साइबर लभ–२१
टन्टलापुर घाम । प्रचण्डमय काठमान्डू, प्रचण्डमय गर्मी । घरिघरि मान्छे हुत्याउने हुरी । धुलोको सहर । गाडीका आवाजले गुञ्जयमान सडक, अभ्यस्त पेटी । हतारका पाइलाहरु । कोही अवसर दिनका लागि, कोही अवसर लिनका लागि, कोही अवसर पाइन्छ भनी खोज्नका लागि । इत्रिरहेका किशोरकिशोरीहरु, हातमा किताब, काखीमा गर्लफ्रेण्ड । कानमा एयरफोन, हातमा आधुनिक एनद्रोइड, एप्पल, व्ल्याकबेरी यस्तै–यस्तै । सडकको निरन्तर यात्रामा मेरो ध्यान खिचिएका बेला देखिएका दृश्य । सहर, निक्कै उन्माद र परिस्कृत भइसकेको छ, व्यवाहारमा शेलीको विश्वजस्तै ।
शेलीको कृत्रिम सुन्दर विश्व छ । जहाँ उनका हरेक सपनाहरु विपनाजस्तै लाग्दा हुन् । तर, उनको विश्व संवेदनाहिनहरुको महासभाजस्तै हुँदो रहेछ । त्यहाँ प्रेमको अवमुल्यन एउटा परिस्कृत विश्वका नाममा सहज र सरल हुन थालेछ । ‘प्रेम र जीवनका बारेमा तपाइभन्दा मलाई राम्रोसँग थाहा छ, धागो चुँडिएको जस्तो सजिलो होइन, जीवन चुँडिने कुरा अनि धागो गाँठो पारेजस्तो होइन, सम्बन्ध जोडिने कुरा ।’, शेलीको इमले आएको छ,‘सवैको प्रेम मोलीको जस्तो हुँदैन, हाम्रो जीवन पनि मोलीको जस्तो छैन । हामी यहाँ कामदारका रुपमा बसीरहेका छौं, अनि उसको प्रेमको स्याहार हाम्रो आम्दानीको स्रोतका रुपमा छ ।’
तर्क र यथार्थहरुको दुरी निक्कै हुन्छ । मेरो समाज यो होइन, तपाइको समाज पनि होइन । हाम्रो सामाजिक पृष्ठभुमी एक हो तर म अहिले यो समाजसँग लडिरहेकी छु, मात्र मेरो जीवन निर्वाहको सवालमा, मेरो भविष्यको खोजीमा । यति हुँदा म प्रेमहिन मान्छे पनि होइन – उसको इमेलमा लेखिएको छ, म अचेल व्यस्त छु, मेरो नीजि जीवनमा । सवैकुरा म भन्न चहान्न, मसँग नजिक रहने अधिकार होला तपाइसँग तर मैले जीवनलाई प्राथमिकतामा राख्नुपर्छ ।
लामो समयपछि आएको शेलीको इमेलका उत्तरहरु मसँग खासै छैनन् । उनका विचारसँग तर्कभन्दा पनि व्यवाहारसँग नजिक हुन चहाने मेरो मनोकांक्षामात्र होइन, वितेका दिनमा उनीसँग जोडिएका संवेदनाहरुसँगको समिक्षा थियो मेरो इमेल । ‘मैले उत्तरका लागि प्रश्न, प्रश्नका लागि उत्तर लेखेको होइन, मैले जीवनका लागि प्रेम र प्रेमका लागि जीवनको सम्बन्धको कुरा गरेको हुँ ।’ बस, यत्ति इमेल लेखेको छु, आज शेलीलाई ।
०००
मान्छेहरु अपराधको चरम सीमासम्म पुगेका छन् । उनीहरुमा आत्मस्वार्थभन्दा के नै भेट्न सकिन्छ । आफ्नो खुसीका लागि दुनियाँको दुख कुल्चिन उनीहरु तल्लिन हुन्छन् । मान्छे– प्राण भएको विवेकशिल प्राणी भनिन्छ तर यो युगमा प्राण भएका विवेकहिनहरुको समाज व्यापक हुन थालेको छ । ‘आफ्नै श्रीमतिको अश्लिल तस्बिर फेसबुकमा पोष्ट गर्ने पक्राउ’ मोटा अक्षरहरुमा अनलाइनहरुमा समाचार आएको छ । श्रीमति फगत सम्बन्धको सम्बोधन होइन । यो सम्बन्धको खास सम्बोधित अर्थ हो । उनैमाथि यो विवेकहिन कर्म कसले गरेछ ? जान्ने इच्छा जाग्यो । आफ्नै श्रीमतीको नाममा नक्कली फेसबुक खोलेर नग्न तस्बिर राखेको अभियोगमा काठमाडौंका राजु महर्जनलाई प्रहरीले हिरासतमा राखेको खबर समाचारकक्षमा सहकर्मीले सुनाए । राजुको आवेग उसको भौतिक जीवनको बन्दी बनेको थियो । राजुले गल्ती गरेका थिए । ‘उनले श्रीमतीको नाममा फेसबुक एकान्ट खोलेर अर्कै युवतीको नग्न तस्बिरमा श्रीमतीको टाउको जोडेर पोस्ट गरेको पाएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।’, सहकर्मीले मेरो घटनामाथिको उत्सुकता पुरा गरिरहेका छन् । राजुको श्रीमतीसँगको सम्बन्ध राम्रो थिएन । सम्बन्ध बिग्रेपछि अदालतमा उनीहरुको ७ महिनादेखि सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ ।
समाज संवेदनाहिन बनिरहेको छ । मान्छेहरु आफ्नो सम्बन्धको धज्जी उडाइरहेका छन् । आफ्नो प्रेमको, आफ्नो आत्माको, आफ्नो भविष्य र वर्तमानको खिल्लि उडाइरहेका छन् । कठोर भएको छ, सहर । म हरेक समय भावनात्मक सम्बन्धको बारेमा दुनियाँसामु केही देखाउने प्रयत्नमा छु, दुनियाँ भौतिक सम्बन्धसँगै भावनात्मक सम्बन्धको धज्जी उडाइरहेको खबर मेरो कार्यकक्षमा दिनहुँ आउन थालेको छ । प्रेमजोडीको त्यागको समाचारले समाजसँग प्रश्न गर्न मन लागेको थियो, यो घटनाले मलाई सहरसँग प्रश्न सोध्न मन लागिरहेको छ । यो चिल्ला गाडीमा हिँड्नेहरुको बस्ती किन कृत्रिम भइरहेको छ ? किन ठोसमात्र भइरहेको छ, यहाँ आँशुको तरलताको मुल्य किन छैन ? म प्रश्नहरुबीच अल्झिरहेको छु । गोलललललललललललललललल..........मेरो बस्तीमा मध्यरात आवाज आयो । सन्नाटा भरिएको बस्ती एकाएक दिउँसोको सहरजस्तो भयो । हावा विस्तारै चल्न थालेको छ, मान्छेका हुलहरु निस्कन थालेका छन्, खेल छाडेर । म निरन्तर प्रश्नहरुसँग रुमल्लिरहेको छु ।
०००
जव खल्तीमा दाम सकिन्छ अनि विशाल भावनात्मक पहाडहरुको पर्खाल आउँछ । चिल्ला गाडीमा हिँड्नेहरुको जीवनशैली लोभलाग्दो देखिन्छ । घरिघरि घिनलाग्दो पनि देखिन्छ । मस्तिष्क यति धेरै चल्न थाल्दछ, कल्पनाको पहराहरुमा हरिया, राता, रंगिविरंगी भौतिक सुखहरु दौडिरहेका हुन्छन् । तर, पाइला उही फुटपाथमा हुन्छ । उही सडकमा हुन्छ, उही पेटीमा हुन्छ, पुतलीपेटीमा ।
अरबौं अनुहारहरुले ढाकेको विश्वमा मन कसैको मिल्दैन । फरक विचार, फरक मन । अनि, फरक व्यवाहार हुने रहेछ । गरिबीको ताज पहिरिएकाहरु जीवनको भोगाइसँग दिक्क छन् । धनी भनिनेहरु कृत्रिम र खरिद गरेको सुखसँग अभ्यस्त छन्, मन दुखी छ उनीहरुको । झलझली शेलीका आकृतिहरुसँग मेरो नयनका साक्षात्कार भइरहेका छन् । ती आकृतिहरुसँग मनमा अनेक शाव्दि तरंगहरु पनि छन् । कति कृत्रिम छन् ति हाँसोले भरिएका तस्बिरहरु..निक्कै कृत्रिम । सायद स्वार्थ र मुनाफाले भरिएको सोचहरु नै अहिलेका मान्छेहरुको पर्यावाची हो । ती कृत्रिम हृदय भएकाहरुलाई यो सहर उपहार दिने थिएँ, म यो सहरको युवाराज भएको भए । मुफ्तमा यो सहर दिने थिएँ । त्यसको वदला म उनीहरुको चेहरामा टाँसिएको कृत्रिम हाँसो होइन, प्राकृतिक हाँर्सोलाई हेर्न रुचाउने थिएँ । तर, यी मात्र सोचहरुमा सीमित छन् । मेरो यथार्थ अहिलेपनि सडकयात्री हो । पैदलयात्री हो । पेटीमा दिवास्वप्नमा हराउने बेरोजगारहरुको भिँडमा एउटा आत्मकथा हो । ‘दाई पाँच रुपियाँ दिनु न भोक लागेको छ ।’ पछाडीबाट कोही बालिका मागीरहेकी छिन् । खल्तीको दोष, खल्तीको पीडा मलाई थाहा छ । म गाडीहरु नियाँलेर मान्छेहरुको विवेचना त्यसै गरिरहेको थिइन । बस, म ती बालिकाको जस्तो माग गर्ने अवस्थामा पुगेको छैन । खल्ती टकटकाएँ । १० रुपियाँको नोट निस्कियो । बालिकालाई दिएँ । उनी आफ्नो काममा लागिन् । नोटसँगै निस्कियो एउटा कागजको टुक्रा । ओल्टाएँ, पल्टाएँ अनि फुकाएँ । कुनैबेला डायरीमा कोरेका अक्षरहरुको लहर थियो ।
त्यहाँ कुनैबेला कोरेको रहेछु ..कहिलेकाँही कस्तो लाग्छ भने मृत्युपछिको संसार पनि चिहाएर फर्किऊँ । त्यसैले म त्यो स्वर्गको वयान गदिर्न, जुन म देख्न सक्तिन । म त्यो नर्कको पीडाको अड्कलबाजी गदिर्न, किनभने नमरी न स्वर्ग देखिन्छ न नर्क नै ।
जो समयचक्रभित्रको मजाक गर्ने एकमात्र पात्र बनाएर मान्छेका संवेदनाहरुलाई क्यारामबोर्डका गोटी ठान्छन्, तिनीहरु समयका दुश्मन हुन्, तिनीहरु मानवप्रजातिमा हुकिरहेका असभ्यताका परिचय हुन् । अरुका संवेदनासँगका रागमा हाँस्नेहरुले आफ्नो पीडामा सहानुभुतिका दुईचार स्वरपनि प्राप्त गर्न कठिन हुन्छ, त्यसबेला चाल पाउँछन् उनीहरुले, जतिबेला समयको त्यहि चक्र बारम्बार उनीहरुको संवेदनामाथि प्रहार गर्दै घुमिरहन्छ ।
सडककिनारबाटै एउटा बाइक हुरिएर आयो, बतासिएर आयो । कठोर बतासँ पनि ल्यायो । कागजको टुक्रा हातबाट उड्यो, भिँड सडकमा कही गाडीहरु माझमा गुम भयो । म टिप्न गइन । उसले मेरो विगतको लेखनलाई स्मरण गरायो र विलिन भयो, बेलामौका जीवनमा आउने फरक सोचहरुको तरंगजस्तै ।