विनोद ढकाल |
‘पत्रकारिताले
तिमिलाई मार्नेछ तर तिमि जिउँदो पनि हुनेछौ जब यसभित्र मात्रै रहन्छौं ।’
लगभग दुई दशकको नजिकसम्म पुग्दा पत्रकारिता पेशाकै
क्रममा परिचय बनाएका कतिपयले अनौपचारिक कुराकानी गर्दा सोध्छन्– के छ हालखबर ?
‘बाँचिएकै छ ।’
स्कुलमा बुझ्न सक्ने कक्षातिर हुँदा मास्टरले सोध्ने
गर्दथे– बाँच्नका लागि खाने कि, खानका लागि बाँच्ने ?
‘यो त कुखुरा
पहिला भयो कि अन्डा पहिला आयो भने जस्तो प्रश्न भयो ।’
मास्टर भन्थे,‘तिमीसँग प्रतिप्रश्न गर्न सक्ने र त्यसैमा उत्तर खोज्ने सीप छ, अक्षर पनि राम्रो छ । पक्का नेता बन्छौ ।’
राजनीतिसँग दूर दूरको कुनै सम्बन्ध थिएन । नजोडौं
भन्दा भन्दै पेशागत काममा सक्रिय रहँदा तत्कालिन प्रेस चौतरी सुनसरीको सदस्यता
दिइयो । राजनीति त्यसबेला बुझियो यो इमान भएको मानिसको चिज होइन । एक बर्ष पनि नभई
राजीनामा गरी विशुद्ध पेशागत काममा सक्रिय भइयो । जारी छ ।
उमेर धेरै थिएन, पेशागत म्याराथनमा आफ्ना सहकर्मीलाई अलिक पछाडि नै छाडेर अगाडि बढ्ने क्रममा
राजधानी काठमाडौं छिर्ने कौतुहलता जाग्यो । छिरियो, पेशामा हिँडियो, संगत बढ्यो ।
परिचयको दायरा अझ बलियो भयो । मोफसलबाट राजधानी छिरेको
मान्छेले नाम चलेका कलाकार देख्दा, नेता भेट्दा दंगदास पनि भइयो होला । कर्म गर्न छाडिएन ।
पोखरीमा सलबलाइरहेको माछो जबसम्म समुद्रमा हाम फाल्दैन, उसलाई त्यो पानीको स्वाद, त्यहाँभित्र रहेका ठूला साना माछाको हैसियत र
शक्ति थाहा हुँदैन भन्ने सुनेकै हो । नयाँ कुरै भएन । तैपनि संघर्षको मैदान जति
ठूलो भयो, प्रतिस्पर्धी जति धेरै भयो सीपमा निखार त्यति
नै बलियो गरी आउँछ भन्ने सुनेकै हो ।
मोफसलमा सीप विकास गरेका साथीहरूलाई एउटा सुझावसहितको
अनुभव सुनाउँछु । राजधानी ‘सीप’ले हैन ‘चिप’ले चलेको छ । चाकरीले चलेको छ । गुलामीले दौडिएको छ । जहाँ जागिर छ मालिकको
चाकरी गरे हुन्छ, सीप माध्यमिक विषय हो ।
अब खास विषयमा प्रवेश गर्छु । काठमाडौंमा देखिएको, भेटिएको र यसले जिल्ला–जिल्लामा विस्तार गरेको पत्रकारिताको
राजनीतिकरण, दलालीकरण र गैरव्यावसायीकरणको भित्रि कथा ।
आम नागरिकलाई स्पष्ट उत्तर छ– यहाँ स्वतन्त्र पत्रकारिताको बहस तिव्र छ ।
हरेकका ओठका अनिवार्य शव्द हुन् । स्वतन्त्र भएर कोही बाँच्नेवाला छैनन् ।
स्वतन्त्र हुनु भनेको, राजधानीमा राम्रो खर्चबर्च गर्न नसक्नु, जग्गा घर किन्न नसक्नु, सुखसयलमा बस्न नसक्नु हो । पेशाले के दिन्छ र ? धेरै भन्दा धेरै दिए न्युनतम तलब, १९ हजार ५ सय ।
अचेल भाऊ बढेको छ । ५० हजारसम्म पुगेको छ भन्ने सुनेको
छु । तर यसले पनि काठमाडौंमा हाइप्रोफाइल जीवन बाँच्न कठिन छ । त्यसैले यहाँ, ‘नेकपा पत्रकार, नेका पत्रकार, समाजवादी पत्रकार, मधेसी पत्रकार हुनैपर्छ ।’ यतिमात्र होइन, चौधरी, खेतान, दुगडलगायत पत्रकार हुनपर्छ । भारती, अधिकारी या ठूला कन्स्ट्रक्शन पत्रकार हुनैपर्छ ।
नेकपाभित्र ओली, नेपाल, प्रचण्ड, पुन, शर्मा पत्रकार बन्नपर्छ । कांग्रेसभित्र देउवा, खाँण, निधि, कोइराला, सिटौला, सिंह, थापा पत्रकार बन्नपर्छ । यस्तै यस्तै । र, ओठमा हुनुपर्छ– स्वतन्त्र पत्रकारिता । माइतिघरतिर नाराजुलुसमा जानैपर्छ । यो हो, योग्यता ।
धेरैले व्याख्या गर्ने अनेक शव्द निकाल्न सक्छन् । यहि
धरातलको सत्य हो । अपवादबाहेकका कुनै व्यक्ति भेट्ने रहर मलाई पनि छ ।
मेरो सिधा तर्क हो– नेपालको पत्रकारिता : बाघ छालाको बर्को, गधाको मौका लिने पेशा बनिरहेको छ ।
कुनै पनि मानिस उसँग डराउनपर्छ, उसलाई फकाउन पर्छ । किनभने, उ पत्रकार हो । उसले लेख्छ, ठोक्छ, बेइज्जत गराउँछ । उसँग नियतमात्र होइन, नियति बनाइदिने ताकत छ ।
२ कक्षामा एउटा धोवीको गधा चर्न नपाउँदा बाघको छाला
ओढेर धानबाली छिर्दा गाउँले डराएका थिए भन्ने कथा पढिएको थियो । अहिले यस पेशालाई ‘धन्दा’ बनाउन थालिएको
देख्दा मन कुँढिन्छ ।
खासमा पत्रकारिता पेशा अँगाल्नेको ध्येय भनेको टम
स्टोपार्डको ‘विश्वलाई
परिवर्तन गर्नु छ भने पत्रकारिता छोटो समयको राम्रो हतियार हो, विश्वास गर्नुपर्छ’ भनाईसँग
मिल्नुपर्ने थियो । यो भनाईले राजनीतिदेखि अनेक क्षेत्रमा भएको बेथितिलाई थितिमा बदल्नका
निम्ति पत्रकारिता हुनुपर्ने थियो ।
माथि उल्लेख गरेका विषयले यो भनाईको समानान्तर नेपाली
पत्रकार र पत्रकारिता हिँड्न सक्ला ?
हो, यहि बेथितिलाई बुझेको राज्यले अब हातखुट्टा बाँध्दैछ । आजित भएका राजनीतिज्ञ
र व्यक्ति, पेशालाई धन्दा बनाएको बुझेका मानिस सत्तामा
रहेका कारणले कानुनको सीमाभित्र बाँध्ने कोशीश भइरहेको छ । उसले पनि बारम्बार भन्छ
नि– म पत्रकारिता क्षेत्रबाटै आएको हुँ । हो, उसको बुझाईको पत्रकारिताको कसीमा टेकेर कानुनको
डन्डा चलाउने कोशीश भइरहेको छ ।
नेपालमा चलिरहेको अहिलेको बहस मिडिया काउन्सिल विधयेक, सूचना प्रविधि विधयेकमा छ । यो सरासर नेपालको
पत्रकारिता पेशासँग जोडिन्छ, ठोक्किन्छ राज्यको नियतको कारण । भएका एकाध ‘भूल’ अब गल्ती हुनेछन् । त्यसको भागिदार नियोजित रुपमा
कानुनको नियतबसको प्रयोगले हुने कारबाहीको नियती पत्रकारले भोग्नुपर्ने हुन सक्छ ।
यसका धारा–धारा र बुँदा बुँदामा बहस गरी नियतलाई निकालेर
कानुन बनाउन दबाब दिनु नै छ ।
यो जिम्मेवारी पत्रकारको मात्र होइन, पत्रकारितालाई माध्यम बनाई त्यसका साधक मानिने
जनताले पनि गर्न आवश्यक छ । सचेत जनता यी कानुनमा राखिएका नियतविरुद्ध ओर्लनेछन्
वा छैनन् त्यो हेर्न बाँकी छ । यसो गर्दैगर्दा बेथितिमा रहेका पत्रकारलाई पनि
सामाजिक दण्ड आम मानिसबाट हुनैपर्छ, बेनकाव गरेर । आम नागरिकले भन्नुपर्छ– बाघ भनी तर्साउने लुकेर अन्न सक्ने गधा हो, त्यस्ताको हकमा ।
पत्रकारिताको परिभाषाको पनि एउटा सीमारेखा कोर्न
आवश्यक छ । मानिसका व्यक्तिगत विचार हुन सक्छन् । पेशागत मर्यादाको सीमाभन्दा पर
पुगेर कुनै पनि काम गर्नु उचित हुँदैन । यदि कर्मचारीले पेशागत मर्यादा मिच्दा
अख्तियार दुरुपयोग गरेको सजायको भागीदार बन्नुपर्छ भने पत्रकारले बिचौलियाको काम
गर्दा किन कारबाहीको भागीदार बन्नु नपर्ने ? पत्रकारिताको बर्कोमा नियतबस ठूला ठूला परियोजनामा शेयर मागिन्छ भने त्यो
अपहरणकारीले मागेको फिरौति नै हो । त्यस्ता चिजमा कारबाही किन नहुने ? पत्रकारिता चलाएको साहुका हैसियतमा राज्यसँग
नीतिगत तहमा कुनै बार्गेनिङ हुन्छ भने त्यसले कारबाही किन नभोग्ने ?
नियतका आधारमा कसलाई कहाँ खुइल्याउने, खुइल्याउन प्रयोग गर्ने अथवा होस्टाइल हुने
पात्र बनिएन भने पनि पत्रकार, पत्रकारिता हुन्छ र ? राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनिदियो, लेखिदियो भने आफ्ना अन्नदाता रिसाउलान् कि भन्ने त्रास र डर मनमा पोको
पारिएन भने पनि त्यो पत्रकार हो र ? भन्ने परिभाषा बदल्नु छ । गरिब, निमुखा, किसानको पीडालाई उनका तरेलीबाट लेखिदियो भने अर्डर आउन सक्छ– पत्रकार भावुक बन्नु हुँदैन । तर, विज्ञापनदाता, ठूला भनिने तर राज्यका करोडौं रकममा चलखेल गर्नेको बिहानी, दिउँसो, बेलुका र रात्री क्लवको कथा ‘प्रोफाइल’ हुने पो पत्रकारिता हो त । भन्ने परिभाषा कहिले
बदलिएला ?