Sunday, September 6, 2015

चाँदीको सीमाभित्रबाट

विनोद ढकाल 
तेस्रो दशकको यात्रामा प्रवेश गर्दैगर्दा आउने पुस्ताहरुको तेजश्वी यात्रालाई नजरअन्दाज गर्न नसकिने रहेछ । यो युवा पुस्ताको गतिशिलताले विश्व अहिले तिव्र छ । भित्र र बाहिर त्यसको प्रभावले नेपाली युवाहरु पनि सक्रिय र निस्क्रिय दुवै प्रकारका उदाहरणको टेकोमा उभिएका छन् । राजनीतिक सामाजिक इतिहाँस युवाको पाखुरीले कोरिएको तथ्य हामीसँगै छ । तर, हाम्रो वर्तमान देखिएको छैन । जनआन्दोलन, जनयुद्ध जे सुकै भनौं यी सवैको सफलताको श्रेय युवा शक्तिको हातमा जान्छ । 

फर्केर हेर्दा तत्कालिन युवाहरुको त्याग तपस्या र विद्रोहलाई सम्मान गर्नुपर्छ । नेपालमा युवाआन्दोलको इतिहास लामो छैन । यद्यपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासक विरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक मानिन्छन् । अरु पनि थुप्रै ब्यक्तिहरुले विभिन्न रुप, शैली र तरिकाबाट आन्दोलनहरु गरेका थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  । 

राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर कमरेड पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । २०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो । वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ । 

मुलुक र सङ्घ सङ्गठन पिच्छेका युवा उमेर फरक फरक छन् । बेलायतमा १६–१८, अमेरिकामा १२–१८, उत्तर इटली÷दक्षिण इटाली १४–३२÷१४–२९, अफ्रिकी चार्टर १५–३५, फिलिपिन्स १५–३०, कमनवेल्थ १५–२९, केन्या १५–३५, तान्जानिया १५–३५, नाइजेरिया १२–३०, दक्षिण अफ्रिका १४–३५, जिम्बाबे १६–३५, मलेसिया १६–४०, सिङ्गापुर १५–२९, इन्डोनेसिया १६–३५, म्यान्मार १६–१८, भियतनाम १५–३०, हङकङ ६–२४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाका परिभाषाभित्र पारिएका छन् । नेपालमा क्रियाशील मुख्य राजनीतिक दलसम्बद्ध युवा भातृ सङ्गठनका युवासम्बन्धी उमेर समूह पनि फरक–फरक छन् । युवासङ्घ, नेपालको १६–४० वर्ष, एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी (एनेकपा माओवादी) सम्बद्ध योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेस (नेका) सम्बद्ध नेपाल तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ । त्यसैगरी २०६६÷१०÷१४ मा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा नीति, २०६३ अनुसार ‘युवा’ भन्नाले १६–४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरूलाई जनाउन उल्लेख गरिएको थियो । 

युवालाई उनीहरुको उमेरका आधारमा विभाजित गरिएपनि प्रविधिले परिवर्तन गरिरहेको अहिलेको समाजमा नेपाली युवाको अवस्था बलियो छैन । तर, जे जति जसरी जहाँ भइरहेको छ त्यो पनि राम्रो ठान्नुपर्छ, उपयुक्त भन्न मिल्दैन । यद्यपि राजनीतिक संक्रमणले विकासको बाटो नलिएको र मुलुक कमजोर भएका कारणले अहिले युवा शक्ति अहिले खाली आन्दोलन र तोडफोडको साधनभन्दा केही भएका छैनन् । विश्वजारमा विश्व अर्थतन्त्रमा युवालाई सुनको संज्ञा दिइन्छ । किनभने यहि उमेरले मात्र मुलुक बनाउन सक्षमता देखाउँछ । तर, नेपालमा अहिले त्यसो हुन सकीरहेको छैन । 

युवा सुन हुन् । युवा नम्बरी सुन हुन् । जुन मुलुकका युवा आफ्नो कर्म र श्रमलाई मुल्यका आधारमा मुलुकमा खर्च गर्न बाध्यकारी हुन सकेका छैनन् । तमाम ५० लाख युवा जो सीप जाँगर र आफ्नो क्षमतालाई विश्वका फरक मुलुक बनाउन लागिरहेका छन् त्यसलाई हेर्दा मुटु पोल्छ । ३० लाख युवा अहिले पानी नपाउने खाडीलाई विश्वका अग्ला उचाइमा पु¥याउन श्रम गरिरहेका छन् । १० लाख भन्दा बढि युरोप, अमेरिकामा विवेकसहितको श्रम गरिरहेका छन् । अनि, १० लाख युवा छिमेकी मुलुक भारत र चीन बनाउनका लागि दौडिरहेका छन् । यी सिक्काहरु चाँदी सावित भएका छन् । टल्किएका छन् तर त्यसको मुल्य सानो भइरहेको छ ।


No comments:

Post a Comment