Tuesday, July 22, 2014

उर्जा नभए सिथिल हुन्छ देश

नेपालले अब व्यापारका लागि जलविद्युतको उत्पादनको विकल्प खोज्नु हुँदैन । आन्तरिक बजार होस् या बाहिरको बजार त्यसका लागि उर्जाको उत्पादन नै प्रमुख हो । अहिलेको विश्व व्यापारमा टिकेका कारणले नै नेपालसँग निर्यात गर्नका लागि उर्जाको विकल्प छैन । आन्तरिक लगानीमा कमजोर नेपालका लागि बाह्य लगानी यसको प्रमुख स्रोत बन्नसक्छ । आन्तरिक हित कायम गर्दै बाह्य लगानीमा जोड दिनु राम्रो हुनेछ ।
आन्तरिक द्वन्द्वका कारण ०५२ साल पछिको २० वर्षमा विकासको गति लिन नसकेको मुलुकका लागि विकासको दौडको तिव्रताका लागि उर्जा लगानी आवश्यक छ । पैसा भएन भने मुलुक गरिब र तन्नम हुने भएकाले पनि पैसाका लागि पनि उर्जाको उत्पादन र निर्यातमा राज्य गम्भिर हुन आवश्यक छ । केही मान्छेको स्वार्थ, केही पार्टीको स्वार्थका कारण विकासे एजेन्डाबाट पछि परेको नेपालका लागि आएका सुनौलो मौकालाई गुम्न दिनु हुँदैन ।   

‘जसरी पनि हुनेछ उर्जा सम्झौता’ 

उर्जाको बृहत्तर विकास र उत्पादनका लागि भारत सरकारले नेपाल सरकारलाई पठाएको सम्झौताको मस्यौदालाई  नेपाली सार्वभौमिकतामा आँच नलाग्ने गरी परिवर्तन गरी ‘जसरीपनि’ हस्ताक्षर गरिने भएको छ । 
उर्जा मन्त्रालयले विद्युत क्षेत्रमा सहयोग सम्बन्धी सम्झौताको प्रस्तावित मस्यौदामाथिको टिकाटिप्पणी उठेपछि छलफललाई स्थगन गरेपनि प्रधानमन्त्री सुशिल कोइराला आएपछि नेपाली कांग्रेस, नेकपा एमाले र सत्ता साझेदार दलहरुसँगको छलफल चलाएर सम्झौतामा हस्ताक्षरको पहल गर्नेछ । ‘यो छलफल अहिले स्थगन भएको हो, हस्ताक्षर गरी विकासका लागि उर्जा उत्पादनमा हामी पहलकदमी उठाउनेछौं, राष्ट्रियहित विपरित सम्झौता हुँदैन तर राष्ट्रिय उत्पादनका लागि हामीसँग उर्जा सम्झौता गर्नुको विकल्प छैन ।’, उर्जामन्त्री राधा ज्ञवालीले भनिन्,‘यसबारेमा मैले पूर्वउर्जामन्त्रीहरु, उर्जा विज्ञहरु र सरकारी अधिकारीहरुसँग पनि छलफल गरिसकेकी छु, बृहत्तर हितका विषयमा विरोधभन्दा पनि सकारात्मक छलफल गरेर अघि बढ्नेछु ।’
सन् २०१० मा नेपालले पठाएको प्रस्तावको उत्तर भारत सरकारले २०१४ मा पठाएको र उसको मस्यौदामा हेरफेर गर्न सकिने व्यवस्थापनि रहेकाले आपसी समझदारी बन्ने विन्दुमा पुगेर सम्झौता जसरी पनि गर्ने तयारी सरकारले गर्नेछ । ‘यो सम्झौता भारतका लागिमात्र नभएर नेपालको हितमा हुनेछ । भारतको बजार खुला भएपछि नेपाली विद्युत वंगलादेश र श्रीलंकासम्म पनि हामी बेच्ने योजनामा छौं ।’, ज्ञवालीले भनिन्,‘श्रीलंका पनि नेपाली उर्जा किन्न आतुर छ, भारतीय बजार प्रमुख बजार हुनेछ र वंगलादेश पनि विद्युत किन्नका लागि तयार छ ।’

सम्झौताको धार ३ (ख) मा भारतको शतप्रतिशत लगानी वा नेपालसँगको साझेदारीमा विद्युत विकास गर्ने भनी उल्लेख गरिएकोप्रति शंका गर्ने ठाउँ नभएको अधिकारीहरुले बताएका छन् । उक्त धारामा उल्लेख गरिएको विषय भारतले कुनै खास योजनामा शतप्रतिशत गर्नसक्ने अर्थमा सम्झौताको मस्यौदा आएको हो । त्यसमा नेपाली लगानी अनिवार्य हुने अधिकारीहरुको दाबी छ । भारतको प्रस्तावमा विरोधाभाष हुनेगरि भएको व्याख्यालाई सहजीकरण गर्नका लागि आन्तरिक रुपमा छलफलपछि वाक्य सुधार्न सकिने पनि ज्ञवालीले बताइन् ।
‘जसरी पनि व्याख्या गर्ने प्रचलनले विगारेको छ, भारतसँग सम्झौता गर्दा पहाडै खस्छ भन्नेहरुले यस्तो व्याख्या गरेका हुन् । सम्झौताको मस्यौदाले अन्य मुलुकको लगानी हुन सक्तैन पनि भनेको छैन, त्यसमा पर्याप्त सुधार्ने ठाउँ छ ।’, पूर्वउर्जा मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले भने,‘नेपालको स्रोतमा भारतअनुकुल व्याख्यामात्र हुनदिने छैनौं, यो मस्यौदा हो, यसमा हेरफेर हुनसक्ने कुरा आइसकेको छ ।’
प्रस्तावित मस्यौदामा नेपालका लागि भारत अझ उदार हुनसक्ने र त्यो नेपालको पक्षमा रहेको पनि महतको दाबी छ । उनले भने,‘विद्युत उत्पादन, प्रसारण लाइन वितारण र विभिन्न ठाउँमा ग्रिड राख्न सहयोग भनेको नेपाली विद्युत उत्पादन तेस्रो मुलुकमा पनि पुराउन सकिने व्यवस्था हो । त्यसको उपयोग नेपालले गर्नुपर्छ ।’
नेपाल–भारत विद्युत सम्झौता हुन नसके नेपाली विद्युत उत्पादन भएपनि बजार अभाव हुनेछ । आन्तरिक बजारले मुलुकको व्यापार घाटाको अन्त्य हुँदैन । भारतमा बजार विस्तार गर्न सकिएमात्र वंगलादेश र श्रीलंकासम्म पनि व्यापार गर्न सकिन्छ । ‘नेपाली विद्युत पुरै सार्क राष्ट्रमा नै व्यापार गर्नका लागि भारतसँगको सम्झौता अनिवार्य भइसकेको छ, भारतमा विद्युत पु¥याउन सकेमात्र सवैतिर पुगिन्छ ।’, उर्जामन्त्री ज्ञवालीले थपिन् । 
‘सम्झौता राम्रोसँग नपढि भएको व्याख्या र अतिरञ्जित विषय बाहिर आएका कारणले बहिर नकारात्मक हल्ला भएको हो । पूर्वउर्जा मन्त्रीले विरोध गरेका थिए भन्ने कुरामा सत्यता छैन, मैले विरोध गरेको छैन ।’, महतले भने,‘यसले आपसी समझदारी र भारतसँगको सम्बन्ध पनि विग्रन सक्ने थियो । हाम्रै नेताहरुले पनि यो कुरा नबुझी बोलेको पाएँ ।’ 
‘उर्जा सम्झौता गोप्य राखियो भन्ने कुरा गलत हो । यो सार्वजनिक गर्ने बेला भएको थिएन । मस्यौदा तयार गरिरहेका थियौं । यसलाई क्याविनेटमा पास गराएर सम्झौता भएपछि व्यवस्थापिका संसदमा पास गराउने प्रावधान पनि कायम नै थियो । यसबारेमा विविध पक्ष केलाएरमात्र हामीले सम्झौता गर्ने तयारी गरेका थियौं । अव प्रधानमन्त्री आएपछिमात्र हामी छलफल अघि सारेर यसबारेमा सम्झौता गर्नेछौं ।’, ज्ञवालीले भनिन् ।
भारतले दुई पक्षबीच विद्यमान अन्य सम्झौता तथा उनीहरुले अन्य देशसँग गरेका सम्झौताअन्तर्गतका उनीहरुको दायित्वमा यो सम्झौताले फरक नपार्ने उल्लेख गरिसकेको छ । सम्झौताको व्याख्या र कार्यान्वयनका शिलशिलामा उत्पन्न हुने कुनैपनि विवादको समाधान दुई पक्षबीच आपसी छलफल आपसी छलफलबाट समाधान गर्ने प्रस्ताव भारतले गरेको छ । नेपाल सरकारले उक्त सम्झौता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेलामा गर्ने तयारी गर्नेछ ।

भारतसँग धेरै विकल्प छन् : राजा मोहन 

भारतका विदेश मामिलासम्बन्धि विश्लेषक राजा मोहनले विवादमा तानिएको उर्जासम्बन्धि प्रस्तावित मस्यौदा नेपालको हितमा रहेको बताएका छन् । 
सोमबार भारतीय लाइब्रेरीमा भएको कार्यक्रममा राजा मोहनले भारतले नेपालसँग उर्जा सम्बन्ध बढाउन चाहेका कारणले नै मस्यौदा आएको र यसमा नेपालले हुन्छ वा परिमार्जन गरेर हुन्छ भन्ने अवस्था रहेको बताए । तर, नेपालले अस्वीकार गरे त्यो अस्वीकार पनि हुने अवस्थामा रहेको उल्लेख गरेका उनले त्यसले भारतलाई फरक नपर्ने पनि बताए । ‘विद्युतका लागि भारतसँग अन्य विकल्पहरु प्नि छन्, नेपालसँगको सम्बन्धका आधारमा जलविद्युतबारेको खास व्यापार सम्झौताको कुरा गरेको हो तर नेपाल पक्ष यसमा सन्तुष्ट छैन भने त्यसले फरक पर्दैन । नेपालकै हितमा यो प्रस्तावको मस्यौदा आएको छ ।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सार्क र अन्य राष्ट्रसँग बृहत्तर हितकर सम्बन्ध बनाउनका लागि भ्रमणमा आउन लागेको जानकारी दिँदै उनले छिमेकको सम्बन्ध सुधार गर्नु भ्रमणको उद्देश्य रहेको बताए । ‘मोदीले आफ्नो सपथ पछि भुटानको भ्रमण गर्नुभयो, त्यसपछि वंगलादेश जानुभयो र अव नेपाल आउने योजनामा हुनुहुन्छ ।’, उनले भने,‘उहाँ सम्बन्ध विस्तार गर्दै सार्कलाई एक ठाउँमा प्रभावकारी बनाउन चहानुहुन्छ ।’

Wednesday, July 16, 2014

अँध्यारोबाट उज्यालेतिर कसरी ?

पाँच करोड रुपियाँ सानो रकम होइन । देश विकासका लागि नसोच्ने सभासदहरुका लागि उक्त रकम विनियोजन गर्नुभन्दा जनताका नाममा नयाँ जलविद्युत योजना ल्याएर उक्त रकम विनियोजन गर्नु सरकारको हितमा हुनेछ । 

हामीकहाँ राजनीतिक रुपमा कालो दिन कम छैनन् । असोज १८, माघ १९ यी कालो दिनका सुचकका रुपमा हामी व्याख्या गर्छौं । यी रुपमा कालो दिनहरु हुन् । तर, सारमा हामी हरेक दिन कालो दिन विताइरहेका छौं । हामीकहाँ लोकतन्त्र प्राप्त हुनु, शान्ति प्रकृयाबाट फेरि संसदीय राजनीति र बजेटको जोडघटाउको लडाईको सुरुआत कतै कालो दिन त हैन ? भन्ने लाग्न थालेको छ । अँध्यारोबाट उज्यालोतिर कसरी जान्छ मुलुक ? हामी यो प्रश्नमाथि घनिभुत छलफलमा जुटेका छैनौं । जुट्न आवश्यक छ की छैन ? आदर्श र सपनाका कुराहरु निक्कै रमाइला लाग्छन् । तर, व्यवाहारमा देखिएको चित्रको वर्णन निक्कै दुखसाथ गर्नुपर्ने हुन्छ । आर्थिक बृद्धि केही देखिएपनि आर्थिक सर्वेक्षण चित्तबुझ्दो छैन । विश्वबजारमा हामी कमजोर भइरहेका छौं, जनता, नेता, प्रशासन र पुरै मुलुक पनि ।
जबसम्म निर्यात सम्भव छैन, तबसम्म मुलुकको आर्थिक बृद्धिदर विकासको बाटो खुल्ने छैन । लामो समयसम्म हामी विकास र आयआर्जनको दृष्टिले जाममा परेका छौं । यो जाम खोल्ने मौका हामीसामु हुँदा पनि अघि बढ्न सक्ने स्थिति देखा परेको छैन । विभिन्न राजनीतिक दलका बाधाहरुले मुलुकको विकास नै प्रभावित भएको छ । विकासका लागि आम्दानी र आम्दानीका लागि स्वदेशि उत्पादनको निर्यातमा व्यापकता नै चाहिन्छ । मुलुकमा उत्पादनका लागि उर्जा र उर्जाका लागि राज्यको लगानी आवश्यक छ । हर क्षेत्रको निर्यातका लागि उर्जाको विकास अनिवार्य भइसकेको छ । तर, हामी दुई ठूला शक्ति राष्ट्र र आधा विश्वका बीचमा भएर पनि निर्यातमा कमजोर भइरहेका छौं ।
केही महिनाअघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान भ्रमणमा गएका थिए र त्यहाँ जलविद्युत र उर्जा आयातका लागि सम्झौता गरेर फर्किएका छन् । भारतमा पनि उर्जाको समस्या छ र उत्पादनमा पनि समस्या छ । भुटानबाट त्यहाँ विद्युत निर्यात हुने काम भइरहेको छ । हामी मुलुक विकासका लागि भारतीय सहयोगको अपेक्षा गरिरहेका छौं । भारतको नयाँ बजेटले नेपाललाई सहयोग रकम बढाउने निर्णय गरेको सुचनाहरु आएका छन् । केही महिनामा मोदी नेपाल भ्रमणमा आउनेछन् । त्यो मौकामा हामीले प िउत्पादन र निर्यातको व्यवस्थ ागर्नसक्नुपर्दछ ।
नेपालले तत्कालका लागि कुनै खास उत्पादन निर्यात गर्नसक्ने अवस्था छैन । बरु विद्युत उत्पादन गरी निर्यात गर्ने अवसर हामीसँग छ । तर, त्यसका लागि लगानी र सुरक्षाको चुनौति ठूलो छ । तर, सरकारले चाहँदा ती चुनौति र सुरक्षाको व्यवस्थ ागर्न नसक्ने होइन । वैदेशिक सहायता रकममा विभिन्न मुलुकको लगानीमा हामी विद्युत उत्पादनका लागि ठूला योजनाहरु तर्जुमा गरिरहेका छौं । तर, त्यसले मुलुकलाई आम्दानीको बाटो पहिल्याउँदैन । स्वदेशि लगानीका आधारमा भएको उत्पादनको विक्रिबाट नै आम्दानी हुनेछ । त्यसकारण पनि जलविद्युत र ठूला योजनामा स्वदेशि लगानी गर्नु उपयुक्त हुनेछ ।
विश्वबैंक, एसीयाली विकास बैंकलगायतका विभिन्न लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले पनि उर्जा लगानीका लागि नेपाललाई ऋण दिनसक्ने जनाएका छन् र विभिन्न सम्झौताहरुमा हस्ताक्षर पनि गरिरहेका छन् । साना, मmभौला हुन् या ठूला सवैप्रकारका विद्युत आयोजनामा नै नेपालको लगानी अहिले आवश्यक छ ।
विकास, योजना, शिक्षा र स्वास्थ्यमा अहिले पनि मुलुक कमजोर अवस्थामा छ । खासगरी अहिलेको मुल आवश्यकता भनेको उर्जा संकट समाधान नै हो । हामी लोकतन्त्रको लामो समयसम्म पनि उर्जा संकट समाधानको पक्षमा दबाब दिन कमजोर भइरहेका छौं । हरेक क्षेत्रमा भएको राजनीतिकरण र हरेक क्षेत्रमा राजनीतिक लाभांश लिने प्रवित्तिको शिकार कारण मुलुक अन्धकारबाट उज्यालोतिर लम्किन पाएको छैन ।
सरकारले विकासे खर्चमा कटौती गर्न पाउने छैन, त्यसकारण आर्थिक वर्षमा विकास मुख्य लक्ष्यका रुपमा सरकारको कर्तव्यका रुपमा देखा पर्नेछ । नयाँ आर्थिक वर्षको बजेटको तयारी भइरहँदा सरकार गम्भिर हुन आवश्यक छ । यतिवेला संसदमा प्रत्येक सभासदको क्षेत्रका लागि ५ करोड रुपियाँ विनियोजन गर्नुपर्छ भन्ने माग बढेको छ । त्यसको औचित्यबारे पनि बहस भइरहेका छन् । सरकार दिने या नदिने भन्ने दुइवटा विचारमा विभाजित भएको छ । र, सभासदहरु पाउनुपर्ने अडानमा छन् ।
पाँच करोड रुपियाँ सानो रकम होइन । देश विकासका लागि नसोच्ने सभासदहरुका लागि उक्त रकम विनियोजन गर्नुभन्दा जनताका नाममा नयाँ जलविद्युत योजना ल्याएर उक्त रकम विनियोजन गर्नु सरकारको हितमा हुनेछ । यदि जनता जनार्दन हुन् भने ६ सय १ का लागि विनियोजनको माग भइरहेको पाँच करोड रुपियाँको दरले सम्बन्धित क्षेत्रका जनताको लगानीका नाममा कुनै खास जलविद्युत आयोजना बनाउनु उपयुक्त हुनेछ । ३० अर्बभन्दा बढिको उक्त रकम खास आयोजनाका लागि विनियोजन भए ५ वर्षभित्र मुलुक अन्धकारबाट निस्कन्छ र प्रत्येक जनताले राहतको महसुस गर्नेछन् ।
राजनीतिक रुपमा भन्दा पनि पहिले मुलुकको हितको रुपमा सवै क्षेत्रबाट सोच्ने र लगानी गर्ने अवस्था छ । हामी पछि पर्नुको मुख्य कारण हाम्रो आचरण हुने गरेकाले पनि आफ्नो आचरण भन्दा पहिले मुलुकको हितको बारेमा सोच्नका लागि राजनीतिक दल र तिनका नेता कार्यकर्तामा बुद्धि पलाउन आवश्यक छ । दुनियाँका सामु कमजोर मुलुक होइन, दुनियाँका सामु विकसित र एउटा उदाहरणीय मुलुक बन्नका लागि पनि हामी अघि बढ्न आवश्यक छ । त्यसका लागि सरकार, सभासद, कानुनविद, पत्रकार सवैको सामुहिक जोड विकासको तिव्र बाटो र उत्पादनको क्षेत्रतिर हुन आवश्यक छ ।
विश्वमै जलविद्युतको प्रयोग गर्ने पहिलो राष्ट्र भएर पनि हामी पछि पर्नुको कारण के हो ? यसको विवेचना गर्नु अनिवार्य छ । अन्य मुलुक अन्धकारमा हुँदा नेपाल उज्यालोको महसुस गरिरहेको थियो । यहाँको पानीको उत्पादन शक्तिको परिक्षणदेखि विश्वसमुदाय छक्क परेका थिए । तर, अहिले दुनियाँ उज्यालो हुँदा हामी वर्षा या पानीको वेगको पर्खाइमा अभ्यस्त हुन थालेका छौं । यो दुखदायीपूर्ण समयदेखि उम्किनका लागि बारम्बार आउने मौका खेर फाल्यौं भने हामी कहिलेपनि अघि बढ्न सक्तैन । 

Friday, July 11, 2014

रिहानाको आगमन

रिहाना यी सवै कुरालाई छिचोलेर फरक समुदाय, फरक धर्म तर मानवता एक हुनुपर्छ भन्ने सोच राख्छिन् । यो उनको साझा सोच हो या मसँगको आकर्षण त्यसको सुइँको मैले पाएको छैन । 

साइबर लभ–२२

जव काठमान्डू रुझ्ने गर्छ समय–समयमा, सहरका हर कुनामा देखिन्छ एउटा सुन्दर आकृति । मान्छेहरु हतारमा हुन्छन् तर त्यो हतार पनि सुन्दर देखिन्छ । मान्छेहरु व्यग्र प्रतिक्षामा उभिएका हुन्छन्, उनका अनुहारमा चुहिने हर थोपाहरु सुन्दर देखिन्छन् । सुन्दरताको वर्णन गर्नेहरुका आँखाको अर्को व्याख्या हुने गर्दछ । तर, रुझेको काठमान्डू वास्तवमै सुन्दर देखिन्छ– शेलीको आकृतिजस्तो । रमादान सुरु भएको छ, विश्वभरी । मुस्लिम समुदायको यो ठूलो पर्वमा विश्वभरमा मुस्मिलमहरु एक हुन्छन् । रमाउँछन्, मिठो खान्छन् र मिठो मायाको सन्देश पनि छाड्छन् । मुस्लिमको यो चाडको कुनै अर्थ छैन, शेलीका लागि । ‘ह्याप्पी रमादान, हाउ आर यु डियर ?’, कोलकत्ताबाट रिहानाको म्यासेज भर्खरै आयो । विश्वसमुदाय एक छातामुनिको घर भइसकेको छ । स्वभाविक उत्तर दिनु थियो,‘ह्याप्पी रमादान, आई एम फाइन एन्ड हाउ एबाउट यु ?’ मेरो उत्तरसँगै प्रश्न अति सामान्यसँग रिहानाका लागि पठाएँ । रिहाना एक म्युजिक भिडियो डाइरेक्टर बताउँछिन्, मलाई । उनको भिडियो मैले देख्न पाएको छैन । उनी बलिउडतिर छिर्ने प्रयत्नमा छिन् । उनी हर पटकको च्याटमा मसँग कुरा गर्छिन् । ‘यु आर फेमस जर्नालिष्ट अफ नेपाल, आई अन्डरस्ट्यान्ड द्याट’, उनका हरेक म्यासेजमा बारम्बार दोहोरिने यो सेन्टेन्स हो । र, ‘आई म नट फेमस, जस्ट राइटिङ एभ्री डे’, मैले बारम्बार दिने उत्तर हो, यो ।
काठमान्डू विश्वमा भिज्न थालेको छ । हर कोही काठमान्डूलाई नेपाल भनेर चिन्न थालेका छन् । यहाँका मन्दिर र मस्जिदहरुमा घुम्ने रहर रिहानाको पनि छ । उसलाई म घुमाउने र राम्रो ठाउँहरु देखाउने वाचा बारम्बार अरुबेला जस्तै गरिरहेको छु । रिहाना कति गहिरोसँग मलाई सोच्छिन्, त्यो एउटा कुरा भयो तर रिहाना पनि एन्जिलाजस्तै हुन्, इन्टरनेट दुनियाँमा मेरा लागि, मात्र समय विताउने र शेलीको पर्खाइको दुरी कम गर्ने । भ्mयालमा पानीका थोपाहरु वेगले लागिरहेका छन्, समाचारकक्ष गुम्म छ । अनि, रिहानासँग मेरो कुराकानी निरन्तर चलिरहेको छ, शेलीको खोजखबर छैन, आज पनि ।
०००
जव उमेर हुन्छ, मान्छेका मनमा हर कोहीका लागि प्रेमका रंगिन सपनाहरुको फूलबारी गोडमेल हुन थाल्छ । त्यहाँ हज्जारौं फूलका फरक व्याख्या आउन थाल्छन् । गुलाफका रंगहरुको अर्थ खुल्न थाल्छ । काँडाका दोषहरु खुट्याएर पातका गुणहरुको व्याख्या हुन्छ । जीवनको रंगिन समय, जीवनको उम्लिँदो उमेरमा म पनि यस्ता व्याख्याहरुबाट पर भाग्न सक्तिन । कहिलेकाँही इन्टरनेटी दुनियाँमा मैले यस्ता हसिन व्याख्याहरुलाई संप्रेशषण गरेकै कारण रिहाना मसँग केही दिनदेखि क्लोज भएकी छन् । ‘योर राइटिङ अलवेज क्याच मी, हाउ क्यान यु राइट दिस ?’, उनको बेलामौका दोहोरिने अर्को प्रश्न यस्तो पनि हुन्छ । अनि, ‘जस्ट इट वज ट्रुथ एन्ड सिम्पल वर्डस, नट माई गुड राइटिङ’, अलि अलि विग्रिएको अंग्रेजीमा उत्तर दिने मेरो शैली पनि कहिलेकाँही दोहोरिन्छ । मान्छे भाषासँग कति नजिक हुन्छ ? भाषाले मान्छेलाई प्रभाव पार्छ की मान्छेको मनले प्रभाव पार्छ ? उनले बारम्बार मेरो लेखाईको प्रशंशा सँगै वंगाली शव्द प्रयोग गर्छिन्– अमी तोमके भालोबासी । उनले यसको अर्थ लामोसमयसम्म पनि मलाई बताएकी छैनन् । उनलाई थाहा छ, म शेलीको पर्खाइमा छु र उनीसँग अतिरिक्त समय विताइरहेको छु । उनका शव्दहरुमा गहनता छन् या उनी पनि समय विताइरहेकी छन् । ‘म तिमिलाई प्रेम गर्छु ।’, उनको वंगाली भाषाको अर्थ थियो । उनले मलाई सम्झाउने प्रयत्न गरीन् । अनि, म बारम्बार शेलीसँग प्रेम गर्ने कुरा उनलाई दोहो¥याइरहेको छु । रिहानालाई शेलीसँगको वार्ताक्रममा एन्जिालाले मसँग गरेको यथार्थ पनि भनिसकेको छु । रिहाना यी सवै कुरालाई छिचोलेर फरक समुदाय, फरक धर्म तर मानवता एक हुनुपर्छ भन्ने सोच राख्छिन् । यो उनको साझा सोच हो या मसँगको आकर्षण त्यसको सुइँको मैले पाएको छैन ।
भोक लाग्दा जसरी खानाको महसुस हुन्छ, जीवनको यो क्षेत्रको यात्रामा प्रेमको पनि उत्तिकै महसुस हुँदो रहेछ । सायद शेलीका लागि यी सामान्य हुन् । किनभने उनले प्रेम र सम्बन्धका नाता जोडिन्, तोडिन्, जोडिन् अनि खेलिन् । क्यारामबोर्डका गोटी फँयाके सरह हो, उनका लागि प्रेम वा तासका पत्ताहरु साटेर जितेको या हारेको खल्लो बाजी जस्तो हो मैले पत्ता लगाउन सकेको छैन । जब प्रेमका लागि समर्पण र त्यागको भावना आउँछ, मान्छेमा फरक किसिमको पागलपन चढ्छ । त्यो फरक किसिमको पागलपनदेखि म अछुतो रहन सकिन । तर, त्यो फरक पागलपन बहुलाउने कारण बन्नेतिर दौडिरहेको छ । म निरन्तर त्यसयात्रामा जानेर पनि नजानी दौडिरहेको छु ।
जव मेरा अगाडी रगताम्य लासहरु लडिरहेका थिए, मान्छेका चित्कारहरु कानमा झन्कार बनेर आइरहेका थिए । त्यसबेला शेलीले मेरो मुलुक छाडीसकेकी थिइन् । समय निक्कै परिवर्तन भइसकेको छ । अव हराएका मानिसहरु इतिहाँसका अज्ञात सहिद भइसकेका छन्, मारिएका मान्छेहरु सहिद भइसकेका छन् । एन्जिला र रिहानाका समयहरु आइसकेका छन् । शेलीका भुमिकाहरु प्राथमिक हुन थालेका छन् । जीवनको फरक रंगहरु फरक हिसावमा देखिन्छन्, जहाँ रिहानाको आगमन पनि हुने गर्दछ ।

०००
समाचारकक्ष शुन्य छैन । मान्छेहरु आइरहेका छन् । कोही समस्या लिएर आउँछन्, कोही समस्या समाधानका लागि आउँछन् । दिन सँधैजस्तो वितिरहेको छ । सँधैजस्तो दिन दौडिरहेको छ । असारको झरी निरन्तर चलिरहेको छ । पूर्वतिरबाट हावा चिसो भएर आएको छ, ज्यान निक्कै तातेको छ । मौसमी रोग हो या समस्या शरिरभित्र गहिरो गरी बसेको छ । थर्मामिटरको पारो एक सय भन्दा माथि पुगेको छ । सहकर्मीहरु भन्छन्– ज्वरो निक्कै छ ।
शरिर किन तातेको छ र पसिना किन वगेको छ ? यो अर्थपूर्ण ठानेको छैन, मैले । बस, रिहानाको गफसँग तिम्रो सम्झना निरन्तर आइरहेको छ । सम्भवतः तिमीसँगको सम्पर्कविच्छेद भएको लामो समय भएकाले हुनसक्छ, मेरा शरिरका कोषहरु तातेका छन् । करोडौं कोषहरुमा तिम्रा स्मरणहरुको आवश्यक महसुस भएको छ । ‘मैले समर्थन गरेको टिमले हारेछ’, नेपथ्यबाट आवाज आयो,‘थुइक्का, कस्तो टेन्सन भयो ।’ कोही बोलिरहेको छ छायाँमा । कोही समस्या सुनाइरहेको छ छायाँमा । तर, निरन्तर तिम्रो पखाईमा अभ्यस्त छु म शेली ।
तिमीलाई गरेका मौन र मनस्पर्शहरु निक्कै पे्रमपूर्ण छन् । यो एन्जिला र रिहानासँग गरेको अनौपचारिक कुराकानीको पाटो होइन । विशुद्ध मेरो प्रेमको झझल्को हो । तिमी निष्ठुरी बन्न सक्छौ होला तर म सधैं स्पर्शको घेराभित्र नै रहनेछु । हरेक मुस्कानहरुको मुल्य हुँदैन । हरेक मुल्यमा मुस्कान किन्न पाइँदैन । हरेक मुल्यहरुले उदासिनता खरिद गर्न सक्तैन, हरेक उदासिनताहरु मुल्यमा विक्रि हुन सक्तैनन् । जीवनको उदासिनताको विषयमा तिमी मुल्य रोज्न सक्छौ । म मुल्यका लागि कृत्रिम हाँसो उत्पादन गर्न सक्तिन । खाडल तिम्रो विश्व र मेरो विश्वमा धेरै छ तर तिमी र ममा समान विचारको प्रवाह थियो । मेरो अठोट वा तिम्रो घमन्डका कारण यो समानतामा बाधा पुगेको छ । ‘आइ एम रियल्ली अपसेट विद यु, शेली ।’
तिमीले रेस्पोन्स नगर्दा कस्तो नरमाइलो लाग्ने । केही नगरौं जस्तो, केही गरौं जस्तो । फेरि इन्टरनेटमा छिरेर तिमी के मा व्यस्त छौं, जानौं जस्तो । इनबक्स कोट्याएर कतै तिम्रो म्यासेज आयो कि भनेर घरि घरि जाँचौ जस्तो । खाली इनबक्स देखेपछि फेरि मन उदासिन बन्थ्यो । अनि, फेरि इमेल पो लेख्यौ की भन्ने लागेर इमेलतिर चेक गर्न पुग्छु । त्यहाँ पनि म्यासेज नपाएपछि तिमीसँग कता कता रिस उठेजस्तो, फेरि माया लागेजस्तो पनि । यसरी नै मेरा दिनहरु वितिरहेका थिए । वितिरहेका छन् । मनको फरक कुनामा फेरि आशा र भरोसाका झन्कारहरु पनि पैदा भइरहेका छन् । रिहाना र एन्जिलाका म्यासेजको कुनै अर्थ छैन । उनीहरु समयमा आइरहन्छन्, झकझक्याउँछन् र जान्छन् । उनीहरु छन् र तिमीसँगको मेरो प्रेमको अर्थ अझ गहिरो बनिरहेको छ । तर, फगत तिमी कहाँ हरायौ, मलाई किन विर्सियौ भन्ने प्रश्नहरुको घेराबन्दिमा म अल्झिरहेको छु । त्यहाँबाट निस्कने उत्तर पाएको छैन । त्यो उत्तर– तिम्रो रेस्पोन्स नै हो । तिम्रो रेस्पोन्स कुरिरहेको मान्छे म ।
सायद संसारमा इन्टरनेट नभएको भए तिम्रो र मेरो सम्पर्क हुने थिएन । यो सहज सम्पर्कबाट बनेको असहज संवेदनाको सम्बन्धले निरन्तरा पाउनु पनि निक्कै कठिन हुने रहेछ । यो निरन्तरता नपाउँदा झन कठिन हुने रहेछ । फुटबलको मैदानजस्तो होइन रहेछ सम्बन्ध, सम्बन्ध त जीन्दगीको मैदान हो जहाँ हरेक उतारचढावका धक्का लाग्दा पनि बाँच्नु छ, हिँड्नु छ र प्रेमलाई निरन्तरा दिनु छ । तर कसरी ? प्रश्नहरुको घेराबन्दिमा शेलीको उत्तरको व्यग्र प्रतिक्षा छ । शेली कहिले आफ्ना शव्द बोकेर उक्लिन्छिन् यो इन्टरनेटी दुनियाँमा थाहा छैन, रिहाना आइसकेकी छिन् ।

Monday, July 7, 2014

प्रताडनामा एकल महिला


राम्रा र अधिकारका कुराबारे फाइभ स्टार होटलका गोष्टिहरुमा म धेरै सहभागी भएको छु । त्यहाँ महिलाहिंसा न्युनिकरणका सवालमा निक्कै आधारबाट छलफल हुन्छन्, कानुनी विषयमा बहस हुन्छन् र एउटा निस्कर्ष निस्कन्छ । प्रहरी अधिकारीहरुका उच्च ओहदाका मान्छेहरु हुन्छन्, सरकारी निकायका उच्च तहमा व्यक्तिहरु हुन्छन्, राजनीतिक दलका केन्द्रिय नेता र मन्त्रीहरु पनि हुन्छन् । उनीहरु पनि महिलाहिंसा न्युनिकरणका विषयमा, सजाय दिलाउने विषयमा गम्भिर भएर लाग्छन् । त्यहाँ कानुन व्यावसायीहरु हुन्छन्, न्यायाधीशहरु पनि सहभागी हुन्छन् र कानुनले महिलाहिंसा गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्धता पनि हुन्छ । मानौ कि एउटा गोष्ठिले नै पुरै हिंसा न्युनिकरण र समाप्त बनाइसक्यो, दोषीहरुले कारवाही पाइ हाल्छन् भन्ने विश्वास पनि जागेर आउँछ । यथार्थमा समाजको चित्र फरक भइसकेको छैन । सामाजिक बनोट र सोचमा तिव्र रुपमा परिवर्तन आएको छैन । सहरीकरण भएका ठाउँहरुमा हिंसाबारे केही चेतना भएपनि ग्रामिण इलाकामा अझै चेतनाको स्तर उठेको छैन । त्यहाँ पुरै गाउँ नै हिंसामा उत्रिन्छ तर उसलाई चेतना सिकाउनसक्ने समाजको जन्म हुन सकेको छैन । 
त्यहाँ पुग्न पर्दैन विक्षिप्त हुन । त्यहाँको कथा बुझ्दा काफी हुन्छ । त्यो कस्तो गाउँ हो, अनि त्यहाँका मान्छे कस्ता हुन् ? यस्ता प्रश्नहरु समाचारका अक्षरहरुसँग उठिरहन्छन्, बारम्बार । आफु बलात्कार भएको भन्दै जिल्ला अदालत धादिङमा दिएको मुद्दा विचाराधिन अवस्थामा रहेको बेला एक महिलालाई गाउँ भेला गरी झनै प्रताडना दिइएको समाचारले विक्षिप्त पार्नु स्वभाविक हुन्छ । चेतनाको कुरा गरिरहँदा राजधानीसँग नजिकै रहेको जिल्लामा गाउँ भेला गरी किन यस्तो कठोर अमानवियतामा सवै सहमत भए ? त्यहाँ चेतना भएका प्रतिरक्षा गर्नेहरु छन कि छैनन् ?  
जिल्ला अदालतमा दिएको मुद्दा विचाराधिन अवस्थामा छ । मुद्दा फिर्ता नलिएपछि गाउँबासीले सबै किसिमको प्रतिवन्ध लगाउँदै मृत्यु संस्कार गर्न समेत बन्देज लगाएपछि उनी झन् पीडित भएकी छन् । मध्य धादिङको ढोला–२ निवासी एकल महिलालाई स्थानीयबासीले बहिस्कार गर्दै असार १८ गतेदेखि मृत्यु संस्कारमा बन्देज लगाएका थिए । पीडित महिलाको सासुको १८ असारमा मृत्यु भएपछि गाउँबासीलाई मलामी जान समेत रोक लगाइयो । लास जलाउन जानेलाई समेत स्थानीय केही व्यक्तिहरुले पटक–पटक धम्की दिइयो । विगत ५ वर्षदेखि ढोला–२ सिम्खडागाउँमा रहेको बालज्योती प्राविको कार्यालय सहयोगीको रुपमा रहेकी पीडित महिलालाई बलात्कार मुद्दा फिर्ता नलिएको भन्दै ९ चैत ०७० मा जागिरबाट बर्खास्त गरिएको थियो । घरमा सुतिरहेको बेला समेत धम्की आउन थालेपछि पीडितका दुई बालकले घर छाडेर हिडेका छन् । पीडकविरुद्ध १३ मंसिर, ०७० मा जबरजस्ती करणी मुद्दा दायर गरिएपछि मुद्दा फिर्ता लिन धम्की दिँदै आएको पीडक पक्षले उनलाई विस्थापित गरि सबै किसिमको प्रतिबन्ध लगाएको थियो । गाउँमा भएको पसलमा समेत किनमेल गर्नका लागि पीडितलाई बन्द गरि अमानवीयताको चरम रुप गाउँलेले देखाए । यस्तो प्रताडना किन ? कहाँ छ चेतना ? कहाँ छ कानुन अनि कहाँ छ सरकार ? यो कुनै फिल्मी कथाको जस्तो यातना किन ? अधिकारकर्मी र तारे होटलबालाहरु कहाँ छन् ? करोडौंका सेमिनार र गोष्ठिमा पुग्ने सुकिलाहरु कहाँ छन् ? कयौं वर्षदेखि महिलाहिंसाविरुद्धको चेतनाका कार्यक्रम चलिरहेका छन् । कानुनी रुपमा पनि महिलाहिंसा गर्नेहरुलाई कडा कारवाहीको व्यवस्था गरिएको छ । तर, पुरै गाउँ नै लागेर एकल महिलालाई दिएको प्रताडनाका विषयमा किन कोही बोलीरहेका छैनन् ? के अव एकल महिलाहरुले त्रसित मानसिकतामा बस्नुपर्ने नै हो त ? महिलाहरु अझै त्रसित मानसिकतामा बाँच्नुपर्ने हो त ?
नेपालमा चेतनास्तर उठ्न नसकेका कयन जिल्लाहरु छन् । महिलाले पीडा खेप्नुपर्ने कयन समुदायहरु अहिले पनि छन् । पञ्चायती गरेर, पञ्च भेला गरेर यातना दिने काम रोकिएको छैन । कानुनी रुपमा अघि बढिसकेको मुद्दालाई समेत प्रभाव पार्नका लागि पुरै गाउँ नै उत्रिने उदाहरण माथि छ । त्यो परिवारले भोगेको पीडा एकातिर छ । यस्ता घटनाहरु मध्य तथा पूर्वी तराइका विभिन्न समुदायमा अहिले पनि भइरहेका छन् । त्यहाँ चेतनाको कमी, पारिवारिक दबाब र पञ्चायती शैलीको समाजका कारण पनि महिलाहरु प्रताडित छन् । महिला हिंसाविरुद्धका कार्यक्रम अव सहरमा आन्दोलनका रुपमा होइन, गाउँमा चेतनाका रुपमा फैलाउन आवश्यक छ । महिला सशक्तिकरण, चेतना, शिक्षा र महिलाहिंसाका विषयमा गाउँ गाउँमा बुझाउन आवश्यक छ । यो मुद्दाका रुपमा महिलालाईमात्र होइन, जानी नजानी पीडक बनिरहेको समाजका हर कोहीलाई यसले पार्नसक्ने असर, कानुनी कारबाहीका बारेमा पनि बुझाउन जरुरी छ । जुन समाजमा छोरीलाई नियन्त्रणमा राखी, बुहारीलाई दोष लगाई श्रीमतिसम्मलाई यातना दिनेक्रमले अहिलेपनि निरन्तरता पाइरहेको छ, त्यहाँ पुगेर चेतनाको सन्देश छाड्नु अनिवार्य भएको छ ।
अहिलेको सन्दर्भमा धादिङ ढोला–२ की ति पीडितले तत्काल न्याय पाउनुपर्छ । उनलाई समाजमा बहिस्कारका नाममा शारिरीक, मानसिक यातना दिन पाइँदैन । हर नागरिकसरह उनलाई पनि बस्ने र बाँच्न पाउने अधिकार छ । उनको अधिकारको रक्षा गर्नुपर्छ । मानसिक रुपमा पीडित भइरहेको बेला गाउँलेले उनको रोजगारी खोसे, उनको जनजीविका खोस्ने प्रयत्न गरिरहेका छन् । यस्तो अवस्थामा पीडित झन् पीडामा हुने र उसले आफुलाई सक्ने नियतीतिर पनि लम्किन सक्नेछ । यदि त्यस्तो भयो भने सारा गाउँ दोषी हुनेछ । जानाजान दोषी बन्न नदिनका लागि राजधानीमा महिला अधिकारका कुरा गर्ने संस्थाहरु, महिला आयोग, सरकारसमेत पनि यो मुद्दालाई गहनताका साथ उठाएर उनको आत्मसम्मान फिर्ता गराउने काम गर्न सकोस् ।  

Wednesday, July 2, 2014

रेखाको रोस कोसँग ?

हिम्मतवाली रेखाको बयान : झोलामा जो उभिएपनि हिट हुन्थे, पुरस्कारमा कसरी फिट हुन्थे ?  

रेखा थापा चर्चाबाट उत्रिने हिरोइन होइनन् । उनी हरेक समयमा चर्चामा आइरहन्छिन् । नआउनु पनि किन ? उनका तर्कहरु पनि बेजोड छन् । माओवादी भएकी रेखाको खुलमखुल्ला प्रेमकथा चर्चा भयो, अव उनले दिएको बयानबाजी पनि चर्चा मै छ । रेखाले चलचित्र पत्रकारिता पुरस्कारका बारेमा के भनिन् ? उनकै शव्दमा...

एउटा कुरा स्पष्ट पार्न चाहन्छु कि, मैले बर्ष २०७० मा मेरो चलचित्र ‘काली’ समावेश नै गरेको थिइन । यसकारण, मैले अवार्ड नपाउने भएर गइन भन्नु गलत हो । मलाई अचम्म लाग्छ, आखिर यहाँ किन सही मुल्यांकन भएन । ‘रिदम’ चलचित्रको हिरो त जीवन लुइटेल हो, विल्सन विक्रम राइले ‘राष्ट्रिय पुरस्कार’ पाउने बेला कहाँबाट भयो रु अनी गरिमा पन्तको अभिनय आजसम्म झुर, विदेशमा गएर अवार्ड पाउँने वित्तिकै बबालै भयो । अहिलेसम्म अवार्ड नपाउने अब चै उनी उत्कृष्ट अभिनय गर्ने नायिका भइन् । ‘झोला’ जस्ता सिनेमामा त जोसुकै यूवती लगेर उभ्याएपनि यसै उत्कृष्ट देखिन्छ । यस्तो तरिकाले पनि राष्ट्रिय पुरस्कार प्रदान हुन्छ त रु ‘साँघुरो’ र ‘झोला’ बाहेक ‘सार्क फिल्म फेस्टिभल’मा अरु नेपाली सिनेमा कुन(कुन गए । 
हामीलाई पनि खबर भएको भए, सहभागी हुन्थ्यौ होला । गरिमा प्रथम भइन् भने सेकेन्ड को भयो, केही जानकारी कसैलाई छ । विदेशमा उत्कृष्ट हुने वित्तिकै नेपालमा पनि उत्कृष्ट हुने, होइन भने अरु बेलामा उनीहरुको कुनै चर्चा नै छैन त रु हामी त लामो समयदेखि यही क्षेत्रमा छौ । हाम्रो काम र योगदानको मुल्यांकन नहुने, एकैछिनमा उदाएका आज एकाएक पुरस्कारका लायक भए त रु यहाँ हरेक कुरा पैसासँग तुलना भयो । राष्ट्रले दिने अवार्ड यसरी खरिद विक्री हुनु निक्कै लाजमर्दो कुरा हो । यस्तो तालले त कलाकारलाई राज्यले गन्दैन अब । खै हामी कलाकारको ईज्जत कहाँ छ रु रेखाले यसो भन्दा फेरि विवाद सुरु होला । तर यो वास्तविकता नै हो । हामी पनि ‘सार्क फिल्म फेस्टिबल’मा ‘साँघुरो’, ‘झोला’ जसरी नै गएको भए पो यो नायिका प्रथम, यो फिल्म सेकेन्ड भन्ने हुन्थ्यो । मलाई त ‘नोटबुक’ उत्कृष्ट फिल्म भएकोमा पनि अचम्म लाग्यो । ‘नोटबुक’ कसरी उत्कृष्ट फिल्म रु रमाइलो कुरा त के पनि छ भने, ‘मसान’ सिनेमामा नायिका केकी अधिकारी छिन् । तर भर्खरै सिनेमा नगरीमा उदाउँदै आएकी नीता कसरी ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाउन लायक भइन् । उनी त फेरि सिनेमाको सह(नायिका हुन् । 

बरु केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मालाई नै दिएको भए पनि हुन्थ्यो । विल्सन र नीताको सिने नगरीमा के योगदान छ र, उनीहरुले पुरस्कार पाउनु रु पुरस्कार त राजेश हमाल, रेखा थापा जस्ता व्यक्तिहरुलाई दिने हो राज्यले । यो पुरस्कारमा राखिएका जुरीहरु नै भएनन् । आधा घन्टाको कार्यक्रम चलाउने प्रकाश सुवेदीले कसरी रेखा थापाको मुल्यांकन गर्न सक्छन् रु कथा लेख्ने धु्रव चन्द्र गौतमले कसरी मेरो अभिनय, डान्स र एक्सनको मुल्यांकन गर्न सक्छन् । मेरो मुल्यांकन गर्न गौरी मल्ल, मिथिला शर्मा जस्ता अभिनयले पोख्त कलाकार चाहिन्छ । यो पुरस्कारमा राखिएका जर्जहरु एकदमै गलत भयो । यहाँ भित्र(भित्र लभ गर्नेहरु बाहिर कालो चश्मा लगाएर उसलाई चिन्दिन भन्छन् । म त खुल्ला छु, जे छु त्यस्तै व्यवहार गर्छु । पुरस्कार वितरणले को(कसको गर्लफ्रेन्ड भन्ने नि स्पष्ट पारिदिएको छ । म त सबैबाट सम्मानित भएकी केटी हुँ । मलाई कसैको चाँकडी गर्नुपर्ने आवश्यक छैन । ‘पप्पु’ अहिले मेरो निकट होइनन् र कहिले पनि थिएनन् । सबैलाई थाहा छ, झरना थापाले ‘फेसबुक’बाट खलपात्रको अवार्ड जितिरहनु भएको थियो । तर आज एकाएक उहाँलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड कसरी दिइयो । अहिले अधिकांश समय झरना जी र सुनिल कुमार थापा, पप्पुसँग हुनुहुन्छ । पुरस्कारका लागि कहाँ कस्तो चलखेल छ भन्ने वुझ्न गाह्रो पर्दैन । यो निर्णय एकबर्ष अगाडि नै मलाई थाहा थियो । मैले गर्ने नै भए रेखा थापा, राजेश हमाल जस्ता योगदान दिएकाहरुलाई सम्मान गर न भनेको थिए । मैले त्यती नै बेला विरोध गर्छु पनि भनेको थिए । मलाई पुरस्कारका लागि पैसाको डिमाण्ड भयो । संचारमन्त्रीले वि।सं २०७० को पुरस्कार गरिमालाई दिन हस्तक्षेप गरेका हुन् । पुरस्कारमा सबै पैसा र प्रेमीप्रेमिकाको खेल भएको छ । यसैले एउटा राम्रो थालनी यस्तै खालका बिषयले बिचमै मर्न सक्छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ कुनै व्यक्ति या संघसंस्थाले दिने अवार्ड जस्तो होइन । आखिर यहाँ यस्तो गहन बिषय वुझ्ने मान्छे नै को छ 

अनलाइन खबर डटकमबाट । 

Sunday, June 15, 2014

संवेदनाहरुको समिक्षा, विगतहरुको स्मरण

साइबर लभ–२१ 

टन्टलापुर घाम । प्रचण्डमय काठमान्डू, प्रचण्डमय गर्मी । घरिघरि मान्छे हुत्याउने हुरी । धुलोको सहर । गाडीका आवाजले गुञ्जयमान सडक, अभ्यस्त पेटी । हतारका पाइलाहरु । कोही अवसर दिनका लागि, कोही अवसर लिनका लागि, कोही अवसर पाइन्छ भनी खोज्नका लागि । इत्रिरहेका किशोरकिशोरीहरु, हातमा किताब, काखीमा गर्लफ्रेण्ड । कानमा एयरफोन, हातमा आधुनिक एनद्रोइड, एप्पल, व्ल्याकबेरी यस्तै–यस्तै । सडकको निरन्तर यात्रामा मेरो ध्यान खिचिएका बेला देखिएका दृश्य । सहर, निक्कै उन्माद र परिस्कृत भइसकेको छ, व्यवाहारमा शेलीको विश्वजस्तै । 
शेलीको कृत्रिम सुन्दर विश्व छ । जहाँ उनका हरेक सपनाहरु विपनाजस्तै लाग्दा हुन् । तर, उनको विश्व संवेदनाहिनहरुको महासभाजस्तै हुँदो रहेछ । त्यहाँ प्रेमको अवमुल्यन एउटा परिस्कृत विश्वका नाममा सहज र सरल हुन थालेछ । ‘प्रेम र जीवनका बारेमा तपाइभन्दा मलाई राम्रोसँग थाहा छ, धागो चुँडिएको जस्तो सजिलो होइन, जीवन चुँडिने कुरा अनि धागो गाँठो पारेजस्तो होइन, सम्बन्ध जोडिने कुरा ।’, शेलीको इमले आएको छ,‘सवैको प्रेम मोलीको जस्तो हुँदैन, हाम्रो जीवन पनि मोलीको जस्तो छैन । हामी यहाँ कामदारका रुपमा बसीरहेका छौं, अनि उसको प्रेमको स्याहार हाम्रो आम्दानीको स्रोतका रुपमा छ ।’
तर्क र यथार्थहरुको दुरी निक्कै हुन्छ । मेरो समाज यो होइन, तपाइको समाज पनि होइन । हाम्रो सामाजिक पृष्ठभुमी एक हो तर म अहिले यो समाजसँग लडिरहेकी छु, मात्र मेरो जीवन निर्वाहको सवालमा, मेरो भविष्यको खोजीमा । यति हुँदा म प्रेमहिन मान्छे पनि होइन – उसको इमेलमा लेखिएको छ, म अचेल व्यस्त छु, मेरो नीजि जीवनमा । सवैकुरा म भन्न चहान्न, मसँग नजिक रहने अधिकार होला तपाइसँग तर मैले जीवनलाई प्राथमिकतामा राख्नुपर्छ । 
लामो समयपछि आएको शेलीको इमेलका उत्तरहरु मसँग खासै छैनन् । उनका विचारसँग तर्कभन्दा पनि व्यवाहारसँग नजिक हुन चहाने मेरो मनोकांक्षामात्र होइन, वितेका दिनमा उनीसँग जोडिएका संवेदनाहरुसँगको समिक्षा थियो मेरो इमेल । ‘मैले उत्तरका लागि प्रश्न, प्रश्नका लागि उत्तर लेखेको होइन, मैले जीवनका लागि प्रेम र प्रेमका लागि जीवनको सम्बन्धको कुरा गरेको हुँ ।’ बस, यत्ति इमेल लेखेको छु, आज शेलीलाई । 
०००
मान्छेहरु अपराधको चरम सीमासम्म पुगेका छन् । उनीहरुमा आत्मस्वार्थभन्दा के नै भेट्न सकिन्छ । आफ्नो खुसीका लागि दुनियाँको दुख कुल्चिन उनीहरु तल्लिन हुन्छन् । मान्छे– प्राण भएको विवेकशिल प्राणी भनिन्छ तर यो युगमा प्राण भएका विवेकहिनहरुको समाज व्यापक हुन थालेको छ । ‘आफ्नै श्रीमतिको अश्लिल तस्बिर फेसबुकमा पोष्ट गर्ने पक्राउ’ मोटा अक्षरहरुमा अनलाइनहरुमा समाचार आएको छ । श्रीमति फगत सम्बन्धको सम्बोधन होइन । यो सम्बन्धको खास सम्बोधित अर्थ हो । उनैमाथि यो विवेकहिन कर्म कसले गरेछ ? जान्ने इच्छा जाग्यो । आफ्नै श्रीमतीको नाममा नक्कली फेसबुक खोलेर नग्न तस्बिर राखेको अभियोगमा काठमाडौंका राजु महर्जनलाई प्रहरीले हिरासतमा राखेको खबर समाचारकक्षमा सहकर्मीले सुनाए । राजुको आवेग उसको भौतिक जीवनको बन्दी बनेको थियो । राजुले गल्ती गरेका थिए । ‘उनले श्रीमतीको नाममा फेसबुक एकान्ट खोलेर अर्कै युवतीको नग्न तस्बिरमा श्रीमतीको टाउको जोडेर पोस्ट गरेको पाएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।’, सहकर्मीले मेरो घटनामाथिको उत्सुकता पुरा गरिरहेका छन् । राजुको श्रीमतीसँगको सम्बन्ध राम्रो थिएन । सम्बन्ध बिग्रेपछि अदालतमा उनीहरुको ७ महिनादेखि सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ । 
समाज संवेदनाहिन बनिरहेको छ । मान्छेहरु आफ्नो सम्बन्धको धज्जी उडाइरहेका छन् । आफ्नो प्रेमको, आफ्नो आत्माको, आफ्नो भविष्य र वर्तमानको खिल्लि उडाइरहेका छन् । कठोर भएको छ, सहर । म हरेक समय भावनात्मक सम्बन्धको बारेमा दुनियाँसामु केही देखाउने प्रयत्नमा छु, दुनियाँ भौतिक सम्बन्धसँगै भावनात्मक सम्बन्धको धज्जी उडाइरहेको खबर मेरो कार्यकक्षमा दिनहुँ आउन थालेको छ । प्रेमजोडीको त्यागको समाचारले समाजसँग प्रश्न गर्न मन लागेको थियो, यो घटनाले मलाई सहरसँग प्रश्न सोध्न मन लागिरहेको छ । यो चिल्ला गाडीमा हिँड्नेहरुको बस्ती किन कृत्रिम भइरहेको छ ? किन ठोसमात्र भइरहेको छ, यहाँ आँशुको तरलताको मुल्य किन छैन ? म प्रश्नहरुबीच अल्झिरहेको छु । गोलललललललललललललललल..........मेरो बस्तीमा मध्यरात आवाज आयो । सन्नाटा भरिएको बस्ती एकाएक दिउँसोको सहरजस्तो भयो । हावा विस्तारै चल्न थालेको छ, मान्छेका हुलहरु निस्कन थालेका छन्, खेल छाडेर । म निरन्तर प्रश्नहरुसँग रुमल्लिरहेको छु । 
०००
जव खल्तीमा दाम सकिन्छ अनि विशाल भावनात्मक पहाडहरुको पर्खाल आउँछ । चिल्ला गाडीमा हिँड्नेहरुको जीवनशैली लोभलाग्दो देखिन्छ । घरिघरि घिनलाग्दो पनि देखिन्छ । मस्तिष्क यति धेरै चल्न थाल्दछ, कल्पनाको पहराहरुमा हरिया, राता, रंगिविरंगी भौतिक सुखहरु दौडिरहेका हुन्छन् । तर, पाइला उही फुटपाथमा हुन्छ । उही सडकमा हुन्छ, उही पेटीमा हुन्छ, पुतलीपेटीमा ।
अरबौं अनुहारहरुले ढाकेको विश्वमा मन कसैको मिल्दैन । फरक विचार, फरक मन । अनि, फरक व्यवाहार हुने रहेछ । गरिबीको ताज पहिरिएकाहरु जीवनको भोगाइसँग दिक्क छन् । धनी भनिनेहरु कृत्रिम र खरिद गरेको सुखसँग अभ्यस्त छन्, मन दुखी छ उनीहरुको । झलझली शेलीका आकृतिहरुसँग मेरो नयनका साक्षात्कार भइरहेका छन् । ती आकृतिहरुसँग मनमा अनेक शाव्दि तरंगहरु पनि छन् । कति कृत्रिम छन् ति हाँसोले भरिएका तस्बिरहरु..निक्कै कृत्रिम । सायद स्वार्थ र मुनाफाले भरिएको सोचहरु नै अहिलेका मान्छेहरुको पर्यावाची हो । ती कृत्रिम हृदय भएकाहरुलाई यो सहर उपहार दिने थिएँ, म यो सहरको युवाराज भएको भए । मुफ्तमा यो सहर दिने थिएँ । त्यसको वदला म उनीहरुको चेहरामा टाँसिएको कृत्रिम हाँसो होइन, प्राकृतिक हाँर्सोलाई हेर्न रुचाउने थिएँ । तर, यी मात्र सोचहरुमा सीमित छन् । मेरो यथार्थ अहिलेपनि सडकयात्री हो । पैदलयात्री हो । पेटीमा दिवास्वप्नमा हराउने बेरोजगारहरुको भिँडमा एउटा आत्मकथा हो । ‘दाई पाँच रुपियाँ दिनु न भोक लागेको छ ।’ पछाडीबाट कोही बालिका मागीरहेकी छिन् । खल्तीको दोष, खल्तीको पीडा मलाई थाहा छ । म गाडीहरु नियाँलेर मान्छेहरुको विवेचना त्यसै गरिरहेको थिइन । बस, म ती बालिकाको जस्तो माग गर्ने अवस्थामा पुगेको छैन । खल्ती टकटकाएँ । १० रुपियाँको नोट निस्कियो । बालिकालाई दिएँ । उनी आफ्नो काममा लागिन् । नोटसँगै निस्कियो एउटा कागजको टुक्रा । ओल्टाएँ, पल्टाएँ अनि फुकाएँ । कुनैबेला डायरीमा कोरेका अक्षरहरुको लहर थियो । 
त्यहाँ कुनैबेला कोरेको रहेछु ..कहिलेकाँही कस्तो लाग्छ भने मृत्युपछिको संसार पनि चिहाएर फर्किऊँ । त्यसैले म त्यो स्वर्गको वयान गदिर्न, जुन म देख्न सक्तिन । म त्यो नर्कको पीडाको अड्कलबाजी गदिर्न, किनभने नमरी न स्वर्ग देखिन्छ न नर्क नै ।
जो समयचक्रभित्रको मजाक गर्ने एकमात्र पात्र बनाएर मान्छेका संवेदनाहरुलाई क्यारामबोर्डका गोटी ठान्छन्, तिनीहरु समयका दुश्मन हुन्, तिनीहरु मानवप्रजातिमा हुकिरहेका असभ्यताका परिचय हुन् । अरुका संवेदनासँगका रागमा हाँस्नेहरुले आफ्नो पीडामा सहानुभुतिका दुईचार स्वरपनि प्राप्त गर्न कठिन हुन्छ, त्यसबेला चाल पाउँछन् उनीहरुले, जतिबेला समयको त्यहि चक्र बारम्बार उनीहरुको संवेदनामाथि प्रहार गर्दै घुमिरहन्छ ।
सडककिनारबाटै एउटा बाइक हुरिएर आयो, बतासिएर आयो । कठोर बतासँ पनि ल्यायो । कागजको टुक्रा हातबाट उड्यो, भिँड सडकमा कही गाडीहरु माझमा गुम भयो । म टिप्न गइन । उसले मेरो विगतको लेखनलाई स्मरण गरायो र विलिन भयो, बेलामौका जीवनमा आउने फरक सोचहरुको तरंगजस्तै ।

Wednesday, June 4, 2014

समर फेसनको समय

महशुर फेसन डिजानइनरहरुले भनेका छन्–ग्ल्यामर क्षेत्रमा फेसनको ठूलो अर्थ हुन्छ । 

चर्चित फेसन डिजाइनर राल्फ लाउरेनले भनेका छन्,‘म लुगाहरुको डिजाइन गर्दिन, म सपनाहरुको डिजाइन गर्छु । लुगाको सौख भनेको सपनाहरुको प्रयोग हो ।’ फेसन युवायुवतीको उमेरको चाहना र सौखमात्र होइन, सपना पनि हो । त्यसैले त मौसमअनुसार सहर रंगिन र आकर्षक देखिन सुरु भइसकेको छ । गर्मीको पारो उकालो लाग्दैगर्दा, कपडाचाँही शरिरबाट ओरालो लाग्छन् । सहरमा देखिन थालेको दृश्य समर चढिसकेको संकेत हो । 
फेसन समयअनुसारको लगाई र तरिकामात्र होइन, फेसन सपना हो । ग्ल्यामर क्षेत्रमा होमिएकाहरुको सपना सहरमा भित्रिएका, विश्वमा देखिएका नयाँ फेसनसँग नजिक रहनु र त्यसलाई उपयोग गर्नु हो । ‘ग्ल्यामर फिल्डमा खोजी नयाँ फेसनको हुने गरेको छ । र, यो मौसमअनुसार नै परिवर्तन भइरहन्छ ।’, मोडेल अभिरुचि बुढाथोकी भन्छिन्,‘समर फेसनको मजा नै वेग्लै हुन्छ ।’ खासगरी समर फेसन लोकेशनअनुसारको हुने उनको मान्यता छ । थप्छिन्,‘ठाउँ हेरेर हुन्छ, दिउँसो के लगाउने ? पार्टीमा जाँदा कस्तोमा जाने ? अनि अन्य विशेष कार्यक्रममा कस्तो देखिने ।’ अस्पतालमा जागिरेसमेत रहेकी उनी फेसनेवल देखिन समरमा सारी ज्यादा लगाउने गर्छिन् । भन्छिन्,‘यो सदाबहार देखिन्छ, अनि फेसनेवल पनि देखिन्छ ।’ 
नयाँ पहिरनको सृजना मौसमअनुसार नयां ढंगबाट हुने गरेका छन् । त्यसको प्रयोगले पनि व्यापकता पाउने गरेको छ । फेसन पहिरन लगाउनका लागिमात्र होइन, त्यसको प्रभावका लागि पनि हुने गरेको छ । अमेरिकी मोडेल लयलाले भनेकि छिन्,‘आज म ठिक छु, भोली ठिक हुनेछ, अनि पर्सी झनै ठिक देखिनेछु । एक वर्षमा तपाइहरुले मलाई फरक–फरक देख्नुहुनेछ ।’ लयला ग्ल्यामर क्षेत्रमा पहिरनको ठूलो महत्व हुने उल्लेख गर्छिन् । 
यतिबेला नेपाल गर्मीको प्रभावबाट गुज्रिरहेको छ । काठमान्डूदेखि पोखरा र धरानसम्म उत्तिकै गर्मीे छ । मौसमको प्रभाव एकातिर बढिरहँदा स्विमसुटदेखि, वान पिस र टु पीसहरु देखिनु स्वभाविक बनिरहन्छ । पातला टिसर्टहरु स्वभाविक पहिरन बनिसकेका छन् । गर्मी छल्न छोटा र पातला कपडा लगाउनेहरुले आधुनिक फेसनलाई पनि सहज रुपमा उपयोग गरिरहेका छन् । ‘समर फेसनमा पर्ने यस्ता कपडाहरुको विक्रि, बनाउने तरिका चलिरहन्छ ।’ काठमाडौंमा बुटिक सञ्चालन गरिरहेकी कविता आचार्य भन्छिन्,‘गर्मिमा युवतीहरुका फेसनका अनेक डिजाइनहरु आउन थालेका छन्, नयाँ डिजाइनमा पातला कपडाहरुको डिमान्ड बढिरहेको छ ।’ उनी जेन्टल सेक्सी देखिनेहरु भने सारीको प्रयोग ज्यादा गर्ने बताउँछिन् । ‘सारी अहिले नेपाली बजारको समर फेसनको नयाँ डिजाइन हुन थालेको छ।’, आचार्यले भन्छिन् ।
फेसन डिजाइनर जोन वेसलेले ‘पहिरनको सवालमा तिमी कहिले पहिलो नहुनु र अन्तिम पनि नहुनु’ भनेजस्तो छैन, समर फेसनको स्थिति । समर सुरु नहुँदै समर फेसनको चल्तीले सहरलाई रंगाइसकेका छन् । ग्ल्यामरलाई सपना बनाउनेहरु पहिरनको सौखलाई समयानुकुल नै देखाउन रुचाउँछन् । गर्मीमा खासगरी युवतीहरु लुज सर्ट लङ डिजाइन, फ्रि बेल्ट टि–सर्ट, किफोन सर्ट, कटन सर्ट गाउनप्रति सामान्यतया आकर्षित हुने गरेका छन् । यो सहरमा अहिले चलेका नयाँ डिजाइन मानिन्छन् । ‘हाफ पाइन्ट, हट पाइन्ट टिसर्ट समर फेसनका कमन क्लोथका रुपमा मानिन्छन् ।’, मोडेल आशा गौतम भन्छिन्,‘त्यो भन्दा स्पेसीफिक प्रोग्राम र ठाउँ हेरेर हुन्छ ।’
समर फेसनका डेस्रअपहरुको डिजाइनमात्र नयाँ हुँदैनन्, ती डिजाइनका रंगहरुले पनि प्रभावित पार्दछन् । स्काई ब्लु, ह्वाइट, पिंक कलरका जुनसुकै प्रकारका ड्रेसहरुको आकर्षणका रुपमा देखिने गरेका छन् । सहरमा नयाँ फेसनको चर्चासँगै लहर चल्नु स्वभाविक भएपनि महशुर लेखक लि मिल्डनले भनेका छन्,‘यदि तपाइले सुन्दर मुस्कान दिनु भएको छ भने मान्छेले तपाइको परम्परागत पहिरनको वास्ता गर्दैनन् ।’ तर, सहरमा अहिले समर फेसनकै चर्चा ज्यादा छ । 
-  हट नेपाल म्यागेजिनबाट