्यवस्था मिलाइरहेको भएपनि भर्खरै राजदुतको जिम्मेवारी पाएर कतार पुगेकी डा. मायाकुमारी शर्मालाई भने चुनौतिजस्तै भएको छ । ‘महिला राजदुत आएपछि झन् महिलाका समस्या धेरै देखिन थालेका कारण यहाँ चुनौति बढ्न थालेको छ । राजदुतका लागि उषा लिम्बुलाई न्याय दिलाउनु पनि चुनौतिजस्तै बनेको छ ।’–लामा भन्छन् ।
खाडीतिर नेपाली महिलाको ओइरो
विनोद ढकाल
काठमाडौं– काभ्रेकी सुन्तली लामा वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छिन् । उच्च शिक्षामा सफल हुन नसकेपछि वैदेशिक रोजगारीमा आकर्षित भएकी उनी घरेलु कामदारका लागि कतार जाने तयारीमा पुगेकी हुन् । आवश्यक कागजात बुझाउन र श्रम स्वीकृतिका लागि उनी वैदेशिक रोजगार विभागमा पुगेकि थिइन् । ‘अव यहाँ बसेर पनि के गर्नु कतारमा भए पैसा कमाइन्छ त्यसैले जान लागेकी हुँ ।’ लामा भन्छिन–‘पहिलो पटक जान लागेकी हुँ । काम कस्तो हुन्छ भन्नेचाँही थाहा छैन ।’ उनी धेरै खुलेर कुरा गर्न चाहिरहेकी थिइनन् । व्यक्तिगत भिसामा जान लागेकी लामाका मामा पर्ने एकजना कतारमा छन रे । उनैमार्फत आएको भिसामा जान लागेकी लामा भन्छिन–‘काम गरेर पैसा कमाउने हो, धेरै कुरा नभनौं ।’ एकैदिनमात्र लामाजस्ता एक सय भन्दा बढि महिलाहरु विभिन्न लाममा विभागका वरीपरि बसीरहेका छन् । कोही भित्र र कोही बाहिर वैदेशिक रोजगारीका आवश्यक कामहरुको प्रकृयामा व्यस्त देखिन्छन् ।
नुवाकोटकी सविना केसी कुवेत जाने तयारीमा छिन् । एक वर्षअघि विवाह गरेका श्रीमान् दुवईमा छन् । घरमा आर्थिक अवस्था अझ मजवुत बनाउनका लागि वैदेशि रोजगारीका लागि कुवेतको प्रकृयामा रहेकी केसी घरेलु कामदारका रुपमा जान लागेकी हुन् । उनी पनि पहिलोपल्ट विदेश जान लागेकी हुन् । ‘गाउँका केही साथीहरु पनि कुवेतमा पैसा कमाइरहेका छन् म पनि कमाउनकै लागि जान लागेकी हुँ ।’ उनी भन्छिन्–‘आर्थिक समस्या नहोस र भविष्य सुरक्षित होस भनेर नै जान लागेकी हुँ ।’ वैदेशिक रोजगारीका क्रममा महिला कामदारहरु बढि जोखिममा परेका खबरहरु सार्वजनिक भइरहँदा पनि केसीजस्ता निक्कै महिलाहरु धन कमाउने सपनामा म्यानपावर कम्पनी हुँदै विभाग प्राङ्गणमा कागजी काममा व्यस्त हुने गरेका छन् । वैदेशिक रोजगारीमा जानुपर्ने सवैका आफ्ना वाध्यता, सपना र महत्वकांक्षाबारेका तर्क छन् । तर, समस्या पर्दा के गर्ने ? भन्ने प्रश्नको जवाफ चाँही छैन ।
‘पुरुषले गएर काम गर्नसक्ने हामीचाँही नसक्ने भन्ने हुँदैन । आर्थिक समस्या परेपछि सानो पुँजीमा विदेशको कामबाहेक हामीसँग कुनै विकल्प छैन ।’ सिन्धुलीकी हरिमाया कटुवाल भन्छिन्–‘छोराछोरी छाडेर उनीहरुको भविष्यका लागि तीन वर्ष भएपनि मेहनत गरेर पैसा कमाउने आशामा लेवनान जान लागेकी हुँ ।’ मिडियालाई फेस गर्नसक्ने हरिमाया जस्ताका आफ्नै बाध्यता पनि छन्, वैदेशिक रोजगारीमा जानुपर्ने । तर, मिडिया नजिक हुन नचाहने धेरै महिलाहरु अहिले विदेशमा पैसो टिप्नै पाइन्छ भन्ने सपना बुनेर मुलुक छाडिरहेका छन् । पछिल्ला वर्षहरुमा यसरी वैदेशिक रोजगारीका लागि महिलाहरुको संख्या बढेको तथ्याङ्कले पनि पुष्टि गरिरहेको छ । ०६८÷०६९ को वर्षको जेठ मसान्तसम्ममात्र तीन लाख ४९ हजार ९ सय ३३ जना मध्ये २० हजार ९ सय ७१ जना महिला वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मुलुकबाट पलायन भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कुल संख्याको छ प्रतिशत महिलाको संख्या पुगेको छ । यो गत वर्षको तुलनामा झण्डै ३ प्रतिशतको बृद्धि हो । ‘झण्डै दोव्वर हुँदै महिलाहरु वैदेशिक रोजगारीमा जाने संख्या बढिरहेको हामीले पाएका छौं । र, धेरै श्रममा समस्या परेर उजुरी पनि महिलाको नै आउने गरेको भेटेका छौं ।’ वैदेशिक रोजगार विभागका निर्देशक काशीराज दाहाल भन्छन्–‘यतिसम्मकी वैदेशिक रोजगारीको बारेमा राम्रोसँग ज्ञान नभएका महिलाहरुपनि जाने क्रम बढेको छ । जसका कारण उनीहरु समस्यामा पर्ने गरेका छन् ।’ निम्न मध्यमवर्गीय परिवारका महिलाहरु यसरी वैदेशिक रोजगारीमा गइरहेका छन् । पछिल्ला वर्षहरुमा खाडी राष्ट्रहरु तथा मेलेशिया र इजरायलमा महिलाको आकर्षण बढेको पाइन्छ । विभागमा रहेको तथ्याङ्क अनुसार हालसम्म नेपाली महिला कामदारहरु कुवेतमा २१ हजार बढि छन् । लेवनानमा ९ हजार छ सय ७८, युएइमा ९ हजार ४६, कतारमा २ हजार १ सय ४, बहराइनमा १ हजार ८ सय २३, ओमानमा १ हजार २ सय ७ तथा साउदी अरवमा ७ सय ११ जना महिला रोजगारीका लागि पुगेका छन् । मलेशियामा ३ हजार छ सय ९ जना पुगेका छन् । त्यस्तै इजरायलमा ३ हजार २ सय ९७ जना रोजगारीका लागि पुगेका छन् ।
‘हामीसँग नभएको दलाल मार्फत भारत तथा विभिन्न बाटो भएर जाने महिलाहरुको संख्या पनि उल्लेख्य हुन्छ । त्यस्तो रेकर्ड हामीले पाउन मुस्किल छ तर श्रमको विषयमा पीडित भएपछि विभागमा दिएको उजुरी यसका आधार मान्न सकिन्छ ।’ निर्देशक दाहाल भन्छन्–‘श्रम स्वीकृति नलिई पुगेका कारण उनीहरु समस्यामा परेका हुन् । अर्कोचाँही घरेलु कामदारमामात्र महिलाहरु बढि जाने भएका कारण घरभित्र उनीहरु कति सुरक्षित हुन्छन् भन्ने यकिन गर्न मुस्किल पर्दछ । यद्यपि, हामीले यसबारेमा विभिन्न चरणमा छलफल र रोजगारदाता कम्पनीसँग सहकार्य गर्ने वातावरण बनाइरहेका छौं ।’ भनेजस्तो काम नपाएको तथा विभिन्न हिंसामा परेका उजुरीहरु युइएबाट बढि आउने गरेका छन् । अन्य मुलुकबाट पनि सामान्यतया उजुरी आउने गरेका छन् । तर, घरेलु कामदार भएका कारण पीडित भएर पनि कतिपय महिलाहरु सरकारी संयन्त्रसम्म पुग्न सकिरहेका छैनन् । यसका लागि विभागले नयाँ कार्यविधि लागु गर्ने तयारी थालेको छ । जसको प्रस्ताव श्रम मन्त्रालयमा पठाइएको छ ।
प्रस्तावमा घरेलु कामदारमा लैजाने मानिस अथाव कम्पनीले अव दुतावाससँग नियमित सम्पर्क गराउने, परिवारसँग कुराकानीको व्यवस्था मिलाउने तथा कामदारका लागि छुट्टै आवास र शौचालयको प्रबन्ध हुनुपर्ने विषय उल्लेख छ । निर्देशक दाहाल थप्छन्–‘यसका लागि एक कार्यविधि बनाएर मन्त्रालय पनि पठाइएको छ । त्यसो हुँदा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढ्दा उनीहरुको सुरक्षा र रोजगारीको व्यवस्थाबारेमा सम्बन्धित मुलुक जानकार हुनसक्छ भन्ने हाम्रो वैज्ञानिक कार्यविधि हुनसक्छ यो ।’ उनका अनुसार भर्खर १८ वर्ष पुगेका र २५ नकटेका महिलाहरु वैदेशिक रोजगारीका लागि बढि जाने गरेका छन् । उनीहरु कसैको भनाई वा देखासीकिको आधारमा जाने गरेका छन् । ‘कति सुरक्षित छन् भन्ने विषयमा कुनैपनि जानकारी छैन ।’ निर्देशक दाहाल भन्छन्‘उमेरमा परिपक्व नभएका महिलाहरु जानेक्रम बढेको हुँदा त्यसबारेमा हामीले तालिम सुरु गरेका छौं । वैदेशिक रोजगारीका क्रममा घरेलु कामदारका रुपमा जान लागिरहेका महिलाहरुका लागि २१ दिनको तालिमको व्यवस्था गरेका छौं ।’
आजको शुक्रबार साप्ताहिकमा प्रकाशित

Sunday, July 1, 2012

जग्गा बेचेर मलेशिया

काठमाडौं–कपिलबस्तुका श्यामकुमार मेहता माला लगाएर मलेशिया प्रस्थान गर्न लागेका थिए । प्रफूल्ल भएर अन्तर्राष्ट्रिय विमानस्थल तिर लम्किरहेका मेहताको सपना पैसा कमाउने र गाउँमा शानसँग बस्ने योजना छ । मेहताका गाउँका धेरै साथीभाई विदेशमा गएर पैसा कमाइरहेका छन् । साथीभाईभन्दा आफूपनि कम नहुने सोच उनको छ । भन्छन्–‘तीन वर्षका लागि मलेशिया हिँडेको हो । फर्निचरको कामका लागि जान लागेको हुँ ।’ उनीसँग दुई दर्जन युवाहरुको समूह पनि छ । सवैजना वैदेशिक रोजगारीका लागि मलेशिया नै गएका हुन् । कुपण्डोलमा रहेको अरोरा म्यानपावर कम्पनीमा मार्फत उनीहरु फर्निचरको कामका लागि मलेशिया हिँडेका हुन् । भन्छन्–‘९५ हजारका दरले हामीले रकम बुझाएका छौं । राम्रो काम हो भन्ने आश्वासनमा हामी जान लागेका हौं ।’ श्यामकुमार गाउँमा भएको जग्गा डेढ लाखमा बेचेर मलेशिया जान लागेका हुन् ।
नेपालमा अवसरको कमी भएपछि युवाहरु मलेशिया लगायतका मुलुक रोजगारीका लागि जान बाध्य छन् । ‘फर्निचरको काम खोल्न सकिन्न, यहाँ भनेजति पैसामा काम गर्न पनि पाइन्न ।’ श्यामकुमार भन्छन्–‘त्यसैले पैसा कमाउनका लागि मलेशिया हिँडेको हुँ ।’ उनका गाउँका अन्यसाथीहरु पनि मलेशियामा फर्निचरको काम गरिरहेका छन् । उनीहरुको सल्लाह लिएर पनि हामी मलेशियाका लागि हिँडेका हौं ।’ अर्का युवा बृजेश मण्डल भन्छन्,‘यहाँ फर्निचरको काममा राम्रो पैसा छैन । त्यहाँ कम्तिमा पनि छ सय रिङ्गेट हुने भएपछि हामी जान तयार भएका हौं ।’ उनीहरुको न्युनतम तलव पाँच सय ४६ रिङ्गेट हुने सम्झौतामा हस्ताक्षर गरेका छन् । मलेशिया जानकै लागि उनीहरुको समूहका सवैजसाले जग्गा बेचेर लगानी गरेका छन् । ‘श्याम, बृजेश, हरेराम लगायतका हामीले जग्गा बेचेर नै विदेश जान लागेका हौं ।’ कपलेश्वर सदा भन्छन्,‘हामी सवै गाउँमा फर्निचरको काम गरिरहेका थियौं ।’ सदा पनि गाउँमा भएको पाँच कट्ठा जग्गा बेचेर त्यसैको पैसाले वैदेशिक रोजगारीका लागि मलेशिया हिँडेका हुन् ।
खाडी राष्ट्रबाहेक कम लगानीमा राम्रो आम्दानी हुने मुलुक मलेशिया हो । घरेलुदेखि ठूला उद्योगसम्म पनि विदेशी कामदारको माग ज्यादा हुने गरेको छ । तर, कतिपय म्यानपावरको ठगीको धन्दा हुँदा पनि पीडा खेप्नुपर्ने बाध्यता हुन्छ । छ वर्ष मलेशिया बसेका पदम पुलामी भन्छन्–‘म पनि फर्निचरको काममा गएको थिएँ । तर, पैसा कमाउन सकिएन ।’ फर्निचर बाहेकका काममा गएका युवाहरुले मेहनत गरेर राम्रो आम्दानी पनि गरिरहेका छन् । यस्तै गाउँमा भएको केही जग्गा बेचेर ८५ हजार रुपियाँ तिरेर मलेशिया पुगेका युवराज घिमिरे अहिले त्यहीँ कार्यरत छन् । उनको आम्दानी ठिकै भइरहेको छ । घिमिरे भन्छन्–‘अहिले म महिनाको नेपाली ३८ हजार रुपियाँ कमाउन्छु । एक निर्माण कम्पनीमा म काम गरिरहेको छु ।’ उनी  डेढ वर्ष अघि मलेशिया पुगेका थिए । उनी सिम रे इडी कम्पनीमा कार्यरत छन् । भन्छन्–‘मेरो काम त्यति नराम्रो छैन, ठिकै छ पैसा कमाई पनि राम्रै छ । विदेश आउन बेचेको जग्गा उकासिसकेको छु ।’
नेपाली श्रमिकका लागि मलेशिया राम्रो गन्तव्य हो । अहिलेसम्म सवैभन्दा बढि नेपाली कामदार मलेशियामा नै छन् । वैदेशिक रोजगार विभागका अनुसार करिव पाँच लाख नेपाली श्रमिक मलेशियामा छन् । मलेशियामा रहेका नेपाली कामदारको समस्या खाडी राष्ट्रको जस्तो छैन । मलेशिया अलिक खुल्ला देश भएका कारण पनि नेपाली युवाको आकर्षण बढेको छ । कम लगानीमा राम्रै आम्दानी हुनसक्ने मुलुकका रुपमा मलेशियालाई बुझिन्छ । विभागका अनुसार अहिले निर्माणको काममा मलेशियामा नै श्रमिकको माग बढेको छ ।

पैसा कमाउन कहीँ सजिलो छैन

सुनसरी हाँसपोसाका समीत राई झण्डै आठ वर्ष कुवेत बसे । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राइलाई त्यहाँको कमाइले नेपालमा व्यावसाय गर्न मद्दत ग¥यो । उनको विदेशको कामबारेको अनुभव उनकै शव्दमा

सन २००० मा काठमाडौंको सुन्धारामा रहेको इमास्को म्यानपावर कम्पनीमा ७० हजार तिरेर कुवेत गएको थिएँ । काठमाडौंबाट दोहा हुँदै म कुवेत पुगेको हुँ । कुवेत पुगेपछि थाहा भयो जुन भिसाका लागि हामीले त्यत्रो रकम तिरेका थियौं, त्यो फ्रि भिसा थियो भन्ने । म रेष्टुरेन्टको कामका लागि कुवेत गएको थिएँ । कुवेतको नामी अल हमाइजी फुड ग्रुपको वर्गर किङ रेष्टुरेन्टको भिसामा कामका लागि पुगेको थिएँ । त्यसबेला २०० केडीआर अर्थात दिनार तलव दिन्थ्यो । सन् २००० तिर त्यो रकम झण्डै १७ हजार रुपियाँभन्दा ज्यादा हुन्थ्यो । विश्वमा नाम कहलिएको वर्गर बनाउने कम्पनी भएका कारण मलाई काम गर्नका लागि त्यति असहज भएन । मैले कुवेत बसुन्जेल एउटैमात्र कम्पनीको विभिन्न क्षेत्रमा रहेर काम गरेको छु । बेलामौका मेरो कम्पनीसँग कुरा मिल्दैनथियो । म कस्टुमर केयर सेन्टरमा काम गर्दथें । हामीलाई प्रि मेम्बरका रुपमा राखिएको थियो । त्यो त्यहाँको एउटा पोष्ट रहेछ । घरको आर्थिक स्थिति कमजोर भएकै कारण म कुवेततिर लागेको थिएँ । पैसा कमाउन सजिलो थिएन तर जति गाह्रो सोचेको थिएँ त्यति समस्या मैले झेल्नु परेन । तर, परदेश भएका कारण त्यहाँको भाषामा केही समस्या हुन्थ्यो । म अंग्रेजी बोल्न जान्ने भएकाले त्यहाँ एकअर्कासँग बातमार्नका लागि कठिन भएन । कुवेती र त्यहाँ कार्यरत अन्य देशका सहकर्मीहरु अंग्रेजी राम्रोसँग बुझ्दथे । यद्यपि, त्यहाँ आउने कुवेती ग्राहकहरुसँगचाँही बोलचालमा समस्या हुन्थ्यो, धेरैजसो मेनु र खानाको परिकारको नाम भनेपछि बुझ्न सजिलो भयो ।
केटामानिसका लागि कुवेत त्यसबेला पनि त्यति असहज थिएन । तर, महिलाका लागि निक्कै नै चुनौतिपूर्ण थियो । कुवेत गएर काम सिकेर आइयो तर त्यहाँ रहुञ्जेलमा तीन जना नेपाली केटीको उद्दारमा सहयोग पनि गरेको म अहिले विर्सन शक्तिन । रामेछापकी डोमा शेर्पा पाल्पाकी शेर्पा थरकी एकजना युवती हाउसमेडमा काम गर्नका लागि गएका रहेछन् । तर, उनीहरुले काम गर्ने घरमा साहुले रगताम्य हुनेगरि यातना दिने र विभिन्न प्रकारले प्रहरीसमक्ष पनि पुग्न दिएका थिएनन् । सडकमा भेटेपछि उनीहरुको दुख सुनेर साउदी अरबमा रहेको नेपाली दुतावासमा जानकारी गराएर उनीहरुको उद्दारमा मद्दत गरियो । हर प्रकारको यातना उनीहरुले पाउँदा रहेछन् । शेर्पाको त अर्धनग्न अवस्थामा शरिरमा चोट र दाँत भाँचिएको अवस्थामा मैले फेला पारेको थिएँ । ती चेलीलाई विभिन्न नेपाली संस्थाको सहयोगमा रकम जुटाएर नेपाल पठाउनसक्नु मेरो पहिलो र राम्रो काम थियो । त्यसपछि त्यहाँ काम गर्ने शिलशिलामा विदेशी शैली र काम गर्ने तरिकालाई चिन्नु मेरो राम्रो कमाइका रुपमा लिएको छु । पैसा पनि कमाइयो, अलिअलि तर पैसा कमाउन यहीँ पनि सजिलो नभएका कारण विदेशमाचाँही सजिलो भयो भन्दिन म । पैसा कमाउन जहाँपनि गाह्रै हुँदो रहेछ ।
मेरो भिसा २००४ मा सकिएका थियो । भिसा थपका लागि कुनै पहल भएको थिएन । कम्पनीले पनि मेरो भिसा थप्ने विषयमा त्यतिवेला चासो दिएको थिएन । किनभने मेरो त्यहाँको म्यानेजरसँग सामान्य भनाभन भएको थियो । म आफ्नो काममा घमण्ड गर्ने भएकाले म्यानेजरले मलाई निकाल्ने सोच बनाएको थियो । मैलेपनि केही गरिन । पछि भिसाको म्याद नथप्दा मलाई ६ सय ५० केडीआर झण्डै डेढ लाख रुपियाँ पेनाल्टी तिर्नुपर्ने अवस्था भयो । मैले तिरिन । कम्पनीमा झगडा भएपछि मेरो भिसा थपिएको थिएन । जसका कारण मलाई रातो पत्र पठायो प्रहरीले नियन्त्रणमा लियो । तर, मैले पाँच वर्षसम्म राम्रो काम गरेका कारण कम्पनीको मुख्य मालिकले भिसा थपेर फेरी मलाई काममा राख्ने निधो गरेछन् । दुई दिन जेल बस्दा त्यहाँभित्रको सुविधा देखेर म त छक्क परें । कुवेतको जेल पनि कुनै होटलको सुविधाभन्दा कम थिएन । हर प्रकारका सुविधाहरु थिए, व्यवाहार पनि नराम्रो नगर्ने । हर खाने समयको ख्याल गरेर कैदीलाई सुरक्षित राख्ने चलन रहेछ । मलाई त्यहाँको एकजना राजा शेख मरेको दिन पक्राउ गरेको थियो । शेखको नाम अहिले थाहा भएन । २००५ को जनवरी २ मा त्यहाँ शेखको मृत्यु भएको थियो ।
पछि कम्पनीले निकालेर २ वर्षको भिसा थप्यो । मलाई कम्पनीले इराकको अलताजी भन्ने ठाउँमा रेष्टुरेन्ट इन्चार्जका रुपमा पनि घोषणा गरेको थियो । तर १४ फेब्रुअरी २००६ मा मेरो ग्रेड घटायो । ग्रेड घटेपछि मलाई काम गर्न मन लागेन । जुन कम्पनीमा २ वर्षमा छ पटक ग्रेड बढेको थियो, त्यहाँ एक पटक घटाउँदा पनि चित्त बुझ्दो रहेनछ र म फेरि कम्पनीबाट टाढा बसेको थिएँ । पछि यताउती काम गर्दै म नेपाल फर्किन बाध्य भएँ । कुवेतमा मैले काम गरेको रेष्टुरेन्ट वास्तवमा राम्रो थियो । त्यहाँ धेरै नेपाली कार्यरत छन् । पैसा पनि राम्रैसँग कमाई हुन्थ्यो । बजारमा सामान पु¥याउन जाँदा आफ्नो सामान पनि बेच्न पाइन्थ्यो र त्यसरी पैसा कमाइ हुन्थ्यो । मैले ७ वर्षभन्दा बढि बस्दा झण्डै २० लाखजति कमाएछु । सवैले त्यति कमाउन सक्छन् । अहिले सोही पैसाले आफ्नै ठाउँमा लगानी गरिरहेको छु । त्यहाँ कमाएको पैसा रियल स्टेटमा लगानी गर्दा आम्दानी राम्रो भयो । अव धरानमा समस्या रहेको खानेपानी आपूर्तिका लागि पानीको प्लान्ट लागाउने योजनामा पनि छु । 

शुक्रबार साप्ताहिकमा प्रकाशित