Monday, October 7, 2013

‘म’को बकपत्र

हो, म डायरी प्रेमी हुँ । जीवनलाई तपशिलको विषय भन्दापनि समयको किताबसँग तुलना गर्न रुचाउँछु । अरुका कथा पढेर आनन्द मान्ने भन्दापनि आफ्नो कथालाई उदाहरण बनाउने महत्वकांक्षाको भोगी हुँ । हो, म अरुको कथालाई आफ्नो मनोरञ्जनको विषय बनाउन चहान्न, आफ्नो कथालाई अरुको सोचको विषय बनाउन चहान्छु । हो, मसँग स्वार्थ छ, जीवनको परिभाषा दिनसक्ने सीपालु बन्ने, जीवन भोगाइको उदाहरण दिने एक बक्ता बन्ने । म सगरमाथाको उचाईमा उभिएर आँसु झार्दाको अनुभव सँगाल्ने बहुमहत्वकांक्षी बन्छु, मलाई भौतिक सुखको कुनै महत्वकांक्षा छैन, सडकयात्री नै बन्न चहान्छु । लेख्न चहान्छु मेरा यौवनामा मैले देखेको त्यो पीडा, त्यो कथा, त्यस्तो बकपत्र जसले एउटा दुनियाँ, भावना र संवेदनाको ब्रम्हाण्ड ममाथि नै खोज्न सकोस् ।
डायरीका पानाहरु बोल्छन्् । कलमका निभहरु कति रगेडिएका थिए, आँसु र हाँसोको कुन चरणमा उत्रिएका थिए भन्ने विषयमा । यो संवेदनाको बकपत्र हो जहाँ अनेकौं संकेतपूर्ण आधारहरुबाट एउटा भावना पिल्सिएको छ । एउटा गहन सुरुआतको उतारचढाव कति गहिरो हुनसक्छ, कति भयानक हुनसक्छ, कति पिडादायी हुनसक्छ ? म अनुभव गर्न चहान्छु । जीन्दगीको यात्रा कुनै अल्पविराममा रोकिएर फेरि सुरु हुन कति कठिन छ ? त्यसलाई झेल्न कति परिपक्वताको खाँचो छ, म फेहरिस्त तयार पार्न चहान्छु ।
एउटा खुला किताब हो जिन्दगी । जीन्दगी जतिसुकै ढाक्छु, भाग्छु र लुकाउँछु भनेपनि लुक्न सक्दैन । जीवनलाई यसरी नै विताइदिन्छु भन्ने अहमतामा पनि बाँच्न सकिँदैन । जीवनलाई हरित बनाउँछु भन्ने सपना पाल्न सकिन्छ, हरियो भएको देख्न सकिँदैन । यसकारण मेरो यो बकपत्र जीवनसँग लुकामारी खेल्छ, शव्दहरुले केही संकेत गर्छन्, अक्षरहरुले केही भनिरहन्छन् ।
घटना पात्रको प्रधानतामा हुने या पात्र घटनाको ? यहाँ ‘म’ पात्रबाट उठाउने प्रयत्न गर्दछु । किनभने ‘म’ यो पृथ्वीकै अहम्, शक्तिशाली, घमण्डी, अनुभवी सवैप्रकारको शक्तिवाचक हो । ‘म’ कहिले पनि हार्दैन । ‘म’ सवै कुरा सहि देख्छ । ‘म’ सवैप्रकारको सत्य आफुमा राख्छ । म नै हो त्यो जसले दुनियाँको सत्य आफुमात्र ठान्छ । त्यो मपात्रबाट सुरु हुन्छ, मेरो बकपत्र ।
म भौतिक सुखको सपनामा रमाउने मान्छे होइन, संवेदनाको मिठो प्रहर मेरो हरक्षण, हरपल, हर उमेरमा झाँगिएको सुन्न, पढ्न र चर्चायोग्य भएको देख्न रुचाउँने मान्छे । जसरी किताबका पाताहरुको महत्वमा रुझेको हुन्छ, पाठक । म पाठकहरुको ध्यान एउटा सुनौलो र अपत्यारिलो जीवनको कथासँग रुमल्लिएको देख्न रुचाउने मान्छे ।
म चाख्न चहान्छु यो संसारका अनेक प्रकारका कर्मका स्वादहरु । असनका गल्लीमा जीवन खोज्ने भरियाका संवेदना, उँचो महलमा बस्ने धनाड्यको भावना, दिनदुखीको सेवा गर्ने हातको कर्म । सवैका आ–आफ्ना पीडालाई आफ्नो बनाएर हेर्न चहान्छु । त्यसकारण मेरो कलम सँधैभरी उही जीवनसँग अन्तरंगमा उफ्रिरहेको छ, मात्तिरहेको छ, हाँसीरहेको छ । बस्, तिम्रो संवेदना छुँदाछुँदै कतै रोक्किएको छ, ठोक्किएको छ, चिप्लिएको छ ।
मलाई थाहा छ, तीन सय ६५ दिन एउटा किताब होइन, त्यसको पाँच गुणाको समय पनि एउटा किताब होइन । तर, म चहान्छु हरेक क्षण, प्रहर र पल एउटा सिंगो खण्डकाव्य बन्नुपर्छ, मेरो सपना यस्तो धाराबाट वगीरहन्छ । मेरो शव्द जसरी वगेको छ त्यो गोलीको रफ्तारमा छ । फर्किन सक्तैन, मेरो कलम जसरी जीवन छादिरहेको छ, डायरीमाथि निरन्तर यो क्रम रहीरहने छ । बस्, त्यसबाट तिमी छुट्यौ, कहिँ, कतै अव फेरि पनि तिम्रो प्रश्नको उत्तर दिन मेरा पानाहरु सक्षम हुने छैनन्, माफ गरिदिनु । मेरा डायरीका उत्तरार्धहरु तिमी विना केही खल्ला, केही नमिठा, केही तिता, रोदन, आँसु र वियोगका सवै पक्षपातीहरु लिएर उभिएको छ, त्यसमा अन्त्य हुनेछ ।

क्रमश...  

No comments:

Post a Comment