Friday, January 1, 2016


२०१६ झुल्किनु अघिको वर्ष...


  • रातले विहानीको आश गर्छ, विहानीले साँझको विकल्प खोज्छ । एक रातले एक वर्षगाठलाई भुलाइदिन्छ, एक रातले अर्को वर्षगाँठको उत्सव साट्छ । तर, समिक्षा आफैंमा सस्तो हुँदैन । त्यहिँमाथि वितेको वर्षको समिक्षा र दौडने वर्षको प्रण फरक हुन् । २०१६ झुल्किनुअघि...झुल्केपछि...।
  • आफुले आफ्नो बारेमा लेख्नु र भन्नुमा मान्छेहरु घमण्डीको संज्ञा दिन्छन् । यथार्थ र आडम्बरीको काम नगरी निरन्तर आफ्नो हृदयलाई स–शब्द उतार्नका लागि मलाई कुनै कठिनाई भएन । मैले निरन्तर मेरो शव्दहरु र त्यसका प्रत्येक पात्रहरुसँग यथार्थ पूर्ण रुपमा राख्न सफल भएँ । मलाई गर्व छ मप्रति नै, २०१५मा । 
  • म एउटा लेखक हुँ । लेख्ने मेरो पेसा हो । अनि, संवेदनाहरु र भावनाहरु समेटेर कथाको उचाई दिनु, मानिसहरुलाई पढ्नका लागि उत्प्रेरित गर्नु मेरो कर्तव्य । मभित्र कतिपय संवेदनाका अन्य थाकहरुको खाता मैले खोल्न सकिन, मेरो कमजोरी नै थियो, सायद । यद्यपि, केही बजारमा पाठकको हातमा पु¥याउने कोसीस गरें । यसबाट केही मान्छेहरुको मन दुखेको पनि थाहा पाएको छु । त्यसकुराप्रति म सचेत छु । म जीवनलाई अरुको भावनासँगको अन्तरंगमा नयाँ ढंगबाट उठाउने प्रयत्न गर्नेछु । 
  • २०१५ मा मसँग भएका अनेक उतारचढावमा मलाई लाग्यो होला उनीहरु दोषी छन् । तर, त्यसलाई मैले प्रत्यक्ष वा परोक्ष रुपमा अभिव्यक्त गर्न सकिन । म आजैबाट ती सवै दोष आफुमा केन्द्रित गर्न चहान्छु । दोषका कारणहरु अरुलाई दिएर आफु चोखो बन्ने प्रयत्न मैले गर्ने छैन । राम्रो नराम्रो सवैको दोष आफुमा नीहित राख्दै मभित्रबाट मित्रहरु कमलका रुपमा उदाउन भन्ने मेरो अपेक्षा छ, २०१६ ले उनीहरुलाई सफल बनाओस् । 
  • वास्तवमा हरेक वर्षहरु मेरो आर्थिक जीवन कष्टकर नै वितिरहेका छन् । २०१५ पनि कुनै सफल वर्षका रुपमा वितेको छैन । काम गर्ने र दामका लागि लामो समयसम्म प्रतिक्षा वा आफु पीडामा परेको दयादृष्टिको भाव देखाउनुपर्ने अवस्था आयो । यो निकै दुखदायी समय बनिरहेको थियो । सृजनात्मक काममा लागेको मानिस जहिलेपनि आर्थिक समस्यामा हुन्छ, भन्छन् । अनि, मजस्तो मान्छेचाँही सँधैभरी नै आर्थिक कष्टमा उभिरहेको हुन्छ । सहरको नयाँ अनुहार र गाउँको सोझो र निस्कपट व्यवाहारले आर्थिक जीवन बलियो हुन सकेन । आशा गरौं, २०१६ सहरीयाजस्तो बन्नेछ । 
  • धेरैले गरिरहने वाचा तर बारम्बार तोड्ने गरेको कुरा हो, रक्सी छाड्ने कुरा । म भन्छु जव मधुशालामा प्रवेश हुन्छ अनि केही कुराहरु स्मृतिका पानामा फर्किएर आउँछन् । म झुठो वाचा गर्दिन, मधुशालाका मेरा प्रवेशहरु न्युनिकरण हुनेछन् तर निमिट्यान्नचाँही गर्दिन । जव निमिट्यान्न पार्छु, मेरो जीवनका लेखन उर्जाहरु पनि कमजोर बन्नेछन् भन्ने मलाई लाग्छ । २०१६मा ०१५ को निरन्तरताको क्रमभंगचाँही पक्कै हुनेछ ।
  • सत्यवादी बन्नु गलत होइन । सत्यतामा हिँड्नु गलत होइन । आडम्बरमा रमाउन नचाहनु गलत होइन । तर, अहिलेको समाज, अहिलेको विश्व, युरोप र अमेरिकाका लागि यो गलत सावित हुन्छ । मेरो २०१६ मा यस्ता धेरै सत्यहरु गलत सावित भएका छन् । त्यसमा मलाई कुनै गुनासो छैन । संवेदनाहरु र सत्यताहरुको मिलनले एउटा उत्कृष्ट साहित्यको जन्म गर्दछ । त्यो साहित्य जसलाई मानिसहरुले काल्पनिक ठान्छन्, किनभने यहाँ झुठको खेती ज्यादा हुन्छ । यो सहरको आडम्बरबाट उम्किएर सत्यतामा बाँच्ने प्रयत्न, २०१६ मा मिलोस्, मलाई । 
  • अन्त्यमा, धेरै कुराहरु छन् जो मैले लेख्नैपर्ने पनि थिए । र, लेखेर साध्य नहुने पनि छन् । यद्यपि, यत्ति भन्छु– ०१५ मा मैले मेरो जीवनका हरेक पात्रहरुसँग, देशविदेश, अफिस, सडक जहाँपनि कुनैपनि प्रकारको अन्याय गरेको भए, मन दुखाएको भए, चित्त बुझाउन नसकेको भए, ३६५ दिनको चक्रमा भएका गल्ती भनेर माफी दिनुहोला । यो माफी मेरा लागि नयाँ सिकाइको बाटो हुन्छ । जसलाई दिन मन छैन, दिन इच्छा लाग्दैन, वहाँहरुको आगामी बर्ष मेरो भन्दा एक सय गुना राम्रो होस् भन्ने शुभकामना दिन चहान्छु ।

Tuesday, December 29, 2015

सत्तास्वार्थको विकल्प नयाँ शक्ति !

बाबुराम हल्ला नगरी बस्न नसक्ने मानिस हुन् । प्रधानमन्त्री हुँदा पनि अनेक किसिमका मिडियाबाजी गरेर हल्लामा रमाए, एमाओवादीभित्र पनि अनेक हर्कत गरेर हल्ला गरेर मिडियामा आए अब नयाँ शक्तिको हल्ला गरेर सत्तामोहको प्रतिविम्ब बनेर उभिन थालेका छन् 

विनोद ढकाल 

चिनियाँ क्रान्तिले देखाएको नयाँ युगका प्रणेताका रुपमा माओत्सेतुङको जन्मोत्सव मनाइरहँदा नेपाली माओवादका नेता पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईलाई लिनप्याओसँग तुलना गरे । लिनप्याओको व्यवाहारसँग तुलना गरे र उनको सत्ता मोहको व्याख्या पनि गरिदिए । लिनप्याओ चिनियाँ क्रान्तिका क्रममा बनेको चिनियाँ कम्युनिष्ट पार्टीको लाल सेनाका सेकेन्डम्यान थिए । सो क्रममा माओ सुप्रिम कमाण्डर थिए । लिनप्याओले माओको पछि दौडनुको विकल्प देखेका थिएनन् र उनलाई सत्तामोह पनि चाहिएको थियो । तर, सत्ता पाउनका लागि माओको मृत्यु अनिवार्य थियो । लिनप्याओको यहि चरित्रले कम्युनिष्टहरुभित्र पनि सत्तामोहको खेल चर्को भएको प्रचण्डको व्याख्या थियो । लिनप्याओ माओ क्रान्तिका एक साधक पनि थिए । उनका सकारात्मक पक्षहरु पनि चिनियाँ इतिहाँसमा व्यापक छ । हुन त मान्छेका सकारात्मक र नकारात्मक दुवै पाटो इतिहाँसले चर्चा गर्दछ । यद्यपि, जव व्यक्तिको सकारात्मक पाटो गौण राखी नकारात्मक पाटोलाई हावी बनाउने कोशिश हुन्छ, अनि यस्ता कथाहरु वक्तव्यवाजीका क्रममा स्वभाविक रुपमा आउँछन् । नेता आलोचना र प्रशंशा दुवैका साधक हुन् । तर, प्रशंशाभन्दा बढि आलोचना हुने काम उसको व्यवाहारले देखाइरहेको हुन्छ । एमाओवादी छाडेपछि बाबुरामको प्रशंशा कम र आलोचना ज्यादा भयो । माओ र लिनप्याओको कथा प्रचण्ड र बाबुरामहरु नै जानुन् । माओवादको घोडा दौडाएर मुलुकमा रगतको मुल्य निर्धारण गर्नेहरु जुन ‘वादी’ भएपनि त्यसले आम नागरिकलाई फरक पर्नेवाला छैन । समाज रुपान्तरण भनेको चेतनास्तरको विकास नै हुन्छ । कुनै वादले पनि नेपालको एउटा ‘वादी’, कमलरी र बोक्सीजस्ता रुढीवादी सोचलाई परिवर्तन गरी निमिट्यान्न नपारेका कारण यो वा त्यो राजनीतिक वाकपटुताको कुनै अर्थ हुनेछैन ।
समाजको यो चित्र एकातिर भएपनि संगठनको एउटा चरित्रचाही बेजोड विश्लेषणयोग्य छ । मुलुकमा राजनीतिक अतिचेतना जुन हिसावले द्वन्द्वपछि मौलायो, सामाजिक चेतना पलाउन सकेन । अहिले जलिरहेको मधेसमा राजनीतिक चेतना अधिक भयो तर जब राष्ट्रपति विद्या भण्डारी जनकपुरमा पुगेर पुजा गरिन् र उनी त्यहाँ गएकै कारण विधवा पसेको भनेर मन्दिर सफा गर्ने नौटंकी देखाइयो त्यो सामाजिक चेतनाशुन्य समाजको उदाहरण थियो । जसको छानविनका लागि सरकारले समिति नै गठन गरी परिचालन गर्नुपरेको थियो । त्यस्तै– अभियानका रुपमा अघि बढेको कथित नयाँ शक्ति राजनीतिक चेतनाको अतिवादी बाटो हुनेछ या सामाजिक चेतना र विकासका मनन योग्य शक्ति ? या एउटा वैचारिक लिलिपुटहरुको भेला गरी सत्ता र झुन्ड चलाउने रणनीतिक अभ्यास ? यसको उत्तर आउन अनिवार्य छ ।
जुनसुकै संगठनको होस् । सत्ता सर्वथा प्यारो हुन्छ, सवैलाई प्यारो लाग्छ । हर घरमा दोस्रो भएर बस्नेहरुलाई पहिलो बन्ने रहर जाग्दछ । सत्ता लोभीपापी समाजको दृष्टि भ्रम पार्ने शक्ति केन्द्र हो । सत्तालाई परिवर्तनका लागि आरोहण गरिएको दायित्वहरुको थुप्रो भन्दा पनि प्रयोगको आधार मान्ने मानसिकताले नै समाज विकासको बाटोतिर लम्किन नसकेको हो । चाहे माओको सत्ता होस्, चाहे राजा पृथ्वीनारायण शाहको सत्ता होस्, उनीहरुका सहयोगीका रुपमा रहेका सेकेन्डम्यानहरु जहिले अगाडी आउने बाहनामा अल्झिरहे । इतिहाँसका पानाहरुलाई केलाउने हो भने नेपाली सत्तामा यस्ता कथा धेरै छन् । चाहे राजा सुरेन्द्रको कथा पढौं, चाहे राणा जंगबहादुरको कथालाई अध्ययन गरौं । सत्ताका दोस्राहरु पहिलो हुने रन्कोमा जहिलेपनि जालसाजी गरिरहन्छन् । प्रचण्डको सत्तामा पनि बाबुरामले यसै गरिरहेको तथ्य सवैले देखेकै हो । एमाओवादीभित्र बारम्बार शक्तिका लागि नै लडिरहेका बाबुरामले कार्यकर्ताको बहुमत नपाउँदा पहिलो हुन सकेनन् । उनलाई पहिलो बनाउनका लागि पनि प्रचण्डले त्यति महत्व दिएनन् । फस्र्टम्यान बन्ने ध्याउन्नमा बाबुराम अन्ततः नयाँ शक्तिका नाममा अघि आएका छन् । उनीसँग विकासवादी सोच भन्दा पनि शक्तिकेन्द्रमा बस्ने रहरमात्रै रहेको पुष्टि भइसकेको छ । नयाँ शक्तिका नाममा बाबुराम जुन बाटो हिँडिरहेका छन्, त्यहाँ विचारको स्थिरता र दुरदर्शिता संकेत देखिँदैन । एउटा क्रान्तिकारी विचारलाई बोकेर लामो द्वन्द्वको नेतृत्व गरी मुलुक परिवर्तनमा युवा मस्तिष्क खर्च गरेका बाबुरामले अव आफ्नो प्रौढ जीवनमा नयाँ विचारको प्रतिपादन गर्लान् भन्ने विश्वास विरलै गरेको राम्रो । हरेक विचार भएका मान्छेहरुको महाभेला गरेर उनले एउटा समान र साझा दिर्घकालिन मुद्दालाई स्थापित गर्न सक्ने सम्भावना छैन ।
परिवर्तनको संकेतहरु राजनीतिक जीवनका पूर्वाद्धहरुले नै प्रष्ट पारिसकेका हुन्छन् । एउटा उमेरले छेडेको क्रान्तिको भविष्य समृद्ध समाजको परिकल्पना हुन्छ । तर, जब समृद्ध समाज बनाउने बेला र समय आउँछ अनि एउटा बाटो छाडेर अर्को बाटोको मियो बन्ने आह्वान गर्ने व्यक्तिहरुसँग आशा गर्नु बेकार हुनेछ । जीवनमा जानेको बाटो छाडेर नजानेको डमरु बजाउने काममा मान्छेहरुलाई अलमलमा पार्नु उचित हुँदैन । त्यो निष्कर्शहिन यात्रामात्र हुनेछ । समाज रुपान्तरणको सामान्य दायित्व बोध हुने थियो भने बाबुरामले आफु मुलुकको कार्यकारी प्रमुख भएको बेला उचित काम गर्थे होला । तर, उनले त्यसो गर्न नसकेका कारणले अहिले नयाँ शक्तिको हल्ला फिँजाएर केही फिल्मकर्मी, अवसरहिन नागरिक समाज र आफैंले सेनाका लागि अयोग्य ठहर गरेका पूर्वलडाकुलाई सहभागी गराउनु एउटा अवसरवादी चरित्रको विम्ब नै हो । त्यसकारण यहि विम्बले उनको व्यवाहारको प्रतिविम्ब उनको अभियान सुरु हुनु अघि नै झल्काउनेछ । विचार जतिसुकै नयाँ भएपनि व्यवाहारिक रुपमा रगताम्य अनुहारले उभ्याएको नयाँ शक्तिको लक्ष्य के हो ? शक्ति भनेको केहो ? नयाँको व्याख्या कसरी हुन्छ ? कसैले बनाउन लागेको नयाँ शक्तिको विरोध होइन यो, आफ्नो संलग्नताको वैचारिक छिटा पनि नपरोस् भन्ने प्रष्टोक्ति हो । विश्लेषणचाहीँ यो हो की बाबुराम मिडियातन्त्रको आत्मरतीमा रमाउने विद्वान हुन् । उनलाई हल्ला मनपर्छ । उनलाई आलोचना नै भइरहेपनि मिडियामा आउने मिडियाफोविया भएको छ, सायद । बाबुराम हल्ला नगरी बस्न नसक्ने मानिस हुन् । प्रधानमन्त्री हुँदा पनि अनेक किसिमका मिडियाबाजी गरेर हल्लामा रमाए, एमाओवादीभित्र पनि अनेक हर्कत गरेर हल्ला गरेर मिडियामा आए,  अब नयाँ शक्तिको हल्ला गरेर सत्तामोहको प्रतिविम्ब बनेर उभिन थालेका छन् । उनको यो आत्मरतीको अभियान साँच्चैको हो भने जटिल समयमा मुलुकको हितकर काममा लगाउन् । न ट्वीट, न फेसबुकको हल्ला, काम गरेर देखाउन सकुन् भन्ने कामना गरौं । अन्यथा, अहिले प्रायोजित नागरिक समाज, एजेन्सीमा धाउने सुकिला अनुहारहरु, राजनीतिका नाममा समाजमा विखण्डनको विउ रोप्ने केही व्यक्तिहरुलाई साथमा राखेर नयाँ शक्तिको विजारोपण गर्ने अभियानको औचित्यता पुष्टि हुन सक्तैन । उनको अभियानमा अदालतले भ्रष्टाचारी ठहर गरेका व्यक्तिहरु, इतिहाँसमा जनमारा अभियोग लागेका व्यक्तिहरु पनि छन् । यो अभियानले उनीहरुलाई समाजप्रति उत्तरदायी बन्ने अवसर दिनेछ या बाबुरामलाई टिप्पणीहरुको कलंकमाथि उभ्याउने छ, त्यो समयले देखाउँदै जानेछ ।

Wednesday, September 9, 2015

गजेन्द्रनारायणको सपना कता हरायो ?


विनोद ढकाल 
तराई-मधेसका नाममा गजेन्द्रनारायण िसंहले थालेको क्षेत्रीय राजनीति त्यहाँको विकास चेतना र शिक्षाको विषयमा केन्द्रिकृत थियो । उनको विचार मधेसका नाममा राजनीति गर्दा आयातित वा त्यहाँ रहेका व्यक्ति परिवार र समाजलाई शिक्षित बनाएर ुनेपालुसँग रहेको विविधताको परिचय गराउनु नै थियो । यस हिसावले उठेको क्षेत्रीय राजनीतिको अर्थ सद्भाव कायम गर्नु थियो र उनले आफ्नो पार्टीको नाम पनि सद्भावना जुराएका थिए । एक हदसम्म असहज हुनसक्ने आयातित व्यक्तिहरु र हिमाल र पहाडबाट झरेका व्यक्तिबीचको सद्भावना कायम गर्ने सामाजिक बाटो पनि राजनीति नै हुनसक्ने अनुमानमा स्थापित सद्भावना पार्टीले एक हदसम्मको सहयोग सद्भाव र समर्थन मधेसका नाममा पाएको थियो । जसले गर्दा उसको स्थापित कार्यकाललाई असफल भन्न मिल्दैन । तर अर्धचेतनाका अन्य सदस्यहरुका कारण सद्भावना बारम्बार फुट्यो । योसँगै गजेन्द्र नारायण िसंहको सद्भाव बढाउने राजनीतिक सपनाहरु फुट्दै गए र आज मधेसमा सद्भावनाका नामका अनेकन पार्टीहरु छन् । उनको मृत्युमा गहिरो शोकमा डुवेन मधेस न त त्यस्तो हिम्मत तत्कालिन राज्यसत्ताले गरेको थियो । मृत्युपर्यन्त राजनीतिक हवालाका लागि आनन्दीदेवी िसंहलाई उचाल्ने र पछार्ने मधेसी राजनीति कायम रह्यो । आफूलाई केहीहदसम्मको टाठोबाठो मान्ने नेताहरुले अहिले पनि उनको नामको राजनीति गरेका छन् । तर उनको मृत्युपनि अति सामान्य व्यक्ति सरह भयो । मृत्युमा रुनेहरु कम थिए तर त्यसवापत राजनीतिक मुनाफाको जोड घटाउ गर्नेहरु अहिले सत्ताका वरीपरि घुमिरहेका छन् सभासद् मन्त्री र नेता बनेर । 

नेपाली राजनीति असामाजिक जगमा उभिएको झुण्डहरुको महासभामात्र हो । त्यसको खास झुण्ड मधेसी दलका नामका कथित राजनीतिज्ञहरुको संगठन पनि हो । असामाजिक मान्छे भन्नु नै आत्मरतीमा रमाउने र स्वाँठ प्रवित्तिको घमण्डी हो । न उसले कुनै राम्रो काम गर्न सक्छ न गरेको रुचाउँछ । यस्तै आत्मरतीमा रमाउनेहरुको एउटा झुण्ड मधेसी मोर्चाका नाममा संगठित त भएका छन् । तर त्यो त्यति सामाजिक भएको सावित भएको छैन जसले मधेसमात्रका लागि पनि कुनै खास काम गरेर देखाओस । वा अर्का गजेन्द्रनारायणको सपना बोकेर उन्मुक्त राजनीति गर्ने चेष्टा गरोस । मधेसको चेतना विकास र राष्ट्रिय साझेदारीको आवश्यकता छुट्टै मधेसीहरु भेला भएको राजनीतिक दल निर्माण गर्नु वा त्यसको एउटा संगठित अनुहारहरुको वैठक गर्नुमात्र होइन भन्ने बारम्बारका गठित मोर्चाहरु र त्यसबाट बाहिरिएर सत्तामा टाँसिने हर्कतले सावित गरेको छ । संविधानसभामा भेला भएर खैनी लट्याउने र मधेस जलाउने धम्कीपूर्ण भाषाको राजनीतिमा रुमलिएका मधेसी जनताको खातिर भएका सहमतिका प्रश्नहरु सत्ताको बहिर्गमन वा सत्ता साझेदारीका वेलामात्र उठाउने संस्कारको राजनीतिमात्र देखिएको छ । के यहि रहेछ त गजेन्द्रनारायणको सपना  यो प्रश्न आम जनताले मधेसी भन्न रुचाउने दलका नेताहरुलाई सोध्न जरुरी छ । र खासगरी सपनाको बाढी वगाएका भरमा मत दिएका मधेसक्षेत्रका जनताले तेस्र्याउनै पर्ने पनि हो । मधेसी जनताले कहिल्यैपनि इन्धनको उचित प्रयोग गर्न पाएनन् । बारम्बार उनले जिताएका नेता आपूर्तिमन्त्री बनेका छन् । मधेसले विकासको मुल फुटाएर भित्रि बजारसम्म राम्रो पुल र यातायातको सेवा पाउन सकेको छैन । बारम्बार उनले जिताएका नेता नै भौतिक निर्माणमन्त्री भए । मधेसी जनता अहिले पनि उचित मुल्यको खाद्य मल रसायनिक मलको आन्दोलनमा छन् । बारम्बार कृषिमन्त्री आफूले जिताएको नेता पाए । स्वच्छ र उचित वातावरणको जिल्लाका रुपमा अहिलेसम्म पनि घोषणा गर्न पाउन सकेका छैनन् बारम्बार वातावारणमन्त्री आफूले जिताएकै व्यक्ति बनेका छन् । 

स्वभाविक हो राजनीति गर्ने व्यक्तिविशेषको पनि महत्वकांक्षा हुन्छ । उसका व्यक्तिगत स्वार्थहरु पनि रहन्छन् । यस अर्थमा मधेसका नेताहरुले व्यक्तिगत स्वार्थको उपयोग गरे र अरुले गरेनन भन्ने सवाल पनि होइन । नेपाली राजनीतिका सवै दल र तिनका नेताहरु डम्बरु बजाएर भालु नचाउने संस्कारका पछ्यौटे हुन् । र नेपाली जनता उनका डम्बरु र डम्फुका तालमा सडक सदन र सहरमा भोका नाङ्गा हुँदै न्यायको आशा बोक्ने कमजोर नाचका पात्रहरु पनि हुन् । जसरी राष्ट्रिय राजनीतिमा कर्णाली विकासका फुस्रा सान्त्वना मेलम्ची काठमाडौं झारिदिने काल्पनिक अठोट भएका छन् । त्यस्तै मधेसको वेग्लै पहिचान सहितको विकासलक्षित भावनात्मक स्वार्थमा मधेस राजनीतिकेन्द्रित व्यक्तिहरुको चरित्र पनि फरक छैन । ढाँट्नु वा छल्नुको पनि सामान्य रुप हुन्छ तर यहाँ मधेसी जनताहरु बारम्बार ठगिएका छन् । र ठगीमा परिरहँदा पनि उनीहरु चुपचाप राजनीतिलाई सहयोग गरिरहेका छन् । भर परेका छैनन् तरपनि आश गरेका छन् त्यहाँका नागरिकहरुको वडोप्पन नै मान्नुपर्छ । स्रोत साधन कृषि उद्योग कलकारखाना सवैको उचित व्यवस्था हुँदापनि आज मधेसका जनताहरु भारतको पन्जाव विहार वा अन्यत्र रोजगारीका लागि जान बाध्य छन् । १५ वर्ष लगातार मधेसको नाममा ुस्पेशिफिकु राजनीतिक दल र राजनीति भइरहेको छ । तर खै त जनताले राहत पाएको  त्यहि राजनीतिका कारण नेताहरुको एउटा महासभा  राष्ट्रिय राजनीतिलाई हल्लाउनसक्ने भएको छ । तर खै त मधेसले न्याय पाएको  समग्र नेपालमा मधेसले धेरै नेता जन्मायो । धेरैलाई नेता बनायो । तर ती सवै आत्मरतीका अनुहार रहेको कहिल्यै बुझ्न सकेन । 

नेता भन्ने शव्द निकै महत्वपूर्ण र जिम्मेवारीपूर्ण पद हो । नेता आफ्ना लागिभन्दा पनि अरुका लागि महत्वको सवाल बन्दछ । सारा मधेसक्षेत्रमा मतले जिताइएको एउटै उद्देश्य हो सम्बृद्ध मधेसको खोजी । गएको चार वर्षमा मधेसले कुन हैसियतमा आफ्नो विकासलाई मुल्याङ्कन गरेको छ  त्यहाँका जनताले कुन हैसियतमा आफु र आफ्नो मताधिकारको उपभोग गर्न पाए  यस्ता कुनै प्रश्नको जवाफ अहिलेपनि मधेसी नेताहरुले दिने हिम्मत गर्दैनन् । एकप्रकारले सत्ताका सवै निकायहरुमा मधेसी जनताको पहुँच राजनीतिक संक्रमण होस वा अन्य समय धेरै पटक पुगेकै छ । तर राजनीतिको माकुरी जालमा वेरिएका मधेसी जनताको चेतनाको स्तर उठ्न नसक्दा वा उनीहरुले नचाहेर वा उनीहरुले नगरेर हो सम्बृद्ध मधेसका लागि एउटा सिङ्को भाँच्ने कामपनि हुन सकेको छैन । मधेस निरन्तर एउटा राजनीति मुद्दामा सीमित राखेर सत्ताको मुख्य विषय बनाउने विकल्पमा मात्र राखिएको छ । जसको निरन्तरता पछिल्लो पटक बसेको मधेसी मोर्चाको वैठकले फेरि दियो सरकार छाड्ने वा ढाल्ने धम्कीपूर्ण निर्णय गरेर । सोमबार मधेसी मोर्चाका नेताहरुको वैठक एउटा निचोडमा पुग्यो । उनीहरुसँग गएको चार महिना अघि गरेको चारबुँदे सहमति सरकारले कार्यान्वयन नगरेको र सरकारको भ्रष्ट चरित्रको दोष आफुलाई थोपरेको विश्लेषण गर्दै सरकार छाड्ने चेतावनीसम्म आइपुगे । अव सरकार ढल्ने संकेत पाइसकेका मधेसी नेताहरुको आत्मरतीमा पुरै देशका सम्भावनाका ढोकाहरु बन्द भएका छन्  र  उनीहरु मधेसी जनताको उन्नती भन्दा पनि आफ्नो आत्मरतीमा रमाउने संकिर्ण राजनीति गरिरहेका छन् । जसलाई दक्षिणीद्वारहरुले पहिले अहिले र भोलीपनि चलाइरहेका हुनेछन् । यहि निरन्तरतामा चल्ने मधेस राजनीति नेपालको इतिहाँसको एउटा खास मुद्दामात्र सावित हुनेछ । 

(५ वर्ष अघि राजधानी दैनिकमा मैले लेखेको यो लेखलाई अहिले जलिरहेको मधेसलाई डेडिकेट गरेर सेयर गर्न चाहेको हुँ । जहाँ राजेन्द्र महतोहरुको गर्जन सुन्दा गजेन्द्रनारायणहरुको आवाजलाई सम्झिरहेको छु । )

Tuesday, September 8, 2015

फ्रस्टेशन, पागलहरुको काम !

विनोद ढकाल 
९० को दशकको सुरुआती समयका अमेरिकी लेखक, टेलिभिजन प्रस्तोता रोड सर्लिङले भनेका थिए– प्रत्येक लेखक एउटा निराश अभिनेता हो जसले आफ्ना लेखाइमा परोक्ष सीपलाई लुकाएको हुन्छ । निराश अर्थात् चलनचल्ती र बोलीचालीको भाषामा ‘फ्रस्टेशन’ ।
मान्छे किन फ्रस्टेशनमा पर्छ ? आखिर के हो फ्रस्टेशन ? सर्लिङकै शव्दमा व्याख्या गर्ने हो भने त निराश बन्नु पागलहरुको काम हो । जस्तै, अमूर्त, लेख्नु । कहिलेकाँही मेरो लेखाईका अमूर्तपनलाई विश्लेषण गर्दा म पनि त्यहि पागलहरुको कोटीमा त पर्दिन ? त्यसैले मैले धेरै संवाद गर्ने एकजना मेरो मित्रले प्राय सोध्छिन्– (आर यु म्याड ?) के तिमी पागल भयौ ? मेरो सहज उत्तर हुन्छ– हो, म पागल हो, मेरो लेखाइमा । अरु के–के कुरामा छु, मलाई थाहा छैन । सम्भवत अमूर्त लेखाइका सुक्ष्म अर्थहरु हुन्छन् जसका बहुअर्थ लाग्न सक्छन् । त्यसकारण मसँग संवाद गर्नेहरुले साधारणतया यस्तै प्रश्नहरु गर्छन्, यस्तै उत्तरहरु भेट्छन् । तर, यो फ्रस्टेशनको शाव्दिक अर्थ होइन सांकेतिक भनाई मात्र थियो । 
मानवीय सोच र संवेदना, खासगरी सिधै मन दुख्ने कुनै काम भयो भने मान्छे फ्रस्टेशनमा पुग्छ । आशा गरेका कतिपय कामहरु पुरा हुँदैनन्, अपेक्षा गरेका कतिपय समयहरु मिल्दैनन् र मानिस आशा गर्न छाड्छ । लेखिका जेके रोलिङले त्यसैले भनेकी छिन्– कल्पनाका डरहरुकै कारण म निराश हुने गर्छु । तर, त्यो स्वस्थ्य धारणा होइन । फ्रस्टेशनमा पर्ने अनेक कारणहरु हुन सक्छन् । धेरै मानिस परिरहेको हुन्छ । यसले सोचको तहलाई यति पीडामय पनि बनाइदिन्छ की मान्छे साँच्चैको एकाग्र बन्न पनि पुग्छ । कुनै विषयभित्र मात्र हराउँछ, डुव्छ त्यसबाट निस्कनका लागि उसलाई कठिन हुन्छ । आशाबीच ऊ निराशाभित्र दबिइरहेको हुन्छ । यसका अनेक जटिल उदाहरणहरु पनि छन् तर सानो मेरो मित्रको कथालाई राख्नु उचित ठान्छु । 
आधा रातमा फोन गरी आँसुका फोहरा छुटाउने एकजना मेरो मित्रको स्वाभिमान खोसिएछ । उसको स्वाभिमान थियो– कर्ममा सँधै अव्वल हुने र अभिमानमा बाँच्ने । उसँग कर्म गर्नसक्ने क्षमता त थियो नै, त्यसमा कसरी अब्बल हुने भन्ने अर्को पक्ष पनि बलियो थियो । तर, नेपाली समाजमा कर्म गर्नेहरुको पतनको बाटो विभिन्न जाल झेलले तय गर्छ । त्यहि जालझेलको सिकार भएको मित्रले आँसु खसाउँदै भन्यो– म जीवनमा ओरालो लागेको मान्छे भएँ । यतिवेला मैले जे गरिरहेको छु, सवै गलत भइरहेका छन् । सायद मेरो प्रस्तुतीहरु पनि गलत नै छन् र कोही पनि मसँग खुसी छैन । 
मेरो उसलाई सुझाव छ– आत्मबल बलियो बनाऊ मित्र, दुनियाँ तिम्रो पछि फेरि दौडने छ । बलियो आत्मबलले कर्म पनि असल हुन्छ, कर्म सफल भएपछि हर कुरा राम्रो देखिन्छन् । अहिले तिमी चर्किएको ऐना भएका छौ, मान्छे हेर्न डराउँछन् यसलाई जोड्ने प्रयत्न गर । तर, उसको त्यो निराशासहितको भयको अन्त्य गराउनका लागि मैले अनेक सहानुभूतिका शव्दहरु दिइरहेको थिएँ । 
मनोवैज्ञानिकहरु भन्छन्– इच्छाएको कुरालाई प्राप्त गर्न नसक्दा दिमागमा हुने डर र आवेग फ्रस्टेशन हो । पीडा अभिव्यक्त गर्ने भय, समस्या देखाउन नसक्ने पीडाले मान्छेलाई फ्रस्टेशन गराउँछ । हजार समस्याहरुको चाङमाथि उभिएर फिस्स छाडेको हाँसोमा पनि फ्रस्टेशन झल्किन्छ । संवेदनाको घडीमा रिस, आवेगको दोहोरो भिडन्तलाई छातीमा राखेर हिँड्दा तनाव हुन्छ । त्यसलाई बन्द गर्नका लागि केही उत्पादक काम गर्नुपर्छ जसले आनन्द महसुस गराउँछ । भुलिदेउ सारा पीडा र खुसीमा रम्ने कोशिश गर । 
मान्छे दुई प्रकारले कमजोर हुँदै जान्छ अर्थात् फ्रस्टेशनमा पुग्छ । एउटा आत्मविश्वासको कमी र अर्को आत्मविश्वास गिराउने बाहिरी खेलका कारण । चुनौतिहरुसँग सामना गर्न सकिन्न कि भन्ने त्रास, इच्छाहरु पुरा हुन सक्तैनन् की भन्ने डर अनि सामाजिक परिवेशमा घुलमिल हुन नसकिएला कि भन्ने अर्को डरले पनि कमजोर बन्दै जान्छ, आत्मविश्वास  । तर यति हुँदाहुँदै पनि फ्रस्टेशनमा भएका मानिसहरु कसरी चिन्न सकिन्छ र ? भनिन्छ– हाँसो र आँसु दुवै फ्रस्टेशनका संकेतहरु हुन्छन् । तिनीहरु थकानका कारणहरु हुन्छन् । मान्छेहरु ठान्छन् आँसु जहिले पनि कमजोरीको संकेत हो । तर, होइन तिनीहरु तनावले उत्पन्न गरेका कारणहरु हुन् । तनावले कहिलेकाहीँ मानिसका सोचहरुको गहिराईलाई आफ्नो अन्त्यको परिणामसँग पनि जोड्छ । त्यसकारण विश्वभर आत्महत्याहरु बढेका हुन् । खासगरी, भावनात्मक ठेस लागेपछि मानिस फ्रस्टेशनमा पुग्छ र उसले निकासका लागि कठोर निर्णयसम्म पनि गर्दो रहेछ । फ्रस्टेशनले आत्महत्या मात्र होइन, अपराधको बाटो पनि समात्न सक्ने रहेछ । आवेगको परिणामका कारणहरु विभिन्न हत्याका समाचारहरुले पनि पुष्टि गरेका छन् । जस्तो प्रेमिका हत्याका कारणहरु खुलेका थिए । विदेशबाट आएको प्रेमीले प्रेमिकाको हत्या किन ग¥यो ? श्रीमान्ले श्रीमतिको हत्या किन ग¥यो ? यातनाहरु किन भए ? किन भइरहेका छन् ? पतीपत्नी र परिवारसहितसम्मका आत्महत्या किन भइरहेका छन् ? यी सवै फ्रस्टेशनका परिणतिहरु हुन् ।
निराशबाट आशावादी हुनका लागि अवसरको खाँचो चाहिन्छ । कुनै पनि भावलाई कर्ममा परिणत गर्ने अवसर पाएन भने मान्छे फ्रस्टेशनमा पुग्छ । मुलुकमा रोजगारीको अवसर नहुँदा ठूलो युवा जमातको दिमागमा अहिले के चलिरहेको होला ? उनीहरु कति फ्रस्टेशनमा परेका होलान् ? अन्दाज गरौं त ? त्यसैले त्यसबाट मुक्ति पाउनका लागि शान्तिको खोजी गरौं । कोही अशान्तिमा भए कृपया यो पागलहरुको काम बन्द गरौं, जसले आफैंलाई कमजोर बनाउँछ । 

Sunday, September 6, 2015

चाँदीको सीमाभित्रबाट

विनोद ढकाल 
तेस्रो दशकको यात्रामा प्रवेश गर्दैगर्दा आउने पुस्ताहरुको तेजश्वी यात्रालाई नजरअन्दाज गर्न नसकिने रहेछ । यो युवा पुस्ताको गतिशिलताले विश्व अहिले तिव्र छ । भित्र र बाहिर त्यसको प्रभावले नेपाली युवाहरु पनि सक्रिय र निस्क्रिय दुवै प्रकारका उदाहरणको टेकोमा उभिएका छन् । राजनीतिक सामाजिक इतिहाँस युवाको पाखुरीले कोरिएको तथ्य हामीसँगै छ । तर, हाम्रो वर्तमान देखिएको छैन । जनआन्दोलन, जनयुद्ध जे सुकै भनौं यी सवैको सफलताको श्रेय युवा शक्तिको हातमा जान्छ । 

फर्केर हेर्दा तत्कालिन युवाहरुको त्याग तपस्या र विद्रोहलाई सम्मान गर्नुपर्छ । नेपालमा युवाआन्दोलको इतिहास लामो छैन । यद्यपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासक विरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक मानिन्छन् । अरु पनि थुप्रै ब्यक्तिहरुले विभिन्न रुप, शैली र तरिकाबाट आन्दोलनहरु गरेका थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  । 

राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर कमरेड पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । २०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो । वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ । 

मुलुक र सङ्घ सङ्गठन पिच्छेका युवा उमेर फरक फरक छन् । बेलायतमा १६–१८, अमेरिकामा १२–१८, उत्तर इटली÷दक्षिण इटाली १४–३२÷१४–२९, अफ्रिकी चार्टर १५–३५, फिलिपिन्स १५–३०, कमनवेल्थ १५–२९, केन्या १५–३५, तान्जानिया १५–३५, नाइजेरिया १२–३०, दक्षिण अफ्रिका १४–३५, जिम्बाबे १६–३५, मलेसिया १६–४०, सिङ्गापुर १५–२९, इन्डोनेसिया १६–३५, म्यान्मार १६–१८, भियतनाम १५–३०, हङकङ ६–२४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाका परिभाषाभित्र पारिएका छन् । नेपालमा क्रियाशील मुख्य राजनीतिक दलसम्बद्ध युवा भातृ सङ्गठनका युवासम्बन्धी उमेर समूह पनि फरक–फरक छन् । युवासङ्घ, नेपालको १६–४० वर्ष, एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी (एनेकपा माओवादी) सम्बद्ध योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेस (नेका) सम्बद्ध नेपाल तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ । त्यसैगरी २०६६÷१०÷१४ मा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा नीति, २०६३ अनुसार ‘युवा’ भन्नाले १६–४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरूलाई जनाउन उल्लेख गरिएको थियो । 

युवालाई उनीहरुको उमेरका आधारमा विभाजित गरिएपनि प्रविधिले परिवर्तन गरिरहेको अहिलेको समाजमा नेपाली युवाको अवस्था बलियो छैन । तर, जे जति जसरी जहाँ भइरहेको छ त्यो पनि राम्रो ठान्नुपर्छ, उपयुक्त भन्न मिल्दैन । यद्यपि राजनीतिक संक्रमणले विकासको बाटो नलिएको र मुलुक कमजोर भएका कारणले अहिले युवा शक्ति अहिले खाली आन्दोलन र तोडफोडको साधनभन्दा केही भएका छैनन् । विश्वजारमा विश्व अर्थतन्त्रमा युवालाई सुनको संज्ञा दिइन्छ । किनभने यहि उमेरले मात्र मुलुक बनाउन सक्षमता देखाउँछ । तर, नेपालमा अहिले त्यसो हुन सकीरहेको छैन । 

युवा सुन हुन् । युवा नम्बरी सुन हुन् । जुन मुलुकका युवा आफ्नो कर्म र श्रमलाई मुल्यका आधारमा मुलुकमा खर्च गर्न बाध्यकारी हुन सकेका छैनन् । तमाम ५० लाख युवा जो सीप जाँगर र आफ्नो क्षमतालाई विश्वका फरक मुलुक बनाउन लागिरहेका छन् त्यसलाई हेर्दा मुटु पोल्छ । ३० लाख युवा अहिले पानी नपाउने खाडीलाई विश्वका अग्ला उचाइमा पु¥याउन श्रम गरिरहेका छन् । १० लाख भन्दा बढि युरोप, अमेरिकामा विवेकसहितको श्रम गरिरहेका छन् । अनि, १० लाख युवा छिमेकी मुलुक भारत र चीन बनाउनका लागि दौडिरहेका छन् । यी सिक्काहरु चाँदी सावित भएका छन् । टल्किएका छन् तर त्यसको मुल्य सानो भइरहेको छ ।


Monday, July 6, 2015

ह्याङगोभर पछि...

मणिपाल अस्पतालमा एकजना डाक्टर खस्यो, गयो । विचरा उमाथि गरिएको अपेक्षा, लगानी र भविष्यको सपना देख्ने अनुहारहरु कति मलिन्द्र छन्, अहिले । जम्माजम्मी एकथान जीन्दगी पाएको उसले, त्यसलाई पनि ह्याङगोभर हुने मौका दिएन

विनोद ढकाल 

 सुनसान र शान्त अनि एकाग्र भएर त्यतिबेला मात्रै बस्न मन लाग्छ, जतिबेला मदिराको नशाले ह्याङगोभर गराउँछ । शुक्रबारको रात पिएर शनिबारको दिनलाई झेल्ने बहुसंख्यकहरुसँग ह्याङगोभरको अनुभव हुनसक्छ । त्यतिबेला कयन भ्रमहरु आँखा अगाडी पर्छन् । सत्य जस्तो लाग्ने तर भ्रम हुन्छ । केही उडेजस्तो लाग्ने तर केही हुँदैन । बोल्न मन लाग्दैन, खान मन लाग्दैन । कतिबेला छ्याङग हुन्छ र पुरानो अवस्थामा फर्कौं जस्तो लाग्छ ।
जीन्दगी एउटा ह्याङगोभर हो । मान्छे र मनस्थितीसँगै जे हामी बाँचीरहेका छौं, सवै भ्रम हो । भ्रमभित्रका अनेक उतारचढावलाई जीवनको गाथा बनाउनु वाइयात काम हो । जब जीवन नै भ्रम हो भने किन जीन्दगीको उतारचढावको गीत गाउन जरुरी छ र ? मणिपाल अस्पतालमा एकजना डाक्टर खस्यो, गयो । विचरा उमाथि गरिएको अपेक्षा, लगानी र भविष्यको सपना देख्ने अनुहारहरु कति मलिन्द्र छन्, अहिले । जम्माजम्मी एकथान जीन्दगी पाएको उसले, त्यसलाई पनि ह्याङगोभर हुने मौका दिएन । उसले आफ्ना विचार र विवेचनालाई सही ढंगले राख्न पाएन । र वित्यो । उसका परिवारप्रति समवेदना छ । प्रहरीले नै भनेको छ, उसकी प्रेमिकाले अलग बाटोको प्रस्ताव गरेपछि तनावमा भएको उसले पिएको थियो । नशामा थियो । नशामै वित्यो । यो विषय नै यस्तो हो की कोही मरेर जान्छन्, कोही बाँचेरै पनि मरिरहेका हुन्छन् । फरक यत्ति हो, मरेर जानेहरु खरानी हुन्छन्, बाँचेर मर्नेहरुसँग आशाको दियो निभेको हुँदैन । उसका पराक्रमहरु बढिरहेका हुन्छन्, औसतभन्दा माथि उठ्ने प्रयत्नमा हुन्छ । यद्यपि, जीन्दगी त फेरि पनि भ्रम त हो, अनि किन रुने ? बस यो ह्याङगोभरमा बसरी चल्ने भन्ने चाहीँ आजको पुस्ताले जान्नुपर्नेछ ।

भावनात्मक सम्बन्धको पुञ्ज कहिले पनि ढल्दैन, जहिले पनि बाँचीरहन्छ । जीवनको कालखण्डका हरेक पानाहरुमा रहीरहन्छ । जीन्दगी रहुन्जेल रहन्छ । भ्रमको चक्रव्युहभित्रका अनेक घटनाहरु धेरै घोचक हुन्छ । सहरमा दौडेका लाखौं मानिसहरुको मनभित्र के चल्दैछ अनुमान गरिँदैन । तर, आफ्नो मन किन भारी भएको छ ? यसैको उतारचढावमा मान्छे अभ्यस्त भइरहेको हुन्छ, त्यहि भ्रममा ऊ अरुभन्दा पक्षपाती हुन्छ । यता जलीरहेको मनभित्रको भँडासको अर्थ के हो ? उता, तड्पीरहेको मनको व्यथासँग सामिप्य हुँदैन । त्यहि प्रतिभ्रमले मान्छेलाई कमजोर बनाउँदै लैजान्छ । संवेदनाहरुमा आगो लाग्यो भन्दैमा त्यो कागजजस्तो खरानी हुँदैन । संवेदनाहरु बलिरहन्छन्, मृत्युपर्यन्त पनि । मान्छेले व्यवाहारमा सहजता अपनाउन सक्यो भनेमात्र उसले एकथान जीन्दगीलाई भ्रममा पनि सुखी बनाउन सक्छ । आफुलाई लागेको महत्वकांक्षाले मात्र जीवन चल्ने भए यो संसारमा पिसाचहरुको सत्ता हुने थियो । तर, संसार सन्तुलित भावनाले चलेको छ र, कायम छ । त्यसैले ह्यांगोभर जीन्दगीलाई सुखी र खुसी बनाउने तरिका भनेकै मुस्कान हो, मुस्कान छरेर भ्रममा नै बाँच्नुहोस् ।