Friday, January 1, 2016

२०१६ झुल्किनु अघिको वर्ष...


  • रातले विहानीको आश गर्छ, विहानीले साँझको विकल्प खोज्छ । एक रातले एक वर्षगाठलाई भुलाइदिन्छ, एक रातले अर्को वर्षगाँठको उत्सव साट्छ । तर, समिक्षा आफैंमा सस्तो हुँदैन । त्यहिँमाथि वितेको वर्षको समिक्षा र दौडने वर्षको प्रण फरक हुन् । २०१६ झुल्किनुअघि...झुल्केपछि...।
  • आफुले आफ्नो बारेमा लेख्नु र भन्नुमा मान्छेहरु घमण्डीको संज्ञा दिन्छन् । यथार्थ र आडम्बरीको काम नगरी निरन्तर आफ्नो हृदयलाई स–शब्द उतार्नका लागि मलाई कुनै कठिनाई भएन । मैले निरन्तर मेरो शव्दहरु र त्यसका प्रत्येक पात्रहरुसँग यथार्थ पूर्ण रुपमा राख्न सफल भएँ । मलाई गर्व छ मप्रति नै, २०१५मा । 
  • म एउटा लेखक हुँ । लेख्ने मेरो पेसा हो । अनि, संवेदनाहरु र भावनाहरु समेटेर कथाको उचाई दिनु, मानिसहरुलाई पढ्नका लागि उत्प्रेरित गर्नु मेरो कर्तव्य । मभित्र कतिपय संवेदनाका अन्य थाकहरुको खाता मैले खोल्न सकिन, मेरो कमजोरी नै थियो, सायद । यद्यपि, केही बजारमा पाठकको हातमा पु¥याउने कोसीस गरें । यसबाट केही मान्छेहरुको मन दुखेको पनि थाहा पाएको छु । त्यसकुराप्रति म सचेत छु । म जीवनलाई अरुको भावनासँगको अन्तरंगमा नयाँ ढंगबाट उठाउने प्रयत्न गर्नेछु । 
  • २०१५ मा मसँग भएका अनेक उतारचढावमा मलाई लाग्यो होला उनीहरु दोषी छन् । तर, त्यसलाई मैले प्रत्यक्ष वा परोक्ष रुपमा अभिव्यक्त गर्न सकिन । म आजैबाट ती सवै दोष आफुमा केन्द्रित गर्न चहान्छु । दोषका कारणहरु अरुलाई दिएर आफु चोखो बन्ने प्रयत्न मैले गर्ने छैन । राम्रो नराम्रो सवैको दोष आफुमा नीहित राख्दै मभित्रबाट मित्रहरु कमलका रुपमा उदाउन भन्ने मेरो अपेक्षा छ, २०१६ ले उनीहरुलाई सफल बनाओस् । 
  • वास्तवमा हरेक वर्षहरु मेरो आर्थिक जीवन कष्टकर नै वितिरहेका छन् । २०१५ पनि कुनै सफल वर्षका रुपमा वितेको छैन । काम गर्ने र दामका लागि लामो समयसम्म प्रतिक्षा वा आफु पीडामा परेको दयादृष्टिको भाव देखाउनुपर्ने अवस्था आयो । यो निकै दुखदायी समय बनिरहेको थियो । सृजनात्मक काममा लागेको मानिस जहिलेपनि आर्थिक समस्यामा हुन्छ, भन्छन् । अनि, मजस्तो मान्छेचाँही सँधैभरी नै आर्थिक कष्टमा उभिरहेको हुन्छ । सहरको नयाँ अनुहार र गाउँको सोझो र निस्कपट व्यवाहारले आर्थिक जीवन बलियो हुन सकेन । आशा गरौं, २०१६ सहरीयाजस्तो बन्नेछ । 
  • धेरैले गरिरहने वाचा तर बारम्बार तोड्ने गरेको कुरा हो, रक्सी छाड्ने कुरा । म भन्छु जव मधुशालामा प्रवेश हुन्छ अनि केही कुराहरु स्मृतिका पानामा फर्किएर आउँछन् । म झुठो वाचा गर्दिन, मधुशालाका मेरा प्रवेशहरु न्युनिकरण हुनेछन् तर निमिट्यान्नचाँही गर्दिन । जव निमिट्यान्न पार्छु, मेरो जीवनका लेखन उर्जाहरु पनि कमजोर बन्नेछन् भन्ने मलाई लाग्छ । २०१६मा ०१५ को निरन्तरताको क्रमभंगचाँही पक्कै हुनेछ ।
  • सत्यवादी बन्नु गलत होइन । सत्यतामा हिँड्नु गलत होइन । आडम्बरमा रमाउन नचाहनु गलत होइन । तर, अहिलेको समाज, अहिलेको विश्व, युरोप र अमेरिकाका लागि यो गलत सावित हुन्छ । मेरो २०१६ मा यस्ता धेरै सत्यहरु गलत सावित भएका छन् । त्यसमा मलाई कुनै गुनासो छैन । संवेदनाहरु र सत्यताहरुको मिलनले एउटा उत्कृष्ट साहित्यको जन्म गर्दछ । त्यो साहित्य जसलाई मानिसहरुले काल्पनिक ठान्छन्, किनभने यहाँ झुठको खेती ज्यादा हुन्छ । यो सहरको आडम्बरबाट उम्किएर सत्यतामा बाँच्ने प्रयत्न, २०१६ मा मिलोस्, मलाई । 
  • अन्त्यमा, धेरै कुराहरु छन् जो मैले लेख्नैपर्ने पनि थिए । र, लेखेर साध्य नहुने पनि छन् । यद्यपि, यत्ति भन्छु– ०१५ मा मैले मेरो जीवनका हरेक पात्रहरुसँग, देशविदेश, अफिस, सडक जहाँपनि कुनैपनि प्रकारको अन्याय गरेको भए, मन दुखाएको भए, चित्त बुझाउन नसकेको भए, ३६५ दिनको चक्रमा भएका गल्ती भनेर माफी दिनुहोला । यो माफी मेरा लागि नयाँ सिकाइको बाटो हुन्छ । जसलाई दिन मन छैन, दिन इच्छा लाग्दैन, वहाँहरुको आगामी बर्ष मेरो भन्दा एक सय गुना राम्रो होस् भन्ने शुभकामना दिन चहान्छु ।

No comments:

Post a Comment