Monday, January 25, 2016

कांग्रेसमा पुस्ता हस्तान्तरण सम्भव छ ?

विनोद ढकाल 
नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकीँदै गर्दा कांग्रेसको नेतृत्व परिवर्तनको बहस व्यापक भए पनि पुस्ता हस्तान्तरणको बहस बलियो देखिएको छैन । कांग्रेस प्रजातान्त्रिक इतिहाँसको प्रतिकका रुपमा स्थापित दल हो । नेपाली लोकतन्त्रको तत्कालिन आन्दोलनलाई संगठित ढाँचा दिएर अहिले राजनीतिमा पहिलो दल हुनु कांग्रेसको अपवाद होइन, इतिहाँसको अनिवार्य उपस्थिति हो । तर, ६५ वर्षको लामो संगठित इतिहाँस रचेको कांग्रेसमा नेतृत्व परिवर्तनको बहस बलियो भएपनि पार्टी सत्तालाई युवाको हातमा दिने विषय भने गौण देखिन्छ । जबकी, ४ लाख भन्दा बढि सक्रिय कार्यकर्ताहरुले भरिपूर्ण भएको पार्टीमा प्रौढ नेताहरुको संख्या बहुमतमा छैन । तर, बहुमत संख्याले किन पुस्ता हस्तान्तरणको सवाललाई महाधिवेशन पूर्व बहसमा उतार्न सकिरहेको छैन ? कांग्रेसको निरन्तर सत्ता प्रौढमा नै हुनुपर्छ की नयाँ पुस्ता हावी हुने हो ? समानान्तर इतिहाँस बोकेको भारतीय कांग्रेसमा अहिले नेतृत्व नयाँ ल्याउने उद्देश्यले नै युवा पुस्ता हावी बनाउन थालेको छ । प्रजातान्त्रिक स्पर्धामा उत्रिएको आम आद्मी पार्टीको नेतृत्व पनि अरविन्द केजरीवालजस्ता युवाको हातमा आएका कारणले उनी दिल्लिमा जबरजस्त भएर बसेका छन् । तर, के नेपाली राजनीतिक दलहरुले युवापुस्तालाई नेतृत्वमा ल्याउनका लागि कसरत गर्ने वेला अहिले होइन र ?
नेपालमा युवाआन्दोलको इतिहास लामो छैन । यद्यपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासकविरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  ।
राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । २०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो । वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए
हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । सन्दर्भ कांग्रेस महाधिवेशन भएकाले अव युवा शक्तिको उपस्थिति, पार्टीको निर्णायक तहमा निर्वाचित शक्ति कति हुनेछन् ? भन्ने चासो बनिरहेको छ । खासगरी हिजो युवा हुँदा संगठित भएका नेताहरु आज प्रौढ हुँदा पनि संगठनको नेतृत्व र पदमा बस्नका लागि तम्तयार छन् । उनीहरुको मानसिकतामा परिवर्तन भएको छैन । उनीहरुको समयले माग गरेको राजनीतिका क्रममा उनीहरुले परिवर्तन नगराएका होइनन्, अनुभव नभएको होइन । तर, युग अनुसारको नेतृत्वको परिकल्पना नगर्ने हो भने पाटीएको जीवन कहाँ हुनेछ । यो कुनै कांग्रेसका लागि मात्र होइन, एमाले, एमाओवादी मधेसवादी सवैका लागि खास प्रश्न हो, के अहिलेको युगमा पनि पुरातन नेतृत्वले परिवर्तन सम्भव गराउन सक्छ ?
राजनीति पनि समयसापेक्ष रुपमा परिवर्तन हुनुपर्छ । राजनीतिक दलको संरचना परिवर्तन भएमात्र यो प्राविधिक विश्वमा स्पर्धाको राजनीति हावी हुनसक्छ । विश्वसमुदायमाझ हामी उभिँदा हाम्रो कदको ख्याल विचार, विमर्श र प्रस्तुतीले नै हुने भएकाले परिवर्तित, परिमार्जित नेतृत्व र बलियो इतिहाँस कायम गर्नु अनिवार्य छैन त ? ऐतिहाँसीक परिवर्तनको संवाहकका रुपमा उभिएको कांग्रेस नयाँ नेतृत्व चयनका लागि तत्पर छ । तर, पदाधिकारीदेखि केन्द्रिय सदस्यहरुको स्पर्धासम्म पनि युवाको अनुहार सीमित देखिएको छ । परिवर्तन, प्राविधिक युगका संवाहक बन्नसक्ने नेतृत्वलाई गौणमा राखेर उही अनुहारहरुको चर्चा व्यापक देखिन्छ । अव परिवर्तन मुलुकको राज्यव्यवस्थामा मात्र खोज्ने प्रवित्ति, प्रचारात्मक अभिव्यक्तिमा मात्र ध्यान दिने होइन, आन्तरिक परिवर्तनमा पनि जोड दिन आवश्यक छ । जवसम्म पार्टी संरचना परिवर्तनका पक्षमा जाँदैन, पुरातन सोच हावी हुन्छ । सोच परिवर्तन नभएसम्म समृद्धिको यात्रा तय हुनसक्तैन । विश्व परिवर्तनको पक्षमा उभिएका बेला हामी परिवर्तन आफ्नो परिवार, समाज र संगठनबाट किन नगर्ने ? लामो समयसम्म योगदान गरेवापतको व्याज पनि प्रौढहरुले मात्र लिने हो भने के युवा शक्तिले अव ढुंगा बोकेरै मात्र राजनीति गर्ने हो ? या राजनीतिबाट वाक्क भएर आफ्नो सीप असंगठित रुपमा खाडीलगायतका मुलुकमा खर्चिने ?
यसर्थ, परिवर्तको सुरुआत आफैंबाट हुन्छ । संगठित युवाले अब एउटा पँखेटे संगठनमा आवद्धता देखाएर होइन, मुल पार्टीमा आफ्नो अधिकार खोज्ने बेला आएको छ । प्रतिवद्ध संस्थालाई युगअनुसार परिवर्तनीय नेतृत्व हुनुपर्छ भनी बुझेका युवाहरुले अव पार्टीमा गरेको लगानीको प्रतिफल खोज्ने बेला आएको छ । यो त्यस्तो प्रतिफल हुनेछ, जुन संस्थाको प्राविधिक परिवर्तन, विश्वस्पर्धाका लागि उपयुक्त संगठन निर्माणको जिम्मेबारी, पुरातन सल्लाह, नयाँ विवेकका हिसावले चल्नुपर्ने हुन्छ । इतिहाँस बोकेको व्याजले दुनियाँमा स्पर्धा हुन नसक्ने भएकाले कांग्रेसले अव शाव्दिक व्याज होइन, परिवर्तनीय प्रभाव जोड्न सकोस्, त्यसका लागि पुस्ता हस्तान्तरणमा पार्टीले सोच्न सकोस् ।  
(तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित कांग्रेसमाथिको टिप्पणी)



Monday, January 18, 2016

परनिर्भर सोच आत्मनिर्भर प्रवचन !


विनोद ढकाल
अहिले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना प्रवचनहरुका कारण आलोचित छन् । सडक, गल्ली, चियाचौतारो, भट्टी, सामाजिक सञ्जाल हुँदै अखबारका पानाहरुमा पनि उनका प्रवचनहरुका शव्दमाथि तिखो प्रहार छ । स्वभाविक रुपमा यी प्रहारहरु सान्दर्भिक देखिन्छन् । तर, आत्मसमिक्षा नगर्ने नेपाली समाजको एउटा प्रवित्तिका कारणले नै हामी पछि परेका छौं । हामी यस्तै कुराको अघिपछि, सन्दर्भसामग्रीमाथिको कडा प्रहारको वरीपरि नै घुमिरहेका छौं ।
खास अर्थमा ओली पनि परनिर्भर समाजबाट हुर्किएका एक अटल राजनीतिज्ञ हुन् । उनका परिवर्तन र आत्मनिर्भरका प्रवचन स्वभाविक प्रवित्ति हुन् । तर, व्यवाहारमा लागु नहुने भएकाले यसलाई स्वभाविक ठान्नु सर्वथा गलत हुनेछ । मुलुकको प्रमुख भएको नाताले ओलीको उदाहरण पेस गरिएको हो । अन्यथा, यो मुलुकका हर मानव प्राणी, हर क्षेत्र, हर निकायमा विराजमान महाशय भनौं या महोदयाहरु पनि परनिर्भर सोच तर आत्मनिर्भर प्रवचन दिने काममा कमजोर छैनौं ।
कहिलेकाँही परेपछि चसक्क घोच्छ, समाजलाई । अनि आफुले गाली गर्नसक्ने ठाउँमा उभिएर यहि समाजले राज्य, निकाय र व्यक्तिलाई दोष्न थाल्छ । अरुको कमजोरीमाथि कडा प्रहार गर्छ । तर, त्यो कमजोरीमा उसको कति लगानी छ ? कति गरिरहेको छ ? भन्ने कुराको हेक्का राख्दैन । विश्लेषकहरुले आफ्नो स्वतन्त्र जीवनदेखि विश्लेषण गरी समाज र देशको विश्लेषण गरेको उपयुक्त हुन्छ । गाली टिप्पणी, गालीपूर्ण अर्तिको कुनै तुक हुँदैन । नाकाबन्दिको चरम मारमा परेपछि नेपालीहरुमा एउटा ठूलो आत्मनिर्भर राष्ट्रवादको बहस चलेको थियो । राज्य पनि आत्मनिर्भर गतिमा कसरी बढ्न सकिन्छ भन्ने नयाँ रणनीतिक टालटुले योजनातिर लम्कियो । उर्जा संकटले बढोत्तरी पाएपछि वैकल्पिक उर्जाका समाचारहरु अखबारमा आउन थाले, भँगेरे अक्षरमा नयाँ नयाँ उर्जाका कुरा आउन सुरु भइरहेका छन् । पेट्रोल अभाव भएपछि वैकल्पिक इन्धनका कुरा आए, समाजमा सहायता गर्ने प्रवित्ति बढेर आयो । यहाँ प्लाष्टिकबाट पनि पेट्रोल निस्किन थालेका समाचारले स्थान पाउन थाले । कथाकार, कलाकार, पत्रकार, राजनीतिज्ञहरुले आत्मनिर्भर मुलुक बनाउने भन्नेबारेमा बडे बडे प्रवचन दिन थाले । सुनिनसक्नु र बुझिनसक्नुका देशी विदेशीका तर्क आउन थाले । भारतले थुनदिए, चीनले खोलदिनेजस्ता आत्मनिर्भर कुरा आउन थाले । यी अर्थहिन तर्कको कुनै व्यवाहारिक पाटो नै छैन । न महत्व राख्ने शक्ति नै छ । जव इतिहाँस नै परनिर्भर थियो ।
हरेक अधिकारको लडाइ लडिरहँदा हामीले आफुभित्र एउटा लडाई कहिले पनि लड्न सकेनौं र जित्ने सोचको विकास पनि गरेका छैनौं । हामी परनिर्भर छौं । हामी आफुभित्रबाट परनिर्भर र आशावादीमात्र छौं । अरुले दिने आशाको वादमा हामी हिँडिरहेका छौं, जित्ने वा कमाउने वा बनाउने आशा हाम्रो मनभित्र, घरभित्र, समाजभित्र, जिल्ला, मुलुक र राज्यसंयन्त्रमा समेत हुन सकेन । त्यतिमात्र होइन, हाम्रो राजनीतिमा पनि परनिर्भरताको सोच गाडिएका कारणले पनि हरेक समस्याको समाधानका लागि अरुलाई गुहार्ने चलन ००७ देखि अहिलेसम्म पनि चलिरहेको छ ।
इतिहाँसको अध्ययनअनुसार जब हामी प्रजातान्त्रिक आन्दोलनमा उभिएका छौं, त्यहाँदेखि हामी आत्मनिर्भर छैनौं । जहानियाँ राणा शासन हटाउने काममा राजा त्रिभुवनले  लिएको छिमेकी सहारादेखि हाम्रा हर प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध, लोकतान्त्रिक आन्दोलनदेखि राज्यसत्ताको नेतृत्वमा समेत सहयोग र समर्थनको माग गर्न थालियो अनि हाम्रो मुलुक रैतीजस्तो भयो, राजनीतिक रुपमा ।
त्यसपछि मौलाएको मानसिक, सामाजिक परनिर्भरताले लोकतन्त्रको नाममा, भ्रष्टाचारका नाममा र राम्रो आम्दानीका नाममा खाडीलगायतका मुलुक बनाउने काममा जुझारु युवा विक्रि गरेपछि हर वर्ग परनिर्भर बन्यो ।
००७ सालदेखि अहिलेसम्म राज्यसत्ताका हरेक निकायमा पुगेका, कर्मचारीतन्त्रमा राम्रो कमाएर राजधानी र विदेशमा पलायन भएका, मानवअधिकारकर्मका नाममा अरबौं डलरको कारोबार गरेका यीनै राष्ट्रवादी र नवराष्ट्रवादीहरुले आत्मनिर्भरताको योजना किन ल्याएका थिएनन् ? किन कानमा तेल हालेर बसेका थिए ? वा, जसको दैलोदेखि हर निकायमा आत्मनिर्भर बन्ने चेतनाको विजन भएको छैन, परनिर्भरताको पराकाष्टले भोलीका सन्ततीको संरक्षणको नाममा तीनपुस्ते सम्पत्ती जोहो गरेका छन्, उनले मुलुकको आत्मनिर्भरताको कथा लेख्न कति सुहाउँछ वा हाँस्यास्पद हुन्छ ?
जुन समाजमा अहिले पनि एकजना कमाउने र १० जना खाने गरिब मनोदशा कायम छ, एक जनाले तीन पुस्ताका लागि जसरी पनि कमाउनुपर्छ भन्ने एलीट सोचले जरा गाडेको छ त्यहाँ वर्तमान र भविष्य पनि परनिर्भरताको पराकाष्टमा बाँधिएका छन् । यसर्थ, यस्तो व्यवाहारमा हुर्किरहेको ग्रामिण भेग र सहरी जीवनको मानसीकतामा परिवर्तन नभएसम्म आत्मनिर्भरताको प्रवचन आत्मरती मात्र हुन्छ । मुलुक आत्मनिर्भर भएन भनेर राज्यलाई गाली गर्ने विद्वानहरुले आफ्नो मानसिकतालाई आत्मनिर्भर बनाएर व्यवाहारमा उतारेर मात्र पाठ सिकाएको उपयुक्त हुन्छ । हैन भने खोक्रो राष्ट्रवाद र ज्ञानको कुनै अर्थ हुँदैन । जुन विषय उठान गरेर व्यवाहारमा लागु गर्ने हिम्मत राखिँदैन त्यसमाथि टिप्पणी नउठाउँदा नै वेश हुन्छ की ?
युद्ध, आन्दोलन, समझदारी, राजनीति, विकास, साझेदारीका कुरा नै परनिर्भर छन् । जव परिवारभित्र हुर्किने सामान्य सोच नै परनिर्भर छ । जहाँ भविष्यलाई नै परनिर्भरताको सोचग्रस्त डोरीले बाँधिने वर्ग छ, त्यहाँ आत्मनिर्भर मान्छेको जन्म कसरी हुन्छ ? जव मान्छे आत्मनिर्भर हुँदैन भने त्यस्ता मान्छेले बनेको समाज, राज्य, राजनीति, कर्मचारीतन्त्र र मुलुक कसरी आत्मनिर्भर हुन्छ ? हो, हामी पनि यहि परनिर्भर मुलुकको एउटा प्यादाका रुपमा मनोसंवादमा अल्झिरहेका छौं । यहिँबाट हामीले उन्मुक्तिको खोजी अहिलेबाट गरिएन भने भावी पुस्ता आत्मनिर्भर बन्न सक्तैन । र, मुलुक त कहिले पनि हुन सक्तैन ।
अव वर्गअनुसारको परनिर्भरतालाई कटौती गर्ने सोचको विकास परिवार, समाज, सहर, राज्य, राज्यका हर निकायमा पुग्ने हर व्यक्तिमा हुन जरुरी छ । सोच परिवर्त गर्ने काम सहज हो, गराउने काम कठिन छ । तर, परिवर्तन पनि एक–एक गरी नै हुने भएकाले नयाँ पुस्ताबाट नै आत्मनिर्भर मुलुकको परिकल्पना गरी आफुबाट परिवर्तन थालौं । व्यक्तिमा हुने सोचको परिवर्तनबाटै सवै क्षेत्र, निकाय र राज्यसत्ताको सोच परिवर्तन हुनसक्छ । अन्यथा, हावादारी आत्मनिर्भरताको कुरा गरेर समय खर्च गर्नुभन्दा परनिर्भरतालाई मलजल गरेकै उचित होइन र ?

(४, माघ तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित)

Monday, January 4, 2016

लोभीपापी झुन्ड र मधेस आन्दोलन

राज्यसत्ता वडो लोभीपापीहरु बस्ने गुँण हो । यो गुँणमा लामो समयसम्म ओथारो बसेर पनि मधेसका मामिलालाई चल्ला बनाउन नसकेका त्यहि भ्रष्ट अनुहार अहिले नेताको विम्वमा उभिएका छन् । 



सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ११ मा छ मेरो घर । म अहिले काठमाडौंमा बसेर पत्रकारिता गर्छु । त्यो यस्तो वडा हो, जहाँ मधेसी मुलका साथीहरुको बाहुल्य छ । मेरो एउटा फरक समाज छ । म त्यो समाजमा फरक मुलको अव्यय अवश्य हुँ, तर वर्ग र वर्ण फरक छैन । अनुहारको रंग केलाउँने हो भने म पनि कालै छु । २१ वर्षसम्म त्यो समाजभित्र रुमल्लिएर निस्कँदा पहाड बाहुल्य समाजले मलाई मधेसी नै भन्थे । म गर्वसाथ भन्छु, म मधेसी नै हुँ । म जातले होइन क्षेत्रगत हिसावले मधेसी हुँ । मधेस आन्दोलनसँग मेरो मर्म र भावना जोडिएको छ तर त्यसभित्रको अवसरवादी नेतृत्वसँग म जीवन्त सामिप्य हुनेवाला छैन । ०५६ तिरको आम निर्वाचनका बेला म जम्माजम्मी नेतामात्र चिन्दथें । त्यसबेला मेरो घर सप्तरी क्षेत्र नं १ मा पर्दथ्यो, अहिले २ मा पदर्छ । जयप्रकाश प्रसाद गुप्ता नामका तत्कालिन नेपाली कांग्रेसका नेताले त्यस क्षेत्रमा विजय हासिल गरेका थिए । मलाई याद छ, नेता जी मेरा घरमा आएर आँप खाएका थिए । मेरो स्मरणको तथ्य के हो भने चुनाव गर्मी महिनामा भएको थियो, सायद ।

विनोद ढकाल 
मैले मधेस बुझेको र त्यहाँको समाज केलाउने शिराका रुपमा त्यहि घटनालाई लिन्छु, जुनबेला नेपाली कांग्रेसको बहुमतको सरकार बनाउनका निम्ति मधेसी मुलका नेताहरु कांग्रेस राजनीतिमा सक्रिय थिए । तर, समय काल र परिस्थितिसँग जोडिएको स्वार्थ केन्द्रमा भएकै कारणले गुप्तालगायतका नेताहरु अहिले मधेसमा सक्रिय छन् । उनी बाहेकका ०६४ को मधेस आन्दोलनले जन्माएका नेताहरु पनि फरक समाजबाट जन्मिएका होइनन्, यहि स्वार्थ र अवसरहरुले जन्म दिलाएको सवैले बुझेका छन् । तर, के यी नेताहरु असली मधेसका मसिहाका रुपमा स्थापित भए ? यीनको राजनीतिक विगत, वर्तमान र भविष्यपनि मधेसको पीडासँग नजिक छ ? के मधेस अधिकारसम्पन्न भयो ? खसवादी राज्यसत्ताले गर्न दिएन भन्ने तर्कसँग नजिक हुनुभन्दा अघि खसवादी राज्यसत्तामा लामो समय रुमल्लिँदा असली मधेसको व्यथा किन कार्यान्वयन हुन सकेन ? जव सत्ताको सवाल आउँछ अनिमात्र किन मधेस आन्दोलनमा उत्रिन्छ, निर्दोष मारिन्छ र मर्न बाध्य तुल्याइन्छ ? यसको खास कारण मधेसभित्रको विभेद नै हो । मधेसीका मसिहाले खास जनतामाथि गरेको जातिय विभेद हो । मधेसमा ठूलो जातीय विभेद छ । त्यहाँ जातीय दमन पनि उत्तिकै छ । मेरो गाउँभन्दा अलि पर दुखीया भन्ने एकजना डोम जातिका साथी थिए । अचेल उनको घर त्यस ठाउँमा छैन । खोजी गरी हेरें पुरै परिवार पलायन भएको रहेछ । ठूला जातका मधेसी साहुहरुले उनलाई नुन र प्याज पनि दिँदैन थिए । दशैंतिहारमा हामीकहाँ आएर एक झोला खानेकुरा लिएर जान्थ्यो ऊ । खै, कता हराएछ उसको परिवार र उसको एक धुर ऐलानीको विरासत अहिले भेटिँदैन । उसको मुक्तिको खोजी थियो । तर, समाजले उसलाई मुक्ति दिएन बरु परिवार नै त्यस समाजबाट उन्मुक्ति पाउनका लागि कतै विलय भएको रहेछ, खोजी गर्न सकिएन । तर के मधेस राजनीतिले उसलाई न्याय दियो या अपरिवर्तित समाजको प्रतिविम्बका रुपमा दुःखीया हरायो ? राजनीति समाज परिवर्तनको संवाहक थियो भने शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा मसिहाहरु लामो समयसम्म किन निदाएर बसे ? 
राजनीति भनेको समाजको प्रतिविम्ब हो । समाजको हर दुख राजनीतिमा समाहित भएको हुनुपर्छ । जहाँ जातिय विभेदको ठूलो खाडल छ, धनी र गरिबको शासक र रैतीको जस्तो व्यवाहार छ,  त्यहाँ क्षेत्रगत अधिकार प्राप्तिको मुल्य के हुनेछ ? त्यहाँको समाज परिवर्तन नहुन्जेलसम्म ठूला जाति मानिने राजनीतिज्ञ, वकिल, अधिकारकर्मीले अधिकारको हावादारी कुरा गर्नुको के अर्थ रहन्छ ?ःउन्मुक्ति त्यहाँको दलित, उत्पीडित र दमनमा परेको समुदायले खोजेको हो, यदि यादव, मण्डल, ठाकुर, झालगायतका लागि अधिकारको आवाज थियो भने इतिहाँस पल्टाएर हेरौं राज्यका हरेक अंगमा यीनै जातिले भएरभरको अवसर लिएका छन् । आरक्षणको अवसर पनि यहि सम्पन्न परिवार, मधेसी कोटाको अवसर पनि यहि सम्पन्न समुदायले मात्र उपभोग गरेको छ । जुन जाती पञ्चायत, शाहीकाल, प्रजातान्त्रिक समय र लोकतान्त्रिक गणतन्त्रसम्ममा पनि अवसरले निर्धारण गरेका हरप्रकारका कुर्सीमा विराजमान छन् । चाहे कर्मचारी क्षेत्रमा होस्, शिक्षकमा होस्, इन्जिनियरिंगमा होस्, उद्योगमा होस् वा सवैभन्दा बढोत्तरी पेसाका रुपमा फस्टाएको राजनीतिमा होस्, यीनले दुःखीरहेको र चह¥याइरहेको मधेसको घाउलाई निको पारिरहेका छन् या आलो बनाएर आफ्नो स्वार्थको बाटो कोरिरहेका छन् ? विश्लेषण गरेर हेरौं । 
मलाई थाहा छ, मेरो लेखन जति तथ्यमा आधारित भएपनि त्यो उन्मुक्तिको खोजी गरिरहेको अशिक्षित परिवार, जातीसम्म विरलै पुग्नेछ । किनभने अहिलेको मधेस पनि ति शिक्षाविहिन, राज्यविहिन परिवारले बुझ्न सक्तैन न त्यहाँको उपल्लो शासक वर्गले बुझाउने प्रयत्न गर्नेछ । मधेस आफ्ना जातीको विरासत बनाउन उद्दत अल्पज्ञानी शासकहरुले अधिकार राज्यसँग उपभोग गर्नेछन्, त्यहाँका साधारणलाई उपयोग गर्न दिने छैनन् । 
खेतका गरा गरामा पानी लगाउने, धानका हर बालीहरु रोप्ने, काट्ने र झाँट्ने, आलीमा चपरी खनेर माटो मलिलो बनाउने, काँडेतारको घेराबेरा लगाएर सुरक्षित बासस्थान खोपिदिने दलित गरिब र विपन्न वर्ग हो, खास मधेस । उनले न हिजो अधिकार पाएका थिए न आज पाएका छन्, न भोली राज्यबाट हडप्नेहरुले दिनेछन् । जुन नेतृत्व ब्राम्हणवादी सोचबाट ग्रस्त हिजोका ठेकेदार, तस्कर र शासकवर्गबाट परिचालित छ, त्यसले वास्तवमै बाँचीरहेको, पीडामा छटपटाइरहेको मधेसलाई अधिकारसम्पन्न बनाउन सक्तैन । काठमाडौमा महल ठड्याउने, यहि बलमा देशविदेशसँग सम्बन्ध बढाउने अहिलेको शासक वर्गले भोलीको राज्यसत्ता पीडित मधेसका लागि सुम्पने छैन । उनीहरुले खाली मधेसको भावनालाई रगतमा पोतेर आफ्नो सत्ताको सुरक्षित जोहोमात्र गरिरहेका छन् । राज्यले असलमा मधेसका मागहरु पुरा गर्न खोजेको छ भने गरागरामा पानी, घरघरमा शिक्षाको बत्ती, टहराहरुलाई चिसो छेक्ने पक्की घरको परिकल्पनासहितको कार्यक्रमलाई लागु गर्न सक्नुपर्छ । यो राज्यको दायित्व पनि हो । 
यतिवेला मधेसका नेताहरुमाथि खनिँदा मधेसी जनतालाई लाग्छ कुनै समुदायप्रति एउटा फरक मुलको मान्छेले वर्णका हिसावले व्याख्या गरेको छ । यो सन्दर्भमा लाग्न सक्छ अधिकारको आन्दोलनमा लड्दा खसवादी दमनकारीको आवाज उठेको छ । तर, राज्यसत्ता वडो लोभीपापीहरु बस्ने गुँण हो । यो गुँणमा लामो समयसम्म ओथारो बसेर पनि मधेसका मामिलालाई चल्ला बनाउन नसकेका त्यहि भ्रष्ट अनुहार अहिले नेताको विम्वमा उभिएका छन् । इतिहाँस साक्षी छ, मधेसले जन्माएका नेता गजेन्द्रनारायण सिंहहरुको लासमाथि उभिएका राजेन्द्र महतोहरुले सत्तास्वार्थभन्दा केही देखेको भए, आज मधेस समृद्ध, अधिकारसम्पन्न र आत्मनिर्भरमा उभिएको क्षेत्र हुने थियो । न निर्वाचन क्षेत्रको लडाई हुनेथियो, न सिमांकनको मुद्दा उठ्ने थियो । मधेसमा तिलमिलाइरहेको हुनेथियो अन्य क्षेत्रभन्दा अझ प्रभावशाली कसरी बन्ने ? भन्ने सपनाका लहरहरु । कसैले ठगेको छ मधेसलाई भने तिनै ठेकेदारहरुबाट जन्मिएका एकाध नेताहरु, एकाध मानवअधिकारकर्मी, एकाध वकिलहरु र एकाध प्राध्यापकहरुले । देखिएको छ, त्यहि उपल्लो शासकवर्गबाट माथि उठेको भनिने कथित मधेसी प्राध्यापक, अधिकारकर्मी, वकिलहरु विभिन्न एजेन्सीमा धाउन छाडेका छैनन् । तर, जनताको पीडाको असली समाधान निकाल्ने प्रयत्नको सिन्को पनि भाँचेका छैनन् । काठमाडौंको विरासत, सिंहदरबार वरिपरिको लालच निक्कै कठोर छ, जसले ढलिरहेको आम मधेसी नागरिकको पसिना र रगतको मुल्यको महत्व दिँदैन । दिने भए, लोकतन्त्र अघि र पछिका राज्यसत्तामा रुमल्लिएका मधेसी ठेकेदारहरुको व्यक्तिगत विवरण खोजौं, उनीहरुले पुरा गरेका सामाजिक, आर्थिक र राजनीतिक दायित्वका बारेमा विश्लेषण गरौं । 
अतः अहिले चलिरहेको आम मधेसीको आन्दोलन न्यायका लागि हो भने न्याय नपाएसम्म यो आवाज बुलन्द हुनुपर्छ हैन यदि चुनावमा पराजित भएर कुर्सीको स्वाद नपाएका नेता, विदेशी एजेन्सीको डलर पचाउनका लागि मद्दत पुगिरहेका कथित अधिकारकर्मी र वकिलहरुका लागि मात्र हो भने तिनका विरोधमा पनि भण्डाफोर हुन सकोस् । मेरो मधेस स्वतन्त्रता, न्याय र अधिकारसम्पन्न हुनका लागि शिक्षा, रोजगारी, युवा पलायनशुन्य समाजमा रुपान्तरण हुनुपर्छ भन्ने मान्यतामा म उभिएको छु । 

Friday, January 1, 2016


२०१६ झुल्किनु अघिको वर्ष...


  • रातले विहानीको आश गर्छ, विहानीले साँझको विकल्प खोज्छ । एक रातले एक वर्षगाठलाई भुलाइदिन्छ, एक रातले अर्को वर्षगाँठको उत्सव साट्छ । तर, समिक्षा आफैंमा सस्तो हुँदैन । त्यहिँमाथि वितेको वर्षको समिक्षा र दौडने वर्षको प्रण फरक हुन् । २०१६ झुल्किनुअघि...झुल्केपछि...।
  • आफुले आफ्नो बारेमा लेख्नु र भन्नुमा मान्छेहरु घमण्डीको संज्ञा दिन्छन् । यथार्थ र आडम्बरीको काम नगरी निरन्तर आफ्नो हृदयलाई स–शब्द उतार्नका लागि मलाई कुनै कठिनाई भएन । मैले निरन्तर मेरो शव्दहरु र त्यसका प्रत्येक पात्रहरुसँग यथार्थ पूर्ण रुपमा राख्न सफल भएँ । मलाई गर्व छ मप्रति नै, २०१५मा । 
  • म एउटा लेखक हुँ । लेख्ने मेरो पेसा हो । अनि, संवेदनाहरु र भावनाहरु समेटेर कथाको उचाई दिनु, मानिसहरुलाई पढ्नका लागि उत्प्रेरित गर्नु मेरो कर्तव्य । मभित्र कतिपय संवेदनाका अन्य थाकहरुको खाता मैले खोल्न सकिन, मेरो कमजोरी नै थियो, सायद । यद्यपि, केही बजारमा पाठकको हातमा पु¥याउने कोसीस गरें । यसबाट केही मान्छेहरुको मन दुखेको पनि थाहा पाएको छु । त्यसकुराप्रति म सचेत छु । म जीवनलाई अरुको भावनासँगको अन्तरंगमा नयाँ ढंगबाट उठाउने प्रयत्न गर्नेछु । 
  • २०१५ मा मसँग भएका अनेक उतारचढावमा मलाई लाग्यो होला उनीहरु दोषी छन् । तर, त्यसलाई मैले प्रत्यक्ष वा परोक्ष रुपमा अभिव्यक्त गर्न सकिन । म आजैबाट ती सवै दोष आफुमा केन्द्रित गर्न चहान्छु । दोषका कारणहरु अरुलाई दिएर आफु चोखो बन्ने प्रयत्न मैले गर्ने छैन । राम्रो नराम्रो सवैको दोष आफुमा नीहित राख्दै मभित्रबाट मित्रहरु कमलका रुपमा उदाउन भन्ने मेरो अपेक्षा छ, २०१६ ले उनीहरुलाई सफल बनाओस् । 
  • वास्तवमा हरेक वर्षहरु मेरो आर्थिक जीवन कष्टकर नै वितिरहेका छन् । २०१५ पनि कुनै सफल वर्षका रुपमा वितेको छैन । काम गर्ने र दामका लागि लामो समयसम्म प्रतिक्षा वा आफु पीडामा परेको दयादृष्टिको भाव देखाउनुपर्ने अवस्था आयो । यो निकै दुखदायी समय बनिरहेको थियो । सृजनात्मक काममा लागेको मानिस जहिलेपनि आर्थिक समस्यामा हुन्छ, भन्छन् । अनि, मजस्तो मान्छेचाँही सँधैभरी नै आर्थिक कष्टमा उभिरहेको हुन्छ । सहरको नयाँ अनुहार र गाउँको सोझो र निस्कपट व्यवाहारले आर्थिक जीवन बलियो हुन सकेन । आशा गरौं, २०१६ सहरीयाजस्तो बन्नेछ । 
  • धेरैले गरिरहने वाचा तर बारम्बार तोड्ने गरेको कुरा हो, रक्सी छाड्ने कुरा । म भन्छु जव मधुशालामा प्रवेश हुन्छ अनि केही कुराहरु स्मृतिका पानामा फर्किएर आउँछन् । म झुठो वाचा गर्दिन, मधुशालाका मेरा प्रवेशहरु न्युनिकरण हुनेछन् तर निमिट्यान्नचाँही गर्दिन । जव निमिट्यान्न पार्छु, मेरो जीवनका लेखन उर्जाहरु पनि कमजोर बन्नेछन् भन्ने मलाई लाग्छ । २०१६मा ०१५ को निरन्तरताको क्रमभंगचाँही पक्कै हुनेछ ।
  • सत्यवादी बन्नु गलत होइन । सत्यतामा हिँड्नु गलत होइन । आडम्बरमा रमाउन नचाहनु गलत होइन । तर, अहिलेको समाज, अहिलेको विश्व, युरोप र अमेरिकाका लागि यो गलत सावित हुन्छ । मेरो २०१६ मा यस्ता धेरै सत्यहरु गलत सावित भएका छन् । त्यसमा मलाई कुनै गुनासो छैन । संवेदनाहरु र सत्यताहरुको मिलनले एउटा उत्कृष्ट साहित्यको जन्म गर्दछ । त्यो साहित्य जसलाई मानिसहरुले काल्पनिक ठान्छन्, किनभने यहाँ झुठको खेती ज्यादा हुन्छ । यो सहरको आडम्बरबाट उम्किएर सत्यतामा बाँच्ने प्रयत्न, २०१६ मा मिलोस्, मलाई । 
  • अन्त्यमा, धेरै कुराहरु छन् जो मैले लेख्नैपर्ने पनि थिए । र, लेखेर साध्य नहुने पनि छन् । यद्यपि, यत्ति भन्छु– ०१५ मा मैले मेरो जीवनका हरेक पात्रहरुसँग, देशविदेश, अफिस, सडक जहाँपनि कुनैपनि प्रकारको अन्याय गरेको भए, मन दुखाएको भए, चित्त बुझाउन नसकेको भए, ३६५ दिनको चक्रमा भएका गल्ती भनेर माफी दिनुहोला । यो माफी मेरा लागि नयाँ सिकाइको बाटो हुन्छ । जसलाई दिन मन छैन, दिन इच्छा लाग्दैन, वहाँहरुको आगामी बर्ष मेरो भन्दा एक सय गुना राम्रो होस् भन्ने शुभकामना दिन चहान्छु ।

Tuesday, December 29, 2015

सत्तास्वार्थको विकल्प नयाँ शक्ति !

बाबुराम हल्ला नगरी बस्न नसक्ने मानिस हुन् । प्रधानमन्त्री हुँदा पनि अनेक किसिमका मिडियाबाजी गरेर हल्लामा रमाए, एमाओवादीभित्र पनि अनेक हर्कत गरेर हल्ला गरेर मिडियामा आए अब नयाँ शक्तिको हल्ला गरेर सत्तामोहको प्रतिविम्ब बनेर उभिन थालेका छन् 

विनोद ढकाल 

चिनियाँ क्रान्तिले देखाएको नयाँ युगका प्रणेताका रुपमा माओत्सेतुङको जन्मोत्सव मनाइरहँदा नेपाली माओवादका नेता पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईलाई लिनप्याओसँग तुलना गरे । लिनप्याओको व्यवाहारसँग तुलना गरे र उनको सत्ता मोहको व्याख्या पनि गरिदिए । लिनप्याओ चिनियाँ क्रान्तिका क्रममा बनेको चिनियाँ कम्युनिष्ट पार्टीको लाल सेनाका सेकेन्डम्यान थिए । सो क्रममा माओ सुप्रिम कमाण्डर थिए । लिनप्याओले माओको पछि दौडनुको विकल्प देखेका थिएनन् र उनलाई सत्तामोह पनि चाहिएको थियो । तर, सत्ता पाउनका लागि माओको मृत्यु अनिवार्य थियो । लिनप्याओको यहि चरित्रले कम्युनिष्टहरुभित्र पनि सत्तामोहको खेल चर्को भएको प्रचण्डको व्याख्या थियो । लिनप्याओ माओ क्रान्तिका एक साधक पनि थिए । उनका सकारात्मक पक्षहरु पनि चिनियाँ इतिहाँसमा व्यापक छ । हुन त मान्छेका सकारात्मक र नकारात्मक दुवै पाटो इतिहाँसले चर्चा गर्दछ । यद्यपि, जव व्यक्तिको सकारात्मक पाटो गौण राखी नकारात्मक पाटोलाई हावी बनाउने कोशिश हुन्छ, अनि यस्ता कथाहरु वक्तव्यवाजीका क्रममा स्वभाविक रुपमा आउँछन् । नेता आलोचना र प्रशंशा दुवैका साधक हुन् । तर, प्रशंशाभन्दा बढि आलोचना हुने काम उसको व्यवाहारले देखाइरहेको हुन्छ । एमाओवादी छाडेपछि बाबुरामको प्रशंशा कम र आलोचना ज्यादा भयो । माओ र लिनप्याओको कथा प्रचण्ड र बाबुरामहरु नै जानुन् । माओवादको घोडा दौडाएर मुलुकमा रगतको मुल्य निर्धारण गर्नेहरु जुन ‘वादी’ भएपनि त्यसले आम नागरिकलाई फरक पर्नेवाला छैन । समाज रुपान्तरण भनेको चेतनास्तरको विकास नै हुन्छ । कुनै वादले पनि नेपालको एउटा ‘वादी’, कमलरी र बोक्सीजस्ता रुढीवादी सोचलाई परिवर्तन गरी निमिट्यान्न नपारेका कारण यो वा त्यो राजनीतिक वाकपटुताको कुनै अर्थ हुनेछैन ।
समाजको यो चित्र एकातिर भएपनि संगठनको एउटा चरित्रचाही बेजोड विश्लेषणयोग्य छ । मुलुकमा राजनीतिक अतिचेतना जुन हिसावले द्वन्द्वपछि मौलायो, सामाजिक चेतना पलाउन सकेन । अहिले जलिरहेको मधेसमा राजनीतिक चेतना अधिक भयो तर जब राष्ट्रपति विद्या भण्डारी जनकपुरमा पुगेर पुजा गरिन् र उनी त्यहाँ गएकै कारण विधवा पसेको भनेर मन्दिर सफा गर्ने नौटंकी देखाइयो त्यो सामाजिक चेतनाशुन्य समाजको उदाहरण थियो । जसको छानविनका लागि सरकारले समिति नै गठन गरी परिचालन गर्नुपरेको थियो । त्यस्तै– अभियानका रुपमा अघि बढेको कथित नयाँ शक्ति राजनीतिक चेतनाको अतिवादी बाटो हुनेछ या सामाजिक चेतना र विकासका मनन योग्य शक्ति ? या एउटा वैचारिक लिलिपुटहरुको भेला गरी सत्ता र झुन्ड चलाउने रणनीतिक अभ्यास ? यसको उत्तर आउन अनिवार्य छ ।
जुनसुकै संगठनको होस् । सत्ता सर्वथा प्यारो हुन्छ, सवैलाई प्यारो लाग्छ । हर घरमा दोस्रो भएर बस्नेहरुलाई पहिलो बन्ने रहर जाग्दछ । सत्ता लोभीपापी समाजको दृष्टि भ्रम पार्ने शक्ति केन्द्र हो । सत्तालाई परिवर्तनका लागि आरोहण गरिएको दायित्वहरुको थुप्रो भन्दा पनि प्रयोगको आधार मान्ने मानसिकताले नै समाज विकासको बाटोतिर लम्किन नसकेको हो । चाहे माओको सत्ता होस्, चाहे राजा पृथ्वीनारायण शाहको सत्ता होस्, उनीहरुका सहयोगीका रुपमा रहेका सेकेन्डम्यानहरु जहिले अगाडी आउने बाहनामा अल्झिरहे । इतिहाँसका पानाहरुलाई केलाउने हो भने नेपाली सत्तामा यस्ता कथा धेरै छन् । चाहे राजा सुरेन्द्रको कथा पढौं, चाहे राणा जंगबहादुरको कथालाई अध्ययन गरौं । सत्ताका दोस्राहरु पहिलो हुने रन्कोमा जहिलेपनि जालसाजी गरिरहन्छन् । प्रचण्डको सत्तामा पनि बाबुरामले यसै गरिरहेको तथ्य सवैले देखेकै हो । एमाओवादीभित्र बारम्बार शक्तिका लागि नै लडिरहेका बाबुरामले कार्यकर्ताको बहुमत नपाउँदा पहिलो हुन सकेनन् । उनलाई पहिलो बनाउनका लागि पनि प्रचण्डले त्यति महत्व दिएनन् । फस्र्टम्यान बन्ने ध्याउन्नमा बाबुराम अन्ततः नयाँ शक्तिका नाममा अघि आएका छन् । उनीसँग विकासवादी सोच भन्दा पनि शक्तिकेन्द्रमा बस्ने रहरमात्रै रहेको पुष्टि भइसकेको छ । नयाँ शक्तिका नाममा बाबुराम जुन बाटो हिँडिरहेका छन्, त्यहाँ विचारको स्थिरता र दुरदर्शिता संकेत देखिँदैन । एउटा क्रान्तिकारी विचारलाई बोकेर लामो द्वन्द्वको नेतृत्व गरी मुलुक परिवर्तनमा युवा मस्तिष्क खर्च गरेका बाबुरामले अव आफ्नो प्रौढ जीवनमा नयाँ विचारको प्रतिपादन गर्लान् भन्ने विश्वास विरलै गरेको राम्रो । हरेक विचार भएका मान्छेहरुको महाभेला गरेर उनले एउटा समान र साझा दिर्घकालिन मुद्दालाई स्थापित गर्न सक्ने सम्भावना छैन ।
परिवर्तनको संकेतहरु राजनीतिक जीवनका पूर्वाद्धहरुले नै प्रष्ट पारिसकेका हुन्छन् । एउटा उमेरले छेडेको क्रान्तिको भविष्य समृद्ध समाजको परिकल्पना हुन्छ । तर, जब समृद्ध समाज बनाउने बेला र समय आउँछ अनि एउटा बाटो छाडेर अर्को बाटोको मियो बन्ने आह्वान गर्ने व्यक्तिहरुसँग आशा गर्नु बेकार हुनेछ । जीवनमा जानेको बाटो छाडेर नजानेको डमरु बजाउने काममा मान्छेहरुलाई अलमलमा पार्नु उचित हुँदैन । त्यो निष्कर्शहिन यात्रामात्र हुनेछ । समाज रुपान्तरणको सामान्य दायित्व बोध हुने थियो भने बाबुरामले आफु मुलुकको कार्यकारी प्रमुख भएको बेला उचित काम गर्थे होला । तर, उनले त्यसो गर्न नसकेका कारणले अहिले नयाँ शक्तिको हल्ला फिँजाएर केही फिल्मकर्मी, अवसरहिन नागरिक समाज र आफैंले सेनाका लागि अयोग्य ठहर गरेका पूर्वलडाकुलाई सहभागी गराउनु एउटा अवसरवादी चरित्रको विम्ब नै हो । त्यसकारण यहि विम्बले उनको व्यवाहारको प्रतिविम्ब उनको अभियान सुरु हुनु अघि नै झल्काउनेछ । विचार जतिसुकै नयाँ भएपनि व्यवाहारिक रुपमा रगताम्य अनुहारले उभ्याएको नयाँ शक्तिको लक्ष्य के हो ? शक्ति भनेको केहो ? नयाँको व्याख्या कसरी हुन्छ ? कसैले बनाउन लागेको नयाँ शक्तिको विरोध होइन यो, आफ्नो संलग्नताको वैचारिक छिटा पनि नपरोस् भन्ने प्रष्टोक्ति हो । विश्लेषणचाहीँ यो हो की बाबुराम मिडियातन्त्रको आत्मरतीमा रमाउने विद्वान हुन् । उनलाई हल्ला मनपर्छ । उनलाई आलोचना नै भइरहेपनि मिडियामा आउने मिडियाफोविया भएको छ, सायद । बाबुराम हल्ला नगरी बस्न नसक्ने मानिस हुन् । प्रधानमन्त्री हुँदा पनि अनेक किसिमका मिडियाबाजी गरेर हल्लामा रमाए, एमाओवादीभित्र पनि अनेक हर्कत गरेर हल्ला गरेर मिडियामा आए,  अब नयाँ शक्तिको हल्ला गरेर सत्तामोहको प्रतिविम्ब बनेर उभिन थालेका छन् । उनको यो आत्मरतीको अभियान साँच्चैको हो भने जटिल समयमा मुलुकको हितकर काममा लगाउन् । न ट्वीट, न फेसबुकको हल्ला, काम गरेर देखाउन सकुन् भन्ने कामना गरौं । अन्यथा, अहिले प्रायोजित नागरिक समाज, एजेन्सीमा धाउने सुकिला अनुहारहरु, राजनीतिका नाममा समाजमा विखण्डनको विउ रोप्ने केही व्यक्तिहरुलाई साथमा राखेर नयाँ शक्तिको विजारोपण गर्ने अभियानको औचित्यता पुष्टि हुन सक्तैन । उनको अभियानमा अदालतले भ्रष्टाचारी ठहर गरेका व्यक्तिहरु, इतिहाँसमा जनमारा अभियोग लागेका व्यक्तिहरु पनि छन् । यो अभियानले उनीहरुलाई समाजप्रति उत्तरदायी बन्ने अवसर दिनेछ या बाबुरामलाई टिप्पणीहरुको कलंकमाथि उभ्याउने छ, त्यो समयले देखाउँदै जानेछ ।

Wednesday, September 9, 2015

गजेन्द्रनारायणको सपना कता हरायो ?


विनोद ढकाल 
तराई-मधेसका नाममा गजेन्द्रनारायण िसंहले थालेको क्षेत्रीय राजनीति त्यहाँको विकास चेतना र शिक्षाको विषयमा केन्द्रिकृत थियो । उनको विचार मधेसका नाममा राजनीति गर्दा आयातित वा त्यहाँ रहेका व्यक्ति परिवार र समाजलाई शिक्षित बनाएर ुनेपालुसँग रहेको विविधताको परिचय गराउनु नै थियो । यस हिसावले उठेको क्षेत्रीय राजनीतिको अर्थ सद्भाव कायम गर्नु थियो र उनले आफ्नो पार्टीको नाम पनि सद्भावना जुराएका थिए । एक हदसम्म असहज हुनसक्ने आयातित व्यक्तिहरु र हिमाल र पहाडबाट झरेका व्यक्तिबीचको सद्भावना कायम गर्ने सामाजिक बाटो पनि राजनीति नै हुनसक्ने अनुमानमा स्थापित सद्भावना पार्टीले एक हदसम्मको सहयोग सद्भाव र समर्थन मधेसका नाममा पाएको थियो । जसले गर्दा उसको स्थापित कार्यकाललाई असफल भन्न मिल्दैन । तर अर्धचेतनाका अन्य सदस्यहरुका कारण सद्भावना बारम्बार फुट्यो । योसँगै गजेन्द्र नारायण िसंहको सद्भाव बढाउने राजनीतिक सपनाहरु फुट्दै गए र आज मधेसमा सद्भावनाका नामका अनेकन पार्टीहरु छन् । उनको मृत्युमा गहिरो शोकमा डुवेन मधेस न त त्यस्तो हिम्मत तत्कालिन राज्यसत्ताले गरेको थियो । मृत्युपर्यन्त राजनीतिक हवालाका लागि आनन्दीदेवी िसंहलाई उचाल्ने र पछार्ने मधेसी राजनीति कायम रह्यो । आफूलाई केहीहदसम्मको टाठोबाठो मान्ने नेताहरुले अहिले पनि उनको नामको राजनीति गरेका छन् । तर उनको मृत्युपनि अति सामान्य व्यक्ति सरह भयो । मृत्युमा रुनेहरु कम थिए तर त्यसवापत राजनीतिक मुनाफाको जोड घटाउ गर्नेहरु अहिले सत्ताका वरीपरि घुमिरहेका छन् सभासद् मन्त्री र नेता बनेर । 

नेपाली राजनीति असामाजिक जगमा उभिएको झुण्डहरुको महासभामात्र हो । त्यसको खास झुण्ड मधेसी दलका नामका कथित राजनीतिज्ञहरुको संगठन पनि हो । असामाजिक मान्छे भन्नु नै आत्मरतीमा रमाउने र स्वाँठ प्रवित्तिको घमण्डी हो । न उसले कुनै राम्रो काम गर्न सक्छ न गरेको रुचाउँछ । यस्तै आत्मरतीमा रमाउनेहरुको एउटा झुण्ड मधेसी मोर्चाका नाममा संगठित त भएका छन् । तर त्यो त्यति सामाजिक भएको सावित भएको छैन जसले मधेसमात्रका लागि पनि कुनै खास काम गरेर देखाओस । वा अर्का गजेन्द्रनारायणको सपना बोकेर उन्मुक्त राजनीति गर्ने चेष्टा गरोस । मधेसको चेतना विकास र राष्ट्रिय साझेदारीको आवश्यकता छुट्टै मधेसीहरु भेला भएको राजनीतिक दल निर्माण गर्नु वा त्यसको एउटा संगठित अनुहारहरुको वैठक गर्नुमात्र होइन भन्ने बारम्बारका गठित मोर्चाहरु र त्यसबाट बाहिरिएर सत्तामा टाँसिने हर्कतले सावित गरेको छ । संविधानसभामा भेला भएर खैनी लट्याउने र मधेस जलाउने धम्कीपूर्ण भाषाको राजनीतिमा रुमलिएका मधेसी जनताको खातिर भएका सहमतिका प्रश्नहरु सत्ताको बहिर्गमन वा सत्ता साझेदारीका वेलामात्र उठाउने संस्कारको राजनीतिमात्र देखिएको छ । के यहि रहेछ त गजेन्द्रनारायणको सपना  यो प्रश्न आम जनताले मधेसी भन्न रुचाउने दलका नेताहरुलाई सोध्न जरुरी छ । र खासगरी सपनाको बाढी वगाएका भरमा मत दिएका मधेसक्षेत्रका जनताले तेस्र्याउनै पर्ने पनि हो । मधेसी जनताले कहिल्यैपनि इन्धनको उचित प्रयोग गर्न पाएनन् । बारम्बार उनले जिताएका नेता आपूर्तिमन्त्री बनेका छन् । मधेसले विकासको मुल फुटाएर भित्रि बजारसम्म राम्रो पुल र यातायातको सेवा पाउन सकेको छैन । बारम्बार उनले जिताएका नेता नै भौतिक निर्माणमन्त्री भए । मधेसी जनता अहिले पनि उचित मुल्यको खाद्य मल रसायनिक मलको आन्दोलनमा छन् । बारम्बार कृषिमन्त्री आफूले जिताएको नेता पाए । स्वच्छ र उचित वातावरणको जिल्लाका रुपमा अहिलेसम्म पनि घोषणा गर्न पाउन सकेका छैनन् बारम्बार वातावारणमन्त्री आफूले जिताएकै व्यक्ति बनेका छन् । 

स्वभाविक हो राजनीति गर्ने व्यक्तिविशेषको पनि महत्वकांक्षा हुन्छ । उसका व्यक्तिगत स्वार्थहरु पनि रहन्छन् । यस अर्थमा मधेसका नेताहरुले व्यक्तिगत स्वार्थको उपयोग गरे र अरुले गरेनन भन्ने सवाल पनि होइन । नेपाली राजनीतिका सवै दल र तिनका नेताहरु डम्बरु बजाएर भालु नचाउने संस्कारका पछ्यौटे हुन् । र नेपाली जनता उनका डम्बरु र डम्फुका तालमा सडक सदन र सहरमा भोका नाङ्गा हुँदै न्यायको आशा बोक्ने कमजोर नाचका पात्रहरु पनि हुन् । जसरी राष्ट्रिय राजनीतिमा कर्णाली विकासका फुस्रा सान्त्वना मेलम्ची काठमाडौं झारिदिने काल्पनिक अठोट भएका छन् । त्यस्तै मधेसको वेग्लै पहिचान सहितको विकासलक्षित भावनात्मक स्वार्थमा मधेस राजनीतिकेन्द्रित व्यक्तिहरुको चरित्र पनि फरक छैन । ढाँट्नु वा छल्नुको पनि सामान्य रुप हुन्छ तर यहाँ मधेसी जनताहरु बारम्बार ठगिएका छन् । र ठगीमा परिरहँदा पनि उनीहरु चुपचाप राजनीतिलाई सहयोग गरिरहेका छन् । भर परेका छैनन् तरपनि आश गरेका छन् त्यहाँका नागरिकहरुको वडोप्पन नै मान्नुपर्छ । स्रोत साधन कृषि उद्योग कलकारखाना सवैको उचित व्यवस्था हुँदापनि आज मधेसका जनताहरु भारतको पन्जाव विहार वा अन्यत्र रोजगारीका लागि जान बाध्य छन् । १५ वर्ष लगातार मधेसको नाममा ुस्पेशिफिकु राजनीतिक दल र राजनीति भइरहेको छ । तर खै त जनताले राहत पाएको  त्यहि राजनीतिका कारण नेताहरुको एउटा महासभा  राष्ट्रिय राजनीतिलाई हल्लाउनसक्ने भएको छ । तर खै त मधेसले न्याय पाएको  समग्र नेपालमा मधेसले धेरै नेता जन्मायो । धेरैलाई नेता बनायो । तर ती सवै आत्मरतीका अनुहार रहेको कहिल्यै बुझ्न सकेन । 

नेता भन्ने शव्द निकै महत्वपूर्ण र जिम्मेवारीपूर्ण पद हो । नेता आफ्ना लागिभन्दा पनि अरुका लागि महत्वको सवाल बन्दछ । सारा मधेसक्षेत्रमा मतले जिताइएको एउटै उद्देश्य हो सम्बृद्ध मधेसको खोजी । गएको चार वर्षमा मधेसले कुन हैसियतमा आफ्नो विकासलाई मुल्याङ्कन गरेको छ  त्यहाँका जनताले कुन हैसियतमा आफु र आफ्नो मताधिकारको उपभोग गर्न पाए  यस्ता कुनै प्रश्नको जवाफ अहिलेपनि मधेसी नेताहरुले दिने हिम्मत गर्दैनन् । एकप्रकारले सत्ताका सवै निकायहरुमा मधेसी जनताको पहुँच राजनीतिक संक्रमण होस वा अन्य समय धेरै पटक पुगेकै छ । तर राजनीतिको माकुरी जालमा वेरिएका मधेसी जनताको चेतनाको स्तर उठ्न नसक्दा वा उनीहरुले नचाहेर वा उनीहरुले नगरेर हो सम्बृद्ध मधेसका लागि एउटा सिङ्को भाँच्ने कामपनि हुन सकेको छैन । मधेस निरन्तर एउटा राजनीति मुद्दामा सीमित राखेर सत्ताको मुख्य विषय बनाउने विकल्पमा मात्र राखिएको छ । जसको निरन्तरता पछिल्लो पटक बसेको मधेसी मोर्चाको वैठकले फेरि दियो सरकार छाड्ने वा ढाल्ने धम्कीपूर्ण निर्णय गरेर । सोमबार मधेसी मोर्चाका नेताहरुको वैठक एउटा निचोडमा पुग्यो । उनीहरुसँग गएको चार महिना अघि गरेको चारबुँदे सहमति सरकारले कार्यान्वयन नगरेको र सरकारको भ्रष्ट चरित्रको दोष आफुलाई थोपरेको विश्लेषण गर्दै सरकार छाड्ने चेतावनीसम्म आइपुगे । अव सरकार ढल्ने संकेत पाइसकेका मधेसी नेताहरुको आत्मरतीमा पुरै देशका सम्भावनाका ढोकाहरु बन्द भएका छन्  र  उनीहरु मधेसी जनताको उन्नती भन्दा पनि आफ्नो आत्मरतीमा रमाउने संकिर्ण राजनीति गरिरहेका छन् । जसलाई दक्षिणीद्वारहरुले पहिले अहिले र भोलीपनि चलाइरहेका हुनेछन् । यहि निरन्तरतामा चल्ने मधेस राजनीति नेपालको इतिहाँसको एउटा खास मुद्दामात्र सावित हुनेछ । 

(५ वर्ष अघि राजधानी दैनिकमा मैले लेखेको यो लेखलाई अहिले जलिरहेको मधेसलाई डेडिकेट गरेर सेयर गर्न चाहेको हुँ । जहाँ राजेन्द्र महतोहरुको गर्जन सुन्दा गजेन्द्रनारायणहरुको आवाजलाई सम्झिरहेको छु । )