Monday, December 3, 2012

युवालाई नेतृत्वको प्रस्ताव

विनोद ढकाल
नेपाली राजनीतिको संगिन मोडमा नयाँ प्रधानमन्त्री र सहमतिको सरकारको खोजी भइरहेको छ । देशी शक्तिकेन्द्रहरु र विदेशी दुतहरु पनि नेपाली शक्तिको नेतृत्वका लागि सक्रिय बनेका छन् । तर, आफ्नो मुलुकको भविष्यका लागि नेपाली जनशक्तिचाँही गौण बनाइएका छन् । एक दुई दर्जन नेताको कोठे वैठक र आधा दर्जन विदेशीको सुझाव र सल्लाहमा मुलुकको भविष्य निर्धारणको चलखेल भइरहेको छ । अनि, नेपाली जनता नयाँ नेतृत्व को होला ? भन्ने विषयमा चासोपूर्ण भएर टेलिभिजनका पर्दा, अखबारका पानालाई नियाँलिरहेका छन् । मुलुकले नयाँ प्रधानमन्त्री, सहमतिको सरकार पनि पाउला । संक्रमित राजनीतिले तत्कालका लागि एउटा किनारा पाउने सम्भावना पनि बढ्ला । तर, त्यो सम्भावना सुरक्षित अवतरण हुनेछ वा लोकतन्त्रका नाममा बन्धक बनाउने एउटा खेल ? आम प्रश्न बन्नुपर्ने वेलाचाँही पक्कै भएको छ ।
पुस्तान्तरण हुन नसकेको राजनीति, नयाँ गति दिन नसकेको संक्रमित व्यवस्था र भ्रष्टाचारमा लतपतिएको कर्मचारीतन्त्रसँगै हामी उज्वल निकासको बाटो खोजीरहेका छौं । आफुमा समाधान खोज्न छाडेर विदेशी सल्लाहकारहरुको सुझावलाई पर्खिरहेका छौं । यो गति गुञ्जायस छ, विश्लेषण गर्ने वेला पक्कै भएकै छ ।
यति लामो समयसीमा, लामो छलफलमा कुन राजनीतिक दलले सरकारको नेतृत्व गर्ने भन्ने सवाल प्रधान बनेको छ । तर, सवै राजनीतिक दलले पुस्ता हस्तान्तरण गरेर नयाँ नेतृत्व, नयाँ पुस्ता भन्ने विषयमा सामान्य छलफल गरेका छैनन् । फेरिपनि आधा दर्जन व्यक्तिका नाममा सहमति खोज्ने प्रयत्नमा जुटेका छन् सवै, तर आधा करोड युवाको सवाललाई सम्बोधन गरेर नयाँ प्रस्ताव गर्ने सोच कसैमा पलाउन सकेको छैन । अवको नयाँ प्रस्ताव युवा नेतृत्वको हुनु आवश्यक छ । तर, सत्तामा लतपतिएको रंगमा युवा रंग मिसाउने प्रयत्न कतैबाट हुन सकेको छैन, यो लज्जास्पद राजनीतिको उदाङ्गो चेहरा हो ।
‘युवा परिवर्तनका संवाहक हुन् । भोलीका नेतृत्व हुन् ।’ हरेक राजनीतिक दलका नेताहरुले व्याख्या गर्ने शैली बन्यो । युवा ‘परिवर्तनका मेरुदण्ड थिए, अवको नेतृत्वका हकदार हुन्’ भन्ने विषयमा कसैलेपनि बोलेनन् । किनभने युवा अर्काका लागि परिवर्तन गरिदिने, शक्ति र सत्ताको वागडोर मिलाइदिने शक्तिका रुपमा प्रयोग भए । ००७ सालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस, ०३६ सालको विद्यार्थी आन्दोलन होस अथवा ०४६  सालको जनआन्दोलनलाई फर्केर हेरौं । ०५२ तत्कालिन नेकपा माओवादीले बन्दुक भिराएर १० वर्षमा २० हजार मानिसको प्रत्यक्ष मृत्युवरणको अवस्थिति गर्ने÷गराउने खास शक्तिलाई नियाँलौं, अथवा ०६२÷०६३ को जनआन्दोलनमा सहिद हुनेहरुलाई मुल्यांकन गरौं । जिउँदा सहिदहरुलाई ‘रिफ्रेन्स’मा राखेर पनि युवाको सवालमा व्याख्या गर्न आवश्यक छ । पुरातनवादी र परम्परागत लोभीपापी राजनीतिक दलका नेताहरुको व्याख्याको शैलीलाई हेर्ने हो भने नेपाली युवा कहिलेपनि नेतृत्वमा पुग्न सक्तैनन् । अधिकार आर्जनका लागि उनीहरु जति नै लडेपनि सीमित व्यक्तिको स्वार्थकेन्द्रित हुने विभिन्न आन्दोलनहरुबाट पुष्टि भएका तथ्यहरु आँखा अगाडी छन् ।
विश्व विकासको इतिहाँसलाई पल्टाउँदा हरेक मुलुकको विकासयात्रा र सम्बृद्धिको मुख्य स्रोत युवाको सक्षमता देखिएको छ । युवाको नेतृत्व र सीपको पारदर्शी प्रयोगबाट नै अमेरिका, चीन, रुस, युरोपका कयन मुलुकहरु, जापान, कोरिया, जापान देखिएका छन् । यहाँसम्मकी आर्थिक हैसियतमा उक्लिनका लागि खाडी राष्ट्रहरुले नेपालजस्ता अवसर दिन नसक्ने मुलुकका युवालाई श्रमलोभममा पारेर बोलाइरहेका छन् । जसले नेपालको निर्माण, सृजना र सम्बृद्धी हुन सकेको छैन भने त्यस्ता मुलुकहरु विकासका उचाइमा पुगिरहेका छन् । यी मुलुकहरु विकासका उदाहरणमात्र होइनन्, युवा शक्ति नै विकासका हर क्षेत्रमा कृयाशिल बन्न सक्छन् भन्ने गतिला उदाहरण पनि हुन् ।
वर्षेनी चार लाख युवा विदेसिदा पनि नेपाली राजनीतिमा युवा आन्दोलन चलीरहेकै व्याख्या छ । राजनीतिको भद्रगोलकै कारण युवाको सहज व्यवस्थापन हुन नसकेपछि अवसरका भोका ‘युवाशक्ति’ मुलुकबाट पलायन हुन थालेका हुन् भन्ने विषयलाई नजरअन्दाज गर्न मिल्दैन । जसले हर प्रकारको विकासमा प्रभाव परेको छ । ग्रामिण बस्तीका खेतहरु बाँझा हुन थालेका छन् भने उत्पादनमा पनि कमी हुन थालेको छ । कृषि प्रधान मुलुकमा व्यवासायिक सुरक्षाको कमीकै कारण श्रमशक्ति विदेसिदा बार्षिक २० अर्बभन्दा बढिको कृषि सामग्री नेपाली बजारमा भित्रिरहेको छ । पर्यटनको उच्चतम अवसर भएर पनि पर्यटनमा विकास र अवसरको बराबर खाँचो देखिएको छ ।
युवाहरु आन्दोलन बाहेक परिचालनसहितको यवस्थापकीय भुमिकाको अवसर उपभोगकर्ता हुन सकेनन् । पुरातनवादी सोचको राजनीतिक व्यवस्थाका कारण नेपाली शक्तिले सहज व्यवस्थापन पाउन सकेनन् । राजनीतिमा शक्ति र हिंसाका लागि युवाको उपयोग ज्यादा भयो । मृत्युवरण गर्ने र क्रान्तिलाई सफल बनाउने शक्तिका रुपमा युवा देखिए तर सत्ता पुस्तान्तरण नहुँदा नेतृत्वदायी भुमिका पाउन सकेनन् । जसले गर्दा अहिलेपनि युवाशक्ति अधिकार, न्याय, रोजगार र नेतृत्वको खोजीमा भौतारिएका छन् ।
राज्यका हरेक निकाय राजनीतिबाट प्रभावित भएकाले पनि युवा आन्दोलन सकारात्मक रुपमा राजनीतिले प्रभावकारी रुपमा नेतृत्व गर्न नसकेको क्षेत्र बनेको छ । नीतिका कुरा राम्रा भएपनि त्यसलाई व्यवाहारमा उतार्ने प्रकृयाको सक्षमता अहिलेपनि नेपाली राजनीतिमा कमजोर देखिएको छ । साँच्चै युवा संघ नेपालका महासचिव निरज आचार्यले भनेजस्तो       संगठनात्मक क्षेत्रमा देखिएका अब्यवस्थापन र समस्याहरुलाई नियाँलेर नयाँ ढंगको व्यवस्थापनमा नलाग्ने हो भने इतिहाँसमा युवाका सवाल आन्दोलनको घेराबन्दिभित्र मात्र परिभाषित हुनेछन् । हाम्रा बिचमा नयाँ नयाँ संभावनाहरु पनि देखा परिरहेका छन ।
अव युवाको सवाल समस्याको पहिचान गर्ने, एक्सरे खिच्ने र तदअनुरुपको उपचार गर्ने आँट र हिम्मतबाट परिचालन र व्यवस्थापन हुन आवश्यक छ । महंगी भ्रष्टाचार कालो बजारी लगायत सामाजिक विसंगति र अन्याय पर्दा आम जनसमुदायले सम्झनसक्ने कर्मठ युवा बन्नका लागि व्यावसायीक र मुलुकप्रेमि हुन आवश्यक छ । त्यसका लागि अवसरको खाँचो छ ।
नेपाली युवा आन्दोलन र त्यसपछि नेपाली युवाको अवस्थाबारे हालसम्मका समग्र गतिविधिहरुको बस्तुनिष्ठ समीक्षा तथा मुल्यांकन गर्न जरुरी छ । सामान्यतः उपलब्धिीहरु देखी रहँदा कमजोरीहरु विर्सने र कमजोरीहरुको चर्चा गरिरहँदा उपलब्धिहरु विर्सने खतरावाट हामी मुक्त हुनु पर्दछ । अव सम्बृद्ध राजनीतिका लागि युवाहरुको संगठित समुह विकासका लागि अघि बढ्नु आवश्यक छ ।
तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा छापिएको लेख ।

No comments:

Post a Comment