Tuesday, August 12, 2025

माननीय सोबिता जी, जबसम्म घाउचोट देखिन्न त्यो बलात् होइन क्या बात्!


धेरै घोत्लिएपछि यो आलेख लेख्दैछु। यो लेख्दा लेख्दै मैले धेरै चिजलाई स्मृतिमा ल्याएको छु। मेरो एक स्ट्याटसमा माओवादीका नेताहरूबाट फोनमा आएको दबाब स्मरण गरेको छु।

म दबाबमा आएँ भने यो राजनीति मेरा सीमित पाठक नै रहुन्, उनको चित्तमा ठेस पुग्छ। म अचम्मित यसकारण छु कि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जसले माओवादीकी नेत्री अनि पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गरिन्, तिनलाई प्रश्न गर्छु भन्दा माओवादीको टाउको किन दुख्यो? 

यसका अनेक कारण छन्, समयक्रममा खुलाउनेछु। 

गाली गर्नेले मज्जाले गर्नुहोला। पत्रुकार भन्नुहोला, बिरोधी भन्नुहोला। कांग्रेस एमालेको झोले पनि भन्नुहोला। भन्न पाइन्छ। 

मैले जीवनमा २३ बर्ष पत्रकारिता गर्दा जननेता मदन भण्डारीबाहेक कसैलाई पनि नेता मानेको छैन। त्यो लिगेसीमा सदन विघटन सदरबाहेक विद्या भण्डारीको सम्मान गर्छु, राजनीति गर्नेवाला छैन। 

यो मेरो प्रष्टीकरण हो। जेनजीले पढेको हो भने यो मेरो ‘डिस्क्लेमर’ हो। 

म विषयबस्तुमा प्रवेश गर्छु, अब। 

यो आलेख श्यामश्वेत छ। अहिलेको पुस्ताका लागि भने यो ‘ब्लाक एन्ड ह्वाइट’ हो भन्ने अनुवाद गरेको छु।

मैले आशा देखेको तर तर्क र विषयबस्तुमा कुनै दम नभएकी रास्वपा सांसद सोबिता गौतम र उनका सभापति रवि लामिछानेको अपराध स्वीकारोक्तिको। चर्को बोल्ने अनि नेपोलियन बोर्नापार्टले भने जस्तो सय सैनिकलाई झूठलाई सत्य भन्न लगाउने प्रवृत्तिको अनुसरण राजनीतिमा भयो भने त्यो गलत हुन्छ। म फेरि इन्भर्टेड कमामा राखेर लेख्छु– त्यो अत्यन्त्य ‘गलत’ हुन्छ। 

निर्वाचन क्षेत्रमा पुग्दा प्रश्नको सामना गर्न नसकी सदनमा आँसु झारौंलाझैं गरेर रोदन गर्नु बलात् थियो। बलात् त्यो थियो थिएन जब टेलिभिजनमा अन्तरवार्ता दिँदा जुन महिलाको शरिरमा घाउचोट लागेको हुन्न त्यो ‘बलात्कार होइन’ भनेर पीडितको अपमान गर्दा?

म प्रश्न गर्छु– त्यो बलात् मुद्दा हो कि होइन जब पार्टी गठनपूर्वको रवि लामिछानेले सहकारी ठगीमा संदीग्धता देखाएको? 

म प्रश्नमाथि प्रश्न थुपार्छु– तपाईको प्रतिरक्षाका लागि माओवादी र वाईसीएल अनि आन्तरिक दबाब किन आउँछ? यो बलात् हो कि होइन?

म त्रसित त कदाचित हुन्न। २३ बर्षको दौरानमा २३ हजार धम्की आउँदा पनि नेपाल पत्रकार महासंघलाई विज्ञप्ति निकाल भन्ने मान्छेमा पर्दिन, म। आफैं सामना गर्छु। उपप्रधान र गृहमन्त्री भएका बेला नारायणकाजी श्रेष्ठसम्मको पहुँचमा आएका धम्कीका कथाछन्, त्यो मेरो उत्तरार्धको पुस्तकमा आउला। 

‘म बिगो तिर्छु, बाहिर बस्न देऊ’ भन्नु अपराध स्वीकार गरेको हो कि होइन? म प्रश्न गर्छु– के बरिष्ठ अधिवक्ता, संविधानविदभन्दा यो मुलुकमा जान्ने सोबिता गौतम हो?

म कुनै अमुक महिलामाथि प्रश्न उठाइरहेको छैन। काठमाडौं क्षेत्र नम्बर २ मा जनताले मत दिएर जिताएको सार्वभौम सांसदलाई प्रश्न गर्ने प्राधिकार यो देशको कुनै पनि नागरिकले राख्छ। म, आज कुनै पत्रकारको हैसियतमा सोधिरहेको छैन। म नागरिकका हिसाबमा सोध्छु– रास्वपाले चन्दा उठाउनु बलात् हो कि हैन? इच्छाअनुसारको कुरा भन्नु गलत हो, बैंक खाताको क्यूआर राख्नु नै गलत हो। 

सोबिता गौतमले कहिले प्रश्न गरेकी छन् सभापतिलाई कि ‘रवि लामिछाने फाउन्डेशनको पैसा निकिता पौडेलको खातामा किन पठाउनुभयो?’ जनतासँग सहयोग माग गरी निजी खर्चका निम्ति रकम पठाउनू बलात् हो कि होइन? म सार्वभौम सांसदसँग उत्तर चहान्छु। 

रास्कोटमा अस्पताल खोल्ने भनी उठाएको रकमको सदुपयोग भयो कि दुरुपयोग? त्यसका प्रमुख भनिने मुकुल ढकाललाई पार्टीबाट लखेटेपछि त्यो रकमको विषयमा प्रश्न गर्ने दायित्व रास्वपाका सांसदको हो कि होइन? त्यो बलात् भएन?

आवेग, उत्तेजना र तिव्र महत्वकांक्षा राजनीति होइन। चुनाव जित्नु राजनीति होइन। सांसद बन्नु, मन्त्री बन्नु राजनीति होइन। त्यो त शक्तिमा पुग्ने अतृप्त अनि दुराचारी मनसायभन्दा केही पनि मान्दिन, म। 

राजनीति जान्नु छ या बुझ्नु छ भने थेम्बा लिनस डलामिनीको दर्दनाक कथा, अनुभवलाई अध्ययन गर्नुहोस्। 

साठीको दशकको सुरुवातमा एमके अपरेटिभको रूपमा तोडफोडको कार्यमा भाग लिएपछि उनी निर्वासनमा गए। उनलाई काउन्टर–इन्टेलिजेन्स तालिमको लागि सोभियत संघ पठाइयो र समुद्री जहाजमा स्टोवावेको रूपमा पुनः दक्षिण अफ्रिका प्रवेश गरे। 

जब कुख्यात विशेष शाखाले अन्ततः उनलाई समात्यो, उनलाई यातना दिइयो, मुद्दा चलाइयो र रोबेन टापुमा अठार वर्षको कडा परिश्रमको सजाय सुनाइयो।

१९७९ मा उनको रिहाई पछि उनी मुक्ति संघर्षमा प्रतिबद्ध रहे, दक्षिण अफ्रिकी नागरिक संगठनको लागि काम गरे र संघर्षग्रस्त प्रान्त नतालमा एएनसीको लागि समर्थन जुटाउन आफ्नो जीवन जोखिममा पारे। 

थेम्बा डलामिनीको मनमोहक व्यक्तिगत विवरण पनि छन्।  एमकेमा भर्ना भएदेखि दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलमा उनको अन्तिम समायोजनसम्म, क्रूर उत्पीडनको सामना गर्दा ठूलो साहसको अत्यन्तै प्रेरणादायी र बहुमूल्य प्रमाण छन्। 

उनको जीवन पढ्नुहोस्। विकल्पलाई सहयोग गर्ने, मत हाल्ने, नसके आफैं उठ्ने भन्ने जस्ता भ्रम र भ्रामक दृष्टान्त केबल फोहोरी राजनीतिका चस्मिस तर्क बन्न सक्छन्। ति तर्क खारेज गरिन्छ। 

अब रह्यो, रास्वपाको किन चिन्ता लिएको? कांग्रेस एमालेले लुटेको देखिनस् भन्ने। 

त्यहि देखेर आश लागेको दलको हविगत देख्दा झन् रिस उठ्छ। नेपालीमा उखान छैन, आश लागेकी बुहारी खै केजाति भन्ने? हो, जब मानिसको आशा र भरोसामाथि बलात् करणी हुन्छ नि, पीडा असाध्य हुन्छ। 

हिजो एक जनाले मलाई भनिरहेका थिए,‘रास्वपाको किन बिरोध गरेको? ५० बर्षदेखि कांग्रेसलाई माया गरियो, केही भएन। अब रास्वपालाई गर्छु, किन बिरोध गरेको?’ 

मैले उनलाई जवाफ दिएँ,‘तपाई जुन आशा, विश्वास र कल्पनामा रास्वपालाई समर्थन गरिरहनुभएको छ नि, भोलीका दिनमा तपाईलाई पक्षघात नहोस् भनेर सचेत गराउने मेरो कर्म हो, त्यहि गरिरहेको छु।’

जबसम्म व्यक्ति, राजनीतिक व्यक्तिले आफ्नो कमजोरीलाई स्वीकार गरेर गलत र सही कुराको विषय समाजमा दिन सक्तैन, त्यो समास होइन, बिग्रहका रुपमा जनताले बुझ्छन्।






Monday, January 13, 2020

नेपालको पत्रकारिता : बाघको छाला बर्को, गधाको मौका

विनोद ढकाल

पत्रकारिताले तिमिलाई मार्नेछ तर तिमि जिउँदो पनि हुनेछौ जब यसभित्र मात्रै रहन्छौं ।

लगभग दुई दशकको नजिकसम्म पुग्दा पत्रकारिता पेशाकै क्रममा परिचय बनाएका कतिपयले अनौपचारिक कुराकानी गर्दा सोध्छन्के छ हालखबर ?

बाँचिएकै छ ।

स्कुलमा बुझ्न सक्ने कक्षातिर हुँदा मास्टरले सोध्ने गर्दथेबाँच्नका लागि खाने कि, खानका लागि बाँच्ने ?

यो त कुखुरा पहिला भयो कि अन्डा पहिला आयो भने जस्तो प्रश्न भयो ।

मास्टर भन्थे,‘तिमीसँग प्रतिप्रश्न गर्न सक्ने र त्यसैमा उत्तर खोज्ने सीप छ, अक्षर पनि राम्रो छ । पक्का नेता बन्छौ ।

राजनीतिसँग दूर दूरको कुनै सम्बन्ध थिएन । नजोडौं भन्दा भन्दै पेशागत काममा सक्रिय रहँदा तत्कालिन प्रेस चौतरी सुनसरीको सदस्यता दिइयो । राजनीति त्यसबेला बुझियो यो इमान भएको मानिसको चिज होइन । एक बर्ष पनि नभई राजीनामा गरी विशुद्ध पेशागत काममा सक्रिय भइयो । जारी छ ।

उमेर धेरै थिएन, पेशागत म्याराथनमा आफ्ना सहकर्मीलाई अलिक पछाडि नै छाडेर अगाडि बढ्ने क्रममा राजधानी काठमाडौं छिर्ने कौतुहलता जाग्यो । छिरियो, पेशामा हिँडियो, संगत बढ्यो । 

परिचयको दायरा अझ बलियो भयो । मोफसलबाट राजधानी छिरेको मान्छेले नाम चलेका कलाकार देख्दा, नेता भेट्दा दंगदास पनि भइयो होला । कर्म गर्न छाडिएन ।

पोखरीमा सलबलाइरहेको माछो जबसम्म समुद्रमा हाम फाल्दैन, उसलाई त्यो पानीको स्वाद, त्यहाँभित्र रहेका ठूला साना माछाको हैसियत र शक्ति थाहा हुँदैन भन्ने सुनेकै हो । नयाँ कुरै भएन । तैपनि संघर्षको मैदान जति ठूलो भयो, प्रतिस्पर्धी जति धेरै भयो सीपमा निखार त्यति नै बलियो गरी आउँछ भन्ने सुनेकै हो ।

मोफसलमा सीप विकास गरेका साथीहरूलाई एउटा सुझावसहितको अनुभव सुनाउँछु । राजधानी सीपले हैन चिपले चलेको छ । चाकरीले चलेको छ । गुलामीले दौडिएको छ । जहाँ जागिर छ मालिकको चाकरी गरे हुन्छ, सीप माध्यमिक विषय हो ।

अब खास विषयमा प्रवेश गर्छु । काठमाडौंमा देखिएको, भेटिएको र यसले जिल्लाजिल्लामा विस्तार गरेको पत्रकारिताको राजनीतिकरण, दलालीकरण र गैरव्यावसायीकरणको भित्रि कथा ।

आम नागरिकलाई स्पष्ट उत्तर छयहाँ स्वतन्त्र पत्रकारिताको बहस तिव्र छ । हरेकका ओठका अनिवार्य शव्द हुन् । स्वतन्त्र भएर कोही बाँच्नेवाला छैनन् । स्वतन्त्र हुनु भनेको, राजधानीमा राम्रो खर्चबर्च गर्न नसक्नु, जग्गा घर किन्न नसक्नु, सुखसयलमा बस्न नसक्नु हो । पेशाले के दिन्छ र ? धेरै भन्दा धेरै दिए न्युनतम तलब, १९ हजार ५ सय ।

अचेल भाऊ बढेको छ । ५० हजारसम्म पुगेको छ भन्ने सुनेको छु । तर यसले पनि काठमाडौंमा हाइप्रोफाइल जीवन बाँच्न कठिन छ । त्यसैले यहाँ, ‘नेकपा पत्रकार, नेका पत्रकार, समाजवादी पत्रकार, मधेसी पत्रकार हुनैपर्छ । यतिमात्र होइन, चौधरी, खेतान, दुगडलगायत पत्रकार हुनपर्छ । भारती, अधिकारी या ठूला कन्स्ट्रक्शन पत्रकार हुनैपर्छ ।

नेकपाभित्र ओली, नेपाल, प्रचण्ड, पुन, शर्मा पत्रकार बन्नपर्छ । कांग्रेसभित्र देउवा, खाँण, निधि, कोइराला, सिटौला, सिंह, थापा पत्रकार बन्नपर्छ । यस्तै यस्तै । र, ओठमा हुनुपर्छस्वतन्त्र पत्रकारिता । माइतिघरतिर नाराजुलुसमा जानैपर्छ । यो हो, योग्यता ।

धेरैले व्याख्या गर्ने अनेक शव्द निकाल्न सक्छन् । यहि धरातलको सत्य हो । अपवादबाहेकका कुनै व्यक्ति भेट्ने रहर मलाई पनि छ ।
मेरो सिधा तर्क होनेपालको पत्रकारिता : बाघ छालाको बर्को, गधाको मौका लिने पेशा बनिरहेको छ ।

कुनै पनि मानिस उसँग डराउनपर्छ, उसलाई फकाउन पर्छ । किनभने, उ पत्रकार हो । उसले लेख्छ, ठोक्छ, बेइज्जत गराउँछ । उसँग नियतमात्र होइन, नियति बनाइदिने ताकत छ । 

२ कक्षामा एउटा धोवीको गधा चर्न नपाउँदा बाघको छाला ओढेर धानबाली छिर्दा गाउँले डराएका थिए भन्ने कथा पढिएको थियो । अहिले यस पेशालाई धन्दा बनाउन थालिएको देख्दा मन कुँढिन्छ ।

खासमा पत्रकारिता पेशा अँगाल्नेको ध्येय भनेको टम स्टोपार्डको विश्वलाई परिवर्तन गर्नु छ भने पत्रकारिता छोटो समयको राम्रो हतियार हो, विश्वास गर्नुपर्छ भनाईसँग मिल्नुपर्ने थियो । यो भनाईले राजनीतिदेखि अनेक क्षेत्रमा भएको बेथितिलाई थितिमा बदल्नका निम्ति पत्रकारिता हुनुपर्ने थियो ।

माथि उल्लेख गरेका विषयले यो भनाईको समानान्तर नेपाली पत्रकार र पत्रकारिता हिँड्न सक्ला ?
हो, यहि बेथितिलाई बुझेको राज्यले अब हातखुट्टा बाँध्दैछ । आजित भएका राजनीतिज्ञ र व्यक्ति, पेशालाई धन्दा बनाएको बुझेका मानिस सत्तामा रहेका कारणले कानुनको सीमाभित्र बाँध्ने कोशीश भइरहेको छ । उसले पनि बारम्बार भन्छ निम पत्रकारिता क्षेत्रबाटै आएको हुँ । हो, उसको बुझाईको पत्रकारिताको कसीमा टेकेर कानुनको डन्डा चलाउने कोशीश भइरहेको छ ।  

नेपालमा चलिरहेको अहिलेको बहस मिडिया काउन्सिल विधयेक, सूचना प्रविधि विधयेकमा छ । यो सरासर नेपालको पत्रकारिता पेशासँग जोडिन्छ, ठोक्किन्छ राज्यको नियतको कारण । भएका एकाध भूल अब गल्ती हुनेछन् । त्यसको भागिदार नियोजित रुपमा कानुनको नियतबसको प्रयोगले हुने कारबाहीको नियती पत्रकारले भोग्नुपर्ने हुन सक्छ । यसका धाराधारा र बुँदा बुँदामा बहस गरी नियतलाई निकालेर कानुन बनाउन दबाब दिनु नै छ ।

यो जिम्मेवारी पत्रकारको मात्र होइन, पत्रकारितालाई माध्यम बनाई त्यसका साधक मानिने जनताले पनि गर्न आवश्यक छ । सचेत जनता यी कानुनमा राखिएका नियतविरुद्ध ओर्लनेछन् वा छैनन् त्यो हेर्न बाँकी छ । यसो गर्दैगर्दा बेथितिमा रहेका पत्रकारलाई पनि सामाजिक दण्ड आम मानिसबाट हुनैपर्छ, बेनकाव गरेर । आम नागरिकले भन्नुपर्छबाघ भनी तर्साउने लुकेर अन्न सक्ने गधा हो, त्यस्ताको हकमा ।

पत्रकारिताको परिभाषाको पनि एउटा सीमारेखा कोर्न आवश्यक छ । मानिसका व्यक्तिगत विचार हुन सक्छन् । पेशागत मर्यादाको सीमाभन्दा पर पुगेर कुनै पनि काम गर्नु उचित हुँदैन । यदि कर्मचारीले पेशागत मर्यादा मिच्दा अख्तियार दुरुपयोग गरेको सजायको भागीदार बन्नुपर्छ भने पत्रकारले बिचौलियाको काम गर्दा किन कारबाहीको भागीदार बन्नु नपर्ने ? पत्रकारिताको बर्कोमा नियतबस ठूला ठूला परियोजनामा शेयर मागिन्छ भने त्यो अपहरणकारीले मागेको फिरौति नै हो । त्यस्ता चिजमा कारबाही किन नहुने ? पत्रकारिता चलाएको साहुका हैसियतमा राज्यसँग नीतिगत तहमा कुनै बार्गेनिङ हुन्छ भने त्यसले कारबाही किन नभोग्ने ?

नियतका आधारमा कसलाई कहाँ खुइल्याउने, खुइल्याउन प्रयोग गर्ने अथवा होस्टाइल हुने पात्र बनिएन भने पनि पत्रकार, पत्रकारिता हुन्छ र ? राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनिदियो, लेखिदियो भने आफ्ना अन्नदाता रिसाउलान् कि भन्ने त्रास र डर मनमा पोको पारिएन भने पनि त्यो पत्रकार हो र ? भन्ने परिभाषा बदल्नु छ । गरिब, निमुखा, किसानको पीडालाई उनका तरेलीबाट लेखिदियो भने अर्डर आउन सक्छपत्रकार भावुक बन्नु हुँदैन । तर, विज्ञापनदाता, ठूला भनिने तर राज्यका करोडौं रकममा चलखेल गर्नेको बिहानी, दिउँसो, बेलुका र रात्री क्लवको कथा प्रोफाइल हुने पो पत्रकारिता हो त । भन्ने परिभाषा कहिले बदलिएला ?

Tuesday, June 20, 2017

त्यो पहेलो पत्रकार !

प्रविधि र मिडियाले अभिव्यक्ति राख्ने फोरम यति फराकिलो बनाएको छ की आफ्ना मनमा लागेका सवैकुरा भन्न अब खसखस मान्नु पर्दैन । फेसबुकले पैसा तिरेका भरमा लाखौं लाइक बढाइदिएकै छ, च्याउसरी खोलिएका अनलाइन न्युज पोर्टलले एककाविरूद्ध अर्काको अभिव्यक्ति खण्डन गर्न पाएकै छ । यति धेरै अवसरबीच पनि आरोप र अभियोग अनि कुराकाट्नेहरूको विषयबाट पर हुन सकेका छैनन् पत्रकार । मन नपर्नासाथ पत्रकार पहँेलो भन्दियो सकियो । तर, त्यो पहेँलो पत्रकारिता के हो ? अझ कतिपयले समाचार कसरी लेख्ने, प्रस्तुत गर्ने भन्ने शैलीको ज्ञानपुस्तिका पनि आफैंसँग बोकेर हिँडेका छन् ।
अहिले नेपाली समाज, एलीट समाजमा पत्रकारलाई गाली गर्ने, पत्रकारितामाथि टिप्पणी गर्ने, मिडिया हाउस हेरेर सवालजवाफ गर्ने, मिडियालाई हेरेर अभिव्यक्ति दिने स्वार्थ बढेको छ । प्रशंशाको कसर नछाडी शव्दको थुप्रो राखिदिए गज्जब पत्रकार ! हेल्लो पत्रकार हुने र कर्तुतको सन्दर्भ जोड्दा एल्लो पत्रकार भन्ने चलन बढेको छ । राजनीति, अर्थ, कलाकारिता, खेलकुदक्षेत्रमा पनि यो व्याप्त छ । के हो एल्लो जर्नालिजम् ? को हो एल्लो जर्नालिष्ट ? माइक देख्नासाथ फुत्त बोलिदिने सरल शव्दको महत्व साह्रै कमजोर नै हो त ? लौ बहस गरौं । 
तथ्यहिन, बस्तुनिष्ठभन्दा बढि काल्पनिक कथालाई अतिरञ्जित गर्ने स्रोतहिन समाचार जसको हेडलाइन पनि अति असामान्य बनाइन्छलाई एकथरीले एल्लो जर्नालिजम् (पीत पत्रकारिता) भनेका छन् । नकारात्मक मात्रै भाव आउने तथ्यको आधार शुन्यप्राय हुने चलनचल्ती जसलाई समाचारीय विषय बनाइन्छ, त्यस कर्मलाई पीत पत्रकारिता भनिन्छ ।
जोसेफ क्याम्पबेलका अनुसार पीत पत्रकारिता धेरै शव्दहरू खर्चेर हेडलाइनलाई आकर्षक बनाई, प्रकारान्तरका शिर्षकहरू राखी त्यसलाई मोटा अक्षरमा प्रकाशन गर्ने, स्रोत नखुलाउने र व्यक्तिगत रूपमा प्रमोशन गर्ने काम हो । यो भनेको समाचारसँग पत्रकारको विचारको घुसपैठ पनि हो । पत्रकारिताको सैद्धान्तिक परिभाषाले समाचारमा पत्रकारको विचारलाई निषेध गर्छ, ‘टिप्पणी, स्थलगत रिपोर्ट, विश्लेषण र सम्पादकीय’ बाहेकमा ।
विनोद ढकाल

फ्रयान्क लुथर मोटले पीत पत्रकारिता ५ आधारबाट हुने जनाएका छन् । १, सामान्य समाचारलाई प्राय अचम्मलाग्दा ठूला हेडलाइन राखेर महत्वपूर्ण स्थानमा प्रकाशन गर्नु । २, तस्बिरका गलत प्रयोग र कतिपय काल्पनिक तस्बिर वा चित्र बनाएर प्रस्तुत गर्ने । ३, झूठा अन्तरवार्ता, गैरजिम्मेबार शिर्षक, काल्पनिक विशेषज्ञलगायतलाई उदृत गरी झूठा प्रचारलाई बल पुग्नेगरी प्रस्तुती गर्नु । ४, हाँस्यास्पद प्रस्तुतीकरणमा प्रकाशनमा ल्याइने ‘बार’ विशेषका अङ्क । र, ५, नाटकीय सहानुभूति र पद्दतीकोविरोधमा हुने प्रकाशन ।
समग्रतामा भाषाले भ्रष्ट बनाएको विचार र विचारले भ्रष्ट भएको भाषालाई विकाउने प्रयत्न पीत पत्रकारिता हुनसक्छ । नेपालमा यदाकदा पीत पत्रकारिताको शैली धेरैबाहेकका केही नदेखिएका होइनन् । तर, यति सामान्य पनि भएको छैन की मनलाग्दी फोरममा मनलाग्दी हिसावले फुत्त पीत पत्रकारिता भनिदिने । यति सस्तो पनि भएको छैन की त्यो ठमेलका पान पसलमा पाइने कण्डम जत्तिको होस् र यति हलुका पनि भइसकेको छैन । बरू यहाँ समाचारीय विषयबस्तु कमजोर बन्न थालेका छन् । पात्रहरूको चरित्र उत्तरआधुनिक शैलीको हुन थालेको छ र मिडिया कभरेजमा असहजता बढ्न थालेको छ ।
आफूलाई सार्वजनिक मानिस बन्न मन लाग्ने, त्यहि कर्ममा जुट्ने तर सार्वजनिक मान्यतालाई स्वीकार नगर्ने प्रवित्ति मानसिक रोगीको मात्रै हुन्छ । अझ, सार्वजनिक जीवनमा प्रवेश गर्नका लागि आफ्ना अति गोप्य र अति संवेदनशीलतालाई सार्वजनिक गर्ने अनि त्यस तथ्यमाथिको टेकाईलाई स्वीकार नगर्ने मानसिकता अझ गहिरो विराम हो । जसको चित्त फाट्छ, पित्त फुट्छ त्यस्ता सार्वजनिक मान्छेहरूलाई सुझाव छ नीजि जीवनलाई सार्वजनिक छतमुनि तमासा नबनाउनुहोस् तपाईको फूलो परेको आँखाले पहँलो पत्रकार देख्ने छैन ।    
अदालत, कानुन र न्यायको घाँटी थिचेर जानाजान करोडौंको डिलमा एउटा प्रहरी अधिकारी नियुक्त गर्ने नेताले भन्छ– पत्रकारिता पीत भयो । करोडौं र अर्बौं रकमको भ्याट छलीमा सहयोग गरेर अर्ब भन्दा बढि लुकाउने कर्मचारीको कर्तुत खुलासा हुँदा भन्छ– पीत पत्रकारिता । कानुन मिचेर दिइने ठेक्का र त्यसका मतियारको खुलासा हुँदा भन्छ– पीत पत्रकारीता । दुनियाँको आँखासामुन्न च्वाप्प म्वाई खाएर विहे गर्न लाग्यौं भनेर घोषणा गरेको कलाकारले भन्छ– पीत पत्रकारिता । पत्रकारिता आफुअनुकुलको रङ छुट्याउने पेशा हो ? नभुलौं पत्रकारिताले दुइटा रङ खुट्याउने र छुट्याउने काम गर्छ, श्यामश्वेत । पत्रकारिताको आधारभूत सिद्धान्तले पनि त्यहि भन्छ । कालोलाई कालो र सेतोलाई सेतो भन्ने काम पत्रकारिताको हो, गर्ने पत्रकार हो । पत्रकारिताको तेस्रो रङ् खोज्नेहरूका शरिर कति रङ्गले भरिएका छन्, आफैं खोज्नुहोस् ।
जसले पत्रकारितालाई यो वा त्यो भन्ने आधारहिन, तर्कहिन र तथ्यहिन अभियोग लगाइरहेको छ, उसलाई पीत पत्रकारिता भन्ने नागरिक अधिकार छैन । तर, यदि उसँग त्यो पत्रकारिता साँच्चै गलत र अपराधको एउटा कारण हो भन्ने प्रमाणित गर्ने तथ्य र आधार छन् भने कानुनका सवै ढोका खुला हुन्छन् । पत्रकारले मनलाग्दी लेख्न पाउने, मनलाग्दी गर्न पाउने र छाडातन्त्रको साँढे बन्ने अधिकार विश्वका कुनै पनि मुलुकका कुनै पनि कानुनले दिएको छैन । झन् नेपालको कानुनमा त विल्कुलै छैन ।

Monday, May 16, 2016

प्रधानसेनापतिको कुकृत्य

सम्पादकीय 

कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ भनिएको थियो । यसमा सेनाको प्रतिरक्षापूर्ण वक्तव्य आउन सक्छ । तर त्यसले नेपाली सेनाको हैसियतबारेको प्रश्नको खण्डन गर्न सक्तैन, सेना राष्ट्रको गौरवमात्र होइन, इतिहाँस बोकेको सुरक्षा निकायको फरक र स्वायत्ततासहितको ठूलो संगठन हो 


प्रधानसेनापति राजेन्द्र क्षेत्रीले जीवनको सवैभन्दा ठूलो गल्ती गरेका छन् । त्यो गल्तीमात्र होइन कुकृत्यको संज्ञा दिनु कुनै आपत्ति हुनेछैन । नेपाली जनताको तर्फबाट त्यो पद, शक्ति र राष्ट्रले दिएको जिम्मेबारीको दुरुपयोग थियो । त्रिभुवन विमानस्थलमा शुक्रबार बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आइपुग्दा स्वागत गर्न नेपाली सेनाका जर्नेल समीर शाही पुगेका थिए । उनी गौचरनस्थित इन्जिनियरिङ निर्देशनालयका निर्देशक हुन् । उनीसँगै त्यहाँ सेनाका अन्य अधिकृतहरू पनि देखा परेका थिए । सेनाको कद भनेको अन्य मुलुकका सेनाको झैं समान हुने गरेको छ । त्यसकारण पनि नेपाली सेनाका प्रधानसेनापतिलाई भारत, चीन, बेलायतलगायतका मुलुकमा मानार्थ प्रधानसेनापतिको फुली लगाउने प्रचलन अहिले पनि चलिरहेको छ । 
विनोद ढकाल, प्रधान सम्पादक
जनप्रहार साप्ताहिक 
भारतीयमात्र होइन, विश्वका जुनसुकै मुलुकका अभिनेत्रीलाई विशिष्ट सैनिक अधिकारीले स्वागत गर्नु र उनीहरूको कन्सर्टमा व्यापक मात्रामा सैनिक परिचालन गरी अधिकृतहरूसमेत संलग्न हुनु सैनिक ऐनको उल्लंघन हो ।  संघले २०७१ सालमा पनि भारतीय गायक मोहित चौहानलाई ल्याएर कन्सर्ट गर्दा ठूलो मात्रामा सैनिकको प्रयोग भएको थियो । त्रिभुवन विमानस्थलको बाहिरी सुरक्षाको काम सेनाको हो, तर भित्री सुरक्षा र आगन्तुकलाई नेपाल प्रहरीले सुरक्षा दिन्छ । अभिनेत्रीको सुरक्षा आवश्यकता भए पनि सैनिक श्रीमति संघले सरकारसँग अपिल गरेर नेपाल प्रहरीका प्रहरी निरिक्षकको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाउन सक्ने थियो । भारतीय अभिनेता अक्षयकुमार नेपालमा सुटिङका लागि आउँदा उनको सुरक्षाका लागि नायव प्रहरी निरिक्षक सईलाई सुरक्षाका लागि खटाइएको थियो । कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ भनिएको थियो । यसमा सेनाको प्रतिरक्षापूर्ण वक्तव्य आउन सक्छ । तर त्यसले नेपाली सेनाको हैसियतबारेको प्रश्नको खण्डन गर्न सक्तैन । सेना राष्ट्रको गौरवमात्र होइन, इतिहाँस बोकेको सुरक्षा निकायको फरक र स्वायत्ततासहितको ठूलो संगठन हो । 
नेपाली सेना राष्ट्रको छायाँ सरकार पनि भएका नाताले एउटा अभिनेत्रीलाई लिन छायाँ सरकारका जर्नेल (मन्त्री सो सरहका भीआइपी) स्वागतसहित सेक्युरिटीका लागि पुग्नु निन्दनीय कार्य हो । नेपाली सेना जनताको सेना भएकाले सैनिक अधिकारीहरुको श्रीमतिको क्लवको कार्यक्रमका लागि सेनाको प्रयोग नै गलत थियो । त्यहाँमाथि स्वागतका लागि बाहलवाला जर्नेल खटाइनु र जानु भयंकर ठूलो गल्ती हो । यो गल्तीमाथि नेपाल सरकारले नै नजिर बन्ने गरी प्रधानसेनापति रमिन्द्र क्षेत्रीमाथि सोधपुछमात्र गरेर पुग्दैन यसको आधिकारीक उत्तर नेपाली जनताले सुन्न पाउनुपर्छ । यसर्थ नेपाली सेना अमरपक्षी नाममा श्रीमतिहरुको समुहले गरेको कार्यक्रमको सुरक्षारार्थ खटिने संगठन होइन, मुलुकको हितका लागि सँधै तम्तयार हुने संगठनका रुपमा विकास होस् भन्ने सवै नेपालीको चाहना हो । नेपाली जनताको अधिकारको आन्दोलनमा हतियार लिएर कफ्र्युको घेरामा उभिने तर भारतीय अभिनेत्रीको स्वागतका लागि दलबल लिएर जानु कति उपयुक्त हुन्छ, यसमा प्रधानसेनापति क्षेत्रीले मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उत्तर दिनुपर्छ । कार्यकारी प्रमुख भएको नाताले ओलीले यसमा जवाफ दिन सकुन् । 


Tuesday, February 2, 2016


हस्तक्षेपलाई निम्तो र खोक्रो राष्ट्रवाद

विनोद ढकाल  
प्रथमतः लोकतन्त्रको आधार स्वाभिमानको सुरक्षा नै हो, यो लोकतान्त्रिक मान्यता बोक्नेहरुले बुझेका छन् । गान्धी विचारको उत्प्रेरणामा उभिएको छिमेकी मुलुक, त्यहि मुलुकसँग समाधानको उपाय खोज्ने, मध्यस्तता रोज्ने हरप्रकारका आन्दोलनकारी, सरकारहरुसँग मेरो अपिल छ, समस्या जहाँ छ समाधान त्यहिँ छ ।



फुटाउ र शासन गर– एउटा भारी उद्देश्य । एकीकृत बन र नेतृत्व गर– एउटा सरल प्रजातन्त्र । अहिले मुलुक दुई धारको राजनीतिमा उभिएको छ । एउटा क्षेत्रगत राजनीतिका रुपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको मागका आधारमा चलिहरहेको मधेसी अधिकारको सवालको आन्दोलन, अर्को संविधान कार्यान्वयन गरी मुलुकलाई समानुपातिक सहभागीतासहितको विकासमा लम्किने मुलुकको अनिवार्यता । 
यी दुई धारको राजनीतिक एजेन्डामा अधिकार, न्याय र सहभागीताका सवाल गौण बन्दै गएका छन् । थाहा छ – आन्दोलनहरुमा भयानक सत्तास्वार्थको नेपथ्यपन छ, अनि आन्दोलनलाई सही नमान्ने ‘कथित नेपाली राष्ट्रियता’धारीेहरुको अहंकार आम नागरिकले भोगीरहेको छ । यद्यपि, विकासको दौडमा म्याराथन बनेर हिँडिरहेका मुलुकहरुको तुलनामा नेपाल निक्कै तल छ । माथि आउने वा ल्याउने छाँट कसैको मस्तिष्कमा छैन । ६० वर्षपछि प्राप्त संविधानसभाले नयाँ संविधान– २०७२ जारी गरेपछि निक्कै सकसपूर्ण अवस्थामा मुलुक पुगिसकेको छ । सरकार सकसले चलेको छ, राजनीतिक दलहरु सकसले चलेका छन्, क्षेत्रगत गुट र झुन्डहरु सकसले आन्दोलनमा होमिएका छन्, जातीय झुन्डहरु सकसले आफ्ना अडानहरुलाई उभ्याउने कोशिश गरिरहेका छन् । तर, ढलिरहेका छन् –श्रम गरी खाने आम नागरिकहरु । ती नागरिकका कतिपय आशाहरु । राजनीतिक दलहरु र संविधानप्रति बनाइएका धारणाहरु पनि । यी हर कारणमा देशी स्वार्थमात्र लुकेका छैनन्, देशी स्वार्थले निमन्त्रणा गरेका विदेशी बाजहरुका पञ्जाले आन्तरिक राजनीति, समाज र सामाजिक परिवेश पनि कमजोर बनिरहेको छ । 
संविधान जारी भएयता विश्वसमुदायका फरक फरक स्वागत र फरक फरक असन्तुष्टिहरुको चपेटामा मुलुक गुज्रिरहेको छ । यो दोष अरुलाई दिनुभन्दा अरुको प्रभावकारी हस्तक्षेपको खोजी गर्ने सवै हिलोले नुहाएका राजनीतिक दल, क्षेत्रीय दलका नेताहरुलाई दिनु उपयुक्त ठहर्छ । अधिकारको नाममा सत्तारोहणको स्वाद लिएका कथित मधेसी नेताहरु र राजनीतिलाई राष्ट्रवादको नयाँ नारा दिने कथित खोक्रा राष्ट्रवादी ठूला पार्टीका नेताहरु, कोही पनि दूधले नुहाएका छैनन् । उपयुक्त समयमा भारतीय, चिनियाँ, पश्चिमा हस्तक्षेपलाई मुलुकमा निसन्देह भित्राउने प्रजातान्त्रि राजाका रुपमा त्रिभुवन, राजा महेन्द्रको कुरा गरौं या प्रजातन्त्रका लागि महामानवको पगेरी दिइएका वीपी कोइरालाको कुरा गरौं । यी बाहेकका, अहिलेसम्मका सवै नेताहरुको चरित्र, भारतीय राजदूतावासको भोजमा मिठ्याइरहेको मुखले प्रष्ट देखाइसकेको थियो । यहाँ स्थिर राज्य कसरी खोज्ने ? अनि, स्थिर नेपाल कसरी हुन्छ ? 
एरीस्टोटटलले भनेका छन्–एउटा स्थिर राज्य भनेको सवै मानिसहरु कानुन अगाडी समान उभिनु हो । अर्थात्, कानुनले कसैलाई पनि मतभेद नगरेको अवस्थामा मुलुक स्थिर रहन्छ । तर, अहिले मुलुक स्थिर नरहनुको कारण नै मुलुकको मुल कानुन संविधानले मधेसी जनताका सवै माग पुरा गरेको छैन, आदीवासी जनजातीका पनि सवै माग पुरा गरेको छैन भने महिला र अन्य पिछडीएका समुदायको पनि सवै माग पुरा छैनन् । यसको अर्थ, सवैका सवै माग पुरा छैनन् भन्ने नै हो । सवैका माग पुरा गर्नका लागि हामीसँग बाँचेको लोकतान्त्रिक गणतन्त्र छ । अधिकारलाई कानुनी संरक्षणका लागि स्थापित गर्न सक्ने गणतान्त्रिक नेपालको व्यवस्थापिका संसद पनि छ । अनि, यति हुँदाहुँदै हामी किन लडाईको मैदान खनिरहेका छौं, जसले हामीबीचको दूरी बढाउने प्रयत्न भइरहेको छ ।
मुलुकको आन्तरिक राजनीतिको प्रभावको प्रमुख कारण भारतलाई देखाउने प्रवित्तिमाथि भारतको कुटनीतिक उत्तर हुन्छ– हामी नेपालको स्थिरता चहान्छौं । स्थिर नेपाल र विकसित नेपालको परिकल्पना भारको चाहना हो । तर, विखण्डनको आवाज जोडदार रुपले उठाएका, तराई–मधेसलाई छुट्टै देश नै बनाउनुपर्छ भन्ने डरलाग्दो र पृथकतावादी आवाज उठाउने सिके राउतलाई रातो कार्पेट विछ्याएर स्वागत गर्ने भारतसँग कुन कुटनीतिक मर्यादाले भरिएको उत्तर तयार छ ? भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले यहि प्रश्नको उत्तर भारतीय मिडियालाई दिन सकेका थिएनन्, भारतीय आधिकारीक संस्थाले नेपाली जनमानसलाई कसरी दिनेछ ? के यो भारतीय कदम भनेको स्वतन्त्र कस्मिरका लागि संघर्ष गरिरहेका कस्मीरी पृथकतावादीलाई भारतको मित्र मुलुकले गरेको स्वागत सरह भएन ? परिदृश्य त्यहि हिसावमा देखाउन खोजिएको हो की ? 
महात्मा गान्धीलाई महामानव मान्ने लोकतन्त्रको ठूलो मुलुक उही गान्धीले हटाएको ‘डिभाइड एन्ड रुल’को नीति अन्तर्गत नेपाली राष्ट्रियतालाई कमजोर बनाउने दुश्चक्रमा तल्लिन भएको त होइन ? नेपाली राष्ट्रियताको विखण्डन र पश्चिमा शक्तिहरुको ‘राजनीतिक इवोला भाइरस’का रुपमा तराईमा खटाइएका सीके राउतहरुलाई रातो कार्पेट विछ्याएर नेपाली प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डामाथि कमजोर टिप्पणी गरिरहेको मुलुकसँग यहि प्रश्नको उत्तर नेपाली लोकतन्त्रले खोजिरहेको छ । नेपालका लागि भारतका राजदूत रणजित रायले नेपालको अहिलेको अवस्थामा टिप्पणी गर्दै भन्छन्– नेपालमा भारतविरोधी भावना बढिरहेको छ, नेपालमा त्यस्तो नहोस् भन्ने हाम्रो चहाना हो । तर, के नेपालको चाहनाअनुसार भारतीय संस्थापनले काम गरिरहेको छ ? सीके राउतलाई हार्दिक स्वागत गरेर नेपाली राष्ट्रियता कमजोर बनाउने क्रियाकलाप भारतले गरेको हो की होइन ? उत्तर जो सुकैले दियोस् तर बुझाई समान रुपमा हुनुपर्छ । यसले नयाँ संविधान कार्यान्वयनको गतिमा हिँडेको नेपाल, छिमेकी मुलुक भारतको सुझावलाई सम्बोधन गरेको मुलुकको आँचमा ठेस पुगेको छ जसले नेपाली लोकतन्त्रको संस्थागत विकासमा नैतिक समस्या बनाइरहेको अनुभूति स्वभाविक रुपमा भएको छ । 
सामान्य अनुपातमा हुर्किरहेको मान्छेले आफुलाई स्वतन्त्रता पूर्वक हिँड्ने इच्छा राख्दैन, उसले आफ्नो स्वतन्त्रताको संरक्षणको खोजी गर्छ । हामी जहानियाँ राणा शासनको अन्त्य, पञ्चायतको अन्त्य गर्दै, लोकतान्त्रिक गणतन्त्र स्थापना गरी स्वतन्त्रताको अधिकदम उपभोग गर्ने अवसरमा छौं । तर, यो किन बुझिरहेका छैनौं कि यो अधिक अधिकारको दुरुपयोग राजनीतिक दाउपेचका लागि भयो भने हाम्रो स्वतन्त्रता खोसिने छ र सुरक्षित हुनेछैन । मुलुकको संक्रमणकालिन राजनीतिको अन्त्य र विकासको बाटोमा लम्किनका लागि नयाँ संविधान जारी भइसकेको छ । कार्यान्वयनका लागि अगाडी बढिसकेको छ । जहाँ अड्कीएको छ मुलुक, त्यहाँबाट निकासका लागि पहल खोज्नुपर्ने अनिवार्य देखिएको बेला घोचपेच र अडानको राजनीतिमात्र होइन, क्षेत्रगत रुपमा मुद्दा उचालेर राजनीति अगाडी बढिसकेको छ जहाँ छिमेकी मुलुकको अधिक इच्छाले हाम्रो स्वतन्त्रता स्वाभिमानी हो की अभिमानी हो भन्ने प्रश्न खडा गरेको छ । र, हामी आन्दोलनकारी भनौं वा राज्य जबरजस्त भएर छिमेकीलाई दोष दिँदै समस्या समाधान र हस्तक्षेपका लागि बारम्बार निम्तो दिइरहेका छौं । चाहे दिल्लिमा उपप्रधानमन्त्री कमल थापाको भ्रमण गराएर होस् या मधेसी मोर्चाको नेताहरुको भ्रमण होस् । अथवा विहार र युपीमा नेपाल मुद्दामा भारतीय नेतालाई कडा अभिव्यक्ति दिनका लागि अनुनय विनय गरेर होस् । नेताहरु नेताका रुपमा नभई एकअर्काका दुश्मनका रुपमा उभिँदा मुलुक दुर्घटनामा पुग्ने निश्चितप्रायः छ । यतिवेला बहस र वक्तव्यबाजी तथा बयानबाजीको बेला होइन, यो बेला सहमतिमा संविधान कार्यान्वयन गरी सकारात्मक सन्देश दिने बेला हो । मुलुक घुमेर ३६० डिग्रिको अवस्थामा पुग्न हुँदैन । खासगरी राजनीतिक रुपमा त्यहाँ पुग्नु भनेको उपलव्धि गुमाउने खतराभन्दा केही पनि होइन । सम्झौताबाट सुरु भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको यात्रा सम्झौता र सहमतिमा नै अघि बढ्नुपर्दछ । यो विषयमा नेताहरु गम्भिर छन् र सहमतिविना मुलुक अघि बढ्न नसक्ने कुरामा पनि जानकार छन् । तर, यो ढाँेगी चरित्रका कारणले ५ महिनादेखि अस्तव्यस्त मधेसको समस्याको गाँठो फुकाउने काममा किन सक्रिय हुन सकिरहेका छैनन्, सत्ता, विपक्षी र आन्दोलनकारी नेताहरु ? पक्कै पनि हामीकहाँ राजनेताको खाँचो छ । 
मुलुकमा नेल्सन मण्डेला जन्मिनेकी बन्ने ? भन्ने कुरो खास भइसकेको छ । मण्डेला बन्नका लागि सर्वस्वीकार्य नेतृत्वको अनिवार्यता हुन्छ । जसले विवादहरु र समस्याहरुलाई छिचोलेर नयाँ राजनीतिक अवस्थाको विवादहिन नेतृत्व गर्न सकोस् । तर, अहिले शिर्ष दलका शिर्ष नेताहरुमा मण्डेला चरित्र देख्न सकिएको छैन । नेता फुत्त जन्माएर टिको लगाएर अगाडी उभ्याउने चिज पनि होइन । यो आत्मशक्तिबाट गर्नसक्ने निर्णय, खासगरी दलीय स्वार्थबाट माथि उठ्ने र मुलुकको स्वार्थका लागि निर्णय गर्नसक्ने चरित्रमा निर्भर हुन्छ । सर्वमान्य हुनका लागि सवैको हितकर निर्णय गर्नसक्ने हुनुपर्छ । न अल्पमतमा रहेकाहरु केही होइनन्, बहुमतमात्र सवै हो भन्ने हुन्छ, न बहुमतमा भएकाहरुले पेलेका कारणले अल्पमतका मान्छेहरु, जातहरुकै वर्चश्व हुनुपर्छ भन्ने तर्कमा नेता बन्न सकिन्छ । नेता बन्नका लागि अल्पमतको सुरक्षणसहित बहुमतको पनि आत्मसम्मानसहितको व्यवस्था, कानुन निर्माता बन्न सक्नुपर्छ । तर, गर्ने कसले ? वर्तमान अवस्था व्यंग्यको राजनीतिबाट गुज्रिरहेको हुनाले खोजी यहिभित्र गर्ने कि कहाँ ?
यसर्थ, हावादारीको राजनीति, मुलुकको निकास र विकासविरुद्धको असामाजिक अभिव्यक्तिहरु, नागरिकविरुद्ध निर्णय, राष्ट्रियताविरोधी निर्णयहरु राष्ट्रवादी नागरिकका लागि पाच्य हुँदैनन् । न विदेशी प्रभावकारी प्रवेश स्वागतयोग्य ठहर्छ । प्रथमतः लोकतन्त्रको आधार स्वाभिमानको सुरक्षा नै हो, यो लोकतान्त्रिक मान्यता बोक्नेहरुले बुझेका छन् । गान्धी विचारको उत्प्रेरणामा उभिएको छिमेकी मुलुक, त्यहि मुलुकसँग समाधानको उपाय खोज्ने, मध्यस्तता रोज्ने हरप्रकारका आन्दोलनकारी, सरकारहरुसँग मेरो अपिल छ, समस्या जहाँ छ समाधान त्यहिँ छ । समाधान यहाँभित्र भएकाले बाहिर नखोजौं । समाधान दिनसक्नेहरु मानवताका प्रतिक बन्न सक्छन् । गंैरमानव भावमा दौडने कुकृत्य नगरौं । गान्धीले भनेका छन्– मानवतामाथिको विश्वासमा शंका नगरौं, मानवता सागरजस्तै हो, सागरका केही थोपाहरु फोहोर भयो भन्दैमा सागर फोहोर हुँदैन । यसैले अहिलेको फोहोर राजनीतिमा केही फोहोरी व्यक्तिहरु हावी हुनासाथ राजनीति गर्नेहरु सवै खराब छैनन् । खराबीहरुलाई कसैले पनि सहयोग नगरौं । 

साभार कमाण्डर पोष्ट दैनिक ।

Monday, January 25, 2016

कांग्रेसमा पुस्ता हस्तान्तरण सम्भव छ ?

विनोद ढकाल 
नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकीँदै गर्दा कांग्रेसको नेतृत्व परिवर्तनको बहस व्यापक भए पनि पुस्ता हस्तान्तरणको बहस बलियो देखिएको छैन । कांग्रेस प्रजातान्त्रिक इतिहाँसको प्रतिकका रुपमा स्थापित दल हो । नेपाली लोकतन्त्रको तत्कालिन आन्दोलनलाई संगठित ढाँचा दिएर अहिले राजनीतिमा पहिलो दल हुनु कांग्रेसको अपवाद होइन, इतिहाँसको अनिवार्य उपस्थिति हो । तर, ६५ वर्षको लामो संगठित इतिहाँस रचेको कांग्रेसमा नेतृत्व परिवर्तनको बहस बलियो भएपनि पार्टी सत्तालाई युवाको हातमा दिने विषय भने गौण देखिन्छ । जबकी, ४ लाख भन्दा बढि सक्रिय कार्यकर्ताहरुले भरिपूर्ण भएको पार्टीमा प्रौढ नेताहरुको संख्या बहुमतमा छैन । तर, बहुमत संख्याले किन पुस्ता हस्तान्तरणको सवाललाई महाधिवेशन पूर्व बहसमा उतार्न सकिरहेको छैन ? कांग्रेसको निरन्तर सत्ता प्रौढमा नै हुनुपर्छ की नयाँ पुस्ता हावी हुने हो ? समानान्तर इतिहाँस बोकेको भारतीय कांग्रेसमा अहिले नेतृत्व नयाँ ल्याउने उद्देश्यले नै युवा पुस्ता हावी बनाउन थालेको छ । प्रजातान्त्रिक स्पर्धामा उत्रिएको आम आद्मी पार्टीको नेतृत्व पनि अरविन्द केजरीवालजस्ता युवाको हातमा आएका कारणले उनी दिल्लिमा जबरजस्त भएर बसेका छन् । तर, के नेपाली राजनीतिक दलहरुले युवापुस्तालाई नेतृत्वमा ल्याउनका लागि कसरत गर्ने वेला अहिले होइन र ?
नेपालमा युवाआन्दोलको इतिहास लामो छैन । यद्यपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासकविरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  ।
राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । २०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो । वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए
हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । सन्दर्भ कांग्रेस महाधिवेशन भएकाले अव युवा शक्तिको उपस्थिति, पार्टीको निर्णायक तहमा निर्वाचित शक्ति कति हुनेछन् ? भन्ने चासो बनिरहेको छ । खासगरी हिजो युवा हुँदा संगठित भएका नेताहरु आज प्रौढ हुँदा पनि संगठनको नेतृत्व र पदमा बस्नका लागि तम्तयार छन् । उनीहरुको मानसिकतामा परिवर्तन भएको छैन । उनीहरुको समयले माग गरेको राजनीतिका क्रममा उनीहरुले परिवर्तन नगराएका होइनन्, अनुभव नभएको होइन । तर, युग अनुसारको नेतृत्वको परिकल्पना नगर्ने हो भने पाटीएको जीवन कहाँ हुनेछ । यो कुनै कांग्रेसका लागि मात्र होइन, एमाले, एमाओवादी मधेसवादी सवैका लागि खास प्रश्न हो, के अहिलेको युगमा पनि पुरातन नेतृत्वले परिवर्तन सम्भव गराउन सक्छ ?
राजनीति पनि समयसापेक्ष रुपमा परिवर्तन हुनुपर्छ । राजनीतिक दलको संरचना परिवर्तन भएमात्र यो प्राविधिक विश्वमा स्पर्धाको राजनीति हावी हुनसक्छ । विश्वसमुदायमाझ हामी उभिँदा हाम्रो कदको ख्याल विचार, विमर्श र प्रस्तुतीले नै हुने भएकाले परिवर्तित, परिमार्जित नेतृत्व र बलियो इतिहाँस कायम गर्नु अनिवार्य छैन त ? ऐतिहाँसीक परिवर्तनको संवाहकका रुपमा उभिएको कांग्रेस नयाँ नेतृत्व चयनका लागि तत्पर छ । तर, पदाधिकारीदेखि केन्द्रिय सदस्यहरुको स्पर्धासम्म पनि युवाको अनुहार सीमित देखिएको छ । परिवर्तन, प्राविधिक युगका संवाहक बन्नसक्ने नेतृत्वलाई गौणमा राखेर उही अनुहारहरुको चर्चा व्यापक देखिन्छ । अव परिवर्तन मुलुकको राज्यव्यवस्थामा मात्र खोज्ने प्रवित्ति, प्रचारात्मक अभिव्यक्तिमा मात्र ध्यान दिने होइन, आन्तरिक परिवर्तनमा पनि जोड दिन आवश्यक छ । जवसम्म पार्टी संरचना परिवर्तनका पक्षमा जाँदैन, पुरातन सोच हावी हुन्छ । सोच परिवर्तन नभएसम्म समृद्धिको यात्रा तय हुनसक्तैन । विश्व परिवर्तनको पक्षमा उभिएका बेला हामी परिवर्तन आफ्नो परिवार, समाज र संगठनबाट किन नगर्ने ? लामो समयसम्म योगदान गरेवापतको व्याज पनि प्रौढहरुले मात्र लिने हो भने के युवा शक्तिले अव ढुंगा बोकेरै मात्र राजनीति गर्ने हो ? या राजनीतिबाट वाक्क भएर आफ्नो सीप असंगठित रुपमा खाडीलगायतका मुलुकमा खर्चिने ?
यसर्थ, परिवर्तको सुरुआत आफैंबाट हुन्छ । संगठित युवाले अब एउटा पँखेटे संगठनमा आवद्धता देखाएर होइन, मुल पार्टीमा आफ्नो अधिकार खोज्ने बेला आएको छ । प्रतिवद्ध संस्थालाई युगअनुसार परिवर्तनीय नेतृत्व हुनुपर्छ भनी बुझेका युवाहरुले अव पार्टीमा गरेको लगानीको प्रतिफल खोज्ने बेला आएको छ । यो त्यस्तो प्रतिफल हुनेछ, जुन संस्थाको प्राविधिक परिवर्तन, विश्वस्पर्धाका लागि उपयुक्त संगठन निर्माणको जिम्मेबारी, पुरातन सल्लाह, नयाँ विवेकका हिसावले चल्नुपर्ने हुन्छ । इतिहाँस बोकेको व्याजले दुनियाँमा स्पर्धा हुन नसक्ने भएकाले कांग्रेसले अव शाव्दिक व्याज होइन, परिवर्तनीय प्रभाव जोड्न सकोस्, त्यसका लागि पुस्ता हस्तान्तरणमा पार्टीले सोच्न सकोस् ।  
(तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित कांग्रेसमाथिको टिप्पणी)