..............
हामी देखिरहेका छौं यी ‘अखण्ड’हरुको मागमा बारम्बार खण्डित भइरहेका छन्, लोकतन्त्र प्राप्तिका लागि एक पुलिन्दामा बाँधिएका नेपालीहरु ।
..................
सहरका भित्ताहरु ‘अखण्ड’ थपिएका नाराकाहरुले पोतिएका छन् । अखण्ड सुदुरपश्चिम, अखण्ड चितवन अथवा अखण्ड कोसीपारिका जिल्लाहरु । अखण्ड मधेस अखण्ड तराई अथवा अखण्ड उपत्यका । यस्तै.....यस्तै । यी सवै ‘अखण्ड’हरुको अन्तरनीहित चाहना फेरि पनि खण्डित गर्ने नै हो । पहाडबाट हिमाल, हिमालबाट तराई, तराईबाट पहाड–हिमाल । पुनःसंरचनाको जगबाट राजनीतिक सोधलाई संघियताका नाममा यसरी गाड्न खोज्दा सडकमा भिन्न प्रकारका आन्दोलनहरु देखिन थालेका छन् । संघियताको सोध अब क्षेत्रमा सीमित रहेनन्, यसले उत्पीडनको हाइन जातिको प्रतिनिधित्व गरिरहेको छ, वर्गको होइन वर्णको नाममा हुंकार मच्चाइरहेको छ । अनि, नेपालमा भएका सवै जातिहरुका अगुवा तथा नेताहरुले यसलाई ‘आइडोलोजी’ बनाउने प्रयत्न गरिरहेका छन् ।
अचेल विहानीपख सँधैजसो मोवाइलमा म्यासेज र फोनहरु आउन थालेका छन् । चिनजानका विद्वान ठानिने एकजना समजाति नेताले भन्ने गरेका छन्–‘सवै आफ्नो अस्तित्वमा लागे अव हामी प्रतिरोधका लागि संगठित भएका छौं, तपाइको भुमिका पनि महत्वपूर्ण रहन्छ । त्यसकारण सभामा आउन प¥यो, हाम्रा लागि पनि राज्यको खोजी गर्नप¥यो ।’ ०४६ सालमा आएको प्रजातन्त्रलाई त्यतिराम्रोसँग उपभोग गर्न पाएको छैन मैले । ०६३ को आन्दोलन देखेर सिधै गणतन्त्र ल्याउन सफलहरु मध्येको एउटा नागरिक हुँ । मलाई गणतन्त्रको गतिलो स्वाद लिने उत्कट इच्छा छ । तर, यसले गतिलो स्वाद दिनै नपाई फोनहरु त्यसरी बझ्न थालेका छन् । कतै गणतन्त्र यही त होइन ? भन्ने लाग्छ घरिघरि । तर, वास्तविक लोकतान्त्रिक गणतन्त्रचाँही यो होइन । मैले त प्रत्येक नेपाली सफल र संभ्रान्त भएको सपना बुनिरहेको छु । खैरे आउँदा उसको मुलुक लैजान्छ की भनेर नजिकीने नेपालीहरुको भावना परिवर्तनको कल्पना गरेको छु । कि, खैरे नेपालमा आएर सँधै बसीरहुँ भन्ने सोच्न सकोस । नेपालीले डो¥याएर होइन, खैरेले नेपालमा भरमार पैसो तिरेर आफैं घुम्न सकोस भन्ने कल्पना गरेको थिएँ । तर, यस्ता कल्पनाहरु यी ‘अखण्ड’ मागहरुका लागि चन्द्रमालाई धर्तीमा झार्ने बकमफुस्से आश्वासन सरह भएका छन् अहिले ।
हामी देखिरहेका छौं यी ‘अखण्ड’हरुको मागमा बारम्बार खण्डित भइरहेका छन्, लोकतन्त्र प्राप्तिका लागि एक पुलिन्दामा बाँधिएका नेपालीहरु । जसले गणतन्त्रलाई स्वीकार गरेपछि त्यसको उपभोग अघि नै खण्डित मानसिकताको तराजुमा बस्ने साहस गरिरहेका छन् । जवकी, बालक गणतन्त्रलाई हुर्काउने भन्दा पनि उसैको काँधमा टेकेर आन्तरिक अधिकारका नाराहरु भित्तामा पोतेर आफैंमाथि प्रहार भइरहेको छ–बन्दहड्ताल, सहर बन्द, सडक बन्द अथवा जिल्ला क्षेत्र र समुदाय बन्दका नाममा ।
म अखण्ड लोकतन्त्रकोे खोजीमा छु । नेताहरुले उपभोग गरिरहेको नागरिकको सम्पत्तिमाथिको अधिकार सुखसुविधाको खोजीमा छु । प्रत्येक नागरिक नेपाली नेताजत्तिकै धनी हुनुपर्छ भन्ने अखण्ड चिन्तनको खोजीमा छु । मलाई कसले पुरा गरिदिनसक्छ यस्तो अखण्डता सहितको मेरो मागलाई ? मैले भौगोलिक विविधतालाई अहिलेसम्म नियाँल्न सकेको छैन । मेरो देशको साँधसीमा कति छ भनेर छुट्ट्याउने विषयमा सडकमा नाराजुलुसमा सहभागी भएको छैन । तर, मलाई अहिले आफ्नो राज्यको सीमा छुट्याउने आन्दोलनका नाइकेहरु बारम्बार जुलुसमा सहभागी हुनका लागि आग्रह गर्छन्, दवाव दिन्छन् र बाध्य बनाइरहेका छन् । मैले मेरो परिचय नेपालीमा खोजिरहेको छु । सहरमा सुरु भएका अनसन र ¥यालीहरु जातिमा खोज्नुपर्छ भन्ने बाध्यकारी दवाव दिइरहेका छन् ।
सवैले देखाएको हर्कत मैले देखाउन सक्तिन । विश्वव्यापी मान्यतालाई पछ्याउन चहान्छु । आदर्शवादीहरु अहिले भिन्न जातका हुलमा नेता भएको देखिरहेको छु, जो जम्मा दुईजात महिला र पुरुषमात्र भन्ने गर्दथे । म उनीहरुले ठगीको व्यापार बनाएको राजनीतिजस्तो सोच्नपनि चहान्न । किनभने कलेजका एउटै व्रेन्चहरु, कार्यालयका समान कुर्सीहरु तथा विभिन्न सतहका क्षेत्रहरुमा म भिन्न समुदायका भिन्न व्यक्तिहरुसँग एउटै थालमा खाएर हुर्किरहेको छु । मलाई लाग्छ, यतिवेला मपनि यी हुलहरुको एउटा झुण्डको आन्दोलनमा मिसिएभने मेरो नैतिकता र मेरो नागरिक इमान्दारीता कमजोर देखिनेछ । अहिले उठेका अखण्डताका नाराहरुसँग उम्लिएको जातिवादका नारामा यीनै राजनीतिक दलका नेताहरुको भुमिका सक्रिय छ । चौधरी हुन् वा राई । बाहुन हुन् वा लिम्बु । मगर हुन् वा विश्वकर्मा । यी थरले कसैको जातलाई परिचयात्मक बनाउन सक्तैन । सवैभन्दा ठूलो मानवता र लोकतन्त्रको विश्वव्यापी मान्यता नै हो । अहिले संघियताका नाममा यस्तै जातिवादका ढ्याङ्ग्रो राजनीतिकवृत्तबाट नै बजाउने क्रम बढिरहेको छ । ताकि यसले बनाएको अस्तव्यस्तताले उनीहरुको संविधानसभाको जागिर र भविष्यको राजनीतिक जोगाड रहोस् ।
‘राजनीति फोहोरी खेल हो’ केही पढेका साक्षरहरु अहिले भनिरहेका छन् । यो फोहोरी खेल सफा कहिले हुने हो त्योचाँही थाहा छैन । तर, हामी भिन्न वर्ण, भिन्न जातका नाममा हुर्किरहेपनि हाम्रो आन्दोलित एकता विकास र उत्थानका लागि किन खण्डित भइरहेको छ ? यो खण्डन समाजमा पनि असरदार बन्ने देखिन्छ । त्यसकारण जातिवादतिर लम्किएका हाम्रो आन्दोलनहरु विकासवादतिर लम्क्याएर मुलुकलाई बचाउने हो की ? जहाँ दैनिक १६ घन्टाको लोडसेडिङ अन्त्य, पेट्रोलियमको सहज आपूर्तिका लागि नागरिक दवाव, खाना पकाउने ग्याँसका लागि सामुहिक दवावमा हामी जुट्न सकेका छैनौं, त्यहाँ जातिवादको राज्यका लागि सवै भेलामा पुगिरहेका छौं । देशमा तरल अवस्था यस्तै वेमौसमी आन्दोलनहरु र मागहरुले बढेका हुन् । राजनीतिक दलका नेताहरुलाई के छ र ? जवसम्म नागरिक विभाजित मानसिकतामा उत्रिदैन तवसम्म उनीहरुको चुनावी मैदानमा आफ्नो जीत सुनिश्चित हुँदैन । उनका लागि यो नागरिक विभाजन खुसीको कुरा हुनसक्छ । यद्यपि, यो विभाजित क्रम हाम्रालागिचाँही युगान्तरसम्म पीडादायी हुन्छ । पहिला राष्ट्रको सर्वोच्चता र नागरिक लोकतन्त्रको उपभोगसहितको राष्ट्रसञ्चालनका लागि हाम्रो दवाव हुनुपर्छ । त्यसपछिका अतिरिक्त समयहरुमा हामी आत्मनिर्णयका लागि सवैको मतमिल्ने संघियताका सवालमा छलफल गर्न सक्नेछौं । त्यसकारण एक नागरिक अपिल हो–‘अखण्ड नामको भित्ता पोताइबाट हामी कुन दिशातिर गइरहेका छौं त्यसको मुल्याङ्कन सहित सामुहिक दवावमा पहिला संविधान र त्यसपछि लोकतान्त्रिक सुविधाका लागि एकजुट बनौं ।’ अहिले नै हामी विभाजित भएर अस्तव्यस्त मागको चाङ लगाउन थाल्यौं भने एनजीओ र आइएनजीओकरण भएका राजनीतिक दल र तिनका संचालकहरु सफल हुन्छन्, हामी लोकतन्त्र प्राप्त गरेर पनि असफल हुनेछौं ।
-B'Nod.
No comments:
Post a Comment