Sunday, November 25, 2012

दासप्रवित्तिको राजनीतिक व्यवस्था

विनोद ढकाल
मुलुकको निकासका लागि डा. बाबुराम भट्टराइको नेतृत्वको सरकारको राजीनामा सर्वत्रबाट माग भइरहेको छ । इतिहाँसमै नागरिक तहमा अति कलंकित रुपमा परिभाषित भएको यो सरकारको औचित्य नैतिक रुपमा समाप्त भइसकेको छ । अन्ततः नयाँ कार्यक्रम ल्याउन नसकेकै कारण तलवभत्ताको बजेट सार्वजनिक गरेपछि सरकारको बहिर्गमन निश्चित र अनिवार्य थियो । सरकार गठबन्धनको वैठकमा निर्णय गरेर बाबुरामको राजीनामा आउने हल्ला क्षणभरमा नै व्यापक भयो । प्रधानमन्त्रीपत्नी हिसीला यमीले डाकेको उक्त वैठकबाट राजीनामा आउने करिव करिव पक्का भएको थियो । सूचना क्षणभरमा नै राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासो बनेको थियो । तर, भारतीय दुतावासका अधिकारीको एक फोनका आधारमा बाबुरामको राजीनामा रोकियो र पुरानै ढर्रामा जनताका नाममा सम्बोधन भयो । सम्बोधनको तुक कतैबाट पनि पुष्टि हुने प्रकारको थिएन । यो, सुन्नेका लागिमात्र होइन, सुनाउनेका लागि पनि सन्तोषजनक थिएन भन्ने नागरिक प्रतिक्रियाले प्रष्ट बनाएको छ ।
संवैधानिक र नैतिक आधार गुमाएर पनि राज्यशक्तिमा आफुलाई स्वयम् कार्यकारी अधिकारको मालिक भनेर घोषणा गरेर बस्नु तानाशाही, सर्वसत्तावादी र निरङ्कश प्रवृत्तिको उपज हो । बाबुरामको पछिल्ला अभिव्यक्ति, उनको सत्ता लिप्सापनले यसलाई छर्लङ्ग बनाइसकेको छ । राजनीतिमा नैतिकता भएको नेताको खोजी भइरहेका बेला प्रधानमन्त्रीमा आम नागरिकले अनुमोदन गरेका भट्टराईको राजनीतिक नैतिकता यतिसम्म ह्रास भयो की उनी जनताका नजरमा उति नै अलोकप्रिय बनिसकेका छन् । यद्यपि, मुलुकको निकासका लागि उनको राजीनामाको विकल्प छैन, राजीनामा भए उनलाई सत्ताच्युत गर्नुको अर्को विकल्प पनि छैन । राष्ट्रपति रामवरण यादवले १४ मंसिरसम्मको समयसीमा तोकेर सहमतिको आह्वान गरेका छन् । यो संक्रमणकालिन राजनीतिक अवस्था र निकासको बाटो नखुलेको समयमा बढेको संक्रमणकालिन सरकारको विकल्पको खोजी हो । यसलाई माओवादीले असंवैधानिक भनेर टिप्पणी गरेको छ तर योभन्दा संवैधानिक बाटो अरु कुनैपनि छैन । राष्ट्रपति यादवमा अलिकति राजनीतिक, राज्यको अभिभावकत्वको नैतिकताको संकेत देखा परेको छ । यसलाई सत्ताका लालसीहरुले जसरी परिभाषित गरेपनि, यहि नै न्यायोचित बाटो थियो, जुन आह्वान भइसकेको छ ।
नेपाली राजनीतिमा नैतिकताको कमी भएका कारण शान्ति प्रकृयायता नेपाली जनताले सोचेजस्तो मुलुक पाउन सकेका छैनन् । राजनीतिक भाषणमा संवैधानिक विषयको उठान गरेर सत्ताको फेरबदलमा दलहरु केन्द्रित भइरहँदा नेपाली जनताको पसिनाको खर्चबाट चार वर्षसम्म कायम रहेको संविधानसभा विना संविधान नै अपदस्त गरियो ।

नेता मोटाउने र जनता दुव्लाउने राजनीतिले वितेका सात वर्षमा केही उपलव्धी हुन सकेन । जनताको आक्रोशका परिणामका डामहरु अहिले पनि पुष्पकमल दाहाल, झलनाथ खनाल र सुशिल कोइरालाका गालामा यथावत छन् होला । तरपनि मौलिक राजनीतिको मुलधारमा प्रवेश गर्न नसकेका दास प्रवित्तिको राजनीतिलाई यी नेता र दलहरुले त्याग्न सकेका छैनन् । जसका कारण नेपाली जनताले अन्य कयौं वर्षपनि आत्मनिर्भरताको सास फेर्न पाउने छैनन् । बीसौं हजार मानिसको हत्या, ५० औं हजार नागरिकको विल्लिवाठ, लाखौं परिवारको मुलुकबाट पलायन हुने अवस्थाका मुल कारक तत्वका रुपमा उदाएको पछिल्लो राजनीति एकतन्त्रीय शासनभन्दा पनि घिनलाग्दो र डरलाग्दो छ । प्रजातन्त्रका नाममा मानिसले बोल्नमात्र पाएको छ, त्यसका अलावा न उसँग रोजगारी छ, गाँसबास र कपासको अवस्था छ न त सुरक्षाको प्रत्याभुति गर्न पाएको छ । राज्य शुन्य छ र मुलुकमा भिविन्न थरीका आपराधिक झुण्डहरुको बाहुल्य भइसकेको छ । यो नेपाली राजनीतिको वर्तमान ऐनामा देखिने प्रतिविम्ब हो । अनि, नेपाली जनताले त्यो प्रतिविम्ब हेर्नुको अर्को विकल्प पाउन सकेका छैनन् ।

जति ठूला क्रान्तिकारी भाषण गरेपनि नेपाली जनताको जनजीविकाको लागि चाहिने राष्ट्रिय बजेटका लागि पनि हामी भारतीय राजदुतको भुमिकालाई मान्न तयार छौं तर नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्ने विषयमा गम्भिर छैनौं । राज्य भारतीय उद्योगको सुरक्षा र क्षतिपूर्तिका लागि तयार छ, नेपालमा नयाँ उद्योग सञ्चालन गर्ने नीति र कार्यक्रम ल्याउन तयार छैन । नेपाली भुमीमा भारतीय गाडीको निर्वाध आवत जावत गराउनका लागि सरकार गम्भिर छ, नेपाली जनताको सुरक्षीत यात्राका लागि बन्दहड्ताल मुक्त गराउन अभ्यस्त छैन । यी अनेक साना कारणहरु नै सत्तालिप्सा राजनीतिक दलहरुको दासप्रवित्तिको नमूना हो । अनि, यस्ता राजनीतिक दललाई अनुमोदन गरेर चुपचाप बस्ने नागरिकको निरीहता । विश्वका प्रजातान्त्रिक मुलुकहरुमा हरेक पाँच वर्षमा सत्ता फेरिन्छ, सरकार फेरिन्छ । नागरिकले मत हाल्न पाउने व्यवस्था कायम हुन्छ । तर, हामी संविधानसभाको चुनावपछि हाम्रो मत राख्न पाउने अधिकारबाट वञ्चित छौं । तथाकथित राजनीतिक सहमतिको नाममा नेपाली नागरिकको मताधिकार खोसेर एक्लौटी शासन गर्ने अभ्यासमा लागेका छन्, दलहरु । जुन क्षमायोग्य पनि छैन । ०५६ सालयताको भ्रष्ट सरकारलाई पदच्युत गरी ज्ञानेन्द्रले लादेको निरङ्कुश सासनको अन्त्यले नेपालीजनमा सम्बृद्ध प्रजातन्त्र र लोकतन्त्रको माग गरेको थियो । तर, त्यो मागलाई लत्याएर नेपाली राजनीति सत्ता र भ्रष्टाचारको दलदलमा लाग्दा देशको अहिलेको भविष्य भयावह हुन थालेको छ ।
राजनीतिक रुपमा नेपाल नवऔपनिवेशिक मुलुकका रुपमा विकास गरिएको छ । राजनीतितन्त्र, प्रशासनयन्त्र सवै भारतको उपनिवेशका आधारमा चल्ने गरेको छ । नैतिकता र सार्वभौमिकतालाई तिलाञ्जली दिएर राजनीतिक दलहरु, संवैधानिक अंगहरु आत्मसमर्पण गरिरहेका छन् । विकासका संरचना, रोजगारका अवसरहरु भत्काएर थालिएको राजनीतिले निम्त्याउने अवस्था दर्दनाक नै हुन्छ । विश्वमा असफल भएको संविधानसभाको प्रयोगमा अरबौं खर्च गरी उपलव्धिविहीन व्यवस्थामा रमाएको नेपाली राजनीतिलाई बढार्नका लागि प्रजातान्त्रिक अभ्यासको अवसरपनि बनाउन सकिएको छैन । कमजोर मानसिकता र तानाशाही मनोभावनाबाट प्रभावित राजनीतिक व्यवस्था र नेताका कारण मुलुकको अवस्था दिनप्र्रतिदिन विग्रदै गइरहेको छ । नागरिकतहबाट अपहेलितहरु नै राज्यका शासक भएपछि स्वभाविक रुपमा राजनीतिक वितृष्णाहरु पलाइरहेका छन् । यीनको दासप्रवित्तिको नियतका कारण नेपाली जनतापनि आज विभिन्न मुलुकमा रोजगारीका नाममा दासत्वको जीवन भोग्न बाध्य भइरहेका छन् । यदि, ५० लाख नेपाली युवालाई खाडी लगायतका मुलुकले रोजगारी रोकेर नेपाल फर्काएको अवस्थामा राज्यले कस्तो व्यवस्था गर्छ ? भन्ने सामान्य योजनासमेत बनाउने ध्याउन्नमा मुलुक छैन । यसकारण सम्बृद्ध र सम्पन्न राज्यव्यवस्थाका लागि दासराजनीतिक त्याग गरी आत्मनिर्भर राजनीतिको लाइनमा मुलुक हिँड्न नसके दुई ठूला मुलुकका बीचमा रहेको हाम्रो मुलुक युगाण्डा बन्ने खतरा ज्यादा देखिन्छ । यतातिर तथाकथित सहमतिय राजनीतिको ढ्याङ््ग्रो बजाउने राजनीतिक दलको ध्यानआकृष्ट हुन सकोस ।

Wednesday, November 21, 2012

दाजु कोरिया, भाई मलेशिया

डी. विनोद
सङ्खुवासभा तुम्लिङ्टारका दाजुभाई राजकुमार तामाङ र कालु तामाङले एकै दिन वैदेशिक रोजगारीका लागि मुलुक छाडे । एक वर्ष अघि उनीहरु रोजगारीका लागि विदेशिएका हुन् ।  राजकुमार कतार पुगे भने कालु मलेशिया पुगेका छन् । अहिले परिवारमा दुई छोराको आम्दानी भित्रिन थालेको छ । उनीहरुका मामा नरेश लामा भन्छन्,‘दुवै छोरा वैदेशिक रोजगारीमा पुगेपछि घरमा राम्रै आम्दानी हुन थालेको छ । दीदीले सुख पाउने छनक देखिएको छ ।’
एकै परिवारका दुई वा त्यो भन्दा बढि सदस्य वैदेशिक रोजगारीमा गएका यी पहिलो भने होइनन् । प्रत्येक दिन एक हजार पाँच सय भन्दा बढि श्रमशक्ति विदेशिनेमा धेरै यस्ता सदस्यहरु छन् । कतिपय वैदेशिक रोजगारीका क्रममा कार्यरत नै छन् भने धेरैजसो जाने तयारीमा पनि जुटेका छन् । परिवारमा एक जनाले कमाउने र अरुले खर्च गर्ने परम्परालाई तोड्दै परिवारका सदस्यहरु वैदेशिक रोजगारीका लागि आकर्षित भइरहेका छन् । आर्थिक अवस्था राम्रो बनाएर भविष्य सुरक्षित बनाउने ध्याउन्नमा लागेका छन् उनीहरु । खासगरी खाडी मुलुकमा परिवारका एकै सदस्यहरु जाने गरेका छन् । कम लगानी र राम्रो आम्दानीको सम्भावना देखेपछि प्राविधिक काममा परिवारका बहुसदस्य जाने क्रम बढ्दो छ । खाडी बाहेकका कोरिया, इजरायल र मलेशियालाई पनि परिवारका सदस्यहरुले वैदेशिक रोजगारका लागि राम्रो आयस्रोतको मुलुकका रुपमा लिएका छन् । प्रत्येक वर्ष नेपाल सरकारले इपीएस परिक्षा मार्फत कोरिया, अन्य परिक्षणमार्फत इजरायल र नियमित रुपमा मलेशिया पठाउने गरेका कारण यसरी आकर्षण बढेको पाइन्छ । नेपाली श्रमशक्तिलाई वैदेशिक रोजगारीका लागि अवसरमा कमी छैन । यस्तो अवसरको सदुपयोग गर्ने परिवारहरु बढिरहेका छन् । कसैका घरका दाजुभाई त कसैका घरका श्रीमान्श्रीमति पनि भिन्नभिन्न मुलुकमा पुगेका छन् ।
काठमाडौंकी उषा घिमिरे (रोज) अहिले इजरायलमा छिन् । उनका श्रीमान् सन्तोष कटुवाल भने संयुक्त अरव इमिरेट्समा (युएइ) कार्यरत छन् । घिमिरे अनलाइन मार्फत भन्छिन्,‘आम्दानीका लागि परिवारका दुवै जना वैदेशिक रोजगारीमा छौं । राम्रो आम्दानी गरेर सन्तानको भविष्य निर्धारणका लागि हामी दुवैजना वैदेशिक रोजगारीमा आएका हौं ।’ उषा इजरायल पुगेको चार वर्ष भयो भने उनका श्रीमान् पनि युएइमा काम गरेको लामै समय भयो । थप्छिन्,‘घरका सदस्य र छोराको भविष्यका लागि हामी चिन्तित भएकैले वैदेशिक रोजगारीमा आएका हौं ।’
मुलुकमा बेरोजगारीको समस्या बढिरहेका वेला एकै घरका सदस्यहरु वैदेशिक रोजगारीमा जानु नौलो कुरा होइन । नेपालको अर्थतन्त्रको २१ प्रतिशतको हिस्सेदारीको कारणपनि वैदेशिक रोजगार नै बनेको छ । रेमिट्यान्सले धानेको अर्थतन्त्रको सुचाङ्कमा परेको नेपालका ग्रामिण वस्तीहरुका युवा वैदेशिक रोजगारीमा नगएको गाउँ कमैमात्र छन् । वैदेशिक रोजगार विभागले तयार पारेको सुचाङ्कमा पनि ०६५ साल यता वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या उच्च छ । प्रत्येक वर्ष यस्तो सुचाङ्क बढिरहेका कारण एकै घरका धेरै सदस्यहरु पनि पुगेको अनुमान विभागसँग छ । तर, कानुनी प्रावधानमा सम्बन्ध नखुलाइने भएका कारण यकिन तथ्याङ्कचाँही विभागले दिन सक्दैन ।
शुक्रबारसँग सम्पर्कमा रहेका परिवारका सदस्यहरु मध्येका धनगडीका कपिल उपाध्याय मलेशियामा कार्यरत छन् । निर्माण कम्पनीमा काम गरिरहेका कपिलका भाई नविन भने कतारमा छन् । उनी पनि निर्माण कम्पनीमा नै काम गरिरहेका छन् । दुवैजना दुईवर्ष अघि वैदेशिक रोजगारीमा पुगेका थिए । नविन भन्छन्,‘दाई मलेशिया पुगेको एक महिना नवित्दै म पनि कतार आएको हुँ ।’ अहिले उनीहरुको आम्दानी राम्रो छ । ‘एकै परिवारका सदस्य वैदेशिक रोजगारीमा आएकै कारण हामीलाई घरखर्चका लागि समस्या छैन ।’ नविनले थपे,‘अहिले घरमा आर्थिक समस्या छैन, ऋण तिरीसकेका छौं, अव आम्दानीको सुरक्षा गरी भविष्यको योजना बनाइरहेका छौं ।’ वैदेशिक रोजगारीका लागि सरकारले एक सय आठ वटा मुलुक खुल्ला गरेको छ । थप दुई मुलुकको प्रस्ताव श्रम मन्त्रालयमा अड्कीएपनि वैदेशिक रोजगारीमा जानेको संख्यामा कुनै कमी छैन ।
सप्तरीको कमलपुर गाविसका विनोद पौडेल युएइमा कार्यरत छन् । उनका भाई खगेन्द्र पौडेल भने बहराइन पुगेका छन् । विनोदले लामो समयसम्म युएइमा काम गरेपछि खगेन्द्र पनि वैदेशिक रोजगारीमा आकर्षित भएका थिए । खगेन्द्र भन्छन्,‘एक जनामात्र हैन, दुवै जना नै वैदेशिक रोजगारीका लागि जाँदा उपयुक्त हुने देखेर म पनि आएको हुँ । आम्दानी ठिकै छ, राम्रोसँगै काम भइरहेको छ ।’ आफन्तको आम्दानी राम्रो र आफ्नो कम भएका कारण पनि कतिपय युवाहरु वैदेशिक रोजगारीमा हानिएका छन् । तर, यसले समग्र परिवारको आम्दानीमा भने राम्रो असर पारेको छ ।
सुनसरीको तरहराका दिपक भारती कोरियामा कार्यरत छन् । उनका दाजु सागर भारती भने युएइमा छन् । ‘दाई म भन्दा अघिदेखि वैदेशिक रोजगारीमा लाग्नुभएको थियो । मैले वहाँको आम्दानी देखें, मेरो पनि राम्रो आम्दानी गर्ने सोचले अहिले कोरियामा कार्यरत छु ।’ भारती भन्छन्,‘यसरी कोरियामा आउने धेरै दाजुभाई र श्रीमान्श्रीमति पनि देखेको छु मैले ।’ विदेशमा काम गर्दा दुख पाएकाहरुमात्र छैनन् । काम गर्नु असहज हुने भएकैले दुखको संज्ञा दिनु स्वभाविक ठान्दै परिवारसँगै काम गर्नेहरुपनि उत्तिकै छन् । कोरियामा कृषिमा कार्यरत वाग्लुङ अधिकारी चौर–९ का एक दम्पत्ती सुखी ठान्दछन् आफुलाई । तीन वर्षअघि कोरिया पुगेका दिपक पुनः की श्रीमति भागो पुनः पनि आठ महिना अघि सोही ठाउँमा पुगिन् । राम्रो आम्दानी र सुरक्षित भविष्यको सपना बोकेर उक्त दम्पत्ती अहिले त्यहाँको कृषि फार्ममा कार्यरत छन् । दम्पत्ती भन्छन्–‘राम्रो कामका लागि आएका छौं, परिवारको भविष्य राम्रो बनाउने लक्ष्य छ हाम्रो ।’
ऋार्थिक अवस्था ठप्प भएको मुलुकमा कुनैपनि व्यवासाय आयमुलुक हुन नसक्ने देखेकै कारण विदेशिएको प्रतिक्रिया दिन्छन् उनीहरु । राम्रो आम्दानी र सुरक्षित भविष्यका लागि बरु परिवारका सदस्यहरु सवै वैदेशिक रोजगारीमा गए राम्रो हुने सुझाव पनि उनीहरुको छ । तर, सवै विदेशिँदा नेपाल श्रमशक्तिविहीन हुने खतरा बढ्दै गइरहेको छ । दिपक पुन भन्छन्–‘बेलैमा लगानी गरी त्यसको प्रतिफल पाउने व्यवस्था गर्न सरकार सवल होस ।’

समस्याग्रस्त ओमबहादुर

वैदेशिक रोजगार भन्नासाथ आँखा चिम्लिएर मुलुक छाड्नेहरुको ताँत कम छैन । राजधानीमा रहेका एक हजार भन्दा बढि म्यानपावर कम्पनीहरु, राजधानी बाहिर रहेका त्यसका शाखा कार्यालयहरु र वैदेशिक रोजगार विभागमा लागेको लामलाई हेर्ने हो भने दैनिक विदेशिनेको संख्याको अनुमान गर्न कठिन हुन्छ । सवै रोजगारीका लागि मुलुक छाड्ने मनसायमा बसेका छन् । तर, जति संख्यामा मुलुक छाड्नेहरु बढिरहेका त्यसरी नै रोजगारीका क्रममा संकटमा पर्नेहरु कम छैनन् ।
रोजगारीका लागि विदेश पुग्नासाथ नेपाली कामदारको समस्याका रुपमा देखिएको छ, स्वास्थ्य परिक्षण । नेपाली स्वास्थय संस्थामा ठिक देखाएपनि विदेशमा स्वास्थ्यमा समस्या देखाएपछि लाखौं लगानी गरेर गएपनि उनीहरु अलपत्र अवस्थामा पर्ने गरेका छन् । वैदेशिक रोजगारबारे राम्रोसँग नबुझी जाने र गलत बाटोबाट जाँदापनि उनीहरुले समस्या भोग्नुपरेको छ । कतारमा यस्तै समस्या झेलीरहेका छन्, ओम बहादुर घतिर्मगर ।
तीन महिना अघि कतार पुगेका दाङे घोराहीका घर्तिमगरले हतरामा स्वास्थ्य रिपोर्ट नै नगरी कतार पुगे । एजेन्टको हतारोमा भर परेर कतार पुगेका उनी अहिले न काममा लाग्न सकेका छन् न घर फर्किन नै । टिकटको व्यवस्था भए घर फर्किने आशमा अहिले उनी कतारस्थित नेपाली दुतावासको शरणमा छन् । गत आइतवार दुतावासको शरणमा पुगेका २३ बर्षिय घतिर्मगर फिर्ति टिकटको बन्दोबस्तीका लागि अपिल गरिरहेका छन् । एजेन्ट बलबहादुर बुढालाई ७५ हजार रुपैयाँ बुझाएर एक स्थानिय कम्पनीमा ड्रराइभरको कामको लागि उनी कतार पुगेका थिए । एजेन्ट र म्यानपावर कम्पनीले ‘मेडिकल टेस्ट’ नगरी कतार पठाउँदा आफू समस्यामा परेको उनको गुनासो छ । भने,‘सवै कुरा थाहा थिएन हतारमा पठाए अहिले मैले दुख पाएँ ।’
काठमाडौंमा भाडाको सवारी चलाउने काम छाडेर वैदेशिक रोजगारीमा जाँदा दुख पाएको उनको गुनासो छ । भन्छन्,‘धेरै कमाउने आशामा आइयो, भएको पैसा पनि सकियो ।’ उनलाई रोजगारीका लागि तय गरिएको कम्पनीले मेडिकल फेल भनेर काममा नराखेपछि उनको विचल्लि भएको हो ।


काममा जानेलाई टिप्स

वैदेशिक रोजगारीमा जानुपूर्व सम्बन्धित सवै संस्थाको आधिकारीकता र सरकारी निकायको सल्लाह बमोजिम जानुपर्ने हुन्छ । यदि तपाई वैदेशिक रोजगारीको शिलशिलामा हुनुहुन्छ भने निम्न कुराहरुमा विशेष ध्यान दिनुहोला ।

–वैदेशिक रोजगार विभागमा दर्ता भई इजाजतपत्र लिएका म्यानपावर कम्पनीबाट मात्र काम गर्नुहोला । त्यस्ता कम्पनी मार्फत काम गर्दा सरकारले तोकेको न्युनतम पारिश्रमिक र लागत खर्चका बारेमा बुझ्नुहोला । अन्यथा ठगीमा पर्ने खतरा हुन्छ ।
–सरकारी मान्यताप्राप्त स्वास्थ्यसंस्थामा जाँच गराएरमात्र जानुहोला । विदेश पुगेपछि समस्यामा नपर्नेगरी स्वास्थ्य परिक्षण नगराउँदा समस्यामा परिन्छ ।

–नेपाली विमानस्थलबाहेकका अन्य विमानस्थलको बाटोबाट तपाई वैदेशिक रोजगारीका लागि जानु हुँदैछ भने ठगीमा पर्नुभएको छ । नेपाली मार्गबाटमात्र जानुहोला ।

–व्यावसायीक वा भिजिट भिसामा रोजगारीमा जानु हुँदैन । रोजगारीका लागि आउने भिसामा मात्र जानु उपयुक्त हुन्छ ।

–आफुले बुझाएको रकमको व्यहोरासहितको भरपाई लिनु अनिवार्य छ । विमा, श्रमस्वीकृति र अन्तिम श्रमस्वीकृति पनि अनिवार्य छ । तपाइले कारोबार गरेको संस्थाको दर्ता बुझेर परामर्शदातासँग परामर्श अनिवार्य लिनुपर्दछ ।

–विभिन्न सञ्चारमाध्यममा म्यानपावर कम्पनीका नाममा छापिएका विज्ञापन सही भए नभएको बुझेरमात्र रोजगारीका लागि तयार हुनुपर्दछ । गलत विज्ञापन छपाएर पनि ठगी हुनसक्ने भएकाले वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको सचिवालयमा बुझ्नु अनिवार्य जस्तै हो ।
(आजको शुक्रबारमा प्रकाशित)

सहमतिको ‘रिफ्रेन्स’मा कमजोर निर्णय


विनोद ढकाल 
काठमाडौं-सरकारल संविधानसभाको नयाँ निर्वाचन वैशाखमा गर्ने निर्णय गरेको छ । संविधानसभा अवसानको १५ मिनेटअघि गएको जेठ १४ गते मंसिर ७ मा नयाँ संविधानसभा निर्वाचन गर्ने निर्णय सरकारले गरेको थियो । 
राजनीतिक सहमति जुटाउने ‘रिफ्रेन्स’मा गरिएको यस्तो निर्णय सरकारका लागि सहज बनेको छ तर यसले नागरिक तहमा फेरि पनि निराशा पैदा गरेको छ । सरकारको यो निर्णयले फेरि पनि निकासको कुनै संकेत गर्दैन ।  
सरकारको नियमित कामजस्तो गरी संविधानसभाको चुनावका लागि आफैँले घोषणा गरेको समय सार्नु आफ्नै निर्णय कार्यान्वयन गर्न नसकेको असफलता हो । सत्ता सञ्चालनको निरन्तरताका लागि गरिएको यो निर्णयलाई नागरिक तहले पनि वाञ्छनीय मानेको छैन । र, संविधानसभाको निर्वाचन गर्ने निर्णय राजनीतिक दलको बैठकको मिति तोक्ने र सार्ने जस्तो होइन । 
घोषित संविधानसभा निर्वाचनको मिति आउनु दुई दिनमात्रै अघि भएको मन्त्रिपरिषद्को निर्णय आश्चर्यजनक छ । मंसिर ७ गते निर्वाचन हुन नसकेपछि अब सरकारले आफ्ना निर्णयको मिति सार्ने भन्दा पनि नयाँ राजनीतिक सहमतिको विन्दुका लागि अपिल गर्नु आवश्यक छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो असफलता स्वीकार गरी नयाँ सहमतिका लागि आहृवान गर्नुको विकल्प छैन । वैशाखमा संविधानसभा निर्वाचन गर्ने भन्ने ‘बकम्फुसे’  निर्णय सरकारको वैधानिकतामाथिको प्रश्न पनि बनेको छ ।
सरकारको निर्णय कार्यान्वयन नहुन सरकार प्रभावकारी नहुनु हो । आफ्ना निर्णयहरू कार्यान्वयन नगर्ने र मार्ग खुला नछाड्ने प्रवृत्तिले राजनीतिक निकास दिन सक्दैन । यस्तो सरकारले विकास, अग्रगति र न्यूनतम काम नहुँदा जनताको सरकारप्रतिको अपेक्षा पूरा हुँदैन । जनसाधारणको अपेक्षा पूरा गर्न नसक्ने सरकार रहिरहनु लोकतान्त्रिक व्यवस्थाको उपहास हो ।  
विपक्षी दलका नेताहरूले सरकारको निर्णय कमजोर र सत्तामा टिकिरहने योजनाअनुसार आएको टिप्पणी गरेका छन् । आन्दोलनमा उत्रिएका उनीहरूले सहमतीय नयाँ सरकार बनाउने अठोट गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला भन्छन्, ‘सरकारको राजनीतिक नैतिकता सकिएको छ । विश्वमा कहीँ पनि बारम्बार संविधानसभाको चुनाव हुँदैन, यहाँ त घोषणा गरेको मिति पनि सारिरहेका छन् । यो एक दलीय शासन र सत्ताकब्जाको योजना हो ।’
सरकार बहुदलीय संयन्त्रमा रहे पनि सत्तास्वार्थले सहमतीय विन्दुबाट भागेको देखिन्छ । नेकपा एमालेका नेता भीम रावल भन्छन्, ‘यो निर्णय मुलुकलाई द्वन्द्वमा फसाउन र सत्तामा टिकिरहने खेलमात्र हो । दलहरूलाई सहमतिबाट टाढा राख्ने षड्यन्त्र भइरहेको छ ।’ सरकार नागरिकको विश्वासको कडी भएका कारण लामो समयसम्म असफल निर्णय व्यहोर्नु दुःखदायी मात्र हुन्छ । महँगी, भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारको नैतिक कार्यावधि स्वतः सकिएकै हुन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे भन्छन्, ‘नीतिगत निर्णयमा चुकेका छौँ हामी । प्रधानमन्त्री डा. भट्टराईलाई सिंहदरबार भित्र–बाहिर हुन दिनु हुँदैन ।’
एकातिर विपक्षी दलहरू आन्दोलनमा लागेको अवस्था, अर्कातिर मजधारमा रहेका दलहरूको नयाँ सहमतिको आशा र जनजीविकाप्रतिको चासोलाई लत्याएर एकाधिकार रूपमा सत्ता सञ्चालन गर्नु लोकतान्त्रिकको उपहास हो । लोकतन्त्रमा सरकारले घोषणा गरेको निर्वाचनमा जनताले मत हाल्न पाउनुपर्दछ । फेरि पनि मंगलबार सरकारले गरेको निर्णय कमजोर ठहर हुन्छ । 

६, कंसिर २०६९ बुधबारको हिमालय टाइम्स दैनिकमा प्रकाशित समाचार विश्लेषण हो । 

Friday, November 16, 2012

थप्पड प्रकरणको प्रभाव

.....................
सतही रूपमा यस्ता घटना चाखलाग्दा हुनसक्छन्, व्यंग्यका विषय बन्न सक्छन् तर यस्ता घटनालाई बढावा दिनुचाहिँ नागरिक आफैंमाथि हानिको सम्भावित जोखिम हो ।  
                                                                                            ........................


विनोद ढकाल
काठमाडौ–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुुष्पकमल दाहालमाथि शुक्रबार आक्रमण भयो । पूर्वलडाकु पदम कुँवरले उनीमाथि आक्रमण गरे । निमेषमै सामाजिक सञ्जाल, अनलाइन अखबार, विद्युतीय सञ्चारमाध्यमहरू तथा दिवा छापामाध्यमबाट सनसनी भयो । कुँवरको नाम पनि दाहालसँग जोडिएर आयो । धेरैका प्रतिक्रिया आवेशपूर्ण छन् भने थोरैमात्र संयमित छन्, नागरिक तहमा । कुँवरलाई बधाई दिने क्रम एक सेलिब्रिटीको जस्तो भयो ।
हतियारको लामो राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको एकीकृत नेकपा माओवादीको शान्तियात्रा त्यति सुखद र गुलियो थिएन ।
संविधानसभा विघटनयता निकासको बाटो दिन दलहरू र एमाओवादी अध्यक्ष दाहालको भूमिका कमजोर हुनुले अनिर्णयको बन्दी भएको मुलुकमा यस्ता घटनामा नागरिक तहको सहानुभूति कम हुन्छ । तर, लोकतान्त्रिक मूल्य र मान्यताका दृष्टिमा आक्रमण जायज हुनसक्दैन । यस्तो घटना कुनै व्यक्ति विशेष चर्चामा आउनका लागि गरिएको सुनियोजित नै हुन्छ । एमाओवादी पदाधिकारी बैठकले गरेको दलविशेषको सुनियोजित आक्रमणका रूपमा पनि व्याख्या हुने घटना होइन यो । एमाओवादीले यस घटनाबाट पनि राजनीतिक मुनाफा लिनका लागि यस्तो प्रतिक्रिया दिए पनि यस्तो आपराधिक प्रवृत्ति ‘कपी क्याट टु क्राइम’ हो ।
दाहाल अघि नेपाली कांग्रेस सभापति सुशील कोइरालामाथि पनि कपनमा आक्रमण भएको थियो । गत असोज १३ गते मञ्चमा आसन ग्रहण नगराएको भनेर आफ्नै कार्यकर्ता प्रवेश बस्नेतले उनीमाथि आक्रमण गरेका थिए । यो आक्रमण पनि बस्नेतको चर्चामा आउने होड र लहडले अभिप्रेरित थियो । आक्रमण गर्नुको कारणले नै यो पुष्टि हुन्छ ।
त्यस्तै, एमाले अध्यक्ष झलनाथ खनालमाथि पनि इटहरीमा यस्तै आक्रमण गरेका थिए, देवीप्रसाद रेग्मीले । उनी लामो समयसम्म मिडियामा छाए ।  खनालको लामो राजनीतिले भन्दा उनको एक थप्पडले उनलाई चर्चामा ल्यायो । यस्ता घटनाले मिडियालाई चाहिएको ‘स्टन्ट’ र आम व्यक्तिले अपेक्षा गरेको चर्चा दुवै पूरा हुन्छन् ।
खनाललाई थप्पड हान्ने रेग्मीमाथि एउटा नजिर बस्नेगरी कारबाही गरिएको भए संभवत पूर्वसभासद् झक्कु सुवेदीमाथि आक्रमण हुने थिएन । सुवेदीलाई आक्रमण गर्नेमाथि कानुनी उपचार गरिएको भए कांग्रेस सभापति कोइरालामाथि आक्रमण हुने थिएन । र, दाहालमाथि पनि यस्तो आक्रमणको नियति आउने थिएन । सतही रूपमा यस्ता घटना चाखलाग्दा हुनसक्छन्, व्यंग्यका विषय बन्न सक्छन् तर यस्ता घटनालाई बढावा दिनुचाहिँ नागरिक आफैंमाथि हानिको सम्भावित जोखिम हो । 
सामान्यतया नागरिक तहमा यो एउटा गजबको खबर त बन्दछ तर यसका दूरगामी असरहरू छन् । राजनीतिक संक्रमणमा रहेको मुलुकमा निकासका लागि हामी उनै नेताहरूको मुख ताकिरहेका छौं र उनीहरूसँग प्रत्यक्ष साक्षात्कारबाट निकासको बाटो सोध्छौं तर यस्ता घटनाहरूले नेता र जनताबीचको दूरी बढाउने काम गर्दछ । नेताहरू सार्वजनिक कार्यक्रममा जान सतर्क हुन्छन्, जसले नागरिकको साक्षात्कार दुर्लभ हुन्छ । यस्ता घटनामाथि ‘तत्कालिक पीडक’ माथि देखाइने सहानुभूतिको प्रभाव वा यस्ता घटनाका दोषीलाई सजाय माफी गराउने बल पु¥याउने प्रवृत्तिले राजनीतिक नेता र जनताको दूरी बढाउँछ । लोकतन्त्रमा विरोध गर्ने अधिकार हुन्छ तर आक्रमणको अधिकारचाहिँ कसैलाई हुँदैन । 
एक राजनीतिक दलले अर्कोमाथि गर्ने गलत व्यवहार र टिप्पणीले पनि नागरिक सभ्यतामा ह्रास आउने गर्दछ । नागरिकहरू आफूलाई समाजमा स्थापित गराउनका लागि फरक विचार राख्न सक्छन् । त्यसका लागि चाँडो चर्चामा ल्याउने यस्ता असभ्य कामहरू बढ्न सक्छन् । र, त्यसलाई राजनीतिक दल आफैंले पनि बल पु¥याएका छन् । एकले अर्कालाई गर्ने टिप्पणीहरू पनि स्वस्थ्य र आशाजनक भए त्यसले नागरिकको हौसला बढाउने छ । गलत राजनीतिक संस्कारमा हुर्किएको प्रजातन्त्रको उपयोग सही हुन सक्तैन । सभ्यतामा हुर्किएको प्रजातन्त्रले समाजलाई पनि सभ्य बनाउँछ । अधिकार सम्पन्न समाज निर्माणसँगै सभ्यता बढ्नु जरुरी हुन्छ । तत्कालीन सभासद विश्वेन्द्र पासवानले संवैधानिक समितिको बैठक कक्षबाट कुर्सी फ्याँकेर आक्रोश देखाए ।  त्यहाँ सभ्यताको आचारसंहिता पालना गराउनमा भएको कानुनी कारबाहीको कमजोरी, भ्रष्टाचारका बारेमा उठेका अनेक प्रश्नको जवाफदेहितामा राजनीतिक दलहरूको कमजोरीले पनि यस्ता घटना दोहोरिएका हुन् ।
यसकारण राजनीतिक दलको शीर्ष तहदेखि नै कानुनसम्मत र न्यायसम्मत व्यावहारिक काम नहुने हो भने यस्ता घटना दोहोरिनेछन् । नागरिकलाई कारबाही गर्ने तर दोषी राजनीतिक दलका व्यक्ति विशेषलाई संरक्षण गर्ने प्रवृत्तिले पनि यस्ता घटना नदोहोरिने होइनन् । न्यायका लागि सबैको भूमिका सबै ठाउँमा सही हुनुपर्ने आवश्यकताको कडीका रूपमा पनि यस्ता घटना देखापरेका हुन सक्छन् ।
हिमालय टाइम्स दैनिकमा शनिबार, मंसिर २ मा छापिएको समाचार टिप्पणी

Sunday, November 11, 2012

गीत

अव्यय मात्र बाँकी रह्यो, सम्झनाका रुपमा 
पाइला अविरल छन् हिमनदि र धूपमा

जीवन संघर्ष हो की संघर्ष जीवन हो 

मजधारमा उभिएको छु, थिग्रिन गाह्रो भो ।
 

 टिपौं टिपौं लाग्ने यौवन चुडिएको बेला
आफ्ना आफन्त र प्रित छुटिएको बेला
एउटा विगत सम्झिएर कल्पिन साह्रो भो
मजधारमा उभिएको छु, थिग्रिन गाह्रो भो ।

बालापन उधारोमा माग्ने कडी सकियो
किशोरमा फर्काउने घडी पनि अडियो
वेदनालाई पोख्ने दिन नै अँध्यारो भो
मजधारमा उभिएको छु, थिग्रिन गाह्रो भो । 

  
गीत शव्द : विनोद ढकाल (डी. विनोद)

Saturday, November 10, 2012

बाबुराम माथि एक टिप्पणी

विनोद ढकाल
माओवादीहरु अरुको अस्तित्व स्वीकार गर्न सक्तैनन् । र, आफ्नै अस्तित्वको खोजीमा आफैंभित्र विद्रोही भएर जान्छन् । बाबुराम भट्टराईको राजनीतिक ‘माग’लाई पुष्पकमल दाहाल प्रचण्डले जसरी कमजोर बनाइदिए । उनी यतिधेरै आलोचनामा जकडिएका छन् की आगामी लामो समयसम्म नेपालीजनले उनको नेतृत्वको सत्ता स्वीकार गर्ने सम्भावना कमैमात्र छ । यो, कम्युनिष्टहरुको नियती नै हो । त्यसमाथि निरक्षरहरुको भीड बटुलेको माओवादीका लागि दिर्घकालिन खतराको घण्टी रोक्ने अस्त्रका रुपमा प्रचण्डले यस्ता कयौं प्रयोगहरु ग्रिरहेका छन् । जो सत्ताको वरिपरि जहिलेपनि बजीरहन्छ । प्रचण्डका लागि खतरा बन्दै गएको मोहन वैद्य अलग्गिएपछि दिर्घकालिन नेतृत्वको सपना देखेका प्रचण्डका लागि बाबुराम जति आलोचित हुनेछन् त्यति नै राजनीतिक फाइदा हुनेछ । तर, बाबुराम आफैंपनि लोकतान्त्रिक व्यवस्थामा अधिक पूर्वाग्रही भएका कारण उनीमाथिको जनसाहानुभुती कमजोर हुँदै गइसकेको छ ।
राजनीतिको खास अर्थ राज्यको नीति हो । यो कुनै दर्शनकानाममा राज्यलाई व्यवाहारिक बन्धनको चारघेराभित्र राख्ने चरित्रको अथवा त्यस चरित्रलाई चित्रण हुनेगरि साशन गर्ने प्रवित्तिको हुनु हुँदैन । विश्वबजारको प्रजातान्त्रिक मुल्यमान्यतासँग निरन्तर र परस्पर रुपमा परिचित राज्यका जनताले चाहेको स्वतन्त्रता, विकास र राजनीतिक व्यवस्थाप्रति राजनीतिक दलहरु चनाखो नहुने हो भने जुनसुकै वेला जोसुकै वादको पनि पतन निश्चित छ । प्रायःगरी माओवादीहरुले भन्ने गरेका छन् सवै कुराको अन्त्य हुन्छ । यो विज्ञानको नियम हो । र, मनोविज्ञानको नियमलाई उनीहरुले आत्मसाथ गरेनन् भने यहाँ शताव्दि अघिका क्रान्तिका भाषणले आफू स्थापित हुन सकिन्छ भन्ने काल्पनिक ध्येय पाल्नु बेकार हुनेछ । जसरी एकढिक्का रहेको पार्टी विभाजन भयो, यो एउटा नियती हो । गणतन्त्र कुनै नेताको भाषणले स्थापित भएको होइन, स्वतन्त्रताको खोजीमा उर्लिएको वस्ती–बस्तीको माग थियो । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस वा नेकपा एमाले अथवा मधेसी मोर्चा यी नामका समुहहरुको आह्वानमा भएको भन्ने भ्रम नपाले हुन्छ । यस्तो हुने थियो भने आज दल–दलमा आन्तरिक प्रजातन्त्रका लागि नेता विरोधमा नेता उत्रने थिएन । नेता विरोधमा कार्यकर्ता व्युँझने थिएन । आलोचना हुने थिएन । अहिलेपनि राजनीतिक दलहरुमा विरोधका ज्वारभाटाहरु कहिलेकाँही अति नै कम्पनका साथ निस्कने गरेका छन् । त्यसप्रकारको व्यवाहारको खिलाफमा उठेको विरोध नै विद्रोह हो । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पद्दतीको चारघेरामा जनताका मनोकांक्षालाई कैद गर्न खोजेका थिए जसको प्रतिवाद र प्रतिरोधको कारण आज उनी निर्मलनिवास वरिपरि थिए । तर, कमजोर राजनीतिक व्यवस्थाकाबीच सहानुभुति बढ्दै जाँदा आज खुल्ला मैदानमा उनका समर्थकहरुको भीँड बढ्नुचाँही राजनीतिक कुरीतिको उपज हो । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि भनेका छन्–‘माओवादीको राजनीतिक बन्धिकरणले ज्ञानेन्द्रको सक्रियता बढ्यो ।’ तर, यो सवै राजनीतिक दलले निकास दिन नसकेको उपज र ज्ञानेन्द्रले लोकतन्त्रको अधिकार उपभोग गरेको अवस्था हो । यसमा धेरै टिप्पणी गरेर राजनीतिक दलहरु आफ्नो कमजोरी लुकाउने प्रयत्नमा छन् ।
खासगरी राज्य आफ्नो कमजोरीलाई धम्कीपूर्ण शैलीबाट अभिव्यक्त गरिरहेको छ, ज्ञानेन्द्रको विषयमा । प्रजातान्त्रिक मान्यतामा यो कति जायज हुन्छ । अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकारभित्र     पर्ने हुँदा कुनै व्यक्ति विशेषको अभिव्यक्तिमाथि सरकार प्रमूखको चेतावनीपूर्ण टिप्पणी कति जायज हुन्छ ? विचरण गरौं । खासगरी पछिल्लो पटक आएको प्रधानमन्त्रीका हैसियतमा बाबुराम भट्टराइको अभिव्यक्ति ।
एउटा असामान्य आशाको किरणका रुपमा सर्वमान्य सहमतिका आकांक्षा थिए बाबुराम भट्टराई । गोरखाको सामान्य परिवारमा हुर्किएकै कारण जनताको वास्तविकता र न्यायका लागि उनको प्रशासनिक मान्यता अडिलो हुने अधिक विश्वास पनि थियो । जसै उनी सत्ताको मुल नेतृत्वमा पुगे र यात्रालाई निरन्तरता दिइरहेका छन्, उनको व्यवाहार आलोचनाभन्दा अरु केही पनि हुन सकेको छैन । सत्ता नागरिक हक अधिकार र न्यायको प्रयोगका लागि हुन्छ, त्यसकारण लोकतन्त्र र त्यसको आवश्यकीय सरकार । तर, बाबुरामले सरकारलाई पार्टी र जनतालाई कार्यकर्तामात्र सोच्ने प्रवित्तिलाई हावी बनाएका छन् ।
भट्टराईको राजनीतिक जीवनको मजधारदेखि उनी राजसंस्थासँग पूर्वाग्रही छन् । उनका अनेक लेखहरु, विचारहरुमा दरबारसँगको सहकार्य अथवा साहानुभुतीका संकेतहरु देखा पर्दैनन् । राजाविनाको मुलुक कल्पना गरेकै कारणपनि माओवादीभित्र पनि दरबारसँगको सहकार्यको विरोध गर्नाले कयौं पटक कारवाहीको भागीदार बनेका थिए । उनको भुमिगत राजनीतिक कार्यकाल र खुला राजनीतिक जीवनमा पनि दरबारसँगको वैचारिक मतभेद कायमै थियो । सिद्धान्ततः दरबारसँगको उनको विमतिको विजय गर्नका लागि ०६२÷०६३ को जनआन्दोलन सहयोगी बन्यो । १२ बुँदे दिल्लि सहमतिका आधारमा भएको आन्दोलनले उनको सहानुभुतीमा पर्न नसकेको राजसंस्थाको पतन त्यसबेला स्वभाविक थियो । तर, गणतन्त्र स्थापना भइसकेपछि इतिहाँसका रुपमा रहेका राजा, अथवा पूर्वराष्ट्रप्रमूखप्रति उनको पूर्वाग्रही र विचलित मानसिकता अहिले पनि कायम छ । तर, लोकतन्त्रमा यसलाई बाञ्छनीय मान्न सकिन्न । नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहप्रति बाबुरामले बेलमौका दिने गरेको चेतावनीयुक्त अभिव्यक्तिको तुक निक्कै कमजोर बन्दै गइरहेको छ । ज्ञानेन्द्रले आफ्नो भ्रमणका क्रममा दिएको टेलिभिजन अन्तरवार्तापछि उनले कारवाही गर्ने चेतावनी दिएका थिए । तर, व्यवहारमा लागु गर्न सकेनन् । पछिल्लो पटक ज्ञानेन्द्रले नवलपरासीमा नेताको शैलीमा भाषण गरेपछि पनि उनले कारवाहीको चेतावनी दिएका छन् । यो पनि त्यति अर्थपूर्ण होइन तर टिप्पणी गर्न लायक विषय हो ।
एउटा प्रधानमन्त्रीले कुनै नागरिकको अभिव्यक्तिको स्वतन्त्रतामाथि कारवाहीको चेतावनी दिन्छ भने त्यो लोकतन्त्रलाई स्वीकार गर्नसक्ने नियत बोकेको होइन । त्यसले मुलुकले चाहेको अभिव्यक्ति स्वतन्त्रतामाथि न्याय गर्नपनि सक्तैन । प्रधानमन्त्री बाबुरामले पूर्वराजाको सुविधा खोस्ने चेतावनी दिनु पूर्वाग्रही मनस्थितिको उपजभन्दा केहीपनि होइन । लोकतान्त्रिक मान्यताको उपहास गर्दै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु उनको वैचारिक उचाइसँग समानान्तर राख्न मिल्दैन ।
निरङ्कुशता कुनै व्यक्ति विगतको चरित्रलाई नियाँलेर किटान गरिने चिज होइन । उसको वर्तमानको अभिव्यक्ति र लिडेढिपीलाई मुल्याङ्कन गरेरै तय हुन्छ । व्यवाहारतः ज्ञानेन्द्रको भुमिका अहिले शुन्यप्रायः छ । तर, जनताको संविधानसभा विघटन गरेर एक्लौटी रुपमा सरकार चलाउने बाबुरामको शैली निरङ्कुशताभन्दा फरक छैन । नैतिकता र प्रावधानलाई भुलेर सत्तामा बसीरहने र नागरिकको हैसियतमा उत्रिएका पूर्वराजालाई कारवाही गर्छु भन्ने हैसियतमा ओर्लिनु आफु विरोधीको आवाजबाट तर्सिनुभन्दा अरु केही हुन सक्तैन । एक भारतीय हिन्दु गुरु नेपाल छिरेर आन्दोलनको चेतावनी दिदाँ चुइक्क नगर्ने प्रधानमन्त्री र सरकारी निकायले ज्ञानेन्द्रको भ्रमण र उनको चिन्ताप्रति यत्तिधेरै टिप्पणी किन गर्ने ? स्वभाविक रुपमा सतहमा एमाओवादी विरोधी आवाज बढ्न थालेको छ । भ्रष्टाचारमा लतपतिएको बाबुराम सरकारको विरोधमा आन्दोलनका विगुलहरु फुकिन थालेका छन् । यसबाट तर्सिएका बाबुरामले ज्ञानेन्द्रलाई धम्क्याएर अरुलाई थन्काउने रणनीतिक अभिव्यक्ति दिएको हुनसक्छ तर यसले उनको वैचारिक हैसियतको मापनचाँही गरेको छ, उनी विरोधी आवाजहरुलाई कमजोर बनाएको छैन ।
लोकतन्त्र हो, आम नागरिक, सर्वसाधारणले सरकारको विरोधमा बोल्न पाउँछन् । राजनीतिक दलको गैरचरित्र, भ्रष्टाचारमुखी व्यवाहार र अनिर्णयको बन्दि बनाउने व्यक्तिवादी चरित्रको खण्डन र विरोध गर्न पाउँदछन् । यो नेपालीजनले ४६ सालदेखि प्राप्त गरेको सार्वभौम अधिकार हो । त्यसकारण पनि मुलुकमा ज्ञानेन्द्रको सासन टिकेको थिएन भन्ने कुरा एमाओवादीजनले बुझ्न सकुन ।
बाबुराम भट्टराई अहिले एक पार्टीका नेता वा उनको व्यक्तिगत जीवनमामात्र छैनन् । उनी सार्वजनिक पदमा रहेका कारण उनले दिने अनेक अभिव्यक्तिले राष्ट्रिय राजनीति, नीति र संवैधानिक विषयमाथि असर पुग्दछन् । आफैं सुरक्षा दिएर भ्रमणका लागि वातावरण तय बनाउने उनले ज्ञानेन्द्रको अभिव्यक्तिमाथि टिप्पणी गरेर आफ्ना कार्यकर्ता, जनताहरुलाई वेवकुफ बनाएका हुन् अथवा आफ्नो व्यक्तिगत जीवनमा ओर्लिएर टिप्पणी गरेका हुन् ? प्रष्ट बनाउनुपर्दछ ।




शनिबार एक विहान...

मुस्कान पनि लालयित हुने प्रकारले छाड्दा त्यो अर्थपूर्ण हुन्छ । त्यसको कयौं आकर्षण भेटिन्छन् । आकर्षण, मिलेको शरिरमा भन्दापनि हेर्ने दृष्टिमा निर्भर हुने भएकै कारणले पनि मुस्कानको पहिचान नजरको रससँग भएको हो ।
मुस्कानको सम्बोधन हुँदैन, मुस्कान स्वीकृतिमात्र पनि होइन । त्यो सुन्दरताको पाटो हो । तर, कतिपय अवस्थामा अहम्ताको संकेतका रुपमा पनि देखा पर्दछ । आज निशाको मुस्कान अहम्ताले भरिएका छन् । उसको तन्किएको छालामा रमाउनेहरुका लागि रेष्टुरेन्टमा तन्काइएको ज्यान आकर्षण बन्यो होला । मनभित्र काउकुती र स्याउ टोकेजस्तो उसका अंगप्रत्यङ्ग टोक्ने इश्र्या जाग्यो पनि होला । तर, म उसको दम्भित मुस्कानका अघि उसका सिंगारपटार, लालीका चमक, जुत्ताका उचाई र ढाकिएको शरिरको सुन्दरताको अर्थ देख्दिन । त्यसकारणपनि उमाथि मेरो व्यक्तिगत धारणा खासै पेचिलो बनेको छैन । की, ऊ दामी केटी हो । मानिसहरु उसलाई सेलिब्रिटि भन्न रुचाउँछन् तर उसको व्यावसायिक चरित्र, व्यक्तिगत महत्वकांक्षाले ऊ दामीमात्र हो । अधिक मुल्य पर्ने तर किन्दा पाइने बस्तु दामी हुने भएकैले ऊ दामी हो ।
केही मित्रहरु उसको फिक्का जवानीमाथि वर्षभरीको अनाजको मोल लगाइरहेका छन् । कोही उसको मुल्यमाथि टिप्पणी गरिरहेका छन् । मैले सुनेको छु, आधा लाखको उसको जवानी एक रातमा किन्न सकिन्छ । डाक बढाबढ हुन्छ, जसको मुल्य बढ्दो ग्राफमा उकालो लाग्छ, उसका लागि मात्र उसका पहिरनहरु ओरालो झर्नेछन् । केही साता अघि एउटा अखबारमा निशाको अन्तर्वाता पढ्दा नै उसको घमण्डबारे अड्कल काट्नेहरु कम थिएनन् । सहरमा उसको जति चर्चा छ एक बारगर्लको रुपमा, विछ्यौनामा पनि त्यति नै चर्चा गर्छन् रे, साहु महाजन ।
हो, उसमा पनि जीवन जीउने उर्जाका कतिपय आयामहरु छन् । आफ्ना उर्जालाई उत्तेजनामार्फत पोख्नका लागि कोही लाख खर्च गर्छन्, आफ्नो उर्जालाई स्वभाविक बनाउन उसले लाख लिन्छे रे । ‘यो विश्वभरको रीतमा चलेको चक्रजस्तो हो ।’ कसैले रेष्टुरेन्ट बाहिरबाट साउती मारिरहेको छ । शनिबारको एक विहान त्यो रेष्टुरेन्ट, निशाको जवानीका बारेमा गफिएर सकिएको छ । फेरि, अर्को शनिबार निशाको बारेमा निरन्तर लेखिरहने मौका कसरी मिल्ला ?