Sunday, March 31, 2013

मदिरा, मेनका र होस्टल

विनोद ढकाल
सायद, फागुनको अन्तिम साता थियो । तिनकुनेको रेष्टुरेन्टमा कफीसँग रमाइरहेको पंक्तिकारको छेउमा सात जनाको एक विद्यार्थी समुह आइपुग्यो । पंक्तिकार कफीको पर्खाइमा थियो, र ती सातजनाको संवादतिर ध्यानकेन्द्रितमा पनि । तीन जना किशोरीसहित बसेको त्यो टोलीले ‘हार्ड ड्रिंक्स’ माग्यो । कफि पिउँदासम्म उनीहरुको कुराकानीको संक्षिप्त सार निक्लियो । उनीहरु मदिरामा लिप्त हुने, मेनकाको नृत्य जसरी उन्माद रमाउने र होस्टल फर्किने चर्चामा थिए । न कुनै बन्धन, न कुनै चिन्ता । मात्र, मनोरञ्जनको दुनियाँमा रमाउने उनीहरुको चाहना अतृप्त थियो ।
पूर्वीय ग्रन्थले त्यसै उल्लेख गरेको थिएन मदिरा र मेनकाका चर्चा । मदिरा अर्थात् नशाका कुरा र मेनका अर्थात् युवतीका कुरा । यहि ग्रन्थका विविध पक्षमा अहिले काठमाडौं हराइरहेको छ । र, यसको एउटा पाटोमा नयाँ पुस्ता पनि रुमल्लिरहेको छ । भविष्यको चिन्ताविनै मजधारमा अलमलिएको छ । रेष्टुरेन्टमा मदिराको लत, कलेजमा ड्रग्सका कयन काण्डहरुमा मुछिएको छ । यो स्वभाविक कुरा होइन । अहिले लागुऔषध अपराध व्युरोको रेकर्डलाई हेर्ने हो भने पनि घटना वर्षैपिच्छे भयानक र भयावह हुँदै गइरहेको छ । अव यो अवस्थालाई नियन्त्रण गर्ने अथवा न्युनिकरण ? यसबारेको चर्चामा राज्य, अभिभावक र सम्बन्धित पक्ष उभिनु आवश्यक छ ।
नियन्त्रणका लागि नियमबन आवश्यक हुन्छ । न्युनिकरणका लागि जनचेतना । कतिपय समस्याहरु नियमबनबाट नियन्त्रण गर्दा भन्दा चेतनाबाट न्युनिकरण गर्दै लैजानुमा उपयुक्त देखिन्छन् । झनै मानिसका दैनिक कार्ययोजनाजस्तै बनेका कतिपय कुरालाई त निषेध गर्ने जमर्कोले त्यसको न्युनिकरण सम्भव छैन । काठमाडौंमा चलेका कयन राम्रा पाठशालाहरुको एउटा कथा छ । ती पाठशालाहरु विभिन्न बाहनामा वैज्ञापनिक दुनियाँमा छिरेर भएपनि चलिरहेका छन् । तिनले बर्षेनी कस्ता र कति राम्रा विद्यार्थीहरुको उत्पादन गरिरहेको छ त्यो एउटा कुरा । तर, पाठशालासँग जोडिएको होस्टेलले काठमाडौंको मुहारमा कुन छाप छाडिरहेको छ त्यो विश्लेषण गर्नैपर्ने वेला भइसकेको छ ।
गुरुकुल पौराणिक पाठशालाको नाम थियो । ग्रन्थहरुमा हामीले पढेका पनि छौं ती पाठशालाहरुसँग जोडिएका आवासको नै अंग्रेजी नाम होस्टल हो । पाठशालासँग जोडिएका अनेक आवासहरुमा शिक्षाका अतिरिक्त कक्षा हुनुपर्छ यो मान्यताले होस्टेलको विकास हुने हो । होस्टेल राज्यनीति सिकाउने संस्थासम्मका रुपमा परिभाषित भएका छन् । सामान्यतया अहिलेपनि गाउँघरतिर होस्टेल बसेर पढ्नेहरुको शैक्षिक समय व्यापक हुने भएकाले उनीहरु ‘ट्यालेन्ट’ हुन्छन् भन्ने चर्चा चलिरहन्छ । झन् राजधानीका होस्टेलहरुमा बस्नेका चर्चा कम्ति हुँदैन । तर, आजभोली होस्टेल शिक्षाको दिप लिएर अघि बढ्ने भन्दा पनि अपराधको अखडाका रुपमा परिभाषित हुन थालेका छन् । काठमाडौंका धेरै ठाउँमा खुलेका होस्टलहरु ड्रग्स, सेक्स र रंगिन दुनियाँमा भुल्ने अखडा बन्न थालेका छन् । यो प्रहरीले गरेको अध्ययनले पनि देखाएको छ ।
केही महिनाअघि बानेश्वरस्थित होस्टलबाट महानगरीय प्रहरीले तीनजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो । महानगरीय प्रहरीवृत्त नयाँ बानेश्वरले छ महिनामा विभिन्न अपराधबारे गरेको अनुसन्धानमा झण्डै ५० प्रतिशत अभियुक्तहरु होस्टलमा बस्ने, होस्टलबाट नै विभिन्न गैरकानुनी काम गर्ने फेला पारेको थियो । प्रहरीे तथ्याङ्कअनुसारे ६ महिनामा पक्राउ गरिएका तीन हजार ६ सय जना मध्ये एक हजार चार सय ४० होस्टेलमा बस्ने युवायुवती छन् । पक्राउ परेकामध्ये दुई सय ८८ जना विरद्ध विभिन्न अभियोगमा प्रहरीले मुद्दा नै चलाएको थियो । ज्यान मार्ने उद्योग, लागूऔषध, चोरीजस्ता अपराधमा होस्टेलमा बस्ने विद्यार्थीहरुको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । लागूऔषध नियन्त्रण व्युरो नयाँबानेश्वरका अनुशार पनि पछिल्लो समय लागु औषध कारोवर तथा प्रयोगकर्तामा पनि होस्टेलका विद्यार्थीहरुको संख्या बढिरहेको छ ।
प्रहरी तथ्याङ्क यस्तो आएपछि गत पुसदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले होस्टेल सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड–२०६९ लागु गरेको थियो । प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७ सदस्यीय जिल्ला अनुगमन समितिले होस्टेल नियमित अनुगमन गर्नुपर्ने व्यवस्था गरेपछि फागुनको अन्तिमसम्म अनुगमन हुन सकेको थिएन । मापदण्डअनुसार कम्तीमा ५० जना बस्ने भएपछि मात्र होस्टेल खोल्न पाईने, गैर विद्यार्थीलाई होस्टेलमा राख्न नपाईने, होस्टेलमा सुरक्षा गार्ड, वार्डेन व्यवस्था र सेवा शुल्क, गोपनियता, अनुशासन, आचारसंहिता लागु गर्नुपर्छ ।
नयाँबानेश्वर प्रहरी वृत्तका डिएसपी भिमप्रसाद ढकालका अनुसार होस्टलमा आपराधिक कृयालापमा संलग्न रहेका र विभिन्न अवैधानिक काम हुन थालेपछि अनुगमनको प्रस्ताव गरिएको थियो । अहिले उपत्यकामा सरदर पाँच सय होस्टल सञ्चालनमा रहेका छन् । तर ती मध्ये डेढ सयमात्र दर्ता र मापदण्डमा रहेको पत्ता लागेको छ । 
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छात्रवास (होस्टेल) सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड मस्यौदा समितिले बनाएको मापदण्डअनुसार अनुगमन थमलिसबेबमे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माको संयोजकत्वमा रहेको समितिमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, घरेलु अधिकृत, काठमाडौं प्रहरी परिसर प्रमुख, नेपाल होस्टेल व्यवसायी संगठन सदस्य र सहायक प्रमुख जिल्ला अधिकारी सदस्यसचिव रहेको अनुगमन समिति छ ।
होस्टेल एसोसिएसनकी अध्यक्ष किरण राजभण्डारीका अनुसार छात्रवास व्यवस्थित सञ्चालन गर्न अनुगमन सुरु गर्न लागिएको हो । केही छात्रवास सञ्चालकहरू मापदण्ड पूरा गर्नुको साटो ‘पेइङ गेस्ट’ राखेको भन्दै तर्किन थालेपछि अनुगमन सुरु गरेको राजभण्डारीले बताइन् । उनका अनुसार देशभरका हजारभन्दा बढी छात्रवासलाई एउटै छातामा ल्याएर सबैका समस्या समाधान गर्ने योजना छ ।
छात्रवासहरूमा लागुऔषध सेवन, गुण्डागर्दी र आपराधिक गतिविधि बढेको पाइएपछि अनुगमन सुरु गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले बताए । उनका अनुसार अनुगमनबाट छात्रावास, अभिभावक, विद्यालय सबैलाई फाइदा पुग्ने योजना बनाइएको छ ।
नेपाली जमातमा प्रहरीले हात हालेको ठाउँमा प्रहरीको स्वार्थमात्र देख्ने गरिन्छ । तर, वास्तवमै काठमाडौंका होस्टलहरुमा हुने गरेका गतिविधिहरुको कुनै सीमा छैन । कयन अपराधका सृङ्खलाहरुको सुरुआत नै त्यहाँबाट हुने गरेको छ । लगाम विनाको घोडाको उपद्रो र अभिभावकत्व विनाको स्वतन्त्रतामा रमाउने नाममा एउटा पुस्ता अपराधको दलदलमा लागिरहेको छ । यसको समाधानका लागि अभिभावक, प्रशासन र आम साधारण जुट्नु आवश्यक छ । जसले सहरलाई अनुशाशित बनाउन सिकाओस् ।

०६९, १९ चैतमा तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित लेख हो ।

Saturday, March 30, 2013

अपाङ्गलाई यौन चाहिँदैन ?

यो लेख निक्कै मन परेर मैले राखेको हुँ । यस्ता सामाजिक विषयबस्तुका बारेमा जानकारी पाउनैपर्छ । वास्तवमा मानिसहरु मानसिक रुपमा कति वेदनाको शिकार भएका छन् ? कति आत्मसमीक्षाका क्रममा आफैं पीडा भोगीरहेका छन् भन्ने नै हो । कान्तिपुर दैनिकमा ०६९, चैत १७ गते सावित्री गौतमको यो लेख निक्कै मन छोयो । 
 
'कस्तो छ तरकारी ? लाटीको म्वाइँ खाए जस्तो ।' प्रत्येकजसो नेपाली घरमा खाना खाने बेला सुनिन्छ, यो संवाद । यदि तरकारी खाँदा नुन कम छ, मसालेदार छैन भने स्वाभाविक रूपमा हामी भन्छौं, 'लाटीको म्वाइँ खाए जस्तो ।' यतिखेर मुम्बईको बान्द्रास्थित 'एडाप्ट' सेन्टरमा बसेर सेन्टरकी सचिव मालिनी चिवको किताब 'वन लिटिल फिङ्गर' पढ्दै उनीसँग किताब र उनको जीवनबारे कुरा गर्दैगर्दा मलाई आफूले सानैदेखि सुन्दै आएको यो प्रचलित नेपाली संवाद याद आयो । सेरेब्रल पल्सी नामक एक प्रकारको अपाङ्गताका साथ जन्मेकी मालिनीको आयु डाक्टरले ७२ घन्टामात्रै घोषणा गरेका थिए । आज उनी ४२ वर्षकी छन् । मालिनी हामीजस्ता 'साधारण' भनाउँदा मान्छेले झैं बोल्न सक्दिनन्, तर दुई विषयमा स्नातकोत्तर उनी पेसाले इभेन्ट संयोजक र परामर्शदाता हुन् । आमा डा. मीठु अलुरले स्थापना गरेको 'स्प्यास्टिक्स सोसाइटी अफ इन्डिया' आज मालिनीकै प्रयासले 'एडाप्ट' बनेको छ । 'एडाप्ट' अर्थात 'एबल डिसेबल अल पिपुल टुगेदर ।' ४० वर्षदेखि समावेशी शिक्षाको क्षेत्रमा कार्यरत यो संस्थाबाट आजसम्म लाखौं विद्यार्थी  शिक्षित  भइसकेका छन् । एउटै कक्षामा काला, गोरा, धनी, गरिब, केटा, केटीमात्र नभई शारीरिक र मानसिक अपांगता भएका विद्यार्थी अटाएर पढ्न पाउने संवैधानिक अधिकारको सुरक्षाका पक्षमा वकालत गरिरहेको एडाप्टले १० वर्षदेखि एसिया प्रशान्त क्षेत्रका १६ देशबाट प्रत्येक वर्ष २० जनाभन्दा बढी व्यक्तिलाई समावेशीको प्रशिक्षण पनि दिँदै आएको छ । कुनै सिनेमा मनपरेन, किताब मनपरेन, साथीले सोध्यो 'कस्तो थियो' ? 'खत्तम , झुर लाटीको म्वाइँ खाए जस्तो ।' यसको अर्थ हो, लाटी अर्थात् बोल्न नसक्ने केटीलाई म्वाइँ खाँदा कुनै प्रतिक्रिया जनाउँदिन, त्यसैले लाटीलाई म्वाइँ खान कोही चाहँदैन । हाम्रो समाजमा सदियौंदेखि प्रचलित यो भनाइलाई गहिरिएर सोच्ने हो भने 'लाटीलाई म्वाइँ खाने' यो वाक्यले प्रस्ट बताउँछ, सदियौंदेखि अपांगता भएका महिलाको वयस्क हुने अधिकारलाई कसरी नकारिँदै आएको छ । सुन्दा साधारण लागे पनि यो वाक्यले प्रतिनिधित्व गर्छ, अपाङ्गता भएका महिलालाई हेर्ने समाजको दृष्टिकोणको । आजभोलि निकै प्रचलनमा रहेको शब्द 'शाब्दिक हिंसा' ले पनि यसलाई कतै सम्बोधन गरेको पाइँदैन । १२ वर्षदेखि एडाप्टमै तालिम संयोजकका रूपमा कार्यरत डा. शर्मिला दोंदेका अनुसार, यदि हाम्रो हातको एउटा औंलामा काटेको छ भने हामी अर्को औंलालाई प्रयोग गर्र्छौ, त्यसले गर्ने काम गर्नका लागि । अपांगता पनि त्यस्तै हो । महिला मात्र नभई प्रत्येक अपाङ्गता भएका व्यक्तिबारे हाम्रो धारणा हुन्छ कि उसको शरीरको एउटा अंगले काम गरेन भने उसको पुरै शरीरसहित दिमागले पनि कुनै काम गर्दैन । 'ओहो दृष्टिविहीन भएर पनि कति राम्रो गीत गाएको' जस्ता टिप्पणी यस्तै अज्ञानका उपज हुन् । किनकि व्यक्तिको अपांगता उसको आँखामा हो, स्वरमा, गलामा होइन । डा. दोंदेका अनुसार, 'डिसेबल' अर्थात् कुनै काम गर्न अक्षम हुनु र यो अक्षमता कहीं न कहीं हामी सबैमा हुन्छ ।
अमेरिकी नारीवादी लेखक सुसन वेन्डवेलका अनुसार, समाज 'बडी ब्युटीफुल' को मान्यताबाट ग्रस्त छ । महिला सुन्दर देखिनैपर्ने परम्परागत सोचाइ छ र यो सुन्दरतामा शारीरिक सुन्दरता मात्रै पर्छ । यो मान्यतालाई मिडियाले झनै बढी 'प्रमोट' गर्छ । 'सुन्दरता' को सामाजिक परिभाषामा अपांगता भएका महिला कतै पनि अटाउँदैनन् । उनीहरूको शरीर मात्रै हेरिन्छ र नकारिन्छ । अपांगता भएका महिलाको शरीरलाई सुसनले 'रिजेक्टेड बडी' भनेर सम्बोधन गरेकी छन् ।
मालिनी भन्छिन्, 'मेरा लागि सबैभन्दा पीडादायी क्षण त्यो हुन्थ्यो, जब म आफ्ना साथीहरूलाई उनीहरूका ब्वाइ फ्रेन्डसंग समय बिताएको देख्थें । सबै वयस्क केटीहरूजस्तै म पनि कसैसँग अत्यन्त निकट सम्बन्ध चाहन्थेँ । मलाई पनि रहर लाग्थ्यो, आफूलाई माया गर्ने मान्छेको अँगालो महसुस गर्न ।' मालिनीका अनुसार, कलेजका केटा साथीहरू एकदमै राम्रो व्यवहार त गर्थे, तर त्यो प्रेम नभई सहयोग मात्रै थियो ।
कतै कुनै कार्यक्रममा जाँदा आफूसँग नसोधी आफ्ना 'केयरर' अर्थात् हेरविचार गर्ने मान्छेसँग 'उनलाई चियामा चिनी चाहिन्छ कि चाहिँदैन' भनेर सोधिएका कर्यौ नमीठा प्रसंगको सम्झना गर्दै मालिनी भन्छिन्, 'असह्य पीडा त्यतिबेला हुन्थ्यो, जब परिवारमा कसैको बिहे हुन्थ्यो ।' आफ्नो किताबमा उल्लेख गरेको प्रसंग सम्झँदै मालिनीले बताइन्- एकचोटि परिवारमा एउटा बिहे हुँदा उनले मुखै फोरेर आफ्ना पिता र बहिनीको अगाडि भनिछन्, 'के मलाई यौन अधिकार छैन ?' 'छ' । उनकी बहिनीको जवाफमा जब मालिनी सोध्छिन्, 'कसरी ?' तब दुवैजना नाजवाफ हुन्छन् । सन् १९९६ मा मुम्बईको समाचारपत्र 'मेट्रोपोलिज' मा 'नो सेक्स प्लिज आइ एम अ डिसेबल' प्रकाशित भएपछि आफूले भोग्नुपरेको मानसिक पीडाको उल्लेख गर्दै मालिनी भन्छिन्- 'कसरी वर्षौंदेखि अपांगता भएका व्यक्तिको अधिकारका लागि लडिरहेको उनको आफ्नै संस्था 'स्प्यास्टिक्स सोसाइटी अफ इन्डिया' का 'प्रोफेसनल' हरूले नै जिब्रो टोक्दै उनलाई सोधेका थिए, के लेखेको ? तिम्रा लागि यौन जरुरी छ र ? किन तिम्रा लागि यो यति महत्त्वपूर्ण ?' 'त्यतिबेला म रातभरि रुन्थेँ, जब मेरी आमाले मलाई सोध्नुहुन्थ्यो, 'किन रोएकी ?' 'तपाईंलाई थाहा छ किन' मेरो जवाफमा उहाँ अर्कोतिर फर्केर रुनुहुन्थ्यो ।'
सम्भ्रान्त परिवारमा जन्मेकी, भरपुर पारिवारिक सहयोग र लन्डनजस्तो विकसित सहरमा शिक्षा पाएर हुर्केकी मालिनीका अनुभव त यति कटक्क मन खाने छन् भने दूरदराजका अपांगता भएका महिलाको अवस्था के होला ? समावेशी र महिला अधिकारका चर्का-चर्का नारा उरालिने आजको समाज पनि अपांगता भएका महिलाको यौन अधिकारबारे मौन देखिन्छ । शिक्षा र रोजगारीमा अपांगता भएका व्यक्तिको अधिकारबारे थोरै भए पनि सचेतना आएको पाइन्छ । तर अपांगता भएका महिलासँग निकट सम्बन्ध राख्न वा बिहे गर्न कोही चाहँदैन । यौन मान्छे मात्र नभई जनावरको पनि आवश्यकता हो । तर अपांगता भएका व्यक्तिबारे मान्छेहरू सोच्छन् कि 'उनीहरूलाई यसबारे सोच्नै किन पर्‍यो ? उनीहरूलाई यसको कुनै आवश्यकता किन पर्छ र ?' सुसनको भनाइमा समाजले उनीहरूलाई 'असेक्सुअल' का रूपमा हेर्छ ।
यहाँ मुम्बईमा बसेर म सोच्दै छु, हाम्रो समाज अर्थात् नेपाली समाजमा चुपचाप घरधन्दाको जाँतोमा पिसिइरहेका कयौं 'लाटी' हरू छन्, जसलाई म्वाइँ खान कोही चाहँदैन । विभिन्न शारीरिक र मानसिक अपांगतासाथ बाँचिरहेका कयौं महिला छन्, जो पारिवारिक सहयोग शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित छन्, प्रेम या विवाह गर्ने अधिकार त कल्पनाभन्दा पनि बाहिरको कुरा । शरीरमा बैंस आउँछ, फुल्छ, ओइलाउँछ र यत्तिकै झरेर जान्छ । सार्वजनिक रूपमा 'लाटी' लाई म्वाइँ खान कोही चाहँदैन, तर गोप्य रूपमा भने यौन हिंसाको सिकार सबैभन्दा बढी तिनै महिला हुने गर्छन्, जो बोल्न सक्दैनन् । आफूलाई एकदमै शिक्षित र जान्ने-बुझ्ने ठान्ने हामी बुझ्दैनौं कि शारीरिक अपांगता भएका व्यक्तिहरू दिमागले 'बि्रलियन्ट' हुन्छन् ।
'आँखाले हेर्‍यो, मनले बेर्‍यो, मायाको फेरो कान्छी' नेपाली चलचित्र कान्छीको शीर्ष गीतको एउटा अंश हो यो । त्यसैले माया गर्नलाई कुनै भाषा या शब्दको जरुरत हुँदैन । सक्नुहुन्छ, ढुक्कले माया गर्नुस्, अपनाउनुस्, बिहे गर्नुस्, अपांगता भएका महिलासंग । सक्नुहुन्न, 'लाटीलाई म्वाइँ खाने' जस्ता शब्द प्रयोग गरेर उनीहरूको भावनाको अपमान नगर्नुस् । 

साभार ः इकान्तिपुर डट कम 

Thursday, March 28, 2013

कतै चेतनाका कुरा, कतै वेदनाका कथा


विनोद ढकाल 
सुरक्षित वैदेशिक रोजगारीका लागि नेपाली महिलाहरुलाई सचेतनाका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । मुलुकभरका ठाउँमा विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले पनि यस्ता काम गरेका छन् । नेपाली कानुनका कतिपय ठाउँमा महिलाका लागि विशेष अधिकार र विशेष व्यवस्थापनि कायम भएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुको उद्योगजस्तै बनेको नेपाल पछिल्लो समयमा महिलाहरुलाई पनि रोजगारीमा पठाउनसक्ने क्षमतामा पुगेको छ । सरकारी खाडी मुलुकका लागि पनि महिला कामदार पठाउने अनुमति दिएपछि अहिले प्रत्येक महिना पुरुषसँगै थामिनसक्नु महिलाहरुको ओइरो वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ ।
मुलुकमा रोजगारीको खडेरी नै लागेपछि आफ्नो घरको गर्जो टार्नेमात्र होइन परिवारको लालनपालनका लागि पनि नेपाली महिलाहरु वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । गाउँघरका युवाहरुको ठूलो जमात विदेशमा गएर पैसा कमाएको, केही युवतीहरुले आफ्नो चाहेअनुसारको खर्च वैदेशिक रोजगारीबाटै कमाएको देखासिकीका कारण अहिले मुलुकभरका महिलाहरुमा वैदेशिक रोजगारीमा जाने आगो सल्किएको छ । खासगरी अति न्युन आम्दानी भएका, गरिव तथा उत्पीडित परिवारका महिलाहरु खाडी तिर, मध्यमवर्गीय परिवारका महिलाहरु कोरिया र इजरायलतिर पुगिरहेका छन् । विस्तारै ग्रामिण बस्तीमा पनि सुरक्षित वैदेशिक रोजगारीका बारेमा चेतना छाउन थालेका केही उदाहरणहरु पनि छन् ।
नवलपरासी दाउन्नेदेवी–२ की वेनु खरेल गाउँका महिला कहाँ जान्छन्, के गर्छन् भन्ने कुनै चासो लिन्नथिइन् । तर आजभोली त्यसबारे चासो लिन थालेकी छिन् । त्यसमा पनि कोही महिला विदेश जाने तरखरमा छन् भन्ने थाहा पाउनासाथ उनी त्यस घरमा पुग्छिन् । कुन मुलुकमा जाने हो, त्यहाँको नीतिनियम, रीतिरिवाज र संस्कृतिबारे थाहा छ छैन भनी सोध्ने र थाहा नभए बुझेर जाने सल्लाह दिने गछिनर्् खरेल । विदेशमा कुन कामका लागि जाने हो भिसा हेरेर मात्र निर्णय लिनुपर्ने परामर्श पनि उनले दिने गरेकी छन् ।
विदेशबाट फर्केका महिलालाई समेत भेट्ने गरेकी खरेलले विदेशमा भोगेका दुःखसुखका कुरा बुझ्ने र त्यसबारे आफ्नो समूहमा समेत छलफल चलाउने गरेकी छन् । खरेलले मात्र नभई दाउन्नेदेवी–१ की मजिरुन निशाको काम पनि उस्तै छ । निशाले वैदेशिक रोजगारमा जाने महिलालाई सुझाव दिने, विदेशबाट फर्केका महिलालाई भेट्ने र अनुभव सँगाल्ने गरेकी छन् । गाविसमा सुरक्षित वैदेशिक रोजगारका लागि सामुदायिक सचेतना समूहमा आबद्ध भएपछि गाविसभरिका वैदेशिक रोजगारमा जाने महिलालाई सचेत गराउने र फर्केका महिलालाई सङगठित पार्ने कार्यमा स्वयम्सेवकका रुपमा उनीहरु लागि परेका छन् । 
गाउँका सोझासिधा महिला चेतनाको अभावमा दलालको प्रलोभनमा परेर विदेश जाने, बेचबिखनमा पर्ने, यौन र शारीरिक श्रमशोषणको सिकार हुन थालेपछि यस्तो समूह बनाएर उनीहरुलाई सचेत गराइँदै आएको समूहका महिलाहरुले समिक्षा गरी यस्तो काम गर्न थालेका थिए । महिलाहरुका लागि वैदेशिक रोजगार आवश्यकता र रहरमात्र नभएर बाध्यता ज्यादा भएको सोही क्षेत्रमा परामर्शको काम गरिरहेकाहरुले अनुभव गरेका छन् । दाउन्नेदेवी सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना समूहकी अध्यक्ष मञ्जु पाण्डेले गरेको परामर्शको कामका बखत यस्तै अनुभव सँगालेकी थिइन् । महिलालाई विदेश जाँदा प्रवेशाज्ञा शुल्कसमेत नलाग्ने भन्दै दलालहरु घरदैलोमा पुग्ने, फकाइफुल्याइ गर्ने गर्छन् । अधिकांशजसो घरेलु हिंसाबाट पीडित महिला, गरिब र दलित महिला दलालको प्रलोभनमा सहजै पर्ने गरेको उनको अनुभव छ । महिलाको सुरक्षित वैदेशिक रोजगारीका लागि गाउँस्तरमा गरिएको यो कार्यक्रम प्रभावकारी नै भएको छ । तर, यस्ता निक्कै गाउँ छन् जहाँ यस्तो सकारात्मक भन्दा दलालको भुमिका ज्यादा हुने गरेको छ भने पीडित महिलाहरुको संख्या पनि व्यापक देखिने गरेको छ ।
लेवनानका लागि पुगेकी एक महिलामाथि शारिरीक यातना व्यापक भयो । उनीमाथि घरमालिकले पनि यौनहिंसा गरेका थिए । अहिले नेपाल फर्किएर आफ्नो पुरानो जीवनमा फर्किएकी उनी आफ्नो वेदनाबारे सार्वजनिक गर्न मान्दिनन् । तर, उनले खाडीमा नेपाली महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई देखेकी छिन् । त्यसो त घरेलु कामदारका रुपमा गएर सम्पूर्ण शोषणमा परेका कतिपय महिलाहरु साउदी, कतार र कुवेतका दुतावासमा पनि छन् । उनीहरु नेपाल फिर्तीका लागि हारगुहार पनि गरिरहेका छन् । उनीहरुसँग अथाह वेदनाका कथाहरु छन् । दलालको चंगुलमा परेर विभिन्न कारणले रोजगारीको लोभममा पुगेपछि यातना पाएको गुनासो उनीहरुले गरेका छन् । अहिले दलालहरुले ठगी गर्ने शिलशिलालाई फरक धारबाट सुरु गरेका छन् । पहिला गाउँ पुगेर दलालीमा व्यापकता दिनेहरु अहिले खाडीका विभिन्न मुलुकमा रहेर घरेलु कामदारको नाममा नै व्यक्तिगत भिसामा महिलाहरुलाई आकर्षित गरिरहेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क नियाँल्दापनि महिलाहरुको संख्या विस्तारै बढिरहेको र न्युनिकरणको अवस्था कमजोर बनेको विश्लेषण गर्न सकिन्छ । त्यसो त सरकारी तथ्यांकलेमात्र प्रत्येक महिना सरदर तीन हजार नेपाली महिलाले मुलुक छाडेको देखाएको छ । यो वैधानिक रुपमा श्रमस्वीकृति लिएर जाने महिलाहरुको तुलनात्मक तथ्यांकमात्र हो । गएको साउनदेखि फागुनसम्ममात्र १९ हजार ९ सय ८० जना महिलाहरुले श्रमस्वीकृति लिएर खाडी लगायतका ठाउँलाई आफ्नो गन्तव्य बनाए । फागुनमा मात्र ३ हजार ५ सय ३७ जना महिलाहरुले मुलुक छाडेको तथ्य वैदेशिक रोजगार विभागसँग छ । तर, के उनीहरु सवै सुरक्षित वैदेशिक रोजगारीका लागि पुगेका होलान् त ? वा सुरक्षित रुपमा काम गरेर फर्किन्छन् त ? यसको उत्तर स्वयम् जानेहरुले पनि दिन सक्ने अवस्था छैन । खाडीमा हुने घरेलु हिंसाको शिकार हुनका लागि उनीहरु पुगिरहेका छन् । किनपनि यसो भन्न सकिन्छ भने खाडीमुलुकका घरेलु कामदारका लागि जाने महिलाका लागि कुनै अन्तर्राष्ट्रिय मापदण्डको व्यवस्था भइसकेको छैन । अनुगमनको निरन्तरता छैन । वैधानिक रुपमा जानेपनि यी शंकाबाट मुक्त छैनन् भने अवैधानिक र भारतीय बाटो हुँदै खाडी पुगेका विभिन्न ठाउँमा महिलाको अवस्था निक्कै नाजुक हुनसक्ने सामान्य अड्कल काट्न सकिन्छ । किनभने, वैदेशिक रोजगारका लागि ओमान पुगेर घर मालिकको गर्भ बोक्ने, कुवेतको जेलमा तीन दर्जन महिलाहरु बन्दि भएको तथा प्रत्येक वर्ष यौन, शारिरीक र मानसिक यातनाका कारण साउदी अरबमा मारिने महिलाहरुका कथा सार्वजनिक भइसकेका छन् । 
के गर्छ तीस वर्षे उमेर हदले ? 
वैदेशिक रोजगारका क्रममा नेपाली महिला कामदारमाथि यौन शोषण, मानसिक र शारिरीक यातनाको गुनासो, उजुरी र घटना आउन थालेपछि नियन्त्रणका लागि सरकारले उमेर हदको व्यवस्था गरेको थियो । सरकारले यस्तो व्यवस्था किन गरेको होला ? भन्ने विषयमा वैदेशिक रोजगारमा जाने महिलाहरुले चासो दिएको अवस्था छैन, किनभने मुलुकमा रोजगारीका लागि सरकारले पर्याप्त अवसरको सृजना गर्न सकेको छैन । 
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा वैदेशिक रोजगारीका क्रममा पुगेका नेपाली महिलाहरुमाथि यौन हिंसा ज्यादा भएको विश्लेषण गरी सरकारले ३० वर्ष नपुगी महिलाहरुलाई रोजगारीमा जान नदिने नीयम मन्त्रीपरिषद्को वैठकबाट नै अनुमोदन गराएको थियो । वैदेशिक रोजगार विभागको श्रम स्वीकृति शाखामा अधिकांश महिलाहरु नागरिकता लिनासाथ वैदेशिक रोजगारीमा जाने र सोही संख्यामा यौनहिंसाको पीडा बोकेर आउने विश्लेषणपछि यस्तो निर्णय गरिएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । 
यसलेमात्र महिलामाथि हुने हिंसामा कमि आउनेचाँही होइन तर यसले केहीहदसम्म किशोरी र युवतीहरुमाथि हुने हिंसामा न्युनिकरण हुनुका साथै दलालहरु पनि समस्यामा पर्नसक्ने सरकारी विश्लेषण थियो । तर, रोजगारीमा जानु अधिकार भएका कारणले सम्बन्धित मुलुकका दुतावासहरु निक्कै प्रभावकारी बनाउने दिशामा भने सरकारको ध्यान पुग्न सकेको छैन । अहिलेपनि महिलाको संख्या सोचेजति नियन्त्रण हुन सकेको छैन त्यसकारणपनि महिलाको सुरक्षाका लागि वैदेशिक रोजगार विभागले तयार पारेको प्रस्तावलाई रोजगारदाता मुलुकको सरकारसँग अनुमोदन गराउन आवश्यक देखिएको छ । विभागले नेपाली महिला जो घरेलु कामदारका लागि विभिन्न मुलुक पुग्ने गरेका छन् उनीहरुको नियमित टेलिफोन सम्पर्क, पासपोर्ट आफैंसाथ, न्युनतम तलव, भिन्नै आवासको व्यवस्था, सुरक्षाको ग्यरोन्टि तथा नेपाली दुतावासका प्रतिनिधिले चाहेको समयमा भेट्न पाउने व्यवस्थाको प्रस्ताव गरेको छ । तर, यो प्रस्तावलाई नेपालले अन्य मुलुकका राज्यसँग सम्झौताका रुपमा हस्ताक्षर गराउन सकेको छैन । तीस वर्षे उमेरहदलेमात्र नेपाली महिलामाथि विदेशमा हुने हिंसा न्युनिकरण प्रभावकारी हुन सक्तैन । 

हिमालय टाइम्स दैनिकमा ०६९, चैत १६ सुक्रबार प्रकाशन भएको मेरो लेख 

Wednesday, March 27, 2013

हावातालमा विदेशतिर


डी. विनोद 
ताप्लेजुङकी सृजना पाण्डे वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छिन् । घरेलु कामदारका लागि उनी कतार जान लागेकी हुन् । व्यक्तिगत भिसामा कतार जान लागेकी उनलाई सरकारले लागु गरेको उमेरहदबारे त्यत्ति जानकारी छैन । ‘सुनेकी छु तर श्रम स्वीकृतिका लागि अहिलेसम्म केहीपनि भनेको छैन । म प्रकृयामा छु ।’ 
पाण्डेसँगै वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुक जान खोज्नेहरुको लर्को वैदेशिक रोजगार विभागको कार्यालयमा दैनिकजसो देखिन्छ । तर उनीहरु सरकारी नियमभन्दा पनि ‘कुरो मिलाएर’ जाने विषयमाचाँही ढुक्क छन्, पुगेपछिका जोखिमबारे सतर्क हुन सकेका छैनन् । साउदी अरब जाने तयारीमा रहेकी सुनसरीकी लक्ष्मी तामाङले भनिन्,‘नियम त्यति थाहा छैन तर पैसा कमाएर फर्किने सोच र जाँगर छ । तालिम दिन्छ रे त्यहाँ थाहा होला नी ?’ वैदेशिक रोजगारीको शिलशिलामा घरेलु कामदारका लागि खाडी लगायतका मुलुकमा महिलाहरुमाथि शोषण हुन थालेपछि सरकारले उमेरहद कायम गरेको थियो । आर्थिक वर्षको सुरुदेखि नै वैदेशिक रोजगार विभागले ३० वर्ष नपुगेका महिलाहरुलाई खाडी लगायतका मुलुकमा जान प्रतिवन्ध नै गरेको छ । तर धेरै यसबारे अनभिज्ञ छन् । 
घरेलु कामदारकै रुपमा रोजगारीमा गएर ज्यान गुमाउने र समस्यामा पर्नेहरु कम छैनन् । जसका कारण उनका परिवारपनि समस्यामा पर्ने गरेका छन् । घरेलु कामदारका लागि साउदी अरब पुगेकी नवलपरासीकी सरस्वती घिमिरेको मृत्यु भएको एक वर्ष पुग्न लाग्यो । तर अहिलेसम्मपनि उनको मृत्युको कारण खुल्न सकेको छैन । साउदीमा रहेका नेपाली कामदारले उनको मृत्युको कारण माग गरेपनि साउदी प्रशाशनले प्रष्ट रुपमा खुलाएको छैन । त्यतिमात्र होइन बरु विभिन्न कारण देखाएर घिमिरेको लास अहिलेसम्म पनि नेपाल पठाएको छैन । सरकारको यो नियमबन लागु हुनुपूर्व नै घिमिरे साउदी पुगिसकेकी थिइन् । 
त्यसो त लम्जुङकी दुर्गाकुमारी गुरुङको हत्याको कारण पनि खुलाउन सकिएको छैन । उनको कालगतीको मृत्यु भएको भन्दै साउदी सरकारले उल्टै उनका आफन्तसँग विभिन्न कागज माग्ने काम गरिरहेको छ । वैदेशिक रोजगारीमा साउदी लगायत कुवेत, कतार, बहराइन, लेवनान लगायतका मुलुकमा रहेका महिलाहरुमाथि भएको हिंसा र हत्याको विषयमा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको छैन । बरु, त्यसो हुन नदिने मुलुकमा नै नियम जारी गरी परिपक्व वैदेशिक रोजगारीमा पठाउने कामलाई लागु गरिएको बताइने गरेको छ ।
साउदी अरबको तायफमा मृत्यु भएकी मोरंगकी हरिमाया सुन्दासको पनि मृत्युको कारण खुलेको छैन । उनको मृत्यु भएको झण्डै दुई वर्ष पुग्न लागेको छ । उनी पनि घरेलु कामदारका रुपमा साउदी अरबमा केही वर्षदेखि कार्यरत थिइन् । उनी सरकारी नियमले छुन नसकेपछि विदेश गएर मृत्युवरण गर्नुपरेको थियो । 
घरेलु कामदारका लागि खाडीका अन्य मुलुक जाने महिलाहरुको पनि मृत्युका कारण खुल्न सकेका छैनन् । अन्य मुलुकको प्रशासनिक संयन्त्रको असहयोगका कारण हत्याको कारण अहिलेसम्म पनि प्रष्ट रुपमा खुलाउन नसकिएको सम्बन्धित मुलुकमा रहेका नेपाली दुतावासहरुले प्रष्टीकरण दिदै आएका छन् । विभागले उमेर हेरेर महिलाका लागि श्रम स्वीकृति दिन थालेको आठ महिना वितेको छ । यद्यपि, वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा भने कमी आएको छैन । श्रमशोषण, हत्या र यातनाका बारेमा बारम्बार चर्चा भइरहँदा पनि कमी आउन नसक्नु व्याप्त वेरोजगारी रहेको विज्ञहरुले बताउँदै आएका छन् । यस आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि मुलुक छाडेका चार लाख ३५ हजार चार सय ७७ जना मध्ये १९ हजार नौ सय ८० महिला रहेका छन् । ‘यातना, हत्या र पीडाको शिकार भएपनि महिलाहरु रोजगारीमा जाने क्रम रोकिएको छैन ।’ वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका अधिकारी अशोक गौतमले भने,‘नियम लागु भएको छ सो अनुसार काम पनि भइरहेको छ । तर, महिलाहरुको संख्यामा केही कमी देखिएन ।’
साउन महिनामामात्र दुई हजार सात सय ६१ महिला वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए । भदौमा २१ सय ७६, असोजमा २२ सय ६६, कात्तिकमा १८ सय ६९, मंसिरमा ३२ सय ७८, पुषमा १९ सय ४२, माघमा २१ सय ४५ र गतमहिनामात्र ३५ सय ३७ जना वैदेशिक रोजगारीमा पुगेका छन् । ‘वैदेशिक रोजगारीमा जानका लागि प्रतिवन्ध गर्न मिल्दैन बरु त्यहाँ जाँदा अपनाउनुपर्ने सतर्कताका बारेमा हामीले बारम्बार कार्यक्रम गरिरहेका छौं ।’ गौतमले भने,‘सरकारी नियमसँगै चेतनाको कामपनि गरिरहेका छौं तथापी महिलाहरु रोजगारीको शिलशिलामा पुगिरहेका छन् ।’ पुरुषको तुलनामा महिलाको संख्या निक्कै कम हो । तर, नेपाली समाजमा महिलाहरु पनि वैदेशिक रोजगारीमा गएको यो संख्या उच्च हो । त्यसो त अहिलेपनि विभिन्न मुलुकमा जानका लागि तीन सय १६ जना महिला श्रम स्वीकृति पर्खिएर बसेका छन् । 

मालिकको जुठो खानुपर्ने !

सुनसरीको भरौल–१, कालाञ्जारका किर्तन चौधरी काठमाडौंमा ट्याक्सी चलाउँछन् । वैदेशिक रोजगारको शिलशिलामा चार वर्ष साउदी अरबमा बसेका थिए । ड्राइभिंगको भिसा लिएर साउदी पुगेका चौधरीको अनुभव 


काठमाडौंको भिमसेन गोलामा रहेको शाह म्यानपावरमा ९५ हजार रुपियाँ तिरेर ड्राइभिङका लागि म साउदी अरब गएको थिएँ । सन् २००७ मा मैले मुलुक छाडेको थिएँ । त्यहाँ रहेको एसीसी कम्पनीमा ड्राइभिङको कामको सम्झौतापत्रमा हस्ताक्षर गरेर गएको थिएँ । तर, साउदी अरब पुगेपछि भनेको कम्पनीमा काम गर्न पाइएन । आठ सय रियाल तलव दिने भनिएपनि ६ सय मात्र दिएर सम्झौता गरेभन्दा फरक कम्पनीमा जागिर खान बाध्य हुनुपरेको थियो । 
गएको तीन महिनासम्म मैले ड्राइभिङको साटो लेवरको काम गर्नप¥यो । आएपछि काम गर्नैपर्छ भन्ने लाग्यो र त्यो काम पनि गरियो । तर, जुन कामका लागि म गएको थिएँ त्यो नपाएपछि तीन महिनामा मैले कम्पनी मालिकसँग गुनासो गरें । त्यसपछि उनले ड्राइभिङको काम त दिने भए । तर, त्यो काम उनको आफ्नै घरमा गर्नुपर्ने रहेछ । साहुको नाम थाह भएन तर त्यहाँका अरबी साहुका परिवार, बहिनीहरु, छोराछोरीका लागि गाडी चलाउने काममा लागें । तलव छ सयदेखि बढेको थिएन । उनका परिवारले पनि कम्तिमा एक हजार हुनुपर्ने भनेर मलाई सुझाव दिन्थे । तर, काम गरुञ्जेल कहिलेपनि तलव बढेन । मसँग छ जना अन्य नेपाली पनि गएका थिए । उनीहरुको हालतपनि मेरोजस्तै थियो । घरमा काम गर्न लेवर भन्दा सजिलो थियो । तर, तिनीहरुले ड्राइभरलाई राम्रो व्यवाहार गर्दैन थिए । खानाकै लागि निक्कै कठिन हुन्थ्यो । पहिला अरबीका पुरुषहरुले खाने र त्यसैमा उनीहरुका श्रीमतिले खाने गर्दथे । त्यसपछिमात्र त्यहि भाँडोबाट ड्राइभरले खानुपर्ने बाध्यता थियो । 
मलाई त्यसो गर्न मनपरेको थिएन अनि तलव पनि नबढाएपछि म त्यो घरबाट भागें । रियाद सहरै म अवैधानिक कामदारका रुपमा रहन पुगें । मैले त्यो घरमा १५ महिना काम गरेको थिएँ । भागेर गएपछि म अल पाद धोसरी भन्ने कम्पनीमा ड्राइभरको रुपमा काम गर्न थालें । एउटा ठूलो ट्रक चलाउँथें । त्यसवापत मलाई महिनाको १३ सय रियाल तलव आउँथ्यो । त्यो चाँही केही चित्तबुझ्दो थियो । तर, इलिगल भएकाले मैले लुकेर काम गर्नुपर्ने बाध्यता थियो । उक्त कम्पनीमा काम गरेको केही महिनामा मैले डोजर चलाउन सिकें । त्यसपछि डोजर चलाउने कामपनि गर्न थालें । १४ घन्टा डोजर चलाउने काम गर्दा कम्तिमा १८ सय रियाल तलव हुन थाल्यो । काम गर्दै जाँदा १५ महिनासम्म मैले डोजर चलाएँ । सोही बेला इलिगल कामदारका लागि आममाफीको घोषणा भएको थियो । नेपाली दुतावासले पनि कागजपत्रका आधारमा मुलुक पठाउने काम थालेको थियो । जोखिममा लामो समयसम्म काम गर्ने रहर पनि थिएन । दुतावासमा सम्पर्क गरी आफ्ना कागज देखाएर म मुलुक फर्किएँ । त्यसपछि अहिलेसम्म कुनै देश गएको छैन । चार वर्ष साउदीमा बस्दा नै म हायलकायल भइसकेको थिएँ ।

काममा जानेलाई टिप्स 
श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रि आप्रवासन संगठन (आइ.ओ.एम.) को संयुक्त प्रयास तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कृयाशीलतामा बोर्डमै रहने गरी आप्रवासी स्रोत केन्द्रको स्थापना भएको छ । वैदेशिक रोजगारीमा जानेहरुको परामर्शका लागि यो स्रोत केन्द्र उपयोगी छ । यदि तपाई वैदेशिक रोजगारीका लागि जानुहुँदैछ भने स्रोतकेन्द्रमा सम्पर्क गर्नुहोला । तपाइले यस्ता सेवा पाउनुहुनेछ । 
– वैदेशिक रोजगारीमा जान चाहने वा जाने कामदारहरुलाई उचित परामर्श र सही सूचना उपलब्ध हुन्छ । 
– व्यक्तिगत तथा इमेलका माध्यमबाट पनि परामर्श हुन्छ । इमेलको पहुँच नभएका कामदारहरुको हितलाई ध्यानमा राखी टेलिफोनबाट समेत परामर्श सेवा दिने व्यवस्था छ । 
–आप्रवासनमा जान चाहने कामदारहरुको वैदेशिक रोजगार सम्बन्धी सही तथा भरपर्दो सूचनाका लागि पैसा नलाग्ने टोलफ्रि नम्बरमा सम्पर्क गर्न सकिने छ । 
–कानुनी तथा प्राविधिक जानकारी लिन सकिन्छ । सूचना प्रवाहलाई टेलिफोनबाट प्रभावकारी सेवा पाउन कामदारले केन्द्रबाट ‘अटो एनसरिङ मेसिन’को सहयोग पाउँछन् । 
–सुरक्षित वैदेशिक रोजगारका लागि काम गरिरहेका सरकारी, गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग पनि परामर्श गर्न सकिन्छ । 

Monday, March 25, 2013

गद्दारी वा हृदय परिवर्तन ?


विनोद ढकाल 
लामो समयसम्म मण्डला नाट्यघर अगाडी मानिसको हुल व्यापक थियो । स्तम्भकारले सोध्यो,‘यो के को हुल हो ? कस्तो भिँड हो ?’ पत्रकार एमपी सुव्वादे भने,‘मण्डलामा नाटक हेर्नेको हुल हो । ‘डिग्रि माइला’ हेर्नेको जमात हो ।’ नेपालीजनपनि नाटकका निक्कै पारखी हुन् । दिनभरी मुलुकमा फस्टाएको राजनीतिक दलको नाटक हे¥यो, समिक्षा ग¥यो अनि साँझ परेपछि मण्डला थिएटरतिर छि¥यो । मुलुकमा कुनै कमजोर नाटक चलिरहेको छैन । अनि, राजनीतिमा होमिएका धुरुन्धर नाटकबाजहरुको कथा पनि कम रोचक छैन । कति ‘डिग्रि माइलाहरु’को भविष्यमाथि तुसारो लगाएर राजनीतिक उन्माद छन् यी खेलाडी तिनको नाटक नै नेपालीजनका लागि काफि हुनुपर्ने हो । जे होस्, हामी दैनिक चल्ने यस्तो ‘झुर राजनीतिक नाटक’बाट वाक्क पनि भइसकेका रहेनछौं । हरेक कुरा टुलुटुलु हेरेर स्वीकार्नुको विकल्प हामीसँग छैन । 
नेपाली राजनीतिक नाटकमै यो साता दुई प्रकरणहरु निक्कै चर्चामा रहे । पहिलो, पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाइृ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमूखमा नियुक्त गर्ने र दोस्रो लामो समयसम्म नेकपा एमालेमा रहेका नेता रामचन्द्र झाको एमाले छाड्ने निर्णय र एमाओवादी प्रवेश गर्ने योजना । यी बाहेक हरेक दिन सानतातिना राजनीतिक क्लाइमेक्सपनि चलिरहेका हुन्छन् । एमाले नेता ओलीका तुक्का र एमाओवादी अध्यक्ष प्रचण्डका झुठा र फुस्रा कुराको कति चर्चा गर्ने । राजनीतिक दलले हस्ताक्षर गरेर बनाएको सरकारमा होस वा संवैधानिक निकायमा त्यहाँ नियुक्त गरिने पदाधिकारीको सिफारिस यीनले नै गरिरहेका छन् । खास अर्थमा खिलराजलाई ‘फ्ल्याटरन स्क्रिन’ बनाएर रिमोटलाई अनेक कोणबाट आफुलेमात्र चलाउने यीनको प्रपञ्चअनुसार नै कार्कीको नाम अघि आएको हो । खासगरी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको प्रस्तावका कार्कीको नाम अघि सारियो । जो जनआन्दोलनका समयमा प्रशासनयन्त्रको मुख्यसचिव थिए, जनआन्दोलन दवाउने कर्मको निर्णायक ठाउँमा बसेका थिए । आफैं अख्तियार दुरुपयोगमा परेका व्यक्तिपनि रहेछन् । हाल सर्वोच्च अदालतले तत्काल उनको नियुक्तिलाई रोक्नका लागि आदेश दिएपछि केही समयका लागि यो प्रसंग रोकिन्छ भन्ने आशा छ । यद्यपि, सर्वोच्चमा रिट भएकै समयमा पनि प्रधानमन्त्रीको कुर्सी देखेपछि हतारिएका रेग्मी र संविधानलाई तिलाञ्जरी दिएर हुकुमी प्रवित्तिमा हिँडेका राजनीतिक दलहरुको कुनै भर छैन । कार्की प्रकरण यो साता पनि चर्चामा रहला । यसबारे नागरिक तहबाट विचरण भइ नै रहेको छ, त्यसअलावा केही हुन सकेको छैन । 
एक राजनीतिक पार्टीमा लामो समय संघर्ष गर्ने र अर्को पार्टीमा प्रवेश गरेर भविष्यका खोक्रा कुरा गर्ने । पार्टी फुटाउने, आफैं नयाँ पार्टी बनाउने र राजनीतिक चर्चा कमाउनका लागि विभिन्न हुर्मतलिने कामपनि गर्ने । मातृका यादवले पार्टी फुटाएका हुन् वा मणि थापाहरु निकालिएका हुन् । मोहन वैद्यहरुले पार्टी विभाजनको घोषणा गरेका हुन् अथवा राधाकृष्ण मैनालीहरु पार्टीमा प्रवेश गरेका हुन् । अथवा पछिल्लो समयमा रामचन्द्र झाले एमाले छाडेर माओवादी प्रवेशका लागि गरेका चालहरु हुन् । यीनलाई कसरी सम्बोधन गर्ने ? पूर्व अञ्चलाधिश पदमबहादुर विष्टका छोरा सुवर्णशम्शेर विष्टले यस्ता गतिविधिका बारेमा भन्ने गर्दथे,‘छाडेको पार्टीले गद्दार भन्ने र नयाँ पार्टीले हृदय परिवर्तन भन्ने दुई तर्कमा राजनीति चलेको छ ।’ नेपाली राजनीतिको कथा यसरी नै निरन्तर चलिरहेको सवैले देखेकै छौं । तासमा जोक्कर साट्ने खेल निक्कै रोचक हुन्छ । जव राजनीतिक दलमा यसरी जोक्कर साटिन्छन्, अनि राजनीतिक दलको यो खेललाई कस्तो संज्ञा दिने ? गद्दारी वा हृदय परिवर्तन ? पक्कैपनि एमालेले यसलाई गद्दारीको संख्या देला र एमाओवादीले हृदय परिवर्तनको संज्ञा । तर, नेपाली राजनीतिमा चलिरहेको यो रंगमञ्चको कथा कहिलेपनि टुंगो लाग्ने अवस्था आउने छैन । आजसम्म विश्वका अन्य मुलुकहरुमा को नेता कुन राजनीतिक दलमा प्रवेश गरे, कुन राजनीतिक पार्टी खोले भन्नेबारेमा त्यति सुनिएको छैन । खासगरी विकसित मुलुकहरुमा यो प्रकृयाको बारेमा सुन्न आएको छैन । स्थिर राजनीतिक व्यवस्थाबाटै विकासका मुलु फुटेका, खोज र अनुसन्धानबाट नयाँ काम गरिएको चर्चा सुनिएको छ । तर नेपालमा अहिले यो अवस्था छैन । नेपालमा अहिलेपनि अधिकार र न्यायको आन्दोलन चलिरहेको, नयाँ संविधान निर्माणका लागि राजनीतिक कर्म चलिरहेका कारणले पनि सोचेअनुसारको काम हुन सकेको छैन । तर, यहि नाममा वितेका वर्षहरुमा पनि उपलव्धिका मुना समेत देख्न पाइएन । अन्ततः राजनीतिक असफलताको चर्चाअनुसार कथाले साकार रुपमा पायो, नयाँ प्रधानमन्त्रीका नाममा खिलराज रेग्मी र मन्त्रीमण्डलमा प्रशाशनयन्त्रका अनेक पूर्वकर्मचारीहरु । यद्यपि, राजनीतिक दलका रवैयामा कुनै सुधार आएनन्, तिनमा कार्यरतहरुमा पनि कुनै परिवर्तन भेट्टिएन । 
परिवर्तनको आन्दोलनमा हिँडेका कयन युवाहरुले राजनीतिक परिवर्तनसँग खोजेको अवसर, रोजगारीको गन्ध अहिलेसम्म पनि पाउन सकेका छैनन् । हातमा डिग्रि छ तर रोजगारीको अवसर कहिँ कतै छैन । रोजगारीका मुहान खुल्ला हुँदा लाखौं युवाहरु एक पदका लागि हातमा डिग्रि लिएर लामबद्ध हुने गरेका छन् । यो परिस्थितिबाट गुज्रिएको मुलुकमा अहिलेपनि राजनीतिक दल र तिनले देखाउने गरेका अनेक किसिमका ताण्डवहरु नै प्रधान हुने गरेका छन् । पछिल्लो पटक प्राप्त लोकतन्त्रको सात वर्षमा शुन्यताको उपलव्धिको पछि हामी अहिलेपनि अभ्यस्त भइरहेका छौं । र, फेरिपनि उही राजनीतिक नौटंकीको गुलाम भएर दौडिरहेका छौं । परिवर्तनका जग खन्नेहरुको अवहेलनालाई स्वीकार गरी त्यसको नेतृत्वका नाममा भविष्य नै अन्धकारमा पारिरहेको राजनीतिक व्यवस्थाको पछि अहिलेपनि फुर्सदिलो बनेर दौडिरहेका छन् । फेरिपनि केही समयसम्म यो राजनीतिक नाटकको रंगमञ्चमा उही कलाकारहरुको बर्चश्व भइरहेको छ । यो निरन्तरताको क्रमभंगता नभएसम्म यसरी नै बारम्बार हामी नयाँ पुस्ताले दुख भोगिरहनुपर्नेछ । 
यसकारण, आगामी असार अथवा मंसिरसम्ममा राजनीतिक धरातल नै परिवर्तन हुने भनेर जुन अन्तिम समयको माग भएको छ अव नेपालीजनसँग त्यो समयसीमाभन्दा अरु केहीपनि बाँकी छैन । त्यति समय पर्खनैपर्ने हुन्छ त्यसपछिको समयलाई पर्खिनु मुर्खताभन्दा अरु केही पनि हुने छैन । यो नै नेपाली जनताले राजनीतिक दलका लागि कोरेको सीमारेखा अझ भनौ लक्ष्मणरेखाका रुपमा लिनुपर्दछ, त्यसलाई प्रमाणित पनि गर्नैपर्दछ । अन्यथा राजनीतिक दलको क्लवमा सदस्य परिवर्तनका खेल र त्यहि क्लवले नेपाली जनताको भविष्यका बारेमा ‘बाल निर्णय’ गर्दैजाने र बुज्रुक समुदाय चुप लागेर बस्ने हो भने परिवर्तनका अंकुर देख्न पाइने छैन । त्यसकारण यो निर्णय नै निर्णायक बनाऔं ।

तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा १२ चैत, सोमबार प्रकाशित लेख हो ।

Friday, March 22, 2013

रंगिन तस्वीर


यो एउटा सरल रंग
फरक–फरक रंगहरु 
अनि, त्यसमा रमाएको
उम्लिएको जीवनरंग
उन्मुक्त, उन्माद पर्वसँगै
सप्तरंगमा छरिएको अलग रंग
तिम्रो रंगसँग यी रंगहरु 
अष्ठरंग भएर, 
निक्कै शोभनिय छन् 
तर, जीवनको अर्को पातोमा
यी रंगहरुका अर्थ 
कति लाग्न सक्छन् ?
बस, त्यो पातोमा एउटै 
केवल, अवशिष्ट रंग छ
मेहनत, संघर्ष र संवेदना । 
यो रंगभित्र, नयाँ रंगपर्व 
झुम्छ, झुमोस् अनि रमाओस्
प्रतिबिम्ब रंगिन तस्वीरमा ।  
–विनोद 





Thursday, March 21, 2013

सेक्स, स्क्याण्डल र चिन्तन


विनोद ढकाल 
अमेरिकन अभिनेता स्टिभ मार्टिनले भनेका थिए, ‘सेक्स त्यो चिज हो जुन किनेर उपभोग गर्न सकिन्छ ।’ पूर्वीय संस्कृतिमा सेक्सको महŒवका बारेमा बुझ्नेहरूले ‘कामसूत्र’ का अनेक अध्यायहरूको बृहत्तर अध्ययन पनि गरेका होलान् । ठूला युद्धहरू र त्यसले देखाएका परिणामका कारण खोतल्दै जाँदा ‘सेक्स’ नै देखा पर्दछ । यसमा घटनाक्रम र पात्रहरूका चरित्र चित्रण हुनसक्छन् तर संकेत निर्विकल्प सेक्स नै हो । 
मुलुक अमेरिकी विचारको तहमा पुग्न सकेको छैन । शैक्षिक, सामाजिक, वैज्ञानिकलगायतका अनेक कमजोरीमा हामी रहेका छौं । त्यसकारण पनि तेस्रो विश्व भनिएको हो, तेस्रो विश्व र पहिलो विश्वका मानिसको विचार र व्यवहारको तह समान हुन सक्दैन । यद्यपि, पहिलो विश्वको अहिलेको वैचारिक तहभन्दा पूर्वीय संस्कृति निकै माथि थियो भन्ने केही उदाहरण पनि छन् । त्यसकारण मार्टिनको विचार र नेपाली बजारमा व्याप्त सेक्सका परिभाषालाई कतिसम्म सहजीकरण गरेर व्याख्या गर्न सकिन्छ त्यसको मापदण्ड मैले पनि पहिल्याउन सकेको छैन । तर, रामायण, महाभारत तथा पूर्वीय संस्कृतिका अनेक महाकाव्यहरू, नेपाली साहित्यका भयंकर खेलाडीहरूले बजारमा ल्याएका कृति, उपन्यासकारहरूका सिर्जना सेक्ससँग अन्तरंग नभएका पाइँदैनन् । नेपाली बजारमा सेक्सको बिक्री जुन मात्रामा बढेको छ त्यो मात्रमा सिर्जनाहरूको व्याख्या पनि सहज हुन सकेको छैन । ओशोले भनेजस्तो सेक्स नै सिर्जनाको आकार बन्ने लहडमा नेपाली साहित्य दौडिरहेको छ । कल्पनाको संसारमा भिजाउने विषयवस्तुका लागि सेक्स नरमगरम चिजका रूपमा व्याख्या गरिएको छ । यसलाई नेपाली समुदायले स्वाभाविक मानेको छ । एकाध मानिसको पश्चगामी चिन्तन र आडम्बरलाई मूल्यांकन नगर्ने हो भने नेपाली जनजिव्रोमा सेक्स सरल र स्वाभाविक विषय बनिसकेको छ । तर, यसैसँग अन्तर्सम्बन्धित बनाएर ल्याउने हरेक प्रकारका चर्चाले नेपाली बजार तताएको हुन्छ । 
प्रत्यक्ष वा परोक्ष रूपमा मानिसका हरेक सार्वजनिक जीवन र उसको व्यक्तिगत जीवनको भिन्न चाहना हुन्छन् । व्यक्तिगत जीवनमा केही अनिवार्यताले मानिसको सार्वजनिक जीवन नै धुमिल बन्न थाल्दछ । सायद, यसका नेपाली उदाहरणका पात्र प्रकाश दाहाल र पारस शाह हुन सक्छन् । सार्वजनिक जीवनका उचाइसँग व्यक्तिगत जीवन हावी हुँदा नेपाली राजनीतिबाट यी पात्र गुमनाम हुने अवस्था आइपरेको छ । मानिस व्यक्तिगत जीवन बाँच्न पाउँदछ भलै उसले सार्वजनिक जीवनबाट टाढा किन हुन नपरोस् भन्ने उदाहरण पनि यिनै पात्र हुन् । तर, यी पात्रका कारणमा टेकेर हुने राजनीति र टिप्पणीले चाहिँ समाज, यसभित्र शब्द, चित्र र बयानबाजीमा खेलिरहेका खेलाडीको तह चाहिँ पुष्ट्याइँ गरिरहेको छ, सार्वजनिक रूपमा टिप्पणीहरूमाथि विश्लेषण गर्ने हो भने । 
एक व्यक्तिको निजी जीवनको कथाले नेपाली राष्ट्रिय राजनीतिका मूर्धन्य खेलाडीहरू, इतिहासका पहरेदारहरूको जीवनलाई नै तहसनहस बनाउने प्रयत्न गरिएको छ । यी प्रयत्नहरू ज्यादातर नेपाली राजनीतिमा देखिएका छन् । खासगरी पुरानो दरबारमा हुर्किएका पूर्वयुवराज पारस र नयाँ दरबारको भित्तामा रहेका प्रकाशका चरित्रमाथि टिप्पणी गरी पूर्वराजा ज्ञानेन्द्र शाह र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिमाथि फोहोरी टिप्पणीका असरदार चर्चाहरू विगतका केही महिनासम्म व्यापक भए । हुन त नेपाली राजनीतिमा यस्ता टिप्पणी भइ नै रहन्छन् । अस्वाभाविक टिप्पणीले राजनीतिका खेलाडीको योगदानको हुर्मत लिनका लागि यस्ता बयानबाजीलाई प्रचारका मुख्य साधन बनाइन्छन् । सम्भवतः नेपाली समाज यस्तै सुन्न चाहन्छ, रुचाउँछ र पचाउने हिम्मत पनि राख्दो हो । तर, यो विचारप्रवाहको कुनै पनि वर्गसँग सामञ्जस्य हुन्छ भन्ने लाग्दैन । 
लामो समयसम्म मुलुक परिवर्तनका लागि राजनीतिक भविष्य निर्माताका रूपमा उदाएका व्यक्तिको आन्तरिक कथा बेग्लै हुन्छ । उनीहरूले राजनीतिक उचाइका लागि जति संघर्षको मैदानमा पेलिनुप¥यो त्यो कदाचित नराम्रोपनका लागि होइन । यात्राका क्रममा उतारचढाव हुनु स्वाभाविकै पनि हो । राजनीतिमा असामान्य अवस्थाबाट सामान्यको यात्रा थाल्नका लागि अनेक अस्त्रहरूको प्रयोग हुन्छ । सम्भवतः शान्तिप्रक्रियाका जिउँदा हस्ताक्षरकर्ता प्रचण्डका केही कमजोरी भएहोला तर उनका कमजोरीलाई कृष्ण हत्याका लागि कंशले पुतनाको प्रयोग गरेजसरी प्रकाशकाण्डबाट राजनीतिमा केही धक्का लगाउने प्रयत्न नभएका होइनन् । तर, अन्ततः कुनै पनि बाटोबाट पुतनाहरू विलिन हुने र कृष्णहरूले नै सृष्टिको निरन्तरता दिन सक्छन् भन्ने कुरालाई बिर्सनु हुँदैन । हिन्दू धर्मग्रन्थमा कृष्णको शक्तिलाई ध्वस्त बनाउनका लागि मृत्युका डरले कंशले आफ्नी बहिनी पुतनाको विष भरिएको स्तन कृष्णलाई चुसाउने प्रवृत्तिलाई अहिलेको नेपाली राजनीतिमा हावी बनाइएको हुनुपर्छ । यद्यपि, राजनीतिमा लामो समयसम्म जीवन बिताएका र राजसी जीवनभित्र यस्ता कपटपूर्ण तर्क र प्रचारबाजीहरू पुतनाको मृत्युसरह हुन सक्छन् । किनभने राजनीति जीवनको सुरुआत पारस–प्रकाश काण्डहरूले पतन बनाउने शिराबाट चाहिँ भएको हुँदैन ।
नेपाली राजनीतिक इतिहासमा परोक्ष रूपमा चर्चा गरिएको सेक्सकै कारणबाट कोही राजनीतिज्ञ पनि उन्मुक्त हुन सकेका थिएनन् । उनका चिन्तन, सिर्जना र शैलीले पनि स्वाभाविक प्रस्तुतीकरण गरेकै थियो । नेपाली प्रजातन्त्रका असली योद्धा विश्वेश्वरप्रसाद कोइरालाका चिन्तनमा पनि ‘सेक्स’ को महŒव झल्किएको थियो । उनले जेलबाट दिएका सिर्जनाका कतिपय परिकारमै सेक्सका गहन विषय थिए । पात्रहरूबाटै सेक्सप्रतिका भावना बगिरहेका थिए । एउटा राजनीतिज्ञ जेलभित्र बस्दा ऊ राजनीतिक परिवर्तनका लागिमात्र अभ्यस्त हुँदैन, त्यसबाहेक समाजमा संगिन बनेर बसेको सोचलाई कसरी परिमार्जन गरी शिक्षाको मार्गमा ल्याउन सकिन्छ भन्ने चिन्तनप्रति पनि संवेदनशील हुँदो रहेछ । त्यसकारण बीपी निकै संवेदनशील भएर सेक्सका विषयमा लेखकीय ढंगबाट खुलेका थिए । तर, ती कहिल्यै पनि राजनीतिक रूपमा स्क्याण्डल भएनन् । नेपाली राजनीतिमा ‘सेक्स’ लाई सरल व्याख्या गरिदिने अर्का पात्र स्व. कृष्णप्रसाद भट्टराई थिए । उनी जीवनभर अविवाहित रहे तर सेक्सलाई सरल ढंगबाट आफ्ना निकटतम् माझ व्याख्या गर्न उनलाई कुनै असहज हुन्थेन । अझ उनका अनुयायीले भनेकै छन्, ‘उहाँ ननभेज (सेक्सुअल) जोक्सका पारखी पनि हुनुहुन्थ्यो ।’ अहिले पनि राजनीतिक क्षेत्रमा यस्ता व्यक्ति जीवित छन् । तर, परिवर्तनको नाममा राजनीतिक जति गहिरो हुँदै गएको छ अब सेक्स एउटा स्क्याण्डलका रूपमा व्याप्त हुन थालेको छ । एक व्यक्तिको चरित्रका कारणले समाजमा प्रजातन्त्र, गणतन्त्र स्थापना गराउने शक्ति पुरुषहरूमाथिको राजनीतिक जीवनमा हमला पनि हुन थालेको छ । नेपाली समाजले सुक्ष्म भएर बुझ्न सकोस्, यो एक्काईसौं शताब्दीमा मानिसको निजी जीवन स्वतन्त्र छ, निजी जीवनमाथिको टिप्पणी र बयानबाजी नै लोकतान्त्रिक पद्धती होइन र समाजलाई सकारात्मक टिप्पणीतिर डो¥याउनका लागि हर क्षेत्रबाट प्रभावकारी शिक्षाप्रदान गर्न आवश्यक छ । 

सुक्रबारको नियमति लेख मध्ये, ९ चैत, ०६९ मा हिमालय टाइम्स दैनिकमा छापिएको मेरो लेख ।