Tuesday, April 30, 2013

काठमाण्डू, सपनाको पोको र अक्षम मालीहरु

विनोद ढकाल
राजधानीको केन्द्रविन्दुको पूर्वपट्टिबाट नियाँल्ने सीमित मानिसको पहुँच सिंहदरबारभित्र होला । सिंहदरबारलाई सुरक्षित बनाउनका लागि बनाइएको कृतिम भित्ता छेऊको पेटीमा हिँड्ने लाखौं पाइलाहरु मनमा केही न केही सोचेर अवशिष्ट यात्रामा छन् । जुत्ताको कुनचाँही भागमा प्वाल परेको छ भन्ने हेक्का कसैसँग छैन तर अझ सपनाको संसारमा भागदौड गर्नेको कमी भने छैन । रत्नपार्कमा झुण्डाइएको पाँच सय पचासको जुत्ता लगाएर रोजगारीको खोजीमा राजधानीका सवै पेटी चहार्दासम्मपनि उनीहरु अझै सपनाको भोका भेटिन्छन् । जुत्ताको अघिल्लो भागबाट खुट्टाको कान्छि औंलाले सडक चिहाएको हप्तौं भइसक्दापनि त्यसको हेक्का राख्न सकेका छैनन् तर सपनाको गगनचुम्बी महलरु काठमाडौंका धरहराभन्दा निकैं उचों बनाएर हिँडिरहेको एउटा पुस्ता कम छैन । बाटो उही हो, सिंहदरबारका पेटीमा विहानीपख ठाँटले शरिर घटाउनका लागि हाफ पाइन्टमा ‘मर्निङ वाक’ गर्नेहरुको जमातका लागि भित्रि पाटो केहीपनि होइन, दिउँसो पैताला खियाउनेका लागि एउटा संगिन सपनाजस्तो बनिरहेको छ ।
थाहा छैन, पूर्वीद्वारमा सुरक्षाका निम्ति बसेका सरकारी बन्दुकधारी के सोचिरहेका छन् । त्यसको हेक्का राख्नका लागि अलिक मुस्किल पर्ला तर त्यो द्वारबाट चिहाउने अनेक आत्माभित्र त्यहाँभित्रको गतिलो काम हात पार्ने कल्पनाको दरिलो खम्बा तयार भइसकेको हुन्छ । फरक यत्ति हो त्यो खम्बा आत्मरतीको एक नमूना हो तर यथार्थत एक मनको सीमाभित्रको त्यो महत्वकांक्षा र दिवास्वप्नभन्दा केही होइन, प्रायःका लागि । हल गोरु जोतिने सहर होइन यो । यहाँ अनेक पाइलाहरु सपनाको संसारमा भविष्यको खोजमा दौडिरहेका भेटिन्छन् । तर, सवैका सपना पुरा हुँदैनन्, अति महत्वकांक्षीहरु अपवादमा सफल हुन्छन् सामान्य महत्वकांक्षीहरु कर्मथलो बनाउन अक्षम हुने गर्दछन् । सीप र क्षमताको सही प्रयोग गरेर सहरसँग लुकामारी खेल्नसक्नेहरु ‘दलालप्रवित्ति’मा हावी हुँदा सफल कहलिन्छन्, सोझो बाटोमा हिँड्नेहरु केवल हिँडिरहन्छन् गन्तव्य निक्कै बक्ररेखाको केन्द्रविन्दुमा परिसकेको हुन्छ । २२ वर्षअघि अपेक्षाहरुको ढाकर बोकेर राजधानी छिर्ने छिरिङ लामाहरुपनि कम छैनन् । ज्यामी, भान्से, सुरक्षागार्ड अनेक प्रकारका काममा उनीहरु अव्वल भइसकेका छन् । तर, अझ सुनको थाल उनका लागि तयार भएको छैन, उही पुरानो प्वाल परेको स्टिलको थालमा रंगिन कल्पनाहरुको संसारमा चिसो गाँसमा रमाउन बाध्य छन् उनीहरु ।
पंक्तिकार कहिलेकाँही विरोधाभाष प्रश्नहरु, अनपेक्षित प्रतिक्रियाहरुको जालोमा पर्दछ । सप्तरीको कमलपुर–७ जहाँ परिवारका दुखी सदस्यहरु बस्ने गरेका छन् पुग्दा अनेकन प्रश्नहरु आइपर्छन् । ग्रामिा बस्तीमा गुच्चा खेल्दादेखि जीवको शतकको एक चौथाइको उमेरसम्म देखेको खुसीलाल पाइकहरुको प्रश्नले जीवनतिर फर्किएर सोच्न बाध्य बनाउँदछ । नेपाली भुमीमा कयन वर्ष विताइसकेका खुसीलाल पाइकहरु अहिले पनि नेपाली भाषामा अव्वल हुन सकेका छैनन् । भाषाभन्दा पनि उनीहरुसँगको सामिप्यता, निकटतम् र सामाजिक व्याबाहार र रीत कम छैन । काठमाडौंबाट फर्किएको गाउँको युवाको प्रगतिबारे भ्रममा बाँचिरहेका छन्, उनीहरु । उनीहरु सुकिलो कपडामा रात्रीबसबाट गाउँमा उत्रिएको ठिटोलाई अहिलेपनि सोध्छन्–‘राम्रो पैसा कमाएर आउनुभयो ? बुढी कहिले गर्ने  (विहे कहिले गर्ने) ?’ यस्ता सहज प्रश्नहरु पंक्तिकारका लागि निक्कै जटिल हुने गरेको छ । किनभने काठमाडौंको कृत्रिम संकट, सृजनशीलहरुको अपमान र राजनीतिले थिचेको प्रशासनयन्त्रसँग पंक्तिकार भिज्न नसकेका कारण आम युवाको चरित्रको एक पात्र बनेको छ ।
मान्छेको जीवन, त्यसमा पनि काठमाण्डूमा बाँच्ने प्राणीको जीवनबारेको कथा होइन यो, यो युवा अवस्थामा राजधानीमा सपना बेच्न हिँडेका मानिसहरुको विपना नै खरानी भएको अनुभवको गाथा हुनसक्छ । यो गाथासँग सामिप्यता भएकाहरुका लागि यो संयोगमात्र पनि होइन । सृजनशिलताका अनेक हत्कण्डाहरुका लागि फोरम नपाएर भित्रभित्रै छिचोलिएर प्रतिभा सुकाउन बाध्यहरुको कथा हो यो । सायल खुसीलालहरुका प्रश्न पंक्तिकारका लागिमात्र तयार भएका होइनन् । यहि यथार्थसँग नजिक भएका कयन युवाहरुका लागि कयन खुसीलालहरुका यस्ता प्रश्न तेर्सिएका छन् र कयन युवाहरु उत्तरविहिन, कपटी उत्तरका बाध्यकारी पात्र अथवा प्रश्नमा असाधारण उत्तरका भोगी भएका होलान् । जुन मुलुकमा बेरोजगारहरुलाई रोजगारीको सपना बाँडिन्छ, पीडितहरुलाई न्याय र रोगीहरुलाई निशुल्क औषधिको अपेक्षा देखाइन्छ तर पुरा गरिँदैन । त्यो मुलुकका हरेक आमसाधारण यहि पीडाबाट ग्रस्त बनिसकेका हुन्छन् ।
बेरोजगारहरुको महासभामा रोजगारीका गतिला सपनाहरु नराम्रोसँग विक्रि हुने गर्छन् । काठमाडौं पानी विनाको पोखरी बनिसकेको छ र त्यहाँ पौडी खेलाउनसक्ने जमातचाँही सफल कहलिएर बाहिर निस्किएको छ, पानी ठानेर छायाँको भ्रममा पौडी खेल्नेहरु अहिलेपनि पोखरीबाट बाहिर निस्कन नसकेका कयन उदाहरणहरु छन् । प्रति चार मानिसहरुमा एकजनाको जीवनमाथिको कथा यहाँभन्दा फरक नहुनसक्छ, सरसरती अड्कलबाजी गर्दा । जीवनमाथि अनेक प्रकारका उदासिन टिप्पणी गर्ने फेसबुके मित्रहरुलाई आधार मान्ने हो भने जीवन सरल छैन । कसैका लागि संघर्षको पहाड हो, कसैका लागि मैदान, अनि कसैका लागि सुसेली पनि हो । तर, खासअर्थमा काठमाण्डूको जालोभित्र यो मान्छे र तिनका भोगाइहरु सीमित माकुराका प्रयोगका साधनहरु हुन् । पीडालाई कपडाले ढाक्न सकिन्न तर हज्जारौं अनुहारहरु रुन्चे हाँसोमा ढाकिरहेका छन् ती मानिसहरु सीमित माकुराहरुका लागि यन्त्रहरु हुन् । आश्वासनले सहर दौडिन सक्ने रहेछ । हर नेपाली आश्वासनमा बाँचीरहेका छौं, यहि आश्वासनको साँघुरो घेराभित्र एउटा पुस्ता राजधानीभित्र पनि बाँचीरहेको छ । 
मान्छेको झुण्डलाई सपना बेच्नेहरु मुलुकभित्र र मुलुक बाहिरको संसारमा पनि गतिलो हैसियतमा बाँचीरहेका छन् । ६० वर्षभन्दा बढिदेखि यस्ता सपना बेच्ने नेपाली राजनीतिका दलालहरुको मुलुक हो यो । यहाँ सुशिल कोइराला, केपी ओलीहरु र पछिल्ला चरणमा सपनाको बाली लगाएर फलेको आश्वासन दिने पुष्पकमल दाहाल प्रचण्डहरु सफल बनेका छन् । बाँकी आमसाधारणचाँही उही सुख्खा कुवामा गन्तव्य खोज्दै उफ्रिरहेका भ्यागुताभन्दा केहीपनि भएका छैनन् । पंक्तिकार नियालीरहेको छु– सहर, भविष्य र सपनाको खेती लगाउन अभ्यस्त सृजनशिल अनुहारभित्रका उदासिनताहरु । क्यानडामा नयाँ रोगको बारेमा अचेल चर्चा हुन थालेको छ । ‘विपोलार’ जसलाई हर दिन मुड चेन्ज भएको मानिन्छ । त्यो रोगको निदानका लागि त्यहाँको सरकारले अनेक उपाय अपनाइरहेको छ । त्यो रोग भिन्न कल्पनाहरु गर्ने र फरक–फरक दिन फरक व्यवाहार देखाउने नै हो । नेपालमा यस्ता व्यवाहार हर दिन, हर रुपमा देखिइरहेको छ । हर व्यक्तिमा हर प्रकारले देखिइरहेको छ । यहाँको सरकारले रोगको निदान गर्नेबारेको सोच त परैजाओस् रोगको रोकथामको उपाय पनि अपनाउने कल्पना नगरौं ।
युवाका भत्किन थालेका सपना पुरा गर्ने जग राज्यको संयन्त्रले निर्माण गर्दछ । मालिको सपना जहिलेपनि बंगैचामा थरीथरीका फूलहरुको स्वाधिनतापूर्वक फूल्न पाउने अधिकार हो । समयमा पानी पाउने, मलजलको व्यवस्था गर्ने मालीको कर्म हो । बंगैचा सुन्दर देखिनुको पछाडी फूलहरु फूल्नुमात्र होइन, मालीको मिहेनत हुन्छ । त्यस्तै सपनाको थाक बोकेका मानिसहरु सुन्दर बनाउने जिम्मा नेपाली राजनीतिका मालीहरुको कर्तव्य नै हो । हामीसँग भिन्न थरीका अनेक फूलहरु छन् तर मालीहरु कर्तव्यविमुख देखिए । उनीहरु अक्षम प्रमाणित भइसकेका छन् यो स्वयम्को आत्मसमीक्षाले प्रष्ट्याउँदा खिलराज रेग्मीहरुको सत्ताजन्म भयो । उनीहरुले फूलका लागि पर्याप्त मलजलको व्यवस्था गर्नुको साटो आफ्नो गोदाममा थन्काए । फूलको अधिकारमाथि उनीहरुले हस्तक्षेप गरे, भ्रष्टाचार गरे । त्यसकारण अहिलेपनि नगन्य स्वप्नहरु मरिरहेका छन्, जलिरहेका छन् । राज्यसंयन्त्रमा पुगेका आश्वासनका मालिहरुका सपना पुरा भए तर असली स्वप्नकारहरु सँधैभरी पीडित भए । छिरिङ दाइले भनेको शव्दले मन नराम्रोसँग छायो । त्यहि शव्दको एक वाक्यबाट विट मार्छु ।
गरिबका हरपल संघर्षशिल छन्, स्वप्नमय छन्, 
अधिक स्वप्नमय पुरा नहुने कल्पनशिल ।

Wednesday, April 24, 2013

रुपैंयाको जग र डलरको खेती

विनोद ढकाल
सहरमा दुइथरी युवाहरुको झुण्ड अचेल व्यापक हुने गरेको छ । एकथरी नेपाली राजनीतिको भजनमण्डलीका रुपमा उभिएको युवाजमात छ । अनि, अर्काथरी त्यसको आलोचनामा अभ्यस्त रहेको अभियन्ताहरुको जमात् । नेपाली युवा आन्दोलन भनौं अथवा युवाको सवाल या मुद्दा । यी सवैमाथि हावी भएको राजनीति र अभियानका प्रचारहरु, प्रयोगहरुको अवस्थिति केलाउन अनिवार्य भइसक्यो ।
सर्वप्रथम नेपाली युवा आफ्नै भुमीको राजनीतिक परिवन्धको प्रयोगवादमा अडिएको पुस्ता बनेको छ । राजनीतिक दलका गोलचक्करमा घुमेको यो पुस्ताको उदारीकरणका दिर्घकालिन योजना अहिलेसम्म पनि राज्य होस् अथवा राजनीतिक दलका कसैले पनि गर्न सकेको पाइँदैन । उनका फरक परिभाषामा दस्तावेज, राजनीतिक प्रतिवेदन र विधानहरुमात्र बनेका छन् । त्यसले निर्दिष्ट गरेको व्यवाहारिक पक्षमा भने कुनैपनि प्रकारको लाभांश युवाले पाउन सकेका छैनन् । राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको थियो । तर, युवको भुमिका बलियो भएपनि त्यो दिगो हुन सकेको छैन । राजनीतिक दलको उपयोगको शिकार, कही टाढाबाठा र आफुलाई युवा संघ÷संगठनको नेता भन्नेहरुको कमाई खाने भाँडो भएको छ, यो पुस्ता । खासगरी, पछिल्लो चरणमा सरकारले गठन गरेको युवा मन्त्रालय र युवा स्वरोजगार कार्यक्रममा फ्रिज भएको बजेट, दुरुपयोग भएको रकम र विदेशीने युवाको बढ्दो संख्याले नै धेरै परिणामहरुलाई सावित गरिदिएको छ ।
मुलुकमा झण्डै ६४ प्रतिशत जनसंख्या युवाको छ । तर, सवैभन्दा ठूलो समस्यामा पनि युवापुस्ता नै छ । राजनीतिमा युवा संगठन नबनाउने राजनीतिक दल कमैमात्र होलान । अनि, युवा परिचालनका सवाल नगर्ने पनि कमैमात्र होलान् । एकीकृत नेकपा माओवादीसँग योङ कम्युनिष्ट लिग नामको संगठन छ, नेपाली कांग्रेस संग तरुण दल, अनि नेकपा एमालेसँग युवा संघ नेपाल । अन्य दलका पनि आफ्ना आफ्ना संगठनहरु छन् । यसबीचमा युवाका खास मुद्दा र त्यसबारेमा एमालेको युवा संघगठन युवा संघ नेपालले केही मुद्दा उठाएका छन् ।
नेपालका राजनीतिक दलका मुख्य नेतृत्व निरंकुशताका विरुद्धको आन्दोलनले जन्माएको पुस्ता हो । नेतृत्वको यो पुस्ताले राजतन्त्रको अन्त्य गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र त प्राप्त ग¥यो । तर, यसको व्यवस्थापनमा सक्षम देखिएन । यसले अधिकारको आन्दोलनको चरणको कुसल नेतृत्व गरेपनि निर्माण, व्यवस्थापन र समृद्धिको आन्दोलनको अगुवाइचाँही गर्न सक्तैन । ०६२÷६३ को जनक्रान्तिपछि आन्दोलनका एजेण्डा परिवर्तन भएका छन् । यो परिवर्तित अवस्थाको नेतृत्व नयाँ सोच, नयाँ विचार र नयाँ पुस्तालेमात्र गर्न सक्दछ । यसकारण राजनीतिमा पुस्तान्तरण आवश्यक छ । राजनीतिमा पुस्तान्तरण लहड र रहरलेमात्र पुरा हुँदैन । राजनीतिमा वस्तुगत आवश्यकता भएपछि पुस्तान्तरण हुन सक्तछ । यो एउटा प्रकृयाबाट हुनुपर्दछ । दलका आफ्ना संगठनात्मक संरचनाहरु प्रिवर्तन गर्न जरुरी छ । । संगठनात्मक संरचनाहरुमा ४० प्रतिशत युवाहरुलाई सहभागी गराउन आवश्यक छ । दलहरुको आन्तरिक जीवन होस वा राज्य सञ्चालनका प्रकृया र पद्दती, यी सवैमा विना ‘सिन्डिकेट’ स्पर्धा हुन दिनुपर्दछ । यो प्रकृयाबाट युवाहरु नेतृत्वमा प्रवेश गर्न सक्तछन् । राजनीतिमा आफ्नो भुमिका स्थापित गर्ने अवसर र सोही अवसरबाटमात्र राजनीतिक नेतृत्वको पुस्तान्तरण सहज सम्भव हुने देखिन्छ । युवाहरु राजनीतिक उद्देश्यले नै संगठित भएका हुन्, यो स्वभाविक कुरा हो । राणा शासनदेखि पछिल्लो लोकतान्त्रिक आनदोलनसम्म आइपुग्दा हामीले राजनीतिक स्वतन्त्रताका लागि लडेका थियांै । अव युवा सरोकारका मुद्दामा संगठित भएर संघर्ष गर्छौं । हो, विगतमा कतिपय राजनीतिक दलहरुले समुहहरुले युवाहरुलाई गलत ढंगलेपनि प्रयोग गरे । पञ्चायत टिकाउनका लागि तत्कालिन शाही शक्तिले युवाको उपयोग गरेको थियो । ०४७ सालपछि खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुले तरुण दलका नाममा युवाहरुको दुरुपयोग पनि गरेका हुन् । अहिले एकीकृत नेकपा माओवादीले वाइसीएलका नाममा युवाहरुको जत्थालाई पार्टीको हतियारका रुपमा प्रयोग गरिरहेको छ । नेकपा एमालेले युवा संघका नाममा पनि चलाएको गुण्डागर्दीको अर्को कथन जोड्न आवश्यक छैन । हामीले यस्ता इतिहाँसका अनेक राजनीतिक दलहरुको उपयोगवादी चरित्र देखेका कारण परिवर्तन र त्यसलाई संसोधन गरी युवालाई राजनीतिक पहुँचका लागि संगठित गर्दै व्यावसायीक बाटोमा जाने एउटा मार्गचित्र कोेर्ने योजना बनाएका छौं । विचारसहितको व्यावसायसँगै अव युवाहरुले राजनीति गर्न पाउनुपर्छ भन्ने मान्यता हामीले राखेका छौं । नेपालमा युवाहरुको व्यवस्थापन सम्भव छ । विश्वका अरु मुलुकमा भएको काम नेपालमा नहुने भन्ने कुरा होइन । तर, गलत राजनीतिक व्यवस्था र अवसरवादीहरुको तानाशाही राज्यव्यवस्था चलाउने नियतका कारण युवाहरुको व्यवस्थापन अहिले नै सहज हुन नसकेको हो । अशिक्षा बेरोजगारी र अभाव हाम्रो मुख्य समस्याका रुपमा अघि देखिएको छ ।
युवाको रोजगारी, स्वास्थ्य, शिक्षाको विषयमा हामीले सोचेर अगाडी बढ्नुपर्दछ । रोजगार भनेको सरकारी जागिर, एनजीओ अथवा वैदेशिक रोजगारमात्र होइन उत्पादनमुखी काम पनि हो भन्ने कुरालाई सरल व्याख्या गर्न सक्नुपर्दछ । सहकारी, उद्योगहरु, पर्यटन, खेलकुद, जलविद्युत लगायतका क्षेत्रमा पनि युवाले निक्कै अवसर पाउने अवस्था छ । त्यो सुरक्षित अवस्था सृजनागर्ने काम नेपाली राजनीतिले तय गराउनुपर्दछ । त्यसका लागि हामी दवावमुलक छौं । यस्ता कामबाट युवाको सवैभन्दा ठूलो समस्याका रुपमा रहेको आर्थिक समस्यालाई व्यवस्थापन गर्न सकिन्छ जसले मुलुक निर्माणका काममा पनि कुनै कठिनाई हुँदैन ।
राजनीतिक दलहरुमा यो अवस्था छ भने गैर राजनीतिक तर युवाको सवालमा काम गर्ने विभिन्न एनजीओहरुको डलर भित्राउने सवालमात्र बनेको छ यो पुस्ता । दुई दशक भन्दा अघिदेखि गैर राजनीतिक संघसंस्थाहरुले युवाका नाममा लाखौं रकम खर्च गरेका छन् । तर, त्यसले पनि उचित परिणाम दिएको उदाहरण कतै छैन । युवाका सवाल डलर भित्राउने र सरोकारवालालाई राखेर बहस गराउने कामले छुँदैन । खेलकुद, मनोरञ्जनलगायतका क्षेत्रमा युवाको सहभागीता, सीपमुलक काम, कृषिमा युवाको सक्रियता र आम्दानीको स्रोत बढाउने ठाउँमा युवालाई प्रोत्साहनको खाँचो देखिन्छ । तर, डलरवादीहरुले पनि यो काम पुरा गरेका छैनन्, उनीहरु पनि आफ्नो संस्था चलाउने ध्याउन्नमा मात्र सवालमा सीमित राखिरहेका छन्, युवापुस्तालाई ।
राजनीतिक रुपमा युवापुस्ता एउटा अविरल सवाल, रुपैंया झार्ने जग बनीरहेको छ भने डलर भित्राउने प्रस्तावपत्रहरुको बुँदागत समस्या पनि । यसकारण यी दुवैप्रकारका समस्यालाई निराकरण नगरी यो पुस्ताको कल्याण हुने अवस्थिति छैन । सवै जुँटौं, यो प्रवित्तिलाई वैचारिक, सामाजिक, राजनीति र व्यवाहारिक रुपमा लखेटौं । 

Saturday, April 20, 2013

रोजगारमा महिला, पीडा र उमेरसीमा


विनोद ढकाल 
रोजागरको आधारभुत आवश्यकता बन्दै गएको वैदेशिक रोजगारीमा महिलाको आकर्षण कम नहुनु यस विषयको उदाहरण हो की अव महिलापनि सक्षमताको सिँढि चढ्दै घरबाहिरको संसारमा रमाउन चहान्छन् । रहर, आवश्यकता र बाध्यताले थिचेको नेपाली समाजमा महिला अधिकारसँगै रोजगारीको अवसरमा पनि उत्तिकै आकर्षण बढेको देखिएको छ । ०६९ सालमा मात्र कम्तिमा २० हजार महिला रोजगारको खोजीमा खाडी लगायतका मुलुक पुगेका छन् । कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेशिया, ओमान, इजरायल, कुवेत, बहराइन्, लेवनान, कोरिया, अफगानिस्तानसम्म नेपाली महिला रोजगारीका लागि जान थालेका छन् । गत वर्ष अफगाननिस्तानमा रोजगारीका लागि एकजना महिला पुगेकी छन् ।
प्रत्येक वर्ष नयाँ नयाँ गन्तव्यमुलुकमा महिलाहरु रोजगारीको खोजीमा जाने क्रम बढेको छ । तर, जुन संख्यामा महिलाको संख्या बढेको छ त्यति नै ठगीदेखि यातनाको शिकारसम्म हुने गरेका छन् । नेपाली महिलाहरु अहिलेसम्म पनि सम्बन्धित मुलुकहरुमा घरेलु कामदारका रुपमा भन्दा अन्य काममा जान सक्ने सक्षमता पाएका छैनन् । घरेलु काममा मात्र उनीहरुको माग बढ्दा त्यहाँ हुने घरेलुहिंसाका शिकार पनि हुने गरेका छन् । स्वदेशको भुमिदेखि नै उनीहरु ठगीको शिकारमामात्र पर्ने गरेका छैनन् की विदेशका घरमा यौनजन्य हिंसा लगायतका विभिन्न हिंसाको शिकार पनि हुने गरेका छन् । यस्ता घटनाहरु अनेक रुपमा सार्वजनिक हुने गरेका छन् । चाहे ओमानमा काम गरेकी एक महिलाले घर मालिको यौन प्रताडनालाई हावइजहाजमै गर्भाधारण गरेर सावित गरेको होस अथवा कुवेतका जेलमा अहिलेपनि बच्चासहित बसीरहेका २५ जना भन्दा ज्यादा महिलाको वेदनाका कथा हुन् । त्यतिमात्र नभएर सार्वजनिक भएका विभिन्न खबरहरुले विदेशमा नेपाली महिलाहरुको अवस्थाका बारेमा चित्रण त गरेकै छ । 
सिन्धुपाल्चोककी निमा डोल्मो तामाङको भर्खरै बनेको एमआरपी कपी कुवेतको अल–जहारास्थित जेनाव हसन अफिसमा पुग्यो । ४६ वर्षिया निमा कुनै एजेन्टमार्फत हाउसमेड कामका निम्ति कुवेत पुग्दैथिइन् । 
अल–जहाराको एउटै बिल्डिङमा रहेका दर्जनभन्दा बढी हाउसमेड अफिसमा निमाजस्तै सयौं नेपाली महिलाको पासपोर्ट कपी वेटिङमा छ । मालिकको इच्छामामात्र नेपाली महिलाले घरेलु कामदारका लागि भिसा पाउनेछन् । त्यस्ता केटीहरु मन परेपछि मोलतोलसँगै बैना रकम पनि कार्यालयमा बुझाइएको हुन्छ । नेपाली केटीका लागि हामीले औसतमा ५ सय ५० कुवेती दिनार (केडी) मूल्य पाउने गर्छन् । हाउसमेडको मूल्य कति भन्ने कुरा पासपोर्टमा केटी छनोट भएपछि भिसा–प्रोसेस गर्दा नै छिनोफानो हुन्छ । कसैले भने केही बैनासमेत दिएका हुन्छन् । तर कसैले केटी नेपाल वा सम्बद्ध अन्य मुलुकबाट आएपछि र नापजाँचपछि मात्र मोल दिने भन्ने गरेका छन् । कुवेतमा पुगेका झन्डै ३५ हजार नेपाली महिला यही दुई वर्ष  काममा खटाइएका छन् । यो लागत–रकम उठाउनैका लागि भए पनि घर मालिकले सक्दो काममा खटाउने गर्छन् । उनीहरुले खटाएको काम नगरे महिलाहरुलाई विभिन्न प्रकारका यातनासमेत दिने गरेका प्रशस्तै खबरहरु पनि सार्वजनिक भएकै हुन् । तलव दिएर कामको बोझमात्र दिनुले महिलाहरु रोजगारमा सुरक्षित छन् भन्न मिल्दैन । हाउसमेडका लागि महिलाका लागि सरकारले तयार पारेको मापदण्ड अहिलेसम्म कुनैपनि मुलुकमा लागु भएको छैन । महिला कामदारका लागि कम्पनी सम्झौता, वेग्लै वासस्थान, नियमित काम आठ घन्टा, खानबस्नको राम्रो र अलग्गै व्यवस्था हुनुपर्ने हुन्छ । तर, रोजगारदाता मुलुकमा महिलाका लागि त्यस्तो व्यवस्था नभएको कुवेत बसेर आएकी गीता शर्माले गुनासो गरेकी छन् । त्यहाँको रीतिअनुसार घरमा बस्नुपर्ने र खानुपर्ने अवस्था छ । भनेको समयमा तलव पाउनुपनि महिलाका लागि भाग्यजस्तै हुने गरेको छ ।
खाडीमुलुकमा नेपाली महिला असुरक्षित रहेको उदाहरण उनीहरुको लास नेपाल ल्याउनलाई परेको समस्याले पनि देखाउने गरेको छ । साउदी अरबजस्तो मुलुकमा मारिएका महिलाहरुको मृत्युको कारण त परै जाओस् शव ल्याउन पनि कम्तिमा २ वर्षभन्दा ज्यादा लाग्ने गरेको छ । नेपाल सरकारको आधिकारीक निकायका रुपमा रहेका दुतावासलाई पनि मृत्युको खास कारणबारे त्यहाँको सरकारले जानकारी दिने गरेको छैन । निरीह दुतावास, त्यो भन्दा पनि निरीह नेपाली कामदार र त्यसमा पनि घरेलु कामदारका रुपमा पुगेका महिलाहरुको अवस्था दयनिय बन्दै गएका कयन घटनाहरु सुस्तरी सुस्तरी सार्वजनिक भइरहेकै छन् । 
हालै वैदेशिक रोजगार विभागले ३० वर्षे उमेर हदबन्दी अपनाउँदापनि गत जनवरीमा ८ सय ६० महिला कामदार कुवेत मात्र पुगेका थिए । त्यसबाहेकका मुलुक जाने क्रम पनि कम छैन । खाडीमा प्रचलित अर्को पदद्दति ‘काफला’ (स्पोन्सरसिप कानुन)ले पनि रोजगारीको स्थिति निकै भिन्न छ । घरेलु काममा गएकी महिलालाई एजेन्सी वा एजेन्टले एक सय दिन (काफला अवधि) को मात्रै ग्यारेन्टी लिन सक्छ । त्यो अवधिमा केटी मेडिकल फेल भएमा, गर्भवती देखिएमा वा काम गर्न नसक्ने पाइए हाउसमेड अफिसमा फिर्ता लैजानुपर्ने हुन्छ । र, त्यो पुरानो मालिकले केटीबापत बेहोरेको रकम फिर्ता दिनुपर्ने हुन्छ । त्यसपछि त्यो केटी अर्को मालिकको घरमा काममा त्यसरी नै पठाइन्छ । महिलाका लागि हदबन्दी नतोकिएको र साप्ताहिक छुट्टी समेत नपाइने घरेलु कामदार मालिकको बुहार्तन खेप्न नसकेर औसतमा दैनिक तीन जना दूतावासको शरणमा पनि पुग्ने गरेका छन् । कुवेत दुतावासमा मात्र कम्तिमा एक सय ४० महिलामध्ये धेरैले शारीरिक र मानसिक सास्ती बेहोरेका छन् । केही वर्र्षंदेखि तलब–सुविधाबिनै काम गर्दै जिउज्यानको मायाले भगौडा बनेकाहरु दुतावासको शरणमा छन् । 
खाडीको एक देशमामात्र यो समस्या होइन । रोजगारीका लागि खुला भएका र महिलालाई घरेलु कामदारका लागि लैजाने मुलुकहरुमा नेपाली महिलाले खेपीरहेको पीडाको प्रतिविम्ब यस्तैमात्र देखिने गरेको छ । यी र यस्ता समस्याको न्युनिकरणका लागि नेपाल सरकार, सम्बन्धित मुलुकमा काममा जाने कामदार र सरोकारवालाले अहिलेसम्म पनि राम्रोसँग ध्यान दिन सकेको अवस्था छैन । 
कानुन सवैका लागि सहज र सरल हुँदामात्र त्यसले लोकतन्त्रको प्रत्याभुति दिलाउँछ । कानुन र प्रावधानका अनेक धाराउपधाराहरुले लैंगिक उत्तरदायित्वलाई बोध गर्न\गराउन सक्नुपर्छ भन्ने नै मुलुकी ऐनको पनि मान्यता हुन्छ । तर, कानुनका कुरा एकातिर भएपनि सामाजिक, सांस्कृति र मानिसको मनोविज्ञानले निर्धारण गर्ने अनेक कार्यकलापहरु पनि कानुनलाई प्रभावित पार्ने हुन्छन् ।
नेपाली समाजमा अहिले फस्टाएको वैदेशिक रोजगारीको सवालमा पनि कानुन समान देखिएको छैन । महिला र पुरुषका लागि सरकारले निर्धारण गरेको कानुन कसैलाई काखा र कसैलाई पाखा गर्ने किसीमले मौलाएको देखिन्छ । यसको उदाहरण रोजगारीका क्रममा पुरुषले नागरिकता लिनासाथ जान पाउने अवसर भएपनि महिलाका लागि भने कम्तिमा ३० वर्षको उमेरसीमा तोकिदियो । पछिल्लो पटक डा. बाबुराम भट्टराइको नेतृत्वको मन्त्रीपरिषद्ले यस्तो सीमा तोकेको थियो र वैदेशिक रोजगार विभागले यसलाई कार्यान्वयनमा ल्याएको थियो । नेपाली महिलाको व्यथा उमेरसीमालेमात्र न्युनिकरण हुँदैन त्यसका लागि सरकार गम्भिर र चनाखो हुन आवश्यक छ । रोजगारमा रहेका नेपाली महिलाहरुको अवस्थाका बारेमा नियमित रुपमा ‘मोनिटरिंग’ गर्न आवश्यक देखिएको छ । हुनसक्छ, रोजगारको खोजीमा जाने महिलाहरु त्यसबारेमा त्यति जानकार भइसकेका छैनन् तर त्यो जानकार बनाउने जिम्मा सरकारको हो । जवकी उनीहरुको आम्दानीको राजश्व सरकारी ढिकुटीमा पुगिरहेको छ भने उनीहरुको सुरक्षाको दायित्व पनि सरकारको हुन्छ की हुँदैन ? के आफ्नो निरीहताले रोजगमार गएका महिलामाथि हुने हिंसा न्युनिकरण हुन्छ त ? जवाफ सरकारी निकायले देखाउने कामलेमात्र पुष्टि गर्नसक्छ ।
र, रोजगारीमा जाने महिलाहरुले पनि विभिन्न मान्यताप्राप्त संस्थाबाट सम्बन्धित मुलुकको कामका बारेमा अभिमुखिकरण तालिम लिएर, छापिएका विज्ञापनहरुको आधिकारिकताका बारेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा जानकारी राखेर, भिसा र कामको सम्पूर्ण कागजात सम्बन्धि पूर्ण जानकारी पछि मात्र लागत खर्च दिने लगायतका काम गर्न आवश्यक छ । काममा पुगेको सम्बन्धित मुलुकको श्रम सम्बन्धि कानुनी व्यवस्था जानु अघि बुझने, अनिवार्य अभिमुखिकरण तालिम सहित आफु रोजगारीका लागि जान लागेको मुलुक, कामको प्रगति, दुतावासबारे जानकारी राख्नेजस्ता काम व्यक्ति स्वयम्को पनि उत्तरादायीत्व हुने देखिन्छ । 

Thursday, April 18, 2013

परामर्श गर्नेको बढ्दैछ चाप

डी. विनोद
मुलुकको मुल आधार बनेको वैदेशिक रोजगारीमा जाने युवाको लर्को जसरी बढेको छ त्यसरी नै दुर्घटना, मृत्यु र कठिनाइहरु बढ्न थालेपछि काठमाडौं लगायतका विभिन्न ठाउँमा युवाहरु परामर्शमा सक्रिय हुन थालेका छन् । विना परामर्श रोजगारीमा जानु खतरा हुनसक्ने भन्दै वैदेशिक रोजगार विभागले अनिवार्य कामको तालिम र सम्बन्धित मुलुकको अवस्थाबारे परामर्श गर्नुपर्ने अनिवार्य गरेपछि युवाहरु परामर्शकेन्द्र धाउन थालेका छन् ।
खासगरी भाषा र संस्कृति तथा वातावरणका हिसावले पनि समस्या देखिएको खाडी मुलुकका लागि रोजगारीमा जान तयार रहेका युवाहरु परामर्श केन्द्र अनिवार्य रुपमा धाउन थालेका छन् । सिन्धुपाल्चोकका रविन्द्र अधिकारी कतार जानका लागि तयार छन् । उनले कतारको वातावरणदेखि त्यहाँ काम गर्दा अपनाउनुपर्ने ध्यानबारेमा परामर्शकेन्द्रमा तालिम लिने गरेका छन् । निर्माण कम्पनीमा कामका लागि जाने उनले कतारमा बाहिर र भित्र कसरी काम गर्ने भन्नेबारेमा जानकारी लिइरहेका छन् । उनले भने,‘दोहाको लागि तयार गरेको हुँ । निर्माण कम्पनीमा कस्ता–कस्ता काम गर्नुपर्छ भनी परामर्श लिने काम गरिरहेको छु ।’ उनी सामाखुसीमा रहेको एक इजाजतप्राप्त परामर्श केन्द्र धाउने गरेका छन्  । ‘कम्तीमा ३५ दिन परामर्श लिएपछिमात्र काममा जानु उचित हुने सल्लाह पाएपछि म जान थालेको हुँ ।’ उनले थपे,‘दुई हप्तामा विदेशी कामको बारेमा धेरैकुरा जानियो, काममात्र हैन त्यहाँ कसरी बस्ने भन्नेबारेमा पनि ज्ञान पाइएको छ ।’
मलेशियाका लागि श्रम स्वीकृति पाएका अर्घाखाँचीका कुमार लामिछाने अहिले अभिमुखिकरणको तयारीमा छन् । पहिलो पल्ट मलेशिया जान लागेका उनले त्यहाँको वातावरणीय अवस्था नेपालजस्तो भएपनि कामको प्रकृति र कानुनी कुराहरु जनकारीका लागि अभिमुखिकरणमा जान लागेका हुन् । ‘पहिलोपल्ट जाने देशको बारेमा, त्यहाँ हुने सवै कामको बारेमा राम्रोसँग जानकारीका लागि अभिमुखिकरणमा जान लागेको हुँ ।’ भन्छन्,‘अहिले वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएपछि कम्तिमा अभिमुखिकरण अनिवार्य गरेको रहेछ ।’
विना परामर्श जाने युवाहरु दुर्घटनामा परी अंगभंग हुने, मृत्यु हुने, वातावरणसँग घुलमिल हुन नसक्दा रोगी हुने, खाना खाने र काम गर्ने समयबारेमा राम्रो जानकारी नराख्दा समस्यामा पर्न थालेपछि विभागले आधिकारीक रुपमा नै परामर्श केन्द्र जान अनिवार्य गरेको थियो । विभागका अनुसार अहिले यस्ता परामर्श केन्द्रहरुको संख्या तीन दर्जन पुगिसकेको छ । आधिकारीक रुपमा परामर्श दिने ३२ संस्थाहरु विभागसँग जोडिएका छन् ।
विदेशको काम भन्नसाथ खुट्टा उचाल्नेहरुले आफु जाने मुलुकका बारेमा जानकारी नलिइजाँदा खेपेका पीडा कम छैनन् । खाडी मुलुकको बारेमा जानकारी नलिइँ जाँदा जेल पर्ने र विभिन्न कारणका समस्या खेप्नेहरु कम छैनन् । कतिपय नेपाली युवाहरु सुतिरहेको अवस्थामा मृत्यु भएका पनि छन् भने धेरैजसोमा विभिन्न कारणका रोगहरुको संक्रमणहरु हुने गरेका छन् । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले तयार पारेको रिपोर्टका अनुसारमात्र दैनिक तीनजनाको सरदरमा मृत्यु हुने गरेको छ । ्
वैदेशिक रोजगारीका क्रममा गएका ज्यादातर मानिसहरुको प्राकृतिक, हृदयघात, सडक दुर्घटना लगायतका कारणले मृत्यु हुने गरेको छ । हालसम्म बोर्डमा प्राप्त जानकारी अनुसार सवैभन्दा ज्यादा मलेशियामा कार्यरत नेपालीको मृत्यु भएको छ । तथ्यांक अनुसार हालसम्म प्राकृतिक रुपमा चार सय २० जनाको मृत्यु भइसकेको छ । ट्राफिक नियम नजानेका कारण नै दुर्घटनामा परेर २ सय ९२ जनाको मृत्यु भइसकेको छ । मानसिक रोग तथा विभिन्न प्रकारका दुख सहन नसकेर खाडी लगायतका मुलुकमा आत्महत्या गरी २ सय २ नाजनाले आत्महत्या गरिसकेका छन् ।
नेपाली कामदकारको विदेशमा मृत्युदर रोक्नका लागि विभिन्न सामाजिक संस्थाहरुले परामर्श केन्द्र खोलेका छन् । यस्ता परामर्शकेन्द्रहरुसँगको समन्वय विना विदेश जानु खतराभन्दा अरु केही पनि नहुने परामर्शदाताहरुले बताउने गरेका छन् । यस्तो खतराको फेहरिस्त कम आउने गरेको छैन । काम गर्ने क्रममा भएको दुर्घटनामा १७२, हृदयघातबाट ११३, हत्याका कारण ४५ र कारण खुल्न नसकेका ४०९ जनाको मृत्यु भइसकेको बोर्डले तयार पारेको पछिल्लो रिपोर्टले देखाएको छ । यो तथ्यांकको न्युनिकरण र नेपाली युवाको सुरक्षाका लागि पनि परामर्श अथवा अभिमुखिकरण अनिवार्य रहेको बताउँछन्, सरोकारवाला ।

महिलालाई घरेलु तालिम
नेपालका महिला घरेलु कामदारका रुपमामात्र जाने भएकाले उनीहरुले बाहिरको काममा त्यति ध्यान दिनु पर्दैन । महिलाका लागि अभिमुखिकरण गर्ने संस्थाहरुले घरेलु काम र घरभित्रको काम कसरी गर्ने भन्नेबारेमा जानकारी दिने गरिएको छ । राइसकुकुर, फ्रिज, ग्याँस, इलेक्ट्रि मेसिनहरु, स्त्री लगायतका सामान चलाउने तालिम अनिवार्य गरिएको छ ।
भ्याकुम क्लिनर, वासिंग मेसिनबारेको तालिम लिएरमात्र महिलाहरु रोजगारीका लागि जानु पर्ने हुन्छ । ‘ग्रामिण महिलाहरु ज्यादा खाडीलगायतका मुलुककमा घरेलु कामदारका लागि जाने भएकाले यी तालिम अनिवार्य गर्नुपर्छ ।’ तालिम सञ्चालक फुर्वा लामा भन्छन्,‘यी तालिमबारे जानकारी भएन भने महिलाहरु काममा समस्यामा त पर्छन् नै रोजगारदाताले पनि समस्या दिने सम्भावना ज्यादा हुन्छ ।’
घरेलु काममा जाने महिलाहरुका लागि वेग्लै र सफा बास्थान, परिवारसँग नियमित सम्पर्क, दुतावासका अधिकारीसँग नियमति सम्पर्कको वातावरणका बारेमा पनि सवैले जानकारी राख्नु अनिवार्य भएको लामाले बताए । ‘यदि त्यसो भएन भने त्यसलाई सुरक्षित रोजगार भन्न मिल्दैन ।’ उनले थपे,‘यो सरकारले तयार पारेको मापदण्ड नै हो ।’

‘सवै प्रकारको सुरक्षा हाम्रो दायित्व’
फुर्वा लामा 
प्रबन्ध निर्देशक
अमरावती अभिमुखिकरण तालिम केन्द्र, सामाखुसी

सरकारले रोजगारीमा जाने युवाका लागि परामर्श र अभिमुखिकरण अनिवार्य गरेपछि त्यहाँ भएका युवाहरुको सुरक्षालाई मध्यनजर गरी हामीले परामर्श दिने गरेका छौं । अहिले बढेको वैदेशिक रोजगारीमा जाने निक्कै युवाहरु अनेक प्रकारले समस्यामा पर्दै आएका छन् । खासगरी, खाडी मुलुकमा देखिएको युवाहरुको समस्या, युवतीहरुका पीडाहरु केही आफ्ना कमजोरीले पनि हुने गरेकाले त्यसबाट सचेत रहन र बच्ने उपायबारे हामी दक्ष प्रशिक्षकहरुद्वारा परामर्श गराइरहेका छौं ।
वैदेशिक रोजगारीमा जाँदा ध्यानदिनुपर्ने आधारभुत कुरादेखि राहदानी बनाउने, त्यसको प्रयोग र विदेश जानका लागि मानसिक, शारिरीक र आर्थिक रुपमा कसरी सक्षम हुनुपर्छ भन्ने ज्ञान दिने गरेका छौं । विमानस्थल नदेखेकाहरु प्हिलो पल्ट विदेश जान लागेका हुन्छन्, तिनीहरुलाई विमानस्थलको प्रयोग, इमिग्रेशनमा के गर्ने ? ट्रान्जिट परेका बेला के गर्ने ? सम्बन्धित मुलुकमा पुगेपछि कस्तो सुरक्षा अपनाउनेबारेमा जानकारी दिने गरेका छौं । त्यो देशको नियम, रितीरिवाज र वातावरणसँग कसरी घुलमिल भएर काम गरिन्छ भन्नेबारेमा पनि जानकारी दिने गरेका छौं ।
अहिले अरबका विभिन्न मुलुक जानेहरुलाई हामीले परामर्श दिइरहेका छौं । कम्तिमा तीन हजार पाँच सय जनाले हामीसँग परामर्श लिएर जानुभएको छ । वहाँहरु विदेशमा रहेर पनि आफुलाई समस्या परका कुराहरुबारे सोध्ने गरिरहनुभएको छ । विदेशमा युवाहरु लुटिने, युवतीहरु बलात्कारमा पर्नेजस्ता घटनाहरु सार्वजनिक भइरहेका बेला कानुनी प्रावधान र सुरक्षित हुने तरिकाको बारेमा अभिमुखिकरण गरेका छौं । आफु जाने मुलुककको भौगोलिक अवस्था, सुरक्षाको विषयमा भिजुअल प्रोजेक्टर मार्फत प्रभावकारी अभिमुखिकरण गरिरहेका छौं । विमा, बोर्डिगं पास, प्लेनमा सिटवेल्ट बाँध्ने, ट्वाइलेट जानेलगायतका साना तर महत्वपूर्ण विषयमा पनि जानकारी गराउँदै आएका छौं ।
प्रमाणपत्र प्राप्त र इजाजतप्राप्त प्रशिक्षकलेमात्र यो तालिम दिन पाउने भएकाले हामी त्यहि अनुसार काम गराइरहेका छौं । अहिले युवाहरुको संख्या बढिरहेको छ । सवैको चाहना सुरक्षित वैदेशिक रोजगारी भएकाले नै सामान्य तर निक्कै महत्वपूर्ण सुरक्षाको विषयमा जानकारी राख्नु अनिवार्य देखिएको छ ।

मेशिनजस्तो कामगर्नुपर्ने
दर्श वर्ष वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएइ)मा काम गरेर फर्किएकी ओखलढुंगा रुम्जाटारकी जया गुरुङ् अहिले छोराको अध्ययनका लागि नेपाल फर्किएकी छिन् । छोराको एसएलसी सकिएपछि फेरि विदेशकै काममा फर्किने सोच राखेकी उनको दश वर्षे युएइ बसाइको अनुभव यस्तो छ ।

म सन् २००३ मा श्रीमान् मार्फत व्यक्तिगत भिसामा युइएको दुबई पुगेकी थिएँ । दुवईको भोसेसीटि भन्ने ठाउँमा घरेलु कामदारका रुपमा मैले काम गरेको हुँ । सन् २०१२ सम्म १० वर्षसम्म मैले एउटै घरमा काम गरें । मेरो काम घरका सवैथोक गरेर मालिकको बच्चाई स्कुल लैजाने र ल्याउनेसम्मको हुन्थ्यो ।
दुवईमा काम गर्नका लागि मेशिन र मानिसको कुनै फरक छैन । पैसा दिएपछि मेशिनलेजस्तै काम गराउनुपर्छ भन्ने मानसिकता उनीहरुले राखेका हुन्छन् । मलाई गएको बेला महिनाको नेपाली ३० हजार तलव दिएका थिए । र, सो पैसा अनुसार नै काममा निक्कै पेलेका पनि थिए । साताको शुक्रबार हुने विदामा पनि कहिँ जान पाइन्नथ्यो । काममा एकैछिन पनि फुर्सद हुँदैनथ्यो । १५ दिनमा एक दिन बाहिर जान पाउने मौकालाईचाँही भरपुर प्रयो गर्दथें । श्रीमान्सँगै हुने महिलाहरु बाहिर घुम्न पाउँथे तर हामी पाउँदैन थ्यौं । महिलालाई काम गर्न त्यति समस्या होइन तर बढि काम लगाउने, घर मालिक्निले कराउने कुरा सामान्य नै मान्नुपर्ने भयो । पहिलोपल्ट विदेश गएका कारणले यी सामान्य कुराहरुले त्यति असर गरेन । निक्कै अनुभवहरु बटुल्न पाइयो । कहिलेकाँही म बरदुवई भन्ने ठाउँमा घुम्न जान्थें ।
निरन्तर १० वर्षसम्म यसरी नै काम गरियो । काम गरेको पैसाचाँही मैले समयमा पाएकाले त्यो पैसाको सदुपयोग गरें । सानो छोरालाई राम्रो स्कुलमा पढाउने, काममा खर्च भयो । केही समयपछि तलव बढाएर ४० हजार जति पुगेको थियो, केही रकम जम्मा गर्न सकेकाले पनि कपनमा सानो जग्गा किनेकी छु । त्यसैमा घर बनाउने योजनापनि बनाएकी छु । विदेशमा गएर काम गरेर पैसा खर्च गर्नेभन्दा पनि बचत गरे केही गर्न सकिन्छ जस्तो लागेको छ ।
काममा जानेलाई टिप्स
प्रतिदिन एक हजार सात सय भन्दा बढि युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । सुरक्षित वैदेशिक रोजगारीका लागि उल्लेख्ति टिप्सहरुलाई ध्यानमा राख्नु आवश्यक छ ।

–नेपाल सरकारले विश्वका एक सय आठ मुलुकमा मात्र कामदार पठाउने वैधानिक नियम छ । त्यसकारण परामर्श गरी तोकिएका मुलुकभन्दा अन्यत्र रोजगारीका लागि जानु जोखिम हुन्छ ।
–वैदेशिक रोजगार विभागसँग समन्वय गरी खुलेका विभिन्न इजाजतप्राप्त परामर्श तथा अभिमुखिकरण तालिम दिने संस्थामा सम्बन्धित मुलुकको बारेमा सवैकुरा थाहा पाएर काममा जानु सुरक्षित हुन्छ ।
–व्यक्तिगत भिसा भन्दा संस्थागत भिसाका आधारमा जानु सुरक्षित हुने भएकाले सकभर व्यक्तिगत भिसामा वैदेशिक रोजगारीमा नजानु उत्तम हो ।
–संस्थागत रुपमा जाँदा सम्बन्धित कम्पनीको एउटै कागज बनाएर जानु राम्रो हो । शंका लागेका वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ ।
–सरकारले तोकेका केही एजेन्ट तथा म्यानपावर कम्पनीका वैधानिक कार्यालयबाटमात्र वैदेशिक रोजगारी सम्बन्धि कारोबार गर्नुपर्दछ ।
–सरकारले सम्बन्धित मुलुकका लागि तोकेको भन्दा बढि लागत खर्च तिर्नु भएको छ भने तपाई ठगीमा पर्नु भएको हुनसक्छ । त्यसबारेमा वेदेशिक रोजगार प्रबद्र्धन बोडृ तथा वैदेशिक रोजगार विभागमा जानकारी गराउनु राम्रो हुन्छ ।
–पहिलोपल्ट वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने सम्बन्धित मुलुकको भाषा, संस्कृति र कानुनको बारेमा बुझेर जानुपर्दछ, जसका कारण विदेशमा समस्या पर्ने खतरा कम हुन्छ ।
–विदेश जाँदा मुलुकको विमानस्थलकोमात्र प्रयोग गर्नुपर्छ, अन्य ठाउँबाट जाँदा ठगिने सम्भावना ज्यादा हुन्छ । 

व्यापारभन्दा संगत ठूलो


डी. विनोद

सामान्य हिसावले नै गर्जो टार्न र समय विताउन सके उनका लागि त्यहि नै ठूलो व्यापार हो । पुल्चोक हाइटमा सानो कटेरोमा १४ वर्षदेखि पसल चलाइरहेका छन्, उनले । पसल सानोबाट ठूलो बनाउने उद्देश्यका अनेक व्यापारी भएपनि उनलाई त्यो रहर छैन । पुल्चोकै घर भएका दुर्गाबहादुर श्रेष्ठलाई स्टोभको ठाउँमा ग्याँस राख्ने धोको पनि छैन । भन्छन्,‘यहि सजिलो पनि छ अनि मलाई अरु राख्ने बढाउने रहर पनि छैन ।’
०५६ सालमा आमा कान्छी श्रेष्ठले सुरु गरेको चियापसल अहिले उनले निरन्तरता दिएर चलाइरहेका छन् । ०६१ साल साउन २ गते आमाको निधन भएपछि श्रीमति तरीमैचा श्रेष्ठको साथमा उनले निरन्तर पसल चलाइरहेका थिए । श्रीमति तरीमैचाको गत वर्ष अर्थात् ०६८ चैत २ गते निधन भएपछि उनी एक्लै छन् । ‘जीवन संघर्ष हो, साथ दिने वितेपनि चलाइरहेको छु, यसरी नै चलाउनेछु हातगोडा नगलेसम्म’, उनी भन्छन्,‘बाँच्नका लागिमात्र होइन समय विताउनका लागि पनि मैले यो कामको निरन्तरता दिनै परेको छ ।’ रात्री पाठशाला नक्सालमा पढेका उनका एक छोरा र एक छोरी छिन् । यहि पसलको आम्दानीको लगानी गरेर छोरा सुरेन्द्रलाई वैदेशिक रोजगारमा पठाएका थिए । अनि, छोरीको पनि विवाह गरेका थिए ।
जीवन होस् या व्यापार सरलतामा सहजता खोज्छन् उनी । पुल्चोक इन्जिनियरिंग क्याम्पसमा काम गरेको घमण्ड उनको हालको व्यावसायमा देखिन्न । कम बोल्छन् तर निरन्तर सेवा गर्नुलाई उनी आफ्नो धर्म पनि ठान्दछन् । भन्छन्,‘जागिर खाइयो तर व्यावसायमा हात नहाली भएन ।’ छ दशकको उमेरमा आमाले समय विताउन खोलेको सामान्य चियापसलमा अहिलेपनि स्टोभलाई पम्प हालिरहेका छन् उनी ।
‘अहिले केही घटेको छ नत्र दिनमा एक हजार रुपियाँ बचाउन सकिन्थ्यो ।’ भन्छन्,‘अहिले त पसलको व्यापार भन्दा पनि संगत सम्झिएर निक्कै खुसी लाग्छ ।’
पसलको स्वरुप हेरेर निक्कै कमैलेमात्र पत्याउँछन्, उनले नेपाली कांग्रेस नेता स्व. गिरीजाप्रसाद कोइराला, हालका सभापति सुशिल कोइरालालगायतलाई आफ्नै हातले बनाएको चिया खुवाएका छन् । भन्छन्,‘यहाँ आउने नेताजीहरु धेरैलाई चिया खुवाएको छु । अनि, कलाकारहरु भुवन केसीदेखि सामान्य गायकलाई पनि खुवाएको छु ।’ जनआन्दोलनका समयमा उनका पसलमा कोइरालालगायतका नेताहरु चिया पिउनकै लागि आउँथे । ‘मर्निगं वाक आउने यहाँका स्थानीयहरु, गुम्बा मन्दिर घुम्न आउने युवायुवतीहरु मेरा ग्राहक हुन् ।’ उनी थप्छन्,‘अनेक किसिमका मानिसहरुलाई चिया खुवाएको छु ।’ उनले नेताहरुलाई आफ्नो हातको मिठास चखाएपनि कहिलेपनि राजनीतिक दलमा आवद्ध हुने सोच बनाएनन् । ‘काम गरी खाने मान्छेले काम गरेको राम्रो, राजनीतितिर मेरो ध्यान गएन ।’
टाइपराइटर चलाउन खप्पिस दुर्गाबहादुरले झण्डै १४ वर्ष पुल्चोक इन्जिनियरिंग क्याम्पसमा टाइपिस्टको काम पनि गरेका थिए । ‘कम्प्युटरको जमाना थिएन त्यसबेला । ०३५ सालदेखि ०४९ सालसम्म मैले टाइपिस्टको अस्थाई जागिर पनि खाएँ ।’ उनले भने ।
सेन्ट जेभियर्स स्कूलमा तीन वर्ष क्यान्टिन चलाएपनि त्यो ठाँटले पसल चलाउने उनको महत्वकांक्षा छैन । नातावादमा चल्ने समाज भएकैले पनि उनले स्कूलका सञ्चालक परिवर्तन हुनासाथ क्यान्टिन छाड्नुपरेको अनुभव सुनाए । ‘श्रीमति पनि त्यसबेला विरामी भइन र मैले त्यहाँ छाडिदिएँ ।’ उनले भने,‘ म कर्मचारी थिएँ । व्यापारतिर त्यति ध्यान दिएको थिइन । तर, जागिरबाट अवकास पाएपछि त्यसै बस्ने रहर आएन । घरसल्लाह गरेर मैले सेन्ट जेभियर्समा क्यान्टिन खोलेको थिएँ ।’
सार्वजनिक ठाउँमा उभिनुको मज्जा नै धेरैजनासँगको परिचय हुनुलाई उनी स्वीकार्छन् । बन्द कोठामा जीवन विताउनेहरु भन्दापनि सार्वजनिक भएर जीवनलाई संघर्षमा परिणत गर्न सक्नु वेग्लै हुने उनको अनुभव छ । उनको आफ्नै तर्क छ,‘मानिस सार्वजनिक प्राणी हो । त्यसकारण किन नभएको ठाँट देखाउने ? त्यसैले चौतारो पारेर अहिलेसम्म पसल चलाइरहेको हुँ ।’
‘छहारीको आडमा बस्दा जीवन टहलाउन सहज हुन्छ भन्ने ठानेर नै पिपलबोट मुनिको यो ठाउँको पसलमा म दिनभर खटिरहेको छु ।’ पिपलको रुखतिर इंगित गर्दै उनले भने,‘ओहोरदोहोर गर्ने विभिन्न प्रकारका मानिसहरुको कुराकानी र गफगाफ सुनेर दिन विताउने गरेको छु ।’ 
खाली दिमाग शैतानका घर भन्ने उखानको पयार्य बन्नुभन्दा पनि व्यस्त तर सरल बन्नु उपयुक्त ठान्दछन् उनी । ‘मेरो घरमा कोही पनि वेरोजगार नबसोस् भन्ने सोचको विकास भएको थियो । म अहिलेपनि आमाले खोलेको यो पसलमा अभ्यस्त भइरहेको छु ।’ उनले भने । दुर्गाबहादुर कहिलेकाँही भावुक पनि हुन्छन् । उनी आफ्नो जीवनको विगतसँग घोत्लिँदा दुखी पनि हुन्छन् । भन्छन्,‘जीवनमा त्यति नमिठा घटनाहरु त भएका छैनन् । तर, आमाको निधनले मलाई दुखी बनाएको थियो । जसोतसो त्यो दुख भुल्ने कोसिस गर्दागर्दै श्रीमतिको पनि निधन भयो । जीवनसाथी निधन पनि थपिएपछि झन दुखी बनिँदो रहेछ ।’

Sunday, April 14, 2013

एउटा अमिलो दशक

विनोद ढकाल
‘एक युगमा एक दिन एक चोटी आउँछ’ नेपालीजनमा निक्कै प्रभावी, प्रयोगात्मक र चर्चाको गीतको बोल हो यो । अनेक क्रान्तिका आन्दोलनमा यहि शव्दले मानिसलाई घरबाट सडकमा, सडकबाट राजधानीसम्म धकेलेकै हो । तर, यो शव्दमात्र प्रभावी बनिदियो । एक युगमा उहि दिन धेरैपटक आए । तर, खल्ला र अमिलो अनुभवको थुप्रो बोकेर । समीक्षा नै त भन्न नमिल्ला तर एउटा दशकको अमिलो अनुभवलाई सवैले स्वीकार गर्नैपर्दछ ।
यो दशकको सुरुआती दिनले एकपटक झस्कायो । तत्कालिन राजाको प्रत्यक्ष शासनकालमा समाचार लेखेकै आरोपमा २०६० सालमा तत्कालिन शाही सेनाको युनिफाइड कमाण्डले नियन्त्रणमा लिएको थियो । भ्रष्टाचारमा सेनाको पनि संलग्नताको विषयमा समाचार लेखेकै आरोपमा तत्कालिन विद्रोही माओवादीको नाममा मारिदिनेसम्मको धम्की पाएको थिएँ । अविचलित पत्रकारिताको यात्रा, त्यसमा पनि व्यक्तिगत मुनाफा विहीन पत्रकारिताको त्यान्द्रोमा झुण्डिएर प्रजातन्त्रको वकालतमा कुनै कसर बाँकी राखिएन, जुन ठाउँमा पत्रकारिताका सुरुआती दिनहरु चलिरहेका थिए ।
सुनिन्थ्यो कयन गाउँहरुमा विद्रोहीका एम्बुस र राज्यका गोलीले परिवारमा विधवाहरु बढिरहेका छन्, टुहुराहरुको संख्या उल्लेख्य हुन थालेको छ । यद्यपि, क्रान्ति जारी छ भन्ने हल्लापनि सुनिन्थ्यो । सहरमा सञ्चारका गृहहरुमा राज्यको सेन्सरसीप पनि चलिरहेको थियो । एउटा कालो दशककको सुरुआती दिन थियो । यस्ता घटना निरन्तर चलिरहेको थियो र केहीहदसम्म मानिसहरु सेन्सरसीपको आदती बनिसकेका थिए पनि । तर, प्रजातन्त्र कुनैपनि बाहनामा स्थापित गर्नुको विकल्प थिएन । गिरिजाप्रसाद कोइरालाहरुको आन्दोलन, माधव नेपालहरुको सडक जुलुस आउनु नै थियो । आयो, उर्लियो र ६३ को सुरुआती वर्षमा नेपालमा प्रजातन्त्रले फेरि हुर्किने अवसर पायो । निरन्तर, हुर्काउने लहडपनि चल्यो । मुलुकमा प्रजातन्त्रका वकालतीहरुको बहुमत बढ्यो, अन्ततः सैनिक परिचालन गरेको तत्कालिन राज्य उर्फ राजसंस्थाका नेतृत्वदायी ज्ञानेन्द्र शाह सत्ता खोपी छि¥यो । यहि दशक थियो जसले ऐतिहाँसिक संविधानसभाको चुनाव सम्पन्न गरेको थियो । शान्ति प्रकृयाको सम्झौतामा हस्ताक्षर गरेर मुलुक शान्तिको बाटोमा उर्लिएको घोषणा गरेको थियो । आम साधारण अव विकासका मुल फुट्ने आशामा, राजनीतिक दलको शासनसत्ताको बलमा लोकतन्त्रको दुहाई दिन थालेका थिए । संविधानसभा बन्यो, भत्कियो । सत्ताको खेल फेरि फोहोरी रुपमा उदायो । र, चारदलीय सम्झौताले निर्दलीय अर्थात् खिलराज रेग्मी सत्ता स्थापित गरी छाड्यो । त्यसबीचमा कोइराला, कृष्णप्रसाद भट्टराईजस्ता हस्तीहरु धर्तीबाट नामेट भए । यो दशकको सामान्य ‘समरी’ थियो ।
हिजोदेखि विक्रम सम्वत्को नयाँ वर्षमात्र सुरु भएको छैन । नेपाली जनताले एक दुखद र उपलव्धिविहीन दशक विताएका छौं भन्दा कुनै अन्याय हुँदैन । खासगरी नेपाली समाज, राजनीति र अर्थतन्त्रको कालो दशक वित्यो । नेपाली समाजले यहि दशकमा राजनीतिक परिवर्तनका नाममा ठूलो उपलव्धि हासिल गरेको भनिएतापनि व्यवाहारमा त्यो देख्न पाइएन । नेपाली राजनीतिको सवैभन्दा ठूलो र कालो दशकका रुपमा वितेको छ । दश वर्षमा मुलुकको विकास सिंगापुरको भन्दा भयानक गर्ने भनिएर गरिएको ओठे प्रतिबद्धता त्यसै खेर गएको छ । राजनीतिक दलहरु अहिले पनि मुलुक उपलव्धीको मार्गमा नै रहेको घमण्ड गरिरहेका छन् । दश वर्षमा हामी फेरि पनि तीन सय ६० डिग्रिको कोणमा फर्किसकेका छौं । बरु, विकास र सुविधाका हिसावल त्यो भन्दापनि जर्जर अवस्थामा आइपुगेका छौं । ठिक राजनीतिक व्यवस्था उल्टो भइसकेको छ, विद्रोहीहरु अर्बपति र जनताहरु कंगाल भइसकेको अवस्था छ । यस्तो कंगाल जसले विकास र अवसरका सामान्य चिजहरु देख्न पाएको छैन । आफैंभित्र समिक्षा गर्ने हो भने पनि सीमित व्यक्ति बाहेकका लागि यो दशक सुखद देखिएन । उपलव्धिमुलक हुन सकेन ।
उपलव्धि केलाई मान्ने ? ग्रामिण बस्तीमा जर्जर बनेको वेरोजगारी, कृषि उत्पादनमा आएको कमी, वैराग्य मानेर विदेशिएका युवापुस्ताको संवेदना, काकाकुल बनेका सहरवासीको पीडा, दैनिक १८ घन्टासम्म हुन थालेको लोडसेडिङ्, दशकमा मारिएका हज्जारौं परिवारको वेदना, रगतमा लतपतिएर सुकिला देखिन थालेका अनुहार ? प्रश्नमात्र खडा भएको दशकलाई कसरी गतिलो मान्ने ?
सीमा वारी बसेर भारतीय राज्य विहारलाई गाली गर्ने, काठमाडौंका सडक गल्लीमा विहारीको नाममा गाली पहिराउने नेपालीको हविगत लोकतन्त्रले खायो । खासगरी वितेको दशकले निमिट्यान्न बनायो । तर, उही विहार यो दशकमा भारतकै नमुना राज्यका रुपमा स्थापित भयो । राजनीतिमा इमान्दारीता र जनताको आकांक्षा नै विकासको मुल गति हो भन्ने कुरालाई त्यहाँका मुख्यमन्त्री नितिश कुमारले देखाएर छाडे । बरु, नेपालचाँही विहारी गुण्डागर्दी र लुटपाटको पथमा हुर्कियो । आर्थिक र राजनीतिक अवस्थाले पिछडिएको र निक्कै अस्रेल्ल रहेको भारतको विहार राज्य यहि दश वर्षमा आर्थिक बृद्धिदर गर्ने सवैभन्दा ठूलो राज्यमात्र भएन, यहि दशकमा उसले आपराधिक चरित्रमा हुर्किएको समाजलाई प्रगतिशिल मार्गमा उभ्याउन सफल भयो । तर, हामी धेरैतिर उही राज्यसँगको सीमामा रहेरपनि उसका गतिला र राम्रा शिक्षालाई सिकेर अगाडी बढ्न सकेनौं ।
विडम्बनापूर्वक यी उदाहरणसँग मुलुकको अवस्थाको संश्लेषण सायद अनिवार्य छ । किनभने नेपाली जनजिव्रो मुलुकले के दियो भन्ने प्रश्नमा बेरोजगार बस्न पनि तयार हुने गरेको छ । तर, मुलुकलाई आफुले के दिन सकें भन्नेबारेको चर्चा कहिँकतै हुने गरेको पाइन्न । समाज यतिविध्न स्वार्थी बनिसकेको छ की सम्भावनाका बाटोहरु छाडेर र्तकशिल समाजको पछि लाग्ने गरेको छ । अहिलेपनि हुकुमी र दरबारीया शासन शैलीको पछ्यौटे बनेर विभिन्न राजनीतिक दलका नेताहरुको मुख ताक्ने र उनले गरेका निर्णयहरुलाई स्वीकार्नेजस्तो कमजोर काममा पनि हामी अभ्यस्त भएका छौं । सम्बन्धित राजनीतिक दलहरुले आफ्ना नेताहरुलाई ठिक र राम्रो बाटो देखाउने काममा सक्रियता देखाएका छैनन् । नेपाली जनता जहिलेपनि राजनीतिले रोपिरहेको, विजारोपण गरेको झुठको खेती र आश्वासनको बाली हुर्काउनमै अभ्यस्त भएका छौं । यो दशकपनि यसरी नै वित्यो । एउटा मुलुकले दश वर्षमा काया पलट गर्दछ तर हामी दश वर्षमा अझ २० वर्ष पछाडीको भन्दा ध्वस्त अवस्थितिमा फर्किसकेका छौं । जम्माजम्मी २ करोड ६६ लाख जनसंख्या मुलुकमा राखेर पनि शान्ति र विकासको राम्रो स्वास लिन सकेका छैनौं । यो दोष खासगरी परिवर्तित राजनीतिक अवस्थालाई नै दिनुपर्दछ ।

Friday, April 12, 2013

नयाँ वर्षको शुभकामना नयाँ तस्वीरहरुबाट

फूललाई नजिक नलेऊ विझाउन सक्छ,
काँडाहरु छिचोलेर सायद, रिझाउन सक्छ ..

A Wonderful gift from Abhi for me...Thank you and HNY-2070 for all.