Monday, January 25, 2016

कांग्रेसमा पुस्ता हस्तान्तरण सम्भव छ ?

विनोद ढकाल 
नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकीँदै गर्दा कांग्रेसको नेतृत्व परिवर्तनको बहस व्यापक भए पनि पुस्ता हस्तान्तरणको बहस बलियो देखिएको छैन । कांग्रेस प्रजातान्त्रिक इतिहाँसको प्रतिकका रुपमा स्थापित दल हो । नेपाली लोकतन्त्रको तत्कालिन आन्दोलनलाई संगठित ढाँचा दिएर अहिले राजनीतिमा पहिलो दल हुनु कांग्रेसको अपवाद होइन, इतिहाँसको अनिवार्य उपस्थिति हो । तर, ६५ वर्षको लामो संगठित इतिहाँस रचेको कांग्रेसमा नेतृत्व परिवर्तनको बहस बलियो भएपनि पार्टी सत्तालाई युवाको हातमा दिने विषय भने गौण देखिन्छ । जबकी, ४ लाख भन्दा बढि सक्रिय कार्यकर्ताहरुले भरिपूर्ण भएको पार्टीमा प्रौढ नेताहरुको संख्या बहुमतमा छैन । तर, बहुमत संख्याले किन पुस्ता हस्तान्तरणको सवाललाई महाधिवेशन पूर्व बहसमा उतार्न सकिरहेको छैन ? कांग्रेसको निरन्तर सत्ता प्रौढमा नै हुनुपर्छ की नयाँ पुस्ता हावी हुने हो ? समानान्तर इतिहाँस बोकेको भारतीय कांग्रेसमा अहिले नेतृत्व नयाँ ल्याउने उद्देश्यले नै युवा पुस्ता हावी बनाउन थालेको छ । प्रजातान्त्रिक स्पर्धामा उत्रिएको आम आद्मी पार्टीको नेतृत्व पनि अरविन्द केजरीवालजस्ता युवाको हातमा आएका कारणले उनी दिल्लिमा जबरजस्त भएर बसेका छन् । तर, के नेपाली राजनीतिक दलहरुले युवापुस्तालाई नेतृत्वमा ल्याउनका लागि कसरत गर्ने वेला अहिले होइन र ?
नेपालमा युवाआन्दोलको इतिहास लामो छैन । यद्यपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनको जेहाद छेडेका थिए । राणा शासकविरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको व्रिदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतिक थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्दोलनको आरम्भ गर्ने कोशिष गरेका थिए  ।
राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितकालागी काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो । २०२८ सालमा झापा विद्रोहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम ग¥योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो । वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए
हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ  । सन्दर्भ कांग्रेस महाधिवेशन भएकाले अव युवा शक्तिको उपस्थिति, पार्टीको निर्णायक तहमा निर्वाचित शक्ति कति हुनेछन् ? भन्ने चासो बनिरहेको छ । खासगरी हिजो युवा हुँदा संगठित भएका नेताहरु आज प्रौढ हुँदा पनि संगठनको नेतृत्व र पदमा बस्नका लागि तम्तयार छन् । उनीहरुको मानसिकतामा परिवर्तन भएको छैन । उनीहरुको समयले माग गरेको राजनीतिका क्रममा उनीहरुले परिवर्तन नगराएका होइनन्, अनुभव नभएको होइन । तर, युग अनुसारको नेतृत्वको परिकल्पना नगर्ने हो भने पाटीएको जीवन कहाँ हुनेछ । यो कुनै कांग्रेसका लागि मात्र होइन, एमाले, एमाओवादी मधेसवादी सवैका लागि खास प्रश्न हो, के अहिलेको युगमा पनि पुरातन नेतृत्वले परिवर्तन सम्भव गराउन सक्छ ?
राजनीति पनि समयसापेक्ष रुपमा परिवर्तन हुनुपर्छ । राजनीतिक दलको संरचना परिवर्तन भएमात्र यो प्राविधिक विश्वमा स्पर्धाको राजनीति हावी हुनसक्छ । विश्वसमुदायमाझ हामी उभिँदा हाम्रो कदको ख्याल विचार, विमर्श र प्रस्तुतीले नै हुने भएकाले परिवर्तित, परिमार्जित नेतृत्व र बलियो इतिहाँस कायम गर्नु अनिवार्य छैन त ? ऐतिहाँसीक परिवर्तनको संवाहकका रुपमा उभिएको कांग्रेस नयाँ नेतृत्व चयनका लागि तत्पर छ । तर, पदाधिकारीदेखि केन्द्रिय सदस्यहरुको स्पर्धासम्म पनि युवाको अनुहार सीमित देखिएको छ । परिवर्तन, प्राविधिक युगका संवाहक बन्नसक्ने नेतृत्वलाई गौणमा राखेर उही अनुहारहरुको चर्चा व्यापक देखिन्छ । अव परिवर्तन मुलुकको राज्यव्यवस्थामा मात्र खोज्ने प्रवित्ति, प्रचारात्मक अभिव्यक्तिमा मात्र ध्यान दिने होइन, आन्तरिक परिवर्तनमा पनि जोड दिन आवश्यक छ । जवसम्म पार्टी संरचना परिवर्तनका पक्षमा जाँदैन, पुरातन सोच हावी हुन्छ । सोच परिवर्तन नभएसम्म समृद्धिको यात्रा तय हुनसक्तैन । विश्व परिवर्तनको पक्षमा उभिएका बेला हामी परिवर्तन आफ्नो परिवार, समाज र संगठनबाट किन नगर्ने ? लामो समयसम्म योगदान गरेवापतको व्याज पनि प्रौढहरुले मात्र लिने हो भने के युवा शक्तिले अव ढुंगा बोकेरै मात्र राजनीति गर्ने हो ? या राजनीतिबाट वाक्क भएर आफ्नो सीप असंगठित रुपमा खाडीलगायतका मुलुकमा खर्चिने ?
यसर्थ, परिवर्तको सुरुआत आफैंबाट हुन्छ । संगठित युवाले अब एउटा पँखेटे संगठनमा आवद्धता देखाएर होइन, मुल पार्टीमा आफ्नो अधिकार खोज्ने बेला आएको छ । प्रतिवद्ध संस्थालाई युगअनुसार परिवर्तनीय नेतृत्व हुनुपर्छ भनी बुझेका युवाहरुले अव पार्टीमा गरेको लगानीको प्रतिफल खोज्ने बेला आएको छ । यो त्यस्तो प्रतिफल हुनेछ, जुन संस्थाको प्राविधिक परिवर्तन, विश्वस्पर्धाका लागि उपयुक्त संगठन निर्माणको जिम्मेबारी, पुरातन सल्लाह, नयाँ विवेकका हिसावले चल्नुपर्ने हुन्छ । इतिहाँस बोकेको व्याजले दुनियाँमा स्पर्धा हुन नसक्ने भएकाले कांग्रेसले अव शाव्दिक व्याज होइन, परिवर्तनीय प्रभाव जोड्न सकोस्, त्यसका लागि पुस्ता हस्तान्तरणमा पार्टीले सोच्न सकोस् ।  
(तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित कांग्रेसमाथिको टिप्पणी)



No comments:

Post a Comment