प्रचण्डको पार्टी जम्मा ६ वर्षमा ९४ ठाउँबाट पराजित हुँदा विश्लेषकहरु नै घनचक्करमा पर्नु स्वभाविक हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड |
विनोद ढकाल
नेपालीमा हरेक राजनीतिक दलहरुले भन्ने गरेको सामान्य उद्दरण हो, जनता जगन्नाथ । यसको अर्थ जनता नै सर्वोपरी हुन् र उनीहरुले गरेको निर्णय नै अन्तिम हुनेछ । दक्षिण एसीयामा लोकतान्त्रिक पद्दतीलाई विभिन्न मुलुकहरुले सामान्य हिसावमा स्वीकार गरेका छन् । खासगरी भारतीय राजनीतिबाट अभिप्रेरित नेपाली राजनीतिमा त यो अत्यन्त सामान्य बनेको छ । दरबारले पनि नेपाली जनताको निर्णयलाई आत्मसाथ ग¥यो र राजसंस्थाको अन्त्य भयो, जवकी त्यो राजनीतिक दलहरुको दलगत सहमति थियो । राजनीतिक दलहरु ज्नताका प्रतिनिधि मान्दै दरबारले देखाएको सदासायता दोस्रो संविधानसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा एकीकृत नेकपा माओवादीले देखाउन सकेन, अर्थात् उ जनताको निर्णयलाई मान्दैन, जनताको एजेण्डालाई स्वीकार गर्दैन ।
पहिलो संविधानसभामा ठूलो दलका रूपमा स्थापित भएको तत्कालीन नेकपा माओवादी (एमाओवादी) अहिलेको संविधानसभा निर्वाचनको प्रारम्भिक नतिजासँग अकस्मात् आँत्तियो । सिन्धुपाल्चोकमा आफ्नो पराजय निश्चित देखेका प्रवक्ता अग्नी सापकोटा रातारात काठमाडौं आए र बुधबार मध्यरातसम्मको नतिजापछि नै कार्यकर्ता र प्रतिनिधिहरूलाई मतगणनास्थल छाड््न निर्देशन दिए, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आदेशमा ।
निर्वाचनको पूर्ण जानकारी नआउँदै प्रचण्ड उदासमात्र देखिएनन्, हतास पनि भेटिए । पेरिसडाँडाको कुनामा पत्रकार सम्मेलन गरेर उनले निर्वाचनको मतगणना हुँदै गर्दा विश्वसमुदाय हसाउने गरी निर्वाचन मतगणनामा धाँधली भएको भने जब कि अघिल्लो दिनमात्र उनले शान्तिपूर्ण रूपमा भएको र परिणाम स्वीकार्य हुने विज्ञप्ति जारी गरेका थिए ।
अवैज्ञानिक, अराजनीतिक र गैरजिम्मेवार राजनीतिज्ञका रूपमा उनी गत बिहीबार प्रस्तुत भए । पार्टी मुख्यालय रहेको पेरिसडाँडामा निकै उदास देखिएका प्रचण्डले पत्रकार सम्मेलन गरे र हातसमा भने, ‘हामी संविधानसभामा रहन्नौं । मतगणनामा व्यापक धाँधली भयो ।’
जब कि त्यसअघि नै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्भिक रूपमा, धाँधलीरहित वातावरणमा मतगणना भइरहेको सार्वजनिक गरेका थिए, पत्रकार सम्मेलनमार्फत । निर्वाचन आयोगको आधिकारिकता, सरकारको विश्वास, राजनीतिक दलहरूको मतगणना जारी रहँदा एमाओवादीको पत्रकार सम्मेलन र धाँधलीको अभियोग संविधानसभा स्थापनामा बाधा गर्ने नयाँ हतियारका रूपमा राख्ने प्रयोग गर्ने चेष्टा भयो, प्रचण्डबाट । उनले हार वा जित सबै स्वीकार्ने त्यसअघि नै बताइसकेका थिए ।
प्रचण्डका कारण नै सम्पन्न भएको भनिएको संविधानसभा निर्वाचनपछिको घटनाक्रममा उनको पार्टी र स्वयं उनीमाथि पनि तीन कोणबाट विश्लेषण गर्न बाध्य पारेको छ । पहिलो, साधारण विचारमा एमाओवादी प्रारम्भिक नतिजाबाट आँत्तियो र उसलाई आफ्नो साख गिरेको अनुभूत भयो । दोस्रो, प्रचण्ड आफैँले काठमाडौं–१० मा पराजय भोगे र सिरहामा राम्रो नतिजा देखेनन् । जब कि डा. बाबुराम भट्टराई गोरखामा सफल हुने करिब–करिब खाका आइसकेको थियो र तेस्रो बहिस्कार आन्दोलनमा उत्रिएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग राजनीतिक एजेण्डा बाँकी रह्यो, जब कि एमाओवादीको राजनीतिक एजेण्डा पनि सकियो र अन्य लोकतान्त्रिक शक्ति बहुमतमा आए ।
शान्तिप्रक्रियायताका राजनेता बन्ने धोको र रहरमा उन्माद प्रचण्ड दोस्रो संविधानभा अर्थात् खुला राजनीतिको ६ वर्षमा कमजोर सावित भए । उनले आफ्नै पार्टी पनि टिकाउन सकेनन् र जनमत पनि जुटाउन सकेनन् । उनी नेल्सन मण्डेलाको पथमा हिँड्नुपर्ने व्यक्ति हिटलरमार्गीका रूपमा अघि बढे, ‘माओ’ मार्गी राजनीतिज्ञमा सफल हुन नसकेको प्रारम्भिक परिणाममाथि उनको स्वविश्लेषण थियो । पत्रकार सम्मेलनमा उनले अभियोग लगाए, ‘मतगणनामा धाँधली भयो, षडयन्त्र भयो त्यसैले हामी पुनःगणनाका लागि अनुरोध गर्दछौँ ।’ उनले यो पनि थपे कि पुनर्निर्वाचनको माग एमाओवादीेले गरेको होइन । अर्थात्, निर्वाचन मतगणनामा पनि संक्रमणको व्यवस्था फेरि पनि दोहो¥याउने उनको मनसाय हो । निर्वाचनको अघिल्लो दिनसम्म आतंककारी देखेका वैद्य समूहलाई निर्वाचन परिणाम संकलनकै क्रममा किन सहकार्यको अपेक्षा राखे, प्रचण्डले ? कुम जोडिएका कांग्रेस एमालेलाई किन षडयन्त्रकारी देखिरहेका छन् ? यहाँ प्रचण्डको ‘आत्मरती’ सफल हुन नसक्नु नै अर्को गम्भीर कारण बन्यो । एकजना माओवादी केन्द्रीय सदस्यले भनेका थिए– प्रचण्डले टेकेको ठाउँजतिमा एमाओवादीले जित्छ । तर, परिणाम उल्टो भयो, प्रचण्डले टेकेका ठाउँमा एमाओवादी स्पर्धाको पछि मात्र परेन, स्वयं् प्रचण्ड आफ्नै क्षेत्रमा पनि असफल भए ।
त्यसो त एमाओवादीले धाँधली भनेको निर्वाचनको पर्यवेक्षण गरेको युरोपियन युनियनले शान्तिपूर्ण र उत्साहजनक भन्ने उत्तर दियो । बिहीबारै पत्रकार सम्मेलन गरी उसले आफ्नो पर्यवेक्षणको यस्तो प्रमाण अघि सारेको थियो । उसले एमाओवादीको अभियोगलाई प्रमाणसहित सम्बन्धित निकायमा पनि उजुरी गर्न सकिने मार्ग देखाउँदै जनताको प्रतिनिधित्वको आधारलाई कमजोर नबनाउनका लागि एमाओवादीलाई अपिल पनि गरेको थियो । जहाँ एमाओवादीले धाँधलीमा देशी विदेशी शक्तिको हात भएको आरोप त्यसअघि लगाइसकेको थियो ।
संसदीय राजनीतिमा असफल र सफल हुने क्रम चलिरहन्छ । अघिल्लो संविधानसभा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेसका ठूला नेताहरू पनि पराजय भएका थिए । तर, उनीहरूले पराजयलाई स्वीकार गरी लोकतान्त्रिक आचरण देखाएका थिए । राजनीतिक सहकार्यलाई अघि बढाएका थिए । अन्तिम अवस्थासम्म पनि उनीहरूको यो आचरणका कारण यथास्थितिमा रहनुपर्ने अवस्था दोहोरिएन । प्रचण्डलाई पनि राजनीतिक संस्कारमा रहने विचार पलाउन सकोस्, समानुपातिकतर्फको मतगणना बाँकी छ । उक्त गणनापछि पार्टीको स्थितिलाई नियालेर एमाओवादीले आधिकारिक धारणा दिँदा उचित हुने थियो, हतासको निर्णय र वक्तव्यमाथि एमाओवादी विचार गर्ने ‘मुड’ मा पुगोस्, जसले नयाँ संविधानको सहज बाटो खुला गर्नेछ । अन्यथा फेरि पनि एमाओवादी नै संविधानविरोधी शक्तिका रूपमा परिभाषित हुनेछ, जसरी एमाओवादीले केही दिनअघि नेकपा–माओवादीलाई आरोप लगाउँदै राजनीतिक कोर्सबाट बाहिर राख्यो । अन्ततः जनताले एमाओवादीलाई पनि उक्त ठाउँमा राख्ने अवस्था नदोहोरियोस् ।
नेपालमा अर्को उखान छ पाएँ भनेर मात्तिनु र पाइन भनेर आत्तिनु हुँदैन । तर, त्यो उखानको विल्कुल उल्टोगरी छ वर्षअघिको संविधानसभा निर्वाचनको परिणामले मात्तिएका प्रचण्ड, सोही नसामा राजनीतिक विचारको तिलाञ्जली दिएको माओवादीलाई जनताले यस पटक आत्तिने बनाएकै हो । जहाँ, संविधानसभा नछिर्ने भन्ने भावआवेशमा प्रचण्ड आत्तिएको छर्लंग पुष्टि भयो ।
विदेशी मित्रराष्ट्रका सवै कुटनीतिज्ञले प्रचण्डलाई जनताको मतलाई स्वीकार गर्नका लागि सुझाव दिए । उनले त्यहाँ पनि स्वीकार गर्ने बताएका छन् तर विभिन्न बाहनाबाजीमा उनले फेरिपनि जनमत कुल्चिने राजनीतिक व्यभिचार राख्ने प्रयत्न हुनेछ ।
बहुमत जनताको कदर नगर्ने र जनमतलाई वेवास्त ागर्ने राजनीतिज्ञको व्यक्तिगत स्वार्थ तथा उसको दलगत स्वार्थका लागि मुलुक बन्धक बन्न सक्तैन । प्रचण्डको आत्तेसले प्रमाणित गरेको छ की जनतालाई बीचका छ वर्षसम्म उनले बन्धक बनाएका थिए र बनाउने कोसिसमा अझैपनि लागिरहेका छन् । त्यसअघि गरिएको युद्धको समयमा प्रचण्डकै स्वार्थमा मुलुक कम्तिमा १२ वर्षसम्म हिंसामा रुमल्लिएको प्रमाणित गर्ने सामान्य आधार उनले दिए । प्रचण्ड देवता होइनन्, जे भन्यो त्यहि नेपाली जनताले गर्नुपर्ने, अरुले मानिदिनुपर्ने । उनलाई जनमतले त पाखा लगाएको छ अव समग्र संविधानको प्रकृयामा सहभागी नभए उनलाई अन्य दलहरुले पनि पाखा लगाएर हिँड्न सक्नेछन्, जनमतको आधारविन्दु त्यहि आँकलनका हिसावले देखिन थालेको छ ।
अतः जनमत भ्रष्ट र वैभव बटुल्ने बाहनामा खोलिएको राजनीतिक पार्टी नामक कम्पनीमा हुँदैन भन्ने महसुस गरी राजनीतिक चरित्र निर्माण गर्न एमाओवादीले संगठनको सुधार, संगठनको विस्तार र संगठनको संरचनालाई बलियो बनाउनुपर्ने ज्ञान लिएको हुनुपर्छ । दौडमा उत्रिएको बेला कोही पहिलो, कोही दोस्रो र कोही तेस्रो हुनु स्वभाविक हुन्छ । कि दौडमा भाग नलिनेहरुको जीत हुन्छ, भाग लिनेहरुको हारपनि हुन्छ । जीतमा रमाउनेहरुले हारलाई स्वीकार गर्ने मुटु नराखे तिनीहरु दौडमा सहभागी नभएको बेस हुन्थ्यो । मुलुकलाई संविधान चाहिएका कारण अव संविधानसभातिर नै एमाओवादी छिर्नुको विकल्प छैन, जंगलमा छिर्ने जनता अव मुलुकमा सकिएका छन् । ठेकेदार र दलालहरुको झुण्ड बोकेर राजनीतिको वख्याँई गर्नुको तुक नहुने संकेत देखिइसकेको छ ।