राज्यसत्ता वडो लोभीपापीहरु बस्ने गुँण हो । यो गुँणमा लामो समयसम्म ओथारो बसेर पनि मधेसका मामिलालाई चल्ला बनाउन नसकेका त्यहि भ्रष्ट अनुहार अहिले नेताको विम्वमा उभिएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ११ मा छ मेरो घर । म अहिले काठमाडौंमा बसेर पत्रकारिता गर्छु । त्यो यस्तो वडा हो, जहाँ मधेसी मुलका साथीहरुको बाहुल्य छ । मेरो एउटा फरक समाज छ । म त्यो समाजमा फरक मुलको अव्यय अवश्य हुँ, तर वर्ग र वर्ण फरक छैन । अनुहारको रंग केलाउँने हो भने म पनि कालै छु । २१ वर्षसम्म त्यो समाजभित्र रुमल्लिएर निस्कँदा पहाड बाहुल्य समाजले मलाई मधेसी नै भन्थे । म गर्वसाथ भन्छु, म मधेसी नै हुँ । म जातले होइन क्षेत्रगत हिसावले मधेसी हुँ । मधेस आन्दोलनसँग मेरो मर्म र भावना जोडिएको छ तर त्यसभित्रको अवसरवादी नेतृत्वसँग म जीवन्त सामिप्य हुनेवाला छैन । ०५६ तिरको आम निर्वाचनका बेला म जम्माजम्मी नेतामात्र चिन्दथें । त्यसबेला मेरो घर सप्तरी क्षेत्र नं १ मा पर्दथ्यो, अहिले २ मा पदर्छ । जयप्रकाश प्रसाद गुप्ता नामका तत्कालिन नेपाली कांग्रेसका नेताले त्यस क्षेत्रमा विजय हासिल गरेका थिए । मलाई याद छ, नेता जी मेरा घरमा आएर आँप खाएका थिए । मेरो स्मरणको तथ्य के हो भने चुनाव गर्मी महिनामा भएको थियो, सायद ।
विनोद ढकाल |
मैले मधेस बुझेको र त्यहाँको समाज केलाउने शिराका रुपमा त्यहि घटनालाई लिन्छु, जुनबेला नेपाली कांग्रेसको बहुमतको सरकार बनाउनका निम्ति मधेसी मुलका नेताहरु कांग्रेस राजनीतिमा सक्रिय थिए । तर, समय काल र परिस्थितिसँग जोडिएको स्वार्थ केन्द्रमा भएकै कारणले गुप्तालगायतका नेताहरु अहिले मधेसमा सक्रिय छन् । उनी बाहेकका ०६४ को मधेस आन्दोलनले जन्माएका नेताहरु पनि फरक समाजबाट जन्मिएका होइनन्, यहि स्वार्थ र अवसरहरुले जन्म दिलाएको सवैले बुझेका छन् । तर, के यी नेताहरु असली मधेसका मसिहाका रुपमा स्थापित भए ? यीनको राजनीतिक विगत, वर्तमान र भविष्यपनि मधेसको पीडासँग नजिक छ ? के मधेस अधिकारसम्पन्न भयो ? खसवादी राज्यसत्ताले गर्न दिएन भन्ने तर्कसँग नजिक हुनुभन्दा अघि खसवादी राज्यसत्तामा लामो समय रुमल्लिँदा असली मधेसको व्यथा किन कार्यान्वयन हुन सकेन ? जव सत्ताको सवाल आउँछ अनिमात्र किन मधेस आन्दोलनमा उत्रिन्छ, निर्दोष मारिन्छ र मर्न बाध्य तुल्याइन्छ ? यसको खास कारण मधेसभित्रको विभेद नै हो । मधेसीका मसिहाले खास जनतामाथि गरेको जातिय विभेद हो । मधेसमा ठूलो जातीय विभेद छ । त्यहाँ जातीय दमन पनि उत्तिकै छ । मेरो गाउँभन्दा अलि पर दुखीया भन्ने एकजना डोम जातिका साथी थिए । अचेल उनको घर त्यस ठाउँमा छैन । खोजी गरी हेरें पुरै परिवार पलायन भएको रहेछ । ठूला जातका मधेसी साहुहरुले उनलाई नुन र प्याज पनि दिँदैन थिए । दशैंतिहारमा हामीकहाँ आएर एक झोला खानेकुरा लिएर जान्थ्यो ऊ । खै, कता हराएछ उसको परिवार र उसको एक धुर ऐलानीको विरासत अहिले भेटिँदैन । उसको मुक्तिको खोजी थियो । तर, समाजले उसलाई मुक्ति दिएन बरु परिवार नै त्यस समाजबाट उन्मुक्ति पाउनका लागि कतै विलय भएको रहेछ, खोजी गर्न सकिएन । तर के मधेस राजनीतिले उसलाई न्याय दियो या अपरिवर्तित समाजको प्रतिविम्बका रुपमा दुःखीया हरायो ? राजनीति समाज परिवर्तनको संवाहक थियो भने शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा मसिहाहरु लामो समयसम्म किन निदाएर बसे ?
राजनीति भनेको समाजको प्रतिविम्ब हो । समाजको हर दुख राजनीतिमा समाहित भएको हुनुपर्छ । जहाँ जातिय विभेदको ठूलो खाडल छ, धनी र गरिबको शासक र रैतीको जस्तो व्यवाहार छ, त्यहाँ क्षेत्रगत अधिकार प्राप्तिको मुल्य के हुनेछ ? त्यहाँको समाज परिवर्तन नहुन्जेलसम्म ठूला जाति मानिने राजनीतिज्ञ, वकिल, अधिकारकर्मीले अधिकारको हावादारी कुरा गर्नुको के अर्थ रहन्छ ?ःउन्मुक्ति त्यहाँको दलित, उत्पीडित र दमनमा परेको समुदायले खोजेको हो, यदि यादव, मण्डल, ठाकुर, झालगायतका लागि अधिकारको आवाज थियो भने इतिहाँस पल्टाएर हेरौं राज्यका हरेक अंगमा यीनै जातिले भएरभरको अवसर लिएका छन् । आरक्षणको अवसर पनि यहि सम्पन्न परिवार, मधेसी कोटाको अवसर पनि यहि सम्पन्न समुदायले मात्र उपभोग गरेको छ । जुन जाती पञ्चायत, शाहीकाल, प्रजातान्त्रिक समय र लोकतान्त्रिक गणतन्त्रसम्ममा पनि अवसरले निर्धारण गरेका हरप्रकारका कुर्सीमा विराजमान छन् । चाहे कर्मचारी क्षेत्रमा होस्, शिक्षकमा होस्, इन्जिनियरिंगमा होस्, उद्योगमा होस् वा सवैभन्दा बढोत्तरी पेसाका रुपमा फस्टाएको राजनीतिमा होस्, यीनले दुःखीरहेको र चह¥याइरहेको मधेसको घाउलाई निको पारिरहेका छन् या आलो बनाएर आफ्नो स्वार्थको बाटो कोरिरहेका छन् ? विश्लेषण गरेर हेरौं ।
मलाई थाहा छ, मेरो लेखन जति तथ्यमा आधारित भएपनि त्यो उन्मुक्तिको खोजी गरिरहेको अशिक्षित परिवार, जातीसम्म विरलै पुग्नेछ । किनभने अहिलेको मधेस पनि ति शिक्षाविहिन, राज्यविहिन परिवारले बुझ्न सक्तैन न त्यहाँको उपल्लो शासक वर्गले बुझाउने प्रयत्न गर्नेछ । मधेस आफ्ना जातीको विरासत बनाउन उद्दत अल्पज्ञानी शासकहरुले अधिकार राज्यसँग उपभोग गर्नेछन्, त्यहाँका साधारणलाई उपयोग गर्न दिने छैनन् ।
खेतका गरा गरामा पानी लगाउने, धानका हर बालीहरु रोप्ने, काट्ने र झाँट्ने, आलीमा चपरी खनेर माटो मलिलो बनाउने, काँडेतारको घेराबेरा लगाएर सुरक्षित बासस्थान खोपिदिने दलित गरिब र विपन्न वर्ग हो, खास मधेस । उनले न हिजो अधिकार पाएका थिए न आज पाएका छन्, न भोली राज्यबाट हडप्नेहरुले दिनेछन् । जुन नेतृत्व ब्राम्हणवादी सोचबाट ग्रस्त हिजोका ठेकेदार, तस्कर र शासकवर्गबाट परिचालित छ, त्यसले वास्तवमै बाँचीरहेको, पीडामा छटपटाइरहेको मधेसलाई अधिकारसम्पन्न बनाउन सक्तैन । काठमाडौमा महल ठड्याउने, यहि बलमा देशविदेशसँग सम्बन्ध बढाउने अहिलेको शासक वर्गले भोलीको राज्यसत्ता पीडित मधेसका लागि सुम्पने छैन । उनीहरुले खाली मधेसको भावनालाई रगतमा पोतेर आफ्नो सत्ताको सुरक्षित जोहोमात्र गरिरहेका छन् । राज्यले असलमा मधेसका मागहरु पुरा गर्न खोजेको छ भने गरागरामा पानी, घरघरमा शिक्षाको बत्ती, टहराहरुलाई चिसो छेक्ने पक्की घरको परिकल्पनासहितको कार्यक्रमलाई लागु गर्न सक्नुपर्छ । यो राज्यको दायित्व पनि हो ।
यतिवेला मधेसका नेताहरुमाथि खनिँदा मधेसी जनतालाई लाग्छ कुनै समुदायप्रति एउटा फरक मुलको मान्छेले वर्णका हिसावले व्याख्या गरेको छ । यो सन्दर्भमा लाग्न सक्छ अधिकारको आन्दोलनमा लड्दा खसवादी दमनकारीको आवाज उठेको छ । तर, राज्यसत्ता वडो लोभीपापीहरु बस्ने गुँण हो । यो गुँणमा लामो समयसम्म ओथारो बसेर पनि मधेसका मामिलालाई चल्ला बनाउन नसकेका त्यहि भ्रष्ट अनुहार अहिले नेताको विम्वमा उभिएका छन् । इतिहाँस साक्षी छ, मधेसले जन्माएका नेता गजेन्द्रनारायण सिंहहरुको लासमाथि उभिएका राजेन्द्र महतोहरुले सत्तास्वार्थभन्दा केही देखेको भए, आज मधेस समृद्ध, अधिकारसम्पन्न र आत्मनिर्भरमा उभिएको क्षेत्र हुने थियो । न निर्वाचन क्षेत्रको लडाई हुनेथियो, न सिमांकनको मुद्दा उठ्ने थियो । मधेसमा तिलमिलाइरहेको हुनेथियो अन्य क्षेत्रभन्दा अझ प्रभावशाली कसरी बन्ने ? भन्ने सपनाका लहरहरु । कसैले ठगेको छ मधेसलाई भने तिनै ठेकेदारहरुबाट जन्मिएका एकाध नेताहरु, एकाध मानवअधिकारकर्मी, एकाध वकिलहरु र एकाध प्राध्यापकहरुले । देखिएको छ, त्यहि उपल्लो शासकवर्गबाट माथि उठेको भनिने कथित मधेसी प्राध्यापक, अधिकारकर्मी, वकिलहरु विभिन्न एजेन्सीमा धाउन छाडेका छैनन् । तर, जनताको पीडाको असली समाधान निकाल्ने प्रयत्नको सिन्को पनि भाँचेका छैनन् । काठमाडौंको विरासत, सिंहदरबार वरिपरिको लालच निक्कै कठोर छ, जसले ढलिरहेको आम मधेसी नागरिकको पसिना र रगतको मुल्यको महत्व दिँदैन । दिने भए, लोकतन्त्र अघि र पछिका राज्यसत्तामा रुमल्लिएका मधेसी ठेकेदारहरुको व्यक्तिगत विवरण खोजौं, उनीहरुले पुरा गरेका सामाजिक, आर्थिक र राजनीतिक दायित्वका बारेमा विश्लेषण गरौं ।
अतः अहिले चलिरहेको आम मधेसीको आन्दोलन न्यायका लागि हो भने न्याय नपाएसम्म यो आवाज बुलन्द हुनुपर्छ हैन यदि चुनावमा पराजित भएर कुर्सीको स्वाद नपाएका नेता, विदेशी एजेन्सीको डलर पचाउनका लागि मद्दत पुगिरहेका कथित अधिकारकर्मी र वकिलहरुका लागि मात्र हो भने तिनका विरोधमा पनि भण्डाफोर हुन सकोस् । मेरो मधेस स्वतन्त्रता, न्याय र अधिकारसम्पन्न हुनका लागि शिक्षा, रोजगारी, युवा पलायनशुन्य समाजमा रुपान्तरण हुनुपर्छ भन्ने मान्यतामा म उभिएको छु ।
No comments:
Post a Comment