Monday, March 30, 2015

पूर्वाञ्चल विश्वविद्यालयमा दुई उपकुलपति !

  • प्रधानमन्त्रीले थमौति गरेकाले हाजिर गरे, पुराना सर्वोच्च अदालत पुगे 
  • विद्यार्थी संगठनहरुद्वारा तालाबन्दि गर्ने निष्कर्ष, न्यायपालिकाको निर्णय स्वीकार्न प्रधानमन्त्रीलाई चेतावनी  


विनोद ढकाल 
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा आधिकारीकताको दाबी गर्दै दुई उपकुलपतिले आफ्नो उपस्थिति जनाएका छन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दाबाट सफाई पाएका उपकुलपति महेश्वरमान श्रेष्ठले हाजीरी गरेको १० दिनपछि प्रधानमन्त्री सुशिल कोइरालाबाट उपकुलपतिको थमौति लिएका श्रीष रिजालले आइतबार सोही पदमा हाजिर गरेका छन् । विश्वविद्यालयमा दुई उपकुलपतिले हाजिरगरेपछि कर्मचारीहरु पनि अचम्मित भएका छन् । 
श्रेष्ठलाई अख्तियारले पक्राउ गरेपछि रिजाललाई निमित्त उपकुलपतिको जिम्मेबारी दिइएको थियो । तर, उनले उक्त पदमै आउनका लागि शक्तिकेन्द्रको प्रभाव लिएको र थमौति बोकेर विश्वविद्यालयमा हाजिरगरेका थिए । सफाई पाएको र निरन्तर पहिलेकै जिम्मेबारमा जानका लागि अदालतले निर्णय सुनाएपछि श्रेष्ठले उक्त निर्णयसहितको निवेदन कुलपतिका रुपमा रहेका प्रधानमन्त्री कोइराला र सहकुलपतिका रुपमा रहेकी शिक्षा मन्त्री चित्रलेखा यादवलाई पठाएका थिए । तर, अदालतको उक्त निर्णयको उल्लङ्घन गरी प्रधानन्त्री कोइराला र शिक्षामन्त्री यादवले श्रेष्ठको निवेदनको वेवास्ता गरी नयाँ निर्णय गरेका थिए । 
बारम्बार पदाधिकारीको विषयमा पूर्वाञ्चल विश्वविद्यालयमा विवाद हुने गरेको छ । प्रधानमन्त्री कार्यालयबाट रिजालले ल्याएको पत्र विश्वविद्यालय प्रशासनमा दर्ता छ भने श्रेष्ठले पाएको सफाईसहित निरन्तर काम गर्न पाउने पत्र पनि दर्ता छ । सरकारले जानाजानी विश्वविद्यालयमा विवाद सुरु गराएको भन्दै विद्यार्थी संगठनहरुले विरोध समेत जनाएका छन् । उनीहरुले आन्दोलनमा जानेसम्मका निष्कर्ष पनि निकालेका छन् । 
नौ विद्यार्थी संगठनको वैठकले न्यायालयको निर्णयलाई उल्टाउने अधिकार कार्यपालिकासँग नभएको ठहर गर्दै एउटा उपकुलपति मात्र मान्ने निर्णय गरेको छ । ‘विश्वविद्यालय एउटा भएपछि कुलपति एउटा हुन्छ, दुई कुलपति मान्न सकिँदैन भन्ने विद्यार्थी संगठनहरुको निर्णय भएको छ । सरकारले वेवास्ता गरे, हामी तालाबन्दि गर्छौं ।’, अनेरास्ववियुका केन्द्रिय सदस्य देवेन्द्र यादवले भने,‘विद्यार्थी संगठनको निर्णयलाई कसैले उल्टाउन सक्तैन, हामी एउटै पदमा दुई व्यक्तिको उपस्थिति स्वीकार्न सक्तैनौं ।’
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीलगायत नौ विद्यार्थी संगठनको वैठकले तालाबन्दि गर्ने चेतावनी दिएको हो । ‘सरकारलाई तत्काल विवाद सुल्झाउन भनेका छौं, न्यायालयको निर्णय उल्टाउन पाइँदैन भन्ने हाम्रो निर्णय हो’, अनेरास्ववियु क्रान्तिकारीका सचिवालय सदस्य मदन चुडालले भने,‘प्रधानमन्त्री ज्यु यसमा गम्भिर नभए न्यायालय र विधिको कुरा नै रनभुल्लमा हुनेछ ।’
यता, अदालतबाट सफाई पाई निरन्तर काममा जाँदा पनि असहयोग भएको र प्रधानमन्त्रीको निर्णयले अप्ठ्यारो पारेपछि श्रेष्ठलगायतको टोलीले सर्वोच्च अदालतमा अन्तरिम आदेश जारी हुनेगरी रिट दिने तयारी गरेको छ । पुरानै पदमा कामलाई निरन्रता दिनको माग गर्दै उनीहरुले रिट निवेदन दर्ता गराउने तयारी गरेका हुन् । 

Saturday, March 14, 2015

झरना बज्राचार्यले विहे गरिन् (तस्बिर सहित)

मलेसीयामा बस्ने भारतीय नागरिक राहुल अग्रवालसँग बज्राचार्यको विवाह भएको उल्लेख गरिएको छ । 

पूर्व मिस नेपाल, अभिनेत्री तथा मोडल झरना बज्राचार्यले विवाह गरेको खबर बाहिर आएको छ । उनले गएको विहिबार काठमाडौंको सीतापाइलामा आफ्ना प्रेमी भारतीय मलेसियन मुलका राहुल अग्रवालसँग विवाह गरेको उल्लेख गरिएको छ ।

लेक्स लिम्बु डट कममा सार्वजनिक गरिएको खबरअनुसार उनको विवाह पारिवारिक सदस्यका सामुमात्र भएको हो । अन्य कसैलाई पनि बोलाइएको थिएन । साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालको विहे भएको थियो । अग्रवाल मलेसियाका बासिन्दा हुन् । समाचार अनुसार मलेसियाको क्वालालाम्पुरमा उनको रेष्टुरेन्ट व्यावसाय छ ।
विहे पश्चात परिवारका सदस्यहरुले सोल्टी होटलमा भेटघाट र भोज गरेको बताइन्छ । झरना जोडी हनिमुनका लागि शुक्रबार पोखरा हुँदै मुस्ताङको जोमसोम गएको पनि उल्लेख गरिएको छ । पोखराको होटल बाराहीमा उनीहरु बसेको पनि उल्लेख गरिएको छ ।

सुचना र तस्बिर स्रोत : http://lexlimbu.com/blog/2015/03/15/lexclusive-jharana-bajracharya-gets-married/


एक घन्टाका लागि पति ? सरकारकै यस्तो मति ?


सुन्दै छक्क पर्नु । एक घन्टाका लागि श्रीमतिहरुले पाउने भए पति । त्यो पनि एकल महिलाहरुका लागि सरकारी योजना ? अचम्मै पर्नु । एक्लो जिवन बिताइरहेका महिलाहरुका लागि सायद यो खुसीको कुरा हुनसक्छ । किनकी सरकार आफैले एक घण्टाका लागि पति  उपलब्ध गराइदिने भएको छ ।

समाचार सुन्दा तरंगित हुनुभयो होला, तर हुनु पर्दैन । किनकी यो सेवा नेपालमा होइन रुसमा हुन लागेको हो । रुसको राजधानी मस्कोमा सुरु हुन लागेको हो ।

घरमा साह्रो गाह्रो काम गर्ने लोग्ने मान्छेको अभावमा मुस्किल झेलिरहेका महिलाहरुको लागि लक्षित गर्दै मस्को नगर प्रशासनले ‘एक घण्टाका लागि श्रीमान’ सेवा सुरु गर्न लागेको मस्को टाइम्सले जनाएको छ ।

सिटी हलको सामाजिक सुरक्षा विभागका उपप्रमुख आन्द्रे बेस्तान्कोका अनुसार यसरी भाडामा लिइएका ‘लोग्ने’ ले सम्बन्धित महिलाको घरमा पुगेर पुरुषले गर्ने भनेर परम्परागत रुपमा छुट्टाइएका विभिन्न साह्रोगाह्रो कामहरु गरिदिनेछन् । जस्तै चुहेको पाइप मर्मत गरिदिने, सिलिङ ठोकिदिने, पेच कसिदिने आदि ।

हुनत मस्कोमा यसअघि पनि विभिन्न खाले निजि कम्पनीहरुले यस्तै मिल्दोजुल्दो सेवा उपलब्ध गराउने गरेका छन् । तर त्यसका लागि चर्को शुल्क लिन्छन् । निजि कम्पनीहरुले भाडामा लोग्ने मिलाइदिने सेवामा युवतीहरुलाई बढि लक्षित गरिएको छ र त्यस्ता भाडाका लोग्नेहरुलाई उनीहरुले यौन सन्तुष्टिका लागि समेत उपयोग गर्न सक्छन् ।

तर मस्को प्रशासनले सरकारी तबरमा सुरु गर्न लागेको पछिल्लो सेवा भने सेवा खासगरी ६० वर्ष नाघेका महिलाहरुका लागि लक्षित हुनेछ । न्युन आय भएका परिवारका लागि सित्तैमा उपलब्ध हुनेछ । मध्यम आयस्तरका परिवारले भने न्यून शुल्क तिरे पुग्नेछ । आफुलाई भाडामा एकघण्टे लोग्ने चाहिएको भनेर माग गरे लगत्तै सरकारले स्थानीय कम्पनीहरुसँग सहकार्य गरी सिपालु तथा सुन्दर र कामकाजी युवाहरुलाई महिलाको घरमा पठाइदिनेछ । काम फत्ते गरेपछि युवक आफ्नो घरमा फर्किनेछ ।

रुसमा पुरुषको औषत आयु महिलाको भन्दा निकै कम भएको हुँदा धेरै वृद्धाहरुले विधवाको रुपमा एकल जिवन बिताइरहेका छन् । घरमा लोग्ने मान्छे नहुँदा र परिवारका अन्य सदस्यहरु समेत साथमा नहुँदा उनीहरुको दैनिकी कष्टकर बनेको छ । सोही कुरालाई मध्यनजर राख्दै सरकारले यस्तो सामाजिक सुरक्षाको कार्यक्रम अघि सारेको हो ।

Sunday, March 1, 2015

सरकार ! लोकमान महादेव होइनन्

लोकमानले छोरीको विहे गर्न नपाउने भन्ने कुरा हुँदैन । अख्तियारको परिसरमा रहेको उनको सरकारी निवासबाट पनि गर्न नपाउने भन्ने कुरा पनि हुँदैन । तर, कार्यालय समयमा कर्मचारी र सर्वसाधारणलाई रोकेर, निषेध गरेर छोरीका लागि आएको जन्तीको प्रवेशलाई मात्र महत्व दिने दुश्साहस उनले गर्न पाउने थिएनन् । तर, गरेर देखाए । के लोकमानका लागि कानुन नलाग्ने र अरुका लागि कानुनी दायराको घेराबन्दि लोकमानले मात्र गर्न पाउने हो ?



विनोद ढकाल  
पुराण र हिन्दु ग्रन्थहरुमा गल्ती गर्दा पनि सजाय नपाउने एकमात्र भगवान थिए । उनको चरित्र दैत्यको हो की देवताको भन्ने कुरामा कहिलेकाँही द्विविधा हुनेगरी व्याख्या गरीएको छ । महादेवको चरित्र हिंसात्मक थियो, उनी विधिको विधान विपरित पनि काम गरेका कतिपय किस्साहरुमा उल्लेख नै छन् । तर, आधुनिक विश्वमा त्यस्ता किस्साहरु पढ्दा रमाइला लाग्छन्, सुन्दा अचम्मित बनाउने लाग्छन् तर त्यसको प्रयोगचाँही क्षम्य हुँदैन । किनभने आधुनिक विश्व फरक छ । अझ हामी लोकतन्त्रको पयार्यमा हुर्किरहेका र लोकतन्त्र स्वीकार गरेका नेपालीहरुका लागि त कदापी हुँदैन ।
संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्की आउनासाथ भएका भ्रष्टाचारविरुद्धका काम कारवाहीहरु देखेर कार्कीले अव केही गर्छन् भन्ने अड्कल काट्नेहरुको जमात सानो थिए । कतिपय त कर्मचारीतन्त्रको ज्ञान भएका कारणले उनले भ्रष्टाचारविरुद्धको कारवाहीलाई प्रभावकारी बनाउँछन् भन्ने पनि बताइयो । स्वभाविक रुपमा उनका अख्तियारी कर्महरु निक्कै तेज हिसावले चल्न थाले र कतिपय कर्मचारीहरु कारवाहीमा परे । लोकमानकै भाषामा भन्नुपर्दा कर्मचारीतन्त्रका साना माछाहरु उनले निक्कै फकडे । भुरा माछाहरुलाई उनले मज्जाले कारवाहीको दायरामा ल्याए । तर, ठूला माछालाई छुन पनि नसकेका लोकमानले आफ्नो अनुहारलाई पनि पछिल्लो पटक त्यही ठूला माछाहरुको विम्बहरुमा उभ्याउन भ्याए । जानेर होस् या नजानेर, या आत्मरती र घमन्डमा उन्माद भएर होस्, उनले त्यसो गरेरै छाडे जुन माफीको लायकी त हुँदै हुँदैन । 
भड्किलो विवाह नगराउन निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो पद र सुविधाको दुरूपयोग गर्दै छोरीको विवाह गरे । उनले भड्किलो विवाह मात्र गराएनन्, टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय परिसरमा जन्ती बोलाएका थिए । सरकारी सेवा नै अवरोध गरी कार्कीले छोरी डा. अध्याको विवाह गराएका थिए । हो, उनले विवाहलाई देखावटी रुपमा भड्कीलो बनाएनन् तर शक्तिको दम्भमा उनी यतिसम्म भड्कीएछन् की सरकारी काम कारवाही रोक्ने, सर्वसाधारणलाई रोक्ने, कर्मचारीलाई अवरोध गर्ने क्षमता उनमा पलाएछ, आफ्नै कार्यालयभित्र । 
त्यो विवाहको दिन अख्तियारमा सेवा लिन पुगेका सर्वसाधारणलाई मूलगेटबाट छिर्न दिइएन भने कर्मचारीलाई पनि अर्को गेटबाट मात्रै प्रवेश गराइएको थियो । सेवाग्राहीलाई नै प्रवेश निषेध गरेर लोकमानले छोरीको विवाहका लागि आएको पूर्वराजपरिवारसँगको व्यापारिक सम्बन्ध रहेका रोहिणी थपलियाका छोरा शुभाशीष थपलियाको जन्ती छिराएका थिए । राज्यले अख्तियार प्रमुखका लागि उपलब्ध गराएको सरकारी आवास मात्र होइन, अख्तियारकै प्रांगणसमेत लोकमानकी छोरीको बिहेका लागि प्रयोग गरिएको अख्तियार कर्मचारीले दुःखेसो पोखे । अख्तियार भवनभित्र पत्रकारलाई समेत प्रवेश निषेध गरियो भने कर्मचारीलाई नियमित मूलद्वारबाट प्रवेश गर्न दिइएन । अख्तियारको मूलद्वार जन्तीका लागि छुट्याइएकाले कर्मचारीलाई अर्कै बाटो प्रयोग गर्न लगाइयो ।
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की 
निजी बिहेका लागि अख्तियार प्रमुखले अख्तियारको सरकारी भवन दुरुपयोग गरेको भन्दै कर्मचारी नै आश्चर्यचकित परेका थिए । लोकमानको निजी घर पुरानो बानेश्वरमा छ । अख्तियारको टंगालस्थित भवनमा लोकमानकी छोरीको बिहे भइरहँदा भाटभटेनीतर्फ जाने सडकमा समेत सवारी आवागमन प्रभावित भएको थियो । लोकमानले नागरिकलाई दैनिक कामकारबाही नै गर्न नदिई अख्तियार प्रांगणलाई निजी कामका लागि प्रयोग गरेको भन्दै सर्वसाधारण आक्रोशित भएका थिए । राजधानीभरि रहेका पार्टी प्यालेस र मन्दिरमा विवाह नगराई लोकमानले सरकारी सुविधाको दुरुपयोग गरेका थिए । नागरिक सुरक्षा र उनको संवैधानिक पदको सुरक्षाका लागि खटाइएका प्रहरीलाई जन्ती सुरक्षाका लागि खटाइएको भन्दै लोकमानको सर्वत्र आलोचनासमेत भएको थियो ।
लोकमानले छोरीको विहे गर्न नपाउने भन्ने कुरा हुँदैन । अख्तियारको परिसरमा रहेको उनको सरकारी निवासबाट पनि गर्न नपाउने भन्ने कुरा पनि हुँदैन । तर, कार्यालय समयमा कर्मचारी र सर्वसाधारणलाई रोकेर, निषेध गरेर छोरीका लागि आएको जन्तीको प्रवेशलाई मात्र महत्व दिने दुश्साहस उनले गर्न पाउने थिएनन् । तर, गरेर देखाए । के लोकमानका लागि कानुन नलाग्ने र अरुका लागि कानुनी दायराको घेराबन्दि लोकमानले मात्र गर्न पाउने हो ? उनको यो हर्कतले ठूलालाई चैन र सानालाई ऐन भन्ने कुराको पुष्टि गरिसकेको छ । यो विषयमा सरकार, संसद र राजनीतिक दलहरु चुप लागेर बसेभने लोकतान्त्रिक मुल्य र मान्यताको मुलुकमा कानुनको दायराको सीमा लेखिनेछ । लोकमानहरु कारवाहीमा नपरी संवैधानिक पदमा पुग्छन्, त्यस पदको दुरुपयोगले जनतामाथि कानुनी भाटा बर्साउँछन् र आफैं कानुन मिच्छन् । जनता त्यसलाई पनि सहन बाध्य हुनुपर्छ । अनि, अरुलेचाँही किन मान्ने कानुन ?
भ्रष्टाचारविरोधी अभियान, कानुनी कारवाहीमा सक्रिय भएका लोकमानले गरेको यो भ्रष्ट व्यवाहारको उत्तर किन नमाग्ने ? मनलाग्दी मान्छेहरु पक्राउ गर्ने र मन नलागेका मान्छेहरुलाई छुट दिँदै आफ्नो चरित्रलाई उदांगो पारेका लोकमानलाई महाअभियोग किन नलगाउने ? शक्तिकेन्द्रमा हुनासाथ मनलाग्दी गर्ने अधिकार कसैलाई पनि छैन । शक्तिकेन्द्रमा पुगेको व्यक्तिले पनि आम नेपालीले भोग्ने कानुन भोग्नुपर्छ । उसले उसका व्यक्तिगत सुविधाका लागि पाएको जनताको नासोको दुरुपयोग गरी जनतालाई नै काम कारवाहीमा अप्ठ्यारो पार्ने अधिकार छैन । यस्तो काममा उसलाई माफी दिनुपर्छ, यो सामान्य घट्ना हो, यो भइरहन्छ भन्ने तर्क कसैले उठायो, टिप्पणी उठायो भने भोलीदेखि सरकारी सुविधा लिएका सवैले नियमको धज्जी उडाउनेछन् । कारवाही माथिदेखि नै सुरु हुनुपर्छ, यस्तो गलत नजिर स्थापित गर्न हुँदैन । व्यवस्थापिका संसदका समितिहरुलाई नै च्यालेन्ज गरेर, सरकारलाई समेत च्यालेन्ज गरेर, दुनियाँलाई रनभुल्लमा पारेर लोकमान जसरी अघि बढिरहेका थिए, उनले आफु पछि फर्कनुपर्ने यो काम गरेका छन् । सरकारलाई उनले नटेर्दा जनता चुप लागेर बस्न मिल्यो होला तर जनतालाई रोकेर उनले जुन हर्कत देखाए यस्तो काममा सरकार चुप लागेर बस्न मिल्दैन, मिल्नु हुँदैन । 
अहिलेको सरकार, अहिलेका सांसदहरुले यो विषयमा आफ्नो ध्यान खिच्न सकुन् । थाहा पाएर पनि थाहा नपाएजस्तो गरी लोकमानको आत्मरतीलाई बढावा दिँदै गए भोली उसका ठाउँमा आउने अर्को व्यक्तिमा पनि त्यति नै आत्मरती र शक्तिको रवाफ पलाउने छ । यसर्थ, यस्ता विषयमा गम्भिरतापूर्वक सम्बन्धित निकायले चासो देखाउँदै कारवाहीको प्रक्रिया अघि नबढाए गल्ती गर्नेहरु आफुलाई महादेव ठानिरहनेछन् ।