Tuesday, September 8, 2015

फ्रस्टेशन, पागलहरुको काम !

विनोद ढकाल 
९० को दशकको सुरुआती समयका अमेरिकी लेखक, टेलिभिजन प्रस्तोता रोड सर्लिङले भनेका थिए– प्रत्येक लेखक एउटा निराश अभिनेता हो जसले आफ्ना लेखाइमा परोक्ष सीपलाई लुकाएको हुन्छ । निराश अर्थात् चलनचल्ती र बोलीचालीको भाषामा ‘फ्रस्टेशन’ ।
मान्छे किन फ्रस्टेशनमा पर्छ ? आखिर के हो फ्रस्टेशन ? सर्लिङकै शव्दमा व्याख्या गर्ने हो भने त निराश बन्नु पागलहरुको काम हो । जस्तै, अमूर्त, लेख्नु । कहिलेकाँही मेरो लेखाईका अमूर्तपनलाई विश्लेषण गर्दा म पनि त्यहि पागलहरुको कोटीमा त पर्दिन ? त्यसैले मैले धेरै संवाद गर्ने एकजना मेरो मित्रले प्राय सोध्छिन्– (आर यु म्याड ?) के तिमी पागल भयौ ? मेरो सहज उत्तर हुन्छ– हो, म पागल हो, मेरो लेखाइमा । अरु के–के कुरामा छु, मलाई थाहा छैन । सम्भवत अमूर्त लेखाइका सुक्ष्म अर्थहरु हुन्छन् जसका बहुअर्थ लाग्न सक्छन् । त्यसकारण मसँग संवाद गर्नेहरुले साधारणतया यस्तै प्रश्नहरु गर्छन्, यस्तै उत्तरहरु भेट्छन् । तर, यो फ्रस्टेशनको शाव्दिक अर्थ होइन सांकेतिक भनाई मात्र थियो । 
मानवीय सोच र संवेदना, खासगरी सिधै मन दुख्ने कुनै काम भयो भने मान्छे फ्रस्टेशनमा पुग्छ । आशा गरेका कतिपय कामहरु पुरा हुँदैनन्, अपेक्षा गरेका कतिपय समयहरु मिल्दैनन् र मानिस आशा गर्न छाड्छ । लेखिका जेके रोलिङले त्यसैले भनेकी छिन्– कल्पनाका डरहरुकै कारण म निराश हुने गर्छु । तर, त्यो स्वस्थ्य धारणा होइन । फ्रस्टेशनमा पर्ने अनेक कारणहरु हुन सक्छन् । धेरै मानिस परिरहेको हुन्छ । यसले सोचको तहलाई यति पीडामय पनि बनाइदिन्छ की मान्छे साँच्चैको एकाग्र बन्न पनि पुग्छ । कुनै विषयभित्र मात्र हराउँछ, डुव्छ त्यसबाट निस्कनका लागि उसलाई कठिन हुन्छ । आशाबीच ऊ निराशाभित्र दबिइरहेको हुन्छ । यसका अनेक जटिल उदाहरणहरु पनि छन् तर सानो मेरो मित्रको कथालाई राख्नु उचित ठान्छु । 
आधा रातमा फोन गरी आँसुका फोहरा छुटाउने एकजना मेरो मित्रको स्वाभिमान खोसिएछ । उसको स्वाभिमान थियो– कर्ममा सँधै अव्वल हुने र अभिमानमा बाँच्ने । उसँग कर्म गर्नसक्ने क्षमता त थियो नै, त्यसमा कसरी अब्बल हुने भन्ने अर्को पक्ष पनि बलियो थियो । तर, नेपाली समाजमा कर्म गर्नेहरुको पतनको बाटो विभिन्न जाल झेलले तय गर्छ । त्यहि जालझेलको सिकार भएको मित्रले आँसु खसाउँदै भन्यो– म जीवनमा ओरालो लागेको मान्छे भएँ । यतिवेला मैले जे गरिरहेको छु, सवै गलत भइरहेका छन् । सायद मेरो प्रस्तुतीहरु पनि गलत नै छन् र कोही पनि मसँग खुसी छैन । 
मेरो उसलाई सुझाव छ– आत्मबल बलियो बनाऊ मित्र, दुनियाँ तिम्रो पछि फेरि दौडने छ । बलियो आत्मबलले कर्म पनि असल हुन्छ, कर्म सफल भएपछि हर कुरा राम्रो देखिन्छन् । अहिले तिमी चर्किएको ऐना भएका छौ, मान्छे हेर्न डराउँछन् यसलाई जोड्ने प्रयत्न गर । तर, उसको त्यो निराशासहितको भयको अन्त्य गराउनका लागि मैले अनेक सहानुभूतिका शव्दहरु दिइरहेको थिएँ । 
मनोवैज्ञानिकहरु भन्छन्– इच्छाएको कुरालाई प्राप्त गर्न नसक्दा दिमागमा हुने डर र आवेग फ्रस्टेशन हो । पीडा अभिव्यक्त गर्ने भय, समस्या देखाउन नसक्ने पीडाले मान्छेलाई फ्रस्टेशन गराउँछ । हजार समस्याहरुको चाङमाथि उभिएर फिस्स छाडेको हाँसोमा पनि फ्रस्टेशन झल्किन्छ । संवेदनाको घडीमा रिस, आवेगको दोहोरो भिडन्तलाई छातीमा राखेर हिँड्दा तनाव हुन्छ । त्यसलाई बन्द गर्नका लागि केही उत्पादक काम गर्नुपर्छ जसले आनन्द महसुस गराउँछ । भुलिदेउ सारा पीडा र खुसीमा रम्ने कोशिश गर । 
मान्छे दुई प्रकारले कमजोर हुँदै जान्छ अर्थात् फ्रस्टेशनमा पुग्छ । एउटा आत्मविश्वासको कमी र अर्को आत्मविश्वास गिराउने बाहिरी खेलका कारण । चुनौतिहरुसँग सामना गर्न सकिन्न कि भन्ने त्रास, इच्छाहरु पुरा हुन सक्तैनन् की भन्ने डर अनि सामाजिक परिवेशमा घुलमिल हुन नसकिएला कि भन्ने अर्को डरले पनि कमजोर बन्दै जान्छ, आत्मविश्वास  । तर यति हुँदाहुँदै पनि फ्रस्टेशनमा भएका मानिसहरु कसरी चिन्न सकिन्छ र ? भनिन्छ– हाँसो र आँसु दुवै फ्रस्टेशनका संकेतहरु हुन्छन् । तिनीहरु थकानका कारणहरु हुन्छन् । मान्छेहरु ठान्छन् आँसु जहिले पनि कमजोरीको संकेत हो । तर, होइन तिनीहरु तनावले उत्पन्न गरेका कारणहरु हुन् । तनावले कहिलेकाहीँ मानिसका सोचहरुको गहिराईलाई आफ्नो अन्त्यको परिणामसँग पनि जोड्छ । त्यसकारण विश्वभर आत्महत्याहरु बढेका हुन् । खासगरी, भावनात्मक ठेस लागेपछि मानिस फ्रस्टेशनमा पुग्छ र उसले निकासका लागि कठोर निर्णयसम्म पनि गर्दो रहेछ । फ्रस्टेशनले आत्महत्या मात्र होइन, अपराधको बाटो पनि समात्न सक्ने रहेछ । आवेगको परिणामका कारणहरु विभिन्न हत्याका समाचारहरुले पनि पुष्टि गरेका छन् । जस्तो प्रेमिका हत्याका कारणहरु खुलेका थिए । विदेशबाट आएको प्रेमीले प्रेमिकाको हत्या किन ग¥यो ? श्रीमान्ले श्रीमतिको हत्या किन ग¥यो ? यातनाहरु किन भए ? किन भइरहेका छन् ? पतीपत्नी र परिवारसहितसम्मका आत्महत्या किन भइरहेका छन् ? यी सवै फ्रस्टेशनका परिणतिहरु हुन् ।
निराशबाट आशावादी हुनका लागि अवसरको खाँचो चाहिन्छ । कुनै पनि भावलाई कर्ममा परिणत गर्ने अवसर पाएन भने मान्छे फ्रस्टेशनमा पुग्छ । मुलुकमा रोजगारीको अवसर नहुँदा ठूलो युवा जमातको दिमागमा अहिले के चलिरहेको होला ? उनीहरु कति फ्रस्टेशनमा परेका होलान् ? अन्दाज गरौं त ? त्यसैले त्यसबाट मुक्ति पाउनका लागि शान्तिको खोजी गरौं । कोही अशान्तिमा भए कृपया यो पागलहरुको काम बन्द गरौं, जसले आफैंलाई कमजोर बनाउँछ । 

No comments:

Post a Comment