Tuesday, June 30, 2015

वेनाम मुहार, नगन्य माया

उनको त्यो भावले मलाई मिठो घाउ दियो । म त्यो दृश्यमा उनको सुन्दरतामाथि घाइते भइसकेको थिएँ । सुन्दरता आँखाले निलेर मनले स्वाद लिने अचुक आनन्द हो । म त्यहि आनन्दको रत्नमा कतै हराइरहेको थिएँ । घरि घरि लाग्थ्यो उनको सुन्दरतालाई त्यहिँ छेऊमै गएर स्पर्श गरौं । तर, अपरिचित सुन्दरतासँग मनको एकतर्फी स्पर्श सम्भव छ, शरिरको छैन भन्ने पनि मलाई ज्ञान थियो ।



विनोद ढकाल 
काठमाडौंका सडकमा लाखौं अनुहारहरुको हतास यात्रा हुन्छ । लाखौं मानिसहरुको व्यस्तता पनि त्यस्तै । आफ्नो अनिवार्य बाटोको गतिमा दौडिरहेको भिँडमा बेनाम अनुहार अनेक भेटिन्छन् । तर,
एउटा मुहार जो अपरिचित छ, उसको बारेमा कल्पित हुने अनुहारहरु कति छन्, थाहा छैन । तर, यो भिँडमा बेनाम मुहारमा क्षणभरको नगन्य माया पलाएर आउनसक्छ । विश्वास गर्नुको विकल्प नै नहुने रहेछ, जब आफूले भोगिन्छ । र त भनिन्छ, परेर जानिन्छ । परेको चिज, जति तितो हुन्छ, मिठो पनि हुने रहेछ । एउटा तन्नेरी आँखा तरुनीको अनुहारमा टोलाइरहनु आखिर सामान्य विषय पनि त हो । यस्तै एउटा नगन्य माया पलायो, एउटा छोटो र मिठो यात्रामा । यो यात्रा यति मिठो लाग्यो कि, स्वादको कसरी वर्णन गर्ने ? अक्षरहरुलाई कसरी खर्च गर्ने भन्ने कुनै बाटो पाइरहेको छैन । यद्यपि, खिटिरपिटर उतार्ने कोशिश गरिरहेको छु ।

Friday, April 24, 2015

शक्तिशाली आन्तर्य हो, प्रेम

विनोद ढकाल 
प्रेममा वियोग व्यहोरेकाहरुलाई फेरि प्रेममा पर भन्नुजस्तो कठिन काम केही पनि होइन । उसको अनुभुतिको बयानबाजीलाई चिरेर फेरि प्रेम गर भन्न सकिँदैन । तर, प्रेमविना बस्न पनि त सकिँदैन नि । त्यसकारण मुटु मिचेरै भएपनि उनीहरुलाई भन्नुपर्छ– प्रेम मिष्ठान्न अनुभुति हो, प्रेममा पर, प्रेममा बाँच । 
मिठो अनुभुति प्रेम हो ? अनयास हुने मनमोहक परिकल्पनाहरुको थुप्रो पनि प्रेम हो । चराहरुको चिरविरचिरविर आवाज मनपर्ने मौसममा उन्माद हुने भावनाहरु पनि प्रेम हुन् । नतमस्तक मायामा उम्लिएका बेला सुनिने हर स्वरहरु प्रेम नै होइनन् र ? अवश्यपनि प्रेम हुन् । मान्छेलाई हर कुरा मनमोहक लाग्छ, जव ऊ प्रेममा हुन्छ । सामान्यतयाः प्रेम अन्धो हुन्छ भनिन्छ । होइन, प्रेमले त सवैकुरा देखाउँछ, एउटा मार्ग सुझाउँछ, जीवनको फरक यात्राको अनुभुति गराउँछ । संवेदनाहरुको तरंगलाई बाहिर ल्याउँछ, भावनाहरुको रंगलाई इन्द्रेणीमा ढाल्छ । अनि, हिँड्न, उठ्न बस्न सिकाउँछ । यद्यपि, कतिपय समयमा भने प्रेमका अनुकुलता र प्रतिकुलताका व्याख्या पनि स्वभाविक रुपमा देखा पर्दछन् ।

Thursday, April 2, 2015

जुस पिएपछि डा. केसीलाई मेरा प्रश्नहरु

केसी सत्याग्रह जम्माजम्मी एकथरी एलिट माफियाको हार र अर्काथरीको जीतमात्रै भएको देख्छु म, केसी जम्माजम्मी एक पात्र हुन्, १२ दिनसम्म भोकै आदर्शको लडाँइ लड्ने ।  


विनोद ढकाल 
केही सीमाहरुले बाँधिनु, मान्छेको जीन्दगीको बारेमा गम्भिर हुनु र धैर्यताको ख्याल गर्नु एक पत्रकारको धर्म हो । डा. गोविन्द केसी सत्याग्रहको आन्दोलनमा बसेका बेला, उनले केही नखाएका बेला, उनको शिरर गम्भिर भएका बेला उनको आन्दोलनले देखाएका अनेक प्रकारका असरहरु र त्यसले निम्त्याएका खतराहरुको बारेमा लेख्नु उपयुक्त ठानिनँ । टिप्पणी गर्नु पनि गलत हुने थियो । तर, जसरी विहीबार उनले सरकार झुकाएर सत्तालाई कमजोेर पारेर जुत्ता सिलाउनेको हातबाट जुस पिए, अनि मनमा गोलमोटल भएर बसेका, उकुसमुकुस भएर बसेका धारणा र उनको आन्दोलनको तत्कालिन औचित्यमाथि टिप्पणी गर्नैपर्ने अनिवार्यता ठानें । हुनसक्छ, मेरो टिप्पणी एकथरी एनजिओवाला, मेकिडल तस्करहरुका लागि गलत लाग्नसक्छ अनि अर्काथरी भ्रष्टहरुका लागि खुसीको विषय हुनसक्छ । तर, म तेस्रो पक्षका रुपमा आफ्ना धारणाहरु सार्वजनिक गर्न चहान्छु । किनभने म डाक्टर पढ्नसक्ने आर्थिक हैसियतको मान्छे होइन, डाक्टर पढ्छु भन्ने सोच मनमा लिन्थें कुनैबेला, परिस्थितिले पत्रकारितामा धकेल्यो । कारण, डाक्टर हुनु सजिलो छैन, त्यसका लागि विवेक जति भएपनि विद्या जति भएपनि, क्षमता जति भएपनि अर्थ त्योभन्दा बलियो हुनुपर्छ । डाक्टर हुन नसक्नेहरु यहाँ कण्डक्टर हुनुपर्ने हविगतमा हिँडेका कयन छन्, दैवको कृपाले यति टिप्पणी उठाउने प्रयत्न गर्नसक्ने, पत्रकार भएको छु । 

मेरा तर्कहरु अघि यो एउटा अथार्थ रिपोर्टलाई प्रस्तुत गर्ने जमर्को पनि गरेको छु । 

डा. गोबिन्द केसीले गरेको अनशनको दबाबमा सरकारले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेपछि अब ती मेडिकल कmलेजहरुमा अरबौं लगानी गरेका बाणिज्य बैंकहरुमाथि संकट पर्ने संकेत देखिएको छ । देशका प्रमुख बाणिज्य बैंकहरुले मनमोहनसहितका शिक्षा मन्त्रालयबाट आशयपत्र लिएका मेडिकल कलेजहरुमा अरबौं रुपैयाँ ऋण लगानी गरेका तर कलेजले सम्बन्धन नपाएका कारण ती ऋणको सावाँ ब्याज चुक्ता हुन सकेको छैन । अब के यी बैंकहरुको लगानी डुब्ने नै भयो त ? 
मनमोहन मेडिकल कलेजमा मात्रै नेपाल ईन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सात वटा बैंकहरुले दुई अर्ब रुपैयाँ लगानी गरेका छन् । डा. गोबिन्द केसीले गरेको अनशनको दबाबमा सरकारले नयाँ मेडिकल कलेजको सम्बन्धनमा कडा नीति लिएसँगै मेडिकल कलेज माथि लगानी गरेका दर्जन वढि बैंक तथा वित्तिय संस्थाहरु अप्ठ्यारोमा परेका छन् । सम्बन्धन नपाएसँगै कलेजहरुले ऋण तिर्न नसक्ने अबस्था आएकाले आगामी आर्थिक वर्षमा मेडिकल कलेजहरुमा लगानी गर्ने बैंकहरुले करोडौं रकम प्रोभिजन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
मनमोहन मेडिकल कलेजमा सात वटा बैंकको २ अर्व भन्दा वढि लगानी रहेको छ । कोटीहोम लगाएर २ अर्व उठाएको यस मेडिकल कलेजमा २४ सय शेयर सदस्य रहेका छन् । नेपाल स्वास्थ सेवा सहकारी संस्थाको नामबाट सञ्चालित यस अस्पतालमा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा १ अर्व ५२ करोड ५० लाख ऋण प्रदान गरिएको छ । जसमा सिभिल,एनवी,एनसिसि १० करोड लगानी रहेको छ । भने कुमारी,एस डेभलपमेन्ट,एनआइडिसिको समेत लगानी रहेको छ ।
यता, पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा नबिल बैंकको २५ करोड लगानी रहेको छ भने सनराइज बैकको १० करोड लगानी रहेको छ । त्यस्तै  विराटमेडिकल कलेजमा भएको लगानीले बैंक नै समस्यामा पर्ने भएको छ । एनआइसि बैंकको नेतृत्वमा ५० करोड सहवित्तिय कर्जा प्रवाह गरिएकोमा एनआइसिको २३ करोड,सिभिल २० करोड र सेञ्चुरी ६ करोड लगानी रहेको छ ।
झापामा रहेको विएमसिमा जनता बैंकको नेतृत्वमा ९० करोड कर्जा प्रवाह भएकोमा जनता र वंगलादेशको ४० र ४० करोड र विभोरको १० करोड कर्जा  छ । त्यस्तै एक समय माओवादीको विच्छ्यौनाको रुपमा चर्चामा रहेको जनमैत्री अस्पतालमा समेत हिमालयन बैंकको नेतृत्वमा २९ करोड रुपैया फसेको छ । 
हाल देशमा सम्बन्धन पाएका १९ वटा मेडिकल कलेज संचालनमा छन् भने शिक्षा मन्त्रालयबाट आशय पत्र पाएर पनि सम्बन्धन नपाउने १४ वटा मेडिकल कलेजमा भएको अरबांैको लगानी जोखिममा परेको छ ।
नेपालमा मेडिकल कलेज संचालन गरी डाक्टर उत्पादन गर्ने ब्यवसाय निकै आकर्षक देखिएको छ । एकजनालाई डाक्टर पढ्न अवसर दिने नाममा मेडिकल कलेजले पचास लाख भन्दा बढी रकम असुल्ने र सरकारका उच्च पदस्थ अधिकारीहरुले पनि कलेज संचालनको आशयपत्र, सम्बन्धन, कोटा थप, भर्ना लगायत शीर्षकमा राम्रै आय आर्जन गर्दै आएकाले यो क्षेत्र निकै लामो समयदेखि बिबादमा छ ।
संचालन भईरहेका मेडिकल कलेजहरुले नयाँसँग प्रतिस्पर्धा गर्नुपर्ने र हाल असुलीरहेको शुल्क असुल्न नपाउने, बिद्यार्थी संख्या कम हुने लगायतका भित्री कारणले नयाँलाई आउँन नदिन करोडौ खर्च गर्ने गरेका छन् भने कतिपय नयाँ मेडिकल कलेजहरु पर्याप्त पुर्वाधार र जनशक्ति विना नै पद, पैसा र प्रलोभनको आडमा सम्बन्ध हत्याउन खोज्ने गरेका छन् । चर्काे शुल्क तिर्नुपरेको रीसमा नयाँ मेडिकल कलेजहरु आए आफ्नो भविष्यको ब्यवसाय चौपट्ट हुने त्रासमा नयाँ मेडिकल कलेज आउँनै हुन्न भन्नेतर्फ जोड दिईरहेका छन् । 
सरकारले निश्चित मापदण्ड र कडा अनुगमनको आधारमा मेडिकल कलेज स्थापना र संचालनको काम ब्यवस्थित नगर्दा यस क्षेत्रमा लगानी गरेका बैंकहरु समस्यामा पर्ने संभावना बढेको छ । तत्काल समस्या समाधान नभएमा चालु आर्थिक बर्षको चौथो त्रैमास ऋण लगानी गर्ने बैंकहरुले भारी प्रोभिजन र खुद घाटाको नमीठो स्वाद चाख्नु पर्ने निश्चित छ । (मेरो लगानी डटकमबाट लिएको सन्दर्भ सामग्री)

यो एउटा ठूलो आर्थिक असरको उदाहरण हो । सवैभन्दा पहिले यो आर्थिक भार कसले टुंगो लगाउने ? यो ऋण कसले तिर्ने र जनताको पैसा कसरी सुरक्षित गर्ने ? यो प्रश्न सत्याग्रही र सरकारलाई फ्याँक्न चहान्छु, प्रथमतः ।  अब सामाजिक र मानवीय असरको कुराको सन्दर्भ उठाउन चहान्छु । हो, वास्तवमै डा. केसी समाजसेवी, दिनदुखी र गरिबका मसिहाका रुपमा चिनिएका डाक्टर हुन् । उनको आन्दोलन नैतिकवान छ । उनको कर्म नैतिकवान छ । तर, आधुनिक युगमा हर व्यक्ति गान्धीवादी हुँदा त्यसले कसलाई सरल र सहज हुन्छ, को अप्ठ्यारोमा पर्छ भन्ने कुराको हेक्का हुनुपर्छ । धेरै विद्वानहरुको समर्थन रहेको केसीको सत्याग्रहरुपी आन्दोलनमा समर्थन हुँदाहुँदै पनि उनको आन्दोलनको नाजायज फाइदा उठाउने तरिकासँग म सहमत छैन । उनको अनशन लम्बिएन, सरकारले लम्बिन दिएन, यो कुरामा हर्षित हुनुपर्छ । किनभने उनका वरीपरिका उनको सम्झौतामा हस्ताक्षर गर्नेहरु नै उनको अनशन लम्बाउने धेयमा उभिएका थिए । गरिबको पक्षमा सत्याग्रह आन्दोलन गरेका केसीको अनशनमा समर्थन र सरकारलाई दबाब दिने उद्देश्यका नाममा नेपाल चिकित्सक संघलाई मुलुकभरका सरकारी अस्पतालको बहिरंग सेवा बन्द गराउने अधिकार कसले दियो ? नीजि अस्पतालमा जागिर थापेर, सहरमा क्लिनिकमा गएरा गरिबका खुनपसिनाहरुले कमाएको रकम असीमित रुपमा लुट्नका लागि भएको निर्णय थियो कि थिएन ? छातिमा हात राखेर तंग्रिएका डा. गोविन्द केसीले पनि यो कुराको मनन् गर्नुपर्छ । केसीज्यु गरिबका लागि सत्याग्रह बसेको भन्ने तपाइले अब यो प्रश्न गर्ने कि नगर्ने ? गरिब जनताले पाउने सेवा नेपाल चिकित्सक संघले किन बन्द गरेको थियो ? अनि, आकस्मिक सेवा बन्द गर्ने चेतावनीसम्म आएको थियो, त्यो किन ? तपाइले तंग्रिनासाथ यो जीत ३ करोड नेपालीको भएको प्रतिक्रिया दिनुभयो । तपाईलाई के अधिकार छ, तपाईको सत्याग्रहको समयमा ३ करोड मध्येका सामान्य आय भएका कम्तिमा ५० लाखको दैनिक स्वास्थ्यमा असर गर्ने निर्णय लिन ? तपाई यो प्रश्न सार्वजनिक रुपमा अञ्जनीकुमार झाहरुलाई गर्न सक्नु हुन्छ ?

स्वभाविक रुपमा एउटा डाक्टर, एमबीबीएस पास गरेर फिल्डमा जानका लागि कम्तिमा ४० लाख खर्च हुन्छ । सरकारी भन्नुहोस् या नीजि यति रकम खर्च नगरीकन तपाई डाक्टर बन्नसक्नुहुन्न । हजार जना डा. केसीहरु अनशनमा बसेपनि पढाइको यो लगानीमा न्युनिकरण या कुनै सुविधा पाउने चान्स विल्कुल छैन । यो, डा. केसीले पनि राम्रोसँग बुझेका छन् । हाम्रो जस्तो गरिब देशमा सरकारले मेडिकल कलेज खोल्ने कुरा त परै जाओस्, उसले लगानी गर्नसक्ने वातावरण पनि हुँदैन । डा. केसीको सत्याग्रहले नेपालमा खुल्दै गरेका नीजि मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने काममात्र गरेको छैन, डाक्टर पढ्ने योजना बनाएका लाखौंलाई विदेश धकेल्न बाध्य बनाएको छ । किनभने यहाँ सरकारी मेडिकल कलेजमा एक सय ५० जनाको भर्ती हुँदैन, नीजिमा भर्ती बन्द हुन्छ, नयाँ खुल्न नपाएपछि विद्यार्थीले के गर्ने ? हरेक वर्ष ४० हजार विद्यार्थी एमबीबीएस पढ्नका लागि तयार हुन्छन्, अब उनीहरुको गन्तव्य कतातिर ? केसी ज्यु, नेपालीको रकम जबरजस्ती विदेशतिर धकेलिएको हो की होइन ? ४० लाख खर्च गर्नेले डाक्टर बन्नका लागि अझै रकम खर्च गर्न सक्छ, उनीहरु नेपालमा मौका नपाउँदा कहाँ जान्छन् ? भारत, युरोप अमेरिका हो की होइन ? अनि, त्यहि रकमले चल्ने नेपाली नीजि मेडिकल कलेज किन खारेज हुनुप¥यो ? विचार र सोच राम्रो भएर हुँदैन । सरकारले एउटा मेडिकल कलेज खोल्न, त्यसको भौतिक निर्माण गर्नका लागि कम्तिमा ३ बर्ष लाग्छ, त्यो तीन वर्षमा गन्तव्यहिन भएका कम्तिमा एक लाख २० हजार विद्यार्थी पढ्न कहाँ जाने ? के तपाइको अनशनस्थल त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने व्यवस्था मिल्छ ? त्यसको निराकरण खोई ? 

बुँदा लेखेर आन्दोलनमा उत्रिने निर्णय गर्नु सरल छ, आन्दोलनमा बस्न सकस होला तर त्यसले निम्त्याएको परिणाम, निम्त्याउने तत्कालिक र व्यवाहारिक असरका बारेमा सुझबुझ प्रकट नगर्दा हुने हानी ठूलो छ । हो, भ्रष्टहरुलाई कारवाही हुनुपर्छ, जथाभावी सम्बन्धन दिनेलाई पनि कारवाही हुनुपर्छ । तर, कारवाहीको विकल्पमा नयाँ संस्था खडा भएनन् भने, हुन समय लाग्यो भने तत्कालिक भविष्य के हुन्छ ? 

धेरैलाई लाग्नसक्छ, यो निष्ठाको सत्याग्रहको विपक्षमा लेखक किन उभियो ? या यसले गोविन्द केसीको विरोधमा किन लेख्यो ? यसलाई विरोधीहरुले प्रयोग गरे । तर, यो नाजायज र भ्रम हुनेछ । गोविन्द केसीका अगाडी सरकार झुकेपनि, उनको मागको अगाडी सरकार गिडगिडाएपनि यो पंक्तिकार गिडगिडाउनुपर्ने कुनै अनिवार्यता छैन । किनभने केसी आधुनिक युगका एकलव्य पटक्कै बन्न सक्तैनन् । उनको आन्दोलन मेडिकल कलेजका माफियाकाविरुद्ध रुपमा देखिएपनि सारमा मेडिकल गिरोहका अन्तर्राष्ट्रिय माफियाको पक्षमा देखिएको छ । उनको सत्याग्रह प्रयोग गरिएको छ । उनको निष्ठालाई विदेशी दलालहरुले प्रयोग गरे । खासगरी भन्नैपर्दा उनको निष्ठाको सत्याग्रहको उपयोग अरबौंमा भएको छ । नेपालमा भ्रष्टाचार भएका रकमहरुको वैधानिक उपयोग केसीको सत्याग्रहको दुरगामी असरका रुपमा विदेशका मेडिकल कलेजमा एलिटहरुको डक्टर बन्ने सपनासँगै वगेको छ, जुन फर्किएर आउने कुनै चान्स छैन ।

केसी ज्यु, डाक्टर बन्न सजिलो छैन । एउटा किसानको छोरो, खाडीमा मजदुरी गरेर गर्जो टार्नेको सन्तानले डाक्टर बन्ने सपना कहिले पनि देख्न सक्तैन, यदि देखि हाल्यो भने पनि त्यो सपना एउटा नमिठो निद्रामा देखेकोजस्तो हुन्छ, यथार्थ त्यो धरातलमा छ । जसले देख्छ, जो  डाक्टर बन्ने परिकल्पना र आर्थिक साहस राख्छ, उसैले मेडिकल कलेजमा भर्ना हुने हो । अहिले पढिरहेकाहरु पनि कोही भन्दा कोही आर्थिक हैसियतमा कमजोर छैनन्, एकाध छात्रवृत्ति पाएका बाहेक । अनि, यो लडाँइमा कसले जित्यो कसले हा¥यो ? जुम्ला, हुम्ला र कालिकोटमा सरकारले मेडिकल कलेज खोलेपनि त्यहाँ पढ्न जाने को ? त्यहाँका सर्वसाधारणले त्यो पढाइएको आर्थिक व्यव भर्नसक्ने मुलुकको आर्थिक हैसियत छ ? हो, छैन त्यसकारण जुम्ला जानुको साटो डाक्टर पढ्नेहरु विदेशतिर नै लम्किन्छन् । त्यसैले विदेशीन नदिनका लागि सरकारले खोल्नुप¥यो कहाँ ? सहरमा । सहरमा सरकारी कोटालेमात्र पुग्छ ? के सरकार त्यसमा लगानी गर्नका लागि सक्षम छ ? यी प्रश्नहरु छाडेको छु । 

अन्त्यमा, जायज मागका सन्दर्भमा केसीले गरेको सत्याग्रह आन्दोलनमा मेरो पूर्ण समर्थन थियो । यति हुँदाहुँदै पनि अनेक यथार्थले घेरेका प्रश्नहरु नराखी बस्नसक्ने स्थिति हुँदैन । त्यसकारण जो यथार्थ छ त्यसलाई राख्न पाउनु र त्यसको उत्तर खोज्नु एउटा नागरिकको अधिकार हुन्छ, लोकतन्त्रमा । सम्भवतः जुस पिएपछिको अवस्थामा डा. केसीले उत्तर दिनुहुनेछ..उनका पछाडीका सहयोगीहरुले पनि उत्तर दिनेछन् भन्ने अभिप्राय र आशा राखेको छु । स्वास्थ्य व्यापार होइन, सेवा बनाउने भन्ने कुरा शव्दमा निर्धारण नहोस्, व्यवाहारमा लागु होस् । तर, यहाँ हर संवेदना र भावनात्मक आन्दोलनहरु एक स्वार्थको विरुद्धमा अर्का स्वार्थहरुले भरिएकै छन्, केसीहरुका सत्याग्रहले जीवन पाउनका लागि हर आवरणमा लुकेका मेडिकल माफियाको अन्त्य नभएसम्म कसैको जीत र कसैको हार हुँदैन । केसी सत्याग्रह जम्माजम्मी एकथरी एलिट र माफियाको हार र अर्काथरीको जीतमात्रै भएको देख्छु म, केसी जम्माजम्मी एक पात्र हुन्, १२ दिनसम्म भोकै आदर्शको लडाँइ लड्ने ।  

Monday, March 30, 2015

पूर्वाञ्चल विश्वविद्यालयमा दुई उपकुलपति !

  • प्रधानमन्त्रीले थमौति गरेकाले हाजिर गरे, पुराना सर्वोच्च अदालत पुगे 
  • विद्यार्थी संगठनहरुद्वारा तालाबन्दि गर्ने निष्कर्ष, न्यायपालिकाको निर्णय स्वीकार्न प्रधानमन्त्रीलाई चेतावनी  


विनोद ढकाल 
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा आधिकारीकताको दाबी गर्दै दुई उपकुलपतिले आफ्नो उपस्थिति जनाएका छन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दाबाट सफाई पाएका उपकुलपति महेश्वरमान श्रेष्ठले हाजीरी गरेको १० दिनपछि प्रधानमन्त्री सुशिल कोइरालाबाट उपकुलपतिको थमौति लिएका श्रीष रिजालले आइतबार सोही पदमा हाजिर गरेका छन् । विश्वविद्यालयमा दुई उपकुलपतिले हाजिरगरेपछि कर्मचारीहरु पनि अचम्मित भएका छन् । 
श्रेष्ठलाई अख्तियारले पक्राउ गरेपछि रिजाललाई निमित्त उपकुलपतिको जिम्मेबारी दिइएको थियो । तर, उनले उक्त पदमै आउनका लागि शक्तिकेन्द्रको प्रभाव लिएको र थमौति बोकेर विश्वविद्यालयमा हाजिरगरेका थिए । सफाई पाएको र निरन्तर पहिलेकै जिम्मेबारमा जानका लागि अदालतले निर्णय सुनाएपछि श्रेष्ठले उक्त निर्णयसहितको निवेदन कुलपतिका रुपमा रहेका प्रधानमन्त्री कोइराला र सहकुलपतिका रुपमा रहेकी शिक्षा मन्त्री चित्रलेखा यादवलाई पठाएका थिए । तर, अदालतको उक्त निर्णयको उल्लङ्घन गरी प्रधानन्त्री कोइराला र शिक्षामन्त्री यादवले श्रेष्ठको निवेदनको वेवास्ता गरी नयाँ निर्णय गरेका थिए । 
बारम्बार पदाधिकारीको विषयमा पूर्वाञ्चल विश्वविद्यालयमा विवाद हुने गरेको छ । प्रधानमन्त्री कार्यालयबाट रिजालले ल्याएको पत्र विश्वविद्यालय प्रशासनमा दर्ता छ भने श्रेष्ठले पाएको सफाईसहित निरन्तर काम गर्न पाउने पत्र पनि दर्ता छ । सरकारले जानाजानी विश्वविद्यालयमा विवाद सुरु गराएको भन्दै विद्यार्थी संगठनहरुले विरोध समेत जनाएका छन् । उनीहरुले आन्दोलनमा जानेसम्मका निष्कर्ष पनि निकालेका छन् । 
नौ विद्यार्थी संगठनको वैठकले न्यायालयको निर्णयलाई उल्टाउने अधिकार कार्यपालिकासँग नभएको ठहर गर्दै एउटा उपकुलपति मात्र मान्ने निर्णय गरेको छ । ‘विश्वविद्यालय एउटा भएपछि कुलपति एउटा हुन्छ, दुई कुलपति मान्न सकिँदैन भन्ने विद्यार्थी संगठनहरुको निर्णय भएको छ । सरकारले वेवास्ता गरे, हामी तालाबन्दि गर्छौं ।’, अनेरास्ववियुका केन्द्रिय सदस्य देवेन्द्र यादवले भने,‘विद्यार्थी संगठनको निर्णयलाई कसैले उल्टाउन सक्तैन, हामी एउटै पदमा दुई व्यक्तिको उपस्थिति स्वीकार्न सक्तैनौं ।’
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीलगायत नौ विद्यार्थी संगठनको वैठकले तालाबन्दि गर्ने चेतावनी दिएको हो । ‘सरकारलाई तत्काल विवाद सुल्झाउन भनेका छौं, न्यायालयको निर्णय उल्टाउन पाइँदैन भन्ने हाम्रो निर्णय हो’, अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य मदन चुडालले भने,‘प्रधानमन्त्री ज्यु यसमा गम्भिर नभए न्यायालय र विधिको कुरा नै रनभुल्लमा हुनेछ ।’
यता, अदालतबाट सफाई पाई निरन्तर काममा जाँदा पनि असहयोग भएको र प्रधानमन्त्रीको निर्णयले अप्ठ्यारो पारेपछि श्रेष्ठलगायतको टोलीले सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी हुनेगरी रिट दिने तयारी गरेको छ । पुरानै पदमा कामलाई निरन्रता दिनको माग गर्दै उनीहरुले रिट निवेदन दर्ता गराउने तयारी गरेका हुन् । 

Saturday, March 14, 2015

झरना बज्राचार्यले विहे गरिन् (तस्बिर सहित)

मलेसीयामा बस्ने भारतीय नागरिक राहुल अग्रवालसँग बज्राचार्यको विवाह भएको उल्लेख गरिएको छ । 

पूर्व मिस नेपाल, अभिनेत्री तथा मोडल झरना बज्राचार्यले विवाह गरेको खबर बाहिर आएको छ । उनले गएको विहिबार काठमाडौंको सीतापाइलामा आफ्ना प्रेमी भारतीय मलेसियन मुलका राहुल अग्रवालसँग विवाह गरेको उल्लेख गरिएको छ ।

लेक्स लिम्बु डट कममा सार्वजनिक गरिएको खबरअनुसार उनको विवाह पारिवारिक सदस्यका सामुमात्र भएको हो । अन्य कसैलाई पनि बोलाइएको थिएन । साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालको विहे भएको थियो । अग्रवाल मलेसियाका बासिन्दा हुन् । समाचार अनुसार मलेसियाको क्वालालाम्पुरमा उनको रेष्टुरेन्ट व्यावसाय छ ।
विहे पश्चात परिवारका सदस्यहरुले सोल्टी होटलमा भेटघाट र भोज गरेको बताइन्छ । झरना जोडी हनिमुनका लागि शुक्रबार पोखरा हुँदै मुस्ताङको जोमसोम गएको पनि उल्लेख गरिएको छ । पोखराको होटल बाराहीमा उनीहरु बसेको पनि उल्लेख गरिएको छ ।

सुचना र तस्बिर स्रोत : http://lexlimbu.com/blog/2015/03/15/lexclusive-jharana-bajracharya-gets-married/


एक घन्टाका लागि पति ? सरकारकै यस्तो मति ?


सुन्दै छक्क पर्नु । एक घन्टाका लागि श्रीमतिहरुले पाउने भए पति । त्यो पनि एकल महिलाहरुका लागि सरकारी योजना ? अचम्मै पर्नु । एक्लो जिवन बिताइरहेका महिलाहरुका लागि सायद यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक घण्टाका लागि पति  उपलब्ध गराइदिने भएको छ ।

समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसमा हुन लागेको हो । रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो ।

घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने मान्छेको अभावमा मुस्किल झेलिरहेका महिलाहरुको लागि लक्षित गर्दै मस्को नगर प्रशासनले ‘एक घण्टाका लागि श्रीमान’ सेवा सुरु गर्न लागेको मस्को टाइम्सले जनाएको छ ।

सिटी हलको सामाजिक सुरक्षा विभागका उपप्रमुख आन्द्रे बेस्तान्कोका अनुसार यसरी भाडामा लिइएका ‘लोग्ने’ ले सम्बन्धित महिलाको घरमा पुगेर पुरुषले गर्ने भनेर परम्परागत रुपमा छुट्टाइएका विभिन्न साह्रोगाह्रो कामहरु गरिदिनेछन् । जस्तै चुहेको पाइप मर्मत गरिदिने, सिलिङ ठोकिदिने, पेच कसिदिने आदि ।

हुनत मस्कोमा यसअघि पनि विभिन्न खाले निजि कम्पनीहरुले यस्तै मिल्दोजुल्दो सेवा उपलब्ध गराउने गरेका छन् । तर त्यसका लागि चर्को शुल्क लिन्छन् । निजि कम्पनीहरुले भाडामा लोग्ने मिलाइदिने सेवामा युवतीहरुलाई बढि लक्षित गरिएको छ र त्यस्ता भाडाका लोग्नेहरुलाई उनीहरुले यौन सन्तुष्टिका लागि समेत उपयोग गर्न सक्छन् ।

तर मस्को प्रशासनले सरकारी तबरमा सुरु गर्न लागेको पछिल्लो सेवा भने सेवा खासगरी ६० वर्ष नाघेका महिलाहरुका लागि लक्षित हुनेछ । न्युन आय भएका परिवारका लागि सित्तैमा उपलब्ध हुनेछ । मध्यम आयस्तरका परिवारले भने न्यून शुल्क तिरे पुग्नेछ । आफुलाई भाडामा एकघण्टे लोग्ने चाहिएको भनेर माग गरे लगत्तै सरकारले स्थानीय कम्पनीहरुसँग सहकार्य गरी सिपालु तथा सुन्दर र कामकाजी युवाहरुलाई महिलाको घरमा पठाइदिनेछ । काम फत्ते गरेपछि युवक आफ्नो घरमा फर्किनेछ ।

रुसमा पुरुषको औषत आयु महिलाको भन्दा निकै कम भएको हुँदा धेरै वृद्धाहरुले विधवाको रुपमा एकल जिवन बिताइरहेका छन् । घरमा लोग्ने मान्छे नहुँदा र परिवारका अन्य सदस्यहरु समेत साथमा नहुँदा उनीहरुको दैनिकी कष्टकर बनेको छ । सोही कुरालाई मध्यनजर राख्दै सरकारले यस्तो सामाजिक सुरक्षाको कार्यक्रम अघि सारेको हो ।

Sunday, March 1, 2015

सरकार ! लोकमान महादेव होइनन्

लोकमानले छोरीको विहे गर्न नपाउने भन्ने कुरा हुँदैन । अख्तियारको परिसरमा रहेको उनको सरकारी निवासबाट पनि गर्न नपाउने भन्ने कुरा पनि हुँदैन । तर, कार्यालय समयमा कर्मचारी र सर्वसाधारणलाई रोकेर, निषेध गरेर छोरीका लागि आएको जन्तीको प्रवेशलाई मात्र महत्व दिने दुश्साहस उनले गर्न पाउने थिएनन् । तर, गरेर देखाए । के लोकमानका लागि कानुन नलाग्ने र अरुका लागि कानुनी दायराको घेराबन्दि लोकमानले मात्र गर्न पाउने हो ?



विनोद ढकाल  
पुराण र हिन्दु ग्रन्थहरुमा गल्ती गर्दा पनि सजाय नपाउने एकमात्र भगवान थिए । उनको चरित्र दैत्यको हो की देवताको भन्ने कुरामा कहिलेकाँही द्विविधा हुनेगरी व्याख्या गरीएको छ । महादेवको चरित्र हिंसात्मक थियो, उनी विधिको विधान विपरित पनि काम गरेका कतिपय किस्साहरुमा उल्लेख नै छन् । तर, आधुनिक विश्वमा त्यस्ता किस्साहरु पढ्दा रमाइला लाग्छन्, सुन्दा अचम्मित बनाउने लाग्छन् तर त्यसको प्रयोगचाँही क्षम्य हुँदैन । किनभने आधुनिक विश्व फरक छ । अझ हामी लोकतन्त्रको पयार्यमा हुर्किरहेका र लोकतन्त्र स्वीकार गरेका नेपालीहरुका लागि त कदापी हुँदैन ।
संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्की आउनासाथ भएका भ्रष्टाचारविरुद्धका काम कारवाहीहरु देखेर कार्कीले अव केही गर्छन् भन्ने अड्कल काट्नेहरुको जमात सानो थिए । कतिपय त कर्मचारीतन्त्रको ज्ञान भएका कारणले उनले भ्रष्टाचारविरुद्धको कारवाहीलाई प्रभावकारी बनाउँछन् भन्ने पनि बताइयो । स्वभाविक रुपमा उनका अख्तियारी कर्महरु निक्कै तेज हिसावले चल्न थाले र कतिपय कर्मचारीहरु कारवाहीमा परे । लोकमानकै भाषामा भन्नुपर्दा कर्मचारीतन्त्रका साना माछाहरु उनले निक्कै फकडे । भुरा माछाहरुलाई उनले मज्जाले कारवाहीको दायरामा ल्याए । तर, ठूला माछालाई छुन पनि नसकेका लोकमानले आफ्नो अनुहारलाई पनि पछिल्लो पटक त्यही ठूला माछाहरुको विम्बहरुमा उभ्याउन भ्याए । जानेर होस् या नजानेर, या आत्मरती र घमन्डमा उन्माद भएर होस्, उनले त्यसो गरेरै छाडे जुन माफीको लायकी त हुँदै हुँदैन । 
भड्किलो विवाह नगराउन निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो पद र सुविधाको दुरूपयोग गर्दै छोरीको विवाह गरे । उनले भड्किलो विवाह मात्र गराएनन्, टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय परिसरमा जन्ती बोलाएका थिए । सरकारी सेवा नै अवरोध गरी कार्कीले छोरी डा. अध्याको विवाह गराएका थिए । हो, उनले विवाहलाई देखावटी रुपमा भड्कीलो बनाएनन् तर शक्तिको दम्भमा उनी यतिसम्म भड्कीएछन् की सरकारी काम कारवाही रोक्ने, सर्वसाधारणलाई रोक्ने, कर्मचारीलाई अवरोध गर्ने क्षमता उनमा पलाएछ, आफ्नै कार्यालयभित्र । 
त्यो विवाहको दिन अख्तियारमा सेवा लिन पुगेका सर्वसाधारणलाई मूलगेटबाट छिर्न दिइएन भने कर्मचारीलाई पनि अर्को गेटबाट मात्रै प्रवेश गराइएको थियो । सेवाग्राहीलाई नै प्रवेश निषेध गरेर लोकमानले छोरीको विवाहका लागि आएको पूर्वराजपरिवारसँगको व्यापारिक सम्बन्ध रहेका रोहिणी थपलियाका छोरा शुभाशीष थपलियाको जन्ती छिराएका थिए । राज्यले अख्तियार प्रमुखका लागि उपलब्ध गराएको सरकारी आवास मात्र होइन, अख्तियारकै प्रांगणसमेत लोकमानकी छोरीको बिहेका लागि प्रयोग गरिएको अख्तियार कर्मचारीले दुःखेसो पोखे । अख्तियार भवनभित्र पत्रकारलाई समेत प्रवेश निषेध गरियो भने कर्मचारीलाई नियमित मूलद्वारबाट प्रवेश गर्न दिइएन । अख्तियारको मूलद्वार जन्तीका लागि छुट्याइएकाले कर्मचारीलाई अर्कै बाटो प्रयोग गर्न लगाइयो ।
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की 
निजी बिहेका लागि अख्तियार प्रमुखले अख्तियारको सरकारी भवन दुरुपयोग गरेको भन्दै कर्मचारी नै आश्चर्यचकित परेका थिए । लोकमानको निजी घर पुरानो बानेश्वरमा छ । अख्तियारको टंगालस्थित भवनमा लोकमानकी छोरीको बिहे भइरहँदा भाटभटेनीतर्फ जाने सडकमा समेत सवारी आवागमन प्रभावित भएको थियो । लोकमानले नागरिकलाई दैनिक कामकारबाही नै गर्न नदिई अख्तियार प्रांगणलाई निजी कामका लागि प्रयोग गरेको भन्दै सर्वसाधारण आक्रोशित भएका थिए । राजधानीभरि रहेका पार्टी प्यालेस र मन्दिरमा विवाह नगराई लोकमानले सरकारी सुविधाको दुरुपयोग गरेका थिए । नागरिक सुरक्षा र उनको संवैधानिक पदको सुरक्षाका लागि खटाइएका प्रहरीलाई जन्ती सुरक्षाका लागि खटाइएको भन्दै लोकमानको सर्वत्र आलोचनासमेत भएको थियो ।
लोकमानले छोरीको विहे गर्न नपाउने भन्ने कुरा हुँदैन । अख्तियारको परिसरमा रहेको उनको सरकारी निवासबाट पनि गर्न नपाउने भन्ने कुरा पनि हुँदैन । तर, कार्यालय समयमा कर्मचारी र सर्वसाधारणलाई रोकेर, निषेध गरेर छोरीका लागि आएको जन्तीको प्रवेशलाई मात्र महत्व दिने दुश्साहस उनले गर्न पाउने थिएनन् । तर, गरेर देखाए । के लोकमानका लागि कानुन नलाग्ने र अरुका लागि कानुनी दायराको घेराबन्दि लोकमानले मात्र गर्न पाउने हो ? उनको यो हर्कतले ठूलालाई चैन र सानालाई ऐन भन्ने कुराको पुष्टि गरिसकेको छ । यो विषयमा सरकार, संसद र राजनीतिक दलहरु चुप लागेर बसेभने लोकतान्त्रिक मुल्य र मान्यताको मुलुकमा कानुनको दायराको सीमा लेखिनेछ । लोकमानहरु कारवाहीमा नपरी संवैधानिक पदमा पुग्छन्, त्यस पदको दुरुपयोगले जनतामाथि कानुनी भाटा बर्साउँछन् र आफैं कानुन मिच्छन् । जनता त्यसलाई पनि सहन बाध्य हुनुपर्छ । अनि, अरुलेचाँही किन मान्ने कानुन ?
भ्रष्टाचारविरोधी अभियान, कानुनी कारवाहीमा सक्रिय भएका लोकमानले गरेको यो भ्रष्ट व्यवाहारको उत्तर किन नमाग्ने ? मनलाग्दी मान्छेहरु पक्राउ गर्ने र मन नलागेका मान्छेहरुलाई छुट दिँदै आफ्नो चरित्रलाई उदांगो पारेका लोकमानलाई महाअभियोग किन नलगाउने ? शक्तिकेन्द्रमा हुनासाथ मनलाग्दी गर्ने अधिकार कसैलाई पनि छैन । शक्तिकेन्द्रमा पुगेको व्यक्तिले पनि आम नेपालीले भोग्ने कानुन भोग्नुपर्छ । उसले उसका व्यक्तिगत सुविधाका लागि पाएको जनताको नासोको दुरुपयोग गरी जनतालाई नै काम कारवाहीमा अप्ठ्यारो पार्ने अधिकार छैन । यस्तो काममा उसलाई माफी दिनुपर्छ, यो सामान्य घट्ना हो, यो भइरहन्छ भन्ने तर्क कसैले उठायो, टिप्पणी उठायो भने भोलीदेखि सरकारी सुविधा लिएका सवैले नियमको धज्जी उडाउनेछन् । कारवाही माथिदेखि नै सुरु हुनुपर्छ, यस्तो गलत नजिर स्थापित गर्न हुँदैन । व्यवस्थापिका संसदका समितिहरुलाई नै च्यालेन्ज गरेर, सरकारलाई समेत च्यालेन्ज गरेर, दुनियाँलाई रनभुल्लमा पारेर लोकमान जसरी अघि बढिरहेका थिए, उनले आफु पछि फर्कनुपर्ने यो काम गरेका छन् । सरकारलाई उनले नटेर्दा जनता चुप लागेर बस्न मिल्यो होला तर जनतालाई रोकेर उनले जुन हर्कत देखाए यस्तो काममा सरकार चुप लागेर बस्न मिल्दैन, मिल्नु हुँदैन । 
अहिलेको सरकार, अहिलेका सांसदहरुले यो विषयमा आफ्नो ध्यान खिच्न सकुन् । थाहा पाएर पनि थाहा नपाएजस्तो गरी लोकमानको आत्मरतीलाई बढावा दिँदै गए भोली उसका ठाउँमा आउने अर्को व्यक्तिमा पनि त्यति नै आत्मरती र शक्तिको रवाफ पलाउने छ । यसर्थ, यस्ता विषयमा गम्भिरतापूर्वक सम्बन्धित निकायले चासो देखाउँदै कारवाहीको प्रक्रिया अघि नबढाए गल्ती गर्नेहरु आफुलाई महादेव ठानिरहनेछन् ।