विनोद ढकाल |
प्रेममा वियोग व्यहोरेकाहरुलाई फेरि प्रेममा पर भन्नुजस्तो कठिन काम केही पनि होइन । उसको अनुभुतिको बयानबाजीलाई चिरेर फेरि प्रेम गर भन्न सकिँदैन । तर, प्रेमविना बस्न पनि त सकिँदैन नि । त्यसकारण मुटु मिचेरै भएपनि उनीहरुलाई भन्नुपर्छ– प्रेम मिष्ठान्न अनुभुति हो, प्रेममा पर, प्रेममा बाँच ।
मिठो अनुभुति प्रेम हो ? अनयास हुने मनमोहक परिकल्पनाहरुको थुप्रो पनि प्रेम हो । चराहरुको चिरविरचिरविर आवाज मनपर्ने मौसममा उन्माद हुने भावनाहरु पनि प्रेम हुन् । नतमस्तक मायामा उम्लिएका बेला सुनिने हर स्वरहरु प्रेम नै होइनन् र ? अवश्यपनि प्रेम हुन् । मान्छेलाई हर कुरा मनमोहक लाग्छ, जव ऊ प्रेममा हुन्छ । सामान्यतयाः प्रेम अन्धो हुन्छ भनिन्छ । होइन, प्रेमले त सवैकुरा देखाउँछ, एउटा मार्ग सुझाउँछ, जीवनको फरक यात्राको अनुभुति गराउँछ । संवेदनाहरुको तरंगलाई बाहिर ल्याउँछ, भावनाहरुको रंगलाई इन्द्रेणीमा ढाल्छ । अनि, हिँड्न, उठ्न बस्न सिकाउँछ । यद्यपि, कतिपय समयमा भने प्रेमका अनुकुलता र प्रतिकुलताका व्याख्या पनि स्वभाविक रुपमा देखा पर्दछन् ।
भनिन्छ नि– तिमी जस्तो छौ त्यस्तै प्रेम गर यतिवेला, यसले तिमीलाई स्वर्गको अनुभुति गराउँछ, मृत्युको पर्खाइमा नबस । यदि मृत्यु पर्खियौ भने तिमी अहिले नै मर्नेछौ, यदि तिमीले प्रेम ग¥यौ भने अहिले बाँच्नेछौ । अनुभुतिहरुसँग नजिक हुने मान्छे लामो समयसम्म बाँच्छ । मान्छे व्यथामा होइन, व्यथा भुलेर मायामा बाँच्नसक्छ ।
प्रेमको पहिलो कर्तव्य सुन्नु हो । खासगरी आफ्नो प्रेमको झन्कारलाई बुझ्नु हो । जबसम्म एउटा झन्कारलाई बुझेर अर्को झन्कारसँगको संगित बलियो हुँदैन, प्रेम गतिशिल सहयात्रा हुन सक्तैन । दुई शरिरको एक आत्मा हो, प्रेम । टम्स रोविन्सले भनेका छन्– हामी एउटा पूर्ण प्रेमको आशामा समय वर्वाद गरिरहेका हुन्छौं, जवकी हामी आफ्नो प्रेमलाई पूर्ण बनाउतिर लाग्दैनौ ।
प्रेम, अतिरिक्त सोचाइ हुन सक्तैन । हर मान्छेको अनिवार्य विचारप्रवाहको एक अभिन्न विषय हो, प्रेम । जहाँ क्रोधको राग हुन्छ, त्यहाँ प्रेमको पराग पनि हुन्छ । त्यसकारण मान्छे भएर जन्मेका प्राणीहरु जति रिसमा उन्माद हुन्छन् त्यति नै प्रेममा लाचार पनि । अरुको आँखा रसाएका बेला भक्कानो फुटाउनेहरु क्रुर हुन सक्तैनन् । जसको दिल क्रुर छैन, उसले धोका दिन सक्तैन । जसले धोका दिँदैन, उसले प्रेममात्र दिन्छ, जो बस्तुगत बन्न जान्दैन, उसले धोका पाउँछ । आजको समाज यहि हो । खासगरी नेपाली समाजमा प्रेमको व्याख्या अनेक फरक ढंगबाट हुन थालेको छ । असल प्रेमजोडीहरु भेटिन मुस्किल हुन थालेको छ । केही अवसरवादको ओढारमा बसेकाहरुको नाटकीय जीवनले कोही बर्बाद भइरहेका छन् अनि कोही आवाद पनि । असल प्रेमी बन्ने चाहना प्रष्फुटन नहुँदा त्यस्तो भएको हो । तर, मान्छेले प्रेमलाई खेलाची होइन, सृजनात्मक अभ्यासको आधार बनाउनु पर्दछ । यत्ति चाहीँ मान्छेका मनमा जाग्नुपर्छ यदि उ असल प्रेमी बनेको छ भने ‘यदि तिमिलाई के कुराले दुख हुन्छ भन्ने थाहा पाउन सक्तिन भने म तिमीसँग कसरी प्रेम गर्न सक्छु ? कसरी मैले तिमीलाई अति माया दिन सक्छु ? म जान्दिन तिम्रो मन कुन चिजले दुख्छ, त्यसकारण मैले तिमीसँग प्रेम गर्नु व्यर्थ हुन्छ, त्यो एउटा भ्रमको खेतीमात्र हुनेछ ।’ माफ गरिदेऊ, जसरी म सोचिरहेको छु, तिमी पनि त्यसरी नै सोच्ने कोशिश गर, बुझ्नेछौ, प्रेमको अर्थ । निक्कै राम्रोसँग ।
प्रेमको पयार्य विश्वास हो । जवसम्म विश्वासको अटुट सम्बन्ध भावनात्मक रुपमा जोडिँदैन त्यो प्रेम सफल पनि हुँदैन र शक्तिशाली पनि हुँदैन । विश्वास शंकाहिन प्रेरणामा हुन्छ । आशंकाविहिन संवेदनाहरुको डोरीले बनेको सम्बन्ध नै प्रेमिल हुन्छ । कुनै धागोले जोडिएको सम्बन्ध भन्दा पनि आत्माले जोडिएको सम्बन्धले पैदा गरेको राग असल प्रेम हो, त्यसैले पनि प्रेम जोडीहरुले बुझ्नुपर्छ की हर संश्लेषणहरुमा शंका गर्न सकिन्छ, हर मुस्कानहरु संकालु हुनसक्छन् । तर, हर मुस्कानभित्रका उमंगहरु शंकाग्रस्त हुँदैनन् । हर आँसुका भावहरु शंकाले भरिपूर्ण हुँदैनन् । त्यसकारण दुनियाका हर तथ्यहरुमा शंका गरिरहँदा, एउटा कुरामा नगर्नु, कहिल्यै नगर्नु, भुलेर नगर्नु, मृत्यु शैययामा पनि नगर्नु– प्रेमभित्रको विश्वासमा ।
अति गोप्य कोठामा, सुनसान पार्कमा चुम्बन साटासाट गर्नुमात्र प्रेम हो र ? के त्यसलाई असल प्रेम भनेर व्याख्या गर्नु उपयुक्त हुन्छ ? त्यो चुम्बनमा कति हजार कोषिकाको समर्पण छ, एकआपसमा ? त्यसमा भर पर्छ । नत्र चुम्बन त एक नगरबधुको कोठामा पनि हुन्छ । तर, त्यो प्रेमका रुपमा स्वीकार गर्न सकिन्छ त ? बस, क्षणिक शारिरीक र उत्तेजनाको लाभभन्दा केही होइन । फगत हुन्छ, खाली र आडम्बर सम्बन्धको उपयोग । प्रेम नै गर्छ कसैले भने बुझ्नुपर्छ की प्रेम अदृश्य छ कसैको समर्पणका लागि । यसको मतलव यो होइनकी तिमीले महसुस गर्न पाउने छैनौ । तिमी हरक्षण महसुस गर्न स्वतन्त्र छौ किनभने तानाशाहको बन्दिगृहभित्र उन्माद लोकतन्त्रको वकालत गर्ने शक्तिशाली आन्तर्य हो, प्रेम । प्रेम, फरक शरिरमा भएका अरबौं कोषहरुको भावनात्मक सम्बन्ध हो, सृजनात्मक समागम नै बन्नुपर्छ ।
हुन त समय र प्रविधिले हर कुराहरुलाई निक्कै असहज बनाएको छ । मान्छेहरु बस्तुगत र प्रयोगवादी ज्यादा भइसके, भावनात्मक र संवेदनाको मुल्य मरिसकेको छ । यहाँ आँसुहरु पनि फगत खरिद गरेको हो की भन्ने ठान्न थालिएको छ । तर, पूर्वीय समाज अहिले पनि त्यति सतही भइसकेको छैन । जव प्रेम भित्रभित्रै हुन्छ, या बाहिर आएर पोखिनुको साटो वग्छ अनि मदिराका प्यालामा पूर्वीय समाज दौडन्छ, पश्चिमाहरु फरक प्रेमको खोजी दौडमा भाग्दछन् । पूर्वीय समुदायचाँही आँखामा टिलपिल आँसु बोकेर खोलाका किनार, रुखका हाँगातिर लम्किन्छन्, पश्चिमाहरु लोकल ट्रेन पर्खेजस्तो पर्खिन्छन्, नयाँ प्रेम, पश्चिमाहरु पानीको गहिराई ननापी हाम फाल्छन्, प्रेममा पनि, नदिमा पनि । अझ नेपाली समाज यो तथ्यबाट अहिले पनि बाहिर निस्कन सकेको छैन । धेरै किशोर अपराधका कारण पनि प्रेमको प्राप्ति, असफलता र पीडा नै देखिन्छन् । यो समाज हो, यहाँ जसलाई जे गर्न पनि छुट छैन । तर, यो समाजले पनि बुझ्नुपर्छ संवेदना, भावना, परिकल्पना, भावमा हिँड्न पाउने अधिकार सवैलाई छ । त्यसैले खुलेर प्रेम जोडी उड्न पाउने समाज निर्माणका लागि पनि प्रेमिल लोकतन्त्र बन्नुपर्छ । जहाँ महसुसहरु प्रयोगमा उत्रिएर व्यवाहारिक जीवनको खास गन्तव्य मन्न मद्दत मिलोस् । परिकल्पना गरौं– प्रेम सतही होइन, भावनात्मक हुनेछ र प्रेमिल लोकतन्त्रमा हर प्रेमी उड्न पाउनेछन् । एउटा सामाजिक कानुन नामको घेराबन्दिले कसैका पँखेटालाई कुँज्याउन मिल्दैन ।
No comments:
Post a Comment