Tuesday, December 29, 2015

सत्तास्वार्थको विकल्प नयाँ शक्ति !

बाबुराम हल्ला नगरी बस्न नसक्ने मानिस हुन् । प्रधानमन्त्री हुँदा पनि अनेक किसिमका मिडियाबाजी गरेर हल्लामा रमाए, एमाओवादीभित्र पनि अनेक हर्कत गरेर हल्ला गरेर मिडियामा आए अब नयाँ शक्तिको हल्ला गरेर सत्तामोहको प्रतिविम्ब बनेर उभिन थालेका छन् 

विनोद ढकाल 

चिनियाँ क्रान्तिले देखाएको नयाँ युगका प्रणेताका रुपमा माओत्सेतुङको जन्मोत्सव मनाइरहँदा नेपाली माओवादका नेता पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईलाई लिनप्याओसँग तुलना गरे । लिनप्याओको व्यवाहारसँग तुलना गरे र उनको सत्ता मोहको व्याख्या पनि गरिदिए । लिनप्याओ चिनियाँ क्रान्तिका क्रममा बनेको चिनियाँ कम्युनिष्ट पार्टीको लाल सेनाका सेकेन्डम्यान थिए । सो क्रममा माओ सुप्रिम कमाण्डर थिए । लिनप्याओले माओको पछि दौडनुको विकल्प देखेका थिएनन् र उनलाई सत्तामोह पनि चाहिएको थियो । तर, सत्ता पाउनका लागि माओको मृत्यु अनिवार्य थियो । लिनप्याओको यहि चरित्रले कम्युनिष्टहरुभित्र पनि सत्तामोहको खेल चर्को भएको प्रचण्डको व्याख्या थियो । लिनप्याओ माओ क्रान्तिका एक साधक पनि थिए । उनका सकारात्मक पक्षहरु पनि चिनियाँ इतिहाँसमा व्यापक छ । हुन त मान्छेका सकारात्मक र नकारात्मक दुवै पाटो इतिहाँसले चर्चा गर्दछ । यद्यपि, जव व्यक्तिको सकारात्मक पाटो गौण राखी नकारात्मक पाटोलाई हावी बनाउने कोशिश हुन्छ, अनि यस्ता कथाहरु वक्तव्यवाजीका क्रममा स्वभाविक रुपमा आउँछन् । नेता आलोचना र प्रशंशा दुवैका साधक हुन् । तर, प्रशंशाभन्दा बढि आलोचना हुने काम उसको व्यवाहारले देखाइरहेको हुन्छ । एमाओवादी छाडेपछि बाबुरामको प्रशंशा कम र आलोचना ज्यादा भयो । माओ र लिनप्याओको कथा प्रचण्ड र बाबुरामहरु नै जानुन् । माओवादको घोडा दौडाएर मुलुकमा रगतको मुल्य निर्धारण गर्नेहरु जुन ‘वादी’ भएपनि त्यसले आम नागरिकलाई फरक पर्नेवाला छैन । समाज रुपान्तरण भनेको चेतनास्तरको विकास नै हुन्छ । कुनै वादले पनि नेपालको एउटा ‘वादी’, कमलरी र बोक्सीजस्ता रुढीवादी सोचलाई परिवर्तन गरी निमिट्यान्न नपारेका कारण यो वा त्यो राजनीतिक वाकपटुताको कुनै अर्थ हुनेछैन ।
समाजको यो चित्र एकातिर भएपनि संगठनको एउटा चरित्रचाही बेजोड विश्लेषणयोग्य छ । मुलुकमा राजनीतिक अतिचेतना जुन हिसावले द्वन्द्वपछि मौलायो, सामाजिक चेतना पलाउन सकेन । अहिले जलिरहेको मधेसमा राजनीतिक चेतना अधिक भयो तर जब राष्ट्रपति विद्या भण्डारी जनकपुरमा पुगेर पुजा गरिन् र उनी त्यहाँ गएकै कारण विधवा पसेको भनेर मन्दिर सफा गर्ने नौटंकी देखाइयो त्यो सामाजिक चेतनाशुन्य समाजको उदाहरण थियो । जसको छानविनका लागि सरकारले समिति नै गठन गरी परिचालन गर्नुपरेको थियो । त्यस्तै– अभियानका रुपमा अघि बढेको कथित नयाँ शक्ति राजनीतिक चेतनाको अतिवादी बाटो हुनेछ या सामाजिक चेतना र विकासका मनन योग्य शक्ति ? या एउटा वैचारिक लिलिपुटहरुको भेला गरी सत्ता र झुन्ड चलाउने रणनीतिक अभ्यास ? यसको उत्तर आउन अनिवार्य छ ।
जुनसुकै संगठनको होस् । सत्ता सर्वथा प्यारो हुन्छ, सवैलाई प्यारो लाग्छ । हर घरमा दोस्रो भएर बस्नेहरुलाई पहिलो बन्ने रहर जाग्दछ । सत्ता लोभीपापी समाजको दृष्टि भ्रम पार्ने शक्ति केन्द्र हो । सत्तालाई परिवर्तनका लागि आरोहण गरिएको दायित्वहरुको थुप्रो भन्दा पनि प्रयोगको आधार मान्ने मानसिकताले नै समाज विकासको बाटोतिर लम्किन नसकेको हो । चाहे माओको सत्ता होस्, चाहे राजा पृथ्वीनारायण शाहको सत्ता होस्, उनीहरुका सहयोगीका रुपमा रहेका सेकेन्डम्यानहरु जहिले अगाडी आउने बाहनामा अल्झिरहे । इतिहाँसका पानाहरुलाई केलाउने हो भने नेपाली सत्तामा यस्ता कथा धेरै छन् । चाहे राजा सुरेन्द्रको कथा पढौं, चाहे राणा जंगबहादुरको कथालाई अध्ययन गरौं । सत्ताका दोस्राहरु पहिलो हुने रन्कोमा जहिलेपनि जालसाजी गरिरहन्छन् । प्रचण्डको सत्तामा पनि बाबुरामले यसै गरिरहेको तथ्य सवैले देखेकै हो । एमाओवादीभित्र बारम्बार शक्तिका लागि नै लडिरहेका बाबुरामले कार्यकर्ताको बहुमत नपाउँदा पहिलो हुन सकेनन् । उनलाई पहिलो बनाउनका लागि पनि प्रचण्डले त्यति महत्व दिएनन् । फस्र्टम्यान बन्ने ध्याउन्नमा बाबुराम अन्ततः नयाँ शक्तिका नाममा अघि आएका छन् । उनीसँग विकासवादी सोच भन्दा पनि शक्तिकेन्द्रमा बस्ने रहरमात्रै रहेको पुष्टि भइसकेको छ । नयाँ शक्तिका नाममा बाबुराम जुन बाटो हिँडिरहेका छन्, त्यहाँ विचारको स्थिरता र दुरदर्शिता संकेत देखिँदैन । एउटा क्रान्तिकारी विचारलाई बोकेर लामो द्वन्द्वको नेतृत्व गरी मुलुक परिवर्तनमा युवा मस्तिष्क खर्च गरेका बाबुरामले अव आफ्नो प्रौढ जीवनमा नयाँ विचारको प्रतिपादन गर्लान् भन्ने विश्वास विरलै गरेको राम्रो । हरेक विचार भएका मान्छेहरुको महाभेला गरेर उनले एउटा समान र साझा दिर्घकालिन मुद्दालाई स्थापित गर्न सक्ने सम्भावना छैन ।
परिवर्तनको संकेतहरु राजनीतिक जीवनका पूर्वाद्धहरुले नै प्रष्ट पारिसकेका हुन्छन् । एउटा उमेरले छेडेको क्रान्तिको भविष्य समृद्ध समाजको परिकल्पना हुन्छ । तर, जब समृद्ध समाज बनाउने बेला र समय आउँछ अनि एउटा बाटो छाडेर अर्को बाटोको मियो बन्ने आह्वान गर्ने व्यक्तिहरुसँग आशा गर्नु बेकार हुनेछ । जीवनमा जानेको बाटो छाडेर नजानेको डमरु बजाउने काममा मान्छेहरुलाई अलमलमा पार्नु उचित हुँदैन । त्यो निष्कर्शहिन यात्रामात्र हुनेछ । समाज रुपान्तरणको सामान्य दायित्व बोध हुने थियो भने बाबुरामले आफु मुलुकको कार्यकारी प्रमुख भएको बेला उचित काम गर्थे होला । तर, उनले त्यसो गर्न नसकेका कारणले अहिले नयाँ शक्तिको हल्ला फिँजाएर केही फिल्मकर्मी, अवसरहिन नागरिक समाज र आफैंले सेनाका लागि अयोग्य ठहर गरेका पूर्वलडाकुलाई सहभागी गराउनु एउटा अवसरवादी चरित्रको विम्ब नै हो । त्यसकारण यहि विम्बले उनको व्यवाहारको प्रतिविम्ब उनको अभियान सुरु हुनु अघि नै झल्काउनेछ । विचार जतिसुकै नयाँ भएपनि व्यवाहारिक रुपमा रगताम्य अनुहारले उभ्याएको नयाँ शक्तिको लक्ष्य के हो ? शक्ति भनेको केहो ? नयाँको व्याख्या कसरी हुन्छ ? कसैले बनाउन लागेको नयाँ शक्तिको विरोध होइन यो, आफ्नो संलग्नताको वैचारिक छिटा पनि नपरोस् भन्ने प्रष्टोक्ति हो । विश्लेषणचाहीँ यो हो की बाबुराम मिडियातन्त्रको आत्मरतीमा रमाउने विद्वान हुन् । उनलाई हल्ला मनपर्छ । उनलाई आलोचना नै भइरहेपनि मिडियामा आउने मिडियाफोविया भएको छ, सायद । बाबुराम हल्ला नगरी बस्न नसक्ने मानिस हुन् । प्रधानमन्त्री हुँदा पनि अनेक किसिमका मिडियाबाजी गरेर हल्लामा रमाए, एमाओवादीभित्र पनि अनेक हर्कत गरेर हल्ला गरेर मिडियामा आए,  अब नयाँ शक्तिको हल्ला गरेर सत्तामोहको प्रतिविम्ब बनेर उभिन थालेका छन् । उनको यो आत्मरतीको अभियान साँच्चैको हो भने जटिल समयमा मुलुकको हितकर काममा लगाउन् । न ट्वीट, न फेसबुकको हल्ला, काम गरेर देखाउन सकुन् भन्ने कामना गरौं । अन्यथा, अहिले प्रायोजित नागरिक समाज, एजेन्सीमा धाउने सुकिला अनुहारहरु, राजनीतिका नाममा समाजमा विखण्डनको विउ रोप्ने केही व्यक्तिहरुलाई साथमा राखेर नयाँ शक्तिको विजारोपण गर्ने अभियानको औचित्यता पुष्टि हुन सक्तैन । उनको अभियानमा अदालतले भ्रष्टाचारी ठहर गरेका व्यक्तिहरु, इतिहाँसमा जनमारा अभियोग लागेका व्यक्तिहरु पनि छन् । यो अभियानले उनीहरुलाई समाजप्रति उत्तरदायी बन्ने अवसर दिनेछ या बाबुरामलाई टिप्पणीहरुको कलंकमाथि उभ्याउने छ, त्यो समयले देखाउँदै जानेछ ।