Tuesday, March 27, 2012

बलियो जग बन्ने धोको


काठमाडौं–प्रचारमुखि दुनियाँमा पर्दा अगाडीबाट चर्चा कमाउन खोज्नेहरुको ताँती नै हुन्छ । जति आवरणहरुले चर्चा कमाउने गरेको छ, त्यस चर्चाको अन्तरनीहित सत्यका पात्रचाँही अरु नै हुन्छन् । अर्थात, पर्दापछाडीबाट परिश्रम र मेहनतका फोहरा नछुटाउने हो भने पर्दा अगाडीका कामहरु स्वादिला र चोटिला बन्न सक्तैनन् । हुन त जीवन पर्दा अगाडीको नाटक हो, संसार नाट्यमञ्च र हामी कलाकार । कोही पर्दा पछाडी छ भने जसले जीवन र जगतचलाई चलाउने गर्दछ, जो आजसम्म आस्थावान त छ तर सार्वजनिक गर्ने हिम्मत हामी पात्र’मा छैन । यस्तै भावनाहरुको प्रेरणालाई स्रोत बनाएर प्रतिष्पर्धाको भीँडमा हिँड्नु उनको सोख हो । एक आम युवती, सरल स्वभाव, मुल्याङ्कनयोग्य कामको खोजी गर्ने बानी यहि विशेषतालाई पछ्याउने नाम हो, मिनाक्षी कोइराला । पत्रकारिताकी विद्यार्थी, कलाकारीताकी अव्वल सिकारु । जसले तीनवटा म्युजिक भिडियोमा आफ्नो निर्देशनको कौशलता देखाउने भरपूर प्रयास गरेकी छन्, अव कुनै खास चलचित्रको सहनिर्देशनको प्रस्तावित उमेद्वार पनि हुन् ।
म्युजिक भिडियो होस वा फिल्म त्यसको प्राविधिक, निर्देशनको काम राम्रो हुँदा त्यसको सफलता देखिन्छ तर कमजोर हुँदा त्यो जति नै राम्रा कलाकारहरुको जमात खडा गरेपनि त्यसको परिणाम बजारले देखाउने निश्चितै छ । आवरण भन्दा पनि परिश्रम सुन्दर हुनुपर्छ भन्ने चाहनामा विश्वास गर्छिन् उनी । २१ आंै शताव्दिमा नेपाली युवतीहरु प्राविधिकपक्षमा पनि उत्तिकै बलिया हुनसक्छन् भन्ने उदाहरण बन्ने प्रयासमा छिन् उनी । भन्छिन्,‘युवतीहरु पर्दा अगाडीको सुन्दरताका लागिमात्र रोज्ने परम्पराको विकास भएको छ । तर, पर्दापछाडीका काममा पनि हामी उत्तिकै अव्वल छौं भन्ने कुराचाँही बुझ्न जरुरी छ ।’
हुन त विश्वबजारमा युवतीको सुन्दर आवरणलाई पर्दा अगाडीका मञ्चहरुमा व्यापारको नमुनाका रुपमा प्रस्तुत गर्ने प्रचलन बढेको छ । पश्चिमा मुलुकदेखि लिएर पूर्वी सभ्यतामा विकास उन्मुख मुलकमा पनि यो क्रमको तिव्रता छ । नेपाली कलाकारिता पनि यहि क्रमको निरन्तरता नै बन्ने प्रयासमा छ । नमुना देखाएर कमसल सामानको विक्रि गर्नु क्रेताप्रतिको विश्वासघात हो । अझ, कलाकारिताले यसो गर्नुचाँही आफ्नै लोकप्रियता गुमाउने आत्मघाती हतियार हो । भौतिक सुन्दरतालाई विक्रि गर्न सक्थिन उनी, किनभने सहरमा उनको भौतिक सुन्दरताले धेरै सुन्दरीको ताज पहिरिनेहरु मात खानसक्छन् । ‘जुन क्षेत्रमा हात हालिएको छ, त्यसक्षेत्रमा हामी युवतीहरु पनि बलियो जग बन्नसक्नुपर्छ भन्ने मेरो धारणा हो । मलाई सुन्दर घर बन्ने होइन, बलियो जगमा उभिएको सुन्दर, बलियो र टिकाउ घर निर्माण गर्ने रहर हो । म त्यो जग कसरी बन्ने भन्ने सिकाइको क्रममा छु ।’
कामलाइ बुझ्ने समाज बटुल्नु अहिलेको आवश्यकता हो । को पुरुष को महिला हैन, को काममा अव्वल छन्, कसले राम्रो काम गर्न सक्छन् भन्ने प्रतिष्पर्धा अहिलेको आवश्यकता हो । समानताका आवाजहरु, अधिकारका प्रयोगहरु भाषण, शव्द र अक्षरबाटमात्र होइन हरेक क्षेत्रमा हरेक प्रकारले व्यवाहारिक बन्नुपर्छ भन्ने सोच कोइरालाको छ । उनी आफुले अँगालेको कलाकारिताको क्षेत्र त्यस्तै बनाउने सानो झुण्डको सहयोगी हात बन्न रुची देखाउँछीन । गायक शिव परियारको कुनै नयाँ म्युजिक भिडियोका लागि कलाकारको खोजी गरिरहँदा चियागफमै उनी भन्छिन्,‘त्यो नमुना रुपले होइन, कलाकारिताले भरिएको हुनुपर्छ । रुपका कलाकार सहरमा धेरै छन्, कलासहितका कलाकार अत्यन्तै कम छन् भन्ने मैले अनुभव गरेकी छु ।’
अनुसन्धान सहितका वास्तविक परिघटनालाई चित्रण हुनेगरि नेपाली समाजको दृश्यलाई पर्दामा उतार्ने महत्वकांक्षी योजना उनले बनाएकी छन् । भर्खर सुरु भएको आफ्नो क्यारिअरको लामो अनुभवपछि समाजले पचाउने, जनताले पत्याउने, ठूलो नभएर राम्रो काम सकेसम्म पुरा गरेरै छाड्ने उनी बताउँछिन् ।

Monday, March 26, 2012

अस्तित्वमा प्रत्याक्रमणको नियती

विनोद ढकाल

नेपाली कम्युनिष्ट आन्दोलनलाई देखेका, भोगेका र सहभागी भएर अहिले निस्क्रिय रहेकाहरु सरल विश्लेषण गर्छन–‘नेपाली कम्युनिष्ट पार्टीहरु एक भएर बस्न सक्तैनन् ।’ चाहे ती एकीकृत माक्र्सवादी–लेलिनवादीको फुटको कथा हुन् वा एकताकेन्द्र मसाल टुक्रिएका इतिहाँस हुन् । अथवा, जनमोर्चाको विभाजनका तथ्यहरु अघि सारेर होस्, यस्तै सरल विश्लेषणका टिप्पणीहरु अहिलेको एकीकृत माओवादीभित्र देखिएको विवादको सन्दर्भमा सुन्ने, देख्ने र बोल्ने गरिएको छ । एकथरीले नेपाली आन्तरिक राजनीतिमा हुने हलचलको दोष छिमेकी मुलुक भारतलाई जोडेर टिप्पणी गर्छन् । केही आधारहरुलाई देखाएर त्यस्ता विश्लेषणहरु जनसतहमा देखा पर्न थालेका छन् । उनीहरु भन्छन्– नेपाली राजनीतिमा भविष्य निर्धारणको खेल नयाँ दिल्लिका विशिष्ट होटलहरुमा हुने गरेको छ । राणा शासनको अन्त्य होस, पञ्चायतकालका अघिपछिका घटनापरिघटना हुन् अथवा ०४६ सालको आन्दोलनको पेरीफेरि । पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका अन्तरनीहित कारणहरु हुन् वा माओवादी जनयुद्धकालदेखि १२ बुँदे सम्झौता, शान्ति प्रकृयाका कदमहरु र दोस्रो जनआन्दोलनले स्थापित गरेको नेपाली गणतन्त्रको उल्लास । सवै प्रकरणमा नयाँदिल्लिको दृष्टि दाहिने नै थियो । यस कुरालाई भारतका परराष्ट्र मामिलाकारहरुले स्वीकार गर्दछन् । जवसम्म दक्षिण एसीयाको केन्द्रिय राजनीतिमा आफ्नो प्रभाव रहन सक्तैन, तवसम्म भारतले दक्षिण एसीयामा जमेको आफ्नो भुमिकालाई कायम राख्न सक्तैन । दक्षिण एसीयाका कमजोर राज्यहरुले भारतको विरोध गर्दा त्यहाँको विरोधी शक्तिको आयतनलाई उसले राम्रैसँग हेक्कामा राखेको हुन्छ । यो सन्दर्भ बढि से बढि नेपाली राजनीतिसँगपनि सम्बन्धित छ । खासगरी, पछिल्लो चरणमा एकीकृत नेकपा माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा पनि । भारतविरुद्ध थालिएको अभियानका क्रममा उनी जति क्रान्तिकारी देखिए, उनको पार्टीले त्यति नै राजनीतिक मुलधारमा क्षति व्यहोरेको थियो । यहि कुरालाई पार्टीका विभिन्न भेलाहरुमा छलफल गरेर भारतसँग नयाँ ढङ्गबाट सम्बन्ध सुधारको नीतिलाई प्रचण्डले पछ्याए । उपाध्यक्ष डा. बाबुराम भट्टराइलाई प्रधानमन्त्री बनाएर आफ्नो कुटनीतिक सम्बन्धको आयतनलाई बढाएपनि प्रचण्डले आफुभित्रका विद्रोहीधारको ‘चड्कन’ पाएका छन् । युद्धकालमा गद्दारीको नाममा हटाइएका मणि थापा, पार्टीबाट प्रचण्डलाई नक्कली माओवादीको नाम दिएर विभाजन भएका मातृका यादव लगायतका नेताहरुसँगको मोर्चावन्दिमा अहिले विद्रोही धारका नेता मोहन वैद्यको नेतृत्व देखिएको छ, जुन प्रचण्डका लागि ठूलै घाटा भएको अनुमान सहज छ । प्रचण्डले जनयुद्ध कालमा होस वा त्यसपछिका समयमा पार्टीको प्रशिक्षणमा जसरी अन्य राजनीतिक दलको अस्तित्वलाई धावा बोल्ने ‘स्कूलिङ’को विकास गरे, त्यसरी नै त्यहि नियतीको शिकार आफैं बनेका छन् अहिले, वैद्य पक्षका नाममा पार्टी विरुद्ध नै सुरु भएको मोर्चाको घोषणाले । दुई लाइन संघर्षलाई उतारचढावको भुमिकामा नेतृत्व गर्दै आएका प्रचण्डले आफ्नो खास नीतिलाई माओवादीभित्र प्रतिपादन गर्न सकेका छैनन् । उनले त्यस्तो प्रयत्नपनि गरेनन् । माओवादीको कुनै स्थायी नीति बनाउन प्रचण्ड कमजोर भए । स्थापना कालदेखि दुईलाइन संघर्षमा हुर्किएको माओवादीलाई ढाडमा टेकेर टाउकोमा हान्ने ‘स्कूलिङ’ गराउन उनी अभ्यस्त भए । जसको मार अन्य राजनीतिक दलहरुले खेपेर माओवादीसँगका अनेकन सम्झौतामा आउन बाध्यकारी भएका थिए । तर त्यस्तो स्कूलिङले ल्याउनसक्ने प्रत्याक्रमणको खतराबारे उनी खबरदारी रहेनन् । स्कूलिङ्को परिणती हो, अहिले विद्रोही बताउनेहरुले उनैको पार्टी र सरकार सत्तालाई धावा वोल्ने मोर्चावन्दि गरेका छन् जुन प्रचण्डको ढाडमा बसेर टाउकोमा हान्ने प्रयास पनि हो ।
एउटा साधारण उदाहरण छ– तपाई सन्तानहरुलाई जस्तो व्यवाहारिक शिक्षा प्रदान गर्नुहुन्छ उनीहरुको चरित्र त्यहि नै हुन्छ । छिमेक, समाजमा त उसले त्यो चरित्रलाई निर्देशनका रुपमा प्रयोग गर्छन र हुर्किदैजाँदा त्यहि व्यवाहारलाई आफ्नै घरभित्र प्रयोग गर्छन्, त्यसलाई अचम्मित भएर हेर्नु मुर्खता हुनेछ । बरु, समयमा आफुले गतिलो शिक्षा दिन नसकेको भनेर विगतलाई सम्झिएर भक्कानिनुको विकल्प हुँदैन । त्यसैले सन्तानको गतिलो र सभ्य ‘परवरिस’ नहुँदा त्यसैबाट घर भाँडीने सामाजिक उदाहरणलाई हरेक क्षेत्रको व्यवाहारिक पक्षसँग तौलेर हेर्नैपर्ने हुन्छ । राजनीति सैद्धान्तिक लडाई अवश्य हो तर त्यसका अलावा व्यवाहारिक र महत्वकांक्षी भुमिका पनि हो । पार्टी प्राथमिक सत्ता हो । त्यस सत्ताको निरन्तरताका लागि सवै सदस्यहरुलाई मिलाएर जानसक्नु कौशलता हो । त्यो कौशलतालाई प्रचण्डले कायम राख्न सकेनन् । स्वभाविक हो, पार्टीको नाममा उपयोगवादी शैलीलाई उनैले बढावा दिए जसका कारण उनीमाथि नै विद्रोही स्वर गर्जनुलाई अस्वभाविक मान्न सकिदैन ।

माओवादी स्कूलिङको यो स्वभाविक नतिजालेचाँही मुलधारको राजनीतिमा अस्वभाविक असर पार्ने निश्चितप्रायः छ । प्रथमतः माओवादीको पार्टी आकारमा यसले क्षति पु¥याउनेछ । त्यसबाहेक संक्रमण र तरल अवस्थामा रहेको मुलधारको राजनीतिको ‘स्पिरिट’मा यसले गतिलो धक्का पु¥याउने छ । एकै पार्टीबाट सहमति र सहकार्यका अलग, भिन्न मतहरु आउँदा संविधानसभाको विवाद समाधान, सेना समायोजन र शान्ति प्रकृयाका कामहरु रोकिनेछन् । यसअघि चर्किएको विवादका क्रममा पनि यस्ता अवरोधहरु देखा परिसकेका हुन् । सरकार परिवर्तनका विषयले शान्ति प्रकृयाको काम र जनसंविधानको मुद्दाले लोकतान्त्रिक संविधान निर्माणको दलीय सहमतिलाई उल्झनमा पार्ने देखिन्छ । जसका कारण शान्ति प्रकृया र संविधानका काम रोकिनेछन् । मुलधारको राजनीतिमा माओवादीभित्रको अस्तित्वको प्रत्याक्रमणको चङ्गुल समग्र नेपाली जनताको चारवर्ष अघिको अनुमोदनको उपलव्धीहिन परिणाम बन्नेछ । संविधान जारी हुनसक्ने छैन र फेरिपनि सवै नेपालीको हार हुनेछ ।

१३ चैत, २०६८ हिमालय टाइम्स दैनिकमा प्रकाशित लेख हो ।

क्षयीकरण हुँदै तीनपाते माओवादी

विनोद ढकाल
जतिबेला माओवादी सार्वजनिक भएको थियो, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई ‘चील’ को संज्ञा दिएका थिए । अन्य राजनीतिक दलहरू कुखुरा बताएका उनले माओवादीको तुलना अन्यसँग गर्न नमिल्ने दाबी गरे । माओवादी अत्यन्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको उनको जिकिर थियो । उनले आफ्नो दलको क्रान्तिकारितालाई पुष्टि गर्ने क्रममा नेकपा एमाले जस्तो स्थापित राजनीतिक पार्टीलाई कम्युनिस्टका नाममा हिङ बाँधेको टालो मात्र भएको भन्ने टिप्पणीसमेत गरेका थिए । र, अन्य परिवर्तनका मूलधारमा आएका राजनीतिक दलहरूलाई प्रतिक्रान्तिकारीका पक्षपोषकको संज्ञा पनि दिए । यी सबै स्मरणीय छन्– अखबारका पानामा र टेलिभिजनका अर्काइभमा ।
शान्तिपूर्ण नेपालको चाहना राखेका जनसाधारणले माओवादीलाई परिवर्तनको राजनीतिमा स्थापित गराउने धेयले संविधनसभामा बृहत् राजनीतिक दलका रूपमा राखिदिए । यद्यपि एकढिक्का भएर संविधानसभामा आफ्नो मतलाई सुरक्षित गरेको माओवादीको बलकै भरमा गणतन्त्र घोषणा सहज भएको तथ्यलाई नकार्न मिल्दैन । संविधानसभा स्थापनादेखि संघीयताका सवालहरूको बहसको ‘जस’ को भागीदार पनि माओवादी हो । उसको बारम्बारको दाबी पनि यही नै छ, गणतन्त्रर संविधानसभा माओवादीकै कारण सम्भव भएको हो । मान्नुपर्छ, माओवादी एउटा कारण हो, तर जस मात्र लिने राजनीतिक दम्भ बोकेर राष्ट्रको मूलधारमा लामो समय टिक्ने कल्पना चाहिँ विस्तारै ह्रास हुँदै जान सक्छ भन्ने व्यावहारिक यथार्थ अब माओवादीले स्वीकार गर्नुपर्छ । खासगरी त्यस दलका अध्यक्षको हैसियतमा प्रचण्डले ।
क्रान्तिकारी भाषणको हुँकार मात्र क्रान्ति होइन, त्यसको व्यावहारिक प्रयोग र जनस्तरको चाहनालाई स्थापित गराउने अभ्यास चाहिँ क्रान्ति हो भन्ने विषयलाई बुझ्नुपर्दछ । तर अहिले यसो भएको छैन । सार्वजनिक राजनीतिको बाटोमा आएपछि बारम्बार अन्तर्विरोधको कारणमा माओवादीबाटै रोकिँदै आएको शान्ति प्रक्रिया र संविधान निर्माणका काम अहिले पनि अलपत्र छन् । वास्तविकता यही हो, उसको अन्तर्विरोधले देशलाई बन्दी बनाएको छ । र, यो अन्तर्विरोधको डरलाग्दो अभ्यास माओवादीभित्रको विद्रोही शक्तिका रूपमा चिनिने मोहन वैद्य पक्षको पछिल्लो राजनीतिक कदम हो । अहिले वैद्य पक्ष विभिन्न १२ दलहरूसँगको सहकार्यमा आफ्नै क्रान्तिकारी पार्टी, सरकारको विरोधमा मोर्चामा संगठित भएको छ । यसले अन्तर्विरोधको कथालाई प्रस्टोक्ति मात्र गरेको छैन, अब माओवादी फुट्न सक्ने अनुमानलाई अधिकतम रूपमा बल पु¥याएको छ, जसको घाटा शान्ति प्रक्रिया र नयाँ संविधान पाउने जनचाहना खतराको घन्टीका रूपमा देखिन थालेको छ । यसलाई प्रचण्डले कसरी सम्बोधन गर्लान् ? कसरी मिलाउन सक्लान् ? त्यो चाहिँ हेर्न बाँकी छ । यसको कारण वैद्य पक्षलाई प्रचण्डहरूले ‘बाइपास’ गरेको भन्ने आधार बनाइएको छ । त्यसैले पनि आफ्नो राजनीतिक हैसियत खोज्ने प्रयासमा वैद्य पक्षको पछिल्लो घोषणा आएको मानिन्छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा हाकाहाकी माग्ने वैद्य पक्षले आफ्नो अस्तित्वको खोजीमा फरक मोर्चा निर्माण गरी एक महिने आन्दोलनको घोषणा गरेको छ । पार्टीभित्र आफ्नो हैसियतको प्रमाण पेस गर्ने अर्को विकल्प अब वैद्यमा नरहेको पछिल्लो मोर्चाबन्दीले पुष्टि गरेको छ । यद्यपि, यसलाई सैद्धान्तिक र वैचारिक लडाइँको संज्ञा दिइएको छ । सार्वजनिक भएकै हो, यो वैचारिक विन्दुमा मात्र छैन । सैद्धान्तिक लडाइँ अर्थपूर्ण राजनीतिको विशेषता मानिन्छ । सिद्धान्तको जगमा उभिएर गरिने गुट–उपगुटको वकालत वा संघर्षका नाराहरू आफ्नै हैसियत नापिने यन्त्रहरू हुन् । क्षणभरमा यसको परिणाम त देखिन्न, अन्ततः जनस्तरले नै यसको हैसियतलाई प्रमाणित गरिदिन्छ । यो यात्रामा माओवादी जनविद्रोह र शान्ति र संविधानको दुई अलग दिशातिर चक्कर लगाएर हिँडिसकेको छ । यो माओवादीभित्रबाटै अस्तित्व खोजीको आन्दोलनका रूपमा बुझ्न जरुरी छ । जसरी प्रचण्डले राष्ट्रमा आफ्नो शक्तिलाई ‘चील’ को नाम दिएर व्याख्या गरेका थिए, त्यही निरन्तरताको सानो रूपमा पार्टीभित्र देखिएको शक्ति व्याख्याको कारण वैद्य पक्षको पछिल्लो मोर्चाबन्दीलाई बुझ्नु पर्दछ । यद्यपि, सबैले बुझ्न जरुरी छ– को शक्तिशाली भन्ने अन्तर्संघर्षमा कोही नामेट भएर जान्छन्, कोही बहुलाएर हिँड्छन् ।
उच्छृंखल, अव्यावसायिक र उद्दण्ड चरित्रलाई नेपाली जनजिब्रोमा ‘उम्रिंदैका तीनपाते’ भनिन्छ । संयोग मानौं प्रचण्ड, किरण र बाबुराम भट्टराई नामका तीनधारीय चरित्रले उम्रिएको माओवादी अहिले त्यही उखानको भावभन्दा पर राख्नु तुलनीय छैन । तीनपाते बिरुवा हेर्दा राम्रो, हलक्क बढ्ने प्रकारको देखिन्छ, तर त्यसले राम्रो फल दिँदैन भन्ने उदाहरण चाहिँ अहिले माओवादीभित्र देखिएको अन्तर्विरोधको पराकाष्ठा, उसैका कारणले अप्ठ्यारोमा परेको राष्ट्रिय राजनीति र संविधानसभाको स्थितिलाई स्मरण गर्दा हुन्छ । संयोगवश, संविधानसभामा नेपाली जनताले उस्तै प्रकारले निर्णायक विन्दुका ‘कर्ता’ का रूपमा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेसहितको तीनदलीय शक्ति स्थापित गरिदिएका छन् । जसको फल अहिलेसम्म जनसाधारणले प्राप्त गर्नसकेका छैनन् ।
नेपाली राजनीतिक बहसमा जारी रहेका शान्ति, संविधान, सेना समायोजन, विद्रोह, सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय महŒवाकांक्षाहरू हरप्रकारले माओवादीको राजनीतिक अवस्थासँग ठोक्किएका छन् । अर्थात्, यो देशको भविष्य र दुर्गति दुवैको कारण माओवादी नै हो । जसरी गणतन्त्र, संविधानसभाको जस उसले दाबी गरेको छ, त्यो भत्कनु र बिग्रनुको दोष पनि उसैले लिनुपर्दछ । खासगरी, माओवादीका ‘तीनपात’हरूले । यसर्थ, अन्तर्विरोध समाधान गरी नागरिक अनुमोदन र जनचाहनाको कदर गर्न माओवादीमा बुद्धि पलाओस् ।

-(१३, चैत २०६८ तरुण साप्ताहिकमा प्रकाशित लेख हो । )

Friday, March 23, 2012

पर्खाइमा व्यस्त

उकालीहरु पर्खिरहेका छन्,
सडकहरु आतुर छन्,
त्यो पल फर्केला कि भन्दै,
पुसहरु स्वागतका मार्ग कोरीरहेका छन् ।
साँच्चै, गुम्बाहरु सोधीरहेका छन्,
मन्दिरहरु पर्खाइमा छन्,
मुर्तिहरु पछ्यौरी पन्छाउदै,
तिम्रो आगमनलार्इ कुरिरहेका छन् ।
गण्डकीले पत्र कोरेथ्यो,
कर्णालीले सन्देश पठाथ्यो,
महाकाली बाटो हेर्दै टोलाइरहेथ्यो,
नदिहरुले पनि निमन्त्रना पठाथे ।
तालहरुले नाउ खाली गरिसकेका छन्,
गुफाहरुले उज्यालो दिइसकेका छन्,
भीरहरुले अवरोध रोकीसकेका छन्,
त्यो साथलाइ हेर्न घाँसीकुवाहरु रसाइसकेका छन् ।
सवैले व्यस्तता त्यागेका छन्,
अवगुणाहरुलाइ लुकाइसकेका छन्,
त्यहि पलहरुको आशामा
अझै उनिहरु फेरी पर्खाइमा व्यस्त भइसकेका छन् ।

भूल

तिमीले नसम्भmेर के भयो
थोरै आश मर्यो, अलिकति पीडा बढ्यो
जीवन, तिमीसँग होइन, जीवन, मसँग भन्छ
तिमीले विर्सदा नै ठिक भयो, अलिकति आँशु mर्यो

योजनाहरु विफल भए, खुशीहरु पर सरे
आशाहरुले घटाउका एउटा नयाँ चित्र कोरे
भुलहरु भुलाउने प्रयास मैले गर्नै पर्यो
खुशी हुने एक पल किन किन त्यसै टर्यो

बसन्तको नयाँ युगमा नयाँ कुरा मैले सिकें
भिmनो आशको धागोबाट लामो माया थाम्दै टिकें
आखिरमा मेरो मात्र माया गनर्ु रहर थियो
फूल ठानें, भूल गरें, तिम्रो कुरा जहर थियो

दिनभरी हात हेरी पर्खी बसें सम्भmनालाइ
रातभरी आश गरें mूठो मेरो सपनालाइ
आखिरमा मेरो मात्र एउटा ठूलो भूल थियो
तिम्रो कुरा काँडा रैछ, मेरो आश फूल थियो

मृत्युदण्ड


यो इजलासबाट पाएको मृत्युदण्ड
मेरो मृत्युका लागि उपहास हो,
एक कसुरमा कयौं मृत्यु भोगीरहेको मान्छे
मेरो इजलासले सयौं पटक मारिसक्यो
, पनि जीउँदो मान्छे
केही अक्षरहरुमा बाँचीरहेको भन्छन् भौतिक देख्नेहरु
अक्षरहरु मृत्युका लागि नै कोरिएका रहेछन्
फेरि एक पटक मृत्युदण्ड पाएँ
मेरो इजलास त्यति सफा, निर्मल निश्चल भएर
शव्दहरु मनका कुना कुनामा ठोक्दै
निर्णयहरु सुनाउँछ
वकालत गर्ने शव्दहरुलाई
मनका दिवारहरुले छेकिरहेको ,
निर्दोष ठहर्रगर्न लागि परेका मित्रहरु
लागिरहेका छन् बारम्बार निर्दोष सावित गर्न
तर, बारम्बारको मृत्युदण्ड भोगिरहेको मान्छे
मेरो इजलास सुनाइरहन्छ, भोगिरहन्छु
निरन्तर मृत्युदण्डहरु, एक जुनीमा , सातजुनीसम्म

This poem had written ago 2 year.

Thursday, March 22, 2012

बाबुरामको हैसियत देखियो -गजुरेल


अन्ततः माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइको लोकप्रियतालाई कमजोर देख्ने चाहना पुष्कमल दाहाल प्रचण्डको नै भएको पार्टीका एक नेताले सांकेतिक रुपमा खुलासा गरे । प्रचारबाजी र यथार्थ फरक हुने भएकाले पार्टीभित्र बाबुरामको हैसियतबारे आफुहरु जानकार रहेको तर जनमानसमा मिडियाबाजीले त्यसको प्रयोग गर्नु आवश्यक रहेको उनको अभिव्यक्तिको भाव थियो । सरकार, बाबुरामको हैसियत र उनले दिएका आश्वासनहरुको अपूर्ण खेती र अहिले उनीविरुद्ध देखिएको त्यहि जनसतहको यथार्थ उनी प्रचण्डभन्दा प्रभावशाली नभएको प्रमाण रहेको ती नेताले दर्शाउने प्रयत्न गरे । कांग्रेस नेता रामशरण महतपछि बोलेका ती नेताले मिडियाबाजीले शक्ति वा प्रशंशकहरु बटुल्न सकेपनि राजनीतिमा त्यो नै तथ्य नहुने बताएका थिए ।
दाहालका नजिकका पात्र पोलिटव्युरो सदस्य हरिवोल गजुरेलले बाबुरामको लोकप्रियता सतहीमात्र भएकाले त्यो सतहमा आउनु आवश्यक देखिएको अभिव्यक्ति दिए । उनले यसो भने–‘पार्टीमा अध्यक्ष भन्दा बलियो कोहीपनि हुन सक्तैन । लोकप्रियताका हिसावले होस वा राजनीतिक ओजका हिसावले अध्यक्ष बोलियो हुन्छन् । निसन्देह प्रचण्ड बलिया थिए–छन् । तर, कान्तिपुर लगायतका केही मिडियाहरुले अतिरञ्जित प्रचार गरेपछि बाबुरामको राजनीतिक हैसियत नाप्नुपर्ने नै थियो । सरकार गठनका समयमा आएपछि यसले यथार्थ रुप पायो । अहिलेको बाबुरामको असफलतालाई उनको प्रचारवाजीसँग जोडेर हेर्दा सवैले विश्लेषण गर्न सक्छन् । रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा गजुरेलले यसो भनेका थिए । उनले बाबुरामले शान्ति प्रकृयाका लागि सेना समायोजनको काममात्र अघि बढाएको तर अरु सवै साख गुमाएको बताए । शान्ति र संविधान बाहेकका अन्य विषयमा बोलेर आफ्नो हैसियतको परिचय बाबुराम आफैंले दिएको उनको अभिव्यक्ति थियो ।

2068-12-9, Gajurel speech in reporters' club, putalisadak.