Thursday, January 1, 2015

उताको ‘पिके’ यताको ‘पिके’


विनोद ढकाल  
राजकुमार हिरानीले केही साता अघिमात्र ‘पिके’ बजारमा ल्याए । उक्त पिके हेर्नका लागि अग्रिम बुकिंग गरेर हलतिर दौडिने नेपाली हर पुस्ताहरु भव्य भए । तर, हामी नेपालीको सौभाग्य के हो भने यस्तै तिव्र प्रतिक्षामा हामीले पनि पिके पर्खिएका थियौं र देख्यौं । हिरानीको पिके एउटा ससपेन्स फिल्म थियो । अनि, हाम्रा पिकेचाँही ससपेन्स पोलिटिसियन थिए । उताका पिके आमिर खान । अनि, हाम्रा पिके भनेक प्रचण्ड उर्फ पुष्पकमल दाहाल प्रचण्ड । 

कुनै बेला नेपाली जनता पिकेलाई नदेखेर हैरान हुने गर्दथे । पिकेको दर्शन र उनको स्टेटमेन्ट पाउनका लागि जनताको तिव्र इच्छा हुन्थ्यो । उनले मुलुकको मुहार परिवर्तन गरेर फरक दुनियाँमा नयाँ क्रान्तिको विजारोपण गर्छन् भन्ने लाग्थ्यो । तर, अहिले ति अति प्रतिक्षाका पात्र पिकेलाई देखेर दाह्रा किट्ने जनसाधारण बढेका छन् तर हलतिरको पिके हेर्नका लागिचाँही मानिसहरुको घुइँचो लागेकै छ ।

व्यवस्थाको परिभाषा कुनै कानुनविद्को उपमा, संसद सदस्यको पद र ऊ अनुबन्धन भएको राजनीतिक दलको दर्शनका आधारमा हुन सक्तैन, तर हाम्रा पिकेले गरे । राजनीतिक दलमा अनुबन्धन भएको अधिकारकर्मी वा कानुन व्यावसायीले कानुन र लोकतन्त्रको व्याख्या दलपरक विषयमा गर्न थाल्यो भने मुलुकले न्यायको बाटो लिन सक्तैन । यदि लोकतन्त्रको परिभाषा पनि आफुकेन्द्रित स्वार्थका आधारमा भयो भने त्यो दुर्भाग्यपूर्णभन्दा अरु के हुन सक्छ र ? यताका पिकेलाई थाहा भएर पनि जनताले थाहा पाउन सकेका छैनन् । 
संविधानसभाको निर्वाचन, व्यवस्थापिका संसदको स्थापना र नयाँ संरचनामा देखिएको संसदका अगाडी अनेक प्रश्न छन् । आकारको हेराफेरि हुँदैमा तीन दलको बहुमतीय कव्जाबाट संविधानसभा उम्किन पाएको छैन । त्यसैले पनि एमाओवादीको दबदबा भनौ या उसको सहमतिकै आधारविन्दु पर्खिएर बसेका छन्, प्रधानमन्त्री कोइराला । माने पनि नमाने पनि अघिल्लो संविधानसभाको विघटनको दुर्घटनाका पयार्य पनि यी तिनै दलहरु हुन्, कांग्रेस, एमाले र एमाओवादी अनि यीनका नेताहरुको सहभागीतामा बनेको संयन्त्र नामको राजनीतिक क्लव थियो । त्यो क्लवका चक्रीय अध्यक्षहरु । र, अहिले पनि बनेको संयन्त्रका संयोजक हाम्रा पिकेको भुमिका पनि उबेला निक्कै सक्रियता थियो ।  

खासगरी अघिल्लो संविधानसभाको दोष आफ्नो टाउकोमा लिइसकेका राजनीतिक दलहरुले फेरि पनि क्लव गठन गर्नुको औचित्य अहिले पुष्टि हुन सक्तैन । केही एमाओवादीका नेता, सल्लाहकारहरुले राजनीतिक संयन्त्रको अनिवार्यता देखाएका छन् । तर, यो अनिवार्यता आवश्यक छैन । अहिलेपनि आम सार्वभौम नेपाली, संसदमा जनप्रतिनिधिको भुमिकाको विषय मान्नेहरुका लागि आफुले जिताएका संसद सदस्यहरु सक्रिय र प्रभावकारी हुन् भन्ने नै हो । तर, ती प्रतिनिधि जो दलको लगामलगाएको घोडाका रुपमा प्रस्तुत हुन्छन् र जनताको आवाज भन्दा पनि दलको नाममा बन्धक बन्छन् भने त्यो संसद वा संविधानसभाले कसरी काम गर्न सक्छ ? अहिले तीन दल वा राजनीतिक चार शक्तिका नाममा उही निरन्तरता देखिइसकेको छ । उही अभ्यासको प्रचुर प्रयोग भइरहेको छ । 

यदि कांग्रेस, एमाले र एमाओवादीको सहमति विधि र विधानविपरित, संविधान विपरित, लोकतन्त्रको व्यवाहारिक व्याख्या विपरित छ र त्यसो गर्न हुँदैन भन्ने आम जनताको चाहनालाई अभिव्यक्त गर्नु तानाशाही हो र ? लोकतान्त्रिक व्यवस्थाबाट बनेको संसदीय प्रणालीमा एकजना सदस्याको आवाज दवाउँदा पनि त्यो प्रजातान्त्रिक पद्दतीको खिलाफ हो । लोकतन्त्रको मान्यताको उपज भनेको सवैको आवाज सरल, सहज र राज्यसम्म पुग्नुपर्ने र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने मान्यताले जनप्रतिनिधिको निर्वाचन हुने गर्दछ । यदि निर्वाचन मान्ने हो भने राजनीतिक दलका नेताले चलाउने एक्काको घोडा बन्नु नै दलीय लोकतन्त्रको परिभाषा हो र त्यो न्यायसंगत हुँदैन भने फेरिपनि जनता दलीय तानाशाही व्यवस्थामा रहन्छन् । त्यो तीन दलको अहिलेको हर्कतले देखाइसकेको छ । 

खासगरी जनमतको कदर नगर्ने र सहमतिका नाममा अघि बढेको राजनीति र जबरजस्ती तान्न खोजिएको उक्त रथको गन्तव्य कहाँ हो ? भन्ने विषयमा पिकेहरु अन्यौलमा छन् । एकबाट विभाजन भएर चार माओवादी भइसक्दा कसको कुरा आधिकारीक हो भन्ने मान्यता नै अलग छ । अव आफैं विभाजित भएका सवै माओवादीका फरक विचार छन्, कोही संविधानसभा विघटनको कुरा गर्छन्, कोही संविधानसभामा सर्वपक्षीय छलपलको कुरा गर्छन् । हाम्रा पिके यही मुद्दा बोकेर अहिले तीन दलको वैठकमा गइरहेका छन्, विषयबस्तु झन गन्जागोल भइसकेको छ । अघिल्लो संविधानसभामा एउटा दल हुँदा पनि सहमति हुन नसकेको, गर्न नसकेका पिकेले अहिले यो संविधानसभामा सवै माओवादीहरुलाई कसरी समेटेर लैजान सक्छन् ? झुन्ड झुन्डमा विभक्त माओवादीको समान धारणा बनाउन सक्तैनन्, पिकेले । जे होस्– संविधानसभामा फरकमतसहितको संविधान जारी गराउने जिम्मेवारी उनमा अवश्य पनि छ । यी पिकेको सोच के हो ? स्पष्ट छैन । तर, उताको पिकेको सोच छर्लंग छ ।  

हिरानीको पिकेले दुनियाँमा भगवान एक छ, मानिसको सोचको कुरा हो । आस्थाको कुरा हो । मिलेर बस्नुपर्छ भन्ने सन्देश छाड्छ । हिन्दु, मुस्लिम, इसाई, थर जात भात सवै मान्छे हो, मानवताको कुरा प्रधान हुन्छ । अनेक व्यवाहार भएका मानिसहरु भएपनि अन्ततः मानवता र मिलेरै समस्या समाधान गर्नुपर्छ भन्ने सन्देश छाड्छ, हिरानीको पिकेले । अनि, हाम्रा पिकेचाँही जातीयता हुनुपर्छ, नभए रक्तपात हुन्छ, मुलुक ठप्प पार्छु, हामीलाई फुटाइयो भन्छन् । अनि, बारम्बार आफुलाई देवत्वकरण गर्ने प्रयत्नमा लागेका छन् । देउता मान्छे बन्न सक्छ तर मान्छेको देवत्वकरण हुन सक्तैन भन्ने कुरा उताको पिकेले भन्छ, यताको पिकेचाँही देउता नै बन्न खोज्छन् ।

मुलुकको राजनीतिक मोडमा यताका पिकेको भुमिका निक्कै कमजोर छ, अहिले । उताको पिकेले हल्लाएको विश्वजति पनि यताका पिकेको बोली विक्दैन । त्यसकारण म हाम्रा, नजिकका पिकेलाई भन्दछु– संविधान दिनुहोस्, तपाई आमिरको पिकेभन्दा चल्नुहुनेछ । माथि पुग्नुहुनेछ । तपाइका प्रशंशकहरुको घुइँचो लाग्नेछ । आलोचकहरु सवै समर्थक र प्रशंशक हुनेछन् । विभाजितहरु एकीकृत हुन आउँछन् । भिन्न विचार राख्नेहरु तपाइको शरणमा आउने बाध्यता मुलुकले गराउनेछ । अन्त्यमा– शुभकामना पिके जी ।

No comments:

Post a Comment