Thursday, February 28, 2013

युवा, गाली राजनीति र सेतो ग्रहण


विनोद ढकाल 
गएको साता बुटवलको दृश्य फरक थियो । देशभरीका कुख्यात डनहरु, बहुचर्चित उपनामका नन्दि र भिरङ्गीहरुको भेला भयानक थियो । गाँसका लागि मुस्किल भएको मुलुकमा प्राडो र पँजेरोको कुनै कमी छैन भन्ने विम्ब उक्त दृश्यले देखाइरहेको थियो । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशनको दृश्य फरक, जटिल र भयानक देखियो । एमालेका सवै नेताहरु पनि बुटवलको मञ्चमा पुगेकै थिए । उनीहरुले त्यहाँबाट माहौल उचाल्नका लागि आफुमा भएका वयानबाजीका कुनै कसर बाँकी राखेनन् । नेपालमा मौलाइरहेको गाली राजनीतिले त्यहाँ पनि निरन्तरता पायो । विचारभन्दा पनि गाली गरेर राजनीतिमा अगाडी बढ्न सकिन्छ भन्ने नियतलाई कायम राखियो । एकीकृत नेकपा माओवादीलाई सकुञ्जेल गाली गरेर नेताहरु फर्किए । यो निरन्तरता युवा संघ नेपालमा पनि कायम देखियो । युवा संघका अध्यक्ष महेश बस्नेतले पनि माओवादीलाई गाली गर्ने कुनै कसर बाँकी राखेका थिएनन् । 
नेपाली राजनीतिमा बजारीकरण गर्न थालिएको गाली राजनीति र युवा संघ नेपालको नयाँ नेतृत्वको जुन परिणाम बाहिर आयो यसले नेपाली युवा आन्दोलन अथवा युवा राजनीति कतातिर जाँदैछ भन्ने बहसलाई खुल्ला बनाएको छ । वैचारिकशुन्यतालाई कायम राख्दै वलबाहुको राजनीतितिर छिरेको युवा आन्दोलनले युवाका खास मुद्दालाई अव कसरी उठाउला ? भन्ने एउटा प्रश्नपनि छाडेको. छ । खयर, नेकपा एमाले भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व फेरि पनि महेश बस्नेतको पोल्टामा परेको छ । लोकतान्त्रिक पद्दतीबाट भएको चुनावी प्रकृयामा उनको जीत अनिवार्य स्वीकार्य छ । बस्नेतको जीतसँगै उनको बहुमत प्यानलको जीतलाई पनि नकार्न मिल्दैन । किनकी ती सवै लोकतान्त्रिक पद्दतीबाट निर्वाचित भएर आएको पदाधिकारीहरु हुन् । तर, बस्नेतका पदाधिकारीहरुको राजनीतिक पृष्ठभुमी, तिनको विचारको तह र तिनको नेतृत्वबाट युवा राजनीतिक कतातिर वामे सर्ला ? यो अहिलेको गहन प्रश्नचाँही बनेको छ । यो प्रश्नको बहस युवा संघको आगामी कार्यकालले व्यवाहारिक रुपमा देखाउने क्रियाकलाप, वैचारिक दृष्टिकोण र नयाँ दिशाको यात्रामा भर पर्ने कुरा हो । 
यदि अर्को पार्टीको गुण्डागर्दीलाई शुन्यमा झार्नका लागि फरक पार्टीमा गुण्डाहरु बहुमत रुपमा संस्थागत गराएर राजनीतिको तागतलाई प्रस्तुत गर्ने हो भने यसले कानुनी राज्यको उपहासभन्दा अरु केहीपनि गर्दैन । डा. बाबुराम भट्टराइको मन्त्रीपरिषदले हत्याराहरुलाई आम माफी दिनु र नेकपा एमालेले भ्रातृ संगठनका नाममा विचारशुन्य समुह, झुण्डलाई संस्थागत गर्नुमा केहीपनि फरक छैन । त्यस्तो विजय जहाँ विचारशुन्य र बलबाहु प्रभावी हुन्छ त्यो मुस्तण्डाहरुको महाभेलाभन्दा अरु केही हुनै सक्तैन । यो कुरालाई एमालेले विचार गर्न सकोस् । खासगरी युवा संघका नेता बस्नेतले यो विचारको मन्थन गर्न सकुन् । युवा संघलाई चर्चामा ल्याउने व्यक्ति बस्नेत हुन् तर कुन हिसावबाट चर्चामा आएको थियो ? कुन पृष्ठभुमीबाट चर्चाको शिखरमा पुग्यो ? यो विषयलाई अन्तरसंवाद गर्नु अनिवार्य बनेको छ । 
यदि युवा आन्दोलनको इतिहाँसका फेहरिस्त पल्टाउने हो भने स्वर्णिम कालमा वितेको पाइन्छन् । नेपाली लोकतान्त्रिक आन्दोलनका पर्यायहरुलाई विमर्श गर्ने हो भने गतिलामात्र भेटिन्छन् । युवाआन्दोलको इतिहास लामो छैन । यद्दपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासक विरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक मानिन्छन् । अरु पनि थुप्रै ब्यक्तिहरुले विभिन्न रुप, शैली र तरिकाबाट आन्दोलनहरु गरेका थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  । त्यस्ता आन्दोलनहरुको प्रेरणाले नेपाल प्रजापरिषद्, राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको गठन होस् या २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना र २००७ सालको क्रान्ति यी सवै तत्कालिन युवाहरुको साहस, अगुवाई र पहलकदमीका गतिला परिणामहरु थिए । 
राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर कमरेड पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । 
२०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो  वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए । सोही आन्दोलनले पञ्चायती ब्यवस्थालाई सदाका लागि अन्त्य गरेर मुलुकमा वहुदलीय ब्यवस्थाको स्थापनाको आधारभुमि खडा गरेकोे थियो । तर अहिले अवस्था विकलुकल फरक छ । 
संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने अवसरमा हामी युवा आन्दोलनको गतिलाई नियालिरहेका छौं । यो पल्ट देखिएको युवा संघ पदाधिकारी नेतृत्वले दुईटा कुराको नजिर बनाउन सक्छ । पहिलो, अव युवा संघ भनेको विचारशुन्यहरुको बाहुबलमा संरक्षक भुमिकामा चली मुुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहिनता, धम्की, असुली, टेण्डरलगायतका ठाउँमा आफ्नो एकल र संस्थागत कव्जा । दोस्रो, विचारशुन्य समुहलाई राजनीतिक रुपमा विकास गरी लोकतान्त्रिक चरित्रको निर्माण गर्ने काम । दोस्रो प्रयासमा युवा संघको सफलता हँुदा एमालेको वैचारिक राजनीतिले दूरगामी असर बनाउन सक्छ तर पहिलोको निरन्तरता पायो भने एमालेको राजनीतिक भाग्यरेखाको आयु घट्दै जाने निश्चितप्रायः छ । युवा संघ युवाहरुको साझा मुद्दाको आधारकेन्द्र बन्नुपर्ने अनिवार्यता अहिलेपनि खड्कीएको छ । किनभने नेपाली युवाको आन्दोलन अहिलेपनि कायम छ । करिव ५० लाख युवा अहिलेपनि रोजगारीका लागि मुलुक बाहिरका श्रमशिविरमा खटिइरहेका छन् । । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ । यी र यस्ता मुद्दा अहिलेका जुझारु युवा संगठनका प्राथमिक बन्न सक्लान् वा सक्तैदैनन् ? यी मुद्दामा अव युवा संघ नेपाल कसरी अघि बढ्ला ? अनेक प्रश्नहरु अनिवार्य बनेका छन् । 
विगतको कार्यकालमा पनि बस्नेत नेतृत्व युवा संघले नै तीन वर्ष हाँकेको समयले त्यति गतिलो परिणाम दिन सकेन । जुध्ने र लड्ने कामले युवाका सवालहरु स्थापित हुन सक्तैनन् । सीमित राजनीतिक अथवा आर्थिक धेयको परिपूर्ति गर्नु समग्र युवाको हितकर काम पनि होइन । यो देखिएको पनि थिएन । युवा राजनीतिले नै भावी राजनीतिको दिशानिर्देश गर्ने भएकाले मुलुकमा हुर्किरहेको युवा आन्दोलनलाई व्यवस्थापन गर्नुपर्ने दायित्व युवा संघले अव लिन्छ की लिँदैन ? ग्रहण अक्सर कालोको प्रतिविम्बमा बुझिन्छ । ब्रम्हाण्डले परिभाषित गर्ने ग्रहणको विशेषता नै अँध्यारो हो । नेपाली राजनीतिमा बढिरहेको युवा आन्दोलन अथवा युवा राजनीति उज्यालो ग्रहण हो । युवाका कारण लोकतन्त्रप्राप्तिका कयन आन्दोलनहरुमा सफलता मिलेको छ तर स्वयम् युवाचाँही लोकतन्त्र उपभोगका कर्ता बन्न सकेका छैनन्, लोकतन्त्र प्राप्तिका कारणमात्र बने । यसकारण युवाहरु ‘सेतो ग्रहण’मा हुर्किरहेको राजनीतिका काला गोटीहरु भएका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस अथवा नेकपा एमाले तीनै ठूला राजनीतिक दलहरुले युवालाई उपयोगवादी व्यवाहारिको शिकार बनाएका छन् । मुल राजनीतिक गुटवन्दि, धेय र अवसरका लागि युवाहरुको भविष्यलाई बलबाहुमा लड्ने हतियारका रुपमा परिभाषित गर्न थालिएको छ । अनि, नेपाली राजनीतिमा हुर्किरहेको अपराधीकरणलाई युवाका नाममा संस्थागत गर्ने प्रयास भइरहेको छ । चाहे त्यो माओवादीको नाममा होस्, कांग्रेसको राजनीतिको नाममा होस अथवा एमालेको भविष्यको गुञ्जायससँग जोडिएको होस् । संस्थागत रुपमा हुर्किको यो सेतो ग्रहणलाई भविष्यको उज्यालो बाटो देखाउन अनिवार्य छ । ग्रहण हटाएर सेतो मार्गबाट युवाआन्दोलन, युवाका मुद्दा, युवाका सवाल, युवा अधिकारका विषयलाई बढाउन सके आगामी बाटो स्वर्णिम हुनेछ अन्यथा आजको युवा राजनीतिको भुलले भोलीको पुस्ता राजनीतिक, सामाजिक, आर्थिक ग्रहणमा बस्न बाध्यकारी हुनेछन् । युवा संघ नेपाल उर्फ महेश बस्नेतले पनि यी कुरालाई नजरअन्दाज नगरुन्, गर्ने छैनन् भन्ने विश्वास गरौं । 

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा सुक्रबार युवा सरोकारको सवालमा मैले लेखेको आलेख 

Sunday, February 17, 2013

कसरी भयो रुष्टताकाबीच यस्तो निर्णय ?

विनोद ढकाल
काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा तीन दल र मधेशी मोर्चाले संस्थागत निर्णय गरेका छन् । शितलनिवासको लामो बैठकपछि शीर्ष नेताहरू अन्ततः प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाउनसबै सहमतिमा पुगे । तिनै दलका अन्य नेताले भने आइतबार आफ्ना रोसपूर्ण अभिव्यक्ति विभिन्न माध्यमबाट दिएका छन् ।
युवा नेताहरूको टिप्पणी हेर्ने हो भने नेपाली राजनीतिको भविष्य सीमित दलका सीमित नेताहरूका हातमा छ र ती नेता विदेशी शक्तिको आडमा चलेका छन् । कांग्रेसका युवा नेता गगन थापाले जारी गरेको विज्ञप्तिमा त केन्द्रीय समितिले पारित गरेको माइन्युटको अंश नै समावेश छ । नेतृत्वले किन आफ्नो केन्द्रीय समितिले गरेको निर्णयविपरीत सम्झौता ग¥यो ? गगन थापा लेख्छन्, ‘नेतृत्वले नेपाली कांग्रेसको हुर्मत लिएको छ । यहाँ सीमित नेताले कीर्ते रूपमा काम गरिरहेका छन् । त्यो निर्णय सम्झौताको विरोधमा शक्तिशाली महासमिति बैठक तुरुन्त डाक्नुपर्दछ ।’
एमाओवादीले त आफ्नो सातौं महाधिवेशनमा प्रस्तावकै आधारमा सहमतिका लागि प्रधानन्यायाधीशलाई अघि सारेको थियो । यसमा एमाओवादीबाट चाहिँ विवाद आएको छैन । महाधिवेशनमै भने नेताहरूले यसको विरोध जनाएका थिए । कांग्रेस र एमालेभित्रका नेताले दिएको प्रतिक्रियाले भने ती दलका शीर्ष नेताले बलपूर्वक उक्त सहमति गरेको प्रष्टिन्छ । केही नेताहरूले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा आफ्नो धारणालाई सार्वजनिक गरेका छन् । एमाले स्थायी समिति सदस्य प्रदीप नेपालले लेखेका छन्, ‘युरोपेली युनियन, अमेरिका र भारतको दबाबमा एमालेले यस्तो निर्णय गरेछ, म नेताहरूबाट यो कुरा सुनेपछि छक्क परें ।’
नेपाली राजनीतिमा चल्दै गरेको विदेशीको हस्तक्षेप बढेको भन्ने तर्क झन् बलियो भएको छ । सूचनाकै आधारमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रोवर्ट पाइपरले ट्वीटरमार्फत नेपाल सरकारको मन्त्रिमण्डलको संख्या नै तोकिदिए । उनले प्रधानन्यायाधीशको नेतृत्वमा कम्तिमा ११ सदस्यीय मन्त्रिमण्डल गठन गरेर निर्वाचनमा जानुपर्ने आफ्नो विचार सार्वजनिक गरेका थिए ।
एमाले सचिव शंकर पोखरेलले लेखेका छन्, ‘शक्तिका लागि आशक्त हुनेहरू आफूभन्दा बलियो शक्तिका उपासक हुन्छन् । जब प्रमुख दलका शीर्ष नेताहरू आफ्नै पार्टीको भावनाविपरीत अघि बढ्न थाल्छन्, त्यतिबेला पार्टीले मात्र नभई मुलुकले पनि संकटको सामना गर्नुपर्दछ ।’
एक अखबारसँगको कुराकानीका क्रममा कांग्रेस नेता डा. रामशरण महतले प्रस्तावको उत्पति खुलाएका थिए । प्रधानन्यायाधीशको औपचारिक सिफारिस एमाओवादीले गरे पनि त्यसको अनौपचारिक प्रस्ताव चाहिँ एमाले अध्यक्ष झलनाथ खनालले गरेको खुलासा उनले गरेका थिए । शितलनिवास बैठकका क्रममा दाहालले प्रस्ताव पार्टीको होइन भनेको कुरातिर उनले इंगित गरे ।
सहमतिका नाममा गैरराजनीतिक सरकार बनाउन शीर्ष नेताहरूलाई कसले दबाब दियो भन्ने कुरामा धेरै गहिरो बहसको आवश्यकता छैन । नेपालका लागि भारतीय राजदूतको राजनीतिक सक्रियता, एमाले बैठकमा भारतीय एजेण्डा स्वीकार नगरौं भन्ने दबाब र नेताहरूले अहिले गरेका विभिन्न टिप्पणी पर्याप्त छन् । एमाले युवा नेता रवीन्द्र अधिकारी लेख्छन्, ‘लोकतन्त्रको मृत्युपत्रमा हस्ताक्षर गर्ने, राष्ट्रिय सहमतिका लागि आफू केही गर्न नसक्ने अनि अन्तर्राष्ट्रिय सहमतिमा जे पनि गर्न तयार हुने निरिह नेपाली नेतृत्वलाई के भन्ने ?’
यी सबै तर्कको भावना केलाउने हो भने नेपाली राजनीतिमा शक्तिको आशमा सार्वेच्चका प्रधानन्यायाधीश पनि मौन बस्ने, राजनीतिक दलका शीर्ष नेताहरू एकलौटी रूपमा निर्णय गर्ने तथा विदेशीले दबाब दिएको कुरा खुलासा हुनुले मुलुकको राष्ट्रिय अस्मिता, राष्ट्रियताको सवाल केबल राजनीतिक खोक्रो नारामात्र भएको पुष्टि हुन्छ ।

Friday, February 15, 2013

राजनीति, सपना र महादेवको कथा


विनोद ढकाल 

राष्ट्रपति रामवरण यादवले स्वतन्त्र व्यक्ति सहित ३३ दललाई छलफलका लागि बोलाएका थिए । देशले निकास दिनका लागि स्वतन्त्र व्यक्तिको चुनावमा सरकार बनाउने हल्ला चलेपछि उनले यसरी सवैलाई बोलाएका थिए । साथमा कानुनका ज्ञाता केदारनाथ उपाध्याय, नागरिक समाजका अगुवा दमननाथ ढुंगाना लगायत ठूला र साना दलका सवै प्रतिनिध सहभागी थिए । राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि नाम प्रस्ताव गरे–‘अव नयाँ प्रधानमन्त्रीमा केदारनाथ जीलाई स्वीकार गरेर जाऔं । सवैको सहमति हुनसक्छ ।’ राष्ट्रपतिको यस्तो प्रस्ताव सुनेपछि ३३ दलकै नेताहरुले त्यो प्रस्ताव स्वीकार गर्न नसकिने बताए । शितलनिवासमा सोबारेमा लामो बहस र विवाद पनि भएको थियो । हल्लायतिविध्न भयो की कसले के बोले भन्नेबारेमा निक्र्यौल गर्न असहज भयो । त्यसबीचमा सवै राजनीतिक दलका प्रतिनिधिमाझ दमननाथ ढुंगानाले भने,‘कति तपाइहरुमात्र देश लुट्ने, हामीलाई पनि लुट्न दिनुस् न ।’ 
उल्लिखित हरफ कुनै यथार्थ विवरणचाँही होइन । वास्तवमा यस्तो भएको थियो या थिएन यो पनि बजारमा आउन सकेको छैन । तर, उल्लिखत हरफ सत्तागठबन्धनमा रहेको जनतादल युनाइटेडका निमित्त अध्यक्ष किरणकुमार मगरको बुधबार रातीको स्वप्न दृश्य थियो । उनी आफ्नो सपनाबारे खुलेर भन्दैथिए,‘राजनीतिको भुत अव सपनामा पनि आउन थाल्यो । स्वतन्त्र व्यक्तिको नामका बारेमा बहस हुनथालेपछि यस्तो सपना आयो । आफैं छक्क परें म ।’ हुन पनि प्रधानमन्त्री कार्यालय सिंहदरबार, निवास बालुवाटार र एकदई पटक शितलनिवास टेकेका मगरका सपनापनि त्यतै वरिपरि विभिन्न प्रकारले घुमिरहेका छन् । तर, मुलुकले निकास पाउने प्रकारको सपनापनि उनले पाएका छैनन्, यथार्थ त उनको सपना भन्दापनि भयावह छ । निर्दलीय व्यवस्थामा जान लागेको मुलुकको संकट कसरी निम्तिने हो त्योचाँही थाहा भएन तर मगरको सपनाजस्तो गञ्जागोल राजनीतिको बारेमा घटनाप्रधान चर्चा अव वाक्कलाग्दो भइसकेको छ । यद्यपि, मुलुकको समस्याको समाधानको उत्तम विकल्प राजनीतिक दलको राज्यसत्ता नै हो, त्यसको विकल्प खोज्दा मुलुक संकटमा पर्नसक्ने अनेक खतराहरु आउन सक्छन् । 
अहिले राजनीतिक दलहरु प्रधानन्यायाधिशको नेतृत्वमा नयाँ सरकार गठन गरी चुनावमा जाने जुन बेतुकको कुरामाथि छलफल गरिरहेका छन् त्यो आफ्नो पोष्टमा आत्मघाती गोल गर्नु, बञ्चराले मुढाको साटो घुँडामा हान्नुभन्दा फरक देखिँदैन । यहाँनेर हिन्दुधर्मग्रन्थमा उल्लेख गरिएको दृष्टान्त उपयुक्त हुनसक्छ । भगवान महादेवले खरानी घस्नका लागि भस्मासुर भन्ने एक असुरको जन्म गराएका थिए । टाउकोमाथि हात राखेर जसलाईपनि भस्म बनाउनसक्ने बरदानको शक्ति दिएर भस्मासुरलाई महादेवले खटाएका थिए । भस्मासुरले केही समय त महादेवको सेवा गरेको थियो तर उसको मनमा आफु बहुशक्तिशाली भएको कुरो पलायो । असुरहरुले उसलाई उचाले । र, उसले महादेवलाई नै भस्म बनाउने योजना बनायो । त्यसपछि महादेव भाग्नुको विकल्प थिएन, उनी विष्णुको शरणमा पुगेर ज्यान जोगाउन अपिल गरे । अहिले दलहरुको चरित्र यो उदाहरणभन्दा फरक छैन । न्यायपालिका र कार्यपालिकामात्र जीवित भएको मुलुकमा दुवै अधिकार एकै व्यक्तिलाई दिँदा ऊ भस्मासुरभन्दा फरक हुन नसक्ला । जसले दलहरु नै संकटमा पुग्ने अवस्थापनि आउनसक्छ र निर्दलीय व्यवस्था हावी हुन सक्छ । हिजो निर्दलीय व्यवस्थाबाट पार लगाउनका लागि जुन आन्दोलनको जगमा बहुदलीय व्यवस्थामा हामी आइपुगेका छौं, त्यसको हत्या गर्नु जनआन्दोलन, जनताको चाहनाको अपमान गर्नु हो । त्यसकारण दलहरु यो अपमानको काममा लागेका छन्– राजनीतिको फाहोरी खेल, चाल र षडयन्त्रमा । यसले उदाउँदो नयाँ पुस्ताको चाहनालाई कुल्चिएकोमात्र छैन, अपमान पनि गरेको छ । 
हामी राजनीतिमा पुस्तान्तरणको अवस्थामा नपुगेका कारणले संक्रमणकालिन अवस्थाका नाममा दलगत स्वार्थको कुटील षडयन्त्रको मारमा परेका छौं । जसले लोकतन्त्र सखाप बनाउने ठूलो चाल चलिरहेका छन् । यो चाललाई रोक्न, चुनौति दिन र सत्ताशक्तिलाई हस्तान्तरणका बाध्यकारी बनाउनका लागि युवाशक्तिको सक्रियताविना असम्भव देखिन्छ । त्यसकारण अव युवाशक्ति मुलधारको राजनीतिलाई प्रभाव पार्नेगरी उदाउन आवश्यक देखिएको छ । 
चीन, जापान र अमेरिकाको विकास इतिहाँसमा युवाशक्तिको ठूलो योगदान रहेको छ । जसका कारण आज उनीहरु विश्वका ठूला अर्थतन्त्र भएका बलिया मुलुकका रुपमा गनिएका छन् । नेपालमा पनि नयाँ पुस्ताको राजनीतिक मुलधारको प्रवेशविनाको विकास कल्पना गर्न सकिँदैन । राजनीतिक लाइनबाटमात्रै उक्त समस्याको समाधान खोज्न सकिन्छ । नयाँपुस्ताले आफ्ना असली युवा नेता छान्ने प्रकृयामा कुनै गल्ती गर्न हुँदैन । युवा नेतृत्वको कुरा गरिरहँदा जुझारु युवादस्ताका रुपमा उदाएको नेकपा एमालेको भ्रातृ संगठन
युवा संघ नेपालको आसन्न आठौं महाधिवेशन सुरु हुन लागेको छ । उक्त महाधिवेशनबाट पनि मुलुक परिवर्तनका एजेण्डाबारे हामी आशा गर्न सक्नेछौं । यसक्रममा युवा संघले ल्याएको उत्पादन, सहकारी, रोजगारी, व्यावसायमा सहभागीतका सवाल राष्ट्रिय राजनीतिका मुर्धन्य दलहरुको नीतिकार्यक्रम भन्दापनि वैज्ञानिक देखिन्छ, जसलाई युवासंघ महासचिव निरज आचार्यले कोरेका थिए । यसले गर्दा वैचारिक रुपमा भोलीका सवल नेताका रुपमा उनलाई लिन थालिएको छ । उनका सवै प्रस्ताव विना संशोधन समर्थनमा आउनुले पनि यसको पुष्ट्याँई गरेको छ । तर, वैचारिक रुपमा आचार्य जुन ढंगबाट युवामाझ छाइरहेका छन् यो कुरालाई नजरअन्दाज गर्दा आम युवाको सहानुभुतिबाट एमाले पाखा लाग्दै जानेछ । एमालेले उनको युवा विचारलाई राष्ट्रिय आवश्यकताका आधारमा संस्थागत गर्नुपर्दछ । 
राष्ट्रिय राजनीतिमा आफुलाई विचारको प्रवाह गर्ने घमण्डमा एमाले नेतृत्वले युवाशक्तिको हर्कतलाई जसरी बचाउ गर्ने प्रयत्न गरेको थियो, त्यो इतिहाँस कसैबाट लुकेको छैन । पत्रकार खिलानाथ ढकालकाण्डदेखि विग्रिएको युवा संघको छवी उही नेतृत्वको निरन्तरतामा कदापी राम्रो हुन सक्तैन, त्यसका लागि पनि युवा संघले नेतृत्व परिवर्तनको मुद्दालाई व्यापक बनाउन जरुरी छ र नयाँ अनुहारलाई नेताका रुपमा स्थापित गर्न आवश्यक छ । युवा संघमा रहेर पुस्तान्तरणको नीतिलाई कागजी रुपमामात्र उतार्ने भन्दापनि व्यवाहारिक रुपमा उतारी नयाँ राजनीतिक दिशामा दवावमुलक उपस्थिति राख्न सके युवा संघको भविष्य बलियो देखिन्छ । जसले अलमलमा रहेको मुलधारको राजनीतिलाई ट्रयाकमा स्थापित गराउनका लागि आफ्नो भुमिका खेल्नसक्नेछ । 
हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय चाँही छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ । 
मुलधारको राजनीति स्थापित गराउनका लागि युवाको भुमिका जुन प्रकारले सक्रिय देखिएको छ, अहिलेको संक्रमणकालिन राजनीतिलाई व्यवस्थापन गर्ने हिम्मत पनि युवा नेताले राख्नेछन् । युवा संघको आसन्न महाधिवेशनले त्यो एजेण्डा बोेकेर मुलुकभरका युवालाई राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी नीति अवलम्बन गराउन सक्दछ । आचार्यले प्रस्तुत गरेको प्रस्तावका आधारमापनि राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सकिने अवस्था छ । त्यसकारण तत्कालै सवै राजनीतिक दलभित्र हस्तक्षेप गर्ने भन्दापनि दलको आन्तरिक नीतिमा प्रभाव पार्न सकिन्छ । जुन शिक्षालाई अन्य दलका युवा संगठनहरुले पनि अवलम्बन गर्दा अलमलमा रहेको मुलधारको राजनीति लोकतान्त्रिक गणतन्त्र, जनताको जनमत र आकांक्षा अनुरुप चल्नसक्ने आधार देखिन्छ । अन्यथा मुलुकको दशा मगरको सपना, महादेवको कथाभन्दा फरक हुँदैन । 

यो हिमालय टाइम्स दैनिकमा छापिएको लेख हो ।

Friday, February 8, 2013

भ्यालेनटाइन, युवापुस्ता र राष्ट्रियता

विनोद ढकाल
आउँदो विहीबार कति प्रतिशत युवायुवती, किशोरकिशोरी आलिंगनमा बाँधिएर व्यक्तित्वका चर्चा गर्दा हुन् ? कति प्रतिशतले राष्ट्रियताका गहिरो कुराकानी गर्लान् ? बन्द कोठाभित्र चल्ने मनोवादसँग अनेक प्रश्नोत्तर छन् । स्वभाविक उत्तरहरु फेला पार्न निकै कठिन हुन्छ । जे होस् नयाँ पुस्ताको उन्मादसँग यो विहीबार रुमल्लिने छ, फरक धारमा । बर्षको एक दिन आउने ‘प्रेमदिवस’ विल्कुल नयाँ ढंगहरु र रंगहरुबाट वित्नेछन् । सहरका राम्रा मल्टिप्लेस, रेष्टुरेन्ट, क्याविनमा विभिन्न इभेन्टका फोहोरा पनि छुट्नेछन् । यद्यपि, १४ फेब्रुअरीको व्यापक तयारी गर्नेहरुका लागि यो दिन सफल बन्न सकोस्, शुभकामना छ । तर, यो दिनसँगै एक पटक मुलुक र राष्ट्रियताको सवाललाई सम्झनाका लागि अनुरोध पनि गर्दछु
स्वास्थ्यमन्त्रालयले २०१० र ११ मा गरेको एउटा अध्ययनलाई आधारमान्ने हो भने ठूलो जमात नेपाली सामाजिक आन्दोलन बाहिर नै छ । त्यो समूह जिम्मेबारीपूर्ण भुमिका बाहिर नै रमाउने गरेको पाइन्छ ।  ‘डबल अफेयर’, १७ वर्षमा नै पहिलोपल्ट यौनको सुख र त्यसैमा केन्द्रित मनोविज्ञान नै जिम्मेवारीबाट अलग पार्ने विषय हुन् । जसलाई सकारात्मक रुपमा राज्यले ‘ट्रिटमेन्ट’ गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सर्वेक्षणअनुसार १० देखि २४ बर्षका उमेर समूहका किशोरकिशोरीले एकैसाथ दुईजनासँग अफेयर चलाईरहेको पाईएको थियो । १० देखि २४ बर्ष उमेर समूहका ८ हजार ९ सय ७४ घरधुरीका १४ हजार ७ सय ५४ जना किशोर किशोरीमा गरीएको सर्वेक्षणको यो नतिजाले देखाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सन् २०१० र ११ मा गरिएको सवेक्षण अनुसार १५ बर्र्ष नपुग्दै ७ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राखेका थिए । त्यस्तै नयाँ सर्वेक्षणअनुसार ७२ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राख्ने गरेको, २४ प्रतिशतले व्बाईफ्रेण्ड र गर्लफ्रेण्डबीच सहवास गर्ने गरेको र ३ प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको सर्वेक्षण पछि सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
त्यस्तैगरी नेपालमा ६३ प्रतिशत किशोरकिशोरी तथा युवाहरुले हस्तमैथुन गर्ने गर्दछन् । किशोरकिशोरी तथा युवा मध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पति मध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेका तथ्यांकले देखाएको छ । किशोरकिशोरी तथा युवा सवेक्षणले ग्रामिण भेगका १० देखि १४ वर्ष उमेरका दोब्बर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटमार्फत अश्लील सामग्री हेर्ने र पढ्ने देखाएको थियो ।
। यो उदाहरण, तथ्याङ्क अहिलेको समस्या हो अथवा सवाल ? लेखिरहँदा मनमा खड्कीएको एउटा प्रश्नपनि बन्यो । अथवा यो कुनै खास क्षेत्रले अवहेलना गरेको उपज हो ? यसका अनेक उत्तरहरुहका फरक तर्कहरु बन्न सक्छन् । तर, जुन पुस्ता यसरी रमाइरहेको छ यसको सम्मानजनक जिम्मेवारीको भुमिकामा नेपाली राजनीति कमजोर बन्नुचाँही एउटा कारण बन्नसक्छ । परिभाषाको सुरुआती शव्दहरु नै युवापुस्ताको मुलुकका रुपमा गर्ने राज्यसत्ता किन खास मुद्दाबाट टाढा भागीरहेको छ ? प्रगतिशिल र सम्मानित प्रजातन्त्रको गहन उपभोग गराउन र मुलुकको राष्ट्रियताबारे किन गहिरो हुन सकेको छैन ? यावत सवालको उत्तरहरु खोज्ने निकाय राज्य नै हो । किनभने उसले शिक्षा दिन सकेको छैन । उसले आफ्नो मुलुकको राष्ट्रियताबारे गहन अध्ययन गराउन सकेको छैन । मानव जीवनमा प्रेम स्वभाविक हुन्छ । तर, देशप्रेमचाँही अस्वभाविक रुपमा रहनसक्नुपर्दछ, जुन हराउँदै गइरहेको छ । आज कास्मिरमा भारतीय र पाकिस्तानी सेनाको युद्ध चर्किनु भनेको त्यहाँको क्षेत्राधिकार कसको भन्ने एक प्रश्नको उत्तरहरु हुन् । त्यो हिंसाले जन्माएको आतंक, हज्जारौंको ज्यान जाने कारणपनि राष्ट्रियताको सवाल हो । तर, स्वतन्त्र, निर्भिक र आत्मसम्मानीत मुलुकको चाहनामा गृहयुद्धमा मारिएका हज्जारौं नेपालीजन हत्याको निक्र्यौल के हो ? पत्ता लाग्न सकेको छैन ।
यसबीचमा २१ वर्षपछि महाधिवेशनमा गएको एकीकृत नेकपा माओवादीले उठाएको राष्ट्रियताको कुरा गर्नु सर्मविनाको मानिस बन्नु हुन थालेको छ । उसको राष्ट्रियताले भारतीय गुप्तचर संस्था रअको प्रतिनिधित्वमात्र गरेको छैन, आफ्नो मुलुकको सीमाबारे जनताको मत लिनुपर्ने प्रस्ताव नै अराष्ट्रिय तत्वको महाभेलाको मुख्य एजेण्डा बनेजस्तो लागेको छ । एक महाधिवेशन प्रतिनिधिसँग मैले सोधें भ्यालेन्टाइने डे नजिकिएको छ कसरी मनाउने तयारी गर्नुभएको छ ? उनले जवाफ फर्काए–‘कम्युनिष्टहरुले पश्चिमा शैलीको प्रेम गर्दैनन् । भनौं, त्यसको विरोधी हुँ म । आफ्नो स्वाधिनताको सवालमा बोल्ने मानिस हुँ ।’ अनि फेरि फरक धारको प्रश्न उभ्याएँ फेरि । ‘यस्तो क्रान्तिकारी पार्टी किन राष्ट्रियताको सवालमा जनमतसंग्रहको कुरा गरिरा’छ ?’ उनले प्रत्युत्तर दिए– यहि त हो एमाओवादीको विशेषता । आफु पायकका विश्लेषण र व्यभिचारले थिचेको नेपाली राजनीतिमा नयाँपुस्ताको ध्यान नखिचिँदा भोली मुलुक कुन दुदर्शामा पुग्ने हो ? त्यसको हेक्का कसैले पनि राखेको छैन । सहरमा फरक धारको दिनमा रमाएको एक पुस्ताले आफ्नो मुलुकको राष्ट्रिय दिवसहरु भुल्न थालेका छन् । प्रजातान्त्रिक दिनहरु विर्सन थालेका छन् । फागुन ७ गते आउने प्रजातन्त्र दिवसको हेक्का नराखी पाँच दिन अघि आउने प्रेमदिवसमा लिप्त हुन थालेका छन् । यस्तो परिस्थितिको सृजनाकार यहि नैतिकता सकिएको राजनीति, त्यसमा रमाउने सत्तास्वार्थी दलहरु र त्यसमा पनि उभिएका तथाकथित नेताहरु हुन् । भाषणमा राष्ट्रियता र शासनमा आत्मसर्मपणको नियत बोकेर हिँडिरहेका छन् । नयाँ पुस्तालाई दिशानिर्देश गर्ने हिम्मत नराख्ने तर मुलुकको सीमाको विषयमा हुर्मत लिने बहस चलाउन उद्दत छन् ।
राष्ट्रको पुँजी भनेकै आत्मविश्वास र अखण्ड मुलुकको हृदयस्पर्शी प्रेम हो । यो प्रेमलाई जन–जनका मनबाट कुनै राजनीतिक दस्तावेजका आधारमा विलिन बनाउने प्रयत्न गर्नुचाँही राष्ट्रवादी चिन्तन होइन । त्यसै भनेन् नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले मुलुकलाई फरक धारमा उभ्याउनका लागि लेण्डुप दोर्जे मार्गमा पुगे, प्रचण्डहरु भनी । प्रेममा आफ्नो र अर्काको रतीगात्मक स्पर्शले धेरै अर्थ राख्दछ । मुलुक प्रेमको रतीगात्मक सोचको विकास गर्ने प्रयत्नमा कुनै राजनीतिक दलहरु लागेनन् । उनीहरुका मन, मस्तिष्क र दिमागका अनेक नशाहरुमा व्यक्तिवादी सोच, भ्रष्टाचार र सत्ताको नशा छ । उनीहरु आफ्नो स्वार्थसँग प्रेम गर्छन् । र, सत्ताका लागि राष्ट्रियताको तिलाञ्जली दिएर आफ्नै मुटुको परिधि छुट्याउने जनमतको घोषणा गर्छन् ।

नेपाली राजनीतिक एकातिरको यात्रामा छ, नेपाली युवा पुस्ता फरक यात्रामा छन् । मुलुकको राज्यसत्ताको लक्ष्यको बारेमा अहिलेसम्म पनि यकिनन् उत्तरहरु, दिशानिर्देशहरु कोरिन सकेका छैनन् । संविधानका खोक्रा नारामा राजनीतिक दलहरुको गतिविधिको बन्धक बनेको मुलुकका व्यवस्थित यात्रा तय हुन सकेको छैन । सत्तावरिपरि घुमेको राजनीतिले एउटा फरकधारको पुस्तालाई मुख्य राजनीतिमा डो¥याएको अवस्थिति छैन । त्यसकारण यहि पुस्ताले भन्ने गरेका छन्,‘राजनीति फोहोरी’ खेल हो । यो किन फोहोरी भइरहेको छ ? कसले बनाइरहेको छ ? फोहोरी ? यसका उत्तरहरु पनि उनै राजनीतिक दलहरुले चिरेर निकाल्नुपर्ने आवश्यकता देखिन्छ । नयाँ पुस्ता जसले आमुक दिनलाई आफ्नो बनाइरहेको छ त्यसलाई मुलुकको स्वाधिनता, राष्ट्रियता र विकासनिर्माणलाई आफ्नो बनाउने अवस्थिति नेपाली राजनीतिले सृजना नगरे, भोली मुलुक यस अवस्थामा रहँदैन । दैनिक रित्तिदै गएको नयाँपुस्ताको सृजनशिलताले मुलुकको श्रृङ्गार गर्न पाएन भने केवल खोक्रो, थोत्रो र भुम्रो राजनीतिमात्र बाँकी रछन्छन् । अनि, बाँकी रहनेछन् तिनका शेषहरु, तिनका अवशेषहरु, तिनले छाडेर गएका ही फोहोरी खेलहरु ।
हिमालय टाइम्स दैनिकमा शुक्रबार प्रकाशित मेरो लेख ।

Sunday, February 3, 2013

राज्यले विर्सिएको एउटा पुस्ता

विनोद ढकाल
नेपाली राजनीतिको जति चर्चा गरेपनि त्यसको सकारात्मक उत्तर भेट्न कठिन छ । तरपनि हरेक सवालको कारण र त्यस सवालको सहज समाधान पनि राजनीति नै हो । अर्थात्, राज्यको नीति नै हर क्षेत्रको प्रभावकारी समाधानको उपाय बन्न सक्छ । त्यसलाई कति वैज्ञानिक बनाउने भन्ने कुराचाँही प्रधान बन्न आवश्यक छ । यद्यपि, नेपाली राजनीतिले कतिपय खास र गम्भिर सवाललाई छुन सकेको छैन । बरु, यसका नकारात्मक प्रभावको कारणचाँही बनेको छ । बुटवलमा भएको किसोरी बलात्कारको कुरा होस् अथवा मुलुकका विभिन्न ठाउँबाट उठेका महिलाहिंसा सम्बन्धि सवाल । झापामा भएको सामुहिक बलात्कारको कुरा होस् अथवा ८२ बृद्धामाथि १२ वर्षिय बालकले गरेको यौनअपराधको सवाल । यो एक पुस्तालाई राजनीतिक व्यवस्थाले गरेको अवहेलनाको परिणति हो । त्यसले निम्त्याएको सामाजिक अपराध भनौं अथवा समाजमा उत्पादन भएका हिंस्रक मानसिकता ।
सहरका गल्लीमा रमाउने चियापसल अचेल जारी राजनीतिक घटनक्रमको बेलीविस्तार र आफ्ना विचार टिप्पणी समिक्षा गर्ने थलोका रुपमा विकसीत भएका छन् । मुलधारका सञ्चारगृहदेखि हरेक अखबारहरु राजनीति प्रभावित हुन थालेका छन् । समाजका अगुवाहरु सामाजिक मार्गनिर्देशकबाट विमुख हुन थालेको परिस्थितिमा किशोरकिशोरीको सवाललाई न्युन रुपमा उठाउने गरिएको । यस सवालमाथिको बहस पनि कमैमात्र हुने गरेको छ । मुलधारमा अनेक विषयहरु छन्, जसलाई परिभाषित गर्ने एउटै आधार राजनीतिमात्र हुन सक्तैन । यसका अनेकन आधारहरु छन् तर हामी राजनीतिबाट कोल्टे फेरेर अन्य विषयमा उक्लन सकेका छैनौं । र, सवै कमजोरीको ढाकछोपका लागि एउटा सभ्य समाज नै ‘राजनीतिक संक्रमणकाल’लाई कारणका रुपमा प्रस्तुत गरिरहेका छन् । नेपाली सहरीया समाज पनि अलिकति फूर्सदलाई राम्रो काममा प्रयो गर्न चहाँदैन । अथवा आझेल परेको एउटा सवालमाथि गम्भिर बहस गर्न चहाँदैन, त्यसमा तत्परता पनि देखाउँदैन । फगत, राजनीतिका टुक्काबीच एउटा पुस्तालाई वेवास्तामा परिरहेको छ । त्यो पुस्ता फरक चिन्तन र व्यवाहारमा हुर्किरहेको छ । राजनीतिक संक्रमणकालिन व्यवस्थाको प्रभाव एउटा कोणबाटमात्र परिभाषित हुन सक्तैन । यसका अनेक क्षेत्रमा असर परिरहेका हुन्छन् । फगत, अखबारका पानाहरु अहिले एमाओवादीका सकारात्मक वा नकारात्मक, आन्दोलनका कथा अथवा एमाओवादीको महाधिवेशनको चर्चा कर्ममा जुटेको हुनसक्छ । तर, एउटा यस्तो ठूलो पुस्ता छ जसले आफुलाई सहरीया जीवनमा फरक बाटोमा लम्काइरहेको छ । र, त्यो पुस्ता १० देखि २४ वर्षसम्मको उमेर समूह हो ।
स्वास्थ्यमन्त्रालयले २०१० र ११ मा गरेको एउटा अध्ययनलाई आधारमान्ने हो भने ठूलो जमात नेपाली सामाजिक आन्दोलन बाहिर नै छ । त्यो समूह जिम्मेबारीपूर्ण भुमिका बाहिर नै ‘विन्दास’ हुने गरेको छ । उनीहरुको सोचमा राजनीतिक व्यवस्था, विकासनिर्माण र सहज सामाजिक व्यवस्थापन भन्दा पनि ‘यौन’ प्रधान विषय बनेको छ । ‘डबल अफेयर’, १७ वर्षमा नै पहिलोपल्ट यौनको सुख र त्यसैमा केन्द्रित मनोविज्ञान नै जिम्मेवारीबाट अलग पार्ने विषय हुन् । जसलाई सकारात्मक रुपमा राज्यले ‘ट्रिटमेन्ट’ गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सर्वेक्षणअनुसार १० देखि २४ बर्षका उमेर समूहका किशोरकिशोरीले एकैसाथ दुईजनासँग अफेयर चलाईरहेको पाईएको थियो । १० देखि २४ बर्ष उमेर समूहका ८ हजार ९ सय ७४ घरधुरीका १४ हजार ७ सय ५४ जना किशोर किशोरीमा गरीएको सर्वेक्षणको यो नतिजाले देखाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सन् २०१० र ११ मा गरिएको सवेक्षण अनुसार १५ बर्र्ष नपुग्दै ७ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राखेका थिए । त्यस्तै नयाँ सर्वेक्षणअनुसार ७२ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राख्ने गरेको, २४ प्रतिशतले व्बाईफ्रेण्ड र गर्लफ्रेण्डबीच सहवास गर्ने गरेको र ३ प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको सर्वेक्षण पछि सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
त्यस्तैगरी नेपालमा ६३ प्रतिशत किशोरकिशोरी तथा युवाहरुले हस्तमैथुन गर्ने गर्दछन् । किशोरकिशोरी तथा युवा मध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पति मध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेका तथ्यांकले देखाएको छ । किशोरकिशोरी तथा युवा सवेक्षणले ग्रामिण भेगका १० देखि १४ वर्ष उमेरका दोब्बर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटमार्फत अश्लील सामग्री हेर्ने र पढ्ने देखाएको थियो ।
यी उदाहरण एउटा सरल उमेरसमुहको होइन । यहि समय जसले राज्यमा नैतिकशिक्षा, समाजिक विकासको असली शिक्षा र राजनीतिक मार्गनिर्देशन कायम हुन्छ । तर, पछिल्ला समयमा सहर उत्तरआधुनिकताका नाममा फरक ढंगबाट अघि बढिरहेपनि राज्यको मुलधारबाट यी विषयमा न बहस गर्न सकेको छ न कुनै खास कार्यक्रम गर्न नै । यो सर्वेक्षणको नतिजा पढ्दा रमाइलो, हाँस्यास्पद अनि एकक्षण टिप्पणीको सवाल बन्यो । तर, यसरी बढेको नयाँ पुस्ताको जिम्मेवारी, उसलाई दिने मार्गदर्शन र यसै यात्राबाट उत्पादीत भोलीको ठोस पुस्ताको विषयमाचाँही अध्ययन र गहन विश्लेषण हुन सकेको छैन । सर्वेक्षणबाट नतिजा आयो तर यसको विश्लेषण गरी समाजको सभ्य चित्र कोर्नका लागि राज्यले कस्तो नीति अख्तियार गर्नुपर्दछ ? कस्तो शिक्षा प्रणाली अपनाउनुपर्दछ अथवा सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न अभियन्ताहरुको भुमिका, राजनीतिक दलको भुमिका र नेपाली समाजको आगामी परिदृश्य कस्तो बन्नुपर्ला ? भन्ने विषयमा सामान्य बहससम्म हुन सकेन ।
राजनीतिमा कमजोरीका रुपमा रहेको पुस्तान्तरणको अवस्था हरेक घरमा कायम छ । पुस्तान्तरण अधिकार प्राप्तिको सवालमात्र पनि होइन, यो त जिम्मेवारी बोध गराउने एउटा अवसर पनि हो । आजको पुस्तालाई जिम्मेवारी बोध गराउने व्यवस्था, अवस्था वा अवसर नदिनाले पनि नेपाली राजनीतिबाट उनीहरु भागीरहेका छ्रैनन्, राजनीतिले प्रभाव पार्ने अनेक क्षेत्रको सुक्ष्म जानकारीबाट पनि अलग भइरहेका छन् । खास अर्थमा भन्ने हो भने राज्य र नयाँ पुस्ताको ‘सम्बन्ध विच्छेद’को परिस्थिति बनेको छ । नेपाली समाज राजनीतिक रुपमा मात्र बढि चिन्तित भएको पाइन्छ । सामाजिक रुपमा त्यति गहन चिन्तित भएको छैन ।
जवसम्म राजनीतिक व्यवस्था सवै जनताका लागि समान हुने र चिन्तित हुने प्रकृतिले बढ्दैन त्यसबेलासम्म एउटा ठूलो जनसंख्या सामाजिक रुपमा पनि फरक दृष्टान्तबाट अभिप्रेरित हुन्छ । आधुनिकताको सवालमा उर्लिएको यो नयाँ पुस्ता सामाजिक सञ्जालमा मात्र रमाइरहेको छैन, समाजलाई उत्तरआधुनिक बनाउने धुनमा मन्द गतिमा फरक धारबाट हुर्किन छाड्ने छैन । नियन्त्रण र नियमबन विना नै हुर्किएको नयाँ पुस्तालाई समयमा नै जिम्मेवारीको लगामबाट नकस्ने हो भने भविष्य कस्तो बन्नेछ ? भन्ने एउटा गहन प्रश्नचाँही अवश्य खडा हुनेछ । यसकारण राज्य, राजनीतिक दल, सामाजिक अभियन्ता अथवा राज्यसँग प्रत्यक्ष र परोक्षरुपमा जोडिएका हरेक क्षेत्रले किशोरकिशोरीको सवाल, उनीहरुको समस्याको पहिचान र जिम्मेवारीताको बोध गराउने पक्षमा वकालत गर्न आवश्यक देखिन्छ । जसले गर्दा उनीहरु सामाजिकरुपमा नै मुलुक निर्माणको मनोविज्ञानबाटमात्र हुर्किन सकुन् ।

Wednesday, January 30, 2013

त्यो लोकल, त्यो राँगाको खुट्टाको सुप

डी. विनोद
सात सालको क्रान्ति सफल बनाउने प्रायः सबै नेतासँग उनको संगत थियो। उनी कम्युनिस्ट राजनीतिमा लागे २०२५ सालतिर, पुष्पलाल श्रेष्ठसँग भेटेपछि। अहिले पुष्पलाल अध्ययन समाजका अध्यक्ष छन्, लोककृष्ण भट्टराई। पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष र अष्ट ज अभियान नेपालका अध्यक्ष पनि हुन् उनी। 
देशका ठूला नेताहरूसँगको संगत र मित्रताले पनि उनलाई महत्वाकांक्षी बनाएन। हातमा छाता, टाउकोमा नेपाली टोपी र अनुहारमा झुस्स दाह्री लिएर उनी काठमाडौँका गल्ली-सडकमा हिँडिरहेका भेटिन्छन्। राजनीतिमा लागेर राजधानीमा महल ठड्याउनेप्रति उनका कुनै प्रतिक्रिया छैनन्। ‘जो व्यक्तिगत मुनाफाका लागि राजनीतिलाई व्यापार बनाइरहेका छन्, तिनको के कुरा गर्नु?' उनको टिप्पणी छ।
चार दशकअघिको आफ्नो यौवन र राजनीतिक बन्दी जीवन बेलामौका सम्भि्कन्छन् उनी। जेल पर्दा उनी १८ वर्षका थिए। उनलाई आफ्नो इतिहासप्रति गर्व छ किनभने उनले विपी कोइराला, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता हस्तीसँग संगत गर्न पाए। ‘सात वर्षको जेल जीवनका क्रममा मैले उहाँहरूजस्ता नेतासँग संगत गर्न पाएँ,' उनी भन्छन्।
जेलजीवनदेखि उनका अन्तरंग मित्र थिए किसुनजी। ‘किसुनजी, मनमोहन अधिकारी, सिद्धिलाल सिंह, विश्वकान्त मैनाली, सिपी गजुरेलसहित हामीहरू जेलमा थियौँ,' उनी सम्झन्छन्, ‘जेलमा रमाइलो गरेर दिन काट्ने गजबका पात्र थिए किसुनजी। किसुनजीको जोक्समा हामी खुब हाँस्थ्यौँ। मनमोहनजी मुसुक्क हाँस्थे। उनमा अलिकति पनि उत्ताउलोपन थिएन तर रमाइलो गर्ने बानी थियो।' 
क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिनुपर्छ भन्ने तत्कालीन पञ्चायती सरकारको विरोधमा आन्दोलनमा जुटेका थिए लोककृष्ण। सोही अभियोगमा तत्कालीन सरकारले उनलाई १० वर्षको जेल सजाय तोकेको थियो। विराटनगरमा पक्राउ परे उनी, २०२७ सालमा। तीन वर्षपछि राजकाज अपराधमा ओखलढुंगा हुँदै काठमाडौँ जेलमा पुर्यागइएको थियो उनलाई। सात वर्ष जेलजीवन बिताएपछि तत्कालीन राजा वीरेन्द्रको आममाफी घोषणामा जेलबाट छुटेका थिए उनी। 
अहिले नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेल, एमाले नेता केपी ओली, राधाकृष्ण मैनाली, खुमबहादुर खड्का तथा कांग्रेस नेता दमननाथ ढुंगानासँगै जेल बसेका थिए उनी। जेल बस्दा तीन मोहरमा पाउने राँगाका खुट्टाको सुप, सिद्धिलाल सिंह, विश्वकान्त मैनालीका बाबा-आमाले दशैँको मौकामा जेलमा पुर्यााइदिएको लोकल रक्सीको स्वादलाई बिर्सन सक्तैनन्। रक्सीको मन्द नशामा उनीहरू रमाइला जोक्स गर्थे। सम्भि्कन्छन्, ‘किसुनजी जोक्स मास्टर थिए। उनका ‘ननभेज' जोक्स जेलमा निकै लोकप्रिय थिए।'
जेलबाट छुटेपछि वामपन्थी राजनीतिमा सक्रिय उनले कांग्रेस र कम्युनिस्टको एकता आन्दोलनको संयोजनका लागि ‘दूत'को काम पनि गरेका थिए। लौहपुरुष गणेशमान सिंह र मदन भण्डारीको भेट म्हैपीस्थित देवनारायण महर्जनको घरमा उनैले गराएका थिए। ‘त्यो भेट गराउने जिम्मा मैले पाएको थिएँ। महर्जनको घरमा बनेको ‘पियोर तीनपाने' को चुस्कीको मजासँगै सिंह र भण्डारीबीच बहुदलीय जनवादमा जाने सहमति भएको थियो,' उनले विगत कोट्याए, ‘चार घण्टाको त्यो बसाइ दुई फरक धारका राजनीतिक शक्तिको साझा सहकार्यमात्र थिएन, राजनीतिका धुरन्धर खेलाडीका मित्रतालाई गाढा बनाउने अवसर पनि थियो।'

बागबजारमा रहेको वाङ्दी लामाको रेस्टुरेन्टमा मःमः खाएर भ्रष्टाचारविरोधी आन्दोलनका लागि पुष्पलाल र बिपीको विचारमा अडिग रहने साझा संकल्प अहिले पनि उनले बिर्सेका छैनन्। मःमः पसलमा निकै राजनीतिक छलफल भएको थियो। ‘त्यो पनि हाम्रो सेल्टरजस्तै थियो। आन्दोलनका चर्चाहरू त्यही होटलमा बसेर गरिन्थ्यो,' उनी सम्झन्छन्।
२०४६ सालको आन्दोलनको तयारीका लागि गणेशमान सिंह, मोहनविक्रम सिंहदेखि मदन भण्डारीसम्मलाई एकै ठाउँमा भेट गराउने काममा सक्रिय थिए लोककृष्ण। ‘आन्दोलन सफल भयो, किसुनजी प्रधानमन्त्री भए। त्यसबेला पनि वामपन्थीहरू ईश्वरका नाममा नभई जनता र सत्यनिष्ठाका नाममा शपथ खान्थे,' उनले सम्भि्कए, ‘माओवादीले पनि पहिलो पटक त्यसै गरेको थियो। अवस्था उही त भयो। जनताले के पाए र?' 
ज्ञानेन्द्र शाहले सत्ता हत्याएपछि उनलाई पनि मन्त्रीपरिषद्मा लागि बोलाएका थिए रे। तर, ज्ञानेन्द्रको प्रस्तावलाई उनले नकारे। द्वन्द्वका समयमा तत्कालीन नेकपा माओवादी र सरकारको संवादका लागि पनि उनले सेतुको भूमिका निर्वाह गरेका थिए। 
अहिलेको राजनीतिबाट दिक्क छन् उनी। भन्छन्,'सात सालका नेता सबै देशभक्त थिए। अहिलेका नेतामा देशभक्तिको कुनै लक्षण छैन। सबै विदेशीको भर पर्छन्।'

-शुक्रबार साप्ताहिकमा प्रकाशित, यो समाचार नागरिकन्युजको यो http://www.nagariknews.com/friday/52794-2013-01-29-09-35-53.html लिंकमा पनि पढ्न सकिन्छ । 

Monday, January 28, 2013

मिस्टर लालध्वज

विनोद ढकाल
एकीकृत नेकपा माओवादी सम्बद्ध क्रान्तिकारी पत्रकार संघले मोरंगका मित्र गोकुल पराजुलीले यो साता फेसबुकमा आफ्नो स्ट्याटस राखे,‘दैलेखबाट बसाई सर्नेलाई के गर्न सकिन्छ र ?’ यो उनको स्ट्याटसमा अनेक प्रकारका कमेन्ट आउनुनआउनु अलग कुरा भए । तर, आफुलाई पत्रकारको कोटीमा राखेर समग्र महासंघ नै आन्दोलनमा होमिएका बेला पराजुलीको उक्त स्ट्याटसको मर्मचाँही आफु माओवादीको ‘खास कार्यकतार्’ हुँ भन्ने नै थियो । विचारमा समर्थन राख्नु र कार्यकर्ता बन्नु फरक कुरा हुन् । विचारमा समर्थन भएपनि न्यायको आन्दोलनको विगुल छेडिएका वखत उनको यो कुतर्कपूर्ण स्ट्याटसको महत्व त देखिदैन तर पत्रकारिताका नाममा संवेदना र भावनालाई विर्सिएर पार्टीकारिताको वफादारिताचाँही प्रष्ट झल्कन्छ । हुन त मोरंगमा यसरी पार्टीकारिताको वकालत गरी सामाजिक सञ्जाललाई नै कुरुप बनाउने अनेकन नाम छन् । ती व्यावसायीक व्यक्ति होइनन् । तर, पराजुलीजस्ता व्यावसायीक मित्रको सामाजिक सञ्जालको अभियान पनि उल्टोबाटोतिर लम्किएको देखिन्छ । यता, प्रेस युनियनले सरकारको राजीनामाको माग गर्दै आन्दोलन चर्कायो । संगठित रुपमा नै युनियनको यो आन्दोलनपनि पत्रकारको मर्मभन्दा पनि सरकार ढाल्नेकेन्द्रित देखिन्छ । आन्दोलनको आह्वान गरी सरकार बहिर्गमनको माग गर्नु पनि कुनै खास पत्रकारिता वा अहिलेको खास मुद्दाचाँही होइन । पत्रकारको अहिलेको खास मुद्दाचाँही पत्रकारले न्याय दिनबाट राज्य किन पन्छिरहेको छ ? भन्ने हो । पत्रकारहरु किन जिल्लाबाट विस्थापित हुन बाध्य भएका हुन् ? भन्ने हो । यी दुई फरक पार्टीकारिताजस्तो देखिने पत्रकारिता कुसल यात्रामा छैनन् । यतिवेला समग्र पत्रकारीताले पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तले तत्काल कारवाहीको भागीदार बन्नुपर्छ, सरकारले उक्त कुरामा न्यायिक छानविन पुरा गरी तत्काल कारवाही गर्नुपर्छ भन्ने अभियानमा जुट्ने बेला हो । तर, राज्य एउटा न्यायिक बाटोमा नभई पार्टी परिचालनको रणनीतिमा चलेको छ । यी अहिले प्रत्यक्ष देखिएका घटनाक्रम हुन् । अनि, यी घटनाक्रमको संरक्षण गर्दै न्यायको घाँटी थिच्ने प्रयत्नमा लागेका छन् प्रधानमन्त्री डा. बाबुराम भट्टराई उर्फ मिस्टर लालध्वज ।

संसार विचित्रको छ । यी विश्वका फरक पाटोहरुमा फरक प्रकारका घटनाक्रमहरु बुझ्न, महसुस गर्न पढ्न पाइन्छ । कतै न्याय पाउनका लागि महिनौ आन्दोलन गर्नुपरेको अवस्था छ भने कतिपय ठाउँमा एउटा जनावरले पनि आरामले, कानुनसम्मत र न्यायसम्मत प्रकारले अधिकार प्राप्त गरेको खबर पढ्न पाइन्छन् । ती मुलुकका जनावरका तुलनामा पनि नेपाली अधिकारकर्मी, पत्रकारको हैसियत कायम राख्न सरकारमा रहेकाहरु निर्लज्जसाथ असफल भएको साधारण विश्लेषणले सावित गरिदिन्छ । एउटा जनावरले पनि न्याय पाउने खबर अखबारका पानामा छापिएकै छन् । तर, त्योभन्दा नि महत्वपूर्ण मुद्दाका रुपमा उठेको मुद्दाले मुलुकमा मुठभेडको अवस्था आउँदासम्म पनि न्याय पाउने गुञ्जायस हुन सकेको छैन । पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कारवाहीको माग गरिएको प्रकरणले अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय बजार तातेको छ । सोही प्रकरणकै कारण आज दैलेखमा रहेका सवै अखबारका सञ्चारकर्मीहरु क्षेत्रीय सदरमुकाममा सुरक्षा खोज्न बाध्य भएका छन् । अनि, थापका परिवारले न्याय पाउने कुरा त परै जाओस् । खुल्ला रुपमा राज्यलाई नै परिचालन गरी न्यायलाई मार्ने प्रयत्न भइरहेको छ ।
न्यायको चर्चा गर्ने र ओठे प्रतिबद्धतालेमात्र न्याय दिन सकिदैन । प्रधानमन्त्रीको पद भनेको न्यायको सिंहासनजस्तै हो । उक्त सिंहासनको दृुरुपयोग गरी मिस्टर लालध्वजको उदण्डताको पराकाष्टले आज एउटा जिल्ला सञ्चारकर्मीविहीन हुन पुगेको छ । उनले जतिसुकै न्यायका कुरा गरेपनि अष्ट्रेलियामा एउटा बाख्राले पाएको न्यायबाट मानिसको संवेदनाको अर्थ बुझ्नुपर्ने आवश्यकता देखिएको छ ।
बाँच्नलाई घास खानु बाख्रीको अधिकार हो । भोको पेट भर्ने क्रममा उसले घासको साथ संयोगबश फूल खाइदिइन् भने यसलाई ठूलो अपराध मानिएन । अस्ट्रेलियामा एक निदोष बाख्रीलाई फूल खाएको अभियोगमा जरिवाना गरिएको थियो । तर, यो प्रकरणमा बाख्रा र उसको साहुमाथि विधिवत् अदालतमा मुद्दा चलेको थियो । यो । अन्ततः अदालतले बाख्रालाई निर्दोष ठहर गर्दै जरिवाना खारेज ग¥यो । मेट्रो युकेका अनुसार सिड्नीको संग्रहालयमा छिरेर बाख्रीले घाँससँग सुन्दर फूल पनि चर्न पुगेकी थिइन् ।
यो अन्याय विरुद्ध बाह्री मालिक जेम्सले अदालतमा गुहारे । कुनै षडयन्त्र वा पूर्व योजना अनुरुप बाख्रीले फूल नखाएको भन्दै अदालतको मिजस्ट्रेटले जेम्समाथि लगाएको जरिवाना खारेज गरेको खबर शनिबार पढियो । न्यायाधीश क्यारोलिन बार्केलले बाख्रीलाई फूलको मूल्य थाहा नभएको बताइन् । खाने लोभमा फूललाई चपाएर बाख्रीले पहाड उल्टिने गरी अपराध नगरेको पनि उनले बताएकी थिइन् ।
यो उदाहरण न्याय मार्न खोज्ने मिस्टर लालध्वज र तिनको पार्टीका उदण्ड नेताकार्यकर्ताको दिमागमा भरियोस् । न्यायलाई रोक्न कुनै वादको दृष्टान्तबाट हेरिनु आपत्ति जनक हो । न्याय भनेको अन्तर्राष्ट्रिय मुल्यमान्यताअनुसार चल्दछ । मुलुकको कानुनअनुसार हुने गर्दछ । तर, राज्यले व्यवस्था गरेको अन्तरिम संविधानमा उल्लेखित विषयलाई कुल्चिएर मिल्काएको छ अनि एमाओवादीको पार्टीको घोषणापत्रबाट मुलुक चलाउने प्रयत्न भइरहेको छ । जुन दुखदायीमात्र होइन खेदपूर्ण पनि छ ।

दैलेखका पत्रकार सुर्खेत पुगेर न्याय मागीरहेका छन् । ट्रकका ट्रक अर्ध सैनिक बल वाइसीएललाई पेस्तोल सहित दैलेख छिराएपछि त्यहाँका पत्रकार साथीहरु सुरक्षाको खोजीमा जिल्ला छाड्न बाध्य भएका हुन् । पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता च्यात्छौं भन्नासाथ हिंस्रक र उदण्ड बनेर निक्लिएको माओवादी रवैयाले अहिले मुलुकलाई फेरि हिंसा र द्वन्द्वतिर धकेलेको छ । त्यसको सुरुआत नै पत्रकारमाथिको आक्रमण र हत्याको अर्को संखला बनाउने प्रयत्न भएको छ । यसले निम्त्याउने संकट र रणसंग्रामको सवै जिम्मा प्रधानमन्त्री र एउटा नेता भएको नाताले पनि मिस्टर लालध्वजले लिनुपर्ने हुन्छ । हरेक तानाशाहहरुको पहिलो सिकार पत्रकारिता हुने गरेको छ । जनताको सुचनाको अधिकार बोकेर हिँड्ने पत्रकारमाथिको आक्रमण, प्रेसमाथिको आक्रमणबाटमात्र आफ्नो तानाशाही व्यवस्थालाई बलियो बनाउन सकिने सोच उनीहरुमा हुन्छ । ज्ञानेन्द्र शाहले आफ्नो शासनको सुरुआत नै प्रेसविरुद्ध राज्यका सवै शक्तिको प्रयोग गरी सुरु गरेका थिए । त्यसबेला पनि अधिकारका निम्ति, स्वतन्त्रताका निम्ति पत्रकारिता जगतले व्यापक आन्दोलन छेडेको थियो । सोही आन्दोलनको ज्वालामुखि बढ्दै जाँदा एउटा तानाशाही व्यवस्थाको अन्त्य भएको थियो । फेरि, मुलुकमा दोस्रो तानाशाही उदाउने परिस्थितिमा छ र उसले दैलेखबाट आक्रमण सुरु गरेको छ । मुलुक विकास भन्दापनि बर्बादिको बाटोमा लम्किएको छ । १५ वर्षसम्मको माओवादीको हिंसाकै कारण मुलुकमा विकासका काम सुचारु ह्ुन सकेनन्, अहिले उसको तानाशाही सोच र भ्रष्टाचारको सीमा नाघनु विकासको बाधक पनि बनिरहेको छ । न्यायका कुरा प्राप्त गर्नु त परै जाओस् ।
न्यायको खोजी पत्रकारिता जगतलेमात्र गरेको होइन । अधिकारको लडाइमा प्रेसमात्र लडिरहेको छैन । मानवअधिकार र सुरक्षाको खोजीमा नागरिक सतह नै उर्लिएका प्रत्यक्ष घटनाहरु छन् । तर, सरकार त्यसमा पनि दमनकारीको रुपमा उत्रिएको छ । वाइसीएलको काम प्रहरीबाट गराइरहेको छ, सरकारले । न्यायका लागि यतिवेला चौतर्फी रुपमा सरकारको विरोध भएको छ । अकुपाई बालुवाटार आन्दोलनमा अधिकारको सुरक्षाको माग गर्दा अपांग र महिलामाथि प्रहरी लगाएर निमर्मता देखाउने मिस्टर लालध्वजको सरकार अन्धो, बहिरो र कानो भएको छ । आफूलाई उद्दारवादी नेताका रुपमा परिचित गराउने मिस्टर लालध्वज इतिहाँसकै सवैभन्दा नालायक पात्रका रुपमा परिचित भएका छन् । उनले महिला, अधिकारकर्मी, पत्रकार, अपांग कोही पनि चिन्न सकेका छैनन् । बहुलाएको साँढेजस्तो जसलाई पनि आक्रमण गरी आफ्नो कुर्सी जोगाउने र भ्रष्टाचार बढाउने काममा लिप्त भएका छन् । एकातिर यसरी निरंकुश बनेको उनको सरकारले उनकै कुर्सीको दुरुपयोग गरी पत्नी हिसिला यमीले खुलेआम रकम मागेका कुरा पनि आइरहेका छन् । भर्खरै काठमाडौं विकास प्राधिकरणबाट सरकारी निर्णय गरी हटाइएका केशव स्थापितको पदको मुल्य २० लाख रुपियाँ निर्धारण गरेको, महानगरपालिकामा कार्यकर्ता भर्तीकेन्द्र खोलेका खबरले पनि मिस्टर लालध्वजको व्यक्तिगत चरित्रको एउटा पाटो खुला रुपमा बाहिर आएको छ । यी र यस्ता घटनालाई बारम्बार निरन्तरता दिने मिस्टर लालध्वजको राजनीतिक कार्यदिशा कतातिर बग्नेछ, आमसाधारणले नियालिरहेका छन् ।
सोमबार तरुण साप्ताहिकको नियमित कोलम सरोकारमा प्रकाशित