Tuesday, June 30, 2015

वेनाम मुहार, नगन्य माया

उनको त्यो भावले मलाई मिठो घाउ दियो । म त्यो दृश्यमा उनको सुन्दरतामाथि घाइते भइसकेको थिएँ । सुन्दरता आँखाले निलेर मनले स्वाद लिने अचुक आनन्द हो । म त्यहि आनन्दको रत्नमा कतै हराइरहेको थिएँ । घरि घरि लाग्थ्यो उनको सुन्दरतालाई त्यहिँ छेऊमै गएर स्पर्श गरौं । तर, अपरिचित सुन्दरतासँग मनको एकतर्फी स्पर्श सम्भव छ, शरिरको छैन भन्ने पनि मलाई ज्ञान थियो ।



विनोद ढकाल 
काठमाडौंका सडकमा लाखौं अनुहारहरुको हतास यात्रा हुन्छ । लाखौं मानिसहरुको व्यस्तता पनि त्यस्तै । आफ्नो अनिवार्य बाटोको गतिमा दौडिरहेको भिँडमा बेनाम अनुहार अनेक भेटिन्छन् । तर,
एउटा मुहार जो अपरिचित छ, उसको बारेमा कल्पित हुने अनुहारहरु कति छन्, थाहा छैन । तर, यो भिँडमा बेनाम मुहारमा क्षणभरको नगन्य माया पलाएर आउनसक्छ । विश्वास गर्नुको विकल्प नै नहुने रहेछ, जब आफूले भोगिन्छ । र त भनिन्छ, परेर जानिन्छ । परेको चिज, जति तितो हुन्छ, मिठो पनि हुने रहेछ । एउटा तन्नेरी आँखा तरुनीको अनुहारमा टोलाइरहनु आखिर सामान्य विषय पनि त हो । यस्तै एउटा नगन्य माया पलायो, एउटा छोटो र मिठो यात्रामा । यो यात्रा यति मिठो लाग्यो कि, स्वादको कसरी वर्णन गर्ने ? अक्षरहरुलाई कसरी खर्च गर्ने भन्ने कुनै बाटो पाइरहेको छैन । यद्यपि, खिटिरपिटर उतार्ने कोशिश गरिरहेको छु ।


सामान्यतया सार्वजनिक यात्रामा हिँड्दा कहिलेपनि कुभावमा नअल्झिएको आँखामा एकाएक विलय हुने निश्चित प्रेमले तान्नु अस्वभाविक ठहर भयो, मलाई । अन्तिम सिटमा बारम्बार जिस्काइरहेको त्यो हावाले उनको केश राशी अनुहारमा पु¥याएर फेरि हुत्याउँदा पनि डाह लाग्ने । म एक टकले उनको अनुहारमा विलिन छु, हावा केशलाई बारम्बार अवरोधको साधक बनाएर पु¥याउँछ । सायद, मेरो नजरका लागि त्यो भाग्य हुनुपर्छ, उनी निरन्तर अनुहारबाट केश हटाइरहेकी थिइन् । म उनको अनुहारमा मेरा आँखाहरु कालो चश्माभित्रैबाट लुकामारी खेलिरहेका छन्, उनी अन्जान छिन् ।

सँधै झैं लगनखेलबाट सुरु हुने मेरो यात्रा आज गन्तव्यको प्रवाहविनाको निरन्तरतामा दौडिरहेको छ । आज म अफिस पुग्न अलिकति ‘लेट’ भइसकेको छु तर मलाई रत्तीभर त्यसको अनुभूत हुन सकेको छैन । सुन्दरताका अगाडी हरेक विलम्बहरु विलम्बै हुन तयार हुने रहेछन् । खचाखच मान्छेमाथि मान्छेले भरिएको त्यो माइक्रोबसको पछाडीको सिटमा देखिएको त्यो निर्दोष अनुहार । निधारमा सानो र कालो विन्दुको टिको, गहुँगोरो वर्ण, तेजिला आँखा, अनि आफ्नै सोचमा उत्रिएको भावमा थिइन् उनी । उनको त्यो भावले मलाई मिठो घाउ दियो । म त्यो दृश्यमा उनको सुन्दरतामाथि घाइते भइसकेको थिएँ । सुन्दरता आँखाले निलेर मनले स्वाद लिने अचुक आनन्द हो । म त्यहि आनन्दको रत्नमा कतै हराइरहेको थिएँ । घरि घरि लाग्थ्यो उनको सुन्दरतालाई त्यहिँ छेऊमै गएर स्पर्श गरौं । तर, अपरिचित सुन्दरतासँग मनको एकतर्फी स्पर्श सम्भव छ, शरिरको छैन भन्ने पनि मलाई ज्ञान थियो । त्यो यस्तो क्षणिक प्रेम थियो । जम्माजम्मी ४५ मिनेटको । निरन्तर हिँडिरहने त्यो सडकमा ४५ मिनेट मेरा लागि पहाड हुन्थ्यो । तर, त्यसदिनको ४५ मिनेट मेरा लागि अति हतारको यात्रा भयो । लगनखेलको प्रेम बसपार्कमा अन्त्य हुँदा मनमा फरक किसिमको खिन्नता पैदा भयो । तर, थाहा थियो मलाई यो प्रेम मेरो आत्मरती मात्र हुनेछ तैपनि म टोलाइरहें, उनको अनुहारमा, उनको मौन जवाफमा, मौन मुस्कानमा, मौन सुन्दरतामा । घरि घरि लाग्थ्यो –आजको पुस्ता जसरी छेऊमा जाऔं, केही सोधौं अनि सम्पर्कसूत्रका सवै आयामहरुको सामान्य बाटो खुलाऔं । तर, फेरि यति गर्नुचाहीँ नहुने हो की ? भन्ने पनि महसुस गराउँथ्यो, मनले । त्यसैले म उनको शालिनताको कायल भएर हराइरहें, दृश्यमा, परिदृश्यमा ।

जीन्दगी खुला किताब हो । किताबका हर पानाहरु स्पष्ट छन् । त्यहि पानाका अक्षरहरुको तालमेलमा उत्रिएकी उनी, अनि उनमै अडिएको म, क्षणिकमा । कसले कुन पाना कसरी पढीरहेको होला ? मेरो यो अध्यायमा उनको सुन्दरतासँग सामिप्य हुन कसले रोकेको थियो र ? तर, कहिलेकाँही हर पानाको माथि उभिएर परिघटनाको समिक्षा गरिरहँदा लाग्छ– त्यहाँ कुनै कानुनहरु थिएनन्, न कुनै विधानले रोकेको थियो । ऐनहरुको प्रवाह थिएन । बस थियो केही भने मनको लालसा । मनले देखाएको तरङ्ग र मनकै दिशानिर्देश । तर, यो सामाजिक र कानुनी घेराबन्दिले मनको दिशानिर्देश अक्षरमा व्यक्त हुनसक्छ, व्यवाहारमा त यो काल्पनि जस्तोमात्र हुने रहेछ भन्ने प्रमाणित गरेकै छ नी ।

धेरै साधुवादी भन्दा पनि यथार्थवादी चिन्तनमा घोत्लिनु ठिक हुने थियो । म निरन्तर त्यो केही क्षणको भिडामभिड यात्रामा उनको नजरमा हराइरहेको थिएँ । अलिकति पनि आँखा नझिम्काई, एक टकले उनको मन्द मुस्कानसरीको चेहरामा निरन्तर डुलिरहेको थिएँ । एउटा फरक परिकल्पनाभित्र मनले घरि घरि व्यंग्य गरिरहेको थियो– तेरो इच्छा त्यहिँ छेऊमा गएर बस्ने हो, किन यहाँ बसीस । अनि, फेरि मनकै प्रत्युत्तर थियो– यस्तो भिँडमा यहि सीटमा बस्न पाउनु भाग्य हो, त्यहाँ कसरी पुग्छस् ? यो यथार्थ कथालाई इमान्दारीतापूर्वक यहाँ प्रस्तुत गर्ने कोशिश गर्दा कहिँ कतै मेरा विचारका अवशेषहरु चुकेका हुन सक्छन्, त्यसमा क्षमाप्रार्थी छु । आखिर मनको दायरालाई कुनै लक्ष्मणरेखाले रोक्न सक्दो रहेनछ । मसँग जम्माजम्मी जीवनको अनुभवभन्दा केही पनि थिएन । म लिन भइरहेको थिएँ, पहिला कतै भएजस्तो उनमा अनायाशै । तर, त्यो लिनताको खास अर्थचाहीँ मैले पनि भेटिरहेको थिइन । म हराइसकेको थिएँ, वेनाम मुहारमा नगन्य माया बोकेर । यथार्थले घचघच्यायो, अव म उनको त्यो मुहार छाडेर फेरि यहि लाखौको भिँडमा गन्तव्यतिर जानैपर्ने समयले तानिसक्यो । म उत्रिए, फेरि लागे मेरो निरन्तरको जीवनतिर...उतैतिर...यथार्थ यात्रातिर...।

No comments:

Post a Comment