विनोद ढकाल
नेपालीमा उखान छ–‘मरिच आफ्नै पिरोले चाउरी पर्छ ।’ यो उखानको सविस्तार वर्णनचाँही एकीकृत ढिक्कामा रहेको माओवादीको एउटा विचार समूह चुँडीएर अर्को पार्टी घोषणाको यथार्थले गरेको छ । माओवादी विस्तारै ताछिएकोमात्र थियो, त्यो प्वाल टाल्न नपाई मोहन वैद्य समूह उध्रियो । र, कारण बताइएको छ–‘माओवादीको आधिकारिक लाइन, जनविद्रोहलाई छाडेको ।’ माओवादीका विभिन्न वैठकहरु र छलफलहरुमा कायम रहने दुईलाइन संघर्षले नै नयाँ लोकतन्त्रको जन्म गराउन सफल भयो । गणतन्त्र घोषणाका लागि सहज भयो र राजसंस्था सदाका लागि हट्यो । यतिहुँदाहुँदै एकोहोरो आफूमात्र ठिक भन्ने उसको दलगत घमण्ड अहिले उसको फूटको कारण पनि बन्यो । नेतादेखि नेतासम्म र कार्यकर्तादेखि कार्यकर्तासम्म आमुख व्यक्तिमा पनि यो घमण्ड अर्थात अरुको अस्तित्व स्वीकार गर्नै नसक्ने बानीले नै अहिले माओवादी विभाजित भएको हो । एउटा सरल उदाहरण–‘माओवादीलाई गाली नगर्ने एक कारण दिनुहोस, गाली गर्नुपर्ने ५० कारण दिनसक्छु म’ भनेर बहुचर्चित सामाजिक सञ्जाल फेसबुकमा मैले स्टाटस राखेपछि माओवादीप्रति झुकाव राखेका केही साथीहरुको कमेन्ट निकै पेचिलो थियो । कसैले एमाले भनेका थिए भने कसैले राजावादी भन्ने कमेन्ट पनि गरे । उनीहरुले माओवादीलाई किन गाली गर्ने ? भन्ने कारण सोध्न चाहेनन् । अथवा यस प्रकारका कमेन्टहरु आएनन् । विचारलाई मन्थन गरी यथेष्ट कारणका लागि बहस गर्नुपर्ने ठाउँमा आलोचकलाई दुश्मनै ठान्ने गलत नियतको खेती अहिलेपनि माओवादीभित्रको वैचारिक जोखिमका रुपमा व्याप्त छ । संसदीय राजनीतिका केही वर्षको यात्रा सकेर पनि एकीकृत विचार विकास गर्न नसक्ने कमजोरीले आलोचकहरु दुश्मन वा विरोधी देख्ने उसको दृष्टि अहिले पनि कायम छ । लोकतान्त्रिक नारामा अडिएर विपक्षीलाई कमजोर मान्ने, आलोचकलाई दुश्मन ठान्ने र अन्यको विचारलाई वेवास्ता चलन नेता वा कार्यकर्तामात्र होइन माओवादीमाथि झुकाव राख्ने व्यक्तिहरुमा मनोरोग समस्याका रुपमा विकास भइरहेको थियो÷छ । यसै कारणले माओवादी फुटेको पनि हो । अव, माओवादी विभाजित भइसकेको छ र फरक राजनीतिक कार्यदिशाको सिङ्गो पार्टी पुनर्गठीत भएको छ, उही नाममा । प्रतिक्रिया दिनेहरु सामान्य र सरल उत्तर दिन्छन् । सत्ता, शक्तिको भ्रममा बाँचेका नेताहरु जसको विचार फुटको सिद्धान्तसँग मिल्दोजुल्दो छ, उसका विचारहरु सतही नै हुन्छन् । संघर्षका समयहरु सम्झिन सक्लान तर सत्ताको भुमिकाले उनलाई दिगभ्रमित घमण्डी बनाइसकेको रहेछ । एकीकृत कित्तामा रहेको माओवादी फुटको सैद्धान्तिक, व्यवाहारिक र आर्थिक घाटामा पार्टी बचाउन नसकेको कलंक प्रचण्डलाई लागिसक्यो, अव नयाँ क्रान्तिको नाममा जनता बटुल्ने अर्को जोखिम नेकपा, माओवादीलाई छ । यो विभाजन सैद्धान्तिकमात्र थिएन, तर यसको घाटाचाँही अव व्यवाहारिक रुपमा दुवै पक्षलाई लाग्ने निश्चित छ ।
टिकाटिप्पणी
गैर कम्युनिष्टहरुको चियापसलमा बकमफुस्से कुरा हुन्छ– नेपाली कम्युनिष्टहरु एक भएर बस्न त के बाँच्नै सक्तैनन् । विश्व कम्युनिष्ट आन्दोलनको उदाहरण बनेर निस्किएको माओवादी अहिले यस्तै वकम्फुस्से तर्कहरुको यथार्थ बनिदियो । वैचारिक संघर्षलाई सन्तुलनमा राख्न नसकेको दोष अध्यक्ष प्रचण्डले स्वीकार्लान÷नस्वीकार्लान् । तर, कम्युनिष्ट विचार राख्ने र माओवादीप्रति आश गर्नेहरुले भने पक्कैपनि प्रचण्डलाई दोषी ठहर गरेका छन् । पार्टीलाई हतासमा एकीकृत गर्ने नेताले बचाउने सक्षमतालाई पनि कायम राख्नुपर्दछ । कसैलाई काखा र कसैलाई पाखा गर्दाको परिणामले ठूलै क्षतिको सामना गर्नुपर्दछ । जसरी प्रचण्डको पक्षपोषक वर्षमान पुनले माओवादी फुट्नु सामान्य कुरा हो, क्षति भएको छैन भनेर अभिव्यक्ति सार्वजनिक गरे, यो उनको आत्मरतीमात्र हो । वास्तवमा माओवादी फुटको झड्का नेपाली कम्युनिष्ट आन्दोलनमा अमिलो स्वाद हो । र, प्रचण्डको हकमा कमजोर नेतृत्वको उपज पनि मान्नैपर्दछ । संविधानसभामा नागरिक अनुमोदनबाट बृहत देखिएको पार्टीमाथि पक्कैपनि जनताको भरोसा हुन्छ । तर, जनताको भरोसामाथि तुसारापात गरेर आफ्नो स्वार्थकेन्द्रिकृत हुँदैजाँदा मधेसवादी दल र माओवादीमा फरक छुट्याउन मुस्किल पर्ने स्थिति आयो । मातृका यादव, मणि थापाका कुरा सामान्य नै थिए तर मोहन वैद्यको कथाचाँही असामान्य घटना हो । यो असामान्य घटनालाई नवक्रान्तिकारीहरुको पतनको संज्ञा जनसतहमा बढेको छ । अचेल सडकपेटीका टिकाटिप्पणी यस्तै छन् ।
अस्वभाविक दम्भ
कम्युनिष्ट पार्टीहरुको एकताका लागि पहल गर्नुपर्ने माओवादी आफ्नो हैसियतदेखि आत्तिएर अन्य कम्युनिष्ट पार्टीलाई कुखुरा देख्न थाल्यो । आफुलाई चीलको बथान सम्झिने माओवादीले अरुलाई साथमा लिएर हिँड्न सकेन । यतिमात्र होइन, माओवादीले अन्य कम्युनिष्ट पार्टीको हैसियत र प्रतिष्ठामा बारम्बार धावा बोल्यो, कार्यगत एकता मजबुद बनाएर एक सहमतिय राजनीतिक लाइन बनाउने बेलामा आफैंभित्रका फरक धारहरुलाई मिलाउने कोशिस गर्न सकेन । विचार समू्हहरुको सहकार्य र एकताबाट एउटा पार्टी संचालन हुन सक्तदछ । कुनै एक विचारलेमात्र पार्टी सञ्चालन कठिनाई हुन्छ । दुइटा विचार समूहबाट अव असफल भएको शान्ति र संविधानको बाटोमा छ, एकीकृत माओवादी ।
सम्पत्ति अंशवंडा गर्दा त्यसको लगानीको फल स्वादिलो हुन्छ । एउटा सानो परिवार खुसी र सुखी हुन सक्ला । तर, विचार अंशवंडा गरेर अलग्गिनुचाँही ठिक उल्टो परिणामको खेती हो । त्यस अंशवंडामा नागरिक विश्वासको आधार विभाजित हुन्छ । परिणाम निकै कमजोर भएर निस्कन्छ । एकीकृत माओवादीभित्र अझै विवादका घेराबन्दि कायम रहनेछन् । अध्यक्ष पुष्पकमल दाहालको समूह होला । तर, त्यो विचार समूह हैन । अहिले प्रचण्ड बाबुरामको विचार समूहमा हिँडीरहेका छन् । बाबुरामको विचार यतिवेला जनसतहमा असफल भइसकेको स्पष्ट आधार संविधानसभा भङ्ग भएर बाँकी रहेको अलपत्र शान्ति प्रकृयाको अवस्थालाई हेर्दा हुन्छ । उनीसँग सत्ता भएपनि अव के गर्ने भन्ने स्पष्ट राजनीतिक लाइन छैन, नयाँ राजनीतिक कार्यदिशा तत्काल प्रतिपादन हुने स्थितिमा पनि छैन । यद्यपि, आगामी १५ असारमा बोलाइएको विस्तारित वैठकले नयाँ आधार बनाउने प्रयत्न गर्ला । तर, त्यस भेलामा वैद्य समूह अलग्गीनुको मुख्य कारणबारे पनि बहस हुन आवश्यक छ । यसो नगरेर आफूमात्र ठिक भन्ने दम्भसहितको बहस भए त्यो अराजनीतिक भेला हुनेछ ।
अवको बाटो
एकीकृत माओवादीले आफ्नो मुल राजनीतिक एजेण्डा एकल जातिय पहिचानसहितको संघिय राज्यको परिकल्पना बनाउन सक्छ । तर, त्यो राजनीतिक मुद्दा बन्ला विचार हुन सक्तैन । जातिय राज्यको कुरा उग्रवादी सोचको उपज हो । नजिकको मुलुक श्रीलङ्काको लामो जातिय युद्ध निस्तेज भयो किनभने त्यो राजनीतिक विचार थिएन । हतियार उठाएर गरिएको आन्दोलन हतियारबाटै समाप्त भयो । लोकतन्त्रमा जातिय उत्पीडनको मुक्ति बृहत राजनीतिक विचारको आधार हुनै सक्तैन । यसकारण माओवादीले यस मुद्दालाई प्राथमिक बनाए उसको भविष्य राजनीतिक रुपमा सफल हुन मुस्किल छ । अवको राजनीतिक बाटो बृहत कम्युनिष्ट सहकार्यको मुख्य एजेण्डा बन्नुपर्छ । पार्टी फुटेपनि साझा मुद्दाको एकीकरणबाटमात्र कम्युनिष्ट आन्दोलनले सफलता लिन सक्दछ । देशमा रहेका विभिन्न हैसियतका कम्युनिष्ट पार्टीहरुसँग बृहत छलफल गरी दुई ध्रुवीय राजनीति अथाव सर्वदलिय साझा सहमतिको आधारलाई टेकेर आफ्नो विचार प्रतिपादन गर्नुपर्ने अवस्था छ । साझा सहमतिको आधार देशलाई सर्वस्वीकार्य संघिय ढाँचा र नयाँ राजनीतिक यात्रो सुरुआत हुन सक्छ । किनभने सत्ताकव्जाको नियती पनि दलीय विभाजनले कमजोर बनाइदिएको छ । अर्को, विस्तारित वैठकले नयाँ राजनीतिक दिशाका लागि महाधिवेशनको आयोजना अनिवार्य गर्नुपर्छ । नत्र बाबुराम विचार समूहसँग गठजोड रहेको प्रचण्डको राजनीतिक हैसियतमा फेरिपनि दाग लाग्ने सम्भावना ज्यादा छ । नेपाली राजनीतिको दुर्भाग्य नेतृत्व पुस्तान्तरण नगर्नु पनि हो । लोकतान्त्रिक होस वा कम्युनिष्ट पार्टी उनीहरुको साझा समस्या नै यहि हो । यो समस्या फुटको एउटा कारण हो भन्ने एमाओवादीले स्वीकार गर्नुपर्छ । त्यसकारण अव महाधिवेशनको घोषणा गरी नेतृत्व पुस्तान्तरणको विकल्प तयार पार्दा फुटको अवगाल प्रचण्डले लिनुपर्दैन ।
No comments:
Post a Comment