Wednesday, December 5, 2012

कहिले टेकूँ आफ्नै माटो

डी. विनोद
साउदी अरबमा काम गर्ने सिलसिलामा थला परेपछि काभ्रेका केदार दियालीको उद्दारका लागि उनका भाई गोपाल दियालीले बैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा यसैसाता निवेदन दिएका छन् । मजदुरी काममा रहेका केदार मौसमका कारण त्यहाँ काम गर्न नसक्ने भएपछि वैदेशिक रोजगारीका लागि गरेको लगानी डुव्ने निश्चित भएको छ भने उपचारका लागि पनि समस्या भएको छ । गोपालले दिएको निवेदनमा उल्लेख छ,‘विरामी परेका केदारलाई तत्काल दुतावासबाट उद्दारका लागि पहल गरिदिन अनुरोध गरिन्छ ।’ बोर्डले उक्त निवेदनमाथि निगरानी राखेर परराष्ट्र मन्त्रालय पठाउने तयारी गरेको छ ।
वैदेशिक रोजगारीका लागि खाडी लगायतका मुलुकमा जाने नेपालीहरु कमको चाप, वातावरणको प्रतिकूलता र यातनाका कारण प्रताडित भइरहेका छन् । उनीहरुले सञ्चारका विभिन्न माध्यमबाट आफन्तलाई पीडा पोख्ने गरेका छन् । रोजगारीका लागि गरेको लगानी डुवेपनि आफ्नो उद्दारका लागि उनीहरुले अपिल गरिरहेका छन् । कतिपय अपिलहरुको कार्यान्वयनकै क्रममा रहँदा प्रताडितहरुले मृत्युवरण समेत गर्दछन् । सुतेकै अवस्थामा मृत्युहुनेहरु मौसमको प्रतिकुलतामा ज्यादा रहेको विभिन्न अनुसन्धानहरुले देखाएको छ । यद्यपि, उद्दारको काममा भने बोर्डले कुनै कसर बाँकी नराखेको अधिकारीहरुले बताएका छन् । कतिपय कामदारहरु वेपत्ता हुने गरेका छन् भने धेरैजना यातनाका भागीदार पनि बनेका छन् ।
कुवेतमा कार्यरत फुर्पी स्याङ्वो काम गरिरहेको समयमा वेपत्ता भएकी छन् । उनको अवस्था अज्ञात भएपनि आफन्त फुलकाजी तामाङ्ले खोजीका लागि बोर्डमा निवेदन दिएका छन् । ‘काम गरिरहेको ठाउँबाट हराएको हुँदा उनको खोजी गरि नेपाल फर्काउनका लागि निवेदन गर्दछु ।’ उनले बोर्डमा दिएको लिखित निवेदनमा उल्लेख छ । फुर्पीको अवस्थाबारे कुवेतस्थित नेपाली दुतावासलाई जानकारीका लागि पत्राचार भइसकेको छ । दुतावासले खोजीको पहल गरिरहेको छ । तर, फुर्पी नेपालको कुन ठाउँकी हुन भन्नेबारेमा भने निवेदनमा पनि प्रष्टसँग खुलाइएको छैन । यद्यपि, दुतावासले स्थानिय गैर आवासिय नेपाली संस्थाको सहयोगमा खोजी कार्य अगाडी बढाएको जनाएको छ ।
विदेशी भुमीका श्रम गर्न गएका नेपाली श्रमशक्ति विभिन्न समस्यामा पर्ने गरेका छन् । परदेशको भुमीमा कामको चाप, काम लगाउने कम्पनीले लगाएको पावन्दिका कारण समस्यामा पर्ने गरेका हुन् । कतिपय नेपाली श्रमशक्तिले काम गाह्रो भएका कारण कम्पनी छाडेर भाग्ने गरेकाले पनि समस्या भोगिरहेका छन् । ओखलढुङ्गा प्राप्चा–२ का धनबहादुर कटुवालले नेपालमा सम्झौता गरेअनुसार काम नपाउँदा साउदी अरबमा यातना भोग्नु परेको छ । शारिरीक र मानसिक यातना भोगेका उनले आफन्तलाई टेलिफोन गरी नेपाल झिकाउनका लागि पहल गरिदिन आग्रह गरे । आफन्त केदार कार्कीले उनको उद्दारका लागि बोर्डमा लिखित निवेदन दिएका छन् । ‘भनेअनुसारको कम्पनी र काम नभएपछि धनबहादुर कटुवाल पीडामा छन्, उनले यातना पाएको गुनासो गरेका छन् । उद्दारका लागि अपिल गर्दछौैं ।’ निवेदनमा भनिएको छ,‘सम्बन्धित मुलुकको दुतावास मार्फत उद्दारको प्रकृया थाल्नका लागि आग्रह गरिन्छ ।’ धनबहादुर किष्ट इम्प्लोमेन्ट सर्भिसेस म्यानपावर कम्पनी मार्फत अफिस क्लिनरको पदमा काम गर्न साउदी अरब पुगेका थिए । तर, उनलाई सम्झौता गरेको कम्पनी भन्दा अलग कम्पनीमा पु¥याएको र मालिकले यातना दिएको गुनासोपत्र समेत बोर्डमा दाखिला गरिएको छ ।
हरेक दिन बोर्डमा विभिन्न समस्याका गुनासो लिएर आउने कामदार परिवारको घुइँचो लागेको छ । ‘दैनिकजसो यस्ता निवेदन र गुनासोहरु बढ्न थालेका छन् । हामीले परराष्ट्र मार्फत सम्बन्धित दुतावासलाई पत्राचार पहल गरिरहेका छौं ।’ बोर्ड कर्मचारी अशोक गौतम भन्छन्,‘यस्ता धेरै समस्याहरु विदेशमा भोगीरहेका आधिकारीक पत्र हामीकहाँ आउने गरेका छन् । पहुँच नभएका कतिपयले गर्न नसकेको पनि हामीले सुनेका छौं ।’ रोजगारीको गतिलो आकर्षण भएर पनि वैदेशिक रोजगारीका विषयमा बढेका ठगी, यातना, समस्याका उजुरीहरु सम्बन्धित निकायमा बढ्ने गरेका छन् । वैदेशिक रोजगार विभागको उजुरी शाखामा दैनिक यस्ता उजुरीको चाङ लाग्ने गरेको छ । ‘नेपालमा भएको ठगी, विदेशमा पाएको यातना र समस्याका उजुरीहरु विभागमा ज्यादा पर्दछन्, हामीकहाँ प्रकृया पुरा गरी उद्दारका लागि अपिल भएका पत्र आउने गरेका छन् ।’ गौतमले भने,‘यी यो साता आएका निवेदनहरुका केही अंश हुन् यस्ता धेरै आवदेनहरु विभागमा परेका छन् ।’

लासको पनि भिषा

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका रोल्पाका भिमबहादुर खत्रीको शव नेपाल ल्याउन पाँच महिना लाग्यो । ०६८ चैत महिनामा मृत्यु भएका खत्रीको शव ०६९ साउनमा मात्र नेपाल आइपुग्यो । पाँच महिनासम्म उनका आफन्तले अन्मित संस्कारका लागि कुर्न प¥यो । त्यस्तै गत जेठ २ गते साउदी अरबमा मृत्यु भएका भद्रबहादुर तामाङको शव झिकाउन दुई महिना दुई दिन लागेको थियो । ‘मृत्यु भएको ६२ दिनमा मात्र उनको शव नेपाल आइपुग्यो । हामीले मृत्यु हुनासाथ प्रकृया थालेका थियौं ।’ 
मृतकका आफन्त लक्ष्मी मोक्तानले जनाइन् । त्यस्तै जेठमै मृत्वुरण गरेका कालीकोटका धर्मराज शाहीको शव नेपाल ल्याउनका लागि पनि ६५ दिन लागेको थियो । उनका आफन्तले पनि अन्तिम संस्कारका लागि त्यति दिन पर्खिनु परेको थियो ।
साउदी अरबमा मृत्युु भएका नेपाली श्रमशक्तिको शव नेपाल ल्याउन कम्तिमा ३५ दिन लाग्ने गरेको छ । सरकारी प्रकृयासहित चालीस दिनभन्दा अगाडी कुनै शव आउनसक्ने अवस्था छैन । नेपाली प्रशासनयन्त्रको कमजोरीले नभई साउदी अरबको कानुनी प्रकृयाका कारण यस्तो जटिलता हुने गरेको छ ।
वैदेशिक रोजगारीमा गएर मृतयुवरण गरेकाहरुको शवलाई नेपाल ल्याउन सहज छैन । अन्य मुलुकबाट नेपाल ल्याउनका लागि कानुनी प्रकृयामा कुनै जटिलता नभएपनि साउदी अरबमा मृत्यु भएकाहरुका लागि साउदी अरबकै कानुन जटिल बनिरहेको छ । त्यहाँको कानुन अनुसार मृत्यु भएका विदेशी कामदारको शव सम्बन्धित मुलुक झिकाउनका लागि भिषा लगाउनुपर्ने जटिलता छ, जुन अन्य मुलुकमा छैन । ‘शव झिकाउनका लागि कम्तिमा प्रकृया थालेको पाँच हप्ता लाग्छ, साउदी कानुन अनुसार शव झिकाउनका लागि पनि भिषाको आवश्यकता हुने गरेको छ ।’ वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका अधिकारी अशोक गौतम भन्छन्,‘अन्य मुलुकमा अलि झण्झटिलो छैन, साउदी अरबको यो झण्झटिलो प्रकृया हो ।’ बोर्डमा शव झिकाउनका लागि आउने परिवारलाई कम्तिमा पनि पाँच हप्ताको समय दिइने गरिएको छ । ‘अन्य मुलुकको भए चाँडो पनि हुन्छ तर साउदी अरबको हकमा भने आफन्तलाई कम्तिमा पनि पाँच हप्ताको समय दिइने गरिएको छ ।’ गोतमले भने,‘त्यहाँभन्दा चाँडो हामीले चाहेर पनि हुँदैन ।’
अन्य मुलुकमा सरकारी प्रकृया सकिएको केही सातामा मै अथवा केही दिनमा पनि शव नेपाल झिकाउन सकिन्छ । तर, साउदीमा कम्तिमा डेढ महिना लाग्ने गरेको छ । जसका कारण मृतकका आफन्तले उसको अन्तिम संसारका लागि पनि डेढ महिना पर्खिनुपर्ने वाध्यता रहेको छ ।

काममा जानेलाई टिप्स

–विभिन्न मान्यताप्राप्त संस्थाबाट सम्बन्धित मुलुकको कामका बारेमा अभिमुखिकरण तालिम लिएर मात्र जानु पर्दछ ।
–छापिएका विज्ञापनहरुको आधिकारिकताका बारेमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा जानकारी राखेर मात्र रोजगारीका लागि जानुपर्दछ ।
–भिसा र कामको सम्पूर्ण कागजात सम्बन्धि पूर्ण जानकारी पछि मात्र लागत खर्च दिनुपर्दछ । (सरकारी निकायले तोकेअनुसार त्यो भन्दा बढि दिन हुँदैन ।’
–मलेशियामा जान खोज्ने कामदारहरुले कमाइलाई सुरक्षित गर्न त्यहाँ सञ्चालन हुने विभिन्न प्रकारका चिट्ठा कार्यक्रम खेल्नु उपयुक्त हुँदैन । टोटो नाममा खेलाइने चिट्ठामा रकम लगानी गर्दा कमाई गुम्ने खतरा हुन्छ ।
–काममा पुगेको सम्बन्धित मुलुकको श्रम सम्बन्धि कानुनी व्यवस्था जानु अघि बुझ्नु उपयुक्त हुन्छ । गएपछि अलपत्र नपर्नका लागि उक्त जानकारी आवश्यक छ ।
–सम्झौता गरेअनुसारको कम्पनी, तलव र सुविधा भएन भने सम्बन्धित मुलुकमा रहेको नेपाली दुतावास वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्नुपर्दछ । विभागले स्वीकृति नदिएको म्यानपावर कम्पनीमार्फत जानु हुँदैन ।
–आफुले कारोबार गरेको म्यानपावर कम्पनी सरकारी निकायको कालोसूचीमा छ वा छैन ? दर्ता छ वा छैन भन्ने जानकारी राखे ठगीबाट बचिन्छ ।
–एजेण्टहरु मार्फत जानुभन्दा पनि सवै बुझेर इजाजतपत्र प्राप्त कम्पनीबाटमात्र कारोबार गर्दा समस्यामा पर्ने खतरा हुँदैन ।
–घरेलु कामदारमा जानेहरुले ‘केयरगिभर’ पाठ्यक्रमको अनिवार्य अध्ययन र तालिम लिन आवश्यक हुन्छ । अन्यथा समस्यामा परिने खतरा हुन्छ ।
–जाली काजगात, जाली नागरिकता र भिसाको बारेमा राम्रोसँग बुझेरमात्र जानुपर्दछ । अन्यथा समस्यामा पर्न सकिन्छ । महिलाहरुले ३० वर्ष नपुगी घरेलु कामदारका रुपमा जान हुँदैन ।
आजको शुक्रबारमा प्रकाशित विदेशको कामबारेको आलेख ।

No comments:

Post a Comment