Friday, December 28, 2012

म तेस्रो विश्वबाट कराइरहेको छु


सरलता कहाँ खोजूँ
पृथ्वीको कुनचाँही भागमा
कुनचाँही विश्वमा खोजूँ म,
कस-कसका मनपेटमा

बस्तुगत छन् सवैतिर
निर्दयी ठोस विचारका अभिमुखीहरु
स्वार्थका परम् पुजारीहरु,
म तेस्रो विश्वबाट कराइरहेछु ।

मसँग यान छैन, दाम छैन
अनि, त्यो कपटी ज्ञान पनि
जसले म संसार जितौं
अनि, महत्वकांक्षा किनौं

फेदीमा छु, हिउँ पग्लने आश छ
नदिहरु बगुन निरन्तर–यो प्यास छ,
क्रेता–विक्रेता अनि उपभोगकर्ताहरुमाझ
म तेस्रो विश्वबाट कराइरहेछु ।

तर, मेरा आवाज विज्ञान होइनन्
मेरा अक्षरहरु बस्तुगत मानिदैनन्
मेरा विचारहरु श्रव्यसामग्री होइनन्
प्रचारात्मक छ, मेरै आँगनमा ।


आँशु नखसाली रुनेहरुलाई सोध
आँशु बगाएर अनुहार धुनेलाई खोज
म अवैज्ञानिक हुँला तर सत्य छु

म तेस्रो विश्वबाट कराइरहेको छु  ।

-विनोद ढकाल
२०६९ साल पुस १४ गते ।

Thursday, December 13, 2012

लडाकूको आक्रोश र चौधरी बाबुरामको अपेक्षा

विनोद ढकाल
बाँच्नुमात्र पर्छ के के देखिन्छ । मुलुकको अवस्था, सरकारको नियत, प्रधानमन्त्रीको चाला देखेर उदेक लाग्न थालेको छ । राज्यका चारैतिर छरपस्ट छन् समस्या । सहमतिको नाममा दैनिक हुने ‘फुस्रा’ वार्ताहरुबाट के नै निकास आउँछ भनेर चिहाउनेहरु कम छैनन् । यसबीचमा आउने अनेक प्रकारका समाचारहरुले मानिसलाई अचम्मित पनि बनाएको छ । यसै साता दुईटा खबरहरु निक्कै गवज लागे । बहिर्गमित पूर्व लडाकुहरुले आन्दोलन गर्ने कुरा र गरिब बाबुराम चौधरीको घरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराइको बास निक्कै चासो लाग्ने समाचार थिए । यी समाचारको गहिराइसँग राज्यको भुमिका झन गहिरोगरी जोडिएको छ । तर, नीतिगत तहलाई तल्लोस्तरसम्म व्यवाहारमा लागु गर्दा यी राज्य र सरकारका प्रमुख भुमिका हुने थिए । राजनीतिक परिघटनालाई हेर्दा र सुक्ष्म अध्ययन गर्दा त्यस्तो देखिन्न । प्रधानमन्त्रीले जति दलित र गरिवको घरमा बसे उनीहरुको अहिलेसम्मको आर्थिक अवस्थितिमा सुधार आउने कुनै काम हुन सकेको छैन भने युद्ध लडेर उनलाई सत्ताको कुर्सीमा पु¥याउनेहरु त सडकमै पुगिसके ।
राजनीति फोहोरी खेल हो, यसको पासोमा पर्नु हुँदैन भन्ने नेपाली समाजको उक्तिलाई अहिले राजनीतिक गतिविधिहरुले पुष्टि गरिरहेका छन् । सत्ता र प्रतिपक्षको राजनीतिक खिचातानी, सत्ताको लडाई र मुलुकमा बढेको बेरोजगारीलाई विश्लेषण गर्ने हो भने हामी ‘राजनीति फोहोरी खेल’ भन्दा अर्को परिभाषामा पुग्न सक्तैनौं । आम नागरिकले गर्ने यस्तोप्रकारको परिभाषा अहिलेको परिप्रेक्षमा सान्दर्भिक बनाउने काममा राजनीतिक दल, तिनका नेता र मुलुकले व्यहोरिरहेको क्षति काफी छ । मुलुकका हरेक निकाय, हरेक क्षेत्र राजनीतिबाट प्रभावित हुन्छ । तर, त्यो दर्शनको सही र प्रयोगात्मक अवस्थिति गतिलो नहुँदा नागरिक तहमा वैमनश्यता र विश्वास कमजोर हुँदै जान्छ । जुन हाम्रा राजनीतिक दलको दरिद्र व्यवाहार र नागरिकहरुको टिप्पणीले पुष्टि गरिरहेको छ ।
वर्तमान राजनीति एकीकृत नेकपा माओवादीको वरिपरि घुमिरहेको छ । त्यसका नेता पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराइको निर्णयको वरिपरि घुमिरहेको छ । अनि, सत्ता राजनीतिको प्रमुख कारण बनिरहेको छ । यहाँ सत्तालाई प्रधान बनाएर चलेको राजनीतिका कारण मुलुकले शान्ति प्रकृयाको थालनी, शान्ति सम्झौता यता निक्कै समस्या भोगीरहेका छौं । माओवादी सम्बद्ध र गैर माओवादी र आम नागरिकले पनि निक्कै अघिदेखि माओवादीबाट प्रभावित राजनीतिक व्यवस्थालाई बाध्यात्मक अवस्थामा स्वीकार्नु परेको छ । नागरिक निरीह र राजनीतिक दलहरु बलियो भएर मुलुक चलाउने प्रयत्न भइरहेको छ जुन अत्यन्तै दुखदायी विषय पनि हो । मुलुकमा आर्थिक विकास, कृषि व्यवस्थापन र नागरिक सुविधा तथा रोजगारीका सवालमाथि छलफल हुन सकेको छैन, छलफल र कृयाकलाप सवै सत्ताकेन्द्रित भएका छन् । जसका कारण जनताको आक्रोश निक्के गहिरो भएको छ । त्यसका परिणामहरु प्रचण्डले पाएको थप्पड, सुशिल कोइरालाले पाएको कुर्सी प्रहारको चोट र झलनाथ खनालले खाएको थप्पड सामान्य उदाहरण हुन् । यद्यपि, यस्ता उदाहरणसँगै अव नेताहरुमाथि आक्रमण गर्ने चेतावनी पनि आउन थालेका छन् । र, यसको सवैभन्दा ठूलो चोट एकीकृत नेकपा माओवादीले पाउने निश्चित छ ।
बहिर्गमित लडाकूहरु अहिले आन्दोलनमा छन् । १० औं वर्ष युद्ध लडेर पनि आफुहरुलाई अयोग्य ठहर गरेको भन्दै उनीहरुले राज्यसँग क्षतिपूर्ति माग गरेका थिए । द्वन्द्वकालमा जसले उनीहरुलाई युद्धका लागि निर्देशन दिएका थिए, उनीहरु ऋहिले सत्ताको मुख्य ठाउँमा छन् । तर, उनका माग पुरा गर्न सकेको छैन । बरु, राखिएको माग पुरा गर्न नसकिने भन्दै उनीहरुले वार्तामा आफ्नो अडान छाडेपछि बहिर्गमित लडाकुहरुले आन्दोलन छेडेका छन् । उनीहरुले एकीकृत नेकपा माओवादीको मुख्यालय पेरिसडाँडामा तालाबन्दि समेत गरिसकेका छन् । अहिले उनीहरुको माग पुरा नभएपछि अव कडा र भौतिक आmमणसम्मको आन्दोलनको तयारीमा जुटेका छन् । एकीकृत नेकपा माओवादीका नेतालाई भौतिक आक्रमण गर्ने चेतावनी दिनु स्वभाविक हो । जसले आफ्नो सत्तास्वार्थका लागि घरबार र समाजबाट नै टाढा राखेर उनीहरुलाई बन्दुक उचाल्न बाध्य बनायो, आज उही सही व्यवस्थापनका लागि तयार छैन । अनि, आफैंले दिएको प्रशिक्षणको प्रतिविम्ब पनि हो, यस्तो चेतावनी ।
५० औं हजार मानिसलाई द्वन्द्वको प्रभावमा राखेर व्यक्ति स्वार्थका हिसावमा राजनीति चल्न थालेपछि यस्ता चेतावनीहरु स्वभाविक बनेर आउन थालेका छन् । मानिसलाई द्वन्द्वको प्रभावमा पीडित बनाएर बनेको सरकारको औचित्यमाथि अनेक कोणबाट प्रश्न उठ्नु स्वभाविक हो । तर, अव पार्टीमा संगठित भएका पूर्व लडाकुहरु नै मुलपार्टी विरुद्ध भौतिक आक्रमणसम्मको आन्दोलनमा जाने घोषणा सहित सडकमा आउनु भनेकोचाँही एमाओवादी पार्टी पूर्णंरुपा राज्य र कार्यकर्ताभन्दापनि व्यक्तिवादी सोच, अवसर र महत्वकांक्षाबाट अभिप्रेरित भएको पाइएको छ । ऊ, सरकार केवल सरकार टिकाउने खेलमा मात्र लागेको छ । लामो समयसम्म मुलुकलाई बन्दि बनाएर नागरिकलाई विकास र अग्रगमनको बाटोबाट अलमलाउने कार्यमा उद्दत छ ।
विज्ञान र प्रविधिसँगै विकासको प्रतिष्पर्धामा दक्षिण एसीयाका मुलुकहरुसँग पनि कमजोर भइरहेको छ । १५ वर्ष मुलुकले विकासको सुनौलो अवसर गुमाएको छ । भौतिक संरचनाहरु गणतन्त्रका नाममा भत्काउने, नागरिकको मनोभावना भत्काउने र समाजलाई विग्रहमा पु¥याउने अवस्थाको अपजस एमाओवादीले नै लिनुपर्छ । बलियो राज्य संयन्त्र बनाएर भ्रष्टाचार नियन्त्रण गरी विकासको गतिलाई लिनुपर्ने वेलामा मिलेर बसेको समाजलाई भाँडी अझ गहिरो द्वन्द्वको भुमरीमा पु¥याएर सत्ताको स्वार्थलाई आपूर्ति गर्ने शैलीले मुलुकलाई विकासको गतिमा लैजान सक्तैन । प्रधानमन्त्री भएपछि गरिब बाबुराम चौधरीको घरमा एक छाक खाएर क्रान्ति सम्पन्न हुँदैन । त्यो चौधरी बाबुरामले सोचेको, उसले कल्पना गरेको सुनौलो विहानी, उसका भविष्यले देखेको अवसर सृजना गर्नु क्रान्ति हुन्छ । त्यो गरिब किसानले मल खोजेको छ, उसले राज्यमा अवसर खोजेको छ, गरिखाने वातावरण खोजेको छ । नकि प्रधानमन्त्री साँझ बसेर एक छाक खाएर जाओस भन्ने अभिप्राय उसमा छ । आफ्नो राजनीतिक मुद्दाका लागि गरिबको घरमा बास बस्नु प्रधानमन्त्री बाबुरामका लागि गर्वको कुरा हुन सक्छ, सफलताको कुरा हुनसक्छ । तर, त्यो गरिव किसानको अपेक्षा त्यस्तो छैन ।

व्यक्तिगत भिसामा परदेशतिर

डी. विनोद
बुटवलका कविन्द्र पोखरेल कतार जाने तयारीमा छन् । उनी श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागमा धाइरहेका छन् । आफन्तले पठाएको भिसाका आधारमा उनी निर्माण कम्पनीमा काम गर्न जान लागेका हुन् । भन्छन्,‘एउटा निर्माण सम्बन्धि कम्पनीका लागि जान लागेको हुँ । एक हजार रियल तलव हुन्छ भनेकाले तयारी गरिरहेको हुँ ।’ भर्खर १२ कक्षा उतिर्ण गरेका उनलाई मामा पर्ने आफन्तले भिसा पठाउने आश्वासन दिएका थिए । भन्छन्,‘भिसा आउने निश्चित भइसकेका कारण म आफ्नो कागजी कामका लागि यहाँ आएको छु ।’
नेपाली युवा श्रमशक्तिका लागि वैदेशिक रोजगार गतिलो आकर्षण बनेको छ । त्यसमा पनि कम्पनी मार्फत जानेभन्दापनि व्यक्तिगत भिसामा जानेको संख्या बढ्न पनि बढ्न थालेको छ । खाडी मुलुकमा यसरी व्यक्तिगत भिसामा जाने युवाको संख्या ह्वात्तै बढेको छ । जहाँ नेपाली कामदार ज्यादा छन् त्यहाँ व्यक्तिगत भिसामा जानेहरु पनि बढि हुनु स्वभाविक नै भएको छ । पछिल्लो समयमा खाडी मुलुक कतारमा नेपाली कामदारको संख्या बढेको छ जहाँ व्यक्तिले पठाएको भिसाका आधारमा कामदार जाने क्रमपनि बढिरहेको छ ।
धनगडीका राजेन्द्र उपाध्याय पनि व्यक्तिगत भिसाकै आधारमा कतार नै जान लागेका छन् । विभाग परिसरमा भेटिएका उनले शुक्रबारसँग भने,‘केही कागजी काम बाँकी छ एकमहिनाभित्र उड्ने तयारीमा छु ।’ पछिल्लो समयमा कतारलाई श्रम गन्तव्य बनाएर जानेको संख्या अत्यधिक हुने गरेको छ । म्यानपावर कम्पनीहरु, व्यक्तिगत भिसामा पनि कतारमा माग बढ्ने गरेका कारण कतार गतिलो गन्तव्य बन्दै गएको हो । मोरङको लेटाङका हरि श्रेष्ठपनि व्यक्तिगत भिसामा कतार जान लागेका छन् । उनीपनि निर्माण कम्पनीका लागि जान लागेका हुन् । भन्छन्,‘आम्दानी औसत भएपनि मौका राम्रो आएकाले जान लागेको छु ।’ श्रेष्ठका अनुसार कम लगानीमा औसत आम्दानी र धेरै नेपाली भएका कारण कतारलाई श्रम गन्तव्य बनाउन लागिएको हो ।
त्यसो त वैदेशिक रोजगार विभागको गत महिनाको तथ्याङ्कमा पनि व्यक्तिगत भिसामा कतार जानको संख्या उच्च देखिएको छ । कात्तिकमा मात्र १६ हजार सात सय ७३ जना कतारका लागि उडेका थिए । त्यसमध्ये व्यक्तिगत भिसामा मात्र दुई हजार आठ सय १७ जना पुगेका छन् । विभागका अनुसार व्यक्तिगत भिसामा यत्तिको संख्या विदेश जानु भनेको उच्च संख्या हो । विभाग लगायत वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड र नेपाल सरकारले पनि संस्थागत भिसालाई बढि महत्व दिने गरेका छन् । विभागले त व्यक्तिगत भिसालाई निषेध गर्ने योजना पनि बनाएको छ । कामको जोखिम र मानिसहरु समस्यामा परेका कारण सरकारी निकायबाट यस्तो तयारी भएपनि श्रमको अवसर खोज्नेहरुले भने व्यक्तिगत भिसालाई त्याग्न सकेका छैनन् । बोर्ड अधिकार अशोक गौतम भन्छन्,‘व्यक्तिगत भिसामा जोखिम हुने भएकैले पनि संस्थागत भिसा लिनका लागि हामीले अपिल गरेका हौं । तर, कामदारहरुका लागि आएको भिसालाई श्रम स्वीकृति दिनैपर्ने हुन्छ ।’
गत वर्षसम्म कामदारको उच्च माग गर्ने मलेशियालाई यस वर्ष खाडी मुलुक कतारले उछिनेको छ । सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिता गर्ने अवसर पाएको कतारले निर्माणका लागि वैदेशिक कामदार ज्यादातर लगेका कारण पनि नेपाली श्रमशक्तिको संख्या बढेको हो । खाडी मुलुकमा त्यसैपनि नेपाली कामदारको माग बढ्दो छ । यस वर्षपनि कतारमा राम्रो संख्यामा नेपाली कामदारको माग भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार अन्य मुलुकका तुलनामा अहिले कतारमा नेपाली कामदारको माग बढेको हो । निर्माण क्षेत्रमा नै नेपाली श्रमशक्ति जाने क्रम बढेको पनि देखिन्छ ।


हर्षबहादुरका विस्मात

जीवनलाई परिवारसँग रमाउने उमङ्ग कायम राखेका छन्, हर्षबहादुर रानामगरले । परिवारसँग लामो समय बसेर गाउँमा रमाउने उनको मनोकांक्षा अहिले पनि कायम छ । छोराछोरी, घरपरिवार र गाउँमा नयाँ काम थाल्ने उनको महत्वकांक्षी योजनालाई पनि विर्सिएका छैनन् । विदेशबाट फर्किदाँ हर्ष र उन्माद खुसी बाकेर सुखका आँशु झार्ने उनको रहर थियो । तर, उनका यी सवै रहर तासको महल झैं भत्किएको छ । उनलाई जीवनसँग दिक्क लागेको छैन, बरु साँचेका र सोचेका सपनाहरु भनेजसरी पुरा गर्न नसकेकोमा खेद भएको अनुभव सुनाउँछन् ।

धन कमाई ल्याउने आशामा सात वर्ष अघि खाडी छिरेका उनले श्रीमतिका लागि नयाँ साडी ल्याउन सकेनन्, बरु आफ्नो भएको मृगौला काम नगर्नेगरी खराब भएको सन्देश लिएर आए । लामो समयसम्म दोहाको अस्पतालमा थलिएर फर्किए उनी । कमाएको रकम लिएर हैन, सहकर्मीको हमदर्दीबाट उठाएको विर्सनै नसक्ने ऋण लिएर फर्किए । सँगै बस्ने नेपाली सहकर्मी र सहयोगीहरुको गुण विर्सन नसक्नेगरी फर्किएको बताउँछन् उनी । ‘एक महिनाजति अस्पतालमा बसें । साथीहरुको सरसहयोगबाट नेपाल फर्किएको छु । उपचारका लागि अस्पताल धाइरहेको छु ।’ उनले भने,‘काठमाडौंमा अझै केही महिना बस्दैछु ।’ नयाँ वर्षपार्कको एक गेष्ट हाउसमा ठहरिएका छन् उनी । बाँच्ने रहर अझै कायम राखेका उनी मृगौला डायलासिसका लागि प्रत्येक दिन वीर अस्पतालको प्रांगणमा पुगिरहन्छन् । गत साता उनी तीनदिन लगातार पुगेका थिए । उनी नेपाल फर्किएपनि  पाल्पाको आफ्नो गाउँ पुग्न सकेका छैनन् । ‘अहिले त म विरामले थलिएको छु, हिँड्न सक्ने भएपछि गाउँ जाने योजना बनाएको छु ।’ उनले भने ।

उनीसँग आफ्ना आफन्त भेट्ने अपूरो रहर छ । नेपाल फर्किएर गाउँमा वातमार्ने र विदेशका अनुभव सुनाउने मौका उनले पाएका छैनन् । सात वर्ष अघि सन् २००५ मा हाँसेर कतार हानिएका उनी आँखाभरी दुखका आँसु बोकेर फर्किएपनि काठमाडौंबाट उम्कन पाएका छैनन् । ‘केही समय चल्नका लागि पनि यहाँबाट उम्कन पाउने अवस्था छैन । अझै केही महिना यहिँ रहन्छु होला ।’ भावुक हुँदै उनले शुक्रबारसँग भने,‘केही समय त यहाँ बसेर आफ्नो प्रारम्भिक उपचार पनि त गराउनु छ ।’

कतारमा कार्यरत रहँदा उनी सनैया–४३ मा बस्दथे । दोहाको क्युवान अस्पतालमा कार्यरत थिए उनी । पछिल्लो समय नर्सिङ साइडमा काम गरेका उनले कतार पुग्नासाथ होटलमा काम गरेका थिए । उनी सम्झिन्छन्,‘पहिला होटलमा काम गरेको थिएँ, लन्ड्रीको, पछि हाउस किपिङको काम गरें । काम गर्दा त्यस्तो केही शारिरीक समस्या भएको थाहा थिएन ।’ उनले दोहाको म्यारिओट होटलेमा तीन वर्ष काम गरेका थिए । त्यसपछि क्युवान अस्पतालमा उनी कार्यरत थिए । व्यक्तिगत भिसामा कतार पुगेपनि काममा गुनासो गर्ने ठाउँ थिएन । बरु, उनी भाग्यलाई दोष दिन्छन् । यद्यपि, कतारको वातावरणसँगको प्रतिकुलता नमिल्दा आफु पीडित भएको उनको ठम्याई पनि छ । भन्छन्,‘कति खुसीसाथ विदेशिएको थिएँ । तर, एक महिनाअघिमात्र कतारको अस्पतालले मेरो मृगौला खेर गएको भनेपछि म निक्कै दुखी भएको छु । आफ्ना आकांक्षाहरुलाई दवाएर काठमाडौंमा जीवनका लागि बसीरहेको छु ।’
पाल्पा पिपलडाँडा–७ बाट विदेशिएका हर्षबहादुर कमाएको सम्पत्ती आफ्नै उपचार गर्दा सकेका छन् । ‘केही रकम जम्मा गर्न सकिएन, विरामी भएपछि अहिले आफ्नै लागि खर्च गर्न पनि धौ धौ भएको छ ।’
उनका दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले उनी काठमाडौंमै थन्किएका छन् । बाँच्नका लागि उनले मृगौला ‘डाइलसिस’ गरिरहनुपरेको छ । अहिले उनको एउटै अपेक्षा छ,‘बाँच्न पाए केही गर्न सकिन्छ ।’

काममा जानेलाई टिप्स


यदि तपाई वैदेशिक रोजगारीमा हाउसमेड अथवा केयर गिभरका रुपमा जानु हुँदैछ भने नेपाल सरकारले तयार गरेको कार्यविधिको निम्न कुराहरुमा ध्यान दिनुहोस ।

– हाउस मेडका लागि मासिक आधारभूत वेतन संयुक्त अरब इमिरेष्ट् (यू.ए.इर्. ९०० दिरहाम वा सो भन्दा बढी पारिश्रमिकमा मात्र रोजगारीमा जानु पर्दछ ।
– नेपालबाट कामदार जानुअघि कामदारका नाममा रोजगारदाताले बीमा, औषधि उपचार सुविधा र दूतावासले निर्धारण गरेको निश्चित धरौटी रकम पेश गरेपछि दूतावासले
कामदार ल्याउने करारनामा प्रमाणित गरेपछि मात्र रोजगारीमा जानुपर्दछ ।
– रोजगार दाताको न्यनतम आय मासिक घरभाडावाहेक १०,०००।– दिरहाम भएको र सुरक्षण वापत ५,०००।– दिरहाम राजदूतावासमा धरौटी राखे नराखेको बारेमा कामदार आफैंले बुझुनुपर्दछ ।
– दूतावासद्वारा उपलब्ध गराइएको फारममा रोजगारदाताले कामदारको वासस्थानको व्यवस्था स्पष्ट रुपमा उल्लेख गरिएको बारेमा जानकारी लिएरमात्र जानुपर्दछ ।
महिला कामदारको हकमा बासस्थानको लागि छुट्टै कोठा र शौचालयको व्यवस्था गर्नुपर्नेछ
–अविवाहित पुरुषले महिला घरेलु कामदार नियु्क्त गर्न नसक्ने र रोजगारदाताको चरित्रगत कुराको लागि उसको प्रहरी प्रतिवेदन पढेर र बुझेरमात्र जानु उपयुक्त हुन्छ ।
संयुक्त अरब इमिरेष्टको प्रचलित कानुन अनुसार आधिकारिक निकायबाट रोजगारदाताले घरेलु कामदार राख्न पाउने स्वीकृतिपत्र दूतावाससमक्ष पेश गरेको हुनुपर्दछ ।
उल्लिखित कुराहरुका बारेमा राम्रोसँग जानकारी राख्नका लागि वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा सम्पर्क गरी बुझेर जाँनु उपयुक्त हुन्छ ।
शुक्रबार साप्ताहिकमा प्रकाशित ।

Wednesday, December 5, 2012

कहिले टेकूँ आफ्नै माटो

डी. विनोद
साउदी अरबमा काम गर्ने सिलसिलामा थला परेपछि काभ्रेका केदार दियालीको उद्दारका लागि उनका भाई गोपाल दियालीले बैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा यसैसाता निवेदन दिएका छन् । मजदुरी काममा रहेका केदार मौसमका कारण त्यहाँ काम गर्न नसक्ने भएपछि वैदेशिक रोजगारीका लागि गरेको लगानी डुव्ने निश्चित भएको छ भने उपचारका लागि पनि समस्या भएको छ । गोपालले दिएको निवेदनमा उल्लेख छ,‘विरामी परेका केदारलाई तत्काल दुतावासबाट उद्दारका लागि पहल गरिदिन अनुरोध गरिन्छ ।’ बोर्डले उक्त निवेदनमाथि निगरानी राखेर परराष्ट्र मन्त्रालय पठाउने तयारी गरेको छ ।
वैदेशिक रोजगारीका लागि खाडी लगायतका मुलुकमा जाने नेपालीहरु कमको चाप, वातावरणको प्रतिकूलता र यातनाका कारण प्रताडित भइरहेका छन् । उनीहरुले सञ्चारका विभिन्न माध्यमबाट आफन्तलाई पीडा पोख्ने गरेका छन् । रोजगारीका लागि गरेको लगानी डुवेपनि आफ्नो उद्दारका लागि उनीहरुले अपिल गरिरहेका छन् । कतिपय अपिलहरुको कार्यान्वयनकै क्रममा रहँदा प्रताडितहरुले मृत्युवरण समेत गर्दछन् । सुतेकै अवस्थामा मृत्युहुनेहरु मौसमको प्रतिकुलतामा ज्यादा रहेको विभिन्न अनुसन्धानहरुले देखाएको छ । यद्यपि, उद्दारको काममा भने बोर्डले कुनै कसर बाँकी नराखेको अधिकारीहरुले बताएका छन् । कतिपय कामदारहरु वेपत्ता हुने गरेका छन् भने धेरैजना यातनाका भागीदार पनि बनेका छन् ।
कुवेतमा कार्यरत फुर्पी स्याङ्वो काम गरिरहेको समयमा वेपत्ता भएकी छन् । उनको अवस्था अज्ञात भएपनि आफन्त फुलकाजी तामाङ्ले खोजीका लागि बोर्डमा निवेदन दिएका छन् । ‘काम गरिरहेको ठाउँबाट हराएको हुँदा उनको खोजी गरि नेपाल फर्काउनका लागि निवेदन गर्दछु ।’ उनले बोर्डमा दिएको लिखित निवेदनमा उल्लेख छ । फुर्पीको अवस्थाबारे कुवेतस्थित नेपाली दुतावासलाई जानकारीका लागि पत्राचार भइसकेको छ । दुतावासले खोजीको पहल गरिरहेको छ । तर, फुर्पी नेपालको कुन ठाउँकी हुन भन्नेबारेमा भने निवेदनमा पनि प्रष्टसँग खुलाइएको छैन । यद्यपि, दुतावासले स्थानिय गैर आवासिय नेपाली संस्थाको सहयोगमा खोजी कार्य अगाडी बढाएको जनाएको छ ।
विदेशी भुमीका श्रम गर्न गएका नेपाली श्रमशक्ति विभिन्न समस्यामा पर्ने गरेका छन् । परदेशको भुमीमा कामको चाप, काम लगाउने कम्पनीले लगाएको पावन्दिका कारण समस्यामा पर्ने गरेका हुन् । कतिपय नेपाली श्रमशक्तिले काम गाह्रो भएका कारण कम्पनी छाडेर भाग्ने गरेकाले पनि समस्या भोगिरहेका छन् । ओखलढुङ्गा प्राप्चा–२ का धनबहादुर कटुवालले नेपालमा सम्झौता गरेअनुसार काम नपाउँदा साउदी अरबमा यातना भोग्नु परेको छ । शारिरीक र मानसिक यातना भोगेका उनले आफन्तलाई टेलिफोन गरी नेपाल झिकाउनका लागि पहल गरिदिन आग्रह गरे । आफन्त केदार कार्कीले उनको उद्दारका लागि बोर्डमा लिखित निवेदन दिएका छन् । ‘भनेअनुसारको कम्पनी र काम नभएपछि धनबहादुर कटुवाल पीडामा छन्, उनले यातना पाएको गुनासो गरेका छन् । उद्दारका लागि अपिल गर्दछौैं ।’ निवेदनमा भनिएको छ,‘सम्बन्धित मुलुकको दुतावास मार्फत उद्दारको प्रकृया थाल्नका लागि आग्रह गरिन्छ ।’ धनबहादुर किष्ट इम्प्लोमेन्ट सर्भिसेस म्यानपावर कम्पनी मार्फत अफिस क्लिनरको पदमा काम गर्न साउदी अरब पुगेका थिए । तर, उनलाई सम्झौता गरेको कम्पनी भन्दा अलग कम्पनीमा पु¥याएको र मालिकले यातना दिएको गुनासोपत्र समेत बोर्डमा दाखिला गरिएको छ ।
हरेक दिन बोर्डमा विभिन्न समस्याका गुनासो लिएर आउने कामदार परिवारको घुइँचो लागेको छ । ‘दैनिकजसो यस्ता निवेदन र गुनासोहरु बढ्न थालेका छन् । हामीले परराष्ट्र मार्फत सम्बन्धित दुतावासलाई पत्राचार पहल गरिरहेका छौं ।’ बोर्ड कर्मचारी अशोक गौतम भन्छन्,‘यस्ता धेरै समस्याहरु विदेशमा भोगीरहेका आधिकारीक पत्र हामीकहाँ आउने गरेका छन् । पहुँच नभएका कतिपयले गर्न नसकेको पनि हामीले सुनेका छौं ।’ रोजगारीको गतिलो आकर्षण भएर पनि वैदेशिक रोजगारीका विषयमा बढेका ठगी, यातना, समस्याका उजुरीहरु सम्बन्धित निकायमा बढ्ने गरेका छन् । वैदेशिक रोजगार विभागको उजुरी शाखामा दैनिक यस्ता उजुरीको चाङ लाग्ने गरेको छ । ‘नेपालमा भएको ठगी, विदेशमा पाएको यातना र समस्याका उजुरीहरु विभागमा ज्यादा पर्दछन्, हामीकहाँ प्रकृया पुरा गरी उद्दारका लागि अपिल भएका पत्र आउने गरेका छन् ।’ गौतमले भने,‘यी यो साता आएका निवेदनहरुका केही अंश हुन् यस्ता धेरै आवदेनहरु विभागमा परेका छन् ।’

लासको पनि भिषा

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका रोल्पाका भिमबहादुर खत्रीको शव नेपाल ल्याउन पाँच महिना लाग्यो । ०६८ चैत महिनामा मृत्यु भएका खत्रीको शव ०६९ साउनमा मात्र नेपाल आइपुग्यो । पाँच महिनासम्म उनका आफन्तले अन्मित संस्कारका लागि कुर्न प¥यो । त्यस्तै गत जेठ २ गते साउदी अरबमा मृत्यु भएका भद्रबहादुर तामाङको शव झिकाउन दुई महिना दुई दिन लागेको थियो । ‘मृत्यु भएको ६२ दिनमा मात्र उनको शव नेपाल आइपुग्यो । हामीले मृत्यु हुनासाथ प्रकृया थालेका थियौं ।’ 
मृतकका आफन्त लक्ष्मी मोक्तानले जनाइन् । त्यस्तै जेठमै मृत्वुरण गरेका कालीकोटका धर्मराज शाहीको शव नेपाल ल्याउनका लागि पनि ६५ दिन लागेको थियो । उनका आफन्तले पनि अन्तिम संस्कारका लागि त्यति दिन पर्खिनु परेको थियो ।
साउदी अरबमा मृत्युु भएका नेपाली श्रमशक्तिको शव नेपाल ल्याउन कम्तिमा ३५ दिन लाग्ने गरेको छ । सरकारी प्रकृयासहित चालीस दिनभन्दा अगाडी कुनै शव आउनसक्ने अवस्था छैन । नेपाली प्रशासनयन्त्रको कमजोरीले नभई साउदी अरबको कानुनी प्रकृयाका कारण यस्तो जटिलता हुने गरेको छ ।
वैदेशिक रोजगारीमा गएर मृतयुवरण गरेकाहरुको शवलाई नेपाल ल्याउन सहज छैन । अन्य मुलुकबाट नेपाल ल्याउनका लागि कानुनी प्रकृयामा कुनै जटिलता नभएपनि साउदी अरबमा मृत्यु भएकाहरुका लागि साउदी अरबकै कानुन जटिल बनिरहेको छ । त्यहाँको कानुन अनुसार मृत्यु भएका विदेशी कामदारको शव सम्बन्धित मुलुक झिकाउनका लागि भिषा लगाउनुपर्ने जटिलता छ, जुन अन्य मुलुकमा छैन । ‘शव झिकाउनका लागि कम्तिमा प्रकृया थालेको पाँच हप्ता लाग्छ, साउदी कानुन अनुसार शव झिकाउनका लागि पनि भिषाको आवश्यकता हुने गरेको छ ।’ वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका अधिकारी अशोक गौतम भन्छन्,‘अन्य मुलुकमा अलि झण्झटिलो छैन, साउदी अरबको यो झण्झटिलो प्रकृया हो ।’ बोर्डमा शव झिकाउनका लागि आउने परिवारलाई कम्तिमा पनि पाँच हप्ताको समय दिइने गरिएको छ । ‘अन्य मुलुकको भए चाँडो पनि हुन्छ तर साउदी अरबको हकमा भने आफन्तलाई कम्तिमा पनि पाँच हप्ताको समय दिइने गरिएको छ ।’ गोतमले भने,‘त्यहाँभन्दा चाँडो हामीले चाहेर पनि हुँदैन ।’
अन्य मुलुकमा सरकारी प्रकृया सकिएको केही सातामा मै अथवा केही दिनमा पनि शव नेपाल झिकाउन सकिन्छ । तर, साउदीमा कम्तिमा डेढ महिना लाग्ने गरेको छ । जसका कारण मृतकका आफन्तले उसको अन्तिम संसारका लागि पनि डेढ महिना पर्खिनुपर्ने वाध्यता रहेको छ ।

काममा जानेलाई टिप्स

–विभिन्न मान्यताप्राप्त संस्थाबाट सम्बन्धित मुलुकको कामका बारेमा अभिमुखिकरण तालिम लिएर मात्र जानु पर्दछ ।
–छापिएका विज्ञापनहरुको आधिकारिकताका बारेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा जानकारी राखेर मात्र रोजगारीका लागि जानुपर्दछ ।
–भिसा र कामको सम्पूर्ण कागजात सम्बन्धि पूर्ण जानकारी पछि मात्र लागत खर्च दिनुपर्दछ । (सरकारी निकायले तोकेअनुसार त्यो भन्दा बढि दिन हुँदैन ।’
–मलेशियामा जान खोज्ने कामदारहरुले कमाइलाई सुरक्षित गर्न त्यहाँ सञ्चालन हुने विभिन्न प्रकारका चिट्ठा कार्यक्रम खेल्नु उपयुक्त हुँदैन । टोटो नाममा खेलाइने चिट्ठामा रकम लगानी गर्दा कमाई गुम्ने खतरा हुन्छ ।
–काममा पुगेको सम्बन्धित मुलुकको श्रम सम्बन्धि कानुनी व्यवस्था जानु अघि बुझ्नु उपयुक्त हुन्छ । गएपछि अलपत्र नपर्नका लागि उक्त जानकारी आवश्यक छ ।
–सम्झौता गरेअनुसारको कम्पनी, तलव र सुविधा भएन भने सम्बन्धित मुलुकमा रहेको नेपाली दुतावास वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्नुपर्दछ । विभागले स्वीकृति नदिएको म्यानपावर कम्पनीमार्फत जानु हुँदैन ।
–आफुले कारोबार गरेको म्यानपावर कम्पनी सरकारी निकायको कालोसूचीमा छ वा छैन ? दर्ता छ वा छैन भन्ने जानकारी राखे ठगीबाट बचिन्छ ।
–एजेण्टहरु मार्फत जानुभन्दा पनि सवै बुझेर इजाजतपत्र प्राप्त कम्पनीबाटमात्र कारोबार गर्दा समस्यामा पर्ने खतरा हुँदैन ।
–घरेलु कामदारमा जानेहरुले ‘केयरगिभर’ पाठ्यक्रमको अनिवार्य अध्ययन र तालिम लिन आवश्यक हुन्छ । अन्यथा समस्यामा परिने खतरा हुन्छ ।
–जाली काजगात, जाली नागरिकता र भिसाको बारेमा राम्रोसँग बुझेरमात्र जानुपर्दछ । अन्यथा समस्यामा पर्न सकिन्छ । महिलाहरुले ३० वर्ष नपुगी घरेलु कामदारका रुपमा जान हुँदैन ।
आजको शुक्रबारमा प्रकाशित विदेशको कामबारेको आलेख ।

Monday, December 3, 2012

युवालाई नेतृत्वको प्रस्ताव

विनोद ढकाल
नेपाली राजनीतिको संगिन मोडमा नयाँ प्रधानमन्त्री र सहमतिको सरकारको खोजी भइरहेको छ । देशी शक्तिकेन्द्रहरु र विदेशी दुतहरु पनि नेपाली शक्तिको नेतृत्वका लागि सक्रिय बनेका छन् । तर, आफ्नो मुलुकको भविष्यका लागि नेपाली जनशक्तिचाँही गौण बनाइएका छन् । एक दुई दर्जन नेताको कोठे वैठक र आधा दर्जन विदेशीको सुझाव र सल्लाहमा मुलुकको भविष्य निर्धारणको चलखेल भइरहेको छ । अनि, नेपाली जनता नयाँ नेतृत्व को होला ? भन्ने विषयमा चासोपूर्ण भएर टेलिभिजनका पर्दा, अखबारका पानालाई नियाँलिरहेका छन् । मुलुकले नयाँ प्रधानमन्त्री, सहमतिको सरकार पनि पाउला । संक्रमित राजनीतिले तत्कालका लागि एउटा किनारा पाउने सम्भावना पनि बढ्ला । तर, त्यो सम्भावना सुरक्षित अवतरण हुनेछ वा लोकतन्त्रका नाममा बन्धक बनाउने एउटा खेल ? आम प्रश्न बन्नुपर्ने वेलाचाँही पक्कै भएको छ ।
पुस्तान्तरण हुन नसकेको राजनीति, नयाँ गति दिन नसकेको संक्रमित व्यवस्था र भ्रष्टाचारमा लतपतिएको कर्मचारीतन्त्रसँगै हामी उज्वल निकासको बाटो खोजीरहेका छौं । आफुमा समाधान खोज्न छाडेर विदेशी सल्लाहकारहरुको सुझावलाई पर्खिरहेका छौं । यो गति गुञ्जायस छ, विश्लेषण गर्ने वेला पक्कै भएकै छ ।
यति लामो समयसीमा, लामो छलफलमा कुन राजनीतिक दलले सरकारको नेतृत्व गर्ने भन्ने सवाल प्रधान बनेको छ । तर, सवै राजनीतिक दलले पुस्ता हस्तान्तरण गरेर नयाँ नेतृत्व, नयाँ पुस्ता भन्ने विषयमा सामान्य छलफल गरेका छैनन् । फेरिपनि आधा दर्जन व्यक्तिका नाममा सहमति खोज्ने प्रयत्नमा जुटेका छन् सवै, तर आधा करोड युवाको सवाललाई सम्बोधन गरेर नयाँ प्रस्ताव गर्ने सोच कसैमा पलाउन सकेको छैन । अवको नयाँ प्रस्ताव युवा नेतृत्वको हुनु आवश्यक छ । तर, सत्तामा लतपतिएको रंगमा युवा रंग मिसाउने प्रयत्न कतैबाट हुन सकेको छैन, यो लज्जास्पद राजनीतिको उदाङ्गो चेहरा हो ।
‘युवा परिवर्तनका संवाहक हुन् । भोलीका नेतृत्व हुन् ।’ हरेक राजनीतिक दलका नेताहरुले व्याख्या गर्ने शैली बन्यो । युवा ‘परिवर्तनका मेरुदण्ड थिए, अवको नेतृत्वका हकदार हुन्’ भन्ने विषयमा कसैलेपनि बोलेनन् । किनभने युवा अर्काका लागि परिवर्तन गरिदिने, शक्ति र सत्ताको वागडोर मिलाइदिने शक्तिका रुपमा प्रयोग भए । ००७ सालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस, ०३६ सालको विद्यार्थी आन्दोलन होस अथवा ०४६  सालको जनआन्दोलनलाई फर्केर हेरौं । ०५२ तत्कालिन नेकपा माओवादीले बन्दुक भिराएर १० वर्षमा २० हजार मानिसको प्रत्यक्ष मृत्युवरणको अवस्थिति गर्ने÷गराउने खास शक्तिलाई नियाँलौं, अथवा ०६२÷०६३ को जनआन्दोलनमा सहिद हुनेहरुलाई मुल्यांकन गरौं । जिउँदा सहिदहरुलाई ‘रिफ्रेन्स’मा राखेर पनि युवाको सवालमा व्याख्या गर्न आवश्यक छ । पुरातनवादी र परम्परागत लोभीपापी राजनीतिक दलका नेताहरुको व्याख्याको शैलीलाई हेर्ने हो भने नेपाली युवा कहिलेपनि नेतृत्वमा पुग्न सक्तैनन् । अधिकार आर्जनका लागि उनीहरु जति नै लडेपनि सीमित व्यक्तिको स्वार्थकेन्द्रित हुने विभिन्न आन्दोलनहरुबाट पुष्टि भएका तथ्यहरु आँखा अगाडी छन् ।
विश्व विकासको इतिहाँसलाई पल्टाउँदा हरेक मुलुकको विकासयात्रा र सम्बृद्धिको मुख्य स्रोत युवाको सक्षमता देखिएको छ । युवाको नेतृत्व र सीपको पारदर्शी प्रयोगबाट नै अमेरिका, चीन, रुस, युरोपका कयन मुलुकहरु, जापान, कोरिया, जापान देखिएका छन् । यहाँसम्मकी आर्थिक हैसियतमा उक्लिनका लागि खाडी राष्ट्रहरुले नेपालजस्ता अवसर दिन नसक्ने मुलुकका युवालाई श्रमलोभममा पारेर बोलाइरहेका छन् । जसले नेपालको निर्माण, सृजना र सम्बृद्धी हुन सकेको छैन भने त्यस्ता मुलुकहरु विकासका उचाइमा पुगिरहेका छन् । यी मुलुकहरु विकासका उदाहरणमात्र होइनन्, युवा शक्ति नै विकासका हर क्षेत्रमा कृयाशिल बन्न सक्छन् भन्ने गतिला उदाहरण पनि हुन् ।
वर्षेनी चार लाख युवा विदेसिदा पनि नेपाली राजनीतिमा युवा आन्दोलन चलीरहेकै व्याख्या छ । राजनीतिको भद्रगोलकै कारण युवाको सहज व्यवस्थापन हुन नसकेपछि अवसरका भोका ‘युवाशक्ति’ मुलुकबाट पलायन हुन थालेका हुन् भन्ने विषयलाई नजरअन्दाज गर्न मिल्दैन । जसले हर प्रकारको विकासमा प्रभाव परेको छ । ग्रामिण बस्तीका खेतहरु बाँझा हुन थालेका छन् भने उत्पादनमा पनि कमी हुन थालेको छ । कृषि प्रधान मुलुकमा व्यवासायिक सुरक्षाको कमीकै कारण श्रमशक्ति विदेसिदा बार्षिक २० अर्बभन्दा बढिको कृषि सामग्री नेपाली बजारमा भित्रिरहेको छ । पर्यटनको उच्चतम अवसर भएर पनि पर्यटनमा विकास र अवसरको बराबर खाँचो देखिएको छ ।
युवाहरु आन्दोलन बाहेक परिचालनसहितको यवस्थापकीय भुमिकाको अवसर उपभोगकर्ता हुन सकेनन् । पुरातनवादी सोचको राजनीतिक व्यवस्थाका कारण नेपाली शक्तिले सहज व्यवस्थापन पाउन सकेनन् । राजनीतिमा शक्ति र हिंसाका लागि युवाको उपयोग ज्यादा भयो । मृत्युवरण गर्ने र क्रान्तिलाई सफल बनाउने शक्तिका रुपमा युवा देखिए तर सत्ता पुस्तान्तरण नहुँदा नेतृत्वदायी भुमिका पाउन सकेनन् । जसले गर्दा अहिलेपनि युवाशक्ति अधिकार, न्याय, रोजगार र नेतृत्वको खोजीमा भौतारिएका छन् ।
राज्यका हरेक निकाय राजनीतिबाट प्रभावित भएकाले पनि युवा आन्दोलन सकारात्मक रुपमा राजनीतिले प्रभावकारी रुपमा नेतृत्व गर्न नसकेको क्षेत्र बनेको छ । नीतिका कुरा राम्रा भएपनि त्यसलाई व्यवाहारमा उतार्ने प्रकृयाको सक्षमता अहिलेपनि नेपाली राजनीतिमा कमजोर देखिएको छ । साँच्चै युवा संघ नेपालका महासचिव निरज आचार्यले भनेजस्तो       संगठनात्मक क्षेत्रमा देखिएका अब्यवस्थापन र समस्याहरुलाई नियाँलेर नयाँ ढंगको व्यवस्थापनमा नलाग्ने हो भने इतिहाँसमा युवाका सवाल आन्दोलनको घेराबन्दिभित्र मात्र परिभाषित हुनेछन् । हाम्रा बिचमा नयाँ नयाँ संभावनाहरु पनि देखा परिरहेका छन ।
अव युवाको सवाल समस्याको पहिचान गर्ने, एक्सरे खिच्ने र तदअनुरुपको उपचार गर्ने आँट र हिम्मतबाट परिचालन र व्यवस्थापन हुन आवश्यक छ । महंगी भ्रष्टाचार कालो बजारी लगायत सामाजिक विसंगति र अन्याय पर्दा आम जनसमुदायले सम्झनसक्ने कर्मठ युवा बन्नका लागि व्यावसायीक र मुलुकप्रेमि हुन आवश्यक छ । त्यसका लागि अवसरको खाँचो छ ।
नेपाली युवा आन्दोलन र त्यसपछि नेपाली युवाको अवस्थाबारे हालसम्मका समग्र गतिविधिहरुको बस्तुनिष्ठ समीक्षा तथा मुल्यांकन गर्न जरुरी छ । सामान्यतः उपलब्धिीहरु देखी रहँदा कमजोरीहरु विर्सने र कमजोरीहरुको चर्चा गरिरहँदा उपलब्धिहरु विर्सने खतरावाट हामी मुक्त हुनु पर्दछ । अव सम्बृद्ध राजनीतिका लागि युवाहरुको संगठित समुह विकासका लागि अघि बढ्नु आवश्यक छ ।
तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा छापिएको लेख ।