Thursday, December 4, 2014

विप्लव विद्रोह कसका लागि ?

–विप्लवको नयाँ योजना एउटा माओवादी माओवादीका लागि माओवादीविरुद्धको माओवादी विद्रोहमात्र सावित हुनसक्छ । 

–२० वर्षमा बनेको पार्टी जम्माजम्मी ७ वर्षमा विर्सजनको स्थितिमा आइसक्छ भन्ने कल्पना गर्नु अस्वभाविक हुन्छ तर यहाँ स्वभाविक विभाजन भइसक्यो


विनोद ढकाल

नेपाली कांग्रेस प्रधान शत्रु नै हो ? यो बयानबाजीले पुष्टि हुन नसक्ने कुरा हो । राजनीतिमा कुरा एउटा र काम अर्को हुन्छ । र, आन्दोलनको बाटोले नै राजनीतिक मार्गचित्र या हिड्ने गन्तव्यको पहिचान गर्ला । तर, घोषणामा कांग्रेसविरुद्धको आन्दोलन थालेको भन्नेहरुको आन्तरिक योजना के हो त ? विस्तारै खुलेका विप्लवले भनिरहेका छन्, दलाल पुँजीपतिहरुविरुद्धको अभियानका रुपमा पार्टी गठन भयो । यदि माओवादी छविमा नै आन्दोलनको स्वरुपमा आउनु थियो, कांग्रेसविरुद्धकै आन्दोलन सुरु गर्नुथियो भने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी धार छाड्नुको अर्थ के थियो त ? त्यहि व्यानरमा किन नयाँ संघर्षको ढाँचा कोर्न सकेनन् ? नाचघरभित्र गरेको भाषणको औचित्य विप्लवहरुले पुष्टि गर्न सक्छन् ? यो नयाँ माओवादी फगत आन्दोलन र संघर्षका नाममा विप्लव नेता बन्ने कडीमात्र हुने हो की ?
नेपाली कम्युनिष्ट आन्दोलनको फरक मार्ग भनौं या विग्रहको मार्ग ? यसको परिभाषा परिणामहरुले देखाउँदै जानेछ । तर, माओवादी जनयुद्ध र त्यसपछि मोडिएको राजनीतिक कालखण्डमा हामी उभिएका छौं । तर, माओवादी आन्दोलन भने यो कालखण्डबाट विस्तारै विग्रह र विभाजनको दिशामा निरन्तर गइरहेको छ । यो यति चाँडो भइरहेको छ की यसको अनुमान तरल रुपमा गर्न मुस्किल नै थियो ।
२० वर्षको कडा र फरक संयोजन तथा आन्दोलनले स्थापित गरेको एउटा ठूलो कम्युनिष्ट शक्तिको विभाजन जम्माजम्मी ७ वर्षमा भइसक्छ भन्ने अनुमान सायदै कमैले मात्र गरेका थिए होला । तर, प्रष्ट, देखिने र सहज रुपमा भन्नसक्नेगरी माओवादी आन्दोलन विसर्जनतिर पुग्यो । संगठन विग्रियो, भत्कियो र कमजोर बनिरहेको छ ।
जव आन्दोलन र अभियानहरुमा भ्रष्टहरुको प्रवेश प्रभावकारी र निर्णायक हुन्छ, नेतृत्व त्यसमा विलिन हुन्छ र राम्रोसँग विक्छ । प्रचण्डको विकाउ छविका कारणले नै माओवादी फुटेको फुटै गरेको थियो । यो विभाजनको क्रम प्रचण्डको शैली पकड्ने मोहन वैद्य हुन् या नेत्रविक्रम चन्द विप्लवहरु, उनीहरुका कारणले नै निरन्तरता पायो । यहि निरन्तरतालाई कायम राख्ने हो भने विप्लवहरु पनि विभाजनको दिशातिर जानेछन् ।
यी परिणामहरु कसरी प्रमाणित हुँदै जानेछन् भन्ने तर्कहरु एमाओवादीको विभाजन यात्राले पुष्टि गरिसकेको छ । यद्यपि यतिवेला क्रान्तिकारी र विद्रोही शक्तिका रुपमा स्थापित हुन खोजेको थोरै समयपनि नभइकन नेकपा–माओवादीको पनि विभाजनको यात्राले नेपाली कम्युनिष्ट आन्दोलन भनौ या यात्रा त्यसमा नयाँ तरंग पैदा गरेकै छ, विप्लवको सम्बन्धविच्छेदको घोषणासँगै । 
नेकपा–माओवादीसँग सम्बन्धविच्छेदको घोषणा गरी उपत्यकाबाहिर पुगेका नेता विप्लवले नयाँ पार्टीको घोषणा गरिसकेका छैनन् । १० जना नेतासँग गहिरो छलफलका लागि उपत्यकाबाहिर पुगेका विप्लवले यतिबेला पार्टीको नाम र नीति तयार पारिरहेका छन् । अहिले नेता मात्र हुन्, पार्टी बनिसकेको छैन । पार्टीको आधारभूत नीति र नाम कस्तो हुने, कसरी अगाडि बढ्ने भन्ने विचार र बहस चलिरहेको छ । नयाँ पार्टी घोषणाको तयारी पनि हुँदै छ ।
नेकपा–माओवादीको कार्यनीति र कार्यदिशामा मतभेद भएपछि छुट्टै भेला गरी रणनीतिक अभ्यासमा लागेका विप्लवले अन्ततः सम्बन्धविच्छेदको घोषणा गरेर उपत्यका छाडेका थिए । नेकपा–माओवादीभित्र रहेका क्रान्तिकारी र युवापंक्तिमा प्रभाव छाडेका विप्लवको पार्टीमा संगठित हुनका लागि जिल्ला–जिल्लामा नेकपा–माओवादीका युवा कार्यकर्ता तयार भएको पनि बताइन्छ । पार्टीबाट अलग्गिएपछि अहिले पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि १० जना मूल समितिमा रहेका नेताबीच बहस जारी छ । पार्टी घोषणा नगरी अघि बढ्दैन । राजधानीमा आएरै पार्टीको घोषणा गर्ने विप्लव तयारी छ ।
विप्लवले गठन गर्ने पार्टीले जनयुद्ध घोषणा गर्ने कि नगर्ने भन्ने विषय पनि अहिले विवादमा छ । तर, जनविद्रोहको घोषणा गरी कारबाही प्रक्रियाका विषयमा भने विप्लवको नयाँ पार्टीले कार्ययोजनाको खाकासमेत कोरेको छ । पार्टी घोषणा गर्नासाथ एमाओवादी र नेकपा–माओवादीभित्र रहेका पुँजीपतिलाई कारबाही गर्ने योजना विप्लवले तयार पारेका छन् । त्यसका लागि विप्लवको लिष्टमा एमाओवादी र नेकपा–माओवादीका पुँजीपतिहरुको नाम अंकन भइसकेको छ । माओवादीका नाममा आन्दोलनलाई ध्वस्त पार्ने पुँजीपतिबाटै हामी कारबाही थाल्छौँ भनी विप्लवको खास व्यक्तिहरुले भन्नुले पनि उनको आन्दोलन अव संघर्ष र त्यसमा पनि आन्तरिक र वैचारिक रुपमा विचलित भएका व्यक्तिहरुविरुद्धको कारवाही अभियानबाट हुने देखिन्छ । यसो हुँदा विप्लवले माओवादीको नयाँ आन्दोलन या संगठन स्थापित गराउनका लागि छरिएर र विभाजनको अवस्थामा रहेका प्रचण्डसम्ममा मानिसहरुलाई कमजोर बनाउनुपर्ने हुन्छ । त्यसका लागि उनले प्रचण्डहरु र वैद्यहरुको आर्थिक विचलन होस् या आर्थिक मेरुदण्डहरुमा प्रहार गर्नेछन् । जसले उनीहरु कमजोर बन्दै जाने र विप्लवहरु ब्लियो हुँदै जाने मार्ग खुल्नेछ । विप्लवले पार्टीमा बहिर्गमित लडाकु, समायोजनमा नगएका र एमाओवादीले संगठित गर्न नसकेका कार्यकर्ता र पूर्वलडाकु, नेकपा–माओवादीले संगठित गर्न नसकेका युवा कार्यकर्तालाई समेटेर जनविद्रोह थाल्ने योजना बनाएका छन् । स्रोतका अनुसार विप्लवले सुदूरपश्चिमबाटै कारबाहीको क्रम सुरु गर्नेछन् ।
यदि विप्लवको यो तयारी हो भने उनका साथमा माओवादी आन्दोलनले पाखा लगाएको एउटा ठूलो पंक्ति रहनेछ । माओवादी आन्दोलनबाट पाखा लागाइएकाहरुको एउटा ठूला हिस्साको थप्पड प्रचण्डहरुले राजनीतिक र भौतिक रुपमा पनि भेटिसकेका कारणले पनि विप्लवको नयाँ तयारीलाई बल पुगेकै छ ।
०५२ सालदेखि ०७१ सालसम्म आएपुग्दा हज्जारौंको लासमाथि भएको राजनीतिको उपलव्धि केही पनि देखिएन । फगत एउटा दरबार ढालेको कुरालाई ताज बनाएर राजनीति गर्ने हो भने भन्नुपर्छ, दरबार माओवादीले ढालेको होइन, आन्दोलनले ढालेको हो । र, त्यो नागरिक आन्दोलनले ढालेको थियो, माओवादीहरु अनागरिक तत्वका रुपमा आन्दोलनबाट बाहिर थिए, नैतिक रुपमा । भौतिक रुपमा कति सहभागी थिए त्यसको इतिहाँस कोरिनेवाला छैन तर नैतिक रुपमा बाहिर रहेको इतिहाँसको एक वाक्यचाँही हुनेछ ।
जातिय विभाजन, वितृष्णा र समाज रुपान्तरणका नाममा समाज विभाजनको विउ रोपेर लाजिम्पाट, बुद्धनगर, कोटेश्वरमा दरबार बनाउनेहरु र दलाल पुँजीपतिहरुलाई संगठित गरेर नयाँ आयाम थप्नेहरुले क्रान्तिकारी परिवर्तन गर्न सक्दैन थिए । उनीहरुले जे सक्दथे त्यो राजधानी, राजधानी बाहिर र नेताहरुको महलभित्र देखिने तथ्यहरुले पुष्टि गर्लान् । यी तथ्यहरु कसैले बुझेको छ भने त्यो विप्लवहरुले बुझेका छन् र उनीहरु फेरि माओवादीविरुद्धकै अभियानका रुपमा संगठित भइरहेका छन् । विप्लवका लागि जनयुद्ध भयानक र गाह्रो काम हुनसक्छ । प्रविधिको विकासले गर्दा उनको आन्दोलन या युद्धलाई कसरी सहयोग हुनेछ ? यसका विषयमा अझ धेरै विश्लेषणहरु आउलान् । तर, जनविद्रोह र कारवाहीको रुपमा अघि बढ्ने हो भने केही हदसम्म प्रचण्डहरु त्रसित त हुने नै छन्, विप्लवहरु नयाँ शक्तिका रुपमा उदाउन सक्छन् तर त्यो संवैधानिक, राजनीतिक र सामाजिक रुपमा बाहिरी घेरामा हुनेछ ।
अतः विप्लवहरुको तयारीले नेपाली राजनीतिको मुलधारमा रहेका र संसदीय व्यवस्थालाई स्वीकार गरी सोही राजनीतिक धारमा दौडिएका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरुलाई त्यति साह्रो प्रभाव पर्ने छैन । आधुनिक समाजमा यी दलहरुको राजनीतिक मार्गचित्र स्पष्ट नै छ । माओवादीको १० वर्षको जनयुद्धले पनि प्रभाव पार्न नसकेको यी दल, दलमा आवद्ध व्यक्ति र आस्था राख्ने आमसाधारण केही रुपमा प्रभावित हुन सक्लान तर पुरै राजनीतिक प्रभाव नै नहुन सक्छ । तर, संसदीय व्यवस्थालाई खसीको टाउको र वाख्राको मासु भनेर व्याख्या गर्ने र सोही पद्दतीमा आएर ‘फेस सेभिङ’ गर्न खोज्ने प्रचण्डहरुलाईचाँही निक्कै प्रभाव पार्नेछ । मोहन वैद्यहरु पनि ठूलै प्रभावमा पर्नेछन् । विप्लवको नयाँ योजनामा माओवादीले माओवादीका लागि माओवादीविरुद्ध माओवादी विद्रोहमात्र सावित हुनसक्छ ।