Sunday, February 3, 2013

राज्यले विर्सिएको एउटा पुस्ता

विनोद ढकाल
नेपाली राजनीतिको जति चर्चा गरेपनि त्यसको सकारात्मक उत्तर भेट्न कठिन छ । तरपनि हरेक सवालको कारण र त्यस सवालको सहज समाधान पनि राजनीति नै हो । अर्थात्, राज्यको नीति नै हर क्षेत्रको प्रभावकारी समाधानको उपाय बन्न सक्छ । त्यसलाई कति वैज्ञानिक बनाउने भन्ने कुराचाँही प्रधान बन्न आवश्यक छ । यद्यपि, नेपाली राजनीतिले कतिपय खास र गम्भिर सवाललाई छुन सकेको छैन । बरु, यसका नकारात्मक प्रभावको कारणचाँही बनेको छ । बुटवलमा भएको किसोरी बलात्कारको कुरा होस् अथवा मुलुकका विभिन्न ठाउँबाट उठेका महिलाहिंसा सम्बन्धि सवाल । झापामा भएको सामुहिक बलात्कारको कुरा होस् अथवा ८२ बृद्धामाथि १२ वर्षिय बालकले गरेको यौनअपराधको सवाल । यो एक पुस्तालाई राजनीतिक व्यवस्थाले गरेको अवहेलनाको परिणति हो । त्यसले निम्त्याएको सामाजिक अपराध भनौं अथवा समाजमा उत्पादन भएका हिंस्रक मानसिकता ।
सहरका गल्लीमा रमाउने चियापसल अचेल जारी राजनीतिक घटनक्रमको बेलीविस्तार र आफ्ना विचार टिप्पणी समिक्षा गर्ने थलोका रुपमा विकसीत भएका छन् । मुलधारका सञ्चारगृहदेखि हरेक अखबारहरु राजनीति प्रभावित हुन थालेका छन् । समाजका अगुवाहरु सामाजिक मार्गनिर्देशकबाट विमुख हुन थालेको परिस्थितिमा किशोरकिशोरीको सवाललाई न्युन रुपमा उठाउने गरिएको । यस सवालमाथिको बहस पनि कमैमात्र हुने गरेको छ । मुलधारमा अनेक विषयहरु छन्, जसलाई परिभाषित गर्ने एउटै आधार राजनीतिमात्र हुन सक्तैन । यसका अनेकन आधारहरु छन् तर हामी राजनीतिबाट कोल्टे फेरेर अन्य विषयमा उक्लन सकेका छैनौं । र, सवै कमजोरीको ढाकछोपका लागि एउटा सभ्य समाज नै ‘राजनीतिक संक्रमणकाल’लाई कारणका रुपमा प्रस्तुत गरिरहेका छन् । नेपाली सहरीया समाज पनि अलिकति फूर्सदलाई राम्रो काममा प्रयो गर्न चहाँदैन । अथवा आझेल परेको एउटा सवालमाथि गम्भिर बहस गर्न चहाँदैन, त्यसमा तत्परता पनि देखाउँदैन । फगत, राजनीतिका टुक्काबीच एउटा पुस्तालाई वेवास्तामा परिरहेको छ । त्यो पुस्ता फरक चिन्तन र व्यवाहारमा हुर्किरहेको छ । राजनीतिक संक्रमणकालिन व्यवस्थाको प्रभाव एउटा कोणबाटमात्र परिभाषित हुन सक्तैन । यसका अनेक क्षेत्रमा असर परिरहेका हुन्छन् । फगत, अखबारका पानाहरु अहिले एमाओवादीका सकारात्मक वा नकारात्मक, आन्दोलनका कथा अथवा एमाओवादीको महाधिवेशनको चर्चा कर्ममा जुटेको हुनसक्छ । तर, एउटा यस्तो ठूलो पुस्ता छ जसले आफुलाई सहरीया जीवनमा फरक बाटोमा लम्काइरहेको छ । र, त्यो पुस्ता १० देखि २४ वर्षसम्मको उमेर समूह हो ।
स्वास्थ्यमन्त्रालयले २०१० र ११ मा गरेको एउटा अध्ययनलाई आधारमान्ने हो भने ठूलो जमात नेपाली सामाजिक आन्दोलन बाहिर नै छ । त्यो समूह जिम्मेबारीपूर्ण भुमिका बाहिर नै ‘विन्दास’ हुने गरेको छ । उनीहरुको सोचमा राजनीतिक व्यवस्था, विकासनिर्माण र सहज सामाजिक व्यवस्थापन भन्दा पनि ‘यौन’ प्रधान विषय बनेको छ । ‘डबल अफेयर’, १७ वर्षमा नै पहिलोपल्ट यौनको सुख र त्यसैमा केन्द्रित मनोविज्ञान नै जिम्मेवारीबाट अलग पार्ने विषय हुन् । जसलाई सकारात्मक रुपमा राज्यले ‘ट्रिटमेन्ट’ गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सर्वेक्षणअनुसार १० देखि २४ बर्षका उमेर समूहका किशोरकिशोरीले एकैसाथ दुईजनासँग अफेयर चलाईरहेको पाईएको थियो । १० देखि २४ बर्ष उमेर समूहका ८ हजार ९ सय ७४ घरधुरीका १४ हजार ७ सय ५४ जना किशोर किशोरीमा गरीएको सर्वेक्षणको यो नतिजाले देखाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सन् २०१० र ११ मा गरिएको सवेक्षण अनुसार १५ बर्र्ष नपुग्दै ७ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राखेका थिए । त्यस्तै नयाँ सर्वेक्षणअनुसार ७२ प्रतिशत किशोरकिशोरीले यौन सम्पर्क राख्ने गरेको, २४ प्रतिशतले व्बाईफ्रेण्ड र गर्लफ्रेण्डबीच सहवास गर्ने गरेको र ३ प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको सर्वेक्षण पछि सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
त्यस्तैगरी नेपालमा ६३ प्रतिशत किशोरकिशोरी तथा युवाहरुले हस्तमैथुन गर्ने गर्दछन् । किशोरकिशोरी तथा युवा मध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पति मध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेका तथ्यांकले देखाएको छ । किशोरकिशोरी तथा युवा सवेक्षणले ग्रामिण भेगका १० देखि १४ वर्ष उमेरका दोब्बर केटीहरुले त्यही उमेरका केटाभन्दा इन्टरनेटमार्फत अश्लील सामग्री हेर्ने र पढ्ने देखाएको थियो ।
यी उदाहरण एउटा सरल उमेरसमुहको होइन । यहि समय जसले राज्यमा नैतिकशिक्षा, समाजिक विकासको असली शिक्षा र राजनीतिक मार्गनिर्देशन कायम हुन्छ । तर, पछिल्ला समयमा सहर उत्तरआधुनिकताका नाममा फरक ढंगबाट अघि बढिरहेपनि राज्यको मुलधारबाट यी विषयमा न बहस गर्न सकेको छ न कुनै खास कार्यक्रम गर्न नै । यो सर्वेक्षणको नतिजा पढ्दा रमाइलो, हाँस्यास्पद अनि एकक्षण टिप्पणीको सवाल बन्यो । तर, यसरी बढेको नयाँ पुस्ताको जिम्मेवारी, उसलाई दिने मार्गदर्शन र यसै यात्राबाट उत्पादीत भोलीको ठोस पुस्ताको विषयमाचाँही अध्ययन र गहन विश्लेषण हुन सकेको छैन । सर्वेक्षणबाट नतिजा आयो तर यसको विश्लेषण गरी समाजको सभ्य चित्र कोर्नका लागि राज्यले कस्तो नीति अख्तियार गर्नुपर्दछ ? कस्तो शिक्षा प्रणाली अपनाउनुपर्दछ अथवा सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न अभियन्ताहरुको भुमिका, राजनीतिक दलको भुमिका र नेपाली समाजको आगामी परिदृश्य कस्तो बन्नुपर्ला ? भन्ने विषयमा सामान्य बहससम्म हुन सकेन ।
राजनीतिमा कमजोरीका रुपमा रहेको पुस्तान्तरणको अवस्था हरेक घरमा कायम छ । पुस्तान्तरण अधिकार प्राप्तिको सवालमात्र पनि होइन, यो त जिम्मेवारी बोध गराउने एउटा अवसर पनि हो । आजको पुस्तालाई जिम्मेवारी बोध गराउने व्यवस्था, अवस्था वा अवसर नदिनाले पनि नेपाली राजनीतिबाट उनीहरु भागीरहेका छ्रैनन्, राजनीतिले प्रभाव पार्ने अनेक क्षेत्रको सुक्ष्म जानकारीबाट पनि अलग भइरहेका छन् । खास अर्थमा भन्ने हो भने राज्य र नयाँ पुस्ताको ‘सम्बन्ध विच्छेद’को परिस्थिति बनेको छ । नेपाली समाज राजनीतिक रुपमा मात्र बढि चिन्तित भएको पाइन्छ । सामाजिक रुपमा त्यति गहन चिन्तित भएको छैन ।
जवसम्म राजनीतिक व्यवस्था सवै जनताका लागि समान हुने र चिन्तित हुने प्रकृतिले बढ्दैन त्यसबेलासम्म एउटा ठूलो जनसंख्या सामाजिक रुपमा पनि फरक दृष्टान्तबाट अभिप्रेरित हुन्छ । आधुनिकताको सवालमा उर्लिएको यो नयाँ पुस्ता सामाजिक सञ्जालमा मात्र रमाइरहेको छैन, समाजलाई उत्तरआधुनिक बनाउने धुनमा मन्द गतिमा फरक धारबाट हुर्किन छाड्ने छैन । नियन्त्रण र नियमबन विना नै हुर्किएको नयाँ पुस्तालाई समयमा नै जिम्मेवारीको लगामबाट नकस्ने हो भने भविष्य कस्तो बन्नेछ ? भन्ने एउटा गहन प्रश्नचाँही अवश्य खडा हुनेछ । यसकारण राज्य, राजनीतिक दल, सामाजिक अभियन्ता अथवा राज्यसँग प्रत्यक्ष र परोक्षरुपमा जोडिएका हरेक क्षेत्रले किशोरकिशोरीको सवाल, उनीहरुको समस्याको पहिचान र जिम्मेवारीताको बोध गराउने पक्षमा वकालत गर्न आवश्यक देखिन्छ । जसले गर्दा उनीहरु सामाजिकरुपमा नै मुलुक निर्माणको मनोविज्ञानबाटमात्र हुर्किन सकुन् ।

No comments:

Post a Comment