Saturday, February 21, 2015

बदलापुर : नायक–खलनायक–नायक


विनोद ढकाल 
कलाकारहरु : बरुण धावन, नवाजुद्दिन सिद्दिकी, हुमा कुरेसी, विनय पाठक, यमी गौतम आदी ।
निर्देशक : श्रीराम राघवन

शुक्रबारबाट विश्वभरी रिलिज भएको बलिउड फिल्म ‘बदलापुर’ हेर्नुपर्ने महत्वपूर्ण कारण एउटै छ । यसको सारांश नायक–खलनायक–नायक नै हो । यसको अर्थ हो, फिल्म सुरु भएदेखिका खास दुई पात्रमा आउने परिवर्तन । फिल्म सुरु हुँदा रघु (वरुण धावन) नायक छन् । उनको भुमिका सकारात्मक छ । अनि, लायक (नवाजुद्दिन सिद्धिकी) खलनायक छन् । उनको भुमिका नकारात्मक छ । तर, अन्त्यमा फिल्मको क्लाइमेक्समा पात्रहरुको भुमिका युटर्न हुन्छ । ठ्याक्कै उल्टो, लायकले पश्चाताप गर्छ र उ सकारात्मक हुन्छ, रघु बदलामा उत्रिएर नकारात्मक भुमिकामा व्यापकता पाउँछ । फिल्मको एक लाइनको कथा यहि नै हो ।

बलिउडमा कलाकारलाई प्रस्तुत गर्ने निर्देशकहरुको चमात्कारिक विवेकलाई मान्नुपर्छ । सानो बजेटमा बनेको फिल्ममा पनि प्रस्तुती बलियो भयो भने फिल्म राम्रो बन्ने उदाहरण हो बदलापुर । बदलापुर नाम नै कथाका लागि काफी छ । तर, बदलापुर एउटा ठाउँको नाम हुन्छ । तर, कथा यसै ठाउँको नामबाट उठाइएको छ । निर्देशक श्रीराम राघवनले फिल्मलाई अत्यन्तै सानो कथाबाट उठाएका छन् र त्यही प्रधान मुद्दाका रुपमा स्थापित गराइएको छ । बैंक डकैतीमा लागेका दुईजना भाग्ने क्रममा एउटा गाडीमा जबरजस्ती छिर्छन् आफ्नो कव्जामा लिन्छन् । त्यसक्रममा रघुको छोराको गाडीबाट खसेर मृत्यु हुन्छ र उनकी श्रीमति (यमी गौतम)लाई गोली हानी हत्या गर्छन् । त्यसपछि लुटेको पैसासहित लायकको साथी भाग्छ र लायकलाई २० वर्षको जेल सजाय हुन्छ । हत्यारा पत्ता लगाई बदला लिनका लागि रघुले १५ वर्षसम्म संघर्ष गर्छ । 

अन्त्यमा, रघुले बदला लिने क्रममा लायकको साथीको परिवारको पनि हत्या गर्छ र जेलमै क्यान्सरपीडित भएको लायकलाई छाडदिन्छ । लायकले जीवनभरी राम्रो काम गरेको हुँदैन । उसले अन्त्यमा १५ वर्षअघि गरेको हत्या र रघुले त्यसबीचमा गरेका हत्याको जिम्मा लिएर पश्चाताप गरी पुनः जेल फर्किन्छ । र, उसले जेलजानु अघि आमालाई आफू मरेपछि छोराको एउटा राम्रो कुरा केही भन्नुछ भने त्यो पश्चाताप हो भनी सुनाउनु भन्ने सांकेतिक सन्देश छाड्छ ।

फिल्मलाई तगडा बनाउनका लागि बीचमा अन्य कलाकारहरुको प्रस्तुति बलियो छ । तर, फिल्मका खास प्रस्तुती भनेकै बरुण र नवाजुद्दिन नै हुन् । 

बलिउडमा फिल्म बनाउने शैलीको प्रभाव राम्रो छ । बदलापुर नयाँ र खास कथा होइन । यो फिल्म बुझ्नेहरुले ‘एक भिलेन’ जस्तै भन्ने टिप्पणी गर्छन् । तर, यसको निर्माण कार्य अत्यन्तै राम्रो छ । कथाहरु सस्पेन्ससहित, राम्रो लयमा उनीएको छ । बलिउडको प्रविधिसँग कलिउडको प्रविधिको तुलना गर्न मिल्दैन । प्राविधिक रुपमा बलिउड हलिउडभन्दा पनि माथि पुगिसकेको छ । त्यसकारण बदलापुरको प्राविधिक पक्षक अत्यन्तै बलियो छ । 

ले फिल्म बनाउनका लागि निक्कै मिहेनत गरेका छन् । हर सटहरुका लागि लामो समय पर्खेर मौसमको सदुपयोग गरेका छन् । राघवनको अर्को घतलाग्दो कुरा के भने लभर र कमेडी व्वाईका रुपमा स्थापित हुन लागेका वरुण धावनलाई यसमा निक्कै सेरियस र एक्सनका रुपमा स्थापित गराउन खोजेका छन् । अति, गम्भिर पात्रका रुपमा बरुण स्थापित भएका छन् । उनको काम गराई पनि अत्यन्तै उत्कृष्ट छ । यो फिल्मको सवैभन्दा उत्कृष्ट पक्ष सवै कलाकारहरुको बजेड प्रस्तुती नै हो । फिल्म ठूला स्टारहरुलेमात्र होइन, अभिनयले चलाउनसक्छ भन्ने एउटा शैलीका रुपमा स्थापित हुनेछ । 

  

Monday, February 9, 2015

दर्शक गन्न विर्सिएको सम्बोधन

विनोद ढकाल  
एउटा राम्रो निर्देशकले प्रोत्साहनसहित कलाकारलाई राम्रो अभिनयको वातावरण बनाउनुपर्छ । कलाकार कति नै तेज होस् तर उसको ओजचाँही निर्देशकभन्दा कमजोर नै हुन्छ, फिल्ममा । किनभने फिल्म भनेकै पुरै निर्देशकमात्र हो । बाँकी, उसैको कल्पनाको आधारमा हल्लिने पात्रहरुमात्र हुन् । होस्टेल र जेरी जस्ता व्यावसायीक सफल फिल्म निर्देशन गरेका निर्देशक हेमराज बीसीले पछिल्लो फिल्म सम्बोधनमा यस्तो अवसर श्रृजना गरेका छैनन । सम्बोधन भद्दा प्रस्तुतीमा गहन मुद्दा उठाएका छन् । जसको सहज र सरल जस्टिफाई हुन सकेको छैन । तर, फिल्म नराम्रै बनेको छ भन्नेचाँही होइन ।
दर्शक गनेर फिल्मलाई बजारमा ल्याउने निर्देशक बीसीले यो फिल्ममा दर्शक गन्न विर्सिएछन् । यो आम दर्शकका लागि बनाइएको फिल्म हो । तर, नेपाली दर्शक फिल्मले दिन खोजेको सन्देशभन्दा ज्यादा जानकार भएका कारणले सम्बोधन सत्यघटनाको एउटा नाटकीय चित्रमात्र बुझिन्छ । विषय उठान गम्भिर गर्न खोजिएपनि यो सतहमै सकिएको छ ।  
आम जनता नेपालको राजनीति र प्रशासनसँग परिचित छन् । सवैलाई थाहा छ मुलुकको हविगत । यहि हविगतको उठान हो, सम्बोधन । युद्धमा होमिएपछिको अनुशासित मुलुक देख्ने चाहनामा प्राध्यापक राजु थापा (प्रशान्त ताम्राकार)को जीवनको उतारचढावसँग केन्द्रित विषय हो, सम्बोधन । भ्रष्टाचारशुन्य मुलुकको परिकल्पना गर्ने प्राध्यापकले आफ्नो छोराको जागिरको स्वार्थका लागि जग्गा विक्रि गरी घुस खुवाउने काम गर्छ । तर, काम हुँदैन । उसले छोरा गुमाउँछ अनि श्रीमतिलाई अस्पतालमा राख्नुपर्ने हुन्छ । 
भ्रष्टाचारी मालपोत कर्मचारी र दलालहरुको हत्या श्रृङ्खलामा उत्रिएको उसले भ्रष्टाचारको जड मेटाउने प्रण गरेको हुन्छ । सोही क्रममा गैरभ्रष्ट चरित्र भएको उसले भ्रष्टाचार सुरु गराउने प्यारालाइसीस भएकी श्रीमतिको हत्या गर्छ । र, केन्द्रिय अनुसन्धान व्युरोले उसलाई इनकाउन्टरमा मारिदिन्छ । फिल्मको एक लाइनको कथा यहि नै हो ।
यसबाहेक फिल्म हत्याकै अनुसन्धान, रिपोर्टिङ, सामान्य प्रेमका विषयमा दौडिन्छ । तर, ती विषयहरु फिल्ममा प्रधान होइनन् । यद्यपि, समाचारको दौडानमा उभ्याइएकी पारुल शाक्य (नम्रता श्रेष्ठ)को रिपोर्टिङ शैलीचाँही मिलेको छैन । अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक रामजी गोले (दयाहाङ राई)ले अनुसन्धान गरिरहेका हुन्छन् । उनलाई साथ दिएका हुन्छन् अर्का प्रहरी निरिक्षकको भुमिकामा रहेका प्रताप भट्ट (विनय भट्ट)ले । यीनै पात्रहरुको वरिपरि फिल्म दुई घन्टा घुम्छ । 
निर्देशकले क्यामेरामा कलाकार उभ्याएपनि रिपोर्टिङको तरिकामा न्याय गर्न सकेका छैनन् । फिल्ममा धेरै ठाउँ जर्क छन् । स्क्रिप्टमा लामो समय र गहिरो विचार नगरी गहन विषयमा निर्देशक बीसी हाम फालेको देखिन्छ । यद्यपि, कतिपय निर्देशकहरु भाग्यमानी हुन्छन्, चिज ठिकै हुन्छ तर ट्याक्टिसले जोगाइ राख्छ । बीसीको ट्याक्टिस सम्बोधनमा देखिएको छ, राष्ट्रगानदेखि सुरुआत हुने फिल्ममा दर्शकलाई अड्याउनसक्ने केही केही आधारहरु मात्र छन् । तर, फिल्मभित्र राखिएका गीतहरु सन्दर्भहिन हिसावले आउँछन् । ती गीतहरु जबरजस्ती राख्नैपर्ने बाध्यताले राखेजस्तो । गीतहरुले दर्शकको ध्यान खिच्न सक्तैन । गीत नराखी पनि राम्रो फिल्म चल्न सक्छ, चलाउनका लागि राख्दा दर्शकको ध्यान तान्नसक्ने आकर्षक गितहरु नै घुसाउनु उपयुक्त हुन्छ ।  
कास्टिङ 
सम्बोधनमा कास्टिङ पक्ष ठिकै छ । कलाकार राम्रा छनौट गरिएपनि उनीहरुको अभिनयमा अलमल जस्तो देखिन्छ । खासगरी रामजी गोले (दयाहाङ राई) को अभिनयमा खोट लाउन मिल्दैन । राजु थापाको भुमिकामा रहेका (प्रशान्त ताम्राकार) जो फिल्मका मुख्य अभिनेता हुन्, उनको भुमिकाअनुसारको अभिनय ठिकै छ तर प्रशंशैप्रशंशा गर्नुपर्ने कारण छैन । प्रहरी निरिक्षक प्रताप भट्ट (विनय भट्ट)को अभिनय कमजोर छ । टिभी रिपोर्टरका रुपमा प्रस्तुत गरीएकी पारुल शाक्य (नम्रता श्रेष्ठ)को अभिनय पनि औसतमात्र छ । डिआइजीका रुपमा प्रस्तुत गरिएका बीएस राणाको अभिनय सदाबहार हो । सिक्के डनका रुपमा देखा परेका शुलेमान शंकरले पाएको जिम्मेवारीलाई अन्याय गरेका छैनन् । बाँकी कलाकारहरुले औसत रुपमा राम्रो गरेका छन् ।  
प्रविधि  
नेपाली फिल्ममा प्रयोग हुने प्रविधिको विषयमा कमेन्ट गर्नु त्यति उचित नहोला । तर, कहिलेकाँही सीमित प्राविधिक सामानले पनि प्रस्तुतीको न्याय गर्न सक्छ भन्ने कुरा विर्सन हुँदैन । सम्बोधनको सिनेम्याटोग्राफी, इडिटिङमा डिफेक्ट छ भन्न मिल्दैन । तर, कतिपय ठाउँमा जहाँ क्यामेरा नहल्लाउनुपर्ने हो, त्यहाँ क्यामेरा हल्लाएर सिनलाई मजाक बनाउने प्रयत्न गरिएको छ । त्यसो गर्नु उपयुक्त हुँदैन । यद्यपि, उपलव्ध स्रोतका आधारमा गरेको काममा प्राविधिक पक्षमा असन्तुष्ट हुनुपर्ने ठाउँ छैन । 

विषय गहन । मूर्त मुद्दा । तर, प्रस्तुती सामान्य । जब विषय गहन उठान हुन्छ त्यसको जस्टिफाई गर्ने खास आधार बनाउन सकिएन भने त्यसको कुनै अर्थ हुँदैन । जब विषय उठान गरिन्छ त्यसको न्यायीकरण गर्ने काममा आफ्नो भुमिका कति प्रभावकारी बनाउने भन्ने काममा निर्देशक विसी चुकेका छन् । यद्यपि, विषय गम्भिर भए पनि उठाउने काममा मौलिकताहिन भन्नु अन्याय हुन्छ । न्यायिक विषय भएपनि यो प्रस्तुतीका क्रममा अन्याय भएको ठहर्छ । फिल्मलाई निक्कै ठाउँ फाल्तु विषयमा कुदाएपनि क्लाइमेक्समा जोड्ने प्रयत्न गरिएको छ । 
फिल्मको लेखन पनि निर्देशकले गरेका कारणले यो फिल्ममा उनको भुमिका अति राम्रो भन्नु गलत सावित हुनेछ । किनभने एउटा लेखक सिनहरुमा सहभागी हुन्छ । जसरी एउटा निर्देशक लेखक हुन्छ, उसले आफ्नो क्यामेरादेखि स्पोटसम्मको कल्पनाका आधारमा एन्टागोनिस्ट र प्रोटागोनिस्टसम्मको भुमिकालाई उसले तय गरिसकेको हुन्छ । त्यसकारण लेखक निर्देशक बीसीले सम्बोधनलाई मुद्दाका रुपमा उठाए त्यहाँ हिरो नै खोजेका छैनन् । बीचबीचमा केही कलाकारहरुलाई अनावश्यक कुरामा अल्झाएर फिल्म लम्ब्याउने प्रयत्न भएको छ । त्यो आवश्यक छ जस्तो लाग्दैन । किनभने फिल्मका लागि एउटा उक्ति निक्कै अनिवार्य र अपरिहार्य छ । एउटा निर्देशकले एक सयवटा निर्णय एक घन्टामा गर्न सक्नुपर्छ । जसले निर्णय सहज र ठिक रुपमा अभिव्यक्त गर्न सक्तैन त्यो निर्देशक हुन सक्तैन । सम्बोधनमा बीसीले आफ्ना अघिल्ला काममा जस्तो मिहेनत गरेको भान हुँदैन । कामका हिसावले सम्बोधन उनको गहिरो होला तर दर्शकले त्यसलाई उनको कोणबाट बुझ्दैनन्, दर्शक जम्माजम्मी २ घन्टासम्म सिनेमा घरमा बसेर निस्कँदा ठिक फिल्म हेरिएछ भन्ने कमेन्टसम्म गर्छ तर, बीसीको यो फिल्मले त्यसो भन्ने माहौल त्यति साह्रो बनाएको छैन । पहिलो हाफसम्म अल्झाउन नसकेको फिल्मको अन्तिमतिर दर्शकलाई अलिकति भएपछि छुने प्रयत्नचाँही गरेको देखिन्छ । केही ठाउँमा सस्पेन्स राखिएको छ, यसले कहिँकतै तान्न सक्छ । 
समग्रमा सम्बोधन कसका लागि र किन ? भन्ने प्रश्नको उत्तर फिल्मले आंशिकमात्र दिएको छ । कानुनभन्दा माथि कोही हुँदैन भन्ने पनि दर्शाउन खोजिएको छ । यद्यपि, यतिले नै फिल्म उत्कृष्ट हुँदैन, मेहनत बाँकी छ । जहाँ टुंगिएको छ, सम्बोधन त्यहाँबाट सुरु गर्ने अन्य मौकाहरुलाई निर्देशकले अव आइन्दा चुकाउन हुनेछैन । नत्र फेरि पनि गहिरो विषयको सतही प्रस्तुतीभन्दा केही हुनेछैन । राम्रो फिल्म निर्देशकका पनि केही नराम्रा फिल्महरु हुन्छन्, सुरुमै मिठो गाँस चपाउनेले बीचमा पिरो पनि चपाउनुपर्छ । सम्बोधन बीसीका लागि पिरो त छ नै, उनको फिल्म भनेर जाने दर्शकका लागि पनि यो पिरो नै सावित हुन्छ । तर, कहिलेकाँही पिरोलाई पनि मिठो मान्दिने एक किसिमका दर्शकहरु हुन्छन्, तिनको मन जित्छ जित्दैन निर्माण पक्षले मुल्यांकन गर्ला ।  

निकासको आकाश

विनोद ढकाल 
संघीयताको विषय टुंग्याउन ‘संघीय आयोग’ र सहमतिमा संविधान जारी गर्न ‘राष्ट्रिय सरकार’को प्रस्ताव अहिलेको अनिवार्यता छ । यो सत्ताका लागिमात्र नभएर संविधानका लागि पनि भयंकर राम्रो विषय हो ।

नेपालको राजनीतिक अवस्था अहिले प्रष्ट दुई लाइनमा देखिएको छ । एकातिर सत्तारुढहरु र अर्कातिर प्रतिपक्षीको मोर्चा । सहमति वा प्रक्रिया भन्ने विषयको विवादले संविधानसभामा केही समय तनाव भयो तर प्रक्रियाका काम पनि भइरहेका छन्, सहमतिका प्रयत्नहरुका लागि फरक संवाद पनि जारी छन् । यदाकदा राजनीतिक रुपमा घोचपेच र गैरराजनीतिक तर्कहरु पनि सुनिएका छन् । 
तर, यी सवै समाधान होइनन् । संघीयताको सवालमा उठेको विवादको समाधानका लागि दलहरु सहमतिमा पुग्नुको विकल्प छैन र प्रक्रियाबाट संविधान जारी गर्नुको विकल्प पनि हुँदैन । किनभने प्रक्रियाका लागि नै संविधानसभा गठन भएको हो । नत्र, नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भनेजस्तो नेताहरु एउटा कोठामा बसेर संविधान जारी गरे हुन्थ्यो । संविधानसभाको निर्वाचन जनताको प्रतिनिधिहरुबाट संविधान जारी गर्नका लागि भएका कारणले नै राजनीतिक तिक्तता छाडेर जुट्नु अनिवार्य हुन्छ । तर, विवाद जहाँनेर अल्झिएको छ त्यो निक्कै भयानक हुँदै गएको छ । यसका असरहरु छन् र सरल उपायतिर नलाग्ने हो भने अव मुलुक मुठभेडमा गइसक्यो भनेर बुझ्नुमा कुनै गल्ती हुनेछैन । 

०६४ सालले स्थापित गरेको तत्कालिन संविधानसभा विघटनको प्रमुख कारण थियो, संघियता विवाद । संघीयताबारे संविधानसभा भित्र र बाहिरका राजनीतिक दल, संगठन, गुठी, झुन्ड सवैको ‘इन्ट्रेस्ट’ स्वभाविक छ र यहि नाममा राजनीति पनि भइरहेको छ । कम्तिमा अघिल्लो संविधानसभाको ६ वर्ष र यो संविधानसभाको वितेको एक वर्षदेखि मुलुकको बहस जहाँको त्यहिँ अल्झिरहेको छ । तर, अव यसरी अल्झाउन उचित हुनेछैन, किनभने संविधान चाहिएको छ, जुनसुकै मुल्यमा पनि ।
माघ ८ गते संविधान जारी गर्नका लागि विवादको चुरो कुरा पनि यहि रहेको थियो र राजनीतिक सहमतिका नाममा केही महिना यहि विषयमा खेर पनि गयो । फरक र वैचारिक प्रस्तावमाथि अहिले पनि बहस आवश्यक छ । र, वैकल्पिक मार्गसहिको फास्टट्रयाकको बाटो समातेर संविधान जारी गर्नु नै छ । 
कांग्रेस, एमालेलगायत राजनीतिक दलले संविधान र संघीयता सम्बन्धमा आफ्नो धारणा संवाद समितिमा पेस गरेसँगै मुलुकको राजनीतिले एक्कासि कोल्टे फेरेको थियो । जसको परिणाम दलका नेताबीच संवादहीनताको अवस्था सिर्जना हुनुका साथै लामो समयसम्म संवाद समितिको बैठक अवरुद्ध हुन पुगेको थियो । अहिले राजनीतिक दलका नेताहरुबीच संवाद अवस्था नभई आन्दोलन र प्रक्रिया दुई किनाराको यात्राले मुलुक असहज त बनेकै छ, संविधानसभाको गरिमामा पनि प्रश्न उठेको छ ।
अहिले दलहरु टाढा उभिनुको कारण संघीयताको सवाल रहेको छ । साथै, स्वामित्वको कुरा पनि बुझिएको छ । संवादहिनताको यो परिस्थितिमा दलहरु एक ठाउँमा उभिनका लागि लचिलो र तार्किक सहमतिको मुल एजेन्डा अघि सार्नुपर्ने अनिवार्यता छ । राष्ट्रपति डा. रामवरण यादव सहमतिका लागि सवै पक्षसँग भेटेर कुरा गरिरहेका छन्, प्रधानमन्त्री सुशिल कोइराला पनि पहल गरिरहेका छन् । तर, बीचको बाटो के हुनसक्छ ? आफ्ना अडान र दम्भका कारण सत्तारुढ र प्रतिपक्षी मोर्चाहरु लागि परिरहने हो भने सहमति बन्छ र ? बन्दैन । बरु, बीचको बाटो अवलम्बन गर्नुपर्ने देखिन्छ । 
संघीयताको विषय टुंग्याउन ‘संघीय आयोग’ र सहमतिमा संविधान जारी गर्न ‘राष्ट्रिय सरकार’को प्रस्ताव अहिलेको अनिवार्यता छ । यो सत्ताका लागिमात्र नभएर संविधानका लागि पनि भयंकर राम्रो विषय हो । संघीय आयोग, संयुक्त सहमतीय राष्ट्रिय सरकारको गठनका विषयमा दलहरु गम्भिर हुन आवश्यक देखिन्छ । संयुक्त सरकारका लागि कांग्रेस पनि तयार भइसकेको छ । स्वीकार नगर्नुको तत्कालिन मार्ग अहिले नै देखिँदैन, संघीयताको विषयलाई थाँती नराख्ने हो भने र यसमा गहन गहिरो निर्णयको दिर्घकालिन उपायलाई नअपनाउँदा तनाव हुनसक्छ । एमाओवादी नेतृत्वको संविधानसभामा प्रतिनिधित्व गर्ने १९ राजनीतिक दलको मोर्चाले संविधानसभाका विवादित विषयमा समान धारणा बनाउन कार्यदल बनाएका छन् । तर, के गर्छ त्यसले ?
अहिले राजनीतिक दलहरु फरक कोणमा उभिनुको आन्तर्य जे होस् तर यो निकास होइन । निकासका लागि सहमतिको वातावरण बन्नुपर्दछ । संघीय राज्यको संख्यामा समस्या भएको भए, त्यसलाई मिलाउनका लागि कुनै आमुख राजनीतिक दलको अडान होइन, जनमतको अपेक्षा गर्नुपर्दछ । नाममा समस्या हो भने पनि जनमतलाई लिनसक्नुपर्छ । एउटा प्रस्ताव सहज छ, कुनै पनि प्रदेशको नाम त्यस प्रदेशमा हुने सभा, कुनैपनि प्रदेशको आकार त्यहि प्रदेशले निर्णय गर्नसक्ने बनाउनुपर्छ । जहाँ बहुमतले नाम प्रस्ताव गरी पारित गर्न पाउँछ । आखिर पहिचानको कुरा गर्दा जुन विषय उठान गर्न खोजिएको छ राजनीतिक रुपमा अहिले त्यसको समाधान निक्कै नजिक छ । पहिचान माग्नेहरुले सम्बन्धित प्रदेशमा आफ्नो बहुमत पारी त्यहाँ नाम राख्नसक्नेछन् । यो लोकतान्त्रिक पद्दती हो । लोकतान्त्रिक पद्दती नस्वीकारी एउटा आमुख नेताको अडानका आधारमा मुलुकको भाग्य र भविष्यको कुरामा खेलवाड गर्ने अधिकार नेपाली राजनीतिक दलका नेताहरुलाई छैन । उनीहरुले बुझ्नुपर्छ जनताको अधिकार भनेको उनीहरुको विवेकमा निर्भर हुन्छ । उनीहरुले कुनैपनि बेला जस्तोसुकै कदम उठाउन सक्नेछन् र राजनीतिक दलको आकार र हैसियतको कुरामाथि परिपक्व निर्णय दिनसक्नेछन् । नेपाली राज्यसत्ता तानाशाही र निरंकुश हिसावले चल्न सक्तैन । यसले समाजवादी प्रजातन्त्रलाई स्वीकार गरेको हुनाले निर्वाचन, जनताको निर्णयलाई प्रधान मान्दछ । हर नेपाली लोकतान्त्रिक चरित्रमा उभिन चहान्छ । त्यसकारण पनि नेपाली जनताको चाहनाबमोजिम राजनीतिक दलहरु अव अघि नबढ्दा त्यसको परिणाम लामो संक्रमणमात्र हुन्छ र ? 
अतः मुलुकको जिम्मा आफ्नो थाप्लोमा मात्र छ भन्ने सोचेर मनलाग्दी निर्णय गर्ने र बोल्ने नेताहरुले बुझ्नुपर्छ सहमति हुने विषयमा सहमति र नहुने विषयमा निकासको बाटो खोजिएन भने आम नागरिक लामो समय पर्खेर बस्नेछैनन् । नागरिकले काम गर्ने फरक मौका दिएका हुन्, लोकतन्त्र जोगाउनका लागि अर्को अवसर दिएका हुन् । तर, यो लोकतन्त्र कमजोर बनाउने काममा राजनीतिक दलहरु कमजोर देखिएका छन्, कमजोर बनिरहेका छन् । यो कमजोरी लामो समयसम्म जारी रहे फरक र निरंकुश शासन व्यवस्थाको उदयलाई जनताले स्वीकार्नेछन् । त्यतिखेर मुलुक हार्नेछ, लोकतन्त्र हार्नेछ, नेताहरुको अकर्मण्यताको परिणाम देखिनेछ । त्यो राजा, राष्ट्रपति, सेना जे सुकैका नाममा भएपनि अगाडी देखिन्छ, त्यो निरंकुश नै हुनेछ । दुनियाँमा धेरै ठाउँमा यस्तै भएका पनि छन् । अतः निकास चाँडो देऊ ।   

हिरो मरेर स्वर्ग पाउँछन्, भिलेन बाँचेर स्वर्ग जिउँछन्


थाहा छैन, भिलेन बाँचेर स्वर्ग जिउँछन्, जिउँदैनन् । पक्का हो, हिरो मरेर स्वर्ग पाउँछन् । तर, अभिनयमा यो लागु हुन्छ र ? स्वर्ग पाउनका लागि भुमिका र अभिनय प्रधान हुन्छ । डाइलगको के कुरा ? एक भिलेन, जसका बारेमा केही कुरा अभिनयको सन्दर्भ उठाएर गर्नु ठिक होला की ? अभिनयमा भिलेन..भानुप्रताप ।
 अभिनय हिरोका लागि मात्र हो र ? अभिनय पात्रका लागि हो । भानुप्रताप, एक पात्र हुन् । बलिउड अभिनेता सञ्जय दत्त अभिनीत फिल्म ‘वास्तव’ र ‘काँटे’ जस्ता नेपाली चलचित्र कहिले बन्ला रु यदि बन्यो भनेचाहिँ भानुप्रतापलाई पनि दर्शकले हिरोका रुपमा देख्न पाउनेछन् । नत्र उनी सधैं ‘भिलेन’ मात्रै । थुप्रै फिल्ममा भिलेनका रुपमा देखिसकिएका भाुनप्रताप भन्छन्, ‘यहाँ मलाई हिरो सुहाउँदो फिल्म नै बन्दैन ।’ फिल्म ‘वान–वे’ का खँुकार डनका रुपमा देखिन लागेका भानुप्रताप हिरोभन्दा कमचाहीँ छैनन् । तर, उनलाई हिरो हुने पटक्कै मन छैन । ‘तीन फिल्मबाट हिरोका लागि अफर आएको थियो । तर, छाडिदिएँ’ हाल फिल्म ‘वान–वे’ रिलिज मिति कुरिरहेका उनले भने, ‘मलाई भिलेनमै जम्ने इच्छा छ । अर्को कुरा, मलाई हिरो सुहाउँदो नेपाली फिल्मै बन्दैन यहाँ ।’ बलिउड अभिनेता सञ्जय दत्तको ‘वास्तव’ र ‘काँटे’ जस्ता नेपाली फिल्म बन्यो भने हिरो खेल्न तयार रहेको भानुप्रतापले सुनाए ।

भानुप्रताप फिल्म क्षेत्रमा लागेको धेरै भएको छैन । करिब दुई वर्षयता कलाकारिता गरिरहेका उनले अहिलेसम्म ८ फिल्ममा अभिनय गर्न भ्याइसकेका छन् । तर, ती आठै फिल्ममा उनले खलपात्र अर्थात् भिलेनको भूमिका निर्वाह गरेका छन् । केही दिनअघि मात्र उनले फिल्म ‘रातोघर’ को सुटिङ सिध्याए । सो फिल्ममा भानुप्रतापले खुँकार भिलेनको भूमिका निभाएका छन् । तर, त्योभन्दा पनि खुँकार डनका रूपमा फिल्म ‘वान–वे’ मा देखिँदैछन् । राजिव गुरुङ ‘दीपक’ निर्मित ‘वान–वे’ मा भानुप्रताप राजधानीको ‘डन’ को भूमिकामा देखिँदै छन् । यो फिल्ममा राजधानीमा हुँदैआएको ‘डनगिरी’कै प्रसंगलाई चित्रण गर्ने प्रयास गरिएको छ । ‘वान–वे’ मा दुईजना ‘डन’ हुन्छन्, जो एक भानुप्रताप र अर्को ‘डन’को भूमिकामा रकगायक रविन तामाङ दखिँदै छन् । भानुप्रताप अहिले आफै फिल्म निर्माण गर्ने तयारीमा जुटेका छन् । उनले फिल्मको नाम ‘लालटिन’ राखेका छन् ।
आरसी पिक्चर्सको ब्यानरमा निर्मित यस चलचित्रको अर्को निर्माता रहेका छन्, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई । यो बिग ब्यानर र बिग बजेटको फिल्म हो । त्यसैले यसअघि थुप्रै फिल्ममा अभिनय गरेर पनि ‘वान–वे’बाट भानुप्रताप आशावादी छन् । उनी भन्छन्, ‘वान–वेबाट आफूलाई स्थापित गर्ने अपेक्षा गरेको छु । यसअघि पनि राम्रै भूमिका गरेको हो, तर, आफूलाई स्थापित गर्न ब्यानर र टिम पनि राम्रो हुनुपर्छ भन्ने लाग्छ ।’ नेपाली फिल्म क्षेत्रमा भिलेनको भूमिका गर्ने कलाकारको आवश्यकता महसुश भइरहेका बेला भानुप्रतापको उदय हुँदै गरेको हो । उनी भन्छन्, ‘भिलेनको भूमिका गर्ने कलाकारको अभावलाई टार्ने मेरो उद्देश्य हो ।’ हुन पनि एक समय सुनील थापा भिलेनमा जमेका थिए । उनको उपस्थिति पातलिँदै गएपछि नेपाली फिल्ममा भिलेन सुहाउँदो कलाकार आएका छैनन् । भानुप्रताप त्यो अभाव टार्ने विश्वास दिलाउँछन् । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा भिलेनमै जम्न आएको हुँ । भिलेनमै जमेर देखाउने छु । यो कुरा वान–वे रिलिजपछि थाहा हुने छ ।’ निर्माता राजकुमारले समेत भनिसकेका छन्, ‘वान–वेबाट दुईजना कलाकार अगाडि आउनेछन् ।’ उनका अनुसार भानुप्रताप र अर्को कलाकार सिद्धार्थ गुरुङ । सिद्धार्थ यसै फिल्मबाट रजतपटमा डेब्यु गर्न लागेका हुन् । फागुन १ गतेदेखि रिलिज हुने ‘वान–वे’ मा करिश्मा मानन्धर, सिद्धार्थ, माला सुब्बा, रविन तामाङ र भानुप्रतापको मुख्य अभिनय रहेको छ । यस चलचित्रलाई सुरज सुब्बाले निर्देशन गरेका हुन् ।