Tuesday, June 30, 2015

वेनाम मुहार, नगन्य माया

उनको त्यो भावले मलाई मिठो घाउ दियो । म त्यो दृश्यमा उनको सुन्दरतामाथि घाइते भइसकेको थिएँ । सुन्दरता आँखाले निलेर मनले स्वाद लिने अचुक आनन्द हो । म त्यहि आनन्दको रत्नमा कतै हराइरहेको थिएँ । घरि घरि लाग्थ्यो उनको सुन्दरतालाई त्यहिँ छेऊमै गएर स्पर्श गरौं । तर, अपरिचित सुन्दरतासँग मनको एकतर्फी स्पर्श सम्भव छ, शरिरको छैन भन्ने पनि मलाई ज्ञान थियो ।



विनोद ढकाल 
काठमाडौंका सडकमा लाखौं अनुहारहरुको हतास यात्रा हुन्छ । लाखौं मानिसहरुको व्यस्तता पनि त्यस्तै । आफ्नो अनिवार्य बाटोको गतिमा दौडिरहेको भिँडमा बेनाम अनुहार अनेक भेटिन्छन् । तर,
एउटा मुहार जो अपरिचित छ, उसको बारेमा कल्पित हुने अनुहारहरु कति छन्, थाहा छैन । तर, यो भिँडमा बेनाम मुहारमा क्षणभरको नगन्य माया पलाएर आउनसक्छ । विश्वास गर्नुको विकल्प नै नहुने रहेछ, जब आफूले भोगिन्छ । र त भनिन्छ, परेर जानिन्छ । परेको चिज, जति तितो हुन्छ, मिठो पनि हुने रहेछ । एउटा तन्नेरी आँखा तरुनीको अनुहारमा टोलाइरहनु आखिर सामान्य विषय पनि त हो । यस्तै एउटा नगन्य माया पलायो, एउटा छोटो र मिठो यात्रामा । यो यात्रा यति मिठो लाग्यो कि, स्वादको कसरी वर्णन गर्ने ? अक्षरहरुलाई कसरी खर्च गर्ने भन्ने कुनै बाटो पाइरहेको छैन । यद्यपि, खिटिरपिटर उतार्ने कोशिश गरिरहेको छु ।