Friday, January 4, 2013

बलात्कारीको मुलुकमा



तिमीले त्यो अपराध गरेका छौ
मसानघाटमा तिम्रो बास होस
मुर्कुटाहरुको बस्तीमा जीवन विताउनु
पापीहरुको सहरमा निर्लज्ज बन्नु
–यस्तै श्राप दिएकी थियौ ।

जीवनभर सुखी र खुसी नहुनु
लासहरुको स्कर्टिङ होस तिमिलाई
अपराधको कठोर भुमीमा पर्नु
अपराधीहरु तिम्रा भुमीपति हुन्
–यसै भनेकी थियौ ।

सुन्दर इतिहाँस भएपनि तिमी कालोपात्र बन्नु
चर्चा र बरदानभित्र दुखमात्र झेल्नु
संसार उँचो हुँदा तिम्रो कद निँचो होस
घरवरिपरि नरहत्याराको बास होस
–यसरी चिच्याएकी थियौ ।

त्यसैले सायद,
हत्याराहरुको नेतृत्वलाई स्वीकारेर
बलात्कारीको मुलुकमा
यसरी शव्द कोर्ने पीडा भोगिरहेको छु ।

–विनोद ढकाल

गुमेको मुटु

-विनोद ढकाल

धेरै समयपछि फेरि,
मेरो मुटु कहीँ छाडियो, हरायो ।
मबाट अलग भयो, छुट्टियो
डेरा स¥यो, नासो बन्यो अन्त कतै ।

जसी मुटुविना नै धड्कन
धड्कन वेगरै रक्तसञ्चार
रक्तसञ्चारको विकल्प प्रेमबाट
दशकअघि बाँचेको थिएँ ।

फेरि, सास कतैबाट चलेजस्तो
थाहा छैन कहाँबाट चल्यो
स्वासप्रश्वासले सहारा टेक्यो
थाहा छैन, कहाँ टेक्यो ।

जसरी हावाविना बाँचिएको थियो
बाँचेको महसुस हुँन्नथ्यो
पैँचो प्रेम गुमाएपछि
थाहा थिएन कसरी बाँचिन्थ्यो

मैले विर्सिएको थिएँ– चोरी हुन्छ मुटु
कल्पना गरेको थिइन– हराउँछ धड्कन
अपेक्षा थिएन– अन्तै सर्नेछ सास
विश्वास थिएन– फेरी हुन्छ प्रेम ।

लामो समयपछि फेरि,
मुटु हरायो । छुट्टियो । विर्सिएँ कतै
धड्कन विलिन भयो । अलप भयो ।
सास अन्तै पुग्यो । खै, कहाँ पुग्यो ।
थाहा छैन, उनले भेट्टाइन\भेट्टाइनन् ।  

२०६९ पुस २०




Thursday, January 3, 2013

मलेशियामा पीडा र पलायन

डी. विनोद

खोटाङका पदमबहादुर कट्वालको अहिले कुम चल्दैन । वैदेशिक रोजगारीका क्रममा मलेशियामा अवैधानिक रुपमा पुगेका उनले काम गरेको कम्पनीबाट क्षतिपूर्ति पनि पाएनन् । ३५ वर्षिय कट्वाल मलेशिया स्थित नेपाली दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि नेपाल फर्किए । ‘काम गर्ने क्रममा दुर्घटनामा परेर मेरो देव्रे कुममा चोट पुग्यो ।’ उनले भनेकाछन्,‘एक महिना मलेशियाको अस्पतालमा बसेपछि म नेपाल फर्किएको हुँ ।’ दुर्घटनामा परेर घाइते भएपछि न उनी हिँड्न सक्थे न त कुनै साधारण काम नै ।
प्रवासी नेपाली समन्वय समितिको पहलमा दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि उनी नेपाल फर्किएका हुन् । मलेशिया स्थित लिस्पाल कम्पनीमा कार्यरत उनी अवैधानिक कामदारको सुचीमा भएका कारण क्षतिपूर्ति पाउनबाटपनि बञ्चित भए । अवैधानिक रुपमा वैदेशिक रोजगारीमा जानुको जोखिम व्यहोरिरहेका कट्वालमात्र एक्ला पीडित होइनन् । यस्ता कयन पीडितहरु छन् जो सरकारी, गैरसरकारी संस्था र मानिसको सम्पर्कमा अहिलेपनि आउन सकेका छैनन् ।  त्यस्तै झापाको तोपगाछी–१ का हरिकुमार घिमिरेको पनि मलेशियामा दुर्घटना भएको थियो । दुर्घटनाबाट घाइते भएका उनलाई वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले नेपाल झिकाएर उपचार गराइरहेको छ ।
धादिङका २२ वर्षिय कमल श्रेष्ठ २०६६ साल भदौ १ गते मलेशिया उडेका थिए । परिवारको आर्थिक सपना बोकेर काठमाडौंको व्लु ओसन ओभरसिजबाट मलेशियामा पुगेका उनका परिवारलाई सन्तोष श्रेष्ठ, कमल श्रेष्ठले छ महिनासम्म उनको बारेमा खबर दिने गरेका थिए । तर, धेरै समयसम्मपनि उनको परिवारसँग सम्पर्क हुन सकेको थिएन । उनका परिवार यता चिन्तामा रहेका बेला झण्डै दुई वर्षपछि उनले घरपरिवारलाई सम्पर्क गरेका थिए ।
उनले २०६८ भदौ २५ गते परिवारलाई सम्पर्क गरी घर र्फकने बताएका थिए । तर, उनी भनेको समयमा घर फर्कन सकेनन् । त्यसबीचमा पनि उनी सम्पर्कविहीन हुन पुगे । झण्डै एक वर्षपछि गत भदौ २५ गते उनले आफ्ना काकाका छोरालाई फोन गरी आफु जेलमा परेको खबर सुनाए । त्यसपछि परिवारमा चिन्ता बढ्यो । ‘परिवारले टिकटका लागि पैसा हालिदिए घर फर्कने छु, मैले कम्पनी छाडेका अर्को कम्पनी गएकाले प्रहरीले पक्राउ गरी जेलमा राख्यो ।’ उनले काका छोरालाई भने,‘टिकटको व्यवस्था गर्ने बतावारण मिलाइ देउ ।’ उनी अहिले जेलबाट छुटेका छन् तर कानुनी प्रकृयाको काम भने सकिएको छैन, मलेशियामा नै छन् । यसरी समस्यामा पर्ने धेरे मानिसहरु मलेशियामा छन् । जो आफुलाई नेपाल फर्काउनका लागि अपिल गरिरहेका छन् । ‘हामीसँग वहाँका परिवारका सदस्यहरु पनि आउने गर्नुभएको छ । हामीले पीडितहरुको बारेमा सोधी खोजी र उद्दारका लागि कागजी सहयोगमा हात हालिरहेका छौं ।’ प्रवासी नेपाली समन्वय समितिकी अस्मिता सापकोटाले भनिन्,‘हाम्रा जिल्ला र कतारमा रहेको सम्पर्क कार्यालय र काठमाडौंमा पनि यस्ता गुनासा आइरहेका छन् ।’
धन कमाएर परिवारको सपना पुरा गर्ने लक्ष्य लिएर झण्डै एक हजार सात सय युवाजनशक्ति मुलुकबाट प्रत्येक दिन बाहिरिने गरेका छन् । सवैका सपना सोचेजसरी पुरा हुने गरेका छैनन् । कही धन कमाएर नेपाल फर्किने गरेका छन्, केही समस्याको चाङमा रुमल्लिने गरेका छन् भने केही उतै पालयन हुने गरेका छन् ।
गतिलो गन्तव्यका रुपमा रहेको मलेशियामा जसरी नेपाली युवा श्रमशक्तिको जाने क्रम बढेको छ, त्यसरी नै पलायन हुने क्रमपनि बढ्न थालेको छ ।
मलेशियामा कार्यरत नेपाली समाजको अध्ययनअनुसार पाँच हजार नेपाली कामदारले विदेशी महिलाहरुसँग विवाह गरी मलेशियामा घरजम गरेका छन् । मलेशियन, फिलिपिनो, इण्डोनेशियन लगायतका देशका महिलाहरुसँग नेपालीहरुले विवाह गरेको तथ्याङ्कमा उल्लेख छ । कम्तिमा दुई हजार नेपाली युवा नेपालमा घरजम भएको तथ्याङ्क मलेशियास्थित नेपाली समाजले निकालेको छ ।
प्रवासी कामदारहरुले मलेशियामा विवाह गरेर बसेको तथ्यलाई मलेशियन सरकारले पनि पुष्टि गरेको थियो । मलेशियाको सवाह राज्यमा मात्र ३६ हजार आप्रवासीका बच्चाहरु रहेको थ्याङ्क सार्वजनिक गरेको थियो । विवाह लगायतका विभिन्न कारणहरु उल्लेख गर्दै मलेशियाबाट प्रकाशित स्थानिय अखबार ‘मलेशिया खबर’ले एघार हज्जार नेपालीहरु त्यहाँ हराइरहेको तथ्याङ्क छ महिनाअघि सार्वजनिक गरेको थियो । अहिले उक्त संख्या बढेको अनुमान गरिएको छ ।
वैदेशिक रोजगारीबारे अध्ययनसहित काम गरिरहेको प्रवासी नेपाली समन्वयन समितिले यस्तो तथ्याङ्क देखाएको हो । विदेशी महिलासँग विवाह गरेर उतै बस्ने नेपालीहरु आफन्तसँग सम्पर्क समेत गर्दैनन् । उनीहरु लमो समय बस्नका लागि पनि यसरी विवाह नै गर्न आतुर हुने गरेको अनुमान गरिएको छ । ‘धेरै नेपालीहरु यसरी पलायन भएका रिपोर्टहरु आइरहेका छन् । केही मानिसहरु पलायन भएर पनि बषौपछि सम्पर्कमा आएका केही उदाहरणपनि छन् ।’ प्रवासी नेपाली समन्वय समितिकी सापकोटा भन्छिन्,‘हामीकहाँ आएका रिपोर्ट र सुचनाहरुले यस्ता कुराको पुष्टि गरेको छ ।’
मलेशियाका लागि बढेको श्रम आकर्षणसँगै त्यहाँ समस्या बढीरहेको हो । ०६९÷७० को मंसिर मसान्त अर्थात् पाँच महिनाको तथ्याङ्कलेमात्र पनि मलेशियामा श्रमस्वीकृति लिएर जाने कामदारको संख्या उच्च पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार मलेशियामा मात्र पाँच महिनामा ६३ हजार दुई सय ३३ नेपाली युवाश्रमशक्ति पुगिसकेका छन् ।

'देश फर्कन पाउँ'

वैदेशिक रोजागारीमा आफन्तको भरमा परिजाँदा पीडा खेप्नेहरु कम छैनन् । गाउँमा एजेन्ट र विदेशमा आफन्तले जारी गरिदिएको भिसामा लाख खर्च गरेर जानेहरु तलव नपाएर पीडित हुनुपरेको छ । काम छाडेर अन्यत्र जान नपाइने र तलव नपाउने पीडा अहिलेपनि बढिरहेको छ । खाडीका प्राय देशमा पीडित नेपाली कामदारहरु न्याय खोज्दै दुतावास पुग्ने गरेका छन् ।
एकसाता अघिमात्र कतारको दोहास्थित दुतावासमा पाँच नेपाली कामदार मुलुक फर्काउन अपिल गर्दै पुगेका छन् । उनीहरुले नेपालमा रहेका आफन्त, अधिकारवादी संस्थासँग पनि सम्पर्क गरिरहेका छन् भने दुतावासमा पनि नेपाल फर्काउन चाँजो मिलाउन अपिल गरेका छन् ।
सप्तरीका क्षति कुर्मी एक साता अघि कतारको दोहास्थित नेपाली दुतावासको शरणमा पुगेका छन् । उनले आफु कार्यरत कम्पनीले छ महिनाको तलव नदिएपछि दुतावासको शरणमा पुगेका हुन् । उनी अहिले नेपाल फर्किने टिकटको पखाईमा छन् ।
‘सुरुको १५ महिना तलव दिएपनि त्यसपछिका दिनहरुमा हामीले काममात्र गर्नुप¥यो, तलव दिने काम भएन । हामीले यहाँ आउन गरेको लगानी पनि उठाउन पाएनौं ।’ उनले दुतावास अधिकारीलाई दिएको बयानमा उल्लेख छ,‘९० हजारका दरले हामीले रकम खर्च गरेर व्यक्तिगत भिसामा यहाँ आएका थिौं ।’ कुर्मीसँगै सप्तरीका अनिलप्रसाद कुर्मी, कमल थापा र रामदास सुनार पनि अहिले दुतावासको शरणमा छन् । त्यस्तै सुनसरीका इन्द्रदेव राययादव पनि दुतावासमा नेपाल फर्काउन अपिल गर्दै आइपुगेका छन् ।
‘हामी पाँचैजना यहाँको ‘इन्ट्रिगल कम्पनी’मा कार्यरत थियौं । तर, कम्पनीले हामीलाई भनेजसरी नियमित तलव दिएन । काममात्र गर्नुपर्ने तलव नपाउने भएपछि मुलुक फर्किनका लागि हामी दुतावासको शरणमा आएका हौं ।’ थापाले बयानमा भनेका छन्,‘यहाँ दुतावासमा पनि बस्न समस्या भइरहेको छ । चिसो छिडिमा हामी बसिरहेका छौं, चाँडो मुलुक फर्किन पाए हुने थियो ।’
सन् २०१० को सेप्टेम्बरमा उनीहरु इन्ट्रिगल कम्पनीमा काम गर्न पुगेका थिए । उनीहरुको उद्दारका लागि प्रवासी नेपाली समन्वय समितिले टिकट लागि पहल गरिरहेको छ । समितिका अनुसार उनीहरुको नेपाल फिर्तिको तयारी भइरहेको छ ।

काममा जानेलाई टिप्स

यदि तपाई वैदेशिक रोजगारीमा जानु हुँदैछ भने निम्म कुराहरुमा ध्यान दिनुहोस ।

–    खर्च र आम्दानीको राम्रो जानकारी लिएरमात्र वैदेशिक रोजगारीमा जानुहोस ।
–    वैदेशिक रोजगारीमा जानुअघि अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनुहोस ।
–    जानी जानी गलत कागजात, व्यावसायीक वा भिजिट भिसामा वैदेशिक रोजगारीमा जानु खतरा हुन्छ । त्यसकारण यस्तो जोखिम उठाउन हुँदैन ।
–    वैदेशिक रोजगारीमा जाँदा आवश्यक सवै कागजातको एक–एक प्रति आफु र परिवारको साथमा अनिवार्य हुनुपर्दछ । यसले समस्या पर्दा सहयोग पु¥याउँछ ।
–    वैदेशिक रोजगारीमा जानु आफ्नोमात्र नभएर परिवारको पनि सल्लाह अनिवार्य हुन्छ । घरपरिवारसँग सल्लाह गरी मानसिक रुपमा रोजगारीमा जानका लागि तयार हुनुपर्दछ ।
–    विदेशमा रहँदा नेपाली दुतावास, घरपरिवार, नेपाली संघसंस्थासँग नियमित सम्पर्कमा रहनुपर्दछ । यसो हुँदा समस्यामा परेका बेला उद्दारका लागि सहज हुन्छ ।
–    आफ्नो करार अवधि सकिएपछि स्वदेश फर्किएर विमा र पुनःश्रमस्वीकृति गरेर फर्किनु पर्दछ । यसो हँुदा विमा रकम र क्षतिपूर्ति सहयोग पाउन समस्या हुँदैन ।
–    विदेशमा कोठामा सुत्दा एसीको प्रयोगपनि सही किसिमले गर्नुपर्दछ । नजानेको कुरा सिकेर जानुपर्दछ । विदेशको वातावरणबारे पहिले नै ज्ञान राख्नुपर्दछ ।
–    खासगरी खाडी मुलुक जाँदा पान पराग, पान मसला, चुरोट, सुर्ती प्रतिबन्ध छ । यसलाई लैजानु हुँदैन र प्रयोग गर्नु हुँदेन । मदिरा पनि प्रतिबन्धित छ ।

Wednesday, January 2, 2013

सायद, जीवित भेटिन्नन्, आत्माहरु


–विनोद ढकाल

कहीँ आत्मा हुन्छ भने
हे आत्मा हो, जगाऊ भुत
जगाउ, विगत र वितेका घडी
म शताव्दिअघि फर्कन्छु ।

पटाँस पट्कीए जसरी
बुहारीघाँसको लाजजस्तो
कान्लामाथिको श्लीलता ढाकेर
नाङ्गो–उदांगो सहर छाड्छु

दिक्दारी यो कोलाहल
षडयन्त्रका संगिन काँडाहरु
कठपुतली अधिकारकर्म गर्नेहरु
यी सवै छाडेर विलिन हुन्छु

कहीँ कतै आत्माहरु जीउँदा पाएँ भने सोध्नेछु–
के दिएर गएका थियौ ?
के महसुस गरेका छौ ?
के अपेक्षा राखेथ्यौ ?
के पाइरहेका छौ ?
यो कृत्रिम बस्तीमा
सायद,
जीवित भेटिन्नन्, आत्माहरु पनि ।
(१८, पुस, २०६९) 


विदेशी शक्तिस्वार्थमा नेपाली राजनीति

विनोद ढकाल
अन्तर्राष्ट्रिय शक्तिको ध्यान नेपालको सरकारमा रहनुका अनेक कारण हुनसक्छन् । तर, मुख्य दुई शक्तिराष्ट्रहरु चीन र भारतको ध्यान उनका आफ्ना स्वार्थमा केन्द्रित छन् । यी दुई राष्ट्र बाहेक पश्चिमा मुलुकको नेतृत् वगर्ने अमेरिकाको ध्यान झनै तिव्र रुपमा खिचिएको छ ।
यस्ता स्वार्थका उदाहरणहरु उनले गर्न खोजेको नयाँ प्रयोग र सरकारी स्तरका प्रस्तावहरुले पुष्टयाँई गरिरहेको छ । नेपालमा बढ्ने पाकिस्तानी चहलपहल र नक्कली भारतीय नोटमात्र होइन, पाकिस्तानको प्रभावलाई कमजोर पार्न चाहन्छ, भारत । उसले पाकिस्तानको नेपालमा प्रभाव बढ्नु र चीनको पनि भुमिका सक्रियता हुनुले आफु कमजोर हुने कुटनीतिक विश्लेषण गरेको छ । त्यसकारण भारतीय सञ्चारमाध्यमहरुले पनि नेपालमा भएका चीनियाँ सहयोग र पाकिस्तानीहरुप्रतिको सहानुभुतिलाई भारतलाई कमजोर बनाउने नियत भएको खबर गर्छन् । यतिमात्र हैन, भारतीय सरकार संयन्त्र पनि यस कुरामा सजग छ । जसका कारण काठमाडौं लगायतका ठाउँमा उसका जासुसहरुको भुमिका तिव्र हुने गरेको छ । हुन त काठमाडौं खासगरी अन्डरवल्र्ड अपराधको शाखा पनि बन्दै गएको छ । तर, यी सवै घटनाहरु मुलुकको भारत र पाकिस्तानसँग जोडिएको छ भने चीनको समस्याका रुपमा व्याख्या हुने तिव्वती शरणार्थीसँग पनि जोडिएको छ । यी मुद्दाहरु बनेका छन् तर आर्थिक शक्तिका रुपमा विकास भइरहेका चीन र भारतको प्रतिष्पर्धा तथा दक्षिण एसीयामा प्रभुत्व जमाउने स्पर्धाका रुपमा पनि भइरहेको पाइन्छ । यी छिमेकी मुलुकहरुको मुद्दामा नेपाली राष्ट्रियता, राजनीति र सरकारको विषय जतिवेला पनि चक्रव्युहमा परिरहेको छ ।

पछिल्लो समयमा नेपालमा विदेशी शक्तिराष्ट चीनका प्रधानमन्त्री बेन जियाबाओको पाँच घन्टे नेपाल भ्रमणले पनि केही प्रभाव छाडेको थियो । उनको भ्रमण हुनासाथ भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको भ्रमण हुने चर्चा भारतीय दुतावासले गरेको थियो । तर, त्यो अहिलेसम्म पनि हुने टुंगोचाँही लागेको छैन ।
जियाबाओको भ्रमण नेपालसँगको सम्बन्ध विस्तारका लागिमात्र नभएर नेपालमा तिव्वती शरणार्थीको अवस्था र उनीहरुलाई सहयोग गरिरहेको शक्तिको विषयमा जानकारी लिनु पनि रहेको विश्लेषण गरिएको थियो । किनभने त्यसको केही महिनाअघि मात्र नेपालका लागि चिनियाँ राजदुत याङ होउलानले चीन विरोधी गतिविधि तिव्र रुपमा बढेको सार्वजनिक अभिव्यक्तिमात्र दिएनन् । त्यसबारे अध्ययन गर्ने चिनियाँ अधिकारीहरुको रिपोर्ट नै भएको दावी समेत गरेका थिए । चीनीयाँ विशेष टोलीले दिएको रिपोर्टका आधारमा यस्तो भइरहेको पत्ता लागेको उनको धारणा थियो । पश्चिमा शक्तिहरुप्रति लक्षित गर्दै उनले भनेका थिए–‘चीन विरोधमा कसले के के गरिरहेका छन्, हामीलाई राम्रोसँग जानकारी छ । तर, नेपाल सरकार चीन विरोधी गतिविधि नियन्त्रणमा गम्भिर छन् भन्ने हामीलाई लागेको छ ।’
    विश्वको उदयमान शक्ति चीन पछिल्लो समयमा नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी भुमिकामा देखिएको छ । उसको लक्ष्य नेपाली राजनीतिको पहुँचमा चीन विरोधी गतिविधिलाई रोक्नु नै हो । उता, अमेरिकाले भने तिव्वतको स्वतन्त्रताका लागि सहयोग गरिरहेको छ । उसले दलाई लामालाई सहयोग गरिरहेको छ । त्यसका लागि पनि नेपालमा हुने गरेको तिव्वत विरोधी गतिविधिको समर्थनमात्र होइन, त्यस्ता शरणार्थीलाई अमेरिका पु¥याउनका लागि पनि निकै प्रभावकारी उपस्थिती देखाइरहेको छ । उसले नेपालले यस कार्यमा सहयोग गर्नुपर्ने धारणा आन्तरिक संसदीय वैठकहरुमा राखिरहेको समाचार संस्थाहरुले उल्लेख गरिरहेकै छन् ।
विश्वको नयाँ शक्तिका रुपमा उदाइरहेको चीनको सैन्यशक्ति, आर्थिक उन्नती र आणविकविकासदेखि पश्चिमा मुलुकहरु डराएका छन् । विशेषगरि विश्वमहाशक्ति अमेरिका चीनको शक्ति संचयसँग भयभीत भएका कारण उसलाई कमजोर बनाउने रणनीतिमा चलेको छ । चीनको आन्तरिक द्वन्द्व नै उसको कमजोरीका रुपमा बुझेको अमेरिकाले स्वतन्त्र तिव्वतको आन्दोलनमा दलाईलामालाई सहयोग गर्नुमा उसको स्वार्थ हुनसक्ने अन्तराष्ट्रि मामिला विश्लेषकहरु बताउँछन् । त्यसलै विश्वमामिलामा अमेरिकीहरुले नेपाली भुमिलाई महत्वका साथ हेरेका छन् । सकभर चीन विरोधमा भारतबाट नै आफूलाई परिचालन गर्नखोजेपनि अधिकतम शरणार्थीहरु नेपाली भुमिमा रहेका कारण पश्चिमाहरुको भुमिका नेपालजस्तो विकासउन्मुख देशमा बढि देखिने गरेको छ । यसमा भारतीय सक्रियताले पनि निक्कै ठूलो प्रभाव पारेको छ । जसका कारण नेपाली विमानस्थलको व्यवस्थापनसम्मको प्रस्ताव भारतले गरेको अवस्थामा हामी बहस गरिरहेका छौं ।
चीनसरकारप्रति देखाउनुपर्ने सहानुभुति र विश्वशक्ति अमेरिकाको दवावको चेपुवामा परेको छ नेपाल । एकचीन नीतिप्रति इमान्दार देखिएको नेपालले निर्वासित तिव्वती धार्मिका गृुरु दलाई लामाको नेपाल प्रवेशका लागि गरिएको आग्रहलाई मानेको थिएन । नेपाल सरकारले उनलाई प्रवेशआज्ञा दिएन । चीनसँगको सम्बन्ध सुधार तथा एकचीन नीतिप्रति इमान्दारीताका लागि नेपालले यस्तो निर्णय गरेको थियो । जबकी दलाई लामा भारत हुँदै पश्चिमा मुलुकहरुमा सजिलै प्रवेश पाउन सफल छन् ।
छिमेकीसँगको सम्बन्ध सुधार र विश्वशक्तिसँगको सहकार्यको निरन्तरतालाई कसरी लैजाने भन्ने अवसर र चुनौतिमा अहिले नेपाल सरकार परेको छ । यसैबेला अमेरिकामा नेपालबारे उठेको छलफलको मुख्य कारण पनि निर्वासित तिव्वतीहरु नै हुन् । तिव्वती शरणार्थीलाई नेपाल हुँदै तेस्रो मुलुक जान नदिएमा अमेरिकालले नेपाललाई दिदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिइसकेको छ । चीनको स्वासित क्षेत्र तिव्वतबाट नेपाल पसेका शरणार्थीहरुलाई अमेरिका लगायतका अन्य मुलुक जानका लागि नेपाल सकारले एक्जिट भिसा उपलव्भ नगराए अमेरिकाले नेपाललाई वार्षिक दिदै आएको लाखौं डलरको सहयोग रोक्ने चेतावनी आउनुले पनि अहिले नेपालको भुमिका कस्तो हुन्छ ? वा बनाउनुपर्छ भन्ने बहस अत्यन्तै महत्वको विषय हुनुपर्ने हो । अमेरिकी कांग्रेसको वैदेशिक साहयता सम्बन्धि समितिमा भएको तिव्वत मामिला सम्बन्धि छलफलमा नेपालले तिव्वती शरणार्थीप्रति गर्दै आएको व्यवाहार नसुधारेमा सहयोग कटौतीमात्र नभई पुरै रोक्ने छलफल भएको छ । तिव्वती शरणार्थीप्रतिको व्यवाहार नसुधारे नेपालका लागि अमेरिकाले गर्दै आएको सहयोक रोक्ने प्रस्ताव संसदमा लैजाने तयारी गरेको ओल्फले फ्रान्सेली समाचार संस्था एएफपीसँग बताएको केही साता अघिमात्र सार्वजनिक भएको थियो ।

अमेरिकाले नेपालको विकासका लागि सन् २०१० मा साढे चार अरव रुपैैंया सहयोग गरेको सरकारी तथ्याङ्क छ । उसले यस बाहेक विभिन्न प्याकेजमा सन् २०१३ सम्म नेपाललाई १६ अरव रुपियाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । यही घोषणाको सहयोग समेत रोक्न सक्ने चेतावनी पनि स्वार्थकेन्द्रित देखिन्छ । नेपालका लागि चीन सहयोगी छिमेकीका रुपमा उदाउँदो छ । उसले नेपालको विकास निर्माणमा र सैन्य बलमा समेत पछिल्लो समयमा खुलेर सहयोग गर्दै आएको छ । स्वार्थ विनाको सहयोग हुँदैन भन्ने सामान्य सिद्धान्तलाई केलाउने हो भने चीन नेपालमा स्वतन्त्र तिव्वतका स्वरहरु सुन्न चहाँदैन । र, वार्षिक विभिन्न कोणबाट सहयोग गरिरहेका अमेरिका लगायतका पश्चिमा मुलुक भने सँधै चीन विरोधी गतिविधि सुनियोस भन्ने चाहना राख्छन् ।
यी र यस्ता निक्कै घटनाहरु छन् । पश्चिमा शक्तिसहित भारतीय संस्थापनले पनि आफ्ना स्वार्थमा काम गर्न नेपाललाई ‘हव’ बनाउने प्रयत्न गरेका छन् । त्यसको दवावमा नेपालका हरेक सरकार प्रभावित हुने गरेका छन् भने चीनले पनि आफ्नो प्रतिरक्षाका लागि नेपाली प्रशासनयन्त्रलाई दवाव दिने गरेको छ । विश्व मानचित्रमा नेपालको आकार सानो भएपनि अहिले विश्वका महाशक्तिहरुबीच महत्वको विषय बनेको छ । विश्वको जल्दोबल्दो विषय ‘स्वतन्त्र तिव्वत’का लागि निर्वासित तिव्वतीहरु र एक चीन नीति मध्ये कसलाई सहयोग गर्ने भन्ने विषयमा अहिले दुविधामा छ नेपाल सरकार । एकातिर चीनको दवाव र अर्कोतिर अमेरिकाको दवाव परेको छ । छिमेकीको नाताले एकचीन नीतिलाई कायम राख्नका लागि चीनको दवाव छ भने शरणार्थीको अधिकारलाई कायम राखि तेस्रो मुलुकको ‘एक्जिट भिसा’ दिनुपर्ने अमेरिकी दवाव छ । चीनले अहिले पनि आर्थिक सहयोग जारी राखेको छ भने अमेरिकाले आफुले भनेको काम पुरा नभए आर्थिक सहयोगलाई रोक्ने चेतावनी दिइसकेको छ ।
तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा गएको सोमबार प्रकाशित लेख हो ।