Monday, July 6, 2015

ह्याङगोभर पछि...

मणिपाल अस्पतालमा एकजना डाक्टर खस्यो, गयो । विचरा उमाथि गरिएको अपेक्षा, लगानी र भविष्यको सपना देख्ने अनुहारहरु कति मलिन्द्र छन्, अहिले । जम्माजम्मी एकथान जीन्दगी पाएको उसले, त्यसलाई पनि ह्याङगोभर हुने मौका दिएन

विनोद ढकाल 

 सुनसान र शान्त अनि एकाग्र भएर त्यतिबेला मात्रै बस्न मन लाग्छ, जतिबेला मदिराको नशाले ह्याङगोभर गराउँछ । शुक्रबारको रात पिएर शनिबारको दिनलाई झेल्ने बहुसंख्यकहरुसँग ह्याङगोभरको अनुभव हुनसक्छ । त्यतिबेला कयन भ्रमहरु आँखा अगाडी पर्छन् । सत्य जस्तो लाग्ने तर भ्रम हुन्छ । केही उडेजस्तो लाग्ने तर केही हुँदैन । बोल्न मन लाग्दैन, खान मन लाग्दैन । कतिबेला छ्याङग हुन्छ र पुरानो अवस्थामा फर्कौं जस्तो लाग्छ ।
जीन्दगी एउटा ह्याङगोभर हो । मान्छे र मनस्थितीसँगै जे हामी बाँचीरहेका छौं, सवै भ्रम हो । भ्रमभित्रका अनेक उतारचढावलाई जीवनको गाथा बनाउनु वाइयात काम हो । जब जीवन नै भ्रम हो भने किन जीन्दगीको उतारचढावको गीत गाउन जरुरी छ र ? मणिपाल अस्पतालमा एकजना डाक्टर खस्यो, गयो । विचरा उमाथि गरिएको अपेक्षा, लगानी र भविष्यको सपना देख्ने अनुहारहरु कति मलिन्द्र छन्, अहिले । जम्माजम्मी एकथान जीन्दगी पाएको उसले, त्यसलाई पनि ह्याङगोभर हुने मौका दिएन । उसले आफ्ना विचार र विवेचनालाई सही ढंगले राख्न पाएन । र वित्यो । उसका परिवारप्रति समवेदना छ । प्रहरीले नै भनेको छ, उसकी प्रेमिकाले अलग बाटोको प्रस्ताव गरेपछि तनावमा भएको उसले पिएको थियो । नशामा थियो । नशामै वित्यो । यो विषय नै यस्तो हो की कोही मरेर जान्छन्, कोही बाँचेरै पनि मरिरहेका हुन्छन् । फरक यत्ति हो, मरेर जानेहरु खरानी हुन्छन्, बाँचेर मर्नेहरुसँग आशाको दियो निभेको हुँदैन । उसका पराक्रमहरु बढिरहेका हुन्छन्, औसतभन्दा माथि उठ्ने प्रयत्नमा हुन्छ । यद्यपि, जीन्दगी त फेरि पनि भ्रम त हो, अनि किन रुने ? बस यो ह्याङगोभरमा बसरी चल्ने भन्ने चाहीँ आजको पुस्ताले जान्नुपर्नेछ ।

भावनात्मक सम्बन्धको पुञ्ज कहिले पनि ढल्दैन, जहिले पनि बाँचीरहन्छ । जीवनको कालखण्डका हरेक पानाहरुमा रहीरहन्छ । जीन्दगी रहुन्जेल रहन्छ । भ्रमको चक्रव्युहभित्रका अनेक घटनाहरु धेरै घोचक हुन्छ । सहरमा दौडेका लाखौं मानिसहरुको मनभित्र के चल्दैछ अनुमान गरिँदैन । तर, आफ्नो मन किन भारी भएको छ ? यसैको उतारचढावमा मान्छे अभ्यस्त भइरहेको हुन्छ, त्यहि भ्रममा ऊ अरुभन्दा पक्षपाती हुन्छ । यता जलीरहेको मनभित्रको भँडासको अर्थ के हो ? उता, तड्पीरहेको मनको व्यथासँग सामिप्य हुँदैन । त्यहि प्रतिभ्रमले मान्छेलाई कमजोर बनाउँदै लैजान्छ । संवेदनाहरुमा आगो लाग्यो भन्दैमा त्यो कागजजस्तो खरानी हुँदैन । संवेदनाहरु बलिरहन्छन्, मृत्युपर्यन्त पनि । मान्छेले व्यवाहारमा सहजता अपनाउन सक्यो भनेमात्र उसले एकथान जीन्दगीलाई भ्रममा पनि सुखी बनाउन सक्छ । आफुलाई लागेको महत्वकांक्षाले मात्र जीवन चल्ने भए यो संसारमा पिसाचहरुको सत्ता हुने थियो । तर, संसार सन्तुलित भावनाले चलेको छ र, कायम छ । त्यसैले ह्यांगोभर जीन्दगीलाई सुखी र खुसी बनाउने तरिका भनेकै मुस्कान हो, मुस्कान छरेर भ्रममा नै बाँच्नुहोस् ।