Friday, April 12, 2013

नयाँ वर्षको शुभकामना नयाँ तस्वीरहरुबाट

फूललाई नजिक नलेऊ विझाउन सक्छ,
काँडाहरु छिचोलेर सायद, रिझाउन सक्छ ..

A Wonderful gift from Abhi for me...Thank you and HNY-2070 for all.


Thursday, April 11, 2013

बन्दीगृहभित्र लोकतन्त्र

विनोद ढकाल 
राजदरबार अब ऐच्छिक इतिहास भन्ने विषयको पाठ्यक्रममा हुन सक्ला तर अन्य क्षेत्रमा यस बारेको चर्चा कमैमात्र हुनेछ । कुलमण्डन खानले स्थापित गरेको शाहवंशीय राजतन्त्रको झोला रित्याएर ज्ञानेन्द्र शाहले नेपाली जनताको नाममा गणतन्त्रको भार सहन गर्न तयार भए । त्यो भार जसले उनको पतन निश्चितप्रायः त गरेको थिएन तर हुन्छ भन्ने अड्कलबाजी उनकै अतिमहत्वाकांक्षी व्यवहारले देखाएको थियो । फलतः पुनस्र्थापित संसद्को प्रक्रियाबाट नयाँ स्वरूपमा आएका लालदरबारका हुकुमका एक्काहरूको प्रस्तावकै कारण हुनुपर्छ, गिरिजाप्रसाद कोइरालाहरूसँग जोडिएको महत्वाकांक्षामा राजसंस्था विलिन भयो । यो स्वाभाविक प्रक्रियाको एउटा निरन्तरताका रूपमा लिन नेपालीलाई कुनै अप्ठ्यारो थिएन । स्वार्थी राजा कहिल्यै जनताको हुन सक्दैन भन्ने मनोविज्ञान स्थापित भइसकेकाले पनि जनआन्दोलन–२ मा उर्लिएको भेलले ०६४ मा राजसंस्था काँध थापेर हिँडेको दललाई चार सिटमा सीमित बनायो । यो जनताको फैसला थियो, जसलाई स्वीकार्नुको विकल्प कसैसँग थिएन । त्यसपछि नागरिकको अधिकार निश्चित भएको राजनीतिक वैज्ञानिक वक्तव्यबाजीको ठूलो ध्वांश छरियो, लोकतान्त्रिक गणतन्त्रका नाममा । तर, यहाँ लोकतन्त्रको परिभाषा राम्रोसँग हुन सकेन जसका कारण गणतन्त्रको विषयमा छिर्नु नै अनिवार्यता ठान्दिनँ म । यो प्रक्रियाले इतिहासमा निरंकुशताको वकालत गरेको भनेर प्रचारबाजी गरिएका राणा खानदानका जीवित पात्र पशुपति शम्शेर जबराजस्ता मानिसलाई फरकतन्त्रसँग जोडिन बाध्य बनायो । भलै कमल थापाहरू अपवादका रूपमा उम्लिए । तर, राणासँगको भेटमा लाग्यो, उनको दरबारमा लोकतन्त्र कैदी भएको छैन । उनको दरबार अहिले पनि प्रजातान्त्रिक ठाँटमै चलिरहेको छ । जुन घरमा लोकतन्त्र बलियो हुन्छ त्यहाँ फूलहरू ओइलाइका हुँदैनन्, जुन घरमा प्रजातान्त्रिक अभ्यास प्रगाढ रहन्छ त्यहाँ कार्यरत मानिस रमाएका हुन्छन् । यहाँसम्म कि लोकतन्त्रलाई व्यवहारमा लागू गर्ने परिवारभित्र कुकुरजस्तो जनावर पनि नतमस्तक भएर जहाँतहाँ घुम्ने अधिकारसम्पन्न हुन्छ भन्ने लाग्यो । उनको दरबारमा लोकतन्त्रको सहज परिभाषा पनि भेटियो ।
लोकतन्त्र भनेको के हो ? यसको शाब्दिक तात्पर्यको खोजी यहाँ गरिएको होइन । न यसका समानार्थी अन्य शब्दको प्रयोगका बारेमा बहस सिर्जना गरिएको हो । हरेक नागरिक अधिकारसम्पन्न हुन चाहन्छ । अधिकारबाटै आफ्नो महत्वाकांक्षालाई विधिमार्फत राज्यसंयन्त्रमा सहज र सालिन पहुँचको अपेक्षा राख्दछ । त्यसलाई सायद लोकतन्त्र भनिन्छ । सायद, सुरक्षा, शान्ति र रोजगारीको पर्याप्त अवसर पाउने अभिलाशामा युवाले डिग्रिको प्रमाणपत्र खुसीले हातमा राख्दछ, परिवारको गर्जो टार्नका लागि खाडीको धूपमा जाने कल्पना नगरी नागरिकले बेचैनीका साथ मुलुकमा बस्ने जाँगर चलाउँदछ त्यो चाहिँ लोकतन्त्र हो । गाली गर्ने अधिकार होइन, प्रशंसा गर्ने हिम्मत बढाएर अलोचनासम्म गरेर सच्याउने बाटो पहिल्याउने पथमा आमनागरिक लाग्दछ भने त्यो चाहिँ पो लोकतन्त्र हो कि ? हुन त अहिले आफू अनुकुलका परिभाषा नै हरेक ठाउँमा चर्चा हुने गरेका छन् । तर, सबै अनुकुलको समान अवसर लोकतन्त्र हुनुपर्छ । अझ, लोक अर्थात् जनताको शासन व्यवस्था चाहिँ लोकतन्त्रको वास्तविक परिभाषा हुन सक्ला । अझै पनि यसका अनेकौं अर्थको बहस जारी रहोस् तर व्यावहारिक रूपमा यसको अर्थ एउटैमात्र छ त्यो हो सुव्यवस्था ।
लोकतन्त्रका सैद्धान्तिक परिभाषा के हुन सक्छन् भन्ने बारेको ज्ञाता होइन म । मुलुकमा निकै विश्लेषकहरू छन्, लोकतन्त्रका विभिन्न कोणबाट परिभाषा दिने । अनेक परिभाषाको तुलना गरी खास लोकतन्त्र कस्तो हुँदो रहेछ भन्ने ‘थ्योरी’ दार्शनिकहरूले नै दिँदा उपयुक्त हुन्छ । तर, आम साधारणले सोच्ने लोकतन्त्र भनेको शान्ति, सुरक्षा, रोजगारी, शिक्षा, पानी, कुलो, बिजुली, बाटो नै हो । मुलुकका नागरिकले यो लोकतन्त्र पाउन सकेका छैनन् । यस्ता लोकतन्त्रहरू कतै कांग्रेसका नाममा सुशील कोइरालाको दरबारमा बन्द छ । कतै डल्लु दरबारतिर हुर्किरहेका होलान् । सबै भन्दा बढी चाहिँ लैनचोरको लालदरबारमा हुर्किरहेको होला । त्यहाँ बहुविवाहका मुद्दा लाग्दैनन् अनि हत्याका आरोपीहरू सुरक्षित हुन्छन् । अनि सबैभन्दा ज्यादा झुठको बाली पनि हुर्किरहेको छ ।
नेपाली राजनीतिमा हुर्किएका नयाँ दरबारीया खेलबाट कोही पनि जानकारविहीन छैनन् । बरु त्यसलाई पहिल्याउने कोणमा चाहिँ रनभुल्लमा पार्ने कोशिष गरिएको छ । जंगलतिरबाट सहरतिर छरेको जनयुद्धको नामले स्थापित गरेको नयाँ दरबारसँग तत्समयमा सहरमा आन्दोलित भएको प्रजातन्त्रका वकालतीहरू पनि दरबार बनाउनमै व्यस्त भए । जनताको रगतले पोतिएको इतिहासमा जनता कहिले पनि अधिकारसम्पन्न हुन सकेनन् । अहिलेसम्म पनि जनताको खास अधिकारका रूपमा रहेको चुनावी माहौल, आफ्नो मत र त्यसले व्यवस्था गर्ने नयाँ राजनीतिक परिदृश्य देख्ने अवसर मिलेको छैन । ०६४ मा बलजफ्ती गरिएको निर्वाचनलाई पनि खासगरी तीनतिर फर्किएका दरबारले हरण गरेका थिए । सतहको नागरिक अहिले पनि मूर्दा लोकतन्त्रको नाममा बाँचिरहेका छन् । कुनै आमुख आदिवासीको मृत्युमा अनेक आदिवासीले नृत्य गरेजस्तो मृत्युवरण गरिसकेको लोकतन्त्रको वरिपरि नागरिकहरू नाचिहरेका छौं । भन्दैछौं अझै– यही असली लोकतन्त्र हो । जनताको सार्वभौमसत्ताको चिरहरण भइसकेको छ । सबैलाई थाहा छ, सार्वभौमसत्ता भनेको जनताको मतले अधिकारसम्पन्न संसद् नै हो । या, यसलाई संविधानसभाको खोल ओढाएको जिनिस भने पनि हुन्छ । अब हामीसँग त्यो नै नरहेपछि राजनीतिक दलका नाममा हस्ताक्षर गरेर रेग्मीलाई सुम्पिएको प्रशासनयन्त्रलाई लोकतन्त्र सुरक्षार्थको सरकार भन्न मिल्दैन । भलै रेग्मीयन्त्रले निर्वाचनको घोषणा गरेको होस् तर त्यो अलोकतान्त्रिक, गैरराजनीतिक चरित्र र अवैधानिक निकायबाटै सञ्चालित भएको पुष्टि हुन्छ । त्यसकारण पनि हामीले खास प्रजातान्त्रिक अभ्यास गरिरहेका छौं भन्ने भ्रममा बाँच्नुभन्दा अरू हुनै सक्दैन ।
बजारमा सुनिन्छ, राजनीतिक दलका नेताको भाषणमा पनि सुनिन्छ– लोकतन्त्रको पांग्रा गुडिसकेको छ । अब जनताको अधिकारमाथि कसैले पनि हमला गर्न सक्दैन । एक राजनीतिक दर्शनमा हुर्किएको दरबारले संविधानमाथि टेकेर लादेको शासन व्यवस्थालाई बलात्कार गरेको भन्दै गैरसंवैधानिक बाटोबाट उम्लिएको अहिलेको राजनीतिक चमत्कार हुन सक्दैन । परिधि निकाल्नका लागि प्रयोग हुने फर्मूलाको ठाउँमा क्षेत्रफलको फर्मूलाले कहिल्यै समाधान आउँदैन । गाली गर्न पाउनुपर्छ भन्ने माग कुनै मानिसको छैन । मान्छे भएर बाँच्न पाउनुपर्छ, अधिकारसम्पन्न नागरिकको तहका रूपमा हुर्किन पाउनुपर्छ भन्ने मान्यता हर कोहीमा छ । तर, खोई त कुन–कुन दरबारमा कैद भएका छन् यी अधिकार ? सायद खिलराज रेग्मी प्रशासनयन्त्र हुर्काउने चारदलीय नेताका दरबारमा लोकतन्त्र हुर्किरहेको होला, एकपटक नजिकबाट सोधौं ।
चार दलले निर्वाचनमा जाने निर्णय गरी नयाँ सरकार गठनमा तमसुक गरेकोप्रति असन्तुष्टि जनाउने एउटा ठूलो पार्टी भएकाले नेकपा–माओवादीले सानातिना ध्वांश देखाउनु स्वाभाविक पनि छ । उसले पनि लोकतन्त्रको दुहाई दिएको छ । के उसको दुहाई स्वीकारयोग्य छ त ? उसको व्यवहारले त्यस्तो देखाउँछ र ? मोहन वैद्य नेतृत्वको माओवादीले पनि आफूलाई अलग दरबार बनाउन दिनुपर्छ भन्ने स्वार्थलाई नै अघि सारेको हो । तर, यी मागको कुनै तुक देखिँदैन । यी कार्यकलापबाट पनि कुनै समाधान आउने सम्भावना छैन । यसले त केबल कुपोषण लागेको लोकतन्त्रलाई रोगको संक्रमण गराउनेभन्दा अरू केही गर्दैन ।
यसर्थ, चार दलका नाममा पुष्पकमल दाहालहरूले खडा गरेका लालदरबारभित्र कैद लोकतन्त्र किन सप्तरीको पातो गाविसमा पुग्न सकेन । विजय गच्छादारहरूको घरको बन्दीगृहको लोकतन्त्र किन सुनसरीको भरौल गाविसमा छिर्न सकेन ? यी अनेक प्रश्नको जवाफ त्यहाँ बाँझा खेतबारी, कलिला हातको श्रम, युवाहरूको वैराग्यताले उत्तर दिनेछ ।

विप्लवहरुको सम्पत्तिमा कसले झण्डा गाड्ने ?


विनोद ढकाल
सातामा राजनीतिक रुपमा गतिला समाचारले सहर तताउन सकेन । निर्वाचनलाई केन्द्रविन्दु बनाइएका फुस्रा खबरहरु सार्वजनिक भए र केहीहदसम्म एकीकृत नेकपा माओवादीले सरकारसँग असन्तुष्टि जनाएको खबर आयो । तर, यी खबरहरुभन्दापनि ध्यानकेन्द्रित गर्ने खबरचाँही मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको बर्दियामा रहेको जग्गामा नेकपा–माओवादीले आफ्नो झण्डा गाडेको नै थियो । जंगलपनि नजाने तर आन्दोलन जारी राख्ने घोषणा गरेको नेकपा–माओवादीले किन कव्जाको रणनीतिलाई अपनायो ? शान्ति प्रकृयामार्फत सहरकेन्द्रित राजनीतिमा फर्किएर पनि किन कव्जाको राजनीतिलाई पछ्यायो । अथवा यो कव्जाको रणनीति किन रेग्मीको जग्गाबाट नै सुरु भयो ?
चार दलले निर्वाचनमा जाने निर्णय गरी नयाँ सरकार गठनमा तमसुक गरेकोप्रति असन्तुष्टि जनाउने एउटा ठूलो पार्टी भएकाले नेकपा–माओवादीले साना तिना ध्वाँस देखाउनु स्वभाविक हुन्छ । तर, पुरा प्रक्रिया र जनताको अधिकार स्थापित गर्ने एउटा संरचनालाई असर गर्नेगरी माओवादी उत्रिनु कति जायज हुन्थ्यो होला ? त्यस पार्टीले विचारविमर्श गरोस् ।
हुन त राजनीतिक रुपमा आक्रामक बन्दै आएको नेकपा–माओवादीसँग स्थायी राजनीतिक मुद्दाको अभाव देखिन्छ । अहिलेसम्म उसँग कुनै स्थायी राजनीतिक एजेण्डा वा कारण देखा परेको छैन । भारतसँग गरिएको विप्पा सम्झौताको विरोध गर्दै आएको पार्टीले संविधानसभा विघटनको मुद्दालाई पनि काँध थाप्यो । त्यतिमात्र नभएर अहिले चार दलीय राजनीतिक निर्णयको विरोधमा आफ्ना आन्दोलनका कुरा चर्का रुपमा उठाइरहेको छ । यो राजनीतिक चरित्र हो वा अराजनीतिक चरित्र हो भन्नेचाँही सडकबाट जनताले नै निर्णय गर्नेछन् । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जति सम्पत्ति छ त्यसको तुलना फोब्र्स म्यागजिनको सुचीमा आएका उद्योगपति विनोद चौधरीको पनि हुन सक्तैन । प्रचण्डको माथाहतमा रहेको लाजिम्पाटको रातो वंगला होस अथवा तिनकुनेमा रहेको ८६ करोडको जमिन । वर्गीय आन्दोलनको नाममा उठेको रकमको लगानी त्यहाँ हुँदाचाँही छुट दिएर मन्त्रीपरिषद्का अध्यक्षकै पुर्खौली सम्पत्तिमा किन माओवादीको आँखा पुग्यो ? अगाडी क्रान्तिका कुरा गरी जनतन्त्रको वकालत गर्ने मोहन वैद्य माओवादीलाई राम्रोसँग थाहा छ यो मुलुकमा कसको सम्पत्ति कत्ति छ भन्ने । यदि साँच्चै नै जनताको आन्दोलन सुरु गरेको भए प्रचण्डलाई छुट दिनुको कारण के हो ? प्रष्टीकरण दिनु आवश्यकतामात्र होइन अनिवार्यता पनि छ । यदि एमाओवादीमा रहेका नवधनाड्यवर्गलाई छुट दिदै चर्चा र संविधानसभाको निर्वाचनको अवरोधका लागि आन्दोलनका नाममा परिचालित भएको हो भने वैद्यहरुको वैद्यानिकता पनि समाप्त हुनेछ । त्यसो त एमाओवादीसँग विभाजनका समयमा सम्पत्तिको वाँडफाँडमा कुरा नमिलेको तथ्य पनि बाहिर नआएको होइन । अरबौंको सम्बपत्ति संयोजन गरेको माओवादी विभाजनका समयमा ६०÷४० को भागबन्डा पनि भएकै हो । आफ्नो पोल्टामा परेको सम्पत्ति कहाँ र कसका घरमा राखिएको छ ? त्यहाँ कसले कस्तो रंगको झण्डा गाड्ने ? विप्लवहरु पार्टीमा वर्गीय आन्दोलनका चर्का नारा गरिरहेका छन्, उनका सम्पत्तिमा कसले कव्जा जमाउने ? सीपी गजुरेलहरु नयाँ संविधानसभाको चुनाव हुन नदिने धमास दिइरहेका छन्, उनका गाडीहरु कुन पार्टीले कव्जा जमाउने ?
एकथरीले भनेजस्तो गरी सडकमा रहेको नेकपा–माओवादीले मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीको बर्दियामा रहेको जग्गाकव्जा गर्नु कुनै राजनीतिक काम होइन, यो नियोजित रुपमा निर्वाचनलाई असारबाट सार्ने र मंसिरमा असफल बनाउने रणनीतिक अभ्यास हो । राजनीतिक दलले गर्न नसकेको निर्वाचन कुनै आमुख व्यक्ति सानो सरकारले सवै प्रकृया पुरा गरेर सफल बनाउन सक्छ भन्ने एउटा भ्रम हो । अन्ततः अनेक कारणबाट रेग्मी सरकार पनि नयाँ चुनाव गराउन असफल हुनेछ । सरकार गठन भएको एक महिनापनि नपुगी नै वुद्धिजिविबाटै यो सरकारको आलोचना सुरु भइसकेको छ । क्षेत्रीय, जातिय र वर्गीय रुपमा सरकारले पूर्णता पाउन नसकेको तथा समावेशीकरण हुन नसकेको आरोप डा. गोविन्द तुम्बाहाम्फेले सार्वजनिक रुपमै लगाइसके ।
सन् १९५० मा भारत–नेपालको सन्धिकै बलमा डा. बाबुराम भट्टराईको तत्कालिन सरकारले विप्पा सम्झौता गरेको हो । विप्पा सम्झौताले भारतीय लगानीकर्ता भित्रिने र तिनीहरुका सन्तानले फेरि जन्मसिद्ध नागरिकताको कुरा उठाएर नेपाललाई आफ्नो हुकुमतमा राख्ने भारतीय योजना दिर्घकालिन हो, यो बुझ्न आवश्यक छ । यो एउटा तर्कमात्र होइन, लुकेको यथार्थ हो । संविधानसभाको चुनाव नगराउनका लागि विभिन्न प्रकारका राणनीतिहरु तयार हुन थालिसकेका छन् । विश्लेषकहरुले रेग्मी जग्गाकव्जा प्रकरणलाई सरकारकै योजना रहेको पनि भन्न थालेका छन् । यस्तो योजना जसले तोकिएको समयमा चुनाव नगराउने बाहनाबाजीका रुपमा पनि कुरा उठाएका छन् । तर, यो एउटा तर्क या योजना पनि हुन सक्छन् । तर, कव्जाप्रकरण देखिएको सत्य हो यो सत्यलाई मोड्नका लागि अनेक कारणहरुले छोप्ने कोसिस गर्नु वेकार हुन्छ । भौतिक रुपमा कव्जा र आक्रमणमा उत्रिनु न्यायिक पाटो, लोकतान्त्रिक चरित्रको विपक्षमा उभिनु हो । त्यसकारण पनि अलोकतान्त्रिक चरित्र सत्तामा पुगेकै व्यक्तिका लागिमात्र प्रयोग गर्ने परिपाटी अन्त्य गर्नुपर्दछ । नेकपा–माओवादी र एमाओवादीभित्रका विस्तारित वैठक, महाधिवेशन लगायतमा पनि सम्पत्तिबारे चर्को विरोध र आलोचना भइरहेको तथ्य सवैका सामु छर्लंग भएको हो । त्यो सम्पत्तिका बारेमा चुइँक्क नबोल्ने अनि आम साधारणको सम्पत्ति, उसका पूर्खाले आर्जेको सम्पत्तिमाथि हमला गर्नुपर्छ भन्ने क्रान्तिकारीता कसलाई पढाउन थालिएको हो ?
आमसाधारणलाई थाहा छ माओवादी जातमा हुर्केको राजनीति र त्यसका कार्यकर्ताहरुसँग कति सम्पत्ति छन् भन्ने । यो कुरालाई विश्लेषण र विवेचना नगरी अरुमाथि हमला गर्ने योजना क्षणिक रुपमा सफल हुनसक्छ तर यो दिर्घकालिन रुपमा सफल हुने अभियान र आन्दोलनचाँही होइन । वैद्यले बुझे हुन्छ ।
 
तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित 

Wednesday, April 10, 2013

मुलुकमा धर्म निरपेक्षता गलत

पशुपति शम्शेरसँग अनौपचारिक गफगाफ
विनोद ढकाल
गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अब धर्मसापेक्षता (हिन्दू राष्ट्र) को पक्षमा अडान लिने भएको छ । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले विगतमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालका कारण धर्म सापेक्षता हटेको भन्दै अब पार्टीको अभियान धर्म सापेक्षताका लागि हुने बताए ।
‘धर्म निरपेक्षता अहिलेको चाहना थिएन, जुन मुलुकमा ८० प्रतिशतभन्दा ज्यादा हिन्दूहरू रहेको जनगणनाको सरकारी तथ्यांक आउँछ, त्यो मुलुक धर्म निरपेक्ष कसरी हुन सक्छ ? महाराजगञ्जस्थित निवासमा  कुराकानीका क्रममा अध्यक्ष राणाले भने, ‘त्यसकारण राप्रपा धर्म सापेक्षताको आधारलाई मूल मुद्दाका रूपमा उठाउने तयारीमा छ ।’ हिन्दू राष्ट्रका सवालमा प्रजातान्त्रिक शक्तिहरू एकमत नभए मुलुकमा क्रिस्चियनहरू हाबी हुने पनि राणाको तर्क छ ।
‘नेपालीको चाहना जनगणनाले देखाएको छ तर पनि मुलुक किन धर्म सापेक्षातामा छैन ?’ अध्यक्ष राणाले भने, ‘तत्कालीन संविधानसभा वा संसदको मुद्दा पनि धर्म निरपेक्षता थिएन ।’ कोइराला र  दाहालको स्वार्थका कारण धर्म सापेक्षता हरण भएको उनले आरोप लगाए । संविधानसभाले पाँच वर्षअघि गणतन्त्र र धर्म निरपेक्षता घोषणा गर्दा राप्रपाका सभासदहरूले ताली बजाएर समर्थन गरेका थिए ।  अहिले राप्रपा नेपालले हिन्दू राष्ट्रका पक्षमा धारणा राख्दै आएकामा राप्रपा पनि थपिने भएको हो ।
सरकार बाध्यात्मक, सेना अघि सर्दैन
दलीय विकल्प छाडेर यतिबेला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठनको प्रक्रियालाई राप्रपाले अस्वीकार गरेको राणाले बताए । यो प्रक्रिया गैरप्रजातान्त्रिक भएको पनि उनको टिप्पणी छ । ‘तर, प्रक्रिया गैरप्रजातान्त्रिक भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिर्गमन अनिवार्य र निर्वाचन अविलम्ब हुनुपर्ने भएकाले हामी चुप लाग्यौँ,’ अध्यक्ष राणाले भने ।
मुलुकमा निर्वाचनको विकल्प हुनै नसक्नेमा दृढ रहेका अध्यक्ष राणाले यसको विकल्पमा सैनिक शासन सम्भव नहुने ठोकुवा गरे ।  ‘प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको निर्वाचन नभए मुलुकमा कस्तो शासन आउँछ भन्ने सोच्न सकिन्न,’ राणाले भने, ‘बजारमा हल्ला चलेजस्तो  राष्ट्रपति शासन पनि आउन सक्छ तर सैनिक शासनचाहिँ सोच्न कठिन हुन्छ ।’
नेपाली इतिहासमा सेना आफैँ अघि सरेर कहिल्यै पनि सत्ता नलिएको उदाहरण पनि राणाले प्रस्तुत गरे । ‘सेना विगतमा जंगबहादुर, भीमसेन थापाको आडमा अघि सरेको थियो, राजाहरूको भरोसामा पनि अघिसरेको हो । तर सेनाले आफैँ सत्ता लिएको छैन, उसले त्यो हिम्मत पनि गर्दैन,’ राणाले दृढतासाथ भने । अध्यक्ष राणा प्रधानसेनापति गौरव शमशेर राणाको काका नाता पर्छन् । ‘यी ‘हाइपोथेटिकल’ कुरा हुन्, म राजनीतिमा ‘हाइपोथेटिकल’ कुरा गर्दिनँ,’ सैनिक शासनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने ।
अध्यक्ष राणाले नयाँ निर्वाचनको अनिवार्यतालाई सबैले स्वीकार गर्नुपर्ने पनि स्पष्ट पारे । ‘नयाँ निर्वाचन आवश्यकता हो ।  अनि, प्रजातान्त्रिक शक्तिहरूको गठबन्धन पनि आवश्यक छ,’ राणाले भने, ‘गठबन्धनका मुख्य जिम्मेवार नेपाली कांग्रेस र एमाले हुन् । उनीहरूको चाहनाबिना एलायन्स हुन सक्तैन ।’ तर लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन नभए  फेरि पनि राजनीतिक डुंगा किनारामा पुग्न नसक्ने उनको तर्क छ । ‘अब उच्च महत्वाकांक्षा राख्ने उग्रवामपन्थ र प्रजातान्त्रिक शक्तिहरूको फरक ध्रुवीकरण भएमात्र मुलुक कुनै न कुनै राजनीतिक निकासको बाटोमा पुग्नेछ,’ राणाले भने ।
अध्यक्ष राणाले राष्ट्रिय जनशक्ति पार्टीसँगको एकीकरण निश्चितप्रायः रहेको पनि बताए । दुवै पार्टीको एकताको महाधिवेशन जेठ ३, ४ र ५ गते हुने राणाले जानकारी दिए । यसअघि वैशाख २३ गते महाधिवेशन हुने तय भएको थियो । ‘करिब सबै जिल्लामा एकता सकिएको छ, अब मूल पार्टी एकीकरण गर्नमात्र बाँकी हो, त्यो पूरा हुन्छ,’ राणाले भने ।
संवैधानिक राजतन्त्रलाई छाड्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँगको मतभेद नै राजतन्त्र र गणतन्त्र रहेको राणाले बताए । ‘अरू कुनै मतभेद छैन, एकीकरणको कुरा चलिरहेको छ, कुनै न कुनै सहमतिमा पुगिन्छ होला,’ राणाले भने, ‘तर अहिलेसम्म हामी राजतन्त्र स्वीकार गर्दैनौं, उहाँहरूले  गणतन्त्र स्वीकार्नुभएको छैन ।’

Friday, April 5, 2013

सेक्स, रंगमञ्च र धम्कीका कुरा


विनोद ढकाल 
‘हृवाट क्यान बी मोर इम्पोर्टेन्ट इन फ्याक्ट द्यान दी स्टडी अर प्रिन्सिपल अपअन हृवीच रेस्टस दी हृयापीनेस अफ म्यान एण्ड उमन बाई रिजन अफ देयर म्युचुअल रिलेसन ।’ सारमा के हो भने, महिला र पुरुषमा सबैभन्दा महŒवपूर्ण विषय उनीहरूको अध्ययन वा अन्य कुरा नभई साझा सोच हो ।  उनीहरूको साझा सोच नै ‘सेक्स’ सँग सम्बन्धित हुन्छ । मानिस जतिसुकै आफूभित्र बाँधिएर फरक कुरा गरोस् तर उपर्युक्त भनाइबाट अलग हुन सक्दैन । यो प्राकृति नियम हो । तर, प्रकृतिको नियमको पनि एउटा सीमा हुन्छ, त्यो सीमालाई कायम गरेका कारण मान्छे, विवेकशील भएको हुनुपर्छ । तर, नेपाली समाज यो विवेकी दुनियाभन्दा अलिक फरक हिसाबले दौडिएको पाइन्छ । 
अंग्रेजीमा भनाइ छ, ‘ओपन सेक्रेट’ । अर्थात् जुन कुरा सबैलाई थाहा छ तर त्यो सार्वजनीकरण भएको छैन । यस्तै एउटा विषय अहिले समाजका विभिन्न तहसम्म व्याप्त भएको पाइएको हो । खासगरी नेपाली चलचित्र क्षेत्रमा उदाउन थालेका नयाँ हिरोइनहरू र फिल्मक्षेत्रमा रहेका अन्य कलाकारकै हो । हुन त नेपाली सहरीया समाजको वैचारिक विकाससँगै बढेको सोचलाई कुनै सीमामा बाँध्न सकिन्न । तर, तुलनात्मक रूपमा बाहिर देखिने अनुहारभित्र लुकेका अनेकन कारणको चर्चा गर्नु अस्वाभाविक पनि हुँदैन । 
पहिलो विश्व अर्थात् पश्चिमा विकसित देशमा सेक्सबारे प्रयोगात्मक शिक्षणसंस्थाहरू प्रचलनमा आएका छन् । २१ औं शताब्दीको विकासक्रमसँगै पश्चिमा सभ्यतामा सामान्य विषयका रूपमा उदाउँदो छ । त्यहाँको विकाससँगै फस्टाएको वैचारिक र आर्थित तहको पनि तुलना गर्न मिल्दैन, नेपाली सहरीया समाजको । अझ नेपाली रंगमञ्च विभिन्न कारणले आफू कमजोर भएको अभिव्यक्तिहरू दिने क्रम पनि बढेको छ । अभिव्यक्ति कुनै व्यक्तिले बोलेरमात्र देखिने नभई त्यसका अनेक पाटाबाट विम्बित हुन्छ र यस्ता घटना केही महिनायता सुनिएका, पढिएका र देखिएका हुन् । 
अभिनेत्री रेखा थापाले बोलेको अंग्रेजीको विषयमा पत्रकारले प्रतिप्रश्न गर्दा उनले आफ्नो तहलाई बिर्सिन् र धम्कीपूर्ण शैलीबाट पत्रकारलाई कार्यक्रम स्थलबाट बाहिरिन भनेकी थिइन् । त्यो कति सातासम्म चर्चाको विषय बन्यो । त्यस्तै, अभिनेत्री निशा अधिकारीले पनि पत्रकारको क्यामेरा खोसेको विषयको चर्चा पनि कम भएको थिएन । उनीहरू मिडियाको जुन जगमा उभिएर अघि बढेका थिए त्यो जगमाथि नै आफ्नो ‘ननसेन्स’ व्यवहारलाई उतार्न पछि परेका थिएनन् । 
मानिस आफैंमा लोकप्रिय हुँदैन । उसको लोकप्रियताको पछाडि उसका अनेकौं संघर्षका इतिहास र उसका योगदानको मूल्यांकन हुने गरेको छ । बिनामूल्यांकन र अवमूल्यनका आधारमा कसैले चर्चा कमाएको घमण्डलाई राख्छ भने त्यो उसको आत्मरतीभन्दा केही होइन र आत्मरतिमा रमाउनेहरूको हैसियत समाजमा तल्लो स्तरको हुन्छ । तल्लोस्तरमा त्यहाँ पुग्दछ जसले इतिहासलाई आफ्नो पोल्टामा पार्नेगरी कहिल्यै उठाउन सक्ने हिम्मत राख्दैन । 
विषयवस्तु छनौट गर्ने क्रममा पंक्तिकारले निकै विरोधाभाष हुनुप¥यो । नेपाली राजनीतिको अस्रेल्ल अवस्था, अर्थतन्त्रको कमजोर अवस्था, युवाहरूको नाजुक स्थितिसँग धेरै शब्दमा रुमल्लिरहँदा अखबारमा छापिएको पत्रकार धम्कीको घटनाको समाचारतिर ध्यान जानु स्वाभाविक थियो । धेरैपछि अखबारमा पत्रकारलाई धम्की दिएको समाचार पढ्न पाइयो अझ सप्रमाण । खास अर्थको धम्की थियो त्यो, जुन पंक्तिकारले पनि अडियो प्रमाणसहित सुन्यो ।
नेपाली समाजमा पद कसले सिर्जना गरिदियो ? अनि, धम्की दिने अधिकार कसले दियो ? धम्की खाने निरिहता किन आइप¥यो ? यी विविध पक्षमा विश्लेषण र समीक्षा त छँदै छन् । नेपाली रंगमण्डलभित्र छिरेर चिहाउने एउटा प्रयत्नमा घटनाप्रधान विषय उठान गर्नु अनिवार्य छ र पत्रकार विजय आवाजलाई अभिनेत्री सुमिना घिमिरेले दिएको धम्कीपछि नेपाली समाज अहिले पनि हिंस्रक मानसिकताको उपजबाट उन्मुक्त हुन नसकेको प्रतिविम्ब गर्दछ । 
अझ कलाकारिता क्षेत्र जसले ताली, गालीको सामना गरिरहनुपर्दछ त्यसले सामान्य गसिपको मूल्य र मान्यतालाई सामञ्जस्य गर्न सक्दैन भने त्यसमा कलाकार हुने गुण छैन भन्ने नै बुझ्नुपर्दछ । घिमिरेले जुन तल्लोस्तरको अभिव्यक्तिबाट पत्रकार विजय आवाजलाई धम्की दिएकी छन् यसले उनको रंगमञ्च यात्रा त सहज छैन नै त्यसमाथि उनको हैसियतको दरिलो मापन पनि गर्न सकिन्छ । खासगरी नेपाली चलचित्र क्षेत्रमा अहिले कलाभन्दा पनि सेक्सको बिक्री ज्यादा हुने गरेको छ । सामान्यतया समाजले कुन कुरालाई किन्छ भन्ने मानसिकताबाट निर्माताले आफ्नो उत्पादन गर्नु स्वाभाविक हो । यसप्रति कसैले टिप्पणी गर्नु जायज हुन्न । उसको उत्पादन बजारमा बिक्रीमा लैजाने वा नलैजाने भन्ने स्वयं उत्पादनकर्ता र सरकारी निकायको एउटा तह र तप्कामा छलफल होला । तर, त्यही ‘यौनकर्म’सँग जोडिएको कथामा पात्रका रूपमा उत्रिएर रकम कुम्ल्याउनेले त्यसैको चर्चा गर्दा धम्की दिनु कति जायज छ ? प्रश्न पाठकका लागि नै छाडिदिएँ । उत्तर पाठकले नै दिँदा बेस हुन्छ । तर, नेपाली समाज अहिले पनि मानिसका व्यक्तिगत कुराकानी गर्नमा अभ्यस्त हुन्छ । नेपाली पत्रकारिताले पनि कुनै खास व्यक्तिको व्यक्तिगत कुरालाई जनतामा ल्याउनु पनि अस्वाभाविक होइन । प्रकाश दाहालले विना मगरलाई भगाएको समाचार सुनेर टिप्पणी गर्ने सुमिना घिमिरेहरूले उनको चरित्रको बारेमा लेख्दा धम्की दिनुपर्ने कारण के हो ? जेनिशा खड्काहरूको ब्लु भिडियो बजारमा आउँदा ताली पिट्नेहरूले प्रतिप्रश्न गर्ने कारण के हो ? अंगप्रदर्शनको सीमा नाघेर पत्रपत्रिकाका ब्लोअप र कभर पेजमा आफूलाई देखाउन पत्रकारसँग नै सम्बन्ध गाँस्नेहरूले यतिबेला यस्तो हर्कत किन देखाए ? रंगमञ्चका लागि यो एउटा प्रश्न ।  
कहिलेकाहीँ नेपाली रंगमञ्चतिर फर्केर हेर्दा ती सुनौला इतिहासहरू जीवितै रहेको भए निक्कै उच्च र सरल हिसाबले नेपाली कलाक्षेत्रको उचाई बढ्थ्यो कि भन्ने चिन्तन हुन्छ । ‘लालगेडी’, ‘लालपुर्जा’ टेलिभिजनका पर्दामा जीवन्त रहेका कलात्मक प्रस्तुितदेखि ‘वासुदेव’ भन्ने चलचित्रसम्मलाई स्मरणमा ल्याउँदा नेपाली कलाक्षेत्रले केही दिनसक्छ भन्ने अपेक्षा पक्कै पनि जन्मिनु अस्वाभाविक होइन । संघर्षका मैदानमा उत्रिएर मानिससँगको सम्बन्धलाई स्थापित गर्दै आफ्नो हैसियतलाई पनि कायम राख्नु कम चुनौतीपूर्ण कुरा होइन । यो हैसियत स्थापित गर्नका लागि कुनै खास बयानबाजीबाट सस्तो बनाइएको सगरमाथा चढ्ने घोषणा अथवा पत्रकारलाई धम्की दिएर मिडियामा छाउन सकिन्छ भन्ने तथाकथित कमजोर मानसिकता चाहिँ पूर्ण होइन ।
स्वाभाविक रूपमा मानिसले आफ्नो संघर्ष र त्यसको सफलताको अपेक्षा राख्दछ । सफलताको बाटोमा लम्किएका मानिस जीवनका अनेक कोणमा ठक्कर खाँदै अघि बढ्छन् । उनीहरूसँग एउटैमात्र महŒवाकांक्ष हुन्छ, सफलता । तर, असफल प्राणीहरू सयौं महŒवाकांक्षामा रुमल्लिएका हुन्छन् । उनका व्यक्तिगत जीवनदेखि सार्वजनिक जीवन पनि त्यति गतिलो हुँदैन । उनको महŒवाकांक्षा असीमित हुन्छ । तर, सपना देख्नेहरूले जित्ने हो सिर्जना गर्नेहरूले विजय पाउने हो । सपना देख्नेहरूकै पूरा हुन्छ । सपनामा नरमाउनेहरूले जीवनमा सिर्जनशील काम गर्न सक्दैनन् । उनका मानस्पटलमा सिर्जनात्मक अभ्यास त्यस बेलामात्र सुरु हुन्छ जब उसले अनेक सपना देख्छ र त्यो सपना पूरा गर्नका लागि भिन्न सिर्जनशील भ¥याङको साहरा लिने गर्दछ । एक अर्थमा भन्ने हो भने हरेक सिर्जनशील हातहरूर अनुहारहरू सपनाका सौखिन हुन् । उनीहरू दिउँसो राति या जुनसुकै बेला आफ्नो लक्ष्यअनुसारको सपनाकारमा रमाउने गर्दछन् । मानिस स्वाभाविक रूपमा महŒवाकांक्षी हुन्छ । तर, आफ्नो महŒवाकांक्षालाई सीमित हतियारको प्रयोगले चाँडो उचाइमा पुग्ने रहर देख्दा उसले आफ्नो उचाइको हैसियत बिर्सन्छ । ऊ देख्दा अधिक माथि हुन्छ तर वैचारिक हैसियतमा उही भुइँमान्छे हो भन्ने प्रमाण विविध ठाउँबाट विविध पक्षबाट दिन्छ । उदाहरणका लागि सुमिना घिमिरेको हर्कत काफी छ । 

Wednesday, April 3, 2013

मलेशियामा अवसरैअवसर

डी. विनोद
वैदेशिक रोजगारीका लागि कामदार ढुवानी गर्ने मुलुकको सुचीमा नेपाल अगाडी देखिएको छ । विश्वका एक सय आठ देशमा अहिले रोजगारीका लागि सरकारले खुल्ला गरेको छ । मानव ढुवानीकर्ताको सुचीमा रहेको नेपालले खाडी बाहेकको मलेशियाका लागिमात्र आठ लाख नेपाली पठाइसकेको झण्डै डेढ दशकको तथ्याङ्कले देखाएको छ ।
मलेशिया पछिल्ला समयमा नेपालीका लागि अवसरको खानी बन्दै गइरहेको छ । मलेशियामा नेपाली अखबार तलाइरहेका पत्रकार रमेश तुफानका अनुसार मलेशियामा हुने कृषि विकास, निर्माणका काम र अहिले घरेलु कामदारका लागि नेपालीहरुको माग बढिरहेको छ । रोजगारीको अवसर दिएको मलेशियामा विगत १४ वर्षदेखि नेपाली कामदारले पनि आफ्नो श्रम गन्तव्यका रुपमा मलेशियालाई लिएका छन् । २०५५ सालमा ८९ जना नेपाली श्रमिक श्रमस्वीकृति लिएर पुगेका मलेशियामा आजभोली झण्डै दैनिक पाँच सयको संख्याले उक्त मुलुक टेक्ने गरेको तथ्यांक वैदेशिक रोजगार विभागसँग छ ।
निर्माण कम्पनीदेखि घरेलु कामदारसम्मको माग भएको मलेशियामा अध्ययन गर्न गएको नेपाली सरकारी टोलीले पनि मलेशिया अझ राम्रो श्रम गन्तव्य वनदै गएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । विगत १४ वर्षको तुलनामा मलेशियामा ०६७ सालमा सवैभन्दा ज्यादा नेपाली पुगेका थिए । ०६७ मा एक ला १३ हजार ९ सय ८२ जनाले रोजगारी पाएको सरकारी तथ्यांकले देखाएको छ ।
नेपालमा द्वन्द्व सुरु भएको वर्षहरुमा भने नेपालीको उच्च संख्या मलेशिया जाने गरेको थिएन । विभागको तथ्यांकअनुसार ०५६ र ०५७ सम्म कमैमात्र नेपाली मलेशिया पुगेका थिए । ‘यी दुई वर्षमा जम्मा तीन सय २२ जनामात्र मलेशिया पुगेका थिए ।’ विभागले तयार पारेको एक प्रतिवेदनमा उल्लेख छ ।
न्युनतम तलव नौ सय रिंगिट बनाउने मलेशिया सरकारको निर्णयसँगै कामदार आफैंले लेवी तिर्नुपर्ने नियमपनि आएपछि केही ठाउँमा रहेका कम्पनीहरुमा सामान्यतया समस्या आएपनि त्यसलाई सहजीकरण गर्न सकिने अधिकारीहरुले बताउँदै आएका छन् । काम गर्ने ठाउँमा देखा पर्ने सानातिना समस्याले मलेशियामा पाएको अवसर गुम्न नसक्ने तुफानले बताए ।
वैदेशिक रोजगारको सम्भावना र अवसरबारे अध्ययन गर्न श्रम तथा मन्त्रालयका सह–सचिव विनोद केसी सहितको टोलीले मलेशियामा पर्याप्त अवसर रहेको निक्र्यौल गरेको थियो । त्यसकारण पनि खाडी बाहेक मलेशियालाई नेपाली श्रमबजारको गतिलो गन्तव्यका रुपमा व्याख्या पनि गरिएको छ । गत साउनमा मलेशियाका विभिन्न ठाउँमा पुगेपछि केसीले तयार पारेको प्रतिवेदनमा पनि निर्माण कम्पनीमात्र नभएर घरेलु कामदारका लागि पनि नेपाली श्रमशक्ति पठाउन सकिने उल्लेख गरिएको थियो । उक्त प्रतिवेदन टोलीले सरकारलाई बुझाइसकेको छ ।
टोलीले बढ्दो जीवनस्तर र कार्यव्यस्तताका कारण मलेसियामा घरेलु कामदारको माग बढीरहेको जनाएको थियो । नेपाल सरकारले घरेलु कामदारको बैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरी नेपाली राजदुतावास भएका साउदी अरेविया, कतार, कुवेत र यूएई मा लागू गरिसकेको छ । उक्त कार्यविधिका आधारमा मलेशियामा पनि पठाउन सकिने सुझाव पनि दिएको छ । नेपाली दुतावासबाट यस्ता कामदारको व्यवस्थापनका सम्बन्धमा छलफल गरी त्यस्ता कामदारको स्टान्डर्ड कन्ट्र्याक्ट, न्यूनतम तलव, कार्यस्तर तथा सुरक्षात्मक उपायहरुको बारेमा दुतावाससंग छलफल भई सिफारिश प्राप्त भएको अवस्थामा उनीहरुको निम्ति मलेसिया पनि एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ । दुई देशबीच श्रम संझौताले यसलाई सुव्यवस्थित रुपमा अगाडि बढाउने गरी प्रावधान राख्ने र एमओयु पश्चात व्यवस्थित मापदण्डका आधारमामात्र नेपाली घरेलु कामदार मलेसियामा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया अवलम्बन गर्न सकिने पनि जनाइएको थियो । अहिले मलेशियाका लागि पनि नेपाली घरेलु कामदार जाने क्रम सुरु भइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।


'दुवईको कमाइले जग्गा जोडियो'

तेह्रथुम, सिम्ले– ६ का रणधीर कुरुम्वाङले १२ वर्ष संयुक्त अरब इमिरेट्स (युएइ)को दुवइमा काम गरे । उनको अनुभव ः

सन् २००० मा काठमाडौंको शान्तिनगरमा रहेको एभरेष्ट म्यानपावर कम्पनीलाई ३५ हजार तिरेर म दुवईका लागि गएको थिएँ । त्यहाँ रहेको गिफ्ट आइल्याण्ड भन्ने इरानी गार्मेन्ट कम्पनीमा जागिरका लागि पुगेको थिएँ । यहाँबाट गएको तीन महिनासम्म लगातार काम गर्दापनि तलव दिएन । मसँग ७५ जना अन्य नेपाली पनि थिए । कसैलाई पनि उक्त कम्पनीले तलव दिएको थिएन । त्यसपछि हाम्रो कम्पनी म्यानेजरसँग तलवको विषयमा झगडा परेको थियो । झगडा परेपछि दुवई प्रहरीले सोधपुछका लागि हामीलाई एक रात राख्यो । हामीले तलव नदिएका कारण तलव माग्दा झगडा परेको भन्यौं । त्यसपछि विहान छाड्यो । हामी कम्पनी फर्कियौं तर तलव पाएनौं । फर्किएको केही दिनमा कम्पनीले हामीलाई रिलिज (अन्य काम गर्ने छुट) दियो । तलव नपाउने कम्पनीमा बस्नुभन्दा अन्यत्र काम गर्नु राम्रो ठानेर हामी आ–आफ्नो बाटो लाग्यौं ।
तीन महिनापछि म एमके ग्रुप लुलु हाइपर मार्केटमा सेल्सम्यानका रुपमा काम गर्न थालें । अहिलेसम्म पनि सोही कम्पनीमा काम गरिरहेको छु । त्यहाँ नियमित रुपमा महिनाको नौ सय दिनारमा काम गर्न थालियो । अहिले त्यहाँ काम गरेको १२ वर्ष नाघेको छ । विभिन्न समयमा विभिन्न अवसर पारेर तलव बढाउँदै गएका कारण अहिले मेरो तलव २३ सय ५० दिनार छ । हरेक वर्ष उक्त कम्पनीमा तलव बढाउने नियम पनि छ । नियमित रुपमा तलव बढाउँदै गइरहेको छ । हरेक वर्ष एक सय ५० दिनार तलव बृद्धि हुन्छ, खानाको दुई वर्षमा खानाको एक सय दिनार थप हुन्छ । पाँच वर्ष नाघेकाहरुको २ सय दिनार अनि १० वर्ष नाघेकाहरुको तीन सय दिनार थप हुन्छ । मेरो दश वर्ष नाघेका कारण तीन सय दिनार खानाको थपिएर आउने गरेको छ । मैले त्यो तीन महिना बाहेक दुवईमा कुनै दुखको काम गर्नुपरेको छैन । त्यसबेलादेखि सेल्समा निरन्तर काम गरिरहेको छु । बरु काम गर्ने क्रममा विभिन्न प्रकारका घटनाहरु देखियो । नेपाली समाजमा पनि आवद्ध भएका कारण त्यहाँ दुख परेका नेपालीहरुको सहयोगको काममा पनि सक्रिय छु । दुवईमा कमाएको पैसाले सुनसरीका तरहरामा केही जग्गा किनेको छु । घरखर्चपनि चलिरहेको छ । राम्रैसँग काम गरिरहेको छु । सुरुमा जस्तो अहिले मलाई भाषाको समस्या छैन । बरु अरु नेपाली समस्यामा परेको देखेको छु ।
तीन महिना अघिमात्र एक महिला समस्यामा परेर सेल्समा आएकी थिइन् । नेपाली महिला त्यहाँ रहेको अमेरिका भन्ने कम्पनीको केएफसीमा काम गर्दिरहिछ । उसको त्यहाँ काम गर्ने इजिप्टको एक केटासँग प्रेमसम्बन्ध रहेछ । सोही सम्बन्धका कारण उनी गर्भवती पनि भएकी रहिछ । पागलजस्तो भएर समस्याबारे सुनाइन् । मैले र केही नेपाली साथीहरुले उनलाई दुतावाससम्म पु¥याएर समस्या समाधानका लागि पहल पनि गरेका थियौं । तर, उनले मानिन् । त्यहाँ रहेका सात जना ट्याक्सी ड्राइभर नेपालीले उनलाई सहयोग गर्ने भनेका थिए । तर, उनीहरुको पनि केही सामान लिएर उनी हिँडेको भन्ने सुनियो । पछि उनी हाम्रो सम्पर्कमा पनि आइनन् । यो घटनाबाहेक अन्य केही घटनापनि त्यति नराम्रो भएको छैन । विदेश बस्न रमाइलो लागेको छैन । अहिले विदामा नेपाल आएको हुँ । केही वर्षमा आफ्नै ठाउँमा व्यापारव्यावसाय गर्ने सोच बनाएको छु ।

'भाषा नजान्दा औषधि किन्न सकिँन'

चार वर्ष कतारमा बसेर रेष्टुरेन्टमा कुकको काम गरेका गल्मी, तुराङ–६ दमारका खगराज अर्यालले अहिले काठमाडौंमा आफ्नै रेष्टुरेन्ट चलाएका छन् । उनको विदेश बसाइको अनुभव उनको शव्दमा ः

म सन् २००६ सेप्टेम्बरमा गाउँको चिनजानको मान्छेले पठाएको व्यक्तिगत भिसाको आधारमा कतारको दोहा पुगेको थिएँ । होटलसम्बन्धि काम गर्न जान्ने भएकाले त्यहाँ रहेको नेपालीको हिमालय रेष्टुरेन्टमा कुकको काम गर्नका लागि म पुगेको थिएँ । म जाँदा कम्तिमा एक लाख रुपियाँ खर्च भएको थियो । मैले महिनामा एक हजार रियल पाउने गरेको थिएँ । तलव सात सय रियाल दिने सर्तमा गएको थिएँ । पुगेका केही महिनासम्म सात सय रियाल तलव पाइयो । त्यसपछि एक हजार पाउने गरेको थिएँ ।
कतार बसेर पैसा त कमाउन सकिएन । तर, त्यहाँको वातावरण र कामको बारेमा जानकारी लिएर आइयो । आफुले लगानी गरेको रकममात्र उठाउन पाइयो । कतारमा यतिधेरै गर्मी की भित्र बसेर गर्ने काम भएका कारण मलाई गर्मीको निक्कै समस्या भयो । किचनमा काम गर्दा पसिनाले निथ्रुक्क भिजिन्थ्यो । नेशनल ठाउँमा रहेको कमल थापको होटलमा १७–१८ जना नेपाली हामी कार्यरत थियौं । कुकको प्रमूखका रुपमा म पुगेको थिएँ ।
कहिलेकाँही सातामा एक दिन विदा हुन्थ्यो । मलगायतका केही साथी विमानस्थलमा घुम्नका लागि पुगेका थियौं । त्यहाँ निक्कै नेपालीहरु विचल्ली भएको अवस्थामा पुगेका हुन्थे । उनीहरुसँग फोन गर्नका लागि मोवाइलमा पैसा पनि नहुने रहेछ । मैले नै कतिपय दुखी नेपालीको सम्पर्क आफ्नो मोवाइलबाट गराइदिएको थिएँ । यहाँबाट जाँदा गलत सम्झौता गरेका कारण त्यहाँ पुगेर भनिएको कम्पनीमा पुग्न नपाएका, काम गर्न नपाएकाहरुको भीँड ज्यादा देखियो ।
नेपालीहरु विदेश भन्नासाथ हिँडीहाल्ने गर्छन् । तर, त्यहाँ गएर कस्तो काम कुन कम्पनीमा भन्ने पत्ता लगाउन नसक्दा समस्यामा परेको देखियो । भाषाको कमी, कामबारे तालिम नहुनेले दुख पाउँछन् । मैले पनि भाषाको कारणले केही समस्या झेलें तर विरामी भएर निक्कै समस्या भयो । भाषाका नजान्दा औषधि पनि भनेको किन्न पाइन । त्यहाँ कमाएको रकम लगानी गर्नभन्दा पनि ऋण तिर्न र घरयासी व्यवाहार चलाउनमा नै सकियो । त्यहाँको काममा टिक्न नसक्ने भएपछि म सन् २०१० मा नेपाल फर्केर आएँ ।

काममा जानेलाई टिप्स

यदि तपाई वैदेशिक रोजगारीमा जानु हुँदैछ भने निम्म कुराहरुमा ध्यान दिनुहोस ।
–    खर्च र आम्दानीको राम्रो जानकारी लिएरमात्र वैदेशिक रोजगारीमा जानुहोस ।
–    वैदेशिक रोजगारीमा जानुअघि अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनुहोस ।
–    जानी जानी गलत कागजात, व्यावसायीक वा भिजिट भिसामा वैदेशिक रोजगारीमा जानु खतरा हुन्छ । त्यसकारण यस्तो जोखिम उठाउन हुँदैन ।
–    वैदेशिक रोजगारीमा जाँदा आवश्यक सवै कागजातको एक–एक प्रति आफु र परिवारको साथमा अनिवार्य हुनुपर्दछ । यसले समस्या पर्दा सहयोग पु¥याउँछ ।
–    वैदेशिक रोजगारीमा जानु आफ्नोमात्र नभएर परिवारको पनि सल्लाह अनिवार्य हुन्छ । घरपरिवारसँग सल्लाह गरी मानसिक रुपमा रोजगारीमा जानका लागि तयार हुनुपर्दछ ।
–    विदेशमा रहँदा नेपाली दुतावास, घरपरिवार, नेपाली संघसंस्थासँग नियमित सम्पर्कमा रहनुपर्दछ । यसो हुँदा समस्यामा परेका बेला उद्दारका लागि सहज हुन्छ ।
–    आफ्नो करार अवधि सकिएपछि स्वदेश फर्किएर विमा र पुनःश्रमस्वीकृति गरेर फर्किनु पर्दछ । यसो हँुदा विमा रकम र क्षतिपूर्ति सहयोग पाउन समस्या हुँदैन ।
–    विदेशमा कोठामा सुत्दा एसीको प्रयोगपनि सही किसिमले गर्नुपर्दछ । नजानेको कुरा सिकेर जानुपर्दछ । विदेशको वातावरणबारे पहिले नै ज्ञान राख्नुपर्दछ ।
–    खासगरी खाडी मुलुक जाँदा पान पराग, पान मसला, चुरोट, सुर्ती प्रतिबन्ध छ । यसलाई लैजानु हुँदैन र प्रयोग गर्नु हुँदेन । मदिरा पनि प्रतिबन्धित छ ।
शुक्रबारमा मेरो स्तम्भ विदेशको काममा प्रकाशित सामग्री