Friday, April 20, 2012

आमा विर्सिनेहरुका लागि

-वि'नोद 
म किञ्चित खुसी छैन
अनि, सुखी पनि छैन
मानिसका शव्दहरु सुनेर
अक्षरहरु देखेर
आज देखाउने पराक्रमहरु बढेका छन्
कुनै आमुख दिनको सहारामा
हरपल सम्झिरहनुपर्नेहरुका लागि
मायाका अक्षररुपी प्रतिविम्बहरु
देखिरहेको छु, पढिरहेको छु ।
मलाई लाग्छ प्रत्येक विहानी
प्रत्येक सुरुआती दिनहरु
उनका अनुहारहरुबाट, तस्विरहरुबाट
आशिर्वादको मनशान्ति आशा लिएर
झुल्किन्छन्, झुल्काउनुपर्छ
यो दिन खास मान्नेहरुका लागि
खास हुनसक्छ,
जो जीवनप्रति गर्व गर्छ
उसका लागि प्रत्येक दिनहरु
आमामय छन्, मेरो सन्देश
आज आमा सम्झिएर
अन्य दिनमा विर्सिनेहरुका लागि ।

Thursday, April 19, 2012

मधेस, सवैको ‘कि–प्लेस’ किन ?

'एक मधेस एक प्रदेशको नारा दिएर मधेसी जनताको भावना जित्दै केन्द्रिय
सत्तामा अन्य राजनीतिक दललाई पछि पारेर संविधानसभामा एकछत्र मधेसी नेतालाई पठाएको मधेस किन आज अझै पीडामा छ ?'

...............................................


-विनोद ढकाल
नेपाली राजनीतिले लिएका अनेकन मोडहरुले मधेसलाई उपेक्षा गरेको अनुभुति हुन्छ । केन्द्रिय सत्ता प्रणालीको यात्रा यहाँसम्म आइपुग्दापनि मधेसले आफ्ना प्राथमिक अधिकार प्राप्त गर्न सकेन । छ सय एक सदस्यीय संविधानसभामा मधेसी मुलका सभासदहरु बहुसंख्यक छन् तर त्यहि मधेसले अहिलेसम्म न्यायको सास फेर्न पाएको छैन । सुगम रहेर पनि अनेक हिसावले दुर्गमको नियती भोगिरहेको मधेसले संघियतामा आफ्नो स्वतन्त्र र आत्मनिर्भरताको अधिकार पाउँदामात्र विकास हुन्छ भन्ने विचार अहिले मधेसी कोणबाट आउने गरेको छ । तर, मधेसले आफ्नो विकासका लागि नयाँ र विचारपूर्ण नेताहरु छान्न सकेन । फलतः उसले अधिकार स्थापितका लागि केन्द्रिय सत्तामा ठेलेको मधेसी जनाधिकार फोरम, सद्भावना पार्टीहरु विभाजन भएर केन्द्रिय सत्ताको स्वादमा लिप्त छन् । उपेन्द्र यादवदेखि विजय गच्छादार र जेपी गुप्तादेखि राजकिसोर यादवसम्म मधेसका नाममा सत्तामा घोडा चढिरहेका छन् । तर, उनले कहिलेपनि मधेसको विकासका लागि आफ्नो भुमिकाको खोजी गरेनन् । सरिता गिरी देखि श्यामसुन्दर गुप्ताहरुलाई मधेसले छान्यो जो आफ्नो भुमिकालाई स्पष्ट जवाफदेहि हुन सकेनन् । गायत्री साह हुन् वा वीपी यादव पासपोर्ट बेच्ने काण्डमा फँसेका यी नेतापनि मधेसले नै छानेको थियो । यीनले मधेसको कुन अधिकारको बारेमा आवाज उठाए त ?
मधेसको सवैभन्दा जटिल समस्या मधेसी दल र अहिलेसम्म तिनले छानेका नेतामात्र हुन् । उनले मधेसलाई राजनीतिक मुद्दा बनाएर केन्द्रिय सत्तामा जहिलेपनि आफ्नो जुका रजाई गरेका छन् । अहिलेपनि मधेस नामको धम्कीका आधारमा मधेसले उठाएको आन्दोलनलाई तुहाएका छन् । एक मधेस एक प्रदेशको नारा दिएर मधेसी जनताको भावना जित्दै केन्द्रिय सत्तामा अन्य राजनीतिक दललाई पछि पारेर संविधानसभामा एकछत्र मधेसी नेतालाई पठाएको मधेस किन आज अझै पीडामा छ ? किनभने जयप्रकाश गुप्ताहरुले सुरु गरेको मधेसी राजनीतिले उनलाई सत्तामा पु¥यायो तर त्यहि सत्तामा रहुन्जेलसम्म मधेसको मुहार फेर्नुको साटो आफ्नो पारिवारिक जीवनसुधारका लागि खटिए उनीहरु । जसका कारण अहिले जेलमा न्यायायलयको निर्णयलाई काटिरहेका छन् । मधेसको नियती हो वा नेताहरुको नियत यी विषय छुट्याउने जिम्मा मधेसी जनताहरुकै हो । तर, अहिलेसम्मको मधेसी नामको राजनीतिमा उम्रिएको भ्रष्टाचार र तिनले देखाएको हरेक कृयाकलापहरु मधेसी जनताको भावनाको मतमा टेकेर आफ्नो नियतलाई प्रष्ट पार्नका लागि क्षेत्रीय राजनीतिमा सक्रिय भए मधेसका नेताहरु । जसले विकासका सामान्य जगहरुपनि बसाल्न सकेनन् । उनीहरुले आफ्नो जनमतको आधारमा अहिलेपनि केन्द्रिय सत्ताको झण्डै ४९ प्रतिशत भाग ओगटेका छन् । तर, कुनै मधेसकेन्द्रित विकासका फोहरा छुटान सकेका छन त ? मधेसी जनताले नै यो प्रश्नको उत्तरपनि खोजुन । उनीहरुको यहि कमजोरीले अहिले मधेसमा आफ्नो भुमिका कमजोर देखेका अन्य राजनीतिक दलहरु संगठन विस्तारका लागि कस्सिएका छन् ।
संविधानसभामा माओवादी, कांग्रेस र एमाले मधेसबाट बढारिए । त्यसका अलावा गणतन्त्रको आन्दोलनमा राजावादीहरुको पनि नामनिसान नरहनेगरी मधेस स्वतन्त्रताको पक्षमा उभियो । विकासको मुल फुट्नुपर्ने प्राथमिक र सुगम रहेर पनि मधेसले राजनीतिको फोहोरी षडयन्त्रको शिकार बनीरहनुप¥यो । अहिले नेपाली कांग्रेस मधेस अभियानमा छ । माओवादी र एमालेलेपनि मधेसमा आफ्नो भुमिका बलियो बनाउनका लागि तिव्र कार्यक्रम गरिरहेका छन् । तर, त्योभन्दा पनि गतिलो कामचाँही अहिले राजावादीहरुल गरेका छन् । मधेसमा आफ्नो भुमिकालाई बढाउनका लागि राजावादीहरु उनीहरुभन्दा तिव्रताका साथ ‘मिसन मधेस’मा लागेका छन् ।

Saturday, April 14, 2012

दम्भित छु आज


अकास्मात अकाशियो पश्चिमाको यान
अनेकन वैज्ञानिक चमात्कारको विषयसँगै
म आकाशतिर टोलाइरहेको छु,
यानको धुवाँमार्ग नियालेर
निरन्तर जन्मदेखि
तीन दशक नजिकको उमेरयोगसम्म
मैले पुजा गर्ने चन्द्रको माटो टेकेर
मेरो कल्पनशिल बाटोहरु मिचेर
हावामा तरङ्गित हुँदै
प्रयोगका नाममा उत्रियो फेरि उसको यान
धर्तीमा सफलताका नाममा ।
विश्वसमुदायमा आफुलाई उचो राखेर
मेरो कदलाई अत्यन्तै निकृष्ट देख्नेगरी
उसका वैज्ञानिक दम्भबाट
थिचिरहेको छ आजसम्म पनि ।
नाजवाफ मेरो ओठहरु, मेरा विचारहरु
उसका दम्भअघि प्रयोगवादी छैनन्
भुइमान्छेका सहरमा हुर्किरहँदा
म आफुलाई उभन्दा उँचो ठानिरहेको छु ।
किनकी,
मेरो यान उसको आकाशभन्दा माथि छ
आकाशगंगाहरुको भ्रमणसँगै
निरन्तर, तेज गतिमा अत्यन्तै तिव्रतामा
शव्दबाट भावनाबाट र सोचबाट
मेरो सोचले उसका प्रयोगहरुलाई
सर्वदा फिक्का देखिरहेको छ
उसले धर्ती टेक्यो, मैले घर बनाइसके
उसले माटो टिप्यो मैले आँगन लिपीसकें
हेर आज मेरो आँगन लपक्क रंगिएको छ
उसले टेकेको धर्तीमा मेरो सुन्दर घर बनेको छ
सोचबाट, शव्दबाट, अक्षरबाट, हरफबाट अर्थबाट
दम्भित छु आज
उसको यानभन्दा मेरो यानको रफ्तारबाट

-वि’नोद

Wednesday, April 11, 2012

नयाँ वर्ष



अतिरिक्त समयको उपलव्धिविहीनता
चुम्बनविनाको प्रेमरागको दिन,
म पो अश्लिल भएँ, अश्लिताको भीँडमा
हेर आज श्लील समाज अर्धनग्न भएर
प्रेमको मजाक उडाउँदै एउटा
नयाँ विहानीको स्वागत गरिरहेको छ
अमर्यादित आलिंगनको सहारामा ।

नयाँ वर्षको ‘प्लान’ के छ ? अन्तिम दिनहरुमा
हरेक व्यक्तिको रटाइ हो यो
मलाई नयाँ लागेको छैन किनकी
हरेक विदाइका पलहरुका कृयाकर्म
सहरका हरेक रात्रीजीवनहरु हुन्
केवल नयाँ वर्ष एउटा बाहनामा ।
नयाँ विहानीको पर्खाइ वा
नयाँ समयको खोजी अथवा
नयाँ युगको विकासका लागि
अभ्यस्त छैनन्, हातहरु
हस्तमिलानपछि शुभकामनाका मौखिक
फोहोराको नाटकीय शैली
अनि, रतिगात्मक संवेदनाको चाहनामा
उफ्रिएका कृतिम उमंगसँगै मान्छेहरु
नयाँ वर्षको शुभकामना परिहाउँछन् ।

मलाई
त्यो विहानीको खोजी छ
जसले वास्तविक नयाँ वर्षको
नयाँ किरणसँगै मान्छे हुनुको अर्थ दिन्छ
मान्छे भएर बाँच्नुको विकल्प खोज्दैन
त्यो नयाँ वर्ष मेरालागि स्वीकारयोग्य छैन
आशा छ हरेक नयाँ विहानी नयाँ दिन
नयाँकुराका लागि हुनेछन्,
त्यसैको सफलताका सुन्दर, निश्चल र निस्कपट
विहानीको शुभकामना प्र्राप्त हुनेछ
र, सवैमा मेरा तर्फबाट पनि
यस्तै यस्तै शुभकामनाका सितका थोप्लाहरु
सवैका लागि, सँधैका लागि

-विनोद

Sunday, April 8, 2012

तितो सम्झना र मुकदर्शक जनता


मुकेश कायस्थ, जिउँदा सहीद

विनोद ढकाल
सात दलीय गठबन्धनले ठिक छ वर्षअघि २४ चैतको दिन निरन्तर आन्दोलनको घोषणा गरेको थियो । त्यो दिन आयो अनि गयो । केहीले सम्झिए धेरैचाँही ढोंगी पाराले मञ्चहरुमा उत्रिए । त्यस दिनले दिशानिर्देश गरेको बाटोचाँही अलपत्र नै छ, अहिले ।
तत्कालिन नेकपा माओवादीसँग जनआन्दोलनका लागि १२ बुँदे समझदारी गरेपछि नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा आह्वान भएको जनआन्दोलन अहिले स्मरणमा छ । हरेक क्षेत्र आन्दोलित भयो । देशको एउटा सामान्य कुनामा पत्रकारिताको यात्रा र विद्यार्थी आन्दोलनको अभियन्ताका रुपमा सामान्य भुमिकामा रहँदा लोकतन्त्र भनेको सैनिक शासनबाट उन्मुक्ति पाउने व्यवस्था र हरप्रकारको स्वतन्त्रताको अनुभुति बुझ्ने गरिन्थ्यो । एउटा व्यवस्था उल्टाउने महान आन्दोलनको इतिहाँसको एक सर्वसाधारणको भुमिकामा रहँदा लोकतन्त्रको आन्दोलन थालिएको छ वर्षको गति यस्तो हुनेछ भन्ने कल्पना गरिएको थिएन । त्यो त सुन्दर नेपाल, शान्त नेपाल र पेशागत सुरक्षा सहितको सम्बृद्ध यात्रामा हिँडिरहेको कल्पना गरिन्थ्यो । गाउँका डगरहरु, सहरका सडकहरुमा आन्दोलनको मोर्चाहरु, प्रदर्शनको सुरुआती दिनहरुले कुनै सुनौलो विहानीको संकेत पक्कै गरेकै थियो । तर, ती विहानीहरु कल्पना गरिएभन्दा फरक हुन्छन भन्नेचाँही लागेको थिएन । जुन, अहिले आँखाअगाडीका तितो सत्य बनीरहेका छन् ।
२७ चैत, आजको दिन । एउटा कठिन समय र आन्दोलनलाई उत्कर्षमा पु¥याउन अथवा प्रतिशोधको ज्वारभाटा सृजना भएको दिन थियो । दोस्रो जनआन्दोलनमा आजको दिनलाई भुल्न सकिदैन । यदि भुल्यो भने देशका विभिन्न ठाउँमा मारिएका सहिदहरु र जीउँदा सहिद मुकेश कायस्थको अपमान हुनेछ । किनभने आजकै दिन मुकेशमाथि गोली चलाइएको थियो । उनको कन्चटमा गोली लागेको थियो । बर्बरताको सिकार भएका थिए उनी । २०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट काभ्रेप्लाञ्चोक उग्रचण्डी नालाका भीमसेन दाहालको मृत्यु भैसकेको थियो । भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइ“दै थियो । शव लिन नालाबाट धुलिखेल आउ“दै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तÔेप गरी गोली चलायो । शिवहरि कु“वर घटनास्थलमै मारिए भने मुकेश घाइते भए । मुकेशस“गै बनेपाकै विक्रम कपालीलाई गोलीको छर्राले लाग्यो । यहि दिन जनआन्दोलनका १९ सहिदहरुमध्येका भिमसेन दाहाल र शिवहरि कुँवर सहिद भए । अनि, हाम्रो आँखा अगाडी अहिलेपनि जीवित सहिद छन्, मुकेश । यो आन्दोलन आजको यो राजनीतिक अलपत्रका लागि थिएन । हामी कुनै राजनीतिक दलको सरकार निर्माणका लागि आन्दोलनमा उत्रिएका थिएनौं । सामुहिक प्रयास प्रजातन्त्र स्थापनाको लागि थियो । सामुहिक आवाज स्वतन्त्रता र एउटा कठोर व्यवस्थाको उन्मुक्तिका लागि थियो । हत्याहिंसा र प्रतिशोधको राजनीति अन्त्यका लागि थियो । सेना, माओवादीको युद्धमा मारिएका निर्दोष आफन्तहरुको लासहरु देख्न नपरोस र अपराध समाजबाट निर्मुल होस भन्ने आशाका लागि थियो । पत्रकारिता स्वतन्त्र र निर्भिक तथा सुरक्षित, पेशागत अधिकार स्थापनाको पक्षमा रहोस भन्नका लागि थियो । सम्झिउँ त के अहिले त्यहि अपेक्षाको काम भइरहेको छ ? के राजनीतिले २७ चैतलाई सम्झिएको छ त ? त्यसै दिन मारिएका सहिद परिवारलाई त्यसपछिका छ वर्षहरुमा कहिल्यै सम्मान ग¥यो यो मुलुकका राज्यसंयन्त्र परिचालकहरुले ? हो, केही दृश्यहरु देखिए राजनीतिक साख जोगाउने उदेश्यका । माधवकुमार नेपालले मुकेशबारे केही गर्ने जमर्को गरे, अनि झलनाथ खनाल प्रधानमन्त्री भएपछि मुकेशको स्थिति निरिक्षणका लागि पुगे । तर, उनले के पाए त ? उनको चाहना अहिलेपनि देशमा शान्ति, सुरक्षा र स्थायित्व हो । यो २१ औं शताव्दिको २७ चैतमा भएको तितो सत्य हो । तर, अठारौं शताव्दिको मानसिकताको राजनीतिबाट अहिलेपनि मुक्त हुन सकेका छैनौं हामी र हाम्रा दलका नेताहरु । शान्ति, सुव्यवस्था र विकासका लागि विवादको मुद्दा बनाइएको छ, संघियता । संघियता नै आवश्यक छैन, प्रादेशिक क्षेत्रीयताका आधारमा इमान्दार राजनीतिक निकास भए मुलुक विकास हुनका लागि कत्तिवेर लाग्दैन । त्यो भन्दा पहिले विधिको साशन हो । त्यसको व्यवाहारिक प्रयोग हो । सुरक्षा संत्रासबाट मुक्त मुलुक हो । जवसम्म भ्रष्ट नियत र कडा कानुन व्यवाहारिक रुपमा स्थापित हुन सक्तैन अधिकार र विकासका कुरा भाषणमा सीमित हुनेछन्, संघियताको मामला एउटा कठोर बोझ हुनेछ । अनि इतिहाँसहरु ओझेलमा पार्ने कामहरु हुनेछन् ।
लोकतन्त्रको जोखिम भनेको भ्रष्टाचार हो, दण्डहीनता हो । राजनीतिक आवरणमा हुने गरेका अपराधहरुको पुनरावृत्ति हो । लोकतन्त्र प्राप्तिको मुख्य विषय नयाँ संविधान जारी गर्ने र माओवादीको मात्र व्यवस्थापन गर्ने भन्ने मानसिकता होइन, हर प्रकारले अहिलेसम्म भोगिरहेको राजनीतिक संरक्षणको अपराधको अन्त्य हो । दिगो विकासको बाटो हो । अहिले हामीले त्यस्तो महसुस गर्न सकेका छैनौं बरु लोकतन्त्रको आगमनसँगै राजनीतिक संक्रमणको समयमा सुरक्षाका सवालहरु कमजोर बनाइएका छन् । भ्रष्टाचारको गति बढेको पाइन्छ । समय गतिशिल रुपमा अघि बढ्यो । आन्दोलनमा कयौं व्यक्तिहरु ढले । व्यवस्था परिवर्तन भयो । तर, राजनीतिक दल र तिनका नेताको मानसिकता परिवर्तन हुन सकेन । बरु, प्रगतिशिल विचार राखेको विद्रोही शक्ति सरकारसम्म आइपुग्दा त्यहि भ्रष्ट चरित्रको आवरणमा अहिले खुल्ला राजनीति गरिरहेको छ । कुनै राजनीतिक दलका नेताहरुले अहिलेसम्म भनेका छैनन्, हामीले गल्ती ग¥यौं भनेर । नेताहरुले भन्न सकेका छैनन–मेरो गल्तीको सजाय जनताले दिनुपर्छ । म गलत छु भने जनताले मलाई सजाय दिनेछन्, उनको सजाय मेरा लागि स्वीकारयोग्य हुनेछ भन्ने हिम्मत कुनै राजनीतिक दलका नेताहरुले गरेका छैनन् ।
आन्दोलनका वास्तविक योद्धाहरु अहिले पीडाको भवसागरमै छन् । पीडित परिवारहरुले न्याय पाउन सकेका छैनन् । सहिद परिवारहरु लोकतन्त्रप्राप्ति पछिका खुसी साट्नसक्ने अवस्थामा छैनन् । विश्लेषक, पत्रकार र स्तम्भकारहरु वर्षमा एकपटक सम्झनाका शव्दहरुमात्र कोर्छन् । अनि, जनता लाचार, नीरिह बनेर उनै राजनीतिक दलको वितण्डाको मुकदर्शकमात्र बनीरहेका छौं । जनआन्दोलनको खास अर्थबारे हामी अझै खबरदारीमा छैनौं । कसैले मरेर स्थापित गराइदिएको लोकतन्त्र, हरप्रकारले राजनीतिका लागिमात्र फाइदामुलक भयो । राजनीति गर्नेहरुका ागि आफ्नो सम्पत्ति आर्जनको खेती बनिदियो, अपराधी, हत्यारा, गुण्डाहरुका लागि राजनीतिक संरक्षणको बाटो बनिदियो । अनि, जनसाधारणका लागिचाँही असुरक्षाको कारण । आशा गरौं, शहिदका समर्पणहरु खेर जान नपाउन । अझै, खबरदारीमा जनसाधारण जुट्न सकुन ।

Saturday, April 7, 2012

अदभुत सपना


विनोद ढकाल
मिरमिरेमा झरेको ताराजस्तो
झिलिक्क, जीवनको एक पलमा
उत्रियौ, र गयौ ।
एक पलमा अनेकन सपनाहरु
आशाहरु र कल्पनाका
गगनचुम्बी महलमाथिका उन्माद प्रेमहरु
भताभुङ्ग भयो, जीवन जसरी ।
चैत सकिनासथ सुरु हुने वैशाख जसरी
जीवनको कुनै प्रान्तमा आएर
जेठ र असारको महसुस हुन नपाई
साउनको विना मेघको वर्षातले बगाएको
बस्ती सरी गयौ,
उफ यस्तो दिन किन आयौ ?
जुन दिन दिन थिएन, एउटा कालो रात
अनि, त्यसैको एउटा अदभुत सपना थियो

Wednesday, April 4, 2012

यादव हत्याले उव्जाएका प्रश्नहरु


विनोद ढकाल
एकाविहानै बजेको मोवाइलको घन्टीले सुखद समाचार दिन सकेन । सुनसरीका सहकर्मी मित्र सन्तोष यादवले निकै समयपछि फोन गरेका थिए । शुभ विहानीपनि भन्न नपाई उनले सोधे,‘एउटा दुखद खबर छ । यादव पौडेलको हत्या भएछ नी ?’ झसङ् भएर ओछ्यानबाट जुरुक्क उठें । विश्वास गर्नसक्ने पर्याप्त आधारहरु थिएनन् । अनि, सोधें,‘को हाम्रो यादव जी को ?’ उसले जवाफ दियो–‘हो, हाम्रो यादव जी को ।’ पुष्टि गर्ने आधारहरु सञ्चारमाध्यममा भटाभट आउन थाले । म उनलाई सम्झदै विस्तारै विक्षिप्त हुँदै गएँ । उनीसँगका अनेकन दिनहरु स्मरणमा आउन थालेका छन्– युवा जोस, पत्रकारितालाई कर्मठ बनाउने उनको त्यो ‘बात मार्ने’ बानीहरु । मोरङको सिजुवाका स्थायीवासीन्दा भएपनि झापा उनको गतिलो कर्मथलो बन्दै गएको थियो । फेसबुकका वालहरुमा उनका तस्विरमाथि श्रद्धाञ्जली र हत्यारालाई कारवाहीका मागहरुसहितका विभिन्न नाराबाजीहरु लेखिएका छन् । यसले झनै मलाई विक्षिप्त बनायो भने हत्या पुष्टिको पर्याप्त आधारहरु दियो ।
ऊफ १ फेरि एउटा पत्रकार बिनादोष मारिएको छ । लोकतन्त्र, प्रेस स्वतन्त्रताको पक्षमा उभिने कर्मठहरुको लहरमा ऊ मृत देखिएको छ । एकै मिडियामा लामो समय सहकर्मीका रुपमा काम गरिरहँदा अनेकन खबरहरुका बारेमा छलफल गर्ने यादव जीको हत्याको छानविन सहिढङ्गबाट होस । उनका हत्याराहरुले संविधानमा उल्लेखित कडा भन्दा कडा सजाय पाउन, यस्तो आशा राख्न सकिन्छ । यद्यपि, धेरै पत्रकारहरु मारिएका छन्, उनका परिवार अहिलेपनि पीडामा जीवन गुजारा गरिरहेको यथार्थलाई हेर्ने हो भने यादव जीको हत्या पनि त्यहि लहरमामात्र सीमित हुने खतरा पनि ज्यादा छ । हामीले यसअघि उमासिंह, वीरेन्द्र साह लगायतका पत्रकारहरुको हत्याका खबरहरुलाई भुल्न नपाई, सम्झनाको अर्को कथा बनाइएका छन्, यादव पौडेल ।
२०५९ सालमा कृष्ण सेनको हत्या अहिलेपनि चर्चामा कायम छ । त्यस्तै, २०५९ साल वैशाख १८ गते कालिकोटका पत्रकार नवराज शर्माको हत्या भएको थियो । माओवादीको आवरणमा हुर्किएको अपराधिक गिरोहले मोरङका अम्बिका तिमल्सिना, रोल्पाका धनबहादुर रोकामगर, काभ्रेका ज्ञानेन्द्र खड्का, पर्साका गोपाल गिरी, दैलेखका डेकेन्द्र थापा, सुनसरीका खगेन्द्र श्रेष्ठ, कञ्चनपुरका प्रकाश ठकुरी र बाराका वीरेन्द्र साहको हत्या गरेका थिए । पत्रकार हत्याका यी खबरहरु सेलाएका छैनन्, उनका परिवार अहिले जीवित छन् । उनीहरुले राज्यबाट कुनै सुविधा पाउन सकेनन् । यी यहिलेका तितो सत्यहरु हुन् ।
हत्या गरिएका कसैको परिवारले न्याय पाउन सकेको छैन । सहयोगका नाममा केही रकमहरु दिने प्रयत्न भए तर दोषीमाथि कारवाही भएको सुन्न पाइएन । पत्रकारहरुले आन्दोलन गरे, आन्दोलनहरु निरर्थक भए । फेरी यादव हत्याले अव विरोधका स्वरहरु उठाएका छन्, प्रधानमन्त्री बाबुराम भट्टराइले दुख लागेको पनि बताएका खबरहरु बाहिर आएका छन् । तर, न्याय कसरी पाउने ? भन्नेबारेमा ठोकुवा सहितका गतिला प्रतिबद्धताहरु आउन सक्तैनन् । किनकी, सवैलाई थाहा छ यो हत्याको घटनापनि अन्यजस्तै कमजोर बनाइनेछ । हत्या भएका पत्रकारहरुको परिवार, उनीहरुको आर्थिक स्थिति र राज्यले उनीहरुप्रति पुरा गर्नुपर्ने दायित्व कसरी निर्वाह भएको छ भन्ने विषयहरु आँखा अगाडीका सत्य हुन् । राज्यको सहानुभुति र प्रतिबद्धता कुन हदसम्म कार्यान्वयनमा छ भन्ने पनि छर्लङ्ग छन् ।
सुरक्षाको संकट
सरकारहरु बदलिन्छन्, पार्टीहरु सत्ताका नजिक पुग्छन् । मिडिया हाउसहरु खुल्छन् तर पेशागत तथा भौतिक सुरक्षाको ‘त्रास’बाट पत्रकारहरु कहिलेपनि मुक्त हुन सकेका छैनन् । काठमाडौंलाईमात्र मुलुक ठान्ने हरप्रकारको जमातलाई स्मरण होस, सवै हत्या गरिएका पत्रकारहरु काठमाडौंबाहिरका हुन् । जसको परिवार अहिलेपनि निरन्तर दुख र संघर्षको बाँधलाई झेलीरहेका छन् । यसले हामी पत्रकारहरुको सुरक्षाका लागि काठमाडौं कत्तिको गम्भिर र जिम्मेवार छ भन्ने प्रश्न पनि उठाएको छ । कुनै धम्कीका खबरहरु पनि सार्वजनिक नभई एकाएक वेवारिशे अवस्थामा कुनै पत्रकारको लास भेटिन्छ भने हामी कुन सुरक्षाको हैसियतमा छौं ? जो राष्ट्र र देशवासीका लागि समाचारको मुख्य स्रोत हो, सुचनाको आधार हो । त्यो व्यक्ति आज सडकमा वेवारिशे अवस्थामा मृत फेला पर्छ । यस्ता खबरहरुले किन पोल्दैन, राज्य र यसका अनेकन निकायहरुलाई ? अन्तरसंवादको नियती अहिले भोगिरहेका छौं हामी ।
काठमाडौंलाईमात्र देश ठान्ने एउटा जमातले अव सहरमा कोणसभा गर्नेछ । केही अक्षरहरुमा खेद र आन्दोलनका फोहोराहरु छुटाउनेछन् । अभियुक्तहरुलाई अपराधी करार गर्नका लागि प्रहरीलाई लामो समय लाग्नेछ । चर्का नाराबाजीहरु हुनेछन्, काला पट्टी बाँधेर कामहरु गर्नका लागि सर्कुलर जारी हुनेछ । अनि, सम्पादकीयका ठाउँमा कालो पोतिनेछ । सरकार र राजनीतिक दलहरुले मौखिक तथा लिखित रुपमा खेद प्रकट गर्नेछन् । अनि हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता गर्नेछन् । मृतक परिवारलाई सहयोग, उनलाई सहिद घोषणा गरी राज्यले सुविधा दिने विषयमा तत्काल बोल्नेवाला छैन । नेपाल हत्याराहरु सुरक्षाघेराभित्र र पीडितहरु सुरक्षा संत्रासमा बाँच्नुपर्ने बाध्यता अँगाल्नुपर्ने मुलुक हो । जसका पछाडी कुनै खास शक्ति छैन ऊ चुपचाप निरीह बस्नुपर्ने हुन्छ । किनभने पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने मुख्य अभियुक्त अहिलेपनि सुरक्षित छन्, वीरेन्द्र साहका हत्यारा अहिलेपनि सुरक्षित राजनीति गरिरहेका छन् । क्रान्तिकारी आन्दोलनका नाममा जनतान्त्रिक ज्वाला सिंहका नाममा मारिएका पत्रकार पुस्कर श्रेष्ठको परिवारले न्याय पाउन सकेको छैन । बरु, त्यस्ता हत्यारा समुहहरुलाई राज्यले मुलधारको राजनीतिमा ल्याउने प्रयत्न गरिरहेको देखिन्छ ।
पत्रकार समाजमा सुचनालाई ऐनका रुपमा प्रस्तुत गर्ने महत्वपूर्ण निकाय हो । सरकार, शक्ति र सत्ता तथा नागरिकबीचको संवादको कडी हो पत्रकार । यस्तो कडी सडकमा लावारिस अवस्थामा मारिन्छ । एक त राज्य उसको पेशाको सुरक्षामा गम्भिर छैन, अर्कातिर उसको निमर्म हत्या भइरहँदा मुकदर्शक र हत्यारा जोगाउ अभियानमा लागेको पाइएको छ, अहिलेसम्म । आशा गरौं, यादव हत्याप्रकरणका अभियुक्तहरु प्रहरीले पक्राउ गर्नेछ, अपराधी करार गरी सजाय दिनेछ र उनका परिवारले उचित राहत पाउनेछन् । अन्यथा लोकतन्त्रमा पत्रकार हत्या सामान्य ठानिनेछ, पेशा कमजोर मानिनेछ र पत्रकार आफ्नो सुरक्षाका लागि पेशाबाटै विमुख हुनेक्रम बढ्ने सम्भावना बढ्नेछ ।
हत्याले उव्जाएका शंका
स्थानीय दैनिक पत्रिकार मेची टाइम्सका कार्यकारी सम्पादक थिए, यादव पौडेल । हरेक दिन पत्रिकाको सम्पादन सहितका काममा उनी मध्यरातसम्म व्यस्त हुन्थे । विर्तामोडमा परिचित र चलेका अनुहार थिए उनी । उनका समाचारहरुले त्यहाँका अनेकन प्रकारका तस्करहरु रुष्ट हुनु स्वभाविक थियो किनकी उनी गतिला समाचारहरुलाई प्रष्ट रुपमा प्रकाशनमा ल्याउँथे । उनको हत्याबाट अनेकन शंकाहरु उव्जिनु स्वभाविक हो । मध्यरातमा उनको हत्या भएको थियो । एक पत्रकार जो मध्यरातसम्म आफ्नो काममा व्यस्त हुन्छ, एउटा दैनिक पत्रिकाको काम गर्न अभ्यस्त हुन्छ । उसलाई रहस्यमय योजनाबाट मारिएको हुनुपर्छ । कुनै समुह जो यादव जीको अखबारसँग डराएको छ, यादवको कलमसँग त्रसित भएको थियो, त्यसले उनको हत्या गरेको हो । उनले लेखेको समाचारबाट असर पुगेका व्यक्ति वा समुहले धम्कीको भाषा नबोली उनको हत्या गरेको छ । यसबीचमा उनलाई धम्क्याएको त्यस्तो खबर कहीँकतै नआएको र उनलेपनि कुनै साथीहरुसँग जीकिर नगरेका कारण हत्याराले सिधै मार्ने योजना बनाएको थियो । नियोजित रुपमा रातीको समयमा बोलाएर उनको हत्या योजनालाई सफल बनाउने कुनै खास व्यक्ति वा समुहको योजना सफल भयो । तर सवैलाई स्मरण रहोस पत्रकार मारेर कलम रोकिन्न, कलम निरन्तर चलिरहन्छ । उनका विरोधमा जसले पत्रकार मारेर जित्छु भन्ने कल्पना गरेको छ । जसले पत्रकारलाई त्रसित बनाउने नजिर बनाउने प्रयत्न गरेको छ । पत्रकारलाई हतियारबाट कमजोर बनाउने नियत कसैले राखेको छ भने त्यो अहिलेसम्म पुरा हुन सकेको छैन । द्वन्द्वकालमा राज्य र विद्रोही माओवादीबाट धेरै पत्रकारहरु मारिए । तर, उनीहरुको सही र गलत विषयमा समाचार कोर्ने कलमहरु रोकिएनन्÷रोकिनेवाला छैनन् ।

(२३, चैत २०६८ हिमालय टाइम्स दैनिकमा प्रकाशित लेख हो । )