विनोद ढकाल
वागलुङ मल्म–२ का राम सापकोटा काठमाडौंमा बस्छन् । उनी काठमाडौंमा बसेको निक्कै समय भयो । र, अहिले उनी एउटा तन्दुरी होटलमा रोटी पकाउने काम गर्छन् । उनी यहि व्यावसाय गरेर नेपालमा बस्ने ध्याउन्नमा छैनन् । उनको लक्ष्य हो जापान पुग्नु । भन्छन्,‘यहाँ सिकेर जापानमा पनि यहि काम गर्ने हो । प्रोसेस गर्ने विचारमा छु । गाउँका धेरैजना यस्तै काम गरेर जापान पुगेका छन् ।’ भर्खरै उच्च माध्यमिक तहको शिक्षा सकेका रामलाई जापान पुगेर अरुजस्तै पैसा कमाउने रहर जागेको छ । नजागोस पनि किन र ? गाउँका सवै सापकोटा दाजुभाई र साथीहरु पनि जापानसँगै लालयीत छन् नि । भन्छन्–‘धेरैजना पुगेर काम गरिरहेका छन् । घरपनि बनाइसकेका छन् । हामीहरु जाने तयारीमा छौं, भोली गाउँका अन्य भाइहरु पनि यसरी नै जानका लागि काम सिकीरहेका छन् ।’
खासगरी जापानमा पढाइका लागिमात्र प्रवेशाज्ञा हुने भएतापनि त्यहाँ खुलेका वग्रेल्ती नेपाली र भारतीय होटलहरुमा नेपालीको माग बढिरहेको छ । ‘लगानी ज्यादा हुन्छ तर आम्दानी पनि राम्रो हुने भएकाले म अहिले धमाधम तन्दुरी बनाउने र होटलका अन्य कामपनि सिकीरहेको छु ।’ सापकोटाले भने–‘वागलुङ्का प्रायः सवै युवाहरु जापानका लागि यसरी काम सिकीरहेका छन् । काठमाडौंमा भएका तन्दुरी होटलहरुमा मात्र मेरो सर्कलका साथीहरु झण्डै दुई दर्जनभन्दा धेरै छन् ।’ मल्म–२ मा रहेको सापकोटाहरुको गाउँका प्रायः सवै युवा तन्दुरी पकाउन सीपालु छन् । र, सवैको योजना जापान जाने नै हो । ‘धेरै साथीहरु र दाइहरु यहि काम गरेर जापान पुगिसकेका छन् । म पनि जापानकै तयारीमा छु ।’ जापानीजहरुको मनपर्ने खाना तन्दुरी रोटी हो भन्ने चाल पाएका मल्मका युवाहरुलाई यसै कामबाट राम्रो आम्दानी हुने पनि विश्वास छ । ‘अहिले त जापानमा पनि यस्ता होटल नेपालीले समेत खोलेका कारण आम्दानी त्यति हुन्न । तर, नेपालको एक लाख तीस हजारदेखि एक लाख ८० हजारसम्म तलव हुन्छ ।’ जापान जानका लागि कम्तिमा १० देखि १२ लाख रुपियाँ लगानी गर्न उनीहरु तयार छन् । ‘जागिरको ग्यारेण्टि हुने विश्वास नै छ । जानका लागि त हरप्रकारले प्रयास गर्ने हो । तन्दुरी बाहेक किचेनका अन्य कामपनि राम्रोसँग सिकिरहेको बताउने मल्मकै इन्द्र चालिसे भन्छन्,‘मेरो त प्रोसेस पनि भइसकेको छ । हेरौं केही महिनामा पुगिन्छ होला ।’
यस्तै काम गरेर सापकोटा गाउँका दर्जनभन्दा बढि युवा एक वर्षको अन्तरालमा जापान पुगेका छन् । आफुलाई थाहा भएका नामहरु उल्लेख गर्दै राम भन्छन्–‘लक्षु (लक्ष्मण सापकोटा) गएको पाँच महिना भयो । उसको पनि यहि काम हो । यसरी नै यहाँ सिकेर गएको हो । हेरु (हिरा) पनि जापान पुगिसकेको छ ।’ २०१० सम्मको तथ्याङ्क अनुसार जापानमा छ हजार नेपाली थिए । विगत दुई वर्षमा मात्र जापानमा २ हजार भन्दा बढि कामदार र विद्यार्थी पुगेको अनुमान गरिएको छ । जापानमा कामदारका रुपमा होटलमा अत्यधिक माग हुने गरेको बताइन्छ ।
जापान पढ्न र काम गर्न जानेहरुका लागि राम्रो गन्तव्य बनेको छ । जापानीज भाषा सिकेर त्यहाँ काम गर्न र पढ्नका लागि जाने हो भने राम्रो आम्दानी हुन सक्ने कन्सल्ट्यान्टहरु बताउँछन् । कन्सल्ट्यान्ट ओमहरि प्रजापति भन्छन्–‘अहिले जापानमा पढ्न जानेहरुको पनि राम्रो तलव छ । होटलमा निक्कै राम्रो छ । जापानीजहरु र जापानमा रहेका अन्य मुलुकका कामदारका लागि पनि भारतीय खाना मनपर्ने भएकाले तन्दुरी लगायतका अन्य भारतीय खाना पकाउन जान्नेहरुलाई अवसर हुन्छ । तर, खर्च ज्यादा लाग्ने भएकाले नेपालबाट निक्कै कमैमात्र जाने गरेका छन् ।’ जापानमा रहेका आफन्त तथा चिनेका मानिसहरुको पहलमामात्रै त्यहाँको भिसा लिएर नेपालबाट युवाहरु पुग्ने गरेका छन् ।
यहाँको विकास देखेर डाह लाग्छ
–शिवराज सुवेदी
सानातिना कामले परिवारको आवश्यकता र छोराछोरीको भविष्य उज्जवल नदेखेपछि फत्तेपुरका शिवराज सुवेदी समस्यामा थिए । पाँच वर्ष अघि यस्तो पारिवारिक चिन्तामा ग्रस्त उनीसँग वैदेशिक रोजगारीमा जानका लागि म्यानपावर कम्पनीलाई दिने पैसा पनि थिएन । उनले भिजिट भिसा लिए र काम पाउने आशामा कतार तिर हानिए । अहिले पनि कतारमा कार्यरत उनी प्रत्येक वर्ष नेपाल आउँछन्, परिवारसँग विदाको समय मनाउँछन् र फेरि काममा फर्कन्छन् । किनकी, उनको काम अहिले निक्कै राम्रो चलिरहेको छ र आम्दानी पनि राम्रो भइरहेको छ । सामान्य पसलले जीवन धान्न मुस्किल भएपछि उनी पीडामा थिए । यद्यपि, जीवनका उतारचढावसँग उनको अभ्यस्त हुने बानी थियो । मासिक ९० हजारसम्म कमाइरहेका सुवेदीको वैदेशिक रोजगारीको कथा, उनकै शव्दमा ः
देश आमहड्तालको चपेटामा थियो । १९ दिनको बन्द लगातार चलिरहेको थियो । म एम्बुलेन्सको सहारामा फत्तेपुरबाट चतरा र त्यहाँबाट हिँडेर इटहरी आइपुगे । त्यसपछि विराटनगर रिक्सामा आएर त्यहाँबाट प्लेनमा काठमाडौं आइपुगेको थिएँ । मलाई सम्झना छ, त्यसबेलाको आमहड्ताललाई त्यसरी नछिचोलेको भए म अहिले यो अवस्थामा आइपुग्न सक्षम हुने थिइन । २००८ को २५ जनवरीमा मैले नेपाल छाडेर कतारको यात्रा सुरु गरें । तर, मलाई अपेक्षा काम मिल्ने थियो, ग्यारेण्टि थिएन । किनभने म भिजिट भिसामा कतार आएको थिएँ । त्यैपनि यहाँ भएका साथीहरुको सहयोग र आफ्नो आत्मविश्वासको भर परेको थिएँ । म काम खोज्दैजाँदा एक साताभित्र नै इन्टरनेटसम्बन्धि काम गर्ने दी पर्ल कतार भन्ने कम्पनीको प्राजेक्टमा सामान्य कामदारका रुपमा काम थालें । मैले जसरी पनि काम गरेर आफ्नो क्षमतालाई देखाउनु थियो र नेपालमा रहेको आफ्नो आवश्यकतालाई पुरा गर्नु थियो । त्यसकारण मैले जोडले कम्पनीको आदेशअनुसारको काम समयमा पुरा गर्न थालें । सुरुको तलव कतारी ११ सय रियाल थियो । जुन त्यसबेला पनि रामै्र तलव मानिन्थ्यो । त्यसपछि प्रत्येक वर्ष तलव बढ्दै गएको र प्राजेक्टमा मेरो पदपनि । प्राजेक्टको कोओर्डिनेटरको काम गरिरहेको छु, अहिले । मेरो तलव ४५ सय रियाल अर्थात् ९० हज्जार नेपाली रुपियाँ छ । यो राम्रो आम्दानी हो । यहि कम्पनीमा काम गरेरै मैले नेपालमा रहेका मेरा परिवार, मेरो छोरीको भविष्यका लागि राम्रोसँग खर्च गर्न पाइरहेको छु । त्यस्तै, त्यहाँ घर पनि बनाएको छु । अरु केह ीगर्ने आशा छ । मधेस आन्दोलन उत्कर्षमा पुगेको वेला राज्यको अवस्था नसुध्रने भयो भन्ने चिन्ताले नै म विदेश भासिएको थिएँ । अन्य नेपाली समस्यामा डुवेको खबर सुनिरहँदा निकै चिन्ता लाग्थ्यो । त्यैपनि रिक्स लिएर नै म कतार आएको हुँ । करिव छ वर्ष हुन लाग्यो कम्पनीले राम्रो ठानेको छ । अनि, प्रत्येक वर्ष घर फर्कने छुट्टी पनि पाइरहेको छु । नेपालमा अहिले व्यापार व्यावसाय गरेर पनि त्यति राम्रो आम्दानी हुन सक्तैन । त्यसकारण मैले केही वर्ष यहिँ वसरे काम गर्ने निधो बनाएको छु । भगवानको कृपा र साथीभाइ तथा कम्पनीको सहयोगका कारण अहिलेसम्म मैले त्यस्तो अप्रिय घटनाको सामना गर्नु परेको छैन । मेरो काम इनडोर र आउट डोर दुवै हुन्छ । सवै काम गर्न रमाइलो नै हुन्छ । यहाँ मेहनत गर्नेको सम्मान गरिदो रहेछ । म बेजोड मेहनती छु त्यसकारण यहाँ टिक्न सफल भएको छु । यहाँको मौसम अलिकति समस्या हो । गर्मी हुने गरेका कारण समस्या हुन्छ । तर, राजधानी दोहामा काम गर्नु निक्कै भाग्यमानी पनि ठानिन्छन् ।
अहिलेसम्म म छ पटक घर आएर फर्किएको छु । जतिपटक आउँदा पनि संयोग भनौं वा अवस्था नेपालमा बन्द हड्ताल कायम रहेको पाइन्छ । यसरी देशमा रहेर केही काम पनि गर्न नसक्ने स्थिति हुन्छ । मैले नेपाल फर्किएर कुनै व्यापार व्यवासाय गरेर बसौं कि भन्ने मनसाय पनि बनाएको थिएँ । तर, पछिल्लो पटक आउँदा पनि बन्द हड्ताल र संविधान बन्ने÷नबन्ने भन्ने राजनीतिक झमेलाले सडक बन्द थियो । कतारमा त्यस्तो हुँदैन । यहाँ काम गर्ने मानिसको सम्मान र काम गरेअनुसार पारिश्रमिकको व्यवस्था हुँदो रहेछ । मेहनत गरेमात्र सफल बन्न सकिन्छ भन्ने शिक्षा पाएको छु । छ वर्षको कतार बसाइको दौरानमा मैले यहाँको अरबी भाषा पनि करिव करिव जानीसकेको छु । यहाँ अरबी जान्यो भने निकै फाइदा हुन्छ । यहाँको भाषाका कारण कम्युनिकेशन सजिलो हुन्छ र काम गर्न सहज पनि । धेरै नेपालीहरु कुरा नबुझी आउँदा समस्यामा परेको खबरहरु सुनेको थिएँ, तर म पनि त्यति बुझेर आएको होइन । मेरो मेहनत र विश्वासका कारण अहिले म राम्रोसँग काम गर्न सकिरहेको छु । यहाँ भएको विकासको मुहानलाई बुझ्न पाइरहेको छु । कहिलेकाँही यहाँको विकास देखेर डाह लाग्छ, हाम्रो नेपाल यो भन्दा धनी छ, प्राकृतिक सम्पदामा तर हामी धनी हुन सकिरहेका छैनौं । अव अर्को वर्ष नेपाल फर्कन्छु विदामा । तर, नेपाल बसिन्छ वा बसिदैन भन्ने सल्लाह र नेपालको परिस्थितिमा निर्भर हुन्छ होला ।
No comments:
Post a Comment