Thursday, December 13, 2012

लडाकूको आक्रोश र चौधरी बाबुरामको अपेक्षा

विनोद ढकाल
बाँच्नुमात्र पर्छ के के देखिन्छ । मुलुकको अवस्था, सरकारको नियत, प्रधानमन्त्रीको चाला देखेर उदेक लाग्न थालेको छ । राज्यका चारैतिर छरपस्ट छन् समस्या । सहमतिको नाममा दैनिक हुने ‘फुस्रा’ वार्ताहरुबाट के नै निकास आउँछ भनेर चिहाउनेहरु कम छैनन् । यसबीचमा आउने अनेक प्रकारका समाचारहरुले मानिसलाई अचम्मित पनि बनाएको छ । यसै साता दुईटा खबरहरु निक्कै गवज लागे । बहिर्गमित पूर्व लडाकुहरुले आन्दोलन गर्ने कुरा र गरिब बाबुराम चौधरीको घरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराइको बास निक्कै चासो लाग्ने समाचार थिए । यी समाचारको गहिराइसँग राज्यको भुमिका झन गहिरोगरी जोडिएको छ । तर, नीतिगत तहलाई तल्लोस्तरसम्म व्यवाहारमा लागु गर्दा यी राज्य र सरकारका प्रमुख भुमिका हुने थिए । राजनीतिक परिघटनालाई हेर्दा र सुक्ष्म अध्ययन गर्दा त्यस्तो देखिन्न । प्रधानमन्त्रीले जति दलित र गरिवको घरमा बसे उनीहरुको अहिलेसम्मको आर्थिक अवस्थितिमा सुधार आउने कुनै काम हुन सकेको छैन भने युद्ध लडेर उनलाई सत्ताको कुर्सीमा पु¥याउनेहरु त सडकमै पुगिसके ।
राजनीति फोहोरी खेल हो, यसको पासोमा पर्नु हुँदैन भन्ने नेपाली समाजको उक्तिलाई अहिले राजनीतिक गतिविधिहरुले पुष्टि गरिरहेका छन् । सत्ता र प्रतिपक्षको राजनीतिक खिचातानी, सत्ताको लडाई र मुलुकमा बढेको बेरोजगारीलाई विश्लेषण गर्ने हो भने हामी ‘राजनीति फोहोरी खेल’ भन्दा अर्को परिभाषामा पुग्न सक्तैनौं । आम नागरिकले गर्ने यस्तोप्रकारको परिभाषा अहिलेको परिप्रेक्षमा सान्दर्भिक बनाउने काममा राजनीतिक दल, तिनका नेता र मुलुकले व्यहोरिरहेको क्षति काफी छ । मुलुकका हरेक निकाय, हरेक क्षेत्र राजनीतिबाट प्रभावित हुन्छ । तर, त्यो दर्शनको सही र प्रयोगात्मक अवस्थिति गतिलो नहुँदा नागरिक तहमा वैमनश्यता र विश्वास कमजोर हुँदै जान्छ । जुन हाम्रा राजनीतिक दलको दरिद्र व्यवाहार र नागरिकहरुको टिप्पणीले पुष्टि गरिरहेको छ ।
वर्तमान राजनीति एकीकृत नेकपा माओवादीको वरिपरि घुमिरहेको छ । त्यसका नेता पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराइको निर्णयको वरिपरि घुमिरहेको छ । अनि, सत्ता राजनीतिको प्रमुख कारण बनिरहेको छ । यहाँ सत्तालाई प्रधान बनाएर चलेको राजनीतिका कारण मुलुकले शान्ति प्रकृयाको थालनी, शान्ति सम्झौता यता निक्कै समस्या भोगीरहेका छौं । माओवादी सम्बद्ध र गैर माओवादी र आम नागरिकले पनि निक्कै अघिदेखि माओवादीबाट प्रभावित राजनीतिक व्यवस्थालाई बाध्यात्मक अवस्थामा स्वीकार्नु परेको छ । नागरिक निरीह र राजनीतिक दलहरु बलियो भएर मुलुक चलाउने प्रयत्न भइरहेको छ जुन अत्यन्तै दुखदायी विषय पनि हो । मुलुकमा आर्थिक विकास, कृषि व्यवस्थापन र नागरिक सुविधा तथा रोजगारीका सवालमाथि छलफल हुन सकेको छैन, छलफल र कृयाकलाप सवै सत्ताकेन्द्रित भएका छन् । जसका कारण जनताको आक्रोश निक्के गहिरो भएको छ । त्यसका परिणामहरु प्रचण्डले पाएको थप्पड, सुशिल कोइरालाले पाएको कुर्सी प्रहारको चोट र झलनाथ खनालले खाएको थप्पड सामान्य उदाहरण हुन् । यद्यपि, यस्ता उदाहरणसँगै अव नेताहरुमाथि आक्रमण गर्ने चेतावनी पनि आउन थालेका छन् । र, यसको सवैभन्दा ठूलो चोट एकीकृत नेकपा माओवादीले पाउने निश्चित छ ।
बहिर्गमित लडाकूहरु अहिले आन्दोलनमा छन् । १० औं वर्ष युद्ध लडेर पनि आफुहरुलाई अयोग्य ठहर गरेको भन्दै उनीहरुले राज्यसँग क्षतिपूर्ति माग गरेका थिए । द्वन्द्वकालमा जसले उनीहरुलाई युद्धका लागि निर्देशन दिएका थिए, उनीहरु ऋहिले सत्ताको मुख्य ठाउँमा छन् । तर, उनका माग पुरा गर्न सकेको छैन । बरु, राखिएको माग पुरा गर्न नसकिने भन्दै उनीहरुले वार्तामा आफ्नो अडान छाडेपछि बहिर्गमित लडाकुहरुले आन्दोलन छेडेका छन् । उनीहरुले एकीकृत नेकपा माओवादीको मुख्यालय पेरिसडाँडामा तालाबन्दि समेत गरिसकेका छन् । अहिले उनीहरुको माग पुरा नभएपछि अव कडा र भौतिक आmमणसम्मको आन्दोलनको तयारीमा जुटेका छन् । एकीकृत नेकपा माओवादीका नेतालाई भौतिक आक्रमण गर्ने चेतावनी दिनु स्वभाविक हो । जसले आफ्नो सत्तास्वार्थका लागि घरबार र समाजबाट नै टाढा राखेर उनीहरुलाई बन्दुक उचाल्न बाध्य बनायो, आज उही सही व्यवस्थापनका लागि तयार छैन । अनि, आफैंले दिएको प्रशिक्षणको प्रतिविम्ब पनि हो, यस्तो चेतावनी ।
५० औं हजार मानिसलाई द्वन्द्वको प्रभावमा राखेर व्यक्ति स्वार्थका हिसावमा राजनीति चल्न थालेपछि यस्ता चेतावनीहरु स्वभाविक बनेर आउन थालेका छन् । मानिसलाई द्वन्द्वको प्रभावमा पीडित बनाएर बनेको सरकारको औचित्यमाथि अनेक कोणबाट प्रश्न उठ्नु स्वभाविक हो । तर, अव पार्टीमा संगठित भएका पूर्व लडाकुहरु नै मुलपार्टी विरुद्ध भौतिक आक्रमणसम्मको आन्दोलनमा जाने घोषणा सहित सडकमा आउनु भनेकोचाँही एमाओवादी पार्टी पूर्णंरुपा राज्य र कार्यकर्ताभन्दापनि व्यक्तिवादी सोच, अवसर र महत्वकांक्षाबाट अभिप्रेरित भएको पाइएको छ । ऊ, सरकार केवल सरकार टिकाउने खेलमा मात्र लागेको छ । लामो समयसम्म मुलुकलाई बन्दि बनाएर नागरिकलाई विकास र अग्रगमनको बाटोबाट अलमलाउने कार्यमा उद्दत छ ।
विज्ञान र प्रविधिसँगै विकासको प्रतिष्पर्धामा दक्षिण एसीयाका मुलुकहरुसँग पनि कमजोर भइरहेको छ । १५ वर्ष मुलुकले विकासको सुनौलो अवसर गुमाएको छ । भौतिक संरचनाहरु गणतन्त्रका नाममा भत्काउने, नागरिकको मनोभावना भत्काउने र समाजलाई विग्रहमा पु¥याउने अवस्थाको अपजस एमाओवादीले नै लिनुपर्छ । बलियो राज्य संयन्त्र बनाएर भ्रष्टाचार नियन्त्रण गरी विकासको गतिलाई लिनुपर्ने वेलामा मिलेर बसेको समाजलाई भाँडी अझ गहिरो द्वन्द्वको भुमरीमा पु¥याएर सत्ताको स्वार्थलाई आपूर्ति गर्ने शैलीले मुलुकलाई विकासको गतिमा लैजान सक्तैन । प्रधानमन्त्री भएपछि गरिब बाबुराम चौधरीको घरमा एक छाक खाएर क्रान्ति सम्पन्न हुँदैन । त्यो चौधरी बाबुरामले सोचेको, उसले कल्पना गरेको सुनौलो विहानी, उसका भविष्यले देखेको अवसर सृजना गर्नु क्रान्ति हुन्छ । त्यो गरिब किसानले मल खोजेको छ, उसले राज्यमा अवसर खोजेको छ, गरिखाने वातावरण खोजेको छ । नकि प्रधानमन्त्री साँझ बसेर एक छाक खाएर जाओस भन्ने अभिप्राय उसमा छ । आफ्नो राजनीतिक मुद्दाका लागि गरिबको घरमा बास बस्नु प्रधानमन्त्री बाबुरामका लागि गर्वको कुरा हुन सक्छ, सफलताको कुरा हुनसक्छ । तर, त्यो गरिव किसानको अपेक्षा त्यस्तो छैन ।

No comments:

Post a Comment