Tuesday, February 2, 2016


हस्तक्षेपलाई निम्तो र खोक्रो राष्ट्रवाद

विनोद ढकाल  
प्रथमतः लोकतन्त्रको आधार स्वाभिमानको सुरक्षा नै हो, यो लोकतान्त्रिक मान्यता बोक्नेहरुले बुझेका छन् । गान्धी विचारको उत्प्रेरणामा उभिएको छिमेकी मुलुक, त्यहि मुलुकसँग समाधानको उपाय खोज्ने, मध्यस्तता रोज्ने हरप्रकारका आन्दोलनकारी, सरकारहरुसँग मेरो अपिल छ, समस्या जहाँ छ समाधान त्यहिँ छ ।



फुटाउ र शासन गर– एउटा भारी उद्देश्य । एकीकृत बन र नेतृत्व गर– एउटा सरल प्रजातन्त्र । अहिले मुलुक दुई धारको राजनीतिमा उभिएको छ । एउटा क्षेत्रगत राजनीतिका रुपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको मागका आधारमा चलिहरहेको मधेसी अधिकारको सवालको आन्दोलन, अर्को संविधान कार्यान्वयन गरी मुलुकलाई समानुपातिक सहभागीतासहितको विकासमा लम्किने मुलुकको अनिवार्यता । 
यी दुई धारको राजनीतिक एजेन्डामा अधिकार, न्याय र सहभागीताका सवाल गौण बन्दै गएका छन् । थाहा छ – आन्दोलनहरुमा भयानक सत्तास्वार्थको नेपथ्यपन छ, अनि आन्दोलनलाई सही नमान्ने ‘कथित नेपाली राष्ट्रियता’धारीेहरुको अहंकार आम नागरिकले भोगीरहेको छ । यद्यपि, विकासको दौडमा म्याराथन बनेर हिँडिरहेका मुलुकहरुको तुलनामा नेपाल निक्कै तल छ । माथि आउने वा ल्याउने छाँट कसैको मस्तिष्कमा छैन । ६० वर्षपछि प्राप्त संविधानसभाले नयाँ संविधान– २०७२ जारी गरेपछि निक्कै सकसपूर्ण अवस्थामा मुलुक पुगिसकेको छ । सरकार सकसले चलेको छ, राजनीतिक दलहरु सकसले चलेका छन्, क्षेत्रगत गुट र झुन्डहरु सकसले आन्दोलनमा होमिएका छन्, जातीय झुन्डहरु सकसले आफ्ना अडानहरुलाई उभ्याउने कोशिश गरिरहेका छन् । तर, ढलिरहेका छन् –श्रम गरी खाने आम नागरिकहरु । ती नागरिकका कतिपय आशाहरु । राजनीतिक दलहरु र संविधानप्रति बनाइएका धारणाहरु पनि । यी हर कारणमा देशी स्वार्थमात्र लुकेका छैनन्, देशी स्वार्थले निमन्त्रणा गरेका विदेशी बाजहरुका पञ्जाले आन्तरिक राजनीति, समाज र सामाजिक परिवेश पनि कमजोर बनिरहेको छ । 
संविधान जारी भएयता विश्वसमुदायका फरक फरक स्वागत र फरक फरक असन्तुष्टिहरुको चपेटामा मुलुक गुज्रिरहेको छ । यो दोष अरुलाई दिनुभन्दा अरुको प्रभावकारी हस्तक्षेपको खोजी गर्ने सवै हिलोले नुहाएका राजनीतिक दल, क्षेत्रीय दलका नेताहरुलाई दिनु उपयुक्त ठहर्छ । अधिकारको नाममा सत्तारोहणको स्वाद लिएका कथित मधेसी नेताहरु र राजनीतिलाई राष्ट्रवादको नयाँ नारा दिने कथित खोक्रा राष्ट्रवादी ठूला पार्टीका नेताहरु, कोही पनि दूधले नुहाएका छैनन् । उपयुक्त समयमा भारतीय, चिनियाँ, पश्चिमा हस्तक्षेपलाई मुलुकमा निसन्देह भित्राउने प्रजातान्त्रि राजाका रुपमा त्रिभुवन, राजा महेन्द्रको कुरा गरौं या प्रजातन्त्रका लागि महामानवको पगेरी दिइएका वीपी कोइरालाको कुरा गरौं । यी बाहेकका, अहिलेसम्मका सवै नेताहरुको चरित्र, भारतीय राजदूतावासको भोजमा मिठ्याइरहेको मुखले प्रष्ट देखाइसकेको थियो । यहाँ स्थिर राज्य कसरी खोज्ने ? अनि, स्थिर नेपाल कसरी हुन्छ ? 
एरीस्टोटटलले भनेका छन्–एउटा स्थिर राज्य भनेको सवै मानिसहरु कानुन अगाडी समान उभिनु हो । अर्थात्, कानुनले कसैलाई पनि मतभेद नगरेको अवस्थामा मुलुक स्थिर रहन्छ । तर, अहिले मुलुक स्थिर नरहनुको कारण नै मुलुकको मुल कानुन संविधानले मधेसी जनताका सवै माग पुरा गरेको छैन, आदीवासी जनजातीका पनि सवै माग पुरा गरेको छैन भने महिला र अन्य पिछडीएका समुदायको पनि सवै माग पुरा छैनन् । यसको अर्थ, सवैका सवै माग पुरा छैनन् भन्ने नै हो । सवैका माग पुरा गर्नका लागि हामीसँग बाँचेको लोकतान्त्रिक गणतन्त्र छ । अधिकारलाई कानुनी संरक्षणका लागि स्थापित गर्न सक्ने गणतान्त्रिक नेपालको व्यवस्थापिका संसद पनि छ । अनि, यति हुँदाहुँदै हामी किन लडाईको मैदान खनिरहेका छौं, जसले हामीबीचको दूरी बढाउने प्रयत्न भइरहेको छ ।
मुलुकको आन्तरिक राजनीतिको प्रभावको प्रमुख कारण भारतलाई देखाउने प्रवित्तिमाथि भारतको कुटनीतिक उत्तर हुन्छ– हामी नेपालको स्थिरता चहान्छौं । स्थिर नेपाल र विकसित नेपालको परिकल्पना भारको चाहना हो । तर, विखण्डनको आवाज जोडदार रुपले उठाएका, तराई–मधेसलाई छुट्टै देश नै बनाउनुपर्छ भन्ने डरलाग्दो र पृथकतावादी आवाज उठाउने सिके राउतलाई रातो कार्पेट विछ्याएर स्वागत गर्ने भारतसँग कुन कुटनीतिक मर्यादाले भरिएको उत्तर तयार छ ? भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले यहि प्रश्नको उत्तर भारतीय मिडियालाई दिन सकेका थिएनन्, भारतीय आधिकारीक संस्थाले नेपाली जनमानसलाई कसरी दिनेछ ? के यो भारतीय कदम भनेको स्वतन्त्र कस्मिरका लागि संघर्ष गरिरहेका कस्मीरी पृथकतावादीलाई भारतको मित्र मुलुकले गरेको स्वागत सरह भएन ? परिदृश्य त्यहि हिसावमा देखाउन खोजिएको हो की ? 
महात्मा गान्धीलाई महामानव मान्ने लोकतन्त्रको ठूलो मुलुक उही गान्धीले हटाएको ‘डिभाइड एन्ड रुल’को नीति अन्तर्गत नेपाली राष्ट्रियतालाई कमजोर बनाउने दुश्चक्रमा तल्लिन भएको त होइन ? नेपाली राष्ट्रियताको विखण्डन र पश्चिमा शक्तिहरुको ‘राजनीतिक इवोला भाइरस’का रुपमा तराईमा खटाइएका सीके राउतहरुलाई रातो कार्पेट विछ्याएर नेपाली प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डामाथि कमजोर टिप्पणी गरिरहेको मुलुकसँग यहि प्रश्नको उत्तर नेपाली लोकतन्त्रले खोजिरहेको छ । नेपालका लागि भारतका राजदूत रणजित रायले नेपालको अहिलेको अवस्थामा टिप्पणी गर्दै भन्छन्– नेपालमा भारतविरोधी भावना बढिरहेको छ, नेपालमा त्यस्तो नहोस् भन्ने हाम्रो चहाना हो । तर, के नेपालको चाहनाअनुसार भारतीय संस्थापनले काम गरिरहेको छ ? सीके राउतलाई हार्दिक स्वागत गरेर नेपाली राष्ट्रियता कमजोर बनाउने क्रियाकलाप भारतले गरेको हो की होइन ? उत्तर जो सुकैले दियोस् तर बुझाई समान रुपमा हुनुपर्छ । यसले नयाँ संविधान कार्यान्वयनको गतिमा हिँडेको नेपाल, छिमेकी मुलुक भारतको सुझावलाई सम्बोधन गरेको मुलुकको आँचमा ठेस पुगेको छ जसले नेपाली लोकतन्त्रको संस्थागत विकासमा नैतिक समस्या बनाइरहेको अनुभूति स्वभाविक रुपमा भएको छ । 
सामान्य अनुपातमा हुर्किरहेको मान्छेले आफुलाई स्वतन्त्रता पूर्वक हिँड्ने इच्छा राख्दैन, उसले आफ्नो स्वतन्त्रताको संरक्षणको खोजी गर्छ । हामी जहानियाँ राणा शासनको अन्त्य, पञ्चायतको अन्त्य गर्दै, लोकतान्त्रिक गणतन्त्र स्थापना गरी स्वतन्त्रताको अधिकदम उपभोग गर्ने अवसरमा छौं । तर, यो किन बुझिरहेका छैनौं कि यो अधिक अधिकारको दुरुपयोग राजनीतिक दाउपेचका लागि भयो भने हाम्रो स्वतन्त्रता खोसिने छ र सुरक्षित हुनेछैन । मुलुकको संक्रमणकालिन राजनीतिको अन्त्य र विकासको बाटोमा लम्किनका लागि नयाँ संविधान जारी भइसकेको छ । कार्यान्वयनका लागि अगाडी बढिसकेको छ । जहाँ अड्कीएको छ मुलुक, त्यहाँबाट निकासका लागि पहल खोज्नुपर्ने अनिवार्य देखिएको बेला घोचपेच र अडानको राजनीतिमात्र होइन, क्षेत्रगत रुपमा मुद्दा उचालेर राजनीति अगाडी बढिसकेको छ जहाँ छिमेकी मुलुकको अधिक इच्छाले हाम्रो स्वतन्त्रता स्वाभिमानी हो की अभिमानी हो भन्ने प्रश्न खडा गरेको छ । र, हामी आन्दोलनकारी भनौं वा राज्य जबरजस्त भएर छिमेकीलाई दोष दिँदै समस्या समाधान र हस्तक्षेपका लागि बारम्बार निम्तो दिइरहेका छौं । चाहे दिल्लिमा उपप्रधानमन्त्री कमल थापाको भ्रमण गराएर होस् या मधेसी मोर्चाको नेताहरुको भ्रमण होस् । अथवा विहार र युपीमा नेपाल मुद्दामा भारतीय नेतालाई कडा अभिव्यक्ति दिनका लागि अनुनय विनय गरेर होस् । नेताहरु नेताका रुपमा नभई एकअर्काका दुश्मनका रुपमा उभिँदा मुलुक दुर्घटनामा पुग्ने निश्चितप्रायः छ । यतिवेला बहस र वक्तव्यबाजी तथा बयानबाजीको बेला होइन, यो बेला सहमतिमा संविधान कार्यान्वयन गरी सकारात्मक सन्देश दिने बेला हो । मुलुक घुमेर ३६० डिग्रिको अवस्थामा पुग्न हुँदैन । खासगरी राजनीतिक रुपमा त्यहाँ पुग्नु भनेको उपलव्धि गुमाउने खतराभन्दा केही पनि होइन । सम्झौताबाट सुरु भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको यात्रा सम्झौता र सहमतिमा नै अघि बढ्नुपर्दछ । यो विषयमा नेताहरु गम्भिर छन् र सहमतिविना मुलुक अघि बढ्न नसक्ने कुरामा पनि जानकार छन् । तर, यो ढाँेगी चरित्रका कारणले ५ महिनादेखि अस्तव्यस्त मधेसको समस्याको गाँठो फुकाउने काममा किन सक्रिय हुन सकिरहेका छैनन्, सत्ता, विपक्षी र आन्दोलनकारी नेताहरु ? पक्कै पनि हामीकहाँ राजनेताको खाँचो छ । 
मुलुकमा नेल्सन मण्डेला जन्मिनेकी बन्ने ? भन्ने कुरो खास भइसकेको छ । मण्डेला बन्नका लागि सर्वस्वीकार्य नेतृत्वको अनिवार्यता हुन्छ । जसले विवादहरु र समस्याहरुलाई छिचोलेर नयाँ राजनीतिक अवस्थाको विवादहिन नेतृत्व गर्न सकोस् । तर, अहिले शिर्ष दलका शिर्ष नेताहरुमा मण्डेला चरित्र देख्न सकिएको छैन । नेता फुत्त जन्माएर टिको लगाएर अगाडी उभ्याउने चिज पनि होइन । यो आत्मशक्तिबाट गर्नसक्ने निर्णय, खासगरी दलीय स्वार्थबाट माथि उठ्ने र मुलुकको स्वार्थका लागि निर्णय गर्नसक्ने चरित्रमा निर्भर हुन्छ । सर्वमान्य हुनका लागि सवैको हितकर निर्णय गर्नसक्ने हुनुपर्छ । न अल्पमतमा रहेकाहरु केही होइनन्, बहुमतमात्र सवै हो भन्ने हुन्छ, न बहुमतमा भएकाहरुले पेलेका कारणले अल्पमतका मान्छेहरु, जातहरुकै वर्चश्व हुनुपर्छ भन्ने तर्कमा नेता बन्न सकिन्छ । नेता बन्नका लागि अल्पमतको सुरक्षणसहित बहुमतको पनि आत्मसम्मानसहितको व्यवस्था, कानुन निर्माता बन्न सक्नुपर्छ । तर, गर्ने कसले ? वर्तमान अवस्था व्यंग्यको राजनीतिबाट गुज्रिरहेको हुनाले खोजी यहिभित्र गर्ने कि कहाँ ?
यसर्थ, हावादारीको राजनीति, मुलुकको निकास र विकासविरुद्धको असामाजिक अभिव्यक्तिहरु, नागरिकविरुद्ध निर्णय, राष्ट्रियताविरोधी निर्णयहरु राष्ट्रवादी नागरिकका लागि पाच्य हुँदैनन् । न विदेशी प्रभावकारी प्रवेश स्वागतयोग्य ठहर्छ । प्रथमतः लोकतन्त्रको आधार स्वाभिमानको सुरक्षा नै हो, यो लोकतान्त्रिक मान्यता बोक्नेहरुले बुझेका छन् । गान्धी विचारको उत्प्रेरणामा उभिएको छिमेकी मुलुक, त्यहि मुलुकसँग समाधानको उपाय खोज्ने, मध्यस्तता रोज्ने हरप्रकारका आन्दोलनकारी, सरकारहरुसँग मेरो अपिल छ, समस्या जहाँ छ समाधान त्यहिँ छ । समाधान यहाँभित्र भएकाले बाहिर नखोजौं । समाधान दिनसक्नेहरु मानवताका प्रतिक बन्न सक्छन् । गंैरमानव भावमा दौडने कुकृत्य नगरौं । गान्धीले भनेका छन्– मानवतामाथिको विश्वासमा शंका नगरौं, मानवता सागरजस्तै हो, सागरका केही थोपाहरु फोहोर भयो भन्दैमा सागर फोहोर हुँदैन । यसैले अहिलेको फोहोर राजनीतिमा केही फोहोरी व्यक्तिहरु हावी हुनासाथ राजनीति गर्नेहरु सवै खराब छैनन् । खराबीहरुलाई कसैले पनि सहयोग नगरौं । 

साभार कमाण्डर पोष्ट दैनिक ।