मान्छेहरुले योचाँही दशक वितेपछि थाहा पाउनेछन् र त्यतिबेला भन्नेछन्, व्यर्थै गरिएछ बन्द, व्यर्थै गरिएछ आन्दोलन । जुन आज आम हुँदा खाने समुदाय भनिरहेको छ । यहाँ मुलुक हाँक्ने नेताहरुले ठान्छन् बन्द आफ्नो विजनेशका लागि गर्ने हो । अहिले बन्दकर्ताहरुको दिमाग भुटिएको छ की यदि तिमी बन्द गर्न चहान्छौ भने अहिले गर ।
विनोद ढकाल |
बन्दको विरोधमा एकथरी युवाहरु सडकमा उत्रिए । प्रतिकारमा उत्रिए । प्रतिकारको स्वागत भयो । तर, बन्दको प्रतिकार होइन, प्रतिकात्मक विरोधचाँही अहिलेको अनिवार्य आवश्यकहरूको स्वरुप हुनुपर्छ । श्रम गरेर प्रतिरोध गरौं । निरन्तर दैनिकीलाई गुजारा गरेर प्रतिरोध गरौं । किनभने आजको सुखका लागि हामीले धेरै बन्द गरेका थियौं, धेरै सकस भोगेका थियौं । तर, अझै सकस किन ? हामीले गरेको बन्दको औचित्य सकिएर हो या हामीले फेरि पनि त्यस्तै बन्दको आह्वान नगरेर हो ? तर, अब हाम्रो बन्द भयो भने त्यो निक्कै डरलाग्दो र सुकिला नेताहरुको कालो अनुहार उदांगिने बन्द हुनसक्छ । त्यसकारण आफुले बाध्यतालाई छिचोलेर गरेको १० वर्षअघिको बन्दलाई स्मरणमा राखौं र समयलाई पर्खन सिकौं । हामी अहिले त्यहि १० वर्षअघिको बन्द गरेको विषयलाई सम्झिएर अहिलेका ‘चोइटे’ बन्दहरुको बारेमा गम्भिर बनिरहेका छौं । बाध्यता त्यस्तो आइ परेको छ । कहिँ मधेस बन्द, कहिँ पहाड बन्द, कहिँ उपत्यका बन्द, कहिँ के बन्द । यसरी नै ।
हामी जनआन्दोलनका नाममा १९ दिनको बन्दमा उत्रियौं । सँधैका लागि बन्दहड्ताल र अपराध न्युनिकरण गर्ने आशा र भरोसामा गरेको त्यो बन्दमा हाम्रो समर्थन थियो । केहीको विमति पनि थियो होला तर त्यो बन्दले दिएको लोकतन्त्रको प्रयोग सही र राम्रो ढंगबाट उपयोग भएन । ती भन्दा भयानक बन्दहरु सुरु भए । नेताको कुर्सीका लागि बन्द हुन थाले । जनताको नाममा सत्ताका लागि भएका बन्दहड्ताल श्रृङखलाको अधिकतम प्रयोग हुन थाल्यो र नागरिक अब भन्न थाले– त्यो १९ दिनको बन्द नै ‘फेक’ थियो, ठिक त त्यसअघि नै पो रहेछ ।
नागरिक अधिकारका लागि बन्द रे । अधिकार के मा छ ? हामीले एक दिन बन्द गरेकै हो, चुनावको दिन पनि । त्यो दिन हाम्रो स्वीकारयोग्य बन्द थियो र कहिले बन्द नगर्ने मौन सहमतिमै हामीले मतदान गरेका थियौं । त्यसको परिणामको हिसावले हामीले सुन्दर, शान्त र विशाल नेपालको परिकल्पना, अधिकारसहित स्थापित गर्न जिम्मेवारी दिएका थियौं । तर, फेरि तपाइको बन्द ? अनि, फरक मुद्दाको अर्को बन्द ? ठिक छ, बन्द नै गर्ने भए मिलेर गरौं एक वर्षसम्म बन्द । गिनिजबुकमा नाम लेखाऔं न ३ सय ६५ दिन बन्द गरेर । किन, दुनियाँलाई सकस दिनका लागि आह्वान गर्ने यो तथाकथित बन्द ? के हो लक्ष्य ? के हो उद्देश्य ? अनि, जबरजस्तीको बन्द ? किन मान्ने बन्द ? तर्कका आधारमा हुनुपर्छ व्यवाहार, लिडेढिपी र जबरजस्तीको बन्दले के हुन्छ ? यसको उत्तर दिनसक्ने क्षमता छ त आह्वानकर्तासँग ? के यो बन्द जायज छ त ?
कुनै हिसावले ध्यान नदिँदा एउटा विल्डिङ गिरेजस्तो, हराएजस्तो, कुनै खास एक्सन नलिँदा भत्किएको विल्डिङको हविगत जस्तो हुनेछ मान्छेको जीवन र भविष्य, बन्दका कारणले । मान्छेहरुले योचाँही दशक वितेपछि थाहा पाउनेछन् र त्यतिबेला भन्नेछन्, व्यर्थै गरिएछ बन्द, व्यर्थै गरिएछ आन्दोलन । जुन आज आम हुँदा खाने समुदाय भनिरहेको छ । यहाँ मुलुक हाँक्ने नेताहरुले ठान्छन् बन्द आफ्नो विजनेशका लागि गर्ने हो । अहिले बन्दकर्ताहरुको दिमाग भुटिएको छ की यदि तिमी बन्द गर्न चहान्छौ भने अहिले गर । अहिले नगरे पछि गर्नका लागि निक्कै ढिलो हुनेछ भन्ने । तर त्यसो होइन । बन्दको आह्वान अधिकारको खोजीका लागि भएपनि, सीमित राजनीतिक दलको अडानका निम्ति हुने बन्दले कतिपयको दैनिक अधिकार खोसिइरहेको छ ? के बन्दकर्ताहरुलाई थाहा छ, तिमीहरुको राजनीतिक अधिकारभन्दा पनि प्रधान र प्राथमिकचाँही मान्छेको खान पाउने अधिकार हुन्छ भन्ने ? आम साधारणको बाँच्न पाउने अधिकार प्राथमिक हो कि होइन ? अस्पताल जान पाउने, व्यापार गर्न पाउने, बन्दको विरोध गर्न पाउने अधिकार नागरिकको हो की होइन ? यदि त्यसो हो भने मान्छेको न्युनतम अधिकारलाई हनन् गरि किन भइरहेको छ बन्द आह्वान ? तत्कालिन अवस्थामा सत्ताको स्वाद लिइसकेका र बन्द गर्न हुँदैन भनी राज्यको संयन्त्र नै हाँकिसकेका पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न– के बन्द गर्न सुहाउँछ तपाइले ? पूर्वप्रधानमन्त्रीको ट्याग भिरेर राज्यको सुरक्षा बोकेर नागरिकलाई पिल्साउन पाउने अधिकार तपाइलाई कसले दियो ? तपाइका यस्ता हर्कतहरुका कारण ममाथि प्रश्नहरुको ओइरो लाग्छ, बन्द हो की होइन ? भन्ने । त्यसको जवाफ म दिन चहान्न, तर उनलाई सूचनाहिन पनि बनाउन सकिन्न नि ? के उत्तर दिने ? एक दशकसम्म नेपालभित्र बसेर, संघर्ष गरेर हिँड्दा कयन दिन बन्दको पीडित मै पनि भएको छु । सहज छैन बन्द आह्वान गरी चोकचोकमा फेटाधारी भाडाका कार्यकर्ताको जबरजस्तीमा फँसेका मान्छेको दुख सुनाउन । निक्कै कठिन छ, सुनाउन नै, भोग्नेको पीडा कति होला ? र त कोरियातिरबाट साथीहरुले गर्ने व्यंग्य र आम चिनजानका जनसाधरणले सोध्ने एउटै प्रश्नले सँधैभरी गिज्याइरहन्छ । के बन्द हो र ? म अनुत्तरित मुर्तिजस्तो बन्दछु, आफैंले आफैंलाई फेरि गिज्याउँछ ।
अहिले संविधानसभा बन्द छ । बन्दजस्तै, विरोधका स्वरहरुले चलिरहेको छैन । सकडमा कुर्लिनु र संविधानसभामा भइरहेको गतिविधिले हामीलाई गिज्याउनु उस्तै भएको छ । आशा र भरोसामा संविधानसभाको निर्वाचनमा विस्फोट हुँदा पनि जो मतदानका लागि बुथहरुमा पुगेका थियौं, उनीहरुको अपमान भएको छ । प्रतिबद्धताहरुबाट पछि हटेका कथित राजनीतिक दलका नेताहरुको व्यक्तिगत मुद्दाले हामी बन्धक बनेका छौं । अनि, पीडित हुँदै आएका छौं, बन्दको । हामी यो बन्दलाई सदाका लागि बन्द गर्नतिर किन उन्मुख नहुने ?