Sunday, July 1, 2012

जग्गा बेचेर मलेशिया

काठमाडौं–कपिलबस्तुका श्यामकुमार मेहता माला लगाएर मलेशिया प्रस्थान गर्न लागेका थिए । प्रफूल्ल भएर अन्तर्राष्ट्रिय विमानस्थल तिर लम्किरहेका मेहताको सपना पैसा कमाउने र गाउँमा शानसँग बस्ने योजना छ । मेहताका गाउँका धेरै साथीभाई विदेशमा गएर पैसा कमाइरहेका छन् । साथीभाईभन्दा आफूपनि कम नहुने सोच उनको छ । भन्छन्–‘तीन वर्षका लागि मलेशिया हिँडेको हो । फर्निचरको कामका लागि जान लागेको हुँ ।’ उनीसँग दुई दर्जन युवाहरुको समूह पनि छ । सवैजना वैदेशिक रोजगारीका लागि मलेशिया नै गएका हुन् । कुपण्डोलमा रहेको अरोरा म्यानपावर कम्पनीमा मार्फत उनीहरु फर्निचरको कामका लागि मलेशिया हिँडेका हुन् । भन्छन्–‘९५ हजारका दरले हामीले रकम बुझाएका छौं । राम्रो काम हो भन्ने आश्वासनमा हामी जान लागेका हौं ।’ श्यामकुमार गाउँमा भएको जग्गा डेढ लाखमा बेचेर मलेशिया जान लागेका हुन् ।
नेपालमा अवसरको कमी भएपछि युवाहरु मलेशिया लगायतका मुलुक रोजगारीका लागि जान बाध्य छन् । ‘फर्निचरको काम खोल्न सकिन्न, यहाँ भनेजति पैसामा काम गर्न पनि पाइन्न ।’ श्यामकुमार भन्छन्–‘त्यसैले पैसा कमाउनका लागि मलेशिया हिँडेको हुँ ।’ उनका गाउँका अन्यसाथीहरु पनि मलेशियामा फर्निचरको काम गरिरहेका छन् । उनीहरुको सल्लाह लिएर पनि हामी मलेशियाका लागि हिँडेका हौं ।’ अर्का युवा बृजेश मण्डल भन्छन्,‘यहाँ फर्निचरको काममा राम्रो पैसा छैन । त्यहाँ कम्तिमा पनि छ सय रिङ्गेट हुने भएपछि हामी जान तयार भएका हौं ।’ उनीहरुको न्युनतम तलव पाँच सय ४६ रिङ्गेट हुने सम्झौतामा हस्ताक्षर गरेका छन् । मलेशिया जानकै लागि उनीहरुको समूहका सवैजसाले जग्गा बेचेर लगानी गरेका छन् । ‘श्याम, बृजेश, हरेराम लगायतका हामीले जग्गा बेचेर नै विदेश जान लागेका हौं ।’ कपलेश्वर सदा भन्छन्,‘हामी सवै गाउँमा फर्निचरको काम गरिरहेका थियौं ।’ सदा पनि गाउँमा भएको पाँच कट्ठा जग्गा बेचेर त्यसैको पैसाले वैदेशिक रोजगारीका लागि मलेशिया हिँडेका हुन् ।
खाडी राष्ट्रबाहेक कम लगानीमा राम्रो आम्दानी हुने मुलुक मलेशिया हो । घरेलुदेखि ठूला उद्योगसम्म पनि विदेशी कामदारको माग ज्यादा हुने गरेको छ । तर, कतिपय म्यानपावरको ठगीको धन्दा हुँदा पनि पीडा खेप्नुपर्ने बाध्यता हुन्छ । छ वर्ष मलेशिया बसेका पदम पुलामी भन्छन्–‘म पनि फर्निचरको काममा गएको थिएँ । तर, पैसा कमाउन सकिएन ।’ फर्निचर बाहेकका काममा गएका युवाहरुले मेहनत गरेर राम्रो आम्दानी पनि गरिरहेका छन् । यस्तै गाउँमा भएको केही जग्गा बेचेर ८५ हजार रुपियाँ तिरेर मलेशिया पुगेका युवराज घिमिरे अहिले त्यहीँ कार्यरत छन् । उनको आम्दानी ठिकै भइरहेको छ । घिमिरे भन्छन्–‘अहिले म महिनाको नेपाली ३८ हजार रुपियाँ कमाउन्छु । एक निर्माण कम्पनीमा म काम गरिरहेको छु ।’ उनी  डेढ वर्ष अघि मलेशिया पुगेका थिए । उनी सिम रे इडी कम्पनीमा कार्यरत छन् । भन्छन्–‘मेरो काम त्यति नराम्रो छैन, ठिकै छ पैसा कमाई पनि राम्रै छ । विदेश आउन बेचेको जग्गा उकासिसकेको छु ।’
नेपाली श्रमिकका लागि मलेशिया राम्रो गन्तव्य हो । अहिलेसम्म सवैभन्दा बढि नेपाली कामदार मलेशियामा नै छन् । वैदेशिक रोजगार विभागका अनुसार करिव पाँच लाख नेपाली श्रमिक मलेशियामा छन् । मलेशियामा रहेका नेपाली कामदारको समस्या खाडी राष्ट्रको जस्तो छैन । मलेशिया अलिक खुल्ला देश भएका कारण पनि नेपाली युवाको आकर्षण बढेको छ । कम लगानीमा राम्रै आम्दानी हुनसक्ने मुलुकका रुपमा मलेशियालाई बुझिन्छ । विभागका अनुसार अहिले निर्माणको काममा मलेशियामा नै श्रमिकको माग बढेको छ ।

पैसा कमाउन कहीँ सजिलो छैन

सुनसरी हाँसपोसाका समीत राई झण्डै आठ वर्ष कुवेत बसे । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राइलाई त्यहाँको कमाइले नेपालमा व्यावसाय गर्न मद्दत ग¥यो । उनको विदेशको कामबारेको अनुभव उनकै शव्दमा

सन २००० मा काठमाडौंको सुन्धारामा रहेको इमास्को म्यानपावर कम्पनीमा ७० हजार तिरेर कुवेत गएको थिएँ । काठमाडौंबाट दोहा हुँदै म कुवेत पुगेको हुँ । कुवेत पुगेपछि थाहा भयो जुन भिसाका लागि हामीले त्यत्रो रकम तिरेका थियौं, त्यो फ्रि भिसा थियो भन्ने । म रेष्टुरेन्टको कामका लागि कुवेत गएको थिएँ । कुवेतको नामी अल हमाइजी फुड ग्रुपको वर्गर किङ रेष्टुरेन्टको भिसामा कामका लागि पुगेको थिएँ । त्यसबेला २०० केडीआर अर्थात दिनार तलव दिन्थ्यो । सन् २००० तिर त्यो रकम झण्डै १७ हजार रुपियाँभन्दा ज्यादा हुन्थ्यो । विश्वमा नाम कहलिएको वर्गर बनाउने कम्पनी भएका कारण मलाई काम गर्नका लागि त्यति असहज भएन । मैले कुवेत बसुन्जेल एउटैमात्र कम्पनीको विभिन्न क्षेत्रमा रहेर काम गरेको छु । बेलामौका मेरो कम्पनीसँग कुरा मिल्दैनथियो । म कस्टुमर केयर सेन्टरमा काम गर्दथें । हामीलाई प्रि मेम्बरका रुपमा राखिएको थियो । त्यो त्यहाँको एउटा पोष्ट रहेछ । घरको आर्थिक स्थिति कमजोर भएकै कारण म कुवेततिर लागेको थिएँ । पैसा कमाउन सजिलो थिएन तर जति गाह्रो सोचेको थिएँ त्यति समस्या मैले झेल्नु परेन । तर, परदेश भएका कारण त्यहाँको भाषामा केही समस्या हुन्थ्यो । म अंग्रेजी बोल्न जान्ने भएकाले त्यहाँ एकअर्कासँग बातमार्नका लागि कठिन भएन । कुवेती र त्यहाँ कार्यरत अन्य देशका सहकर्मीहरु अंग्रेजी राम्रोसँग बुझ्दथे । यद्यपि, त्यहाँ आउने कुवेती ग्राहकहरुसँगचाँही बोलचालमा समस्या हुन्थ्यो, धेरैजसो मेनु र खानाको परिकारको नाम भनेपछि बुझ्न सजिलो भयो ।
केटामानिसका लागि कुवेत त्यसबेला पनि त्यति असहज थिएन । तर, महिलाका लागि निक्कै नै चुनौतिपूर्ण थियो । कुवेत गएर काम सिकेर आइयो तर त्यहाँ रहुञ्जेलमा तीन जना नेपाली केटीको उद्दारमा सहयोग पनि गरेको म अहिले विर्सन शक्तिन । रामेछापकी डोमा शेर्पा पाल्पाकी शेर्पा थरकी एकजना युवती हाउसमेडमा काम गर्नका लागि गएका रहेछन् । तर, उनीहरुले काम गर्ने घरमा साहुले रगताम्य हुनेगरि यातना दिने र विभिन्न प्रकारले प्रहरीसमक्ष पनि पुग्न दिएका थिएनन् । सडकमा भेटेपछि उनीहरुको दुख सुनेर साउदी अरबमा रहेको नेपाली दुतावासमा जानकारी गराएर उनीहरुको उद्दारमा मद्दत गरियो । हर प्रकारको यातना उनीहरुले पाउँदा रहेछन् । शेर्पाको त अर्धनग्न अवस्थामा शरिरमा चोट र दाँत भाँचिएको अवस्थामा मैले फेला पारेको थिएँ । ती चेलीलाई विभिन्न नेपाली संस्थाको सहयोगमा रकम जुटाएर नेपाल पठाउनसक्नु मेरो पहिलो र राम्रो काम थियो । त्यसपछि त्यहाँ काम गर्ने शिलशिलामा विदेशी शैली र काम गर्ने तरिकालाई चिन्नु मेरो राम्रो कमाइका रुपमा लिएको छु । पैसा पनि कमाइयो, अलिअलि तर पैसा कमाउन यहीँ पनि सजिलो नभएका कारण विदेशमाचाँही सजिलो भयो भन्दिन म । पैसा कमाउन जहाँपनि गाह्रै हुँदो रहेछ ।
मेरो भिसा २००४ मा सकिएका थियो । भिसा थपका लागि कुनै पहल भएको थिएन । कम्पनीले पनि मेरो भिसा थप्ने विषयमा त्यतिवेला चासो दिएको थिएन । किनभने मेरो त्यहाँको म्यानेजरसँग सामान्य भनाभन भएको थियो । म आफ्नो काममा घमण्ड गर्ने भएकाले म्यानेजरले मलाई निकाल्ने सोच बनाएको थियो । मैलेपनि केही गरिन । पछि भिसाको म्याद नथप्दा मलाई ६ सय ५० केडीआर झण्डै डेढ लाख रुपियाँ पेनाल्टी तिर्नुपर्ने अवस्था भयो । मैले तिरिन । कम्पनीमा झगडा भएपछि मेरो भिसा थपिएको थिएन । जसका कारण मलाई रातो पत्र पठायो प्रहरीले नियन्त्रणमा लियो । तर, मैले पाँच वर्षसम्म राम्रो काम गरेका कारण कम्पनीको मुख्य मालिकले भिसा थपेर फेरी मलाई काममा राख्ने निधो गरेछन् । दुई दिन जेल बस्दा त्यहाँभित्रको सुविधा देखेर म त छक्क परें । कुवेतको जेल पनि कुनै होटलको सुविधाभन्दा कम थिएन । हर प्रकारका सुविधाहरु थिए, व्यवाहार पनि नराम्रो नगर्ने । हर खाने समयको ख्याल गरेर कैदीलाई सुरक्षित राख्ने चलन रहेछ । मलाई त्यहाँको एकजना राजा शेख मरेको दिन पक्राउ गरेको थियो । शेखको नाम अहिले थाहा भएन । २००५ को जनवरी २ मा त्यहाँ शेखको मृत्यु भएको थियो ।
पछि कम्पनीले निकालेर २ वर्षको भिसा थप्यो । मलाई कम्पनीले इराकको अलताजी भन्ने ठाउँमा रेष्टुरेन्ट इन्चार्जका रुपमा पनि घोषणा गरेको थियो । तर १४ फेब्रुअरी २००६ मा मेरो ग्रेड घटायो । ग्रेड घटेपछि मलाई काम गर्न मन लागेन । जुन कम्पनीमा २ वर्षमा छ पटक ग्रेड बढेको थियो, त्यहाँ एक पटक घटाउँदा पनि चित्त बुझ्दो रहेनछ र म फेरि कम्पनीबाट टाढा बसेको थिएँ । पछि यताउती काम गर्दै म नेपाल फर्किन बाध्य भएँ । कुवेतमा मैले काम गरेको रेष्टुरेन्ट वास्तवमा राम्रो थियो । त्यहाँ धेरै नेपाली कार्यरत छन् । पैसा पनि राम्रैसँग कमाई हुन्थ्यो । बजारमा सामान पु¥याउन जाँदा आफ्नो सामान पनि बेच्न पाइन्थ्यो र त्यसरी पैसा कमाइ हुन्थ्यो । मैले ७ वर्षभन्दा बढि बस्दा झण्डै २० लाखजति कमाएछु । सवैले त्यति कमाउन सक्छन् । अहिले सोही पैसाले आफ्नै ठाउँमा लगानी गरिरहेको छु । त्यहाँ कमाएको पैसा रियल स्टेटमा लगानी गर्दा आम्दानी राम्रो भयो । अव धरानमा समस्या रहेको खानेपानी आपूर्तिका लागि पानीको प्लान्ट लागाउने योजनामा पनि छु । 

शुक्रबार साप्ताहिकमा प्रकाशित

No comments:

Post a Comment