Tuesday, August 12, 2025

माननीय सोबिता जी, जबसम्म घाउचोट देखिन्न त्यो बलात् होइन क्या बात्!


धेरै घोत्लिएपछि यो आलेख लेख्दैछु। यो लेख्दा लेख्दै मैले धेरै चिजलाई स्मृतिमा ल्याएको छु। मेरो एक स्ट्याटसमा माओवादीका नेताहरूबाट फोनमा आएको दबाब स्मरण गरेको छु।

म दबाबमा आएँ भने यो राजनीति मेरा सीमित पाठक नै रहुन्, उनको चित्तमा ठेस पुग्छ। म अचम्मित यसकारण छु कि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जसले माओवादीकी नेत्री अनि पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गरिन्, तिनलाई प्रश्न गर्छु भन्दा माओवादीको टाउको किन दुख्यो? 

यसका अनेक कारण छन्, समयक्रममा खुलाउनेछु। 

गाली गर्नेले मज्जाले गर्नुहोला। पत्रुकार भन्नुहोला, बिरोधी भन्नुहोला। कांग्रेस एमालेको झोले पनि भन्नुहोला। भन्न पाइन्छ। 

मैले जीवनमा २३ बर्ष पत्रकारिता गर्दा जननेता मदन भण्डारीबाहेक कसैलाई पनि नेता मानेको छैन। त्यो लिगेसीमा सदन विघटन सदरबाहेक विद्या भण्डारीको सम्मान गर्छु, राजनीति गर्नेवाला छैन। 

यो मेरो प्रष्टीकरण हो। जेनजीले पढेको हो भने यो मेरो ‘डिस्क्लेमर’ हो। 

म विषयबस्तुमा प्रवेश गर्छु, अब। 

यो आलेख श्यामश्वेत छ। अहिलेको पुस्ताका लागि भने यो ‘ब्लाक एन्ड ह्वाइट’ हो भन्ने अनुवाद गरेको छु।

मैले आशा देखेको तर तर्क र विषयबस्तुमा कुनै दम नभएकी रास्वपा सांसद सोबिता गौतम र उनका सभापति रवि लामिछानेको अपराध स्वीकारोक्तिको। चर्को बोल्ने अनि नेपोलियन बोर्नापार्टले भने जस्तो सय सैनिकलाई झूठलाई सत्य भन्न लगाउने प्रवृत्तिको अनुसरण राजनीतिमा भयो भने त्यो गलत हुन्छ। म फेरि इन्भर्टेड कमामा राखेर लेख्छु– त्यो अत्यन्त्य ‘गलत’ हुन्छ। 

निर्वाचन क्षेत्रमा पुग्दा प्रश्नको सामना गर्न नसकी सदनमा आँसु झारौंलाझैं गरेर रोदन गर्नु बलात् थियो। बलात् त्यो थियो थिएन जब टेलिभिजनमा अन्तरवार्ता दिँदा जुन महिलाको शरिरमा घाउचोट लागेको हुन्न त्यो ‘बलात्कार होइन’ भनेर पीडितको अपमान गर्दा?

म प्रश्न गर्छु– त्यो बलात् मुद्दा हो कि होइन जब पार्टी गठनपूर्वको रवि लामिछानेले सहकारी ठगीमा संदीग्धता देखाएको? 

म प्रश्नमाथि प्रश्न थुपार्छु– तपाईको प्रतिरक्षाका लागि माओवादी र वाईसीएल अनि आन्तरिक दबाब किन आउँछ? यो बलात् हो कि होइन?

म त्रसित त कदाचित हुन्न। २३ बर्षको दौरानमा २३ हजार धम्की आउँदा पनि नेपाल पत्रकार महासंघलाई विज्ञप्ति निकाल भन्ने मान्छेमा पर्दिन, म। आफैं सामना गर्छु। उपप्रधान र गृहमन्त्री भएका बेला नारायणकाजी श्रेष्ठसम्मको पहुँचमा आएका धम्कीका कथाछन्, त्यो मेरो उत्तरार्धको पुस्तकमा आउला। 

‘म बिगो तिर्छु, बाहिर बस्न देऊ’ भन्नु अपराध स्वीकार गरेको हो कि होइन? म प्रश्न गर्छु– के बरिष्ठ अधिवक्ता, संविधानविदभन्दा यो मुलुकमा जान्ने सोबिता गौतम हो?

म कुनै अमुक महिलामाथि प्रश्न उठाइरहेको छैन। काठमाडौं क्षेत्र नम्बर २ मा जनताले मत दिएर जिताएको सार्वभौम सांसदलाई प्रश्न गर्ने प्राधिकार यो देशको कुनै पनि नागरिकले राख्छ। म, आज कुनै पत्रकारको हैसियतमा सोधिरहेको छैन। म नागरिकका हिसाबमा सोध्छु– रास्वपाले चन्दा उठाउनु बलात् हो कि हैन? इच्छाअनुसारको कुरा भन्नु गलत हो, बैंक खाताको क्यूआर राख्नु नै गलत हो। 

सोबिता गौतमले कहिले प्रश्न गरेकी छन् सभापतिलाई कि ‘रवि लामिछाने फाउन्डेशनको पैसा निकिता पौडेलको खातामा किन पठाउनुभयो?’ जनतासँग सहयोग माग गरी निजी खर्चका निम्ति रकम पठाउनू बलात् हो कि होइन? म सार्वभौम सांसदसँग उत्तर चहान्छु। 

रास्कोटमा अस्पताल खोल्ने भनी उठाएको रकमको सदुपयोग भयो कि दुरुपयोग? त्यसका प्रमुख भनिने मुकुल ढकाललाई पार्टीबाट लखेटेपछि त्यो रकमको विषयमा प्रश्न गर्ने दायित्व रास्वपाका सांसदको हो कि होइन? त्यो बलात् भएन?

आवेग, उत्तेजना र तिव्र महत्वकांक्षा राजनीति होइन। चुनाव जित्नु राजनीति होइन। सांसद बन्नु, मन्त्री बन्नु राजनीति होइन। त्यो त शक्तिमा पुग्ने अतृप्त अनि दुराचारी मनसायभन्दा केही पनि मान्दिन, म। 

राजनीति जान्नु छ या बुझ्नु छ भने थेम्बा लिनस डलामिनीको दर्दनाक कथा, अनुभवलाई अध्ययन गर्नुहोस्। 

साठीको दशकको सुरुवातमा एमके अपरेटिभको रूपमा तोडफोडको कार्यमा भाग लिएपछि उनी निर्वासनमा गए। उनलाई काउन्टर–इन्टेलिजेन्स तालिमको लागि सोभियत संघ पठाइयो र समुद्री जहाजमा स्टोवावेको रूपमा पुनः दक्षिण अफ्रिका प्रवेश गरे। 

जब कुख्यात विशेष शाखाले अन्ततः उनलाई समात्यो, उनलाई यातना दिइयो, मुद्दा चलाइयो र रोबेन टापुमा अठार वर्षको कडा परिश्रमको सजाय सुनाइयो।

१९७९ मा उनको रिहाई पछि उनी मुक्ति संघर्षमा प्रतिबद्ध रहे, दक्षिण अफ्रिकी नागरिक संगठनको लागि काम गरे र संघर्षग्रस्त प्रान्त नतालमा एएनसीको लागि समर्थन जुटाउन आफ्नो जीवन जोखिममा पारे। 

थेम्बा डलामिनीको मनमोहक व्यक्तिगत विवरण पनि छन्।  एमकेमा भर्ना भएदेखि दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलमा उनको अन्तिम समायोजनसम्म, क्रूर उत्पीडनको सामना गर्दा ठूलो साहसको अत्यन्तै प्रेरणादायी र बहुमूल्य प्रमाण छन्। 

उनको जीवन पढ्नुहोस्। विकल्पलाई सहयोग गर्ने, मत हाल्ने, नसके आफैं उठ्ने भन्ने जस्ता भ्रम र भ्रामक दृष्टान्त केबल फोहोरी राजनीतिका चस्मिस तर्क बन्न सक्छन्। ति तर्क खारेज गरिन्छ। 

अब रह्यो, रास्वपाको किन चिन्ता लिएको? कांग्रेस एमालेले लुटेको देखिनस् भन्ने। 

त्यहि देखेर आश लागेको दलको हविगत देख्दा झन् रिस उठ्छ। नेपालीमा उखान छैन, आश लागेकी बुहारी खै केजाति भन्ने? हो, जब मानिसको आशा र भरोसामाथि बलात् करणी हुन्छ नि, पीडा असाध्य हुन्छ। 

हिजो एक जनाले मलाई भनिरहेका थिए,‘रास्वपाको किन बिरोध गरेको? ५० बर्षदेखि कांग्रेसलाई माया गरियो, केही भएन। अब रास्वपालाई गर्छु, किन बिरोध गरेको?’ 

मैले उनलाई जवाफ दिएँ,‘तपाई जुन आशा, विश्वास र कल्पनामा रास्वपालाई समर्थन गरिरहनुभएको छ नि, भोलीका दिनमा तपाईलाई पक्षघात नहोस् भनेर सचेत गराउने मेरो कर्म हो, त्यहि गरिरहेको छु।’

जबसम्म व्यक्ति, राजनीतिक व्यक्तिले आफ्नो कमजोरीलाई स्वीकार गरेर गलत र सही कुराको विषय समाजमा दिन सक्तैन, त्यो समास होइन, बिग्रहका रुपमा जनताले बुझ्छन्।