Friday, August 8, 2014

घेराबन्दिको शिकार चरी, खुश्वचाँही विचरी, कसरी ?

देख्दै आएको र पत्रकारितामा विश्लेषण गर्दै आएको सत्य के हो भने– गलत बाटोको आयु निक्कै कम हुन्छ । दिनेश अधिकारी उर्फ चरी डन हत्या प्रकरण एउटा फिल्म जस्तो । घटना यति वास्तविक भयो की त्यो हिन्दि सिनेमा वास्तवको सिनहरु झलझली आँखामा आइरहने जस्तो भयो । एउटा सोझो केटो संजय दत्त मुन्ना भाई (डन) कसरी बन्छ र उसको पतन कसरी हुन्छ भन्ने तस्बिर देखाइएको छ । त्यस्तै एउटा धादिङको केटो कसरी डन भयो र उसको अवशान कति असहज भयो भन्ने कुरा विश्लेषणयोग्य छ । हुन त आपराधिक गतिविधिमा लागेर त्रासको भरमा बाँचेकाहरुको एउटा भ्रम हुन्छ कि आफुलाई हजुर भन्नेहरुले इज्जत गरेका हुन् । तर, त्यो त्रासबाट निस्किएको हजुर हुन्छ । र, त्यो हजुर भन्ने शव्द लामो समयसम्म कसैले पनि भन्न चहाँदैन । त्यहि चहानाको भुमरीमा परे, डन चरी ।
भारत र नेपालको डनगिरीमा लामो समयसम्म कोही पनि टिक्न सकेका छैनन् । संसारको सवैभन्दा ठूलो डन कोही छ भने त्यो पुलिस नै हो । पुलिसको जानकारी बाहिर केहीपनि हुँदैन । उसका हरेक अंगहरु यतिधेरै सक्रिय हुन्छन् की बचाउने र मार्ने दुवै काम बडो राजनीतिक ढंगबाट सम्पन्न हुने गरेको छ । चरी त्यहि चक्रव्युहको एउटा पिउसो थिए ।
चरीको डनगिरी जहाँबाट सुरु भएपनि विगत केही वर्षयता उनले राजनीतिक संरक्षण र राजनीतिक खोलको आड पाए । उनका लगातार केही घटनाहरु सार्वजनिक भए । उनलाई आक्रमण गर्न प्रहरीमात्र सक्रिय भएन उनले जन्माएका बाहुबली दुश्मनहरु पनि पर्याप्त थिए । उनीमाथि दुई चार पटक आक्रमण पनि भएको थियो । तर, संयोगवस र भगवानभरोसा उनी उम्किँदै र बाँच्दै आइरहेका थिए । जव काठमाडौंमा प्रहरी प्रमुखका रुपमा रमेश खरेल आए, उनले डनगिरीलाई भुमिगत बनाउने रणनीति तय गरेका थिए । त्यो रणनीतिमा उनी सफल पनि भए । चरी नेपाल छाडी भागेका थिए । तर, जव खरेलको सरुवा भयो अनि उनी काठमाडौंमा देखिए । तर, उनको काठमाडौं झर्ने क्रम मृत्युनजिक भएको कुरालाई उनले कति विश्लेषण गरे, थाहा भएन । अन्ततः प्रहरीको घेराबन्दिमा उनीमाथि गोली दागियो, यो स्वभाविक र अस्वभाविक दुवै प्रकारको थियो ।

....

अर्पण कोइराला भन्ने चरीका निकटका मित्र थिए । खुश्वुले पनि यो कुरा उल्लेख गरेकी छन् । उनका सहयोगीहरुसँगका अनौपचारिक कुराकानीका क्रममा खुश्वु ओलीको चर्चा निक्कै हुने गरेको थियो । कोइराला गुण्डासँगको संगतमा रहेका एक करोडपति युवा भएपनि उनी अन्य गुण्डाको तुलनामा बाहुबलमा शक्तिशाली थिएनन् । तर, उनी खुश्वुको प्रेममा निक्कै गिरीसकेका कारणले उनले आफ्नो मनले ठानेजति र खुश्वुले मागेजति सवै पु¥याइदिए । कतिसम्म सत्य हो थाहा छैन, सुनेकै कुरा हो त्यसकारण व्लगमा लेखेको छु । कोइरालाले खुश्वुका लागि बस्ने फ्ल्याटसम्मको व्यवस्थामात्र गरेनन्, उनको खर्चपनि सवै आफैंले व्यहोरे । तर, खुश्वुको महत्वकांक्षा कम थिएन र उनले शक्तिशाली मान्छे र पैसा भएका शक्तिपुरुषका रुपमा दिनेश अधिकारी चरीसँग मित्रता बढाइन् र त्यो प्रेममा परिणत भयो ।
डनहरुसँग मोडेलको सम्बन्ध कुनै नयाँ कुरा होइन । दुनियाँमा धेरै यस्ता उदाहरणहरु छन् । नेपाली कल्चरमा भने चरीको सम्बन्धमात्र बाहिर आएको हो । यस्ता अन्य निक्कै मोडेलहरुको सम्बन्ध पनि डनहरुसँग रहीआएको बजारहल्ला कम छैन । यद्यपि, खुश्वु भने खुलेरै पनि बाहिर आएका कारण र उनले दिएको अन्तवार्ताले पनि यस्तो देखाएको छ ।

तल अन्तर्वार्ता पढ्नुहोस् ।




प्रगाढ थियो सम्बन्ध, कसरी ? 

दिनेश अधिकारी र तपाईंको सम्बन्ध के हो ?
हामी दुवैजना एकअर्कालाई माया गथ्र्यौं । परिवारको सहमतिमा यसै वर्ष हामीबीच विवाह हुने कुरा थियो । दुवैतर्फका परिवारबीच गत वर्ष नै हाम्रो विवाह गरिदिने सहमति भएको थियो  ।

दिनेशसँग चिनजान कसरी भयो ?
सामान्य चिनजान त हाम्रो पहिल्यैदेखि थियो । तर हामी पछिल्लो दुई वर्षयता प्रेममा थियौं । म विशालनगरमा सेल्टर नामको सामाजिक संस्था चलाउँछु । ३५ जना दुस्ख पाएका बालबालिका राखेर लालन पालन र शिक्षा दिइरहेको छु । त्यही सिलसिलामा हाम्रो भेट भएको हो । उहाँले पनि संस्थामा ठूलो सहयोग पुर्याकउनुभएको छ ।

तपाईंजस्तो पढेलेखेको मान्छेको दिनेशजस्तो राज्यको नजरमा अपराधी मान्छेसँग कसरी यस्तो सम्बन्ध हुन सक्यो र?

मिडिया र राज्यको आँखाबाट हेर्दा उहाँ गुण्डा, डन र अपराधी होला तर, मेरा लागि उहाँ संसारकै सबैभन्दा असल मान्छे हो । जुन केसमा उहाँ वान्टेड हुनुहुन्थ्यो त्यसमा उहाँको केही दोष छैन । जब राधे भन्नेले गोली हान्यो, त्यसपछि उहाँका भाइहरुले बदला लिनुभएको हो । राधेलाई उहाँ आफैंले कुखुर हानेको होइन । पहिला जेजस्तो भए पनि पछिल्लो दुई वर्षयता उहाँको त्यस्ता कुनै पनि घटनामा संलग्नता थिएन । केही मुद्धा अदालतमा विचाराधीन थिए । केहीमा सफाई र केहीमा उहाँले सजाय भोगिसक्नु पनि भएको थियो । यस्तो अवस्थमा पूरानो रिसीइबीले उहाँमाथि राधे समूहबाट आक्रमण भयो ।
प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेको मान्छेका बारेमा तपाईंले गरेको यस्तो दाबी अरुले पत्याउलान् त रु
यो कुरा दिनेशसँग जो नकिज हुन्छ, उसलाई मात्र थाहा हुन्छ । दिनेश सबैलाई प्रेम गर्ने खुला हृदयको मान्छे हो ।

त्यति राम्रो मान्छे किन भागेर इण्डिया जानुपरेको त र?

उहाँलाई यहाँ सुरक्षा खतरा भयो । त्यही भएर केही महिना इण्डिया बन्नुभयो । अदालतमा मुद्धा थियो । त्यसैले हाम्रो बीचमा भएको सल्लाहअनुसारै उहाँ अदालतमा आत्मसमर्णण गर्नका लागि केही दिनअघि मात्र नेपाल आउनुभएको थियो । उहाँको वकिलसँग कसरी आत्मसमर्पण गर्ने भन्नेबारेमा कुरा भइरहेका बेला हत्या भयो । त्यही भएर मलाई प्रहरी सम्झंदा घृणा लाग्छ । जहाँसम्म उहाँ असल कि खराब भन्ने कुरा छ । मैले भेटेका जति सबै मान्छेले उहाँलाई आदर गरेको पाएको छु ।
धादिङमा जानुस् न उहाँको कति राम्रो छवि छ । धादिङमा यदि उहाँ हुनुहुन्नथ्यो भने एमालेले एउटा पनि क्षेत्रमा चुनाव जित्ने थिएन । यो कुरा मैले होइन, स्वयम् एमालेकै नेताहरुले भन्नुभएको हो । उहाँले थर्काएर होइन, लोकप्रियताका कारणले । उहाँका बारेमा प्रहरी र मिडियाको कुरा सुन्दा अर्कै लाग्ला तर, धादिङ र नयाँबजार क्षेत्रमा जानुस्, सबैले कति तारिफ गर्छन् । उहाँको मन सफा थियो । म वौद्धिक मान्छे हुँ । लण्डनको अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेको छु । मानिसलाई बुझ्न सक्ने क्षमता छ । उहाँ अरुले भनेजस्तो खराब र डन भएको भए म कसरी सँगै जीवन बिताउन तयार हुन्थें । के जीवन भनेको एक दुई दिनको रमाइलो हो र रु फेरि मैले त मन पराएँ रे के उहाँ खराब भएको भए मेरो परिवार बिहेको लागि तयार हुन्थ्यो रु कुनै असल बाबुआमालाई जानीजानी एउटा डनलाई आफ्नी छोरी जिम्मा लगाउने मन हुन्छ रु हाम्रो सम्बन्ध त ‘एक्स्ट्रा अर्डिनरी’ हो ।
उहाँ एउटा डनमात्र भएको भए एमाले अध्यक्ष केपी ओलीले किन ‘यो षड्यन्त्रपूर्ण हत्या’ भन्नुहुन्थ्यो रु अहिले पनि शव राखेको शिक्षण अस्पताल जानुस्, पाँच सातसय मान्छे छन् । जिउँदो हुँदा पो थर्काएर पछि लागेको भन्थे होलान् मान्छेहरु, मरेपछि त डराएर त्यसरी आउनु नपर्ने  नि रु
केपीले राम्रो भनेर के गर्नु त एमाले उपाध्यक्षसमेत रहेका गृहमन्त्री बामदेव गौतमले संसदमा दिनेश विभिन्न अपराधमा संलग्न रहेर प्रहरीको फरार सूचीमा भएको र, प्रहरीको ‘इन्काउण्टर’ मा मारिएको भनेछन् रु
उहाँले भनेका कुरा मैले पनि सञ्चार माध्यमबाट थाहा पाएँ । यो सुनेर दुस्ख लाग्यो । उहाँले त्यसको पुष्ट्याईं गर्नुपर्योा नि । पक्राउ गरेर कानुनी कारबाही चलाउनु पर्नेमा हत्या गर्ने उल्टै परिवारलाई पीडा दिने यो काम बिल्कुल ठीक भएन । बामदेवले के बिर्सनु हुँदैन भने हिजो चुनावका बेला धादिङमा तीनवटै क्षेत्रमा एमालेलाई जिताउनमा दिनेशको निर्णायक हात छ । आफ्नो पार्टीलाई चुनाव जिताउन खट्दा असल मान्छे, अहिले अपराधी कसरी हुन्छ रु हामी अब प्रहरीमा कुमुद, अर्पण र अरु केही मान्छेविरुद्ध किटानी जाहेरी दिन्छौं

बिहेपछिको योजना के थियो ?

हाम्रो मेल भएको भए दुवैको ‘फ्युचर’ उज्यालो हुने थियो । उहाँ पहिल्यै राम्रो मान्छे हो । मेरो सम्बन्धपछि झन् राम्रो हुुनुभएको थियो ।

प्रहरीले यति राम्रो मान्छेलाई किन मार्नुपरको होला त ?

डिएसपी कुमुद ढुंगेल मप्रति अति नै आकर्षित थिए । उनले मलाई एकतर्फी रुपमा मन पराउँथे । उनी मेरो संस्थामा पनि बारम्बार आइरहन्थे । उनको प्रस्ताव अस्वीकार गरेर मैले दिनेशको प्रस्ताव स्वीकार गरें । जुन दिन दुई परिवारका बीचमा हाम्रो बिहेको कुरा टुंगियो, त्यही दिन कुमुदले मलाई फोनमा भनेका थिए, दिनेशलाई ज्वाईं बनाउने भइछौ, तर उसलाई म कुनै पनि दिन मारिदिन्छु । त्यसलाई छाड्दिन उनले भनेका थिए । यसै साता दिनेशले ‘कोर्ट’मा आत्मसमर्पण गर्ने कुरा कुमुदले थाहा पाएका थिए होलन् । उनलाई राम्रारी थाहा थियो कि दिनेशमाथि लागेको आरोप कमजोर थियो । केस फितलो भएकाले ठूलो सजाय हुँदैन ठानेर उनले हत्या गरे । मैले दिनेशसँगको निकटताबाट राम्ररी के थाहा पाएँ भने डन प्रहरीले जबर्जस्ती बनाउने रहेछ । दिनेशलाई डन भन्ने हो भने बर्दी लगाएर दिनदहाडै गोली हानेर मान्छे मार्ने कुमुद ढुंगेललाई के भन्ने रु उहाँमाथि राधेलाई कुखुरी हानेको आरोप थियो । त्यो सामान्य केस हो, तर दिनेशजी त्यत्तिकै भरमा डन हुनुभयो । कुमुदसँग प्रहरीको फुली, बर्दी र ट्याग थियो, उनी डन भएनन् । साँच्चै भन्ने हो भने त डन भनेकै प्रहरी हो ।

कुमुदले नै गोली हानेको भन्ने के प्रमाण छ तपाईंसँग र?

किनकी उनको मनमा दिनेशप्रति जुन तहको ‘इगो’ थियो, त्यस्तो इगो भएको मान्छेले मात्र त्यति ठूलो अपराध गर्न सक्छ रु सबै पुलिससँग दिनेशको के व्यक्तिगत दुश्मनी थियो र रु । कुमुदबाहेक अरुले त्यस्तो गर्नै सक्दैन । किन भने अदालतले फैसला गर्ने केस हो । प्रहरीले मार्नुपर्ने कारण के थियो र ?

तर प्रहरीले प्रहरी देखेपछि शंकास्पद गतिविधि गरेको र पक्राउ गर्न खोज्दा दिनेशले गोली चलाएकाले आत्मरक्षाका लागि जवाफी फायरिङमा मृत्यु भएको बताएको छ नि ?

यो शतप्रतिशत झुठ र बनावटी कथा हो । पहिलो कुरा उहाँ अदालतमा आत्मसमर्पण गर्न आउनुभएको हो । त्यस्तो मान्छेसँग हतियार हुन्छ रु जो वान्टेड छ, उसले हतियार बोकेर काठमाण्डुमा हिंड्छ रु एक छिनका लागि मानौं कि हतियार थियो रे, बाइक चलाएर भाग्दै गरेको मान्छेले पछाडि फर्किएर प्रहरीलाई कसरी गोली हान्न सक्छ रु त्यो गोली प्रहरीलाई लागेको हुनुपर्दैन रु भाग्दै गर्दा पछाडिबाट हानेको गोली छातीमा लाग्छ । पाँच सेन्टिमिटर नजिकबाट ताकीताकी छातीमा आठवटा गोली हानिएको छ । अनि एउटा लक्काजवान मान्छे आठ गोली लागेर ढलेको स्थानमा रगतको थोपा हुनुपर्दैन रु भाग्दै गरेको मान्छेलाई गोली लागेको भए, बाइकमा केही क्षति हुँदैन । प्रहरीलाई छल्न भागेको मान्छेको बाइक कति स्पिडमा थियो होला अनुमान गर्नुस् । सामान्य स्पिडमा रहेको बाइक त पल्टियो भने कति पर घिसारिन्छ । प्रहरी छल्न भागेको मान्छेको बाइक लाससँगै ढल्छ रु बाइकमा क्षति हुनुपर्देन रु बाइकमा एउटा सिन्कोले घोचेको सम्म पनि दाग छैन । के नेपालको कानुनुले इन्काउण्टरमा मान्छे मार्न पाइन्छ भनेको छ रु कोही अपराधी भाग्यो भने, उसलाई नियन्त्रणमा लिने उद्देश्यले खुट्टामा मात्र गोली हान्न पाइन्छ । छातीमा ताकेर हान्न पाइन्छ रु भागेको भए तीनवटा गाडीमा भएको प्रहरीले घेराबन्दी गर्न सक्थ्यो । अर्कोतिरबाट प्रहरी बोलाएर बाटो छेक्न सक्थ्यो ।

बाइकको टायरमा गोली हान्न सकिन्थ्यो, के यसो गरियो त ?

तपाईंलाई इण्डियाबाटै नेपाल आउन नकिएको भए यस्तो घटना हुने थिएन कि भन्ने लाग्दैन रु
उहाँमाथि लागेको आरोप फितलो थियो । सधैं भागेर पनि हुने थिएन । त्यसैले अदालतमा उपस्थित भएर केस सल्टिएपछि नयाँ जीवन सुरु गर्ने ‘प्लान’ थियो । उहाँ उतै बसेको भए पनि हुन्थ्यो नि त । तर, अदालतको फेस गर्छु भन्दा गल्ती थियो भन्ने लागेको छ ।
interview source kathmandu today dot com

Tuesday, August 5, 2014

आखिर के चहान्छन् मोदी ?

नेपालीलाई मन्त्रमुग्ध बनाएर फर्किनु भारततिर नेपालको सकारात्मक दृष्टिकोण बनाउन मोदी सफल हुनु विश्लेषण गरिएको छ


भारतीय कांग्रेस सत्ताले विगारेको छिमेकी मुलुकसँगको सम्बन्ध सुधारको बाटोमा उक्लिएका छन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । सार्कका राष्ट्रहरुसँग सम्बन्ध जोड्नका लागि आफ्नो शपथ कार्यक्रममा निम्तो दिएर आठै देशका सरकार र राष्ट्रप्रमुखसँग साझेदारी सम्बन्ध कायम राख्ने सुरुआत गरेका मोदीले सार्कबाट नै आफ्नो विदेश भ्रमण सुरु गरेका थिए । अझ, उनको सार्कमा पनि नेपालसँगको सम्बन्धलाई विशेष चासोका रुपमा हेृरिएको थियो । भुटनाको संसदमा पनि नेपालको चर्चा गरेका मोदी लगत्तै आइतबार नेपालमा उत्रिए । र, उनले नेपालमा आफ्नो जादुको वर्षा गरेर सवैलाई एकैतिर केन्द्रित बनाए । मोदीको यो रणनीति के हो ? के चहान्छन् मोदी ?  
सार्क राष्ट्र सदस्यका लागि एक दशक अघि चीनले गरेको प्रस्तावलाई भारतले ठाडै अस्वीकार गरेर अफगानिस्तानलाई सदस्य राष्ट्रमा स्वीकार गरेपछि चीन भारत सम्बन्ध विग्रिएको थियो । उदयीमान शक्ति चीन सार्क राष्ट्र सदस्य भएमा भारतको दबदबा र नेतृत्व गर्ने योजना असफल हुनेभएपछि भारतको चाहनाका आधारमा चीनलाई सार्क सदस्यमा समावेश गरिएन । 
चीनको पाकिस्तानसँगको सम्बन्ध र सार्कका अन्य मुलुकमा पनि राजनीतिक हस्तक्षेप र भुमिका प्रभावकारी बनिरहँदा भारत कमजोर हुने ठानेर भारतले चीनलाई सार्क सदस्यमा स्वीकार गरेन । अन्ततः बहुमत सार्क राष्ट्रले भारतको अडानमा साथ दिए तर चीनलाई सार्क संरक्षण राष्ट्रका रुपमा स्वीकार्नुपर्ने भयो । र, अहिले चीन सार्कको संरक्षण राष्ट्र हो भने चीनलाई सन्तुलनमा राख्नका लागि जापानलाई पनि संरक्षण राष्ट्रका रुपमा राखियो । तर, चीनले भारतको उक्त अडानलाई चिर्नका लागि आफुसँग सीमा जोडिएका सार्कका अन्य राष्ट्रसँग निरन्तर सम्बन्ध सुमधुर बनाउने अर्को योजना तर्जुमा गरि अघि बढ्यो । 
नेपालमा सोही बेला चलेको कम्युनिष्ट आन्दोलनको युद्धलाई सहयोग गर्ने र समर्थन गर्ने रणनीतिअनुसार चीन अघि बढ्यो । चीनको यस्तो कदमलाई निरुत्साहित पार्नु भारतको बाध्यता बनेको थियो । उता, पाकिस्तानलाई सहयोग र यता तीनतिर सीमा जोडिएको नेपालमा पनि चीनको भुमिका प्रभावकारी हुन थालेपछि भारतले माओवादी युद्धको टुंगो लगाउने कामको नेतृत्व पनि आफैंले गर्नुपर्ने ठान्यो र १२ बुँदे दिल्लि सम्झौताको वातावरण बनायो । चीनले सक्रिय राजनीतिमा आएका तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई सहयोग गर्ने आश्वासन दिएपछि ज्ञानेन्द्रले भारतसँगको दुरी बढाएपछि ज्ञानेन्द्रको सत्ता पनि जानेगरी भारतले नेपालमा राजनीतिक हस्तक्षेप गरिदियो । 
रअका अधिकारीहरुको प्रवेश, १२ बुँदे दिल्लि सम्झौता र नेपाली जनआन्दोलनको वातावरणका आधारमा भारत नेपालमा नयाँ राजनीतिक कोर्ष स्थापना गराउन सफल भयो, जहाँ उसले चीनको रणनीतिलाई असफल बनाएको ठान्यो । तर, चीनले शान्ति प्रकृया सुरु भएपछि ठूलो शक्तिका रुपमा रहेको तत्कालिन नेकपा माओवादीलाई आफु निकट बनायो र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो सत्कार गरिदियो । ओलम्पिक खेल आयोजना हुने क्रममा उसले विश्वका शक्तिशाली व्यक्तिाहरुको ठाउँमा राखेर प्रचण्डको स्वागत गरी नेपालको राजनीतिमा फेरि भारतविरोधी आवाजलाई बुलन्द बनाइदियो । त्यसबेला नेपालमा रहेका भारतीय राजदुत राकेश सुदले माओवादीको उक्त कदमको भारतीय सरकारलाई जानकारी गराए र माओवादी विभाजनका विऊ रोप्नका लागि तत्कालिन भारतीय संस्थापन सक्रिय हुन थाल्यो । 
यसबीचमा नेपाल–भारत सम्बन्ध निक्कै चिसो भयो । भारतले नेपालमा सहयोगका रकमहरुमा कटौती गरीरह्यो, मधेसी दलहरुलाई उचाल्ने र पछार्ने काममात्र भएन, मुलधारका राजनीतिक दलहरुलाई पनि दबाबमा राख्ने काम गरेको थियो । नेपाली राजनीतिमा विभाजनको विउ रोप्न प्रयास गरेपनि संविधानसभाको दोस्रो निर्वाचनबाट नेपाली जनताले भारतको योजनालाई कमजोर बनाइदिए । सोही बेला लोकसभा चुनावको तयारी भइरहेको भारतमा प्रतिपक्षी दलको रुपमा हरेको भारतीय जनता पार्टीले संस्थापनविरुद्ध नारा पायो– छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध विग्रियो । कांग्रेस आइले मुलुक कमजोर बनायो भन्ने । त्यसपछि लोकसभा निर्वाचनले भाजपाका नेता नरेन्द्र मोदीको नेतृत्वमा लोकसभा निर्वाचनमा बहुमतको सरकार बनाउने जनादेश पाएपछि मोदीको उदय भयो । उनै मोदीले आफ्नो सरकार गठन भएको तेस्रो महिनाको पहिलो साता चल्दै गर्दा नेपालको भ्रमण गरे र नेपाली जनता पनि मन्त्रमुग्ध हुनेगरी संसदमा भाषण गरिदिए । उनको नेपाल भ्रमणले नेपाली राजनीतिक व्यवस्था, नेपाली जनता र नेपालका राजनीतिक दलहरुको धारणा परिवर्तन भएको छ । उनको जादुमय भाषणले चीननिकट हुँदै गएको नेपाली राजनीति भारतकेन्द्रित हुन थालेको विश्लेषकहरुले बताएका छन् । 
चीनसँग सीमा जोडिएका छिमेकी मुलुकहरुको झुकाव भारततिर बनाउनका लागि मोदीको रणनीतिक अभ्यसाका रुपमा उनको भुटान र नेपाल भ्रमणलाई विश्लेषण गरिएको छ । विगत डेढ दशकमा माओवादी युद्धपछि नेपाली राजनीतिको झुकाव चीनतिर ज्यादा भएको र त्यसलाई भारतीय कांग्रेस सरकारले सुधार्न नसकेको अवस्थामा मोदीको रणनीतिले सुधार्दै जाने भारतीय विश्लेषकहरुले बताएका छन् । ‘मोदीको लक्ष्य भनेको सार्कको नेतृत्व गर्ने हो, कांग्रेस सरकारले विगारेको सम्बन्ध सुधार्ने र नयाँ शक्तिका रुपमा भारतलाई अझ बलियो बनाउने हो ।’, एक भारतीय वरिष्ठ पत्रकारले भने,‘यो रणनीतिअनुसार नै मोदी केही हदसम्म सफल भएका छन् ।’
विवादमा रहेको गौतम बुद्ध जन्मथलोको विषय, नेपालको सार्वभौमिकता, नेपाली जलस्रोतको भारतले नियन्त्रण गर्ने विषयमा मोदीले खुलेर नेपालीको दिलखुस हुनेगरि सम्बोधन गरिदिए । उनले नेपाली संसदमा नेपाली भाषामा सुरु गरेको भाषणका क्रममा नेपाल बुद्धभुमि भएको, नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र र नेपालसँग अथाह जलशक्ति रहेको र त्यो आफुले नियन्त्रण वा निशुल्क नभएर किन्न खोजेको खुलेर बताइदिए । बुद्धको जन्मथालेको विषयमा भएको विवादको टुंगोलागेजसरी युवा वर्गलाई उनले सम्बोधन गरे । राजनीतिक विवादमा रहेको नेपाली सार्वभौमिकताका विषयमा पनि सकारात्मक हुनेगरी जादुमयी भाषा प्रयोग गरिदिए । र, नेपाली पानीको सदुपयोग गर्ने र नेपाल उज्यालो बनाएपछि मात्र भारत उज्यालो बनाउने विषयमा पनि उनी बोलेका कारण उनले भ्रमण अपेक्षा र लक्ष्यअनुसारको बनाएको विश्लेषकहरुले बताए ।

Sunday, August 3, 2014

प्रहरीभित्र राजनीतिक प्रभाव

यतिवेला प्रधानमन्त्री सुशिल कोइराला, गृहमन्त्री वामदेव गौतम र कांग्रेस एमाले र एमाओवादीका नेताहरुको घरघरमा प्रहरी अधिकृतहरु पुग्छन्, आफ्नो बढुवाको सिफारिस लिएर । कोही नेतासँग सिधै सम्पर्क राख्छन्, कोही नातेदार नेतामार्फत पुग्ने चाहना अभिव्यक्त गर्छन् अनि कोही रकमको प्रलोभनका आधारमा पनि पुग्छन् । यो ओपन सेक्रेट कुरा हो । एसएसपी रमेश खरेलले भनेजस्तो बढुवाका लागि डिआइजीहरु व्रिफकेश बोकेर नेताको दैलोमा पुग्छन् । उनको तहबाट यो वयानबाजी कत्तिको उपयुक्त हुन्छ होला तर यहि नै ओपन सेक्रेट सत्य हो । त्यसकारण थाँती रहेको डिआइजी बढुवा पनि हुन नसकेको हो । यसभित्र राजनीतिक दलका आफ्ना स्वार्थ, दलभित्रका नेताका आफ्ना स्वार्थमात्र होइन प्रहरी अधिकारी कै पनि स्वार्थ कारण बनिरहेको छ ।
राजनीतिक भागबण्डा नमिल्दा डीआईजी बढुवा बिगत ९ महिनादेखि हुन सकेको छैन । आगामी २० असोजसम्म पनि बढुवा विवाद कायम रहे एआईजीका दाबेदार डीआईजीहरु सेवा अबधिका कारण अनिबार्य अवकाशमा पर्नेछन् । उनीहरु एआइजी पदमा पुग्न पाउने छैनन् । बढुवा सिफारिसमा परेका डीआईजी केदार साउद र रमेशशेखर बज्राचार्यको नाम पुनरावलोकन समितीले काटेर डीआईजीद्वय गणेश राई र नारायण बास्ताकोटीको नाम संशोधन गरेपछि डीआईजीको बढुवामा झन अन्योलता थपियो । सिंचा“ईमन्त्री एनपी साउदका दाजु डीआईजी केदार साउद र एमालेको सिफारिसमा परेका डीआईजी रमेशशेखर बज्राचार्यको नाम एमाओवादी दबाबमा काटीएको भन्दै काग्रेस र एमालेका नेताहरुले असन्तुष्टि जनाएपछि डीआईजी बढुवाको टुगों लाग्न सकेन । यो दलभित्रको आन्तरिक विवादका कारण भएको घटना हो । बढुवा सिफारिस समितिले तयार पारेको सूचीका आधारमा डीआईजी बढुवा गर्दा पुनरावलोकन समितीको औचित्यमाथि नै प्रश्न उठ्ने तथा कानून बिपरीत हुने हुदा प्रधानमन्त्री सुशिल कोईरालाले डीआईजी बढुवाको बारेमा खासै चासो दिएनन् । उनीसामु आफ्नै दलका नेताहरु र सत्ता साझेदार दल अनि प्रतिपक्षीका नेताहरुको पनि दबाब आइरहन्छ । उनले यो दबाबलाई नझेल्नका लागि बढुवाबारे त्यति सोच गहिरो पारेनन् । पुनरावलोकन समितीले संसोधन गरेको सूचीअनुसार डीआईजी बढुवा गर्दा आफ्नै पार्टीका नेताहरु असन्तुुष्टि हुने हुँदा प्रधानमन्त्री कोईराला धर्मसंकटमा परेका छन् ।  लोकसेवा आयोगको पुनरावलोकन समितिले तयार पारेको बढुवा सूचीलाई मान्यता नदिई पुरानो सूचीअनुसार बढुवा हुने वित्तिकै पुनः सर्वोच्चमा रिट पर्न सक्छ, कानून बिपरीत बढुवालाई अदालतले मान्यता नदिएको खण्डमा सरकारकै बेइजत हुने हुदा सरकार यो कदम उठेन । रिक्त सात एआईजी पदको लागि सिफारिस भएका डीआईजीहरुको बढुवा प्रक्रिया जटिल बनिरहेका बेला आईजीपीे बढुवा सिफारिस समितिले नै तयार पारेका सूचीका आधारमा बढुवा हुनुपर्ने अडानमा बसे । 
प्रहरी नियमावलीअनुसार लोकसेवा आयोगको उजुरी छानविन समितिले छानविन गरि बढुवा सिफारिस गरेको पुनरावलोकन सूची फेर्ने अधिकार सरकारलाई छैन् । प्रहरी नियमावली ०७१ ले नै पुनरावलोकन समितिलाई डीआईजी बढुवा सिफारिसले गरेको सिफारिसलाई पुनराबलोकन गर्ने सक्ने अधिकार दिएको छ र त्यहि नै अन्तिम हुने छ । प्रहरी नियमावली २०७१ मा बढुवा चित्त नबुझ्ने प्रहरीले बढुवा सिफारिस भएको ७ दिनभित्र सम्वन्धित निकायमा उजुरी दिन सक्ने ब्यवस्था छ ।
त्यसैगरी, परेको उजुरी पन्ध्र दिनभित्र टुङगो लगाइसक्नु पर्नेछ । उजुरी सुन्ने समितिले उजुरीउपर निर्णय गर्दा बढुवा समितिले दिएको अंकको औचित्यसमेत हेरि निर्णय गर्नुपर्ने लेखिएको छ । बढुवा समितिको बढुवा सिफारिसमाथि बढुवा उजुरी सुन्ने समितिले पुनरावलोकन गरी संसोधन गर्नु पर्ने देखिएमा सो समेत गरि कार्यान्वयनका लागि सम्वन्धित बढुवा समितिसमÔ पठाउनु पर्नेछ । सम्वन्धित बढुवा समितिले सोही बमोजिम सिफारिस गर्नु पर्नेछ । उता आईजीपी अर्याल भित्रभित्रै आफ्ना सबै ब्याजीलाई घर पठाउने योजनामा रहेका प्रहरी उच्च स्रोत बताउँछ । अर्याल आईजीपी हुनु अघि आईजीपीकै दौडमा रहेका डीआईजी राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह, विज्ञानराज शर्मा र नारायण बास्ताकोटी एआईजी भएकै दिनबाट आईजीपीको दौडमा हुनेछन् ।
डिआइजी बढुवा प्रकरणको यस्तो परिदृश्यले नेपाल सरकार आन्तरिक सुरक्षामा कसरी प्रभावी हुनसक्छ ? डिआइजी बढुवामात्र होइन, आइजीपी नियुक्तकै बेला पनि तत्कालिन गृहमन्त्री विजयकुमार गच्छादार र तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराइको जुहारी सवैले देखेका हुन् । राजनीतिक दलहरुको आन्तरिक स्वार्थमा प्रहरीलाई तानिएकाले त्यो राजनीतिक प्रभावबाट मुक्त हुन सकेको छैन । बढुवाका लागि दल विशेष र नेता विशेष नै गुहार्नुपर्ने मनोविज्ञानबाट प्रहरी संगठन अहिले पनि गुज्रिरहेको छ ।
नेपाल प्रहरीभित्र हुने राजनीतिक चलखेलका कारण अहिलेसम्म प्रहरीको उन्नती र प्रगति हुन सकेको छैन । राम्रा अधिकारीहरु नराम्रा ठाउँमा पुग्ने र घुसीयाहरुको जमात ठूलो हुँदा राजनीतिक दलमा आवद्ध तर अपराधका मसिहाहरु नै हावी हुने गरेका छन् । सर्वसाधारणको सुरक्षा कमजोर र राजनीतिक दलमा आवद्ध अपराधका खोल ओढेकाहरु नै प्रभावी बन्ने गरेका छन् । लोकतान्त्रिक व्यवस्था होस् वा अन्य व्यवस्था यसमा राजनीतिक दलहरु दोषी छन् । प्रहरी अधिकारी बढुवामा किन दलहरुको आफ्नो इन्ट्रेष्ट हुन्छ, व्यक्ति पिच्छेका मानिसहरुका किन फरक चाहना हुन्छन् ? बढुवा वा सरुवा गर्नका लागि क्याविनेट वैठकमा किन बाझाबाझ सम्मको अवस्था आउँछ ? किन सुरक्षाको यो पाटोमा दलहरु गम्भिर हुन सक्तैनन् ? अपराधको न्युनिकरण गर्नेहरु किन पाखा लगाइन्छन् ? कहाँ छ चेन अफ कमाण्ड र सोसियल ल ?
मुलुकभर हत्या, सामाजिक अपराध र आन्तरिक सुरक्षा पनि चुनौतिका रुपमा देखियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाकै विषयमा पनि विदेशीहरु भरपर्दो हुन सकेनन् ? किन ? नेपाल प्रहरी सुरक्षाको विषय भन्दा पनि बढुवा र सरुवाको विषयमा केन्द्रित हुन थाल्यो । राजनीतिक दलको चाप्लुसीमा बढि केन्द्रित भयो । अनुसन्धान र सामाजिक सुरक्षामा कमजोर सावित हुन थाल्यो । संगठनात्मक सवलताका लागि नभएर व्यक्तिगत सवलताका लागि राजनीतिक दलहरुको पछि कुद्न थाल्यो । त्यसकारण उसको सुरक्षा भरपर्दो हनु सकेन ।
मुलुकको मुहार फेर्नका लागि हर संगठनहरुमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ । स्वतन्त्र ढंगबाट हर क्षेत्र प्रभावकारी रुपमा अघि बढ्न पाउनुपर्छ । अझ सुरक्षाजस्तो संवेदनशिल संगठनभित्रको राजनीति प्रभाव जमाउने प्रवित्तिले मुलुक कहिले पनि सुसंगठित व्यवस्थातिर लम्किन सक्तैन । त्यसकारण पनि अविलम्ब विना राजनीतिक स्वार्थ प्रहरी संगठनलाई चल्नदिने र प्रहरी अधिकारीले चलाउनसक्ने बाटोतिर नलागे हाम्रो आन्तरिक सुरक्षा खोक्रो शानमात्र हुनेछ ।

Monday, July 28, 2014

३० वर्षको तगारो


सरकारले वैदेशिक रोजगारीमा जान महिलाको उमेर ३० वर्ष बनाएर हिंसा न्यूनीकरण गर्न खोजेको दाबी गरे पनि व्यवहारमा यो तगारोबाहेक केही भएको छैन ।


विनोद ढकाल 
झापाकी सुनिता गौतम कुवेत जाने तयारीमा थिइन् । उनी राहदानी बनाएर श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग पुगिन् । तर, श्रम स्वीकृति पाइनन् । विभागका अधिकारीहरूले उनलाई ‘वैदेशिक रोजगारीमा जान तपाईंको उमेर पुगेको छैन’ भन्ने जवाफ दिए । राहदानीअनुसार उनको उमेर ३० वर्ष पुग्न अझै दुई वर्ष बाँकी थियो ।
स्वदेशमा रोजगारीको अवसर शून्यप्रायः छ । नेपालमा रोजगारी नपाएपछि खाडीलगायतका मुलुक गएर भए पनि पैसा कमाउने चाहना बेरोजगार युवामा छ । तर, नेपाली श्रमिक महिलालाई ३० वर्षे उमेरको सरकारी लगामले उनीहरू चाहेर पनि यो उमेर पूरा नगरी वैदेशिक रोजगारीमा जान सकिरहेका छैनन् ।
उमेर सीमाकै कारण रोजगारीमा जान नपाएकी बाग्लुङकी सुनिता शर्मा कतार छाडेर अब मलेसिया जाने तयारीमा छिन् । सुनिता भन्छिन्, ‘मलेसियाभन्दा कतारमा राम्रो अवसर थियो । पारिश्रमिक पनि ज्यादा आउने ‘डिमान्ड’मा जान लागेकी थिएँ, तर उमेर नपुगेका कारण समस्यामा परेँ ।’
डा. बाबुराम भट्टराईको तत्कालीन मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीका लागि महिलाको उमेर कम्तीमा ३० वर्ष हुनुपर्ने नियम पहिलोपल्ट लागू गरेको थियो । पुरुषले नागरिकता लिनासाथ रोजगारीमा जान पाउने, तर महिलाका हकमा उमेरको बन्देज लगाइनु भेदभावपूर्ण व्यवहार भएको अधिकारकर्मीहरूको भनाइ छ ।
राष्ट्रिय महिला आयोगले यस्तो विभेदको विरोध गर्दैै यो भेदभावबारे सरकारले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने माग गरेको थियो । तर, सरकारले आयोगको मागलाई वास्ता गरेन । ३० वर्षे प्रावधानका कारण गौतम र शर्माजस्ता थुप्रै महिलाले आफूले चाहेको मुलुकमा श्रम गर्न जान पाएका छैनन् ।
वैदेशिक रोजगारीमा जाने महिलामाथि हिंसा न्यूनीकरण गर्न सरकारले यो नीति अपनाएको दाबी गर्दै आएको छ । तर, यसले हिंसा न्यूनीकरण हुनुभन्दा पनि अवैध मार्गबाट महिला विदेशिने र जोखिम अझ बढ्ने अनुमान गरिएको छ । यो नियमले अवैध मार्गबाट महिलालाई खाडीलगायतका मुलुकमा जान बाध्य बनाएको छ । सँगै वैधताका लागि पनि महिलाले उमेर बढाएर नागरिकता र राहदानी बनाउने क्रम बढ्दै गएको छ ।
वैधानिक रूपमा ०५१ देखि नेपाली वैदेशिक रोजगारीमा जान थाले पनि सरकारले ०६३ सम्म महिलालाई वैदेशिक रोजगारीमा जान बन्देज लगाएको थियो । ०६३ देखि महिला पनि वैदेशिक रोजगारीमा जान थाले । वैदेशिक रोजगार विभागका अनुसार, ०६३ देखि ०६९ अन्तिमसम्म आठ हजार आठ सय १२ महिला रोजगारीका लागि खाडीलगायतका मुलुक पुगेका छन् । तर, त्यसबेला उमेरको कुनै सीमा तोकिएको थिएन । वैदेशिक रोजगारीमा जान महिलाको उमेर ३० वर्ष पुग्नुपर्ने नीति बनाउँदा विभागका महानिर्देशक रहेका पूर्णचन्द्र भट्टराई ‘विदेशमा काम गर्न गएका महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि तत्कालीन मन्त्रिपरिषद्ले यो नियम बनाएको’ बताउँछन् ।
तर, महिला अधिकारकर्मी र महिलाका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले उक्त नियमले जोखिम न्यूनीकरणमा कुनै भूमिका निर्वाह नगर्ने बताउँदै आएका छन् । ०६८ यता १२ हजारभन्दा बढी महिला वैदेशिक रोजगारीका लागि अन्य मुलुक पुगेका छन् । तर, खाडी मुलुकमा भने महिलाको सङ्ख्या केही न्यून देखिएको छ । ‘यो सरकारी नियमले देखाएको प्रभाव मात्रै हो । तर, सङ्ख्यामा ठूलो न्यूनीकरण नआउनु भनेको मुलुकभित्र नागरिकता र राहदानी बनाउँदा अवैधानिक रूपमा उमेर बढाउने या अन्य मुलुक जानेको सङ्ख्या बढ्नु हो ।’ वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री अधिकारी सरकारी नियमअनुसार विभागले काम गर्ने दाबी गर्दै भन्छन्, ‘यो नियम लागू भएपछि महिला हिंसाको सङ्ख्यामा केही कमी आएको देखिन्छ । अन्य प्रभावबारे भने विभागले ध्यान दिने कुरा भएन ।’
सरकारी नियमका कारण पछिल्ला वर्षमा महिला खाडी मुलुकमा जाने सङ्ख्यामा कमी आएको छ । तर, रोजगारीका लागि विदेशिने सङ्ख्याचाहिँ घटेको छैन । अहिले पनि थुप्रै महिला रोजगारीको गन्तव्यको खोजी गर्दै असुरक्षित रूपमा भारतका विभिन्न सहरमा गइरहेका छन् । ‘महिला कामदार भारत हँुदै विदेश जान थालेको विषयमा सरकारसँग विवरण पनि छैन र उनीहरूको सुरक्षाको विषयमा सोच्ने संयन्त्र पनि छैन,’ महिला अधिकारकर्मी लक्ष्मी गौतम भन्छिन्, ‘तेस्रो मुलुक जान लगाइएको उमेर हदबन्दीको प्रमुख कारण हो यो । रोजगारीका लागि भारत हँुदै विदेश पलायन भइरहेका नेपालीको सङ्ख्या बढ्दै गएको पाएका छौँ ।’
सुरक्षित वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीमित महिलालाई प्रशिक्षण गर्ने गरेको छ । तर, त्यस्ता निकाय जिल्ला र ग्रामीण भेगमा नराखिएको कमजोरी स्वीकार नगरी ३० वर्षे उमेर हदबन्दी लागू गरिनु सुरक्षाभन्दा पनि असुरक्षा निम्त्याउने कारण बनिरहेको छ । गौतम थप्छिन्, ‘साँच्चै सुरक्षाका लागि सरकारी नीति बनाउने हो भने त्यस नीतिअनुसार सुरक्षित वैदेशिक रोजगारीका लागि जिल्लामा सरकारी डेस्क किन नराखिएको ? त्यसकारण उमेर त एउटा बहाना मात्रै हो ।’
वैदेशिक रोजगारीमा महिलालाई उमेरको हद दक्षिण एसियाका अन्य मुलुकले पनि लगाएका छन् । श्रीलंका, बंगलादेश, भारत, पाकिस्तानमा पनि उमेरको हदबन्दी छ । यी मुलुकले महिलालाई वैदेशिक रोजगारीमा जान २६ वर्षको उमेरसीमा तय गरेका छन् । नेपाल मात्र त्यस्तो मुलुक हो जहाँ उमेरसीमा यी मुलुकको तुलनामा बढी राखिएको छ ।
वैदेशिक रोजगारीमा महिलालाई तोकिएको उमेरसीमालाई संरक्षणवादी प्रयोगका रूपमा व्याख्या गर्नुपर्ने बताउँछिन् संयुक्त राष्ट्र सङ्घ महिला (यूएन उमन) की आर्थिक सशक्तीकरण प्रमुख सरु जोशी । उनी भन्छिन्, ‘अवसरको खोजी र आत्मसम्मानका लागि पनि महिला विदेशिएको देखियो, कलिला युवतीले पनि राहदानी बनाएको देखिएको छ ।’
राज्यको नीतिले महिलाको संरक्षण हुन नसकेकोमा जोशी सहमत छिन् । त्यसका लागि अनौपचारिक क्षेत्रमा राज्य सक्रिय हुनुपर्ने, प्रचारप्रसार र रोजगारीमा जाँदाको जोखिमबारे सजग गराउनुपर्ने उनको भनाइ छ । जोशी भन्छिन्, ‘राज्यले राहदानी बनाउँदा पाँच हजार लिएसँगै त्यति नै रकमबराबरको सूचना दिनुपर्ने दायित्व पनि हुन्छ, त्यसो भएको हामीले देखेका छैनौँ ।’
गृहिणी भएर पनि महिलाले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याएको कामबारे समीक्षा हुन नसक्दा नगदी (देखिने) कामका लागि वैदेशिक रोजगारमा उनीहरू आकर्षित भएका हुन् । तर, त्यसमा पनि राज्यको उमेरसीमाका कारण उनीहरू समस्यामा परिरहेका छन् । जोशी थप्छिन्, ‘कम्तीमा १० वर्षका लागि महिला रोजगारीका विषयमा राज्यले ध्यान दिनुपर्छ । आर्थिक नीतिमा सहस्राब्दीमा भएको कामको समीक्षामा महिलाको कामको पनि समीक्षा हुनुपर्छ, नेपाल सरकारले त्यसो गरेको पाइएको छैन ।’

सञ्चारिका फिचर, मे महिनामा प्रकाशित मेरो आलेख । 

Sunday, July 27, 2014

अन्धराष्ट्रवादले आर्थिक समृद्धि हुँदैन

हाम्रो निर्यातको सुरुआती अवस्था भारतभन्दा अन्यत्र कतै सम्भव छैन । हर क्षेत्रको नाका भारतहुँदै तेस्रो मुलुकसम्म पुग्ने भएकाले भारतसँगको राम्रो कुटनीतिक सम्बन्ध भएमात्र पनि हामी तेस्रो मुलुकसम्म आफ्नो व्यापार सञ्चालन गर्न सक्छौं । केही झुक्दै र केही उठेर भारतसँग जुनसुकै प्रकारका कुशल सम्बन्ध नराखे नेपालको विकासको बाटोमा अवरोध भन्दा अरु केही पनि हुनेछैन ।

विनोद ढकाल
‘सार्क के अर्थमा एसीयाका अन्य मुलुक भन्दा कमजोर छ ? किन कमजोर छ ?’ भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदुत रणजित रायले भनेका थिए । उनले भारतको नयाँ सरकार सार्कका सवै छिमेकीसँग नयाँ सम्बन्ध कायम गरेर जाने तयारीमा रहेको पनि बताएका थिए । पक्कै पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदयसँगै सार्कको प्राथमिकता थियो । उनको शपथ ग्रहण कार्यक्रममा सार्कका सरकार प्रमुखलाई बोलाइनु र सार्क राष्ट्रबाट नै उनको विदेश भ्रमण हुनु पनि यसको संकेत हो । मोदी आफ्नो कार्यकालमा नयाँ आयाम थप्न चहान्छन् । उनी दक्षिण एसीयाको नेतृत्व गरेर विश्वलाई दक्षिण एसीया एउटा शक्ति हो भन्न चहान्छन् ।
पक्कै पनि यो रणनीति भारतको नेतृत्वदायी भुमिकामा हुने स्वार्थकेन्द्रित हुनेछ तर यसले सार्कका अन्य मुलुकलाई हानी गर्नेछैन । माओवादी जनयुद्धले जन्माएको भौतिक संरचना भत्काउने र उडाउने कामले कुनै नयाँ योजनाहरु थ्पिन सकेका छैनन् । २३ वर्षपछि विकासका लागि भारतले हात बढाएको छ तर त्यसमा संशोधन गरेर नयाँ शिराबाट सम्बन्ध सुधार गर्दै विकासको योजना अघि बढाउने कुरामा पनि विभिन्न मोर्चामा रहेका माओवादी र विभाजित माओवादीहरु ीवरोधीका रुपमा देखा परेका छन्, जहाँ कांग्रेस एमालेले झुक्नुको विकल्प देखेका छैनन् । भारत नेपालसँगका हरेक सन्धि र सम्झौता पुनर्लेखन गरेर अघि बढ्न तयार रहेको पनि भारतीय राजदुतले बताएका थिए । त्यसो भारतीय विदेश मन्त्री स्वराज पनि निक्कै आशा बोकेर नेपाल आएको बताएकी थिइन् । यसबेला नेपाल र भारत दुवैको संयुक्त आवश्यकता भनेको उर्जा संकट हो । नरेन्द्र मोदी उज्यालो भारत बनाउन चहान्छन् जसका लागि उनले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भुटानसँग पनि विद्युत खरिद गर्ने सम्झौता गरेर फर्केका थिए । प्रचुर सम्भावना र नेपालले लगानी गर्न नसक्ने आयोजनाहरुमा भारत लगानी गर्न तयार छ । एकल वा संयुक्त लगानीका लागि पनि भारतले हात बढाएको छ । यो मौकालाई राष्ट्रघातको नाम दिएर माओवादीहरुले रोक्ने प्रयत्न गरिरहेका छन् । यो कुनैपनि हिसावले नेपाली जनतालाई ग्राह्य हुने विषय भएन । अहिले विद्युत विकास भएन भने अझै कयन वर्षसम्म हाम्रो सरकारी योजनाबाट पनि विकासका काम पुरा हुनेछैनन् । जनआन्दोलनयता नेपालले दिन प्रतिदिन लोडसेडिङको समस्या भोग्दै आइरहेको सन्दर्भमा यो प्रस्तावबाट तीन वर्षमा लोडसेडिङ हटाउने सरकारी योजना पनि पुरा हुनेछ । हो, नेपालको समस्या पुरा नभई भारतलाई सवै विद्युत बुझाउने भन्ने कुरा हुँदैन । अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपाली स्रोतबाट उत्पादित विद्युत भारतले खरिद गर्नुपर्ने विषयमा दुवै देशको सम्झौता गराउन सक्नु राजनीतिक दलहरुको भुमिका हुनुपर्दछ । तर, नेपाली राजनीतिक दल त्यसो गर्न तयार छैनन् । प्रधानमन्त्री सुशिल कोइराला उर्जा मन्त्रालय जिम्मा लिएको एमालेलाई फाइदा हुनसक्ने भन्दै यो योजनामा सक्रिय छैनन् भने माओवादीहरु पनि यसको विरोधमा छन् । तर, कुनै राजनीतिक दल विशेषको फाइदा भन्दा पनि पुरै जनताको आशा र अपेक्षामाथिको विषय हो, विद्युत सम्झौता ।
ऋर्को साता भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदैछन् । उनी आउने तयारी पनि भएको छ । तर, के मोदी आउँदा नेपालमा नयाँ सम्झौताहरु नगरिने नै हो । उनको नेपाल भ्रमण नयाँ आयामको नहुने नै हो ? कि उनी पशुपति दर्शनका लागि मात्र आउने भए ? उनी नेपाल आउनु र नेपाल सरकारसँग नयाँ सम्बन्ध कायम गरी भारतको नयाँ विदेशनीतिको प्रयोग गराउन सक्नु नै नेपाल पक्षका लागि उपलव्धिमुलक हुनेछ । यसमा व्यापार सम्झौतालगायतका अन्य सम्झौताहरु पनि हुन जरुरी छ । यद्यपि, सवैभन्दा मुल सम्झौता विद्युत सम्झौता हुन आवश्यक छ । जलविद्युत नेपालको आवश्यकता हो, भारतको आवश्यकता पनि होइन । भारत चीनसँग मिलेर आणविक उर्जाको योजनामा पनि छ । तर, नेपाल आणविक उर्जाको बारेमा कल्पना गर्नसक्ने अवस्थामा पनि छैन । हाम्रा उत्पादनका अन्य सेक्टरहरु पनि सवै कमजोर छन् । उर्जा विना अन्य उत्पादन र तिनको निर्यात पनि हुन सक्तैन । सवैभन्दा पहिले उर्जा उत्पादन, उर्जा निर्यात र उर्जाबाट मुलुकमा उद्योग कलकारखानालगायतका अन्य क्षेत्रको स्थापनापछिको उत्पादन र निर्यातको विषयमा गहन हुन आवश्यक छ । अन्धराष्ट्रवादले मुलुक चल्दैन । अहिलेको विश्वमा अघि बढ्नु छ भने मुलुकले गर्ने निर्यात र व्यापार नै हो । चीन विश्वबजारमा अगाडी आउनुको कारण उसले गर्ने व्यापार हो । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका जस्ता मुलुकहरु एक भएर नयाँ व्यापारको बाटोमा लागेका छन् । यस बेला यी उदाउँदा आर्थिक शक्तिहरुसँग सहकार्य नभए फेरि पनि नेपाल एनजिओहरुको अधिनमा रहनेछ । पक्कैपनि पश्चिमा शक्तिहरु उदाउँदा आर्थिक शक्तिहरुसँग नेपालको सम्झौता र व्यापार नहोस् भन्ने मनसायमा छन् । हामी नजिकको भुतको माया नगरी टाढाको देउताको कुरा गर्छौं । हाम्रो निर्यातको सुरुआती अवस्था भारतभन्दा अन्यत्र कतै सम्भव छैन । हर क्षेत्रको नाका भारतहुँदै तेस्रो मुलुकसम्म पुग्ने भएकाले भारतसँगको राम्रो कुटनीतिक सम्बन्ध भएमात्र पनि हामी तेस्रो मुलुकसम्म आफ्नो व्यापार सञ्चालन गर्न सक्छौं । केही झुक्दै र केही उठेर भारतसँग जुनसुकै प्रकारका कुशल सम्बन्ध नराखे नेपालको विकासको बाटोमा अवरोध भन्दा अरु केही पनि हुनेछैन ।
यसबेला नेपालको पहिलो बजार सार्क राष्ट्र, दोस्रो चीन र तेस्रो अन्य मुलुक हुनेछन् । नेपालले भारत र चीनमा मात्र पनि निर्यात गर्न सके आर्थिक समृद्धिका लागि अन्य पाटो चाहिन्न । विश्वका आधा जनसंख्या भएका यी दुई मुलुकमा हुनसक्ने निर्यातले सानो भएर पनि समृद्ध मुलुक बनाउनका लागि नेपाललाई विशाल सहयोग हुनेछ । तर, यसका लागि नेपाली राजनीतिक दल, नेपाल सरकारको ध्यान पुग्न जरुरी छ । भर्खरै भुटानको थिम्पुमा भएको सार्कका वाणिज्यमन्त्रीहरुको सम्मेलनले सार्क विकास बैंक स्थापनाका लागि सहमति गरी त्यसको खाका कोर्ने काम सुरु गर्ने निर्णय गरेको छ । यो सुखद खबर हो । यसमा नेपाल पनि सहभागी भएको छ । नेपालसँग व्यापारका लागि सल्लाह गर्ने अन्य धेरै मौकाहरु अहिले अगाडी रहेका छन् । मोदीको दुई पक्षीय नेपाल भ्रमण, नेपालमै हुने सार्क शिखर सम्मेलन र अर्को वर्ष हुने विम्स्टेक सम्मेलन पनि नेपालले विकास र आर्थिक रुपमा अगाडी बढ्नका लागि आफ्ना प्रस्ताव र एजेन्डाहरु राख्नसक्ने विशाल मौका हो । यी मौकाहरु गुम्यो भने अव मुलुक आर्थिक रुपमा अगाडी बढ्न सक्तैन । पुँजीवादमा प्रवेश गरेको र उत्पादन र आर्थिक क्रान्ति भन्ने राजनीतिक दलहरुको मुद्दाले पनि सार्थकता पाउँदैन । कागजमा लेखिएको आर्थिक क्रान्ति व्यवाहारमा पुरा गर्नका लागि अन्य मुलुकहरुसँग सम्झौता गरी निर्यात गर्नैपर्छ । आन्तरिक स्रोत नबनाइकन उत्पादन हुँदैन, नेपालसँग आन्तरिक स्रोत बनाउनका लागि पनि छिमेकसँग सम्झौता गर्नुको विकल्प अहिले छैन । होइन भने मुलुक दिनदिनै गरिब हुनेछ, जनता गरिब हुनेछन् । हामी भित्र रहेको अन्धराष्ट्रवाद जागिरहनेछ । अन्धराष्ट्रवादले आर्थिक सम्पन्न हुन सकिँदैन । 

Saturday, July 26, 2014

पत्रकारको जीवन यति सरल छ

भाग–१
एउटा विहान हुन्छ । विहानसँगै अखबारका पानाहरुमा आँखा पुग्छन् । गएराती कस्तो काम गरेछु भन्ने मुल्यांकन गरिन्छ । र, फेरि भोली विहानको अखबारका लागि अभ्यस्त भइन्छ । चिया पसलतिर गइन्छ, अनेक मान्छेहरुसँग कुराकानी हुन्छ । कसैले प्रशंशा गर्छन्, कसैले खबर सोध्छन् । धेरैले कुरा काट्छन्, रिस पोख्छन् । हरेक दिनको सुरुआत यसरी हुन्छ, सार्वजनिक जीवन जीउने एउटा पत्रकारको ।
‘साले तेरो अखबारमा मेरो चरित्र हत्या हुनेगरी किन लेखिस्, तँलाई सिध्याइदिन्छु । पत्रकारहरुको काम छैन मनलाग्दी लेख्छन् । मिडियाले अतिरञ्जित बनाएको खबर हो, यसमा सत्यता छैन । पत्रकारले संविधान बन्न दिएनन् । पत्रकारले सामाजिक सद्भाव खलबल्याए ।’ यस्तै यस्तै टिप्पणीहरु हरेक विहान सुन्नैपर्ने, सुनाउनै पर्ने र सुनिरहेको सत्यता पनि हो । यो एउटा कटु तथ्य पनि हो । तर, असल पत्रकारिताको बाटोमा हिँडेको मान्छे हात्तीको हिँडाईजस्तो अघि बढ्छ । उसका अगाडी पछाडी दायाँ बायाँ धम्की, लाभ, लोभ र लालचका अनेक प्रपञ्चहरु आइपर्दा पनि ऊ आफ्नो भविष्यको खोजीमा दौडिरहन्छ । उसको हिँडाई अटल र अवशिष्ट यात्राका रुपमा भइरहन्छ ।
पत्रकारका जीवनमा हरेक विहानहरु महत्वपूर्ण हुन्छन् । हरेक बारहरु महत्वपूर्ण हुन्छन् । हरेक समयहरु खबरपरक हुन्छन् । सार्वजनिक जीवन हुन्छ । व्यक्तिगत जीवन निक्कै कम हुन्छ । जो व्यक्तिगत जीवन बाँच्ने रहर पाल्दछ त्यो पत्रकार हुन सक्तैन, त्यो कर्मचारी वा व्यापारी हुन्छ । जीवनमा कर्मचारी वा व्यापारी बन्ने रहर जागेन, धोको मनभित्र पाकेन भने त्यो पत्रकार हुन्छ । गल्लीका चिया पसल, फाइभ स्टार होटलका सानदार क्याफेसम्मका स्वाद बोकेको डायरी र कलमधारी निर्जिव जीवले सामान्य भट्टीदेखि सानदार होटलका बारसम्म पनि बुझेको हुन्छ । जहाँ खबरका थोपाहरु हुन्छन् र त्यसलाई बटुलेर कुवाको आकार बनाउँदै अखबार मार्फत सर्वसाधारण जनतालाई प्रत्येक विहान पिउने मौकाको खोजी गर्छन् । अनि, आलोचनाको पात्र पनि बनिरहेका हुन्छन् । खोजी निरन्तर गरेर पस्केका ठाउँमा सामान्य त्रुटी भयो भनेपनि उसका विरोधमा सडकहरु तात्छन्, कारवाहीका लागि अपिलहरु हुन्छन् । 
थाहा छ यो सहरमा पत्रकारिता पेसालाई गम्भिर र सकारात्मक रुपमा लिइँदैन । पत्रकारको संगत नगरेको राम्रो पनि भन्छन् । तर, यो संसारको आँखालाई नजर पुराउनसक्ने काम उसैले गरिरहन्छ । उसका खल्तीमा पाँच रुपियाँ भएको दिन उसको धमास ठूलो हुन्छ, किनभने बुझ्नुपर्छ उसले आजको दिन ९० दिनको महिनामा तलब थापेको छ । उसले कम्तिमा पाँच महिनाको डेरा भाडामा एक महिनाको तिरेको छ । बुझ्नुपर्छ, उसले आज वर्षदिनमा एक जोर कपडा फेरेको छ । आज ऊ, सहरको सामान्य गल्लीमा देखिएको छैन । दैनिक पुग्ने अड्डामा छैन भने बुझ्नुपर्छ आज ऊ व्यक्तिगत जीवनजस्तो जिउनेगरी कतै पुगेको छ ।
नेपाली पत्रकारितामा निक्कै परिवर्तन आएको छ । यद्यपि, नेपाली पत्रकारिताभित्र पनि दुर्वल पक्ष छन् । राजनीतिक दलको लेप नलागेका, राजनीतिक दलको खोल नओढेका, राजनीतिमा असफल नभएका र तुच्छता प्रस्तुत गर्न नसक्नेहरु पत्रकार बन्न सक्तैनन् । अझ सफल पत्रकार बन्न सक्तैनन् । सफल पत्रकार बन्नका लागि यी मध्येका कुनै न कुनै गुण र दोष आवश्यक हुन्छ । तर, यी कुनैपनि गुण अथवा दोष छैनन् भने त्यो असफल पत्रकार हो ।
नेपाली पत्रकारिताको अर्को फाइदा नै भनौं । यहाँ काम गरेवापतको श्रम लिनका लागि प्रत्येक महिना रुनुपर्छ । कराउनुपर्छ । अनि, झगडा गर्नुपर्छ । बल्ल ९० वा १२० दिनमा साहुले श्रीमतिको ढुकुटीका लागि छुट्याएको रकम तलब भन्दै बाँड्छन् । व्यापारका लागि पत्रिका खोलेका साहुलाई काम गरेको श्रम मागेको मन पर्दैन, श्रमका लागि लडाइ गरेको मान्छे मन पर्दैन । उसले निकालिदिन्छ । त्यतिमात्र गर्दैन त्यसबाहेकका अन्य मिडिया हाउसम्म उसको उत्तिकै पहुँच भएकाले सवै साहुलाई त्यो व्यक्तिलाई जागिर नदिनु भनेर अर्को पुरस्कार थपिदिन्छ ।
हो, एउटा असल पत्रकारसँग आत्मसम्मान हुन्छ । उसँग घमण्ड हुन्छ । सुचनाहरुको थुप्रोमाथि बर्षौसम्म काम गरेका कारण उसँग त्यसको घमण्ड पनि हुन्छ । त्यसकारण उसले त्यो घमण्ड प्रस्तुत गर्दछ । त्यसैले उसलाई घमण्डी पनि भनिन्छ । त्यो घमण्ड बोकेर गर्दै गरेको कामबाट निकालिएर ऊ नियमित गल्लीमा पुग्छ र कसैले सल्काएको ठूटो चुरोट उडाउँदै भन्छ– मेरो जागिर गयो । तिमीले कहिले जागिर खाएका थियौ ? तिमिले कहिले पेन्सन थापेका थियौ ? तिमीले कहिले भत्ता लिएका थियौ र ? यस्ता प्रश्न गर्ने सहकर्मी पनि उसले भेट्दैन ।

यो निरन्तर व्लगीङमार्फत आउनेछ ।

Thursday, July 24, 2014

डरलाग्दो यौनहिंसा

कडा कानुनी उपचारको व्यवस्था भएपनि समाज हुने यौनहिंसालाई महिला आफैंले पनि बाहिर नल्याएका कारण समस्या समाधानको साटो बल्झिँदै गएको छ । घटनाहरु न्युनिकरणका लागि चेतनासँगै कानुनी कारवाही र समाजिक कारवाहीको पनि व्यवस्था हुनुपर्ने हो तर कहाँ छ ? महिलाविरुद्धको उजुरी, हिंसा र त्यसको कारवाहीका लागि सरकारी न्यायका लागि राष्ट्रिय महिला आयोग भएपनि प्रभावकारी रुपमा आयोगले काम गरिरहेको पाइँदैन । 


नेपाली समाजको चेतनास्तरको विकास नभएकै कारण नै समाजको प्रणाली, व्यक्ति र तिनको व्यवाहार र आचरणमा सुधार आउन सकेको देखिदैन । मुलुक विकास र अपराधहिन बनाउनका लागि चेतनाको विकास अनिवार्य हुन्छ । तर, चेतना कसरी समाजमा जगाउने भन्नेबारेमा राज्य गम्भिर हुन नसकेको हो अथवा सामाजिक प्राणीका रुपमा रहेका हामी आफैं गम्भिर हुन नसकेका हौं, समिक्षा गर्नुपर्ने भएको छ ।
समाजमा यौनहिंसाविरुद्धका अभियान कति चले थाहा छैन । तर, सहरमा निक्कै चलेका थिए । सहर र ग्रामिण भेगमा हुने यौनहिंसाका प्रकृति फरक होलान् तर दुवैको कारण भने एउटै छ, चेतनाको कमी, कानुनको बलियो कार्यान्वयन नहुनु आदी इत्यादी । फेरि यौनहिंसा निरन्तर चलिरहेको छ । न्युनिकरणको गुञ्जायस कति राख्ने ? समाज कतातिर हिँडिरहेको छ ? सवैले समिक्षा गर्न आवश्यक छ ।
विहीबार राती फेरि एक १६ वर्षिय किशोरीको सामुहिक बलात्कार भयो । कञ्चनपुरको भिमदत्त नगरपािलकाकी ती किशोरीलाई चारजनाले सामुहिक बलात्कार गरेका थिए । प्रेमीले कोठामा बोलाएर सामुहिक बलात्कार गरेको प्रहरी बताउँछ । अभियुक्तहरु चरै जनालाई पक्राउ गरिएको छ । बलात्कारमा संलग्न भगतपुरका दीपक चौधरी, रमेश चौधरी, चन्द्रकान्त पन्त र युवतीका प्रेमी भनिएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको एसपी राजेन्द्रप्रसाद चौधरीले बताए । युवतीको बयानका आधारमा राति २ बजेतिर चारै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको चौधरी बताउँछन् । बलात्कृत युवतीको अवस्था सामान्य रहेको छ । बलात्कृत युवती भगतपुरमा डेरा गरी बस्दै आएकी थिइन् । पक्राउ परेका चारै जनाले बाटोमा हिँडिरहेका बेला प्रहरीले बिनाकारण पक्राउ गरी हिरासतमा राखेको बताइआएका छन् ।
त्यसो त बलात्कारका घटना कम छैनन् । विहीबारमात्र श्रीमतिलाई बलात्कार गरेको अभियोगमा काभ्रेप्लान्चोक पनौति नगरपालिका–३ का देवशरण बन्जारा पक्राउ परेका थिए । बहुविवाह गरेका बन्जाराकी माहिली पत्नी अमृताले पतिले आफुलाई बलात्कार र कुटपिट गरेको उजुरी गरेकी थिइन् । २२ असार साँझ बलात्कार गरेको उनले दिएको उजुरीमा उल्लेख थियो ।
गएको महिना पतिसहित मिलेर एक युवतीको मोरंगको विराटनगरमा सामुहिक बलात्कार गरे । विवाह गरेको केही सातामै ती युवती पति सन्तोष र देवर सुमन उपाध्यायबाट बलात्कारको शिकार भइन् । हेटौंडा निवासी सन्तोषको १ वैशाखमा विवाह भएको थियो । दाजुभाई मिलेर लठ्याउने औषधि खुवाएर बलात्कार गर्नेगरेको पीडितले दिएको उजुरीमा उल्लेख थियो । १७ जेठमा उनीमाथि सामुहिक बलात्कारसहित शारिरीक यातना समेत दिइएको थियो । उनका देवर सुमनले बलात्कार गरेको स्वीकार गरेका थिए । बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
छोरी वलत्कार गर्ने भोजपुरको दक्षिणि होम्ताङ्ग–२ का सखलाल राईलाई जिल्ला अदालत भोजपुरले ५० हजार जरिवाना सहित २० वर्ष कैद सजाय सुनाएको छ ।
गत बैसाखमा महिनामा घरमा कोहि नभएको बेला छोरीलाई बलत्कार गर्दगदै आमाले देखेपछी घटना वाहिर आएको थियो । बलात्कार पछि फरार रहेका अभियुक्त सकलाललाई प्रहरीले संखुवासभा जिल्लाबाट पक्राउ गरेको थियो । आफ्नै छोरीलाई जवरजस्ती गरेको  जाहेरिका आधारमा प्रहरले राईलाई  प्रक्राउ गरेको थियो ।
त्यस्तै, १२ वर्षिया छोरीलाई बलात्कार गर्ने हेटौंडा–८ का ४० वर्षिय जीवन लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनकी पत्नी सुकमायाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका थिए । साइँली छोरीलाई बलात्कार गरिरहेको अवस्थामा माहिली छोरीले देखेपछि उनी पक्राउ परेका थिए । उनले छोरीलाई बारम्बार बलात्कार गरेको उजुरीमा उल्लेख थियो । 
महिला हिंसाविरुद्धको अभियान कम छैन । महिला हिंसाविरुद्ध धेरै अभियानहरु पनि चलिरहेका छन् । तर, महिलाहिंसाको डरलाग्दो पाटोका रुपमा देखिएका बलात्कारका घटनामा न्युनिकरण आउन सकेका छैनन् । चेतनास्तरको विकास नभएको र हिंसा सहने कारणले पनि बलात्कारका घटना बढिरहेका छन् । यस्ता घटना अधिकारकर्मी र पत्रकारसम्म पुगेका मात्र बाहिर आएका छन् । कतिपय घटनाहरु गुपचुप राखिने गरेका कारण पनि बलात्कारका घटना मौलाइरहेका छन् ।
कडा कानुनी उपचारको व्यवस्था भएपनि समाज हुने यौनहिंसालाई महिला आफैंले पनि बाहिर नल्याएका कारण समस्या समाधानको साटो बल्झिँदै गएको छ । घटनाहरु न्युनिकरणका लागि चेतनासँगै कानुनी कारवाही र समाजिक कारवाहीको पनि व्यवस्था हुनुपर्ने हो तर कहाँ छ ? महिलाविरुद्धको उजुरी, हिंसा र त्यसको कारवाहीका लागि सरकारी न्यायका लागि राष्ट्रिय महिला आयोग भएपनि प्रभावकारी रुपमा आयोगले काम गरिरहेको पाइँदैन । यद्यपि, आयोगसम्म पुगेका मुद्दाका विषयमा भने आयोगले मुद्दा चलाउने गरेको छ । कतिपय मुद्दाहरु आयोगसम्म पनि पुगेका छैनन्, प्रहरीसम्म पनि पुग्ने गरेको छैन । कतिपय मिलापत्रमा मिलाइने गरेकाले पनि पीडकहरुले हौसला पाउने गरेका छन् ।
कतिपय ठाउँमा कानुनको रक्षकहरु पनि यौनहिंसा पीडकका रुपमा सार्वजनिक हुन थालेका छन् । अछाममा नेपाल प्रहरीका सहायक निरीक्षकबाट १५ वर्षीया एक किशोरी बलत्कृत भइन् । घुघुरकोट–२ की ती किशोरीलई प्रहरी सहायक निरीक्षक ललमणि नाथले जबर्जस्ती करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको छ । किशोरीका आफन्तले नाथविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । जाहेरीमा असार ३० गते नाथले किशोरीलई बलत्कार गरेको उल्लेख भएको निमित्त जिल्ल प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मण खड्काले जानकारी दिए । बैतडी रुद्रेश्वर घर भएका ४० वर्षीय नाथ इलका प्रहरी कार्यालय घुघुरकोटमा कार्यरत छन् । किशोरी बलत्कारको आरोप लागेका नालाई जागिरबाट निलम्बन गर्न बिहीबार नै क्षेत्रीय प्रहरी कार्यालयलई पत्र लेखेको खड्काले जानकारी दिए । आरोपित नाथ घटना भएको भनिएको दिनदेखि नै जिल्ला प्रहरीको नियन्त्रणमा रहेको खड्काले जानकारी दिए । किशोरीको बिहीबार नै जिल्ल अस्पताल मङ्गलसेनमा स्वास्थ्य परीक्षण गरिएको थियो । नाथविरुद्ध बिहीबार नै जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
यौन हिंसा कानुनी अपराधमात्र होइन, सामाजिक दुराचार हो । यसमा सजाय दिँदैनमा पीडितको मानसिक अवस्था सुधारिन्छ र उसले क्षतिपूर्ति पाउँछ भन्ने हुँदैन । यौनहिंसा न्युनिकरणका लागि घरदेखि नै चेतना, सामाजिक अपराध, कानुनी अपराधको पाटोमा शिक्षा दिनुपर्ने खाँचो देखिएको छ । खासगरी दक्षिण एसीयाभित्र यौनहिंसा भयानक हुने गरेको छ । उल्लेखित घटनाहरुलाई नै हेर्ने हो भने पनि ग्रामिण र चेतनाको अभाव भएका ठाउँमा नै यौनहिंसाले व्यापकता पाएको छ । यी घटनाहरु प्रहरीसम्म पुग्नु चेतनाको कारणले भएका होइनन्, यातनाको प्रताडना सहन नसकेका कारणले भएका हुन् । अव यी ठाउँहरुमा चेतनाको स्तर उकास्नुपर्छ या पर्दैन ? सहरका तारे होटलमा यौनहिंसाविरुद्धको अभियानको बारेमा धेरै कार्यक्रम भए । धेरै कार्यक्रम अहिले पनि काठमाडौंका सडकमा भइरहेका छन् । अधिकतम बजेटहरुले सहरमा सुकिला मुकिला नै पोसिएका छन् । अव ती बजेट, चेतनाका ति कार्यक्रम सहरकेन्द्रि होइन, पीडित केन्द्रित हुनुपर्छ । पीडितले न्याय पाउने र पीडकले आत्मग्लानी गर्ने कार्यक्रमका लागि खर्च हुनुपर्छ ।