Monday, July 28, 2014

३० वर्षको तगारो


सरकारले वैदेशिक रोजगारीमा जान महिलाको उमेर ३० वर्ष बनाएर हिंसा न्यूनीकरण गर्न खोजेको दाबी गरे पनि व्यवहारमा यो तगारोबाहेक केही भएको छैन ।


विनोद ढकाल 
झापाकी सुनिता गौतम कुवेत जाने तयारीमा थिइन् । उनी राहदानी बनाएर श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग पुगिन् । तर, श्रम स्वीकृति पाइनन् । विभागका अधिकारीहरूले उनलाई ‘वैदेशिक रोजगारीमा जान तपाईंको उमेर पुगेको छैन’ भन्ने जवाफ दिए । राहदानीअनुसार उनको उमेर ३० वर्ष पुग्न अझै दुई वर्ष बाँकी थियो ।
स्वदेशमा रोजगारीको अवसर शून्यप्रायः छ । नेपालमा रोजगारी नपाएपछि खाडीलगायतका मुलुक गएर भए पनि पैसा कमाउने चाहना बेरोजगार युवामा छ । तर, नेपाली श्रमिक महिलालाई ३० वर्षे उमेरको सरकारी लगामले उनीहरू चाहेर पनि यो उमेर पूरा नगरी वैदेशिक रोजगारीमा जान सकिरहेका छैनन् ।
उमेर सीमाकै कारण रोजगारीमा जान नपाएकी बाग्लुङकी सुनिता शर्मा कतार छाडेर अब मलेसिया जाने तयारीमा छिन् । सुनिता भन्छिन्, ‘मलेसियाभन्दा कतारमा राम्रो अवसर थियो । पारिश्रमिक पनि ज्यादा आउने ‘डिमान्ड’मा जान लागेकी थिएँ, तर उमेर नपुगेका कारण समस्यामा परेँ ।’
डा. बाबुराम भट्टराईको तत्कालीन मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीका लागि महिलाको उमेर कम्तीमा ३० वर्ष हुनुपर्ने नियम पहिलोपल्ट लागू गरेको थियो । पुरुषले नागरिकता लिनासाथ रोजगारीमा जान पाउने, तर महिलाका हकमा उमेरको बन्देज लगाइनु भेदभावपूर्ण व्यवहार भएको अधिकारकर्मीहरूको भनाइ छ ।
राष्ट्रिय महिला आयोगले यस्तो विभेदको विरोध गर्दैै यो भेदभावबारे सरकारले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने माग गरेको थियो । तर, सरकारले आयोगको मागलाई वास्ता गरेन । ३० वर्षे प्रावधानका कारण गौतम र शर्माजस्ता थुप्रै महिलाले आफूले चाहेको मुलुकमा श्रम गर्न जान पाएका छैनन् ।
वैदेशिक रोजगारीमा जाने महिलामाथि हिंसा न्यूनीकरण गर्न सरकारले यो नीति अपनाएको दाबी गर्दै आएको छ । तर, यसले हिंसा न्यूनीकरण हुनुभन्दा पनि अवैध मार्गबाट महिला विदेशिने र जोखिम अझ बढ्ने अनुमान गरिएको छ । यो नियमले अवैध मार्गबाट महिलालाई खाडीलगायतका मुलुकमा जान बाध्य बनाएको छ । सँगै वैधताका लागि पनि महिलाले उमेर बढाएर नागरिकता र राहदानी बनाउने क्रम बढ्दै गएको छ ।
वैधानिक रूपमा ०५१ देखि नेपाली वैदेशिक रोजगारीमा जान थाले पनि सरकारले ०६३ सम्म महिलालाई वैदेशिक रोजगारीमा जान बन्देज लगाएको थियो । ०६३ देखि महिला पनि वैदेशिक रोजगारीमा जान थाले । वैदेशिक रोजगार विभागका अनुसार, ०६३ देखि ०६९ अन्तिमसम्म आठ हजार आठ सय १२ महिला रोजगारीका लागि खाडीलगायतका मुलुक पुगेका छन् । तर, त्यसबेला उमेरको कुनै सीमा तोकिएको थिएन । वैदेशिक रोजगारीमा जान महिलाको उमेर ३० वर्ष पुग्नुपर्ने नीति बनाउँदा विभागका महानिर्देशक रहेका पूर्णचन्द्र भट्टराई ‘विदेशमा काम गर्न गएका महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि तत्कालीन मन्त्रिपरिषद्ले यो नियम बनाएको’ बताउँछन् ।
तर, महिला अधिकारकर्मी र महिलाका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले उक्त नियमले जोखिम न्यूनीकरणमा कुनै भूमिका निर्वाह नगर्ने बताउँदै आएका छन् । ०६८ यता १२ हजारभन्दा बढी महिला वैदेशिक रोजगारीका लागि अन्य मुलुक पुगेका छन् । तर, खाडी मुलुकमा भने महिलाको सङ्ख्या केही न्यून देखिएको छ । ‘यो सरकारी नियमले देखाएको प्रभाव मात्रै हो । तर, सङ्ख्यामा ठूलो न्यूनीकरण नआउनु भनेको मुलुकभित्र नागरिकता र राहदानी बनाउँदा अवैधानिक रूपमा उमेर बढाउने या अन्य मुलुक जानेको सङ्ख्या बढ्नु हो ।’ वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री अधिकारी सरकारी नियमअनुसार विभागले काम गर्ने दाबी गर्दै भन्छन्, ‘यो नियम लागू भएपछि महिला हिंसाको सङ्ख्यामा केही कमी आएको देखिन्छ । अन्य प्रभावबारे भने विभागले ध्यान दिने कुरा भएन ।’
सरकारी नियमका कारण पछिल्ला वर्षमा महिला खाडी मुलुकमा जाने सङ्ख्यामा कमी आएको छ । तर, रोजगारीका लागि विदेशिने सङ्ख्याचाहिँ घटेको छैन । अहिले पनि थुप्रै महिला रोजगारीको गन्तव्यको खोजी गर्दै असुरक्षित रूपमा भारतका विभिन्न सहरमा गइरहेका छन् । ‘महिला कामदार भारत हँुदै विदेश जान थालेको विषयमा सरकारसँग विवरण पनि छैन र उनीहरूको सुरक्षाको विषयमा सोच्ने संयन्त्र पनि छैन,’ महिला अधिकारकर्मी लक्ष्मी गौतम भन्छिन्, ‘तेस्रो मुलुक जान लगाइएको उमेर हदबन्दीको प्रमुख कारण हो यो । रोजगारीका लागि भारत हँुदै विदेश पलायन भइरहेका नेपालीको सङ्ख्या बढ्दै गएको पाएका छौँ ।’
सुरक्षित वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीमित महिलालाई प्रशिक्षण गर्ने गरेको छ । तर, त्यस्ता निकाय जिल्ला र ग्रामीण भेगमा नराखिएको कमजोरी स्वीकार नगरी ३० वर्षे उमेर हदबन्दी लागू गरिनु सुरक्षाभन्दा पनि असुरक्षा निम्त्याउने कारण बनिरहेको छ । गौतम थप्छिन्, ‘साँच्चै सुरक्षाका लागि सरकारी नीति बनाउने हो भने त्यस नीतिअनुसार सुरक्षित वैदेशिक रोजगारीका लागि जिल्लामा सरकारी डेस्क किन नराखिएको ? त्यसकारण उमेर त एउटा बहाना मात्रै हो ।’
वैदेशिक रोजगारीमा महिलालाई उमेरको हद दक्षिण एसियाका अन्य मुलुकले पनि लगाएका छन् । श्रीलंका, बंगलादेश, भारत, पाकिस्तानमा पनि उमेरको हदबन्दी छ । यी मुलुकले महिलालाई वैदेशिक रोजगारीमा जान २६ वर्षको उमेरसीमा तय गरेका छन् । नेपाल मात्र त्यस्तो मुलुक हो जहाँ उमेरसीमा यी मुलुकको तुलनामा बढी राखिएको छ ।
वैदेशिक रोजगारीमा महिलालाई तोकिएको उमेरसीमालाई संरक्षणवादी प्रयोगका रूपमा व्याख्या गर्नुपर्ने बताउँछिन् संयुक्त राष्ट्र सङ्घ महिला (यूएन उमन) की आर्थिक सशक्तीकरण प्रमुख सरु जोशी । उनी भन्छिन्, ‘अवसरको खोजी र आत्मसम्मानका लागि पनि महिला विदेशिएको देखियो, कलिला युवतीले पनि राहदानी बनाएको देखिएको छ ।’
राज्यको नीतिले महिलाको संरक्षण हुन नसकेकोमा जोशी सहमत छिन् । त्यसका लागि अनौपचारिक क्षेत्रमा राज्य सक्रिय हुनुपर्ने, प्रचारप्रसार र रोजगारीमा जाँदाको जोखिमबारे सजग गराउनुपर्ने उनको भनाइ छ । जोशी भन्छिन्, ‘राज्यले राहदानी बनाउँदा पाँच हजार लिएसँगै त्यति नै रकमबराबरको सूचना दिनुपर्ने दायित्व पनि हुन्छ, त्यसो भएको हामीले देखेका छैनौँ ।’
गृहिणी भएर पनि महिलाले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याएको कामबारे समीक्षा हुन नसक्दा नगदी (देखिने) कामका लागि वैदेशिक रोजगारमा उनीहरू आकर्षित भएका हुन् । तर, त्यसमा पनि राज्यको उमेरसीमाका कारण उनीहरू समस्यामा परिरहेका छन् । जोशी थप्छिन्, ‘कम्तीमा १० वर्षका लागि महिला रोजगारीका विषयमा राज्यले ध्यान दिनुपर्छ । आर्थिक नीतिमा सहस्राब्दीमा भएको कामको समीक्षामा महिलाको कामको पनि समीक्षा हुनुपर्छ, नेपाल सरकारले त्यसो गरेको पाइएको छैन ।’

सञ्चारिका फिचर, मे महिनामा प्रकाशित मेरो आलेख । 

Sunday, July 27, 2014

अन्धराष्ट्रवादले आर्थिक समृद्धि हुँदैन

हाम्रो निर्यातको सुरुआती अवस्था भारतभन्दा अन्यत्र कतै सम्भव छैन । हर क्षेत्रको नाका भारतहुँदै तेस्रो मुलुकसम्म पुग्ने भएकाले भारतसँगको राम्रो कुटनीतिक सम्बन्ध भएमात्र पनि हामी तेस्रो मुलुकसम्म आफ्नो व्यापार सञ्चालन गर्न सक्छौं । केही झुक्दै र केही उठेर भारतसँग जुनसुकै प्रकारका कुशल सम्बन्ध नराखे नेपालको विकासको बाटोमा अवरोध भन्दा अरु केही पनि हुनेछैन ।

विनोद ढकाल
‘सार्क के अर्थमा एसीयाका अन्य मुलुक भन्दा कमजोर छ ? किन कमजोर छ ?’ भारतीय विदेश मन्त्री सुष्मा स्वराजको भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंको एक कार्यक्रममा नेपालका लागि भारतीय राजदुत रणजित रायले भनेका थिए । उनले भारतको नयाँ सरकार सार्कका सवै छिमेकीसँग नयाँ सम्बन्ध कायम गरेर जाने तयारीमा रहेको पनि बताएका थिए । पक्कै पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदयसँगै सार्कको प्राथमिकता थियो । उनको शपथ ग्रहण कार्यक्रममा सार्कका सरकार प्रमुखलाई बोलाइनु र सार्क राष्ट्रबाट नै उनको विदेश भ्रमण हुनु पनि यसको संकेत हो । मोदी आफ्नो कार्यकालमा नयाँ आयाम थप्न चहान्छन् । उनी दक्षिण एसीयाको नेतृत्व गरेर विश्वलाई दक्षिण एसीया एउटा शक्ति हो भन्न चहान्छन् ।
पक्कै पनि यो रणनीति भारतको नेतृत्वदायी भुमिकामा हुने स्वार्थकेन्द्रित हुनेछ तर यसले सार्कका अन्य मुलुकलाई हानी गर्नेछैन । माओवादी जनयुद्धले जन्माएको भौतिक संरचना भत्काउने र उडाउने कामले कुनै नयाँ योजनाहरु थ्पिन सकेका छैनन् । २३ वर्षपछि विकासका लागि भारतले हात बढाएको छ तर त्यसमा संशोधन गरेर नयाँ शिराबाट सम्बन्ध सुधार गर्दै विकासको योजना अघि बढाउने कुरामा पनि विभिन्न मोर्चामा रहेका माओवादी र विभाजित माओवादीहरु ीवरोधीका रुपमा देखा परेका छन्, जहाँ कांग्रेस एमालेले झुक्नुको विकल्प देखेका छैनन् । भारत नेपालसँगका हरेक सन्धि र सम्झौता पुनर्लेखन गरेर अघि बढ्न तयार रहेको पनि भारतीय राजदुतले बताएका थिए । त्यसो भारतीय विदेश मन्त्री स्वराज पनि निक्कै आशा बोकेर नेपाल आएको बताएकी थिइन् । यसबेला नेपाल र भारत दुवैको संयुक्त आवश्यकता भनेको उर्जा संकट हो । नरेन्द्र मोदी उज्यालो भारत बनाउन चहान्छन् जसका लागि उनले आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भुटानसँग पनि विद्युत खरिद गर्ने सम्झौता गरेर फर्केका थिए । प्रचुर सम्भावना र नेपालले लगानी गर्न नसक्ने आयोजनाहरुमा भारत लगानी गर्न तयार छ । एकल वा संयुक्त लगानीका लागि पनि भारतले हात बढाएको छ । यो मौकालाई राष्ट्रघातको नाम दिएर माओवादीहरुले रोक्ने प्रयत्न गरिरहेका छन् । यो कुनैपनि हिसावले नेपाली जनतालाई ग्राह्य हुने विषय भएन । अहिले विद्युत विकास भएन भने अझै कयन वर्षसम्म हाम्रो सरकारी योजनाबाट पनि विकासका काम पुरा हुनेछैनन् । जनआन्दोलनयता नेपालले दिन प्रतिदिन लोडसेडिङको समस्या भोग्दै आइरहेको सन्दर्भमा यो प्रस्तावबाट तीन वर्षमा लोडसेडिङ हटाउने सरकारी योजना पनि पुरा हुनेछ । हो, नेपालको समस्या पुरा नभई भारतलाई सवै विद्युत बुझाउने भन्ने कुरा हुँदैन । अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपाली स्रोतबाट उत्पादित विद्युत भारतले खरिद गर्नुपर्ने विषयमा दुवै देशको सम्झौता गराउन सक्नु राजनीतिक दलहरुको भुमिका हुनुपर्दछ । तर, नेपाली राजनीतिक दल त्यसो गर्न तयार छैनन् । प्रधानमन्त्री सुशिल कोइराला उर्जा मन्त्रालय जिम्मा लिएको एमालेलाई फाइदा हुनसक्ने भन्दै यो योजनामा सक्रिय छैनन् भने माओवादीहरु पनि यसको विरोधमा छन् । तर, कुनै राजनीतिक दल विशेषको फाइदा भन्दा पनि पुरै जनताको आशा र अपेक्षामाथिको विषय हो, विद्युत सम्झौता ।
ऋर्को साता भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदैछन् । उनी आउने तयारी पनि भएको छ । तर, के मोदी आउँदा नेपालमा नयाँ सम्झौताहरु नगरिने नै हो । उनको नेपाल भ्रमण नयाँ आयामको नहुने नै हो ? कि उनी पशुपति दर्शनका लागि मात्र आउने भए ? उनी नेपाल आउनु र नेपाल सरकारसँग नयाँ सम्बन्ध कायम गरी भारतको नयाँ विदेशनीतिको प्रयोग गराउन सक्नु नै नेपाल पक्षका लागि उपलव्धिमुलक हुनेछ । यसमा व्यापार सम्झौतालगायतका अन्य सम्झौताहरु पनि हुन जरुरी छ । यद्यपि, सवैभन्दा मुल सम्झौता विद्युत सम्झौता हुन आवश्यक छ । जलविद्युत नेपालको आवश्यकता हो, भारतको आवश्यकता पनि होइन । भारत चीनसँग मिलेर आणविक उर्जाको योजनामा पनि छ । तर, नेपाल आणविक उर्जाको बारेमा कल्पना गर्नसक्ने अवस्थामा पनि छैन । हाम्रा उत्पादनका अन्य सेक्टरहरु पनि सवै कमजोर छन् । उर्जा विना अन्य उत्पादन र तिनको निर्यात पनि हुन सक्तैन । सवैभन्दा पहिले उर्जा उत्पादन, उर्जा निर्यात र उर्जाबाट मुलुकमा उद्योग कलकारखानालगायतका अन्य क्षेत्रको स्थापनापछिको उत्पादन र निर्यातको विषयमा गहन हुन आवश्यक छ । अन्धराष्ट्रवादले मुलुक चल्दैन । अहिलेको विश्वमा अघि बढ्नु छ भने मुलुकले गर्ने निर्यात र व्यापार नै हो । चीन विश्वबजारमा अगाडी आउनुको कारण उसले गर्ने व्यापार हो । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका जस्ता मुलुकहरु एक भएर नयाँ व्यापारको बाटोमा लागेका छन् । यस बेला यी उदाउँदा आर्थिक शक्तिहरुसँग सहकार्य नभए फेरि पनि नेपाल एनजिओहरुको अधिनमा रहनेछ । पक्कैपनि पश्चिमा शक्तिहरु उदाउँदा आर्थिक शक्तिहरुसँग नेपालको सम्झौता र व्यापार नहोस् भन्ने मनसायमा छन् । हामी नजिकको भुतको माया नगरी टाढाको देउताको कुरा गर्छौं । हाम्रो निर्यातको सुरुआती अवस्था भारतभन्दा अन्यत्र कतै सम्भव छैन । हर क्षेत्रको नाका भारतहुँदै तेस्रो मुलुकसम्म पुग्ने भएकाले भारतसँगको राम्रो कुटनीतिक सम्बन्ध भएमात्र पनि हामी तेस्रो मुलुकसम्म आफ्नो व्यापार सञ्चालन गर्न सक्छौं । केही झुक्दै र केही उठेर भारतसँग जुनसुकै प्रकारका कुशल सम्बन्ध नराखे नेपालको विकासको बाटोमा अवरोध भन्दा अरु केही पनि हुनेछैन ।
यसबेला नेपालको पहिलो बजार सार्क राष्ट्र, दोस्रो चीन र तेस्रो अन्य मुलुक हुनेछन् । नेपालले भारत र चीनमा मात्र पनि निर्यात गर्न सके आर्थिक समृद्धिका लागि अन्य पाटो चाहिन्न । विश्वका आधा जनसंख्या भएका यी दुई मुलुकमा हुनसक्ने निर्यातले सानो भएर पनि समृद्ध मुलुक बनाउनका लागि नेपाललाई विशाल सहयोग हुनेछ । तर, यसका लागि नेपाली राजनीतिक दल, नेपाल सरकारको ध्यान पुग्न जरुरी छ । भर्खरै भुटानको थिम्पुमा भएको सार्कका वाणिज्यमन्त्रीहरुको सम्मेलनले सार्क विकास बैंक स्थापनाका लागि सहमति गरी त्यसको खाका कोर्ने काम सुरु गर्ने निर्णय गरेको छ । यो सुखद खबर हो । यसमा नेपाल पनि सहभागी भएको छ । नेपालसँग व्यापारका लागि सल्लाह गर्ने अन्य धेरै मौकाहरु अहिले अगाडी रहेका छन् । मोदीको दुई पक्षीय नेपाल भ्रमण, नेपालमै हुने सार्क शिखर सम्मेलन र अर्को वर्ष हुने विम्स्टेक सम्मेलन पनि नेपालले विकास र आर्थिक रुपमा अगाडी बढ्नका लागि आफ्ना प्रस्ताव र एजेन्डाहरु राख्नसक्ने विशाल मौका हो । यी मौकाहरु गुम्यो भने अव मुलुक आर्थिक रुपमा अगाडी बढ्न सक्तैन । पुँजीवादमा प्रवेश गरेको र उत्पादन र आर्थिक क्रान्ति भन्ने राजनीतिक दलहरुको मुद्दाले पनि सार्थकता पाउँदैन । कागजमा लेखिएको आर्थिक क्रान्ति व्यवाहारमा पुरा गर्नका लागि अन्य मुलुकहरुसँग सम्झौता गरी निर्यात गर्नैपर्छ । आन्तरिक स्रोत नबनाइकन उत्पादन हुँदैन, नेपालसँग आन्तरिक स्रोत बनाउनका लागि पनि छिमेकसँग सम्झौता गर्नुको विकल्प अहिले छैन । होइन भने मुलुक दिनदिनै गरिब हुनेछ, जनता गरिब हुनेछन् । हामी भित्र रहेको अन्धराष्ट्रवाद जागिरहनेछ । अन्धराष्ट्रवादले आर्थिक सम्पन्न हुन सकिँदैन । 

Saturday, July 26, 2014

पत्रकारको जीवन यति सरल छ

भाग–१
एउटा विहान हुन्छ । विहानसँगै अखबारका पानाहरुमा आँखा पुग्छन् । गएराती कस्तो काम गरेछु भन्ने मुल्यांकन गरिन्छ । र, फेरि भोली विहानको अखबारका लागि अभ्यस्त भइन्छ । चिया पसलतिर गइन्छ, अनेक मान्छेहरुसँग कुराकानी हुन्छ । कसैले प्रशंशा गर्छन्, कसैले खबर सोध्छन् । धेरैले कुरा काट्छन्, रिस पोख्छन् । हरेक दिनको सुरुआत यसरी हुन्छ, सार्वजनिक जीवन जीउने एउटा पत्रकारको ।
‘साले तेरो अखबारमा मेरो चरित्र हत्या हुनेगरी किन लेखिस्, तँलाई सिध्याइदिन्छु । पत्रकारहरुको काम छैन मनलाग्दी लेख्छन् । मिडियाले अतिरञ्जित बनाएको खबर हो, यसमा सत्यता छैन । पत्रकारले संविधान बन्न दिएनन् । पत्रकारले सामाजिक सद्भाव खलबल्याए ।’ यस्तै यस्तै टिप्पणीहरु हरेक विहान सुन्नैपर्ने, सुनाउनै पर्ने र सुनिरहेको सत्यता पनि हो । यो एउटा कटु तथ्य पनि हो । तर, असल पत्रकारिताको बाटोमा हिँडेको मान्छे हात्तीको हिँडाईजस्तो अघि बढ्छ । उसका अगाडी पछाडी दायाँ बायाँ धम्की, लाभ, लोभ र लालचका अनेक प्रपञ्चहरु आइपर्दा पनि ऊ आफ्नो भविष्यको खोजीमा दौडिरहन्छ । उसको हिँडाई अटल र अवशिष्ट यात्राका रुपमा भइरहन्छ ।
पत्रकारका जीवनमा हरेक विहानहरु महत्वपूर्ण हुन्छन् । हरेक बारहरु महत्वपूर्ण हुन्छन् । हरेक समयहरु खबरपरक हुन्छन् । सार्वजनिक जीवन हुन्छ । व्यक्तिगत जीवन निक्कै कम हुन्छ । जो व्यक्तिगत जीवन बाँच्ने रहर पाल्दछ त्यो पत्रकार हुन सक्तैन, त्यो कर्मचारी वा व्यापारी हुन्छ । जीवनमा कर्मचारी वा व्यापारी बन्ने रहर जागेन, धोको मनभित्र पाकेन भने त्यो पत्रकार हुन्छ । गल्लीका चिया पसल, फाइभ स्टार होटलका सानदार क्याफेसम्मका स्वाद बोकेको डायरी र कलमधारी निर्जिव जीवले सामान्य भट्टीदेखि सानदार होटलका बारसम्म पनि बुझेको हुन्छ । जहाँ खबरका थोपाहरु हुन्छन् र त्यसलाई बटुलेर कुवाको आकार बनाउँदै अखबार मार्फत सर्वसाधारण जनतालाई प्रत्येक विहान पिउने मौकाको खोजी गर्छन् । अनि, आलोचनाको पात्र पनि बनिरहेका हुन्छन् । खोजी निरन्तर गरेर पस्केका ठाउँमा सामान्य त्रुटी भयो भनेपनि उसका विरोधमा सडकहरु तात्छन्, कारवाहीका लागि अपिलहरु हुन्छन् । 
थाहा छ यो सहरमा पत्रकारिता पेसालाई गम्भिर र सकारात्मक रुपमा लिइँदैन । पत्रकारको संगत नगरेको राम्रो पनि भन्छन् । तर, यो संसारको आँखालाई नजर पुराउनसक्ने काम उसैले गरिरहन्छ । उसका खल्तीमा पाँच रुपियाँ भएको दिन उसको धमास ठूलो हुन्छ, किनभने बुझ्नुपर्छ उसले आजको दिन ९० दिनको महिनामा तलब थापेको छ । उसले कम्तिमा पाँच महिनाको डेरा भाडामा एक महिनाको तिरेको छ । बुझ्नुपर्छ, उसले आज वर्षदिनमा एक जोर कपडा फेरेको छ । आज ऊ, सहरको सामान्य गल्लीमा देखिएको छैन । दैनिक पुग्ने अड्डामा छैन भने बुझ्नुपर्छ आज ऊ व्यक्तिगत जीवनजस्तो जिउनेगरी कतै पुगेको छ ।
नेपाली पत्रकारितामा निक्कै परिवर्तन आएको छ । यद्यपि, नेपाली पत्रकारिताभित्र पनि दुर्वल पक्ष छन् । राजनीतिक दलको लेप नलागेका, राजनीतिक दलको खोल नओढेका, राजनीतिमा असफल नभएका र तुच्छता प्रस्तुत गर्न नसक्नेहरु पत्रकार बन्न सक्तैनन् । अझ सफल पत्रकार बन्न सक्तैनन् । सफल पत्रकार बन्नका लागि यी मध्येका कुनै न कुनै गुण र दोष आवश्यक हुन्छ । तर, यी कुनैपनि गुण अथवा दोष छैनन् भने त्यो असफल पत्रकार हो ।
नेपाली पत्रकारिताको अर्को फाइदा नै भनौं । यहाँ काम गरेवापतको श्रम लिनका लागि प्रत्येक महिना रुनुपर्छ । कराउनुपर्छ । अनि, झगडा गर्नुपर्छ । बल्ल ९० वा १२० दिनमा साहुले श्रीमतिको ढुकुटीका लागि छुट्याएको रकम तलब भन्दै बाँड्छन् । व्यापारका लागि पत्रिका खोलेका साहुलाई काम गरेको श्रम मागेको मन पर्दैन, श्रमका लागि लडाइ गरेको मान्छे मन पर्दैन । उसले निकालिदिन्छ । त्यतिमात्र गर्दैन त्यसबाहेकका अन्य मिडिया हाउसम्म उसको उत्तिकै पहुँच भएकाले सवै साहुलाई त्यो व्यक्तिलाई जागिर नदिनु भनेर अर्को पुरस्कार थपिदिन्छ ।
हो, एउटा असल पत्रकारसँग आत्मसम्मान हुन्छ । उसँग घमण्ड हुन्छ । सुचनाहरुको थुप्रोमाथि बर्षौसम्म काम गरेका कारण उसँग त्यसको घमण्ड पनि हुन्छ । त्यसकारण उसले त्यो घमण्ड प्रस्तुत गर्दछ । त्यसैले उसलाई घमण्डी पनि भनिन्छ । त्यो घमण्ड बोकेर गर्दै गरेको कामबाट निकालिएर ऊ नियमित गल्लीमा पुग्छ र कसैले सल्काएको ठूटो चुरोट उडाउँदै भन्छ– मेरो जागिर गयो । तिमीले कहिले जागिर खाएका थियौ ? तिमिले कहिले पेन्सन थापेका थियौ ? तिमीले कहिले भत्ता लिएका थियौ र ? यस्ता प्रश्न गर्ने सहकर्मी पनि उसले भेट्दैन ।

यो निरन्तर व्लगीङमार्फत आउनेछ ।

Thursday, July 24, 2014

डरलाग्दो यौनहिंसा

कडा कानुनी उपचारको व्यवस्था भएपनि समाज हुने यौनहिंसालाई महिला आफैंले पनि बाहिर नल्याएका कारण समस्या समाधानको साटो बल्झिँदै गएको छ । घटनाहरु न्युनिकरणका लागि चेतनासँगै कानुनी कारवाही र समाजिक कारवाहीको पनि व्यवस्था हुनुपर्ने हो तर कहाँ छ ? महिलाविरुद्धको उजुरी, हिंसा र त्यसको कारवाहीका लागि सरकारी न्यायका लागि राष्ट्रिय महिला आयोग भएपनि प्रभावकारी रुपमा आयोगले काम गरिरहेको पाइँदैन । 


नेपाली समाजको चेतनास्तरको विकास नभएकै कारण नै समाजको प्रणाली, व्यक्ति र तिनको व्यवाहार र आचरणमा सुधार आउन सकेको देखिदैन । मुलुक विकास र अपराधहिन बनाउनका लागि चेतनाको विकास अनिवार्य हुन्छ । तर, चेतना कसरी समाजमा जगाउने भन्नेबारेमा राज्य गम्भिर हुन नसकेको हो अथवा सामाजिक प्राणीका रुपमा रहेका हामी आफैं गम्भिर हुन नसकेका हौं, समिक्षा गर्नुपर्ने भएको छ ।
समाजमा यौनहिंसाविरुद्धका अभियान कति चले थाहा छैन । तर, सहरमा निक्कै चलेका थिए । सहर र ग्रामिण भेगमा हुने यौनहिंसाका प्रकृति फरक होलान् तर दुवैको कारण भने एउटै छ, चेतनाको कमी, कानुनको बलियो कार्यान्वयन नहुनु आदी इत्यादी । फेरि यौनहिंसा निरन्तर चलिरहेको छ । न्युनिकरणको गुञ्जायस कति राख्ने ? समाज कतातिर हिँडिरहेको छ ? सवैले समिक्षा गर्न आवश्यक छ ।
विहीबार राती फेरि एक १६ वर्षिय किशोरीको सामुहिक बलात्कार भयो । कञ्चनपुरको भिमदत्त नगरपािलकाकी ती किशोरीलाई चारजनाले सामुहिक बलात्कार गरेका थिए । प्रेमीले कोठामा बोलाएर सामुहिक बलात्कार गरेको प्रहरी बताउँछ । अभियुक्तहरु चरै जनालाई पक्राउ गरिएको छ । बलात्कारमा संलग्न भगतपुरका दीपक चौधरी, रमेश चौधरी, चन्द्रकान्त पन्त र युवतीका प्रेमी भनिएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको एसपी राजेन्द्रप्रसाद चौधरीले बताए । युवतीको बयानका आधारमा राति २ बजेतिर चारै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको चौधरी बताउँछन् । बलात्कृत युवतीको अवस्था सामान्य रहेको छ । बलात्कृत युवती भगतपुरमा डेरा गरी बस्दै आएकी थिइन् । पक्राउ परेका चारै जनाले बाटोमा हिँडिरहेका बेला प्रहरीले बिनाकारण पक्राउ गरी हिरासतमा राखेको बताइआएका छन् ।
त्यसो त बलात्कारका घटना कम छैनन् । विहीबारमात्र श्रीमतिलाई बलात्कार गरेको अभियोगमा काभ्रेप्लान्चोक पनौति नगरपालिका–३ का देवशरण बन्जारा पक्राउ परेका थिए । बहुविवाह गरेका बन्जाराकी माहिली पत्नी अमृताले पतिले आफुलाई बलात्कार र कुटपिट गरेको उजुरी गरेकी थिइन् । २२ असार साँझ बलात्कार गरेको उनले दिएको उजुरीमा उल्लेख थियो ।
गएको महिना पतिसहित मिलेर एक युवतीको मोरंगको विराटनगरमा सामुहिक बलात्कार गरे । विवाह गरेको केही सातामै ती युवती पति सन्तोष र देवर सुमन उपाध्यायबाट बलात्कारको शिकार भइन् । हेटौंडा निवासी सन्तोषको १ वैशाखमा विवाह भएको थियो । दाजुभाई मिलेर लठ्याउने औषधि खुवाएर बलात्कार गर्नेगरेको पीडितले दिएको उजुरीमा उल्लेख थियो । १७ जेठमा उनीमाथि सामुहिक बलात्कारसहित शारिरीक यातना समेत दिइएको थियो । उनका देवर सुमनले बलात्कार गरेको स्वीकार गरेका थिए । बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
छोरी वलत्कार गर्ने भोजपुरको दक्षिणि होम्ताङ्ग–२ का सखलाल राईलाई जिल्ला अदालत भोजपुरले ५० हजार जरिवाना सहित २० वर्ष कैद सजाय सुनाएको छ ।
गत बैसाखमा महिनामा घरमा कोहि नभएको बेला छोरीलाई बलत्कार गर्दगदै आमाले देखेपछी घटना वाहिर आएको थियो । बलात्कार पछि फरार रहेका अभियुक्त सकलाललाई प्रहरीले संखुवासभा जिल्लाबाट पक्राउ गरेको थियो । आफ्नै छोरीलाई जवरजस्ती गरेको  जाहेरिका आधारमा प्रहरले राईलाई  प्रक्राउ गरेको थियो ।
त्यस्तै, १२ वर्षिया छोरीलाई बलात्कार गर्ने हेटौंडा–८ का ४० वर्षिय जीवन लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनकी पत्नी सुकमायाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका थिए । साइँली छोरीलाई बलात्कार गरिरहेको अवस्थामा माहिली छोरीले देखेपछि उनी पक्राउ परेका थिए । उनले छोरीलाई बारम्बार बलात्कार गरेको उजुरीमा उल्लेख थियो । 
महिला हिंसाविरुद्धको अभियान कम छैन । महिला हिंसाविरुद्ध धेरै अभियानहरु पनि चलिरहेका छन् । तर, महिलाहिंसाको डरलाग्दो पाटोका रुपमा देखिएका बलात्कारका घटनामा न्युनिकरण आउन सकेका छैनन् । चेतनास्तरको विकास नभएको र हिंसा सहने कारणले पनि बलात्कारका घटना बढिरहेका छन् । यस्ता घटना अधिकारकर्मी र पत्रकारसम्म पुगेका मात्र बाहिर आएका छन् । कतिपय घटनाहरु गुपचुप राखिने गरेका कारण पनि बलात्कारका घटना मौलाइरहेका छन् ।
कडा कानुनी उपचारको व्यवस्था भएपनि समाज हुने यौनहिंसालाई महिला आफैंले पनि बाहिर नल्याएका कारण समस्या समाधानको साटो बल्झिँदै गएको छ । घटनाहरु न्युनिकरणका लागि चेतनासँगै कानुनी कारवाही र समाजिक कारवाहीको पनि व्यवस्था हुनुपर्ने हो तर कहाँ छ ? महिलाविरुद्धको उजुरी, हिंसा र त्यसको कारवाहीका लागि सरकारी न्यायका लागि राष्ट्रिय महिला आयोग भएपनि प्रभावकारी रुपमा आयोगले काम गरिरहेको पाइँदैन । यद्यपि, आयोगसम्म पुगेका मुद्दाका विषयमा भने आयोगले मुद्दा चलाउने गरेको छ । कतिपय मुद्दाहरु आयोगसम्म पनि पुगेका छैनन्, प्रहरीसम्म पनि पुग्ने गरेको छैन । कतिपय मिलापत्रमा मिलाइने गरेकाले पनि पीडकहरुले हौसला पाउने गरेका छन् ।
कतिपय ठाउँमा कानुनको रक्षकहरु पनि यौनहिंसा पीडकका रुपमा सार्वजनिक हुन थालेका छन् । अछाममा नेपाल प्रहरीका सहायक निरीक्षकबाट १५ वर्षीया एक किशोरी बलत्कृत भइन् । घुघुरकोट–२ की ती किशोरीलई प्रहरी सहायक निरीक्षक ललमणि नाथले जबर्जस्ती करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको छ । किशोरीका आफन्तले नाथविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । जाहेरीमा असार ३० गते नाथले किशोरीलई बलत्कार गरेको उल्लेख भएको निमित्त जिल्ल प्रहरी प्रमुख इन्स्पेक्टर लक्ष्मण खड्काले जानकारी दिए । बैतडी रुद्रेश्वर घर भएका ४० वर्षीय नाथ इलका प्रहरी कार्यालय घुघुरकोटमा कार्यरत छन् । किशोरी बलत्कारको आरोप लागेका नालाई जागिरबाट निलम्बन गर्न बिहीबार नै क्षेत्रीय प्रहरी कार्यालयलई पत्र लेखेको खड्काले जानकारी दिए । आरोपित नाथ घटना भएको भनिएको दिनदेखि नै जिल्ला प्रहरीको नियन्त्रणमा रहेको खड्काले जानकारी दिए । किशोरीको बिहीबार नै जिल्ल अस्पताल मङ्गलसेनमा स्वास्थ्य परीक्षण गरिएको थियो । नाथविरुद्ध बिहीबार नै जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।
यौन हिंसा कानुनी अपराधमात्र होइन, सामाजिक दुराचार हो । यसमा सजाय दिँदैनमा पीडितको मानसिक अवस्था सुधारिन्छ र उसले क्षतिपूर्ति पाउँछ भन्ने हुँदैन । यौनहिंसा न्युनिकरणका लागि घरदेखि नै चेतना, सामाजिक अपराध, कानुनी अपराधको पाटोमा शिक्षा दिनुपर्ने खाँचो देखिएको छ । खासगरी दक्षिण एसीयाभित्र यौनहिंसा भयानक हुने गरेको छ । उल्लेखित घटनाहरुलाई नै हेर्ने हो भने पनि ग्रामिण र चेतनाको अभाव भएका ठाउँमा नै यौनहिंसाले व्यापकता पाएको छ । यी घटनाहरु प्रहरीसम्म पुग्नु चेतनाको कारणले भएका होइनन्, यातनाको प्रताडना सहन नसकेका कारणले भएका हुन् । अव यी ठाउँहरुमा चेतनाको स्तर उकास्नुपर्छ या पर्दैन ? सहरका तारे होटलमा यौनहिंसाविरुद्धको अभियानको बारेमा धेरै कार्यक्रम भए । धेरै कार्यक्रम अहिले पनि काठमाडौंका सडकमा भइरहेका छन् । अधिकतम बजेटहरुले सहरमा सुकिला मुकिला नै पोसिएका छन् । अव ती बजेट, चेतनाका ति कार्यक्रम सहरकेन्द्रि होइन, पीडित केन्द्रित हुनुपर्छ । पीडितले न्याय पाउने र पीडकले आत्मग्लानी गर्ने कार्यक्रमका लागि खर्च हुनुपर्छ ।

Tuesday, July 22, 2014

उर्जा नभए सिथिल हुन्छ देश

नेपालले अब व्यापारका लागि जलविद्युतको उत्पादनको विकल्प खोज्नु हुँदैन । आन्तरिक बजार होस् या बाहिरको बजार त्यसका लागि उर्जाको उत्पादन नै प्रमुख हो । अहिलेको विश्व व्यापारमा टिकेका कारणले नै नेपालसँग निर्यात गर्नका लागि उर्जाको विकल्प छैन । आन्तरिक लगानीमा कमजोर नेपालका लागि बाह्य लगानी यसको प्रमुख स्रोत बन्नसक्छ । आन्तरिक हित कायम गर्दै बाह्य लगानीमा जोड दिनु राम्रो हुनेछ ।
आन्तरिक द्वन्द्वका कारण ०५२ साल पछिको २० वर्षमा विकासको गति लिन नसकेको मुलुकका लागि विकासको दौडको तिव्रताका लागि उर्जा लगानी आवश्यक छ । पैसा भएन भने मुलुक गरिब र तन्नम हुने भएकाले पनि पैसाका लागि पनि उर्जाको उत्पादन र निर्यातमा राज्य गम्भिर हुन आवश्यक छ । केही मान्छेको स्वार्थ, केही पार्टीको स्वार्थका कारण विकासे एजेन्डाबाट पछि परेको नेपालका लागि आएका सुनौलो मौकालाई गुम्न दिनु हुँदैन ।   

‘जसरी पनि हुनेछ उर्जा सम्झौता’ 

उर्जाको बृहत्तर विकास र उत्पादनका लागि भारत सरकारले नेपाल सरकारलाई पठाएको सम्झौताको मस्यौदालाई  नेपाली सार्वभौमिकतामा आँच नलाग्ने गरी परिवर्तन गरी ‘जसरीपनि’ हस्ताक्षर गरिने भएको छ । 
उर्जा मन्त्रालयले विद्युत क्षेत्रमा सहयोग सम्बन्धी सम्झौताको प्रस्तावित मस्यौदामाथिको टिकाटिप्पणी उठेपछि छलफललाई स्थगन गरेपनि प्रधानमन्त्री सुशिल कोइराला आएपछि नेपाली कांग्रेस, नेकपा एमाले र सत्ता साझेदार दलहरुसँगको छलफल चलाएर सम्झौतामा हस्ताक्षरको पहल गर्नेछ । ‘यो छलफल अहिले स्थगन भएको हो, हस्ताक्षर गरी विकासका लागि उर्जा उत्पादनमा हामी पहलकदमी उठाउनेछौं, राष्ट्रियहित विपरित सम्झौता हुँदैन तर राष्ट्रिय उत्पादनका लागि हामीसँग उर्जा सम्झौता गर्नुको विकल्प छैन ।’, उर्जामन्त्री राधा ज्ञवालीले भनिन्,‘यसबारेमा मैले पूर्वउर्जामन्त्रीहरु, उर्जा विज्ञहरु र सरकारी अधिकारीहरुसँग पनि छलफल गरिसकेकी छु, बृहत्तर हितका विषयमा विरोधभन्दा पनि सकारात्मक छलफल गरेर अघि बढ्नेछु ।’
सन् २०१० मा नेपालले पठाएको प्रस्तावको उत्तर भारत सरकारले २०१४ मा पठाएको र उसको मस्यौदामा हेरफेर गर्न सकिने व्यवस्थापनि रहेकाले आपसी समझदारी बन्ने विन्दुमा पुगेर सम्झौता जसरी पनि गर्ने तयारी सरकारले गर्नेछ । ‘यो सम्झौता भारतका लागिमात्र नभएर नेपालको हितमा हुनेछ । भारतको बजार खुला भएपछि नेपाली विद्युत वंगलादेश र श्रीलंकासम्म पनि हामी बेच्ने योजनामा छौं ।’, ज्ञवालीले भनिन्,‘श्रीलंका पनि नेपाली उर्जा किन्न आतुर छ, भारतीय बजार प्रमुख बजार हुनेछ र वंगलादेश पनि विद्युत किन्नका लागि तयार छ ।’

सम्झौताको धार ३ (ख) मा भारतको शतप्रतिशत लगानी वा नेपालसँगको साझेदारीमा विद्युत विकास गर्ने भनी उल्लेख गरिएकोप्रति शंका गर्ने ठाउँ नभएको अधिकारीहरुले बताएका छन् । उक्त धारामा उल्लेख गरिएको विषय भारतले कुनै खास योजनामा शतप्रतिशत गर्नसक्ने अर्थमा सम्झौताको मस्यौदा आएको हो । त्यसमा नेपाली लगानी अनिवार्य हुने अधिकारीहरुको दाबी छ । भारतको प्रस्तावमा विरोधाभाष हुनेगरि भएको व्याख्यालाई सहजीकरण गर्नका लागि आन्तरिक रुपमा छलफलपछि वाक्य सुधार्न सकिने पनि ज्ञवालीले बताइन् ।
‘जसरी पनि व्याख्या गर्ने प्रचलनले विगारेको छ, भारतसँग सम्झौता गर्दा पहाडै खस्छ भन्नेहरुले यस्तो व्याख्या गरेका हुन् । सम्झौताको मस्यौदाले अन्य मुलुकको लगानी हुन सक्तैन पनि भनेको छैन, त्यसमा पर्याप्त सुधार्ने ठाउँ छ ।’, पूर्वउर्जा मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले भने,‘नेपालको स्रोतमा भारतअनुकुल व्याख्यामात्र हुनदिने छैनौं, यो मस्यौदा हो, यसमा हेरफेर हुनसक्ने कुरा आइसकेको छ ।’
प्रस्तावित मस्यौदामा नेपालका लागि भारत अझ उदार हुनसक्ने र त्यो नेपालको पक्षमा रहेको पनि महतको दाबी छ । उनले भने,‘विद्युत उत्पादन, प्रसारण लाइन वितारण र विभिन्न ठाउँमा ग्रिड राख्न सहयोग भनेको नेपाली विद्युत उत्पादन तेस्रो मुलुकमा पनि पुराउन सकिने व्यवस्था हो । त्यसको उपयोग नेपालले गर्नुपर्छ ।’
नेपाल–भारत विद्युत सम्झौता हुन नसके नेपाली विद्युत उत्पादन भएपनि बजार अभाव हुनेछ । आन्तरिक बजारले मुलुकको व्यापार घाटाको अन्त्य हुँदैन । भारतमा बजार विस्तार गर्न सकिएमात्र वंगलादेश र श्रीलंकासम्म पनि व्यापार गर्न सकिन्छ । ‘नेपाली विद्युत पुरै सार्क राष्ट्रमा नै व्यापार गर्नका लागि भारतसँगको सम्झौता अनिवार्य भइसकेको छ, भारतमा विद्युत पु¥याउन सकेमात्र सवैतिर पुगिन्छ ।’, उर्जामन्त्री ज्ञवालीले थपिन् । 
‘सम्झौता राम्रोसँग नपढि भएको व्याख्या र अतिरञ्जित विषय बाहिर आएका कारणले बहिर नकारात्मक हल्ला भएको हो । पूर्वउर्जा मन्त्रीले विरोध गरेका थिए भन्ने कुरामा सत्यता छैन, मैले विरोध गरेको छैन ।’, महतले भने,‘यसले आपसी समझदारी र भारतसँगको सम्बन्ध पनि विग्रन सक्ने थियो । हाम्रै नेताहरुले पनि यो कुरा नबुझी बोलेको पाएँ ।’ 
‘उर्जा सम्झौता गोप्य राखियो भन्ने कुरा गलत हो । यो सार्वजनिक गर्ने बेला भएको थिएन । मस्यौदा तयार गरिरहेका थियौं । यसलाई क्याविनेटमा पास गराएर सम्झौता भएपछि व्यवस्थापिका संसदमा पास गराउने प्रावधान पनि कायम नै थियो । यसबारेमा विविध पक्ष केलाएरमात्र हामीले सम्झौता गर्ने तयारी गरेका थियौं । अव प्रधानमन्त्री आएपछिमात्र हामी छलफल अघि सारेर यसबारेमा सम्झौता गर्नेछौं ।’, ज्ञवालीले भनिन् ।
भारतले दुई पक्षबीच विद्यमान अन्य सम्झौता तथा उनीहरुले अन्य देशसँग गरेका सम्झौताअन्तर्गतका उनीहरुको दायित्वमा यो सम्झौताले फरक नपार्ने उल्लेख गरिसकेको छ । सम्झौताको व्याख्या र कार्यान्वयनका शिलशिलामा उत्पन्न हुने कुनैपनि विवादको समाधान दुई पक्षबीच आपसी छलफल आपसी छलफलबाट समाधान गर्ने प्रस्ताव भारतले गरेको छ । नेपाल सरकारले उक्त सम्झौता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेलामा गर्ने तयारी गर्नेछ ।

भारतसँग धेरै विकल्प छन् : राजा मोहन 

भारतका विदेश मामिलासम्बन्धि विश्लेषक राजा मोहनले विवादमा तानिएको उर्जासम्बन्धि प्रस्तावित मस्यौदा नेपालको हितमा रहेको बताएका छन् । 
सोमबार भारतीय लाइब्रेरीमा भएको कार्यक्रममा राजा मोहनले भारतले नेपालसँग उर्जा सम्बन्ध बढाउन चाहेका कारणले नै मस्यौदा आएको र यसमा नेपालले हुन्छ वा परिमार्जन गरेर हुन्छ भन्ने अवस्था रहेको बताए । तर, नेपालले अस्वीकार गरे त्यो अस्वीकार पनि हुने अवस्थामा रहेको उल्लेख गरेका उनले त्यसले भारतलाई फरक नपर्ने पनि बताए । ‘विद्युतका लागि भारतसँग अन्य विकल्पहरु प्नि छन्, नेपालसँगको सम्बन्धका आधारमा जलविद्युतबारेको खास व्यापार सम्झौताको कुरा गरेको हो तर नेपाल पक्ष यसमा सन्तुष्ट छैन भने त्यसले फरक पर्दैन । नेपालकै हितमा यो प्रस्तावको मस्यौदा आएको छ ।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सार्क र अन्य राष्ट्रसँग बृहत्तर हितकर सम्बन्ध बनाउनका लागि भ्रमणमा आउन लागेको जानकारी दिँदै उनले छिमेकको सम्बन्ध सुधार गर्नु भ्रमणको उद्देश्य रहेको बताए । ‘मोदीले आफ्नो सपथ पछि भुटानको भ्रमण गर्नुभयो, त्यसपछि वंगलादेश जानुभयो र अव नेपाल आउने योजनामा हुनुहुन्छ ।’, उनले भने,‘उहाँ सम्बन्ध विस्तार गर्दै सार्कलाई एक ठाउँमा प्रभावकारी बनाउन चहानुहुन्छ ।’

Wednesday, July 16, 2014

अँध्यारोबाट उज्यालेतिर कसरी ?

पाँच करोड रुपियाँ सानो रकम होइन । देश विकासका लागि नसोच्ने सभासदहरुका लागि उक्त रकम विनियोजन गर्नुभन्दा जनताका नाममा नयाँ जलविद्युत योजना ल्याएर उक्त रकम विनियोजन गर्नु सरकारको हितमा हुनेछ । 

हामीकहाँ राजनीतिक रुपमा कालो दिन कम छैनन् । असोज १८, माघ १९ यी कालो दिनका सुचकका रुपमा हामी व्याख्या गर्छौं । यी रुपमा कालो दिनहरु हुन् । तर, सारमा हामी हरेक दिन कालो दिन विताइरहेका छौं । हामीकहाँ लोकतन्त्र प्राप्त हुनु, शान्ति प्रकृयाबाट फेरि संसदीय राजनीति र बजेटको जोडघटाउको लडाईको सुरुआत कतै कालो दिन त हैन ? भन्ने लाग्न थालेको छ । अँध्यारोबाट उज्यालोतिर कसरी जान्छ मुलुक ? हामी यो प्रश्नमाथि घनिभुत छलफलमा जुटेका छैनौं । जुट्न आवश्यक छ की छैन ? आदर्श र सपनाका कुराहरु निक्कै रमाइला लाग्छन् । तर, व्यवाहारमा देखिएको चित्रको वर्णन निक्कै दुखसाथ गर्नुपर्ने हुन्छ । आर्थिक बृद्धि केही देखिएपनि आर्थिक सर्वेक्षण चित्तबुझ्दो छैन । विश्वबजारमा हामी कमजोर भइरहेका छौं, जनता, नेता, प्रशासन र पुरै मुलुक पनि ।
जबसम्म निर्यात सम्भव छैन, तबसम्म मुलुकको आर्थिक बृद्धिदर विकासको बाटो खुल्ने छैन । लामो समयसम्म हामी विकास र आयआर्जनको दृष्टिले जाममा परेका छौं । यो जाम खोल्ने मौका हामीसामु हुँदा पनि अघि बढ्न सक्ने स्थिति देखा परेको छैन । विभिन्न राजनीतिक दलका बाधाहरुले मुलुकको विकास नै प्रभावित भएको छ । विकासका लागि आम्दानी र आम्दानीका लागि स्वदेशि उत्पादनको निर्यातमा व्यापकता नै चाहिन्छ । मुलुकमा उत्पादनका लागि उर्जा र उर्जाका लागि राज्यको लगानी आवश्यक छ । हर क्षेत्रको निर्यातका लागि उर्जाको विकास अनिवार्य भइसकेको छ । तर, हामी दुई ठूला शक्ति राष्ट्र र आधा विश्वका बीचमा भएर पनि निर्यातमा कमजोर भइरहेका छौं ।
केही महिनाअघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान भ्रमणमा गएका थिए र त्यहाँ जलविद्युत र उर्जा आयातका लागि सम्झौता गरेर फर्किएका छन् । भारतमा पनि उर्जाको समस्या छ र उत्पादनमा पनि समस्या छ । भुटानबाट त्यहाँ विद्युत निर्यात हुने काम भइरहेको छ । हामी मुलुक विकासका लागि भारतीय सहयोगको अपेक्षा गरिरहेका छौं । भारतको नयाँ बजेटले नेपाललाई सहयोग रकम बढाउने निर्णय गरेको सुचनाहरु आएका छन् । केही महिनामा मोदी नेपाल भ्रमणमा आउनेछन् । त्यो मौकामा हामीले प िउत्पादन र निर्यातको व्यवस्थ ागर्नसक्नुपर्दछ ।
नेपालले तत्कालका लागि कुनै खास उत्पादन निर्यात गर्नसक्ने अवस्था छैन । बरु विद्युत उत्पादन गरी निर्यात गर्ने अवसर हामीसँग छ । तर, त्यसका लागि लगानी र सुरक्षाको चुनौति ठूलो छ । तर, सरकारले चाहँदा ती चुनौति र सुरक्षाको व्यवस्थ ागर्न नसक्ने होइन । वैदेशिक सहायता रकममा विभिन्न मुलुकको लगानीमा हामी विद्युत उत्पादनका लागि ठूला योजनाहरु तर्जुमा गरिरहेका छौं । तर, त्यसले मुलुकलाई आम्दानीको बाटो पहिल्याउँदैन । स्वदेशि लगानीका आधारमा भएको उत्पादनको विक्रिबाट नै आम्दानी हुनेछ । त्यसकारण पनि जलविद्युत र ठूला योजनामा स्वदेशि लगानी गर्नु उपयुक्त हुनेछ ।
विश्वबैंक, एसीयाली विकास बैंकलगायतका विभिन्न लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरुले पनि उर्जा लगानीका लागि नेपाललाई ऋण दिनसक्ने जनाएका छन् र विभिन्न सम्झौताहरुमा हस्ताक्षर पनि गरिरहेका छन् । साना, मmभौला हुन् या ठूला सवैप्रकारका विद्युत आयोजनामा नै नेपालको लगानी अहिले आवश्यक छ ।
विकास, योजना, शिक्षा र स्वास्थ्यमा अहिले पनि मुलुक कमजोर अवस्थामा छ । खासगरी अहिलेको मुल आवश्यकता भनेको उर्जा संकट समाधान नै हो । हामी लोकतन्त्रको लामो समयसम्म पनि उर्जा संकट समाधानको पक्षमा दबाब दिन कमजोर भइरहेका छौं । हरेक क्षेत्रमा भएको राजनीतिकरण र हरेक क्षेत्रमा राजनीतिक लाभांश लिने प्रवित्तिको शिकार कारण मुलुक अन्धकारबाट उज्यालोतिर लम्किन पाएको छैन ।
सरकारले विकासे खर्चमा कटौती गर्न पाउने छैन, त्यसकारण आर्थिक वर्षमा विकास मुख्य लक्ष्यका रुपमा सरकारको कर्तव्यका रुपमा देखा पर्नेछ । नयाँ आर्थिक वर्षको बजेटको तयारी भइरहँदा सरकार गम्भिर हुन आवश्यक छ । यतिवेला संसदमा प्रत्येक सभासदको क्षेत्रका लागि ५ करोड रुपियाँ विनियोजन गर्नुपर्छ भन्ने माग बढेको छ । त्यसको औचित्यबारे पनि बहस भइरहेका छन् । सरकार दिने या नदिने भन्ने दुइवटा विचारमा विभाजित भएको छ । र, सभासदहरु पाउनुपर्ने अडानमा छन् ।
पाँच करोड रुपियाँ सानो रकम होइन । देश विकासका लागि नसोच्ने सभासदहरुका लागि उक्त रकम विनियोजन गर्नुभन्दा जनताका नाममा नयाँ जलविद्युत योजना ल्याएर उक्त रकम विनियोजन गर्नु सरकारको हितमा हुनेछ । यदि जनता जनार्दन हुन् भने ६ सय १ का लागि विनियोजनको माग भइरहेको पाँच करोड रुपियाँको दरले सम्बन्धित क्षेत्रका जनताको लगानीका नाममा कुनै खास जलविद्युत आयोजना बनाउनु उपयुक्त हुनेछ । ३० अर्बभन्दा बढिको उक्त रकम खास आयोजनाका लागि विनियोजन भए ५ वर्षभित्र मुलुक अन्धकारबाट निस्कन्छ र प्रत्येक जनताले राहतको महसुस गर्नेछन् ।
राजनीतिक रुपमा भन्दा पनि पहिले मुलुकको हितको रुपमा सवै क्षेत्रबाट सोच्ने र लगानी गर्ने अवस्था छ । हामी पछि पर्नुको मुख्य कारण हाम्रो आचरण हुने गरेकाले पनि आफ्नो आचरण भन्दा पहिले मुलुकको हितको बारेमा सोच्नका लागि राजनीतिक दल र तिनका नेता कार्यकर्तामा बुद्धि पलाउन आवश्यक छ । दुनियाँका सामु कमजोर मुलुक होइन, दुनियाँका सामु विकसित र एउटा उदाहरणीय मुलुक बन्नका लागि पनि हामी अघि बढ्न आवश्यक छ । त्यसका लागि सरकार, सभासद, कानुनविद, पत्रकार सवैको सामुहिक जोड विकासको तिव्र बाटो र उत्पादनको क्षेत्रतिर हुन आवश्यक छ ।
विश्वमै जलविद्युतको प्रयोग गर्ने पहिलो राष्ट्र भएर पनि हामी पछि पर्नुको कारण के हो ? यसको विवेचना गर्नु अनिवार्य छ । अन्य मुलुक अन्धकारमा हुँदा नेपाल उज्यालोको महसुस गरिरहेको थियो । यहाँको पानीको उत्पादन शक्तिको परिक्षणदेखि विश्वसमुदाय छक्क परेका थिए । तर, अहिले दुनियाँ उज्यालो हुँदा हामी वर्षा या पानीको वेगको पर्खाइमा अभ्यस्त हुन थालेका छौं । यो दुखदायीपूर्ण समयदेखि उम्किनका लागि बारम्बार आउने मौका खेर फाल्यौं भने हामी कहिलेपनि अघि बढ्न सक्तैन । 

Friday, July 11, 2014

रिहानाको आगमन

रिहाना यी सवै कुरालाई छिचोलेर फरक समुदाय, फरक धर्म तर मानवता एक हुनुपर्छ भन्ने सोच राख्छिन् । यो उनको साझा सोच हो या मसँगको आकर्षण त्यसको सुइँको मैले पाएको छैन । 

साइबर लभ–२२

जव काठमान्डू रुझ्ने गर्छ समय–समयमा, सहरका हर कुनामा देखिन्छ एउटा सुन्दर आकृति । मान्छेहरु हतारमा हुन्छन् तर त्यो हतार पनि सुन्दर देखिन्छ । मान्छेहरु व्यग्र प्रतिक्षामा उभिएका हुन्छन्, उनका अनुहारमा चुहिने हर थोपाहरु सुन्दर देखिन्छन् । सुन्दरताको वर्णन गर्नेहरुका आँखाको अर्को व्याख्या हुने गर्दछ । तर, रुझेको काठमान्डू वास्तवमै सुन्दर देखिन्छ– शेलीको आकृतिजस्तो । रमादान सुरु भएको छ, विश्वभरी । मुस्लिम समुदायको यो ठूलो पर्वमा विश्वभरमा मुस्मिलमहरु एक हुन्छन् । रमाउँछन्, मिठो खान्छन् र मिठो मायाको सन्देश पनि छाड्छन् । मुस्लिमको यो चाडको कुनै अर्थ छैन, शेलीका लागि । ‘ह्याप्पी रमादान, हाउ आर यु डियर ?’, कोलकत्ताबाट रिहानाको म्यासेज भर्खरै आयो । विश्वसमुदाय एक छातामुनिको घर भइसकेको छ । स्वभाविक उत्तर दिनु थियो,‘ह्याप्पी रमादान, आई एम फाइन एन्ड हाउ एबाउट यु ?’ मेरो उत्तरसँगै प्रश्न अति सामान्यसँग रिहानाका लागि पठाएँ । रिहाना एक म्युजिक भिडियो डाइरेक्टर बताउँछिन्, मलाई । उनको भिडियो मैले देख्न पाएको छैन । उनी बलिउडतिर छिर्ने प्रयत्नमा छिन् । उनी हर पटकको च्याटमा मसँग कुरा गर्छिन् । ‘यु आर फेमस जर्नालिष्ट अफ नेपाल, आई अन्डरस्ट्यान्ड द्याट’, उनका हरेक म्यासेजमा बारम्बार दोहोरिने यो सेन्टेन्स हो । र, ‘आई म नट फेमस, जस्ट राइटिङ एभ्री डे’, मैले बारम्बार दिने उत्तर हो, यो ।
काठमान्डू विश्वमा भिज्न थालेको छ । हर कोही काठमान्डूलाई नेपाल भनेर चिन्न थालेका छन् । यहाँका मन्दिर र मस्जिदहरुमा घुम्ने रहर रिहानाको पनि छ । उसलाई म घुमाउने र राम्रो ठाउँहरु देखाउने वाचा बारम्बार अरुबेला जस्तै गरिरहेको छु । रिहाना कति गहिरोसँग मलाई सोच्छिन्, त्यो एउटा कुरा भयो तर रिहाना पनि एन्जिलाजस्तै हुन्, इन्टरनेट दुनियाँमा मेरा लागि, मात्र समय विताउने र शेलीको पर्खाइको दुरी कम गर्ने । भ्mयालमा पानीका थोपाहरु वेगले लागिरहेका छन्, समाचारकक्ष गुम्म छ । अनि, रिहानासँग मेरो कुराकानी निरन्तर चलिरहेको छ, शेलीको खोजखबर छैन, आज पनि ।
०००
जव उमेर हुन्छ, मान्छेका मनमा हर कोहीका लागि प्रेमका रंगिन सपनाहरुको फूलबारी गोडमेल हुन थाल्छ । त्यहाँ हज्जारौं फूलका फरक व्याख्या आउन थाल्छन् । गुलाफका रंगहरुको अर्थ खुल्न थाल्छ । काँडाका दोषहरु खुट्याएर पातका गुणहरुको व्याख्या हुन्छ । जीवनको रंगिन समय, जीवनको उम्लिँदो उमेरमा म पनि यस्ता व्याख्याहरुबाट पर भाग्न सक्तिन । कहिलेकाँही इन्टरनेटी दुनियाँमा मैले यस्ता हसिन व्याख्याहरुलाई संप्रेशषण गरेकै कारण रिहाना मसँग केही दिनदेखि क्लोज भएकी छन् । ‘योर राइटिङ अलवेज क्याच मी, हाउ क्यान यु राइट दिस ?’, उनको बेलामौका दोहोरिने अर्को प्रश्न यस्तो पनि हुन्छ । अनि, ‘जस्ट इट वज ट्रुथ एन्ड सिम्पल वर्डस, नट माई गुड राइटिङ’, अलि अलि विग्रिएको अंग्रेजीमा उत्तर दिने मेरो शैली पनि कहिलेकाँही दोहोरिन्छ । मान्छे भाषासँग कति नजिक हुन्छ ? भाषाले मान्छेलाई प्रभाव पार्छ की मान्छेको मनले प्रभाव पार्छ ? उनले बारम्बार मेरो लेखाईको प्रशंशा सँगै वंगाली शव्द प्रयोग गर्छिन्– अमी तोमके भालोबासी । उनले यसको अर्थ लामोसमयसम्म पनि मलाई बताएकी छैनन् । उनलाई थाहा छ, म शेलीको पर्खाइमा छु र उनीसँग अतिरिक्त समय विताइरहेको छु । उनका शव्दहरुमा गहनता छन् या उनी पनि समय विताइरहेकी छन् । ‘म तिमिलाई प्रेम गर्छु ।’, उनको वंगाली भाषाको अर्थ थियो । उनले मलाई सम्झाउने प्रयत्न गरीन् । अनि, म बारम्बार शेलीसँग प्रेम गर्ने कुरा उनलाई दोहो¥याइरहेको छु । रिहानालाई शेलीसँगको वार्ताक्रममा एन्जिालाले मसँग गरेको यथार्थ पनि भनिसकेको छु । रिहाना यी सवै कुरालाई छिचोलेर फरक समुदाय, फरक धर्म तर मानवता एक हुनुपर्छ भन्ने सोच राख्छिन् । यो उनको साझा सोच हो या मसँगको आकर्षण त्यसको सुइँको मैले पाएको छैन ।
भोक लाग्दा जसरी खानाको महसुस हुन्छ, जीवनको यो क्षेत्रको यात्रामा प्रेमको पनि उत्तिकै महसुस हुँदो रहेछ । सायद शेलीका लागि यी सामान्य हुन् । किनभने उनले प्रेम र सम्बन्धका नाता जोडिन्, तोडिन्, जोडिन् अनि खेलिन् । क्यारामबोर्डका गोटी फँयाके सरह हो, उनका लागि प्रेम वा तासका पत्ताहरु साटेर जितेको या हारेको खल्लो बाजी जस्तो हो मैले पत्ता लगाउन सकेको छैन । जब प्रेमका लागि समर्पण र त्यागको भावना आउँछ, मान्छेमा फरक किसिमको पागलपन चढ्छ । त्यो फरक किसिमको पागलपनदेखि म अछुतो रहन सकिन । तर, त्यो फरक पागलपन बहुलाउने कारण बन्नेतिर दौडिरहेको छ । म निरन्तर त्यसयात्रामा जानेर पनि नजानी दौडिरहेको छु ।
जव मेरा अगाडी रगताम्य लासहरु लडिरहेका थिए, मान्छेका चित्कारहरु कानमा झन्कार बनेर आइरहेका थिए । त्यसबेला शेलीले मेरो मुलुक छाडीसकेकी थिइन् । समय निक्कै परिवर्तन भइसकेको छ । अव हराएका मानिसहरु इतिहाँसका अज्ञात सहिद भइसकेका छन्, मारिएका मान्छेहरु सहिद भइसकेका छन् । एन्जिला र रिहानाका समयहरु आइसकेका छन् । शेलीका भुमिकाहरु प्राथमिक हुन थालेका छन् । जीवनको फरक रंगहरु फरक हिसावमा देखिन्छन्, जहाँ रिहानाको आगमन पनि हुने गर्दछ ।

०००
समाचारकक्ष शुन्य छैन । मान्छेहरु आइरहेका छन् । कोही समस्या लिएर आउँछन्, कोही समस्या समाधानका लागि आउँछन् । दिन सँधैजस्तो वितिरहेको छ । सँधैजस्तो दिन दौडिरहेको छ । असारको झरी निरन्तर चलिरहेको छ । पूर्वतिरबाट हावा चिसो भएर आएको छ, ज्यान निक्कै तातेको छ । मौसमी रोग हो या समस्या शरिरभित्र गहिरो गरी बसेको छ । थर्मामिटरको पारो एक सय भन्दा माथि पुगेको छ । सहकर्मीहरु भन्छन्– ज्वरो निक्कै छ ।
शरिर किन तातेको छ र पसिना किन वगेको छ ? यो अर्थपूर्ण ठानेको छैन, मैले । बस, रिहानाको गफसँग तिम्रो सम्झना निरन्तर आइरहेको छ । सम्भवतः तिमीसँगको सम्पर्कविच्छेद भएको लामो समय भएकाले हुनसक्छ, मेरा शरिरका कोषहरु तातेका छन् । करोडौं कोषहरुमा तिम्रा स्मरणहरुको आवश्यक महसुस भएको छ । ‘मैले समर्थन गरेको टिमले हारेछ’, नेपथ्यबाट आवाज आयो,‘थुइक्का, कस्तो टेन्सन भयो ।’ कोही बोलिरहेको छ छायाँमा । कोही समस्या सुनाइरहेको छ छायाँमा । तर, निरन्तर तिम्रो पखाईमा अभ्यस्त छु म शेली ।
तिमीलाई गरेका मौन र मनस्पर्शहरु निक्कै पे्रमपूर्ण छन् । यो एन्जिला र रिहानासँग गरेको अनौपचारिक कुराकानीको पाटो होइन । विशुद्ध मेरो प्रेमको झझल्को हो । तिमी निष्ठुरी बन्न सक्छौ होला तर म सधैं स्पर्शको घेराभित्र नै रहनेछु । हरेक मुस्कानहरुको मुल्य हुँदैन । हरेक मुल्यमा मुस्कान किन्न पाइँदैन । हरेक मुल्यहरुले उदासिनता खरिद गर्न सक्तैन, हरेक उदासिनताहरु मुल्यमा विक्रि हुन सक्तैनन् । जीवनको उदासिनताको विषयमा तिमी मुल्य रोज्न सक्छौ । म मुल्यका लागि कृत्रिम हाँसो उत्पादन गर्न सक्तिन । खाडल तिम्रो विश्व र मेरो विश्वमा धेरै छ तर तिमी र ममा समान विचारको प्रवाह थियो । मेरो अठोट वा तिम्रो घमन्डका कारण यो समानतामा बाधा पुगेको छ । ‘आइ एम रियल्ली अपसेट विद यु, शेली ।’
तिमीले रेस्पोन्स नगर्दा कस्तो नरमाइलो लाग्ने । केही नगरौं जस्तो, केही गरौं जस्तो । फेरि इन्टरनेटमा छिरेर तिमी के मा व्यस्त छौं, जानौं जस्तो । इनबक्स कोट्याएर कतै तिम्रो म्यासेज आयो कि भनेर घरि घरि जाँचौ जस्तो । खाली इनबक्स देखेपछि फेरि मन उदासिन बन्थ्यो । अनि, फेरि इमेल पो लेख्यौ की भन्ने लागेर इमेलतिर चेक गर्न पुग्छु । त्यहाँ पनि म्यासेज नपाएपछि तिमीसँग कता कता रिस उठेजस्तो, फेरि माया लागेजस्तो पनि । यसरी नै मेरा दिनहरु वितिरहेका थिए । वितिरहेका छन् । मनको फरक कुनामा फेरि आशा र भरोसाका झन्कारहरु पनि पैदा भइरहेका छन् । रिहाना र एन्जिलाका म्यासेजको कुनै अर्थ छैन । उनीहरु समयमा आइरहन्छन्, झकझक्याउँछन् र जान्छन् । उनीहरु छन् र तिमीसँगको मेरो प्रेमको अर्थ अझ गहिरो बनिरहेको छ । तर, फगत तिमी कहाँ हरायौ, मलाई किन विर्सियौ भन्ने प्रश्नहरुको घेराबन्दिमा म अल्झिरहेको छु । त्यहाँबाट निस्कने उत्तर पाएको छैन । त्यो उत्तर– तिम्रो रेस्पोन्स नै हो । तिम्रो रेस्पोन्स कुरिरहेको मान्छे म ।
सायद संसारमा इन्टरनेट नभएको भए तिम्रो र मेरो सम्पर्क हुने थिएन । यो सहज सम्पर्कबाट बनेको असहज संवेदनाको सम्बन्धले निरन्तरा पाउनु पनि निक्कै कठिन हुने रहेछ । यो निरन्तरता नपाउँदा झन कठिन हुने रहेछ । फुटबलको मैदानजस्तो होइन रहेछ सम्बन्ध, सम्बन्ध त जीन्दगीको मैदान हो जहाँ हरेक उतारचढावका धक्का लाग्दा पनि बाँच्नु छ, हिँड्नु छ र प्रेमलाई निरन्तरा दिनु छ । तर कसरी ? प्रश्नहरुको घेराबन्दिमा शेलीको उत्तरको व्यग्र प्रतिक्षा छ । शेली कहिले आफ्ना शव्द बोकेर उक्लिन्छिन् यो इन्टरनेटी दुनियाँमा थाहा छैन, रिहाना आइसकेकी छिन् ।

Monday, July 7, 2014

प्रताडनामा एकल महिला


राम्रा र अधिकारका कुराबारे फाइभ स्टार होटलका गोष्टिहरुमा म धेरै सहभागी भएको छु । त्यहाँ महिलाहिंसा न्युनिकरणका सवालमा निक्कै आधारबाट छलफल हुन्छन्, कानुनी विषयमा बहस हुन्छन् र एउटा निस्कर्ष निस्कन्छ । प्रहरी अधिकारीहरुका उच्च ओहदाका मान्छेहरु हुन्छन्, सरकारी निकायका उच्च तहमा व्यक्तिहरु हुन्छन्, राजनीतिक दलका केन्द्रिय नेता र मन्त्रीहरु पनि हुन्छन् । उनीहरु पनि महिलाहिंसा न्युनिकरणका विषयमा, सजाय दिलाउने विषयमा गम्भिर भएर लाग्छन् । त्यहाँ कानुन व्यावसायीहरु हुन्छन्, न्यायाधीशहरु पनि सहभागी हुन्छन् र कानुनले महिलाहिंसा गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्धता पनि हुन्छ । मानौ कि एउटा गोष्ठिले नै पुरै हिंसा न्युनिकरण र समाप्त बनाइसक्यो, दोषीहरुले कारवाही पाइ हाल्छन् भन्ने विश्वास पनि जागेर आउँछ । यथार्थमा समाजको चित्र फरक भइसकेको छैन । सामाजिक बनोट र सोचमा तिव्र रुपमा परिवर्तन आएको छैन । सहरीकरण भएका ठाउँहरुमा हिंसाबारे केही चेतना भएपनि ग्रामिण इलाकामा अझै चेतनाको स्तर उठेको छैन । त्यहाँ पुरै गाउँ नै हिंसामा उत्रिन्छ तर उसलाई चेतना सिकाउनसक्ने समाजको जन्म हुन सकेको छैन । 
त्यहाँ पुग्न पर्दैन विक्षिप्त हुन । त्यहाँको कथा बुझ्दा काफी हुन्छ । त्यो कस्तो गाउँ हो, अनि त्यहाँका मान्छे कस्ता हुन् ? यस्ता प्रश्नहरु समाचारका अक्षरहरुसँग उठिरहन्छन्, बारम्बार । आफु बलात्कार भएको भन्दै जिल्ला अदालत धादिङमा दिएको मुद्दा विचाराधिन अवस्थामा रहेको बेला एक महिलालाई गाउँ भेला गरी झनै प्रताडना दिइएको समाचारले विक्षिप्त पार्नु स्वभाविक हुन्छ । चेतनाको कुरा गरिरहँदा राजधानीसँग नजिकै रहेको जिल्लामा गाउँ भेला गरी किन यस्तो कठोर अमानवियतामा सवै सहमत भए ? त्यहाँ चेतना भएका प्रतिरक्षा गर्नेहरु छन कि छैनन् ?  
जिल्ला अदालतमा दिएको मुद्दा विचाराधिन अवस्थामा छ । मुद्दा फिर्ता नलिएपछि गाउँबासीले सबै किसिमको प्रतिवन्ध लगाउँदै मृत्यु संस्कार गर्न समेत बन्देज लगाएपछि उनी झन् पीडित भएकी छन् । मध्य धादिङको ढोला–२ निवासी एकल महिलालाई स्थानीयबासीले बहिस्कार गर्दै असार १८ गतेदेखि मृत्यु संस्कारमा बन्देज लगाएका थिए । पीडित महिलाको सासुको १८ असारमा मृत्यु भएपछि गाउँबासीलाई मलामी जान समेत रोक लगाइयो । लास जलाउन जानेलाई समेत स्थानीय केही व्यक्तिहरुले पटक–पटक धम्की दिइयो । विगत ५ वर्षदेखि ढोला–२ सिम्खडागाउँमा रहेको बालज्योती प्राविको कार्यालय सहयोगीको रुपमा रहेकी पीडित महिलालाई बलात्कार मुद्दा फिर्ता नलिएको भन्दै ९ चैत ०७० मा जागिरबाट बर्खास्त गरिएको थियो । घरमा सुतिरहेको बेला समेत धम्की आउन थालेपछि पीडितका दुई बालकले घर छाडेर हिडेका छन् । पीडकविरुद्ध १३ मंसिर, ०७० मा जबरजस्ती करणी मुद्दा दायर गरिएपछि मुद्दा फिर्ता लिन धम्की दिँदै आएको पीडक पक्षले उनलाई विस्थापित गरि सबै किसिमको प्रतिबन्ध लगाएको थियो । गाउँमा भएको पसलमा समेत किनमेल गर्नका लागि पीडितलाई बन्द गरि अमानवीयताको चरम रुप गाउँलेले देखाए । यस्तो प्रताडना किन ? कहाँ छ चेतना ? कहाँ छ कानुन अनि कहाँ छ सरकार ? यो कुनै फिल्मी कथाको जस्तो यातना किन ? अधिकारकर्मी र तारे होटलबालाहरु कहाँ छन् ? करोडौंका सेमिनार र गोष्ठिमा पुग्ने सुकिलाहरु कहाँ छन् ? कयौं वर्षदेखि महिलाहिंसाविरुद्धको चेतनाका कार्यक्रम चलिरहेका छन् । कानुनी रुपमा पनि महिलाहिंसा गर्नेहरुलाई कडा कारवाहीको व्यवस्था गरिएको छ । तर, पुरै गाउँ नै लागेर एकल महिलालाई दिएको प्रताडनाका विषयमा किन कोही बोलीरहेका छैनन् ? के अव एकल महिलाहरुले त्रसित मानसिकतामा बस्नुपर्ने नै हो त ? महिलाहरु अझै त्रसित मानसिकतामा बाँच्नुपर्ने हो त ?
नेपालमा चेतनास्तर उठ्न नसकेका कयन जिल्लाहरु छन् । महिलाले पीडा खेप्नुपर्ने कयन समुदायहरु अहिले पनि छन् । पञ्चायती गरेर, पञ्च भेला गरेर यातना दिने काम रोकिएको छैन । कानुनी रुपमा अघि बढिसकेको मुद्दालाई समेत प्रभाव पार्नका लागि पुरै गाउँ नै उत्रिने उदाहरण माथि छ । त्यो परिवारले भोगेको पीडा एकातिर छ । यस्ता घटनाहरु मध्य तथा पूर्वी तराइका विभिन्न समुदायमा अहिले पनि भइरहेका छन् । त्यहाँ चेतनाको कमी, पारिवारिक दबाब र पञ्चायती शैलीको समाजका कारण पनि महिलाहरु प्रताडित छन् । महिला हिंसाविरुद्धका कार्यक्रम अव सहरमा आन्दोलनका रुपमा होइन, गाउँमा चेतनाका रुपमा फैलाउन आवश्यक छ । महिला सशक्तिकरण, चेतना, शिक्षा र महिलाहिंसाका विषयमा गाउँ गाउँमा बुझाउन आवश्यक छ । यो मुद्दाका रुपमा महिलालाईमात्र होइन, जानी नजानी पीडक बनिरहेको समाजका हर कोहीलाई यसले पार्नसक्ने असर, कानुनी कारबाहीका बारेमा पनि बुझाउन जरुरी छ । जुन समाजमा छोरीलाई नियन्त्रणमा राखी, बुहारीलाई दोष लगाई श्रीमतिसम्मलाई यातना दिनेक्रमले अहिलेपनि निरन्तरता पाइरहेको छ, त्यहाँ पुगेर चेतनाको सन्देश छाड्नु अनिवार्य भएको छ ।
अहिलेको सन्दर्भमा धादिङ ढोला–२ की ति पीडितले तत्काल न्याय पाउनुपर्छ । उनलाई समाजमा बहिस्कारका नाममा शारिरीक, मानसिक यातना दिन पाइँदैन । हर नागरिकसरह उनलाई पनि बस्ने र बाँच्न पाउने अधिकार छ । उनको अधिकारको रक्षा गर्नुपर्छ । मानसिक रुपमा पीडित भइरहेको बेला गाउँलेले उनको रोजगारी खोसे, उनको जनजीविका खोस्ने प्रयत्न गरिरहेका छन् । यस्तो अवस्थामा पीडित झन् पीडामा हुने र उसले आफुलाई सक्ने नियतीतिर पनि लम्किन सक्नेछ । यदि त्यस्तो भयो भने सारा गाउँ दोषी हुनेछ । जानाजान दोषी बन्न नदिनका लागि राजधानीमा महिला अधिकारका कुरा गर्ने संस्थाहरु, महिला आयोग, सरकारसमेत पनि यो मुद्दालाई गहनताका साथ उठाएर उनको आत्मसम्मान फिर्ता गराउने काम गर्न सकोस् ।  

Wednesday, July 2, 2014

रेखाको रोस कोसँग ?

हिम्मतवाली रेखाको बयान : झोलामा जो उभिएपनि हिट हुन्थे, पुरस्कारमा कसरी फिट हुन्थे ?  

रेखा थापा चर्चाबाट उत्रिने हिरोइन होइनन् । उनी हरेक समयमा चर्चामा आइरहन्छिन् । नआउनु पनि किन ? उनका तर्कहरु पनि बेजोड छन् । माओवादी भएकी रेखाको खुलमखुल्ला प्रेमकथा चर्चा भयो, अव उनले दिएको बयानबाजी पनि चर्चा मै छ । रेखाले चलचित्र पत्रकारिता पुरस्कारका बारेमा के भनिन् ? उनकै शव्दमा...

एउटा कुरा स्पष्ट पार्न चाहन्छु कि, मैले बर्ष २०७० मा मेरो चलचित्र ‘काली’ समावेश नै गरेको थिइन । यसकारण, मैले अवार्ड नपाउने भएर गइन भन्नु गलत हो । मलाई अचम्म लाग्छ, आखिर यहाँ किन सही मुल्यांकन भएन । ‘रिदम’ चलचित्रको हिरो त जीवन लुइटेल हो, विल्सन विक्रम राइले ‘राष्ट्रिय पुरस्कार’ पाउने बेला कहाँबाट भयो रु अनी गरिमा पन्तको अभिनय आजसम्म झुर, विदेशमा गएर अवार्ड पाउँने वित्तिकै बबालै भयो । अहिलेसम्म अवार्ड नपाउने अब चै उनी उत्कृष्ट अभिनय गर्ने नायिका भइन् । ‘झोला’ जस्ता सिनेमामा त जोसुकै यूवती लगेर उभ्याएपनि यसै उत्कृष्ट देखिन्छ । यस्तो तरिकाले पनि राष्ट्रिय पुरस्कार प्रदान हुन्छ त रु ‘साँघुरो’ र ‘झोला’ बाहेक ‘सार्क फिल्म फेस्टिभल’मा अरु नेपाली सिनेमा कुन(कुन गए । 
हामीलाई पनि खबर भएको भए, सहभागी हुन्थ्यौ होला । गरिमा प्रथम भइन् भने सेकेन्ड को भयो, केही जानकारी कसैलाई छ । विदेशमा उत्कृष्ट हुने वित्तिकै नेपालमा पनि उत्कृष्ट हुने, होइन भने अरु बेलामा उनीहरुको कुनै चर्चा नै छैन त रु हामी त लामो समयदेखि यही क्षेत्रमा छौ । हाम्रो काम र योगदानको मुल्यांकन नहुने, एकैछिनमा उदाएका आज एकाएक पुरस्कारका लायक भए त रु यहाँ हरेक कुरा पैसासँग तुलना भयो । राष्ट्रले दिने अवार्ड यसरी खरिद विक्री हुनु निक्कै लाजमर्दो कुरा हो । यस्तो तालले त कलाकारलाई राज्यले गन्दैन अब । खै हामी कलाकारको ईज्जत कहाँ छ रु रेखाले यसो भन्दा फेरि विवाद सुरु होला । तर यो वास्तविकता नै हो । हामी पनि ‘सार्क फिल्म फेस्टिबल’मा ‘साँघुरो’, ‘झोला’ जसरी नै गएको भए पो यो नायिका प्रथम, यो फिल्म सेकेन्ड भन्ने हुन्थ्यो । मलाई त ‘नोटबुक’ उत्कृष्ट फिल्म भएकोमा पनि अचम्म लाग्यो । ‘नोटबुक’ कसरी उत्कृष्ट फिल्म रु रमाइलो कुरा त के पनि छ भने, ‘मसान’ सिनेमामा नायिका केकी अधिकारी छिन् । तर भर्खरै सिनेमा नगरीमा उदाउँदै आएकी नीता कसरी ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पाउन लायक भइन् । उनी त फेरि सिनेमाको सह(नायिका हुन् । 

बरु केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मालाई नै दिएको भए पनि हुन्थ्यो । विल्सन र नीताको सिने नगरीमा के योगदान छ र, उनीहरुले पुरस्कार पाउनु रु पुरस्कार त राजेश हमाल, रेखा थापा जस्ता व्यक्तिहरुलाई दिने हो राज्यले । यो पुरस्कारमा राखिएका जुरीहरु नै भएनन् । आधा घन्टाको कार्यक्रम चलाउने प्रकाश सुवेदीले कसरी रेखा थापाको मुल्यांकन गर्न सक्छन् रु कथा लेख्ने धु्रव चन्द्र गौतमले कसरी मेरो अभिनय, डान्स र एक्सनको मुल्यांकन गर्न सक्छन् । मेरो मुल्यांकन गर्न गौरी मल्ल, मिथिला शर्मा जस्ता अभिनयले पोख्त कलाकार चाहिन्छ । यो पुरस्कारमा राखिएका जर्जहरु एकदमै गलत भयो । यहाँ भित्र(भित्र लभ गर्नेहरु बाहिर कालो चश्मा लगाएर उसलाई चिन्दिन भन्छन् । म त खुल्ला छु, जे छु त्यस्तै व्यवहार गर्छु । पुरस्कार वितरणले को(कसको गर्लफ्रेन्ड भन्ने नि स्पष्ट पारिदिएको छ । म त सबैबाट सम्मानित भएकी केटी हुँ । मलाई कसैको चाँकडी गर्नुपर्ने आवश्यक छैन । ‘पप्पु’ अहिले मेरो निकट होइनन् र कहिले पनि थिएनन् । सबैलाई थाहा छ, झरना थापाले ‘फेसबुक’बाट खलपात्रको अवार्ड जितिरहनु भएको थियो । तर आज एकाएक उहाँलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड कसरी दिइयो । अहिले अधिकांश समय झरना जी र सुनिल कुमार थापा, पप्पुसँग हुनुहुन्छ । पुरस्कारका लागि कहाँ कस्तो चलखेल छ भन्ने वुझ्न गाह्रो पर्दैन । यो निर्णय एकबर्ष अगाडि नै मलाई थाहा थियो । मैले गर्ने नै भए रेखा थापा, राजेश हमाल जस्ता योगदान दिएकाहरुलाई सम्मान गर न भनेको थिए । मैले त्यती नै बेला विरोध गर्छु पनि भनेको थिए । मलाई पुरस्कारका लागि पैसाको डिमाण्ड भयो । संचारमन्त्रीले वि।सं २०७० को पुरस्कार गरिमालाई दिन हस्तक्षेप गरेका हुन् । पुरस्कारमा सबै पैसा र प्रेमीप्रेमिकाको खेल भएको छ । यसैले एउटा राम्रो थालनी यस्तै खालका बिषयले बिचमै मर्न सक्छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ कुनै व्यक्ति या संघसंस्थाले दिने अवार्ड जस्तो होइन । आखिर यहाँ यस्तो गहन बिषय वुझ्ने मान्छे नै को छ 

अनलाइन खबर डटकमबाट ।