Monday, January 18, 2016

परनिर्भर सोच आत्मनिर्भर प्रवचन !


विनोद ढकाल
अहिले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना प्रवचनहरुका कारण आलोचित छन् । सडक, गल्ली, चियाचौतारो, भट्टी, सामाजिक सञ्जाल हुँदै अखबारका पानाहरुमा पनि उनका प्रवचनहरुका शव्दमाथि तिखो प्रहार छ । स्वभाविक रुपमा यी प्रहारहरु सान्दर्भिक देखिन्छन् । तर, आत्मसमिक्षा नगर्ने नेपाली समाजको एउटा प्रवित्तिका कारणले नै हामी पछि परेका छौं । हामी यस्तै कुराको अघिपछि, सन्दर्भसामग्रीमाथिको कडा प्रहारको वरीपरि नै घुमिरहेका छौं ।
खास अर्थमा ओली पनि परनिर्भर समाजबाट हुर्किएका एक अटल राजनीतिज्ञ हुन् । उनका परिवर्तन र आत्मनिर्भरका प्रवचन स्वभाविक प्रवित्ति हुन् । तर, व्यवाहारमा लागु नहुने भएकाले यसलाई स्वभाविक ठान्नु सर्वथा गलत हुनेछ । मुलुकको प्रमुख भएको नाताले ओलीको उदाहरण पेस गरिएको हो । अन्यथा, यो मुलुकका हर मानव प्राणी, हर क्षेत्र, हर निकायमा विराजमान महाशय भनौं या महोदयाहरु पनि परनिर्भर सोच तर आत्मनिर्भर प्रवचन दिने काममा कमजोर छैनौं ।
कहिलेकाँही परेपछि चसक्क घोच्छ, समाजलाई । अनि आफुले गाली गर्नसक्ने ठाउँमा उभिएर यहि समाजले राज्य, निकाय र व्यक्तिलाई दोष्न थाल्छ । अरुको कमजोरीमाथि कडा प्रहार गर्छ । तर, त्यो कमजोरीमा उसको कति लगानी छ ? कति गरिरहेको छ ? भन्ने कुराको हेक्का राख्दैन । विश्लेषकहरुले आफ्नो स्वतन्त्र जीवनदेखि विश्लेषण गरी समाज र देशको विश्लेषण गरेको उपयुक्त हुन्छ । गाली टिप्पणी, गालीपूर्ण अर्तिको कुनै तुक हुँदैन । नाकाबन्दिको चरम मारमा परेपछि नेपालीहरुमा एउटा ठूलो आत्मनिर्भर राष्ट्रवादको बहस चलेको थियो । राज्य पनि आत्मनिर्भर गतिमा कसरी बढ्न सकिन्छ भन्ने नयाँ रणनीतिक टालटुले योजनातिर लम्कियो । उर्जा संकटले बढोत्तरी पाएपछि वैकल्पिक उर्जाका समाचारहरु अखबारमा आउन थाले, भँगेरे अक्षरमा नयाँ नयाँ उर्जाका कुरा आउन सुरु भइरहेका छन् । पेट्रोल अभाव भएपछि वैकल्पिक इन्धनका कुरा आए, समाजमा सहायता गर्ने प्रवित्ति बढेर आयो । यहाँ प्लाष्टिकबाट पनि पेट्रोल निस्किन थालेका समाचारले स्थान पाउन थाले । कथाकार, कलाकार, पत्रकार, राजनीतिज्ञहरुले आत्मनिर्भर मुलुक बनाउने भन्नेबारेमा बडे बडे प्रवचन दिन थाले । सुनिनसक्नु र बुझिनसक्नुका देशी विदेशीका तर्क आउन थाले । भारतले थुनदिए, चीनले खोलदिनेजस्ता आत्मनिर्भर कुरा आउन थाले । यी अर्थहिन तर्कको कुनै व्यवाहारिक पाटो नै छैन । न महत्व राख्ने शक्ति नै छ । जव इतिहाँस नै परनिर्भर थियो ।
हरेक अधिकारको लडाइ लडिरहँदा हामीले आफुभित्र एउटा लडाई कहिले पनि लड्न सकेनौं र जित्ने सोचको विकास पनि गरेका छैनौं । हामी परनिर्भर छौं । हामी आफुभित्रबाट परनिर्भर र आशावादीमात्र छौं । अरुले दिने आशाको वादमा हामी हिँडिरहेका छौं, जित्ने वा कमाउने वा बनाउने आशा हाम्रो मनभित्र, घरभित्र, समाजभित्र, जिल्ला, मुलुक र राज्यसंयन्त्रमा समेत हुन सकेन । त्यतिमात्र होइन, हाम्रो राजनीतिमा पनि परनिर्भरताको सोच गाडिएका कारणले पनि हरेक समस्याको समाधानका लागि अरुलाई गुहार्ने चलन ००७ देखि अहिलेसम्म पनि चलिरहेको छ ।
इतिहाँसको अध्ययनअनुसार जब हामी प्रजातान्त्रिक आन्दोलनमा उभिएका छौं, त्यहाँदेखि हामी आत्मनिर्भर छैनौं । जहानियाँ राणा शासन हटाउने काममा राजा त्रिभुवनले  लिएको छिमेकी सहारादेखि हाम्रा हर प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध, लोकतान्त्रिक आन्दोलनदेखि राज्यसत्ताको नेतृत्वमा समेत सहयोग र समर्थनको माग गर्न थालियो अनि हाम्रो मुलुक रैतीजस्तो भयो, राजनीतिक रुपमा ।
त्यसपछि मौलाएको मानसिक, सामाजिक परनिर्भरताले लोकतन्त्रको नाममा, भ्रष्टाचारका नाममा र राम्रो आम्दानीका नाममा खाडीलगायतका मुलुक बनाउने काममा जुझारु युवा विक्रि गरेपछि हर वर्ग परनिर्भर बन्यो ।
००७ सालदेखि अहिलेसम्म राज्यसत्ताका हरेक निकायमा पुगेका, कर्मचारीतन्त्रमा राम्रो कमाएर राजधानी र विदेशमा पलायन भएका, मानवअधिकारकर्मका नाममा अरबौं डलरको कारोबार गरेका यीनै राष्ट्रवादी र नवराष्ट्रवादीहरुले आत्मनिर्भरताको योजना किन ल्याएका थिएनन् ? किन कानमा तेल हालेर बसेका थिए ? वा, जसको दैलोदेखि हर निकायमा आत्मनिर्भर बन्ने चेतनाको विजन भएको छैन, परनिर्भरताको पराकाष्टले भोलीका सन्ततीको संरक्षणको नाममा तीनपुस्ते सम्पत्ती जोहो गरेका छन्, उनले मुलुकको आत्मनिर्भरताको कथा लेख्न कति सुहाउँछ वा हाँस्यास्पद हुन्छ ?
जुन समाजमा अहिले पनि एकजना कमाउने र १० जना खाने गरिब मनोदशा कायम छ, एक जनाले तीन पुस्ताका लागि जसरी पनि कमाउनुपर्छ भन्ने एलीट सोचले जरा गाडेको छ त्यहाँ वर्तमान र भविष्य पनि परनिर्भरताको पराकाष्टमा बाँधिएका छन् । यसर्थ, यस्तो व्यवाहारमा हुर्किरहेको ग्रामिण भेग र सहरी जीवनको मानसीकतामा परिवर्तन नभएसम्म आत्मनिर्भरताको प्रवचन आत्मरती मात्र हुन्छ । मुलुक आत्मनिर्भर भएन भनेर राज्यलाई गाली गर्ने विद्वानहरुले आफ्नो मानसिकतालाई आत्मनिर्भर बनाएर व्यवाहारमा उतारेर मात्र पाठ सिकाएको उपयुक्त हुन्छ । हैन भने खोक्रो राष्ट्रवाद र ज्ञानको कुनै अर्थ हुँदैन । जुन विषय उठान गरेर व्यवाहारमा लागु गर्ने हिम्मत राखिँदैन त्यसमाथि टिप्पणी नउठाउँदा नै वेश हुन्छ की ?
युद्ध, आन्दोलन, समझदारी, राजनीति, विकास, साझेदारीका कुरा नै परनिर्भर छन् । जव परिवारभित्र हुर्किने सामान्य सोच नै परनिर्भर छ । जहाँ भविष्यलाई नै परनिर्भरताको सोचग्रस्त डोरीले बाँधिने वर्ग छ, त्यहाँ आत्मनिर्भर मान्छेको जन्म कसरी हुन्छ ? जव मान्छे आत्मनिर्भर हुँदैन भने त्यस्ता मान्छेले बनेको समाज, राज्य, राजनीति, कर्मचारीतन्त्र र मुलुक कसरी आत्मनिर्भर हुन्छ ? हो, हामी पनि यहि परनिर्भर मुलुकको एउटा प्यादाका रुपमा मनोसंवादमा अल्झिरहेका छौं । यहिँबाट हामीले उन्मुक्तिको खोजी अहिलेबाट गरिएन भने भावी पुस्ता आत्मनिर्भर बन्न सक्तैन । र, मुलुक त कहिले पनि हुन सक्तैन ।
अव वर्गअनुसारको परनिर्भरतालाई कटौती गर्ने सोचको विकास परिवार, समाज, सहर, राज्य, राज्यका हर निकायमा पुग्ने हर व्यक्तिमा हुन जरुरी छ । सोच परिवर्त गर्ने काम सहज हो, गराउने काम कठिन छ । तर, परिवर्तन पनि एक–एक गरी नै हुने भएकाले नयाँ पुस्ताबाट नै आत्मनिर्भर मुलुकको परिकल्पना गरी आफुबाट परिवर्तन थालौं । व्यक्तिमा हुने सोचको परिवर्तनबाटै सवै क्षेत्र, निकाय र राज्यसत्ताको सोच परिवर्तन हुनसक्छ । अन्यथा, हावादारी आत्मनिर्भरताको कुरा गरेर समय खर्च गर्नुभन्दा परनिर्भरतालाई मलजल गरेकै उचित होइन र ?

(४, माघ तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा प्रकाशित)

No comments:

Post a Comment