|
विनोद ढकाल |
एउटा राम्रो निर्देशकले प्रोत्साहनसहित कलाकारलाई राम्रो अभिनयको वातावरण बनाउनुपर्छ । कलाकार कति नै तेज होस् तर उसको ओजचाँही निर्देशकभन्दा कमजोर नै हुन्छ, फिल्ममा । किनभने फिल्म भनेकै पुरै निर्देशकमात्र हो । बाँकी, उसैको कल्पनाको आधारमा हल्लिने पात्रहरुमात्र हुन् । होस्टेल र जेरी जस्ता व्यावसायीक सफल फिल्म निर्देशन गरेका निर्देशक हेमराज बीसीले पछिल्लो फिल्म सम्बोधनमा यस्तो अवसर श्रृजना गरेका छैनन । सम्बोधन भद्दा प्रस्तुतीमा गहन मुद्दा उठाएका छन् । जसको सहज र सरल जस्टिफाई हुन सकेको छैन । तर, फिल्म नराम्रै बनेको छ भन्नेचाँही होइन ।
दर्शक गनेर फिल्मलाई बजारमा ल्याउने निर्देशक बीसीले यो फिल्ममा दर्शक गन्न विर्सिएछन् । यो आम दर्शकका लागि बनाइएको फिल्म हो । तर, नेपाली दर्शक फिल्मले दिन खोजेको सन्देशभन्दा ज्यादा जानकार भएका कारणले सम्बोधन सत्यघटनाको एउटा नाटकीय चित्रमात्र बुझिन्छ । विषय उठान गम्भिर गर्न खोजिएपनि यो सतहमै सकिएको छ ।
आम जनता नेपालको राजनीति र प्रशासनसँग परिचित छन् । सवैलाई थाहा छ मुलुकको हविगत । यहि हविगतको उठान हो, सम्बोधन । युद्धमा होमिएपछिको अनुशासित मुलुक देख्ने चाहनामा प्राध्यापक राजु थापा (प्रशान्त ताम्राकार)को जीवनको उतारचढावसँग केन्द्रित विषय हो, सम्बोधन । भ्रष्टाचारशुन्य मुलुकको परिकल्पना गर्ने प्राध्यापकले आफ्नो छोराको जागिरको स्वार्थका लागि जग्गा विक्रि गरी घुस खुवाउने काम गर्छ । तर, काम हुँदैन । उसले छोरा गुमाउँछ अनि श्रीमतिलाई अस्पतालमा राख्नुपर्ने हुन्छ ।
भ्रष्टाचारी मालपोत कर्मचारी र दलालहरुको हत्या श्रृङ्खलामा उत्रिएको उसले भ्रष्टाचारको जड मेटाउने प्रण गरेको हुन्छ । सोही क्रममा गैरभ्रष्ट चरित्र भएको उसले भ्रष्टाचार सुरु गराउने प्यारालाइसीस भएकी श्रीमतिको हत्या गर्छ । र, केन्द्रिय अनुसन्धान व्युरोले उसलाई इनकाउन्टरमा मारिदिन्छ । फिल्मको एक लाइनको कथा यहि नै हो ।
यसबाहेक फिल्म हत्याकै अनुसन्धान, रिपोर्टिङ, सामान्य प्रेमका विषयमा दौडिन्छ । तर, ती विषयहरु फिल्ममा प्रधान होइनन् । यद्यपि, समाचारको दौडानमा उभ्याइएकी पारुल शाक्य (नम्रता श्रेष्ठ)को रिपोर्टिङ शैलीचाँही मिलेको छैन । अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक रामजी गोले (दयाहाङ राई)ले अनुसन्धान गरिरहेका हुन्छन् । उनलाई साथ दिएका हुन्छन् अर्का प्रहरी निरिक्षकको भुमिकामा रहेका प्रताप भट्ट (विनय भट्ट)ले । यीनै पात्रहरुको वरिपरि फिल्म दुई घन्टा घुम्छ ।
निर्देशकले क्यामेरामा कलाकार उभ्याएपनि रिपोर्टिङको तरिकामा न्याय गर्न सकेका छैनन् । फिल्ममा धेरै ठाउँ जर्क छन् । स्क्रिप्टमा लामो समय र गहिरो विचार नगरी गहन विषयमा निर्देशक बीसी हाम फालेको देखिन्छ । यद्यपि, कतिपय निर्देशकहरु भाग्यमानी हुन्छन्, चिज ठिकै हुन्छ तर ट्याक्टिसले जोगाइ राख्छ । बीसीको ट्याक्टिस सम्बोधनमा देखिएको छ, राष्ट्रगानदेखि सुरुआत हुने फिल्ममा दर्शकलाई अड्याउनसक्ने केही केही आधारहरु मात्र छन् । तर, फिल्मभित्र राखिएका गीतहरु सन्दर्भहिन हिसावले आउँछन् । ती गीतहरु जबरजस्ती राख्नैपर्ने बाध्यताले राखेजस्तो । गीतहरुले दर्शकको ध्यान खिच्न सक्तैन । गीत नराखी पनि राम्रो फिल्म चल्न सक्छ, चलाउनका लागि राख्दा दर्शकको ध्यान तान्नसक्ने आकर्षक गितहरु नै घुसाउनु उपयुक्त हुन्छ ।
कास्टिङ
सम्बोधनमा कास्टिङ पक्ष ठिकै छ । कलाकार राम्रा छनौट गरिएपनि उनीहरुको अभिनयमा अलमल जस्तो देखिन्छ । खासगरी रामजी गोले (दयाहाङ राई) को अभिनयमा खोट लाउन मिल्दैन । राजु थापाको भुमिकामा रहेका (प्रशान्त ताम्राकार) जो फिल्मका मुख्य अभिनेता हुन्, उनको भुमिकाअनुसारको अभिनय ठिकै छ तर प्रशंशैप्रशंशा गर्नुपर्ने कारण छैन । प्रहरी निरिक्षक प्रताप भट्ट (विनय भट्ट)को अभिनय कमजोर छ । टिभी रिपोर्टरका रुपमा प्रस्तुत गरीएकी पारुल शाक्य (नम्रता श्रेष्ठ)को अभिनय पनि औसतमात्र छ । डिआइजीका रुपमा प्रस्तुत गरिएका बीएस राणाको अभिनय सदाबहार हो । सिक्के डनका रुपमा देखा परेका शुलेमान शंकरले पाएको जिम्मेवारीलाई अन्याय गरेका छैनन् । बाँकी कलाकारहरुले औसत रुपमा राम्रो गरेका छन् ।
प्रविधि
नेपाली फिल्ममा प्रयोग हुने प्रविधिको विषयमा कमेन्ट गर्नु त्यति उचित नहोला । तर, कहिलेकाँही सीमित प्राविधिक सामानले पनि प्रस्तुतीको न्याय गर्न सक्छ भन्ने कुरा विर्सन हुँदैन । सम्बोधनको सिनेम्याटोग्राफी, इडिटिङमा डिफेक्ट छ भन्न मिल्दैन । तर, कतिपय ठाउँमा जहाँ क्यामेरा नहल्लाउनुपर्ने हो, त्यहाँ क्यामेरा हल्लाएर सिनलाई मजाक बनाउने प्रयत्न गरिएको छ । त्यसो गर्नु उपयुक्त हुँदैन । यद्यपि, उपलव्ध स्रोतका आधारमा गरेको काममा प्राविधिक पक्षमा असन्तुष्ट हुनुपर्ने ठाउँ छैन ।
विषय गहन । मूर्त मुद्दा । तर, प्रस्तुती सामान्य । जब विषय गहन उठान हुन्छ त्यसको जस्टिफाई गर्ने खास आधार बनाउन सकिएन भने त्यसको कुनै अर्थ हुँदैन । जब विषय उठान गरिन्छ त्यसको न्यायीकरण गर्ने काममा आफ्नो भुमिका कति प्रभावकारी बनाउने भन्ने काममा निर्देशक विसी चुकेका छन् । यद्यपि, विषय गम्भिर भए पनि उठाउने काममा मौलिकताहिन भन्नु अन्याय हुन्छ । न्यायिक विषय भएपनि यो प्रस्तुतीका क्रममा अन्याय भएको ठहर्छ । फिल्मलाई निक्कै ठाउँ फाल्तु विषयमा कुदाएपनि क्लाइमेक्समा जोड्ने प्रयत्न गरिएको छ ।
फिल्मको लेखन पनि निर्देशकले गरेका कारणले यो फिल्ममा उनको भुमिका अति राम्रो भन्नु गलत सावित हुनेछ । किनभने एउटा लेखक सिनहरुमा सहभागी हुन्छ । जसरी एउटा निर्देशक लेखक हुन्छ, उसले आफ्नो क्यामेरादेखि स्पोटसम्मको कल्पनाका आधारमा एन्टागोनिस्ट र प्रोटागोनिस्टसम्मको भुमिकालाई उसले तय गरिसकेको हुन्छ । त्यसकारण लेखक निर्देशक बीसीले सम्बोधनलाई मुद्दाका रुपमा उठाए त्यहाँ हिरो नै खोजेका छैनन् । बीचबीचमा केही कलाकारहरुलाई अनावश्यक कुरामा अल्झाएर फिल्म लम्ब्याउने प्रयत्न भएको छ । त्यो आवश्यक छ जस्तो लाग्दैन । किनभने फिल्मका लागि एउटा उक्ति निक्कै अनिवार्य र अपरिहार्य छ । एउटा निर्देशकले एक सयवटा निर्णय एक घन्टामा गर्न सक्नुपर्छ । जसले निर्णय सहज र ठिक रुपमा अभिव्यक्त गर्न सक्तैन त्यो निर्देशक हुन सक्तैन । सम्बोधनमा बीसीले आफ्ना अघिल्ला काममा जस्तो मिहेनत गरेको भान हुँदैन । कामका हिसावले सम्बोधन उनको गहिरो होला तर दर्शकले त्यसलाई उनको कोणबाट बुझ्दैनन्, दर्शक जम्माजम्मी २ घन्टासम्म सिनेमा घरमा बसेर निस्कँदा ठिक फिल्म हेरिएछ भन्ने कमेन्टसम्म गर्छ तर, बीसीको यो फिल्मले त्यसो भन्ने माहौल त्यति साह्रो बनाएको छैन । पहिलो हाफसम्म अल्झाउन नसकेको फिल्मको अन्तिमतिर दर्शकलाई अलिकति भएपछि छुने प्रयत्नचाँही गरेको देखिन्छ । केही ठाउँमा सस्पेन्स राखिएको छ, यसले कहिँकतै तान्न सक्छ ।
समग्रमा सम्बोधन कसका लागि र किन ? भन्ने प्रश्नको उत्तर फिल्मले आंशिकमात्र दिएको छ । कानुनभन्दा माथि कोही हुँदैन भन्ने पनि दर्शाउन खोजिएको छ । यद्यपि, यतिले नै फिल्म उत्कृष्ट हुँदैन, मेहनत बाँकी छ । जहाँ टुंगिएको छ, सम्बोधन त्यहाँबाट सुरु गर्ने अन्य मौकाहरुलाई निर्देशकले अव आइन्दा चुकाउन हुनेछैन । नत्र फेरि पनि गहिरो विषयको सतही प्रस्तुतीभन्दा केही हुनेछैन । राम्रो फिल्म निर्देशकका पनि केही नराम्रा फिल्महरु हुन्छन्, सुरुमै मिठो गाँस चपाउनेले बीचमा पिरो पनि चपाउनुपर्छ । सम्बोधन बीसीका लागि पिरो त छ नै, उनको फिल्म भनेर जाने दर्शकका लागि पनि यो पिरो नै सावित हुन्छ । तर, कहिलेकाँही पिरोलाई पनि मिठो मान्दिने एक किसिमका दर्शकहरु हुन्छन्, तिनको मन जित्छ जित्दैन निर्माण पक्षले मुल्यांकन गर्ला ।