लोकमानले छोरीको विहे गर्न नपाउने भन्ने कुरा हुँदैन । अख्तियारको परिसरमा रहेको उनको सरकारी निवासबाट पनि गर्न नपाउने भन्ने कुरा पनि हुँदैन । तर, कार्यालय समयमा कर्मचारी र सर्वसाधारणलाई रोकेर, निषेध गरेर छोरीका लागि आएको जन्तीको प्रवेशलाई मात्र महत्व दिने दुश्साहस उनले गर्न पाउने थिएनन् । तर, गरेर देखाए । के लोकमानका लागि कानुन नलाग्ने र अरुका लागि कानुनी दायराको घेराबन्दि लोकमानले मात्र गर्न पाउने हो ?
विनोद ढकाल |
पुराण र हिन्दु ग्रन्थहरुमा गल्ती गर्दा पनि सजाय नपाउने एकमात्र भगवान थिए । उनको चरित्र दैत्यको हो की देवताको भन्ने कुरामा कहिलेकाँही द्विविधा हुनेगरी व्याख्या गरीएको छ । महादेवको चरित्र हिंसात्मक थियो, उनी विधिको विधान विपरित पनि काम गरेका कतिपय किस्साहरुमा उल्लेख नै छन् । तर, आधुनिक विश्वमा त्यस्ता किस्साहरु पढ्दा रमाइला लाग्छन्, सुन्दा अचम्मित बनाउने लाग्छन् तर त्यसको प्रयोगचाँही क्षम्य हुँदैन । किनभने आधुनिक विश्व फरक छ । अझ हामी लोकतन्त्रको पयार्यमा हुर्किरहेका र लोकतन्त्र स्वीकार गरेका नेपालीहरुका लागि त कदापी हुँदैन ।
संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्की आउनासाथ भएका भ्रष्टाचारविरुद्धका काम कारवाहीहरु देखेर कार्कीले अव केही गर्छन् भन्ने अड्कल काट्नेहरुको जमात सानो थिए । कतिपय त कर्मचारीतन्त्रको ज्ञान भएका कारणले उनले भ्रष्टाचारविरुद्धको कारवाहीलाई प्रभावकारी बनाउँछन् भन्ने पनि बताइयो । स्वभाविक रुपमा उनका अख्तियारी कर्महरु निक्कै तेज हिसावले चल्न थाले र कतिपय कर्मचारीहरु कारवाहीमा परे । लोकमानकै भाषामा भन्नुपर्दा कर्मचारीतन्त्रका साना माछाहरु उनले निक्कै फकडे । भुरा माछाहरुलाई उनले मज्जाले कारवाहीको दायरामा ल्याए । तर, ठूला माछालाई छुन पनि नसकेका लोकमानले आफ्नो अनुहारलाई पनि पछिल्लो पटक त्यही ठूला माछाहरुको विम्बहरुमा उभ्याउन भ्याए । जानेर होस् या नजानेर, या आत्मरती र घमन्डमा उन्माद भएर होस्, उनले त्यसो गरेरै छाडे जुन माफीको लायकी त हुँदै हुँदैन ।
भड्किलो विवाह नगराउन निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो पद र सुविधाको दुरूपयोग गर्दै छोरीको विवाह गरे । उनले भड्किलो विवाह मात्र गराएनन्, टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय परिसरमा जन्ती बोलाएका थिए । सरकारी सेवा नै अवरोध गरी कार्कीले छोरी डा. अध्याको विवाह गराएका थिए । हो, उनले विवाहलाई देखावटी रुपमा भड्कीलो बनाएनन् तर शक्तिको दम्भमा उनी यतिसम्म भड्कीएछन् की सरकारी काम कारवाही रोक्ने, सर्वसाधारणलाई रोक्ने, कर्मचारीलाई अवरोध गर्ने क्षमता उनमा पलाएछ, आफ्नै कार्यालयभित्र ।
त्यो विवाहको दिन अख्तियारमा सेवा लिन पुगेका सर्वसाधारणलाई मूलगेटबाट छिर्न दिइएन भने कर्मचारीलाई पनि अर्को गेटबाट मात्रै प्रवेश गराइएको थियो । सेवाग्राहीलाई नै प्रवेश निषेध गरेर लोकमानले छोरीको विवाहका लागि आएको पूर्वराजपरिवारसँगको व्यापारिक सम्बन्ध रहेका रोहिणी थपलियाका छोरा शुभाशीष थपलियाको जन्ती छिराएका थिए । राज्यले अख्तियार प्रमुखका लागि उपलब्ध गराएको सरकारी आवास मात्र होइन, अख्तियारकै प्रांगणसमेत लोकमानकी छोरीको बिहेका लागि प्रयोग गरिएको अख्तियार कर्मचारीले दुःखेसो पोखे । अख्तियार भवनभित्र पत्रकारलाई समेत प्रवेश निषेध गरियो भने कर्मचारीलाई नियमित मूलद्वारबाट प्रवेश गर्न दिइएन । अख्तियारको मूलद्वार जन्तीका लागि छुट्याइएकाले कर्मचारीलाई अर्कै बाटो प्रयोग गर्न लगाइयो ।
अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की |
निजी बिहेका लागि अख्तियार प्रमुखले अख्तियारको सरकारी भवन दुरुपयोग गरेको भन्दै कर्मचारी नै आश्चर्यचकित परेका थिए । लोकमानको निजी घर पुरानो बानेश्वरमा छ । अख्तियारको टंगालस्थित भवनमा लोकमानकी छोरीको बिहे भइरहँदा भाटभटेनीतर्फ जाने सडकमा समेत सवारी आवागमन प्रभावित भएको थियो । लोकमानले नागरिकलाई दैनिक कामकारबाही नै गर्न नदिई अख्तियार प्रांगणलाई निजी कामका लागि प्रयोग गरेको भन्दै सर्वसाधारण आक्रोशित भएका थिए । राजधानीभरि रहेका पार्टी प्यालेस र मन्दिरमा विवाह नगराई लोकमानले सरकारी सुविधाको दुरुपयोग गरेका थिए । नागरिक सुरक्षा र उनको संवैधानिक पदको सुरक्षाका लागि खटाइएका प्रहरीलाई जन्ती सुरक्षाका लागि खटाइएको भन्दै लोकमानको सर्वत्र आलोचनासमेत भएको थियो ।
लोकमानले छोरीको विहे गर्न नपाउने भन्ने कुरा हुँदैन । अख्तियारको परिसरमा रहेको उनको सरकारी निवासबाट पनि गर्न नपाउने भन्ने कुरा पनि हुँदैन । तर, कार्यालय समयमा कर्मचारी र सर्वसाधारणलाई रोकेर, निषेध गरेर छोरीका लागि आएको जन्तीको प्रवेशलाई मात्र महत्व दिने दुश्साहस उनले गर्न पाउने थिएनन् । तर, गरेर देखाए । के लोकमानका लागि कानुन नलाग्ने र अरुका लागि कानुनी दायराको घेराबन्दि लोकमानले मात्र गर्न पाउने हो ? उनको यो हर्कतले ठूलालाई चैन र सानालाई ऐन भन्ने कुराको पुष्टि गरिसकेको छ । यो विषयमा सरकार, संसद र राजनीतिक दलहरु चुप लागेर बसेभने लोकतान्त्रिक मुल्य र मान्यताको मुलुकमा कानुनको दायराको सीमा लेखिनेछ । लोकमानहरु कारवाहीमा नपरी संवैधानिक पदमा पुग्छन्, त्यस पदको दुरुपयोगले जनतामाथि कानुनी भाटा बर्साउँछन् र आफैं कानुन मिच्छन् । जनता त्यसलाई पनि सहन बाध्य हुनुपर्छ । अनि, अरुलेचाँही किन मान्ने कानुन ?
भ्रष्टाचारविरोधी अभियान, कानुनी कारवाहीमा सक्रिय भएका लोकमानले गरेको यो भ्रष्ट व्यवाहारको उत्तर किन नमाग्ने ? मनलाग्दी मान्छेहरु पक्राउ गर्ने र मन नलागेका मान्छेहरुलाई छुट दिँदै आफ्नो चरित्रलाई उदांगो पारेका लोकमानलाई महाअभियोग किन नलगाउने ? शक्तिकेन्द्रमा हुनासाथ मनलाग्दी गर्ने अधिकार कसैलाई पनि छैन । शक्तिकेन्द्रमा पुगेको व्यक्तिले पनि आम नेपालीले भोग्ने कानुन भोग्नुपर्छ । उसले उसका व्यक्तिगत सुविधाका लागि पाएको जनताको नासोको दुरुपयोग गरी जनतालाई नै काम कारवाहीमा अप्ठ्यारो पार्ने अधिकार छैन । यस्तो काममा उसलाई माफी दिनुपर्छ, यो सामान्य घट्ना हो, यो भइरहन्छ भन्ने तर्क कसैले उठायो, टिप्पणी उठायो भने भोलीदेखि सरकारी सुविधा लिएका सवैले नियमको धज्जी उडाउनेछन् । कारवाही माथिदेखि नै सुरु हुनुपर्छ, यस्तो गलत नजिर स्थापित गर्न हुँदैन । व्यवस्थापिका संसदका समितिहरुलाई नै च्यालेन्ज गरेर, सरकारलाई समेत च्यालेन्ज गरेर, दुनियाँलाई रनभुल्लमा पारेर लोकमान जसरी अघि बढिरहेका थिए, उनले आफु पछि फर्कनुपर्ने यो काम गरेका छन् । सरकारलाई उनले नटेर्दा जनता चुप लागेर बस्न मिल्यो होला तर जनतालाई रोकेर उनले जुन हर्कत देखाए यस्तो काममा सरकार चुप लागेर बस्न मिल्दैन, मिल्नु हुँदैन ।
अहिलेको सरकार, अहिलेका सांसदहरुले यो विषयमा आफ्नो ध्यान खिच्न सकुन् । थाहा पाएर पनि थाहा नपाएजस्तो गरी लोकमानको आत्मरतीलाई बढावा दिँदै गए भोली उसका ठाउँमा आउने अर्को व्यक्तिमा पनि त्यति नै आत्मरती र शक्तिको रवाफ पलाउने छ । यसर्थ, यस्ता विषयमा गम्भिरतापूर्वक सम्बन्धित निकायले चासो देखाउँदै कारवाहीको प्रक्रिया अघि नबढाए गल्ती गर्नेहरु आफुलाई महादेव ठानिरहनेछन् ।
No comments:
Post a Comment