विनोद ढकाल
राष्ट्रपति रामवरण यादवले स्वतन्त्र व्यक्ति सहित ३३ दललाई छलफलका लागि बोलाएका थिए । देशले निकास दिनका लागि स्वतन्त्र व्यक्तिको चुनावमा सरकार बनाउने हल्ला चलेपछि उनले यसरी सवैलाई बोलाएका थिए । साथमा कानुनका ज्ञाता केदारनाथ उपाध्याय, नागरिक समाजका अगुवा दमननाथ ढुंगाना लगायत ठूला र साना दलका सवै प्रतिनिध सहभागी थिए । राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि नाम प्रस्ताव गरे–‘अव नयाँ प्रधानमन्त्रीमा केदारनाथ जीलाई स्वीकार गरेर जाऔं । सवैको सहमति हुनसक्छ ।’ राष्ट्रपतिको यस्तो प्रस्ताव सुनेपछि ३३ दलकै नेताहरुले त्यो प्रस्ताव स्वीकार गर्न नसकिने बताए । शितलनिवासमा सोबारेमा लामो बहस र विवाद पनि भएको थियो । हल्लायतिविध्न भयो की कसले के बोले भन्नेबारेमा निक्र्यौल गर्न असहज भयो । त्यसबीचमा सवै राजनीतिक दलका प्रतिनिधिमाझ दमननाथ ढुंगानाले भने,‘कति तपाइहरुमात्र देश लुट्ने, हामीलाई पनि लुट्न दिनुस् न ।’
उल्लिखित हरफ कुनै यथार्थ विवरणचाँही होइन । वास्तवमा यस्तो भएको थियो या थिएन यो पनि बजारमा आउन सकेको छैन । तर, उल्लिखत हरफ सत्तागठबन्धनमा रहेको जनतादल युनाइटेडका निमित्त अध्यक्ष किरणकुमार मगरको बुधबार रातीको स्वप्न दृश्य थियो । उनी आफ्नो सपनाबारे खुलेर भन्दैथिए,‘राजनीतिको भुत अव सपनामा पनि आउन थाल्यो । स्वतन्त्र व्यक्तिको नामका बारेमा बहस हुनथालेपछि यस्तो सपना आयो । आफैं छक्क परें म ।’ हुन पनि प्रधानमन्त्री कार्यालय सिंहदरबार, निवास बालुवाटार र एकदई पटक शितलनिवास टेकेका मगरका सपनापनि त्यतै वरिपरि विभिन्न प्रकारले घुमिरहेका छन् । तर, मुलुकले निकास पाउने प्रकारको सपनापनि उनले पाएका छैनन्, यथार्थ त उनको सपना भन्दापनि भयावह छ । निर्दलीय व्यवस्थामा जान लागेको मुलुकको संकट कसरी निम्तिने हो त्योचाँही थाहा भएन तर मगरको सपनाजस्तो गञ्जागोल राजनीतिको बारेमा घटनाप्रधान चर्चा अव वाक्कलाग्दो भइसकेको छ । यद्यपि, मुलुकको समस्याको समाधानको उत्तम विकल्प राजनीतिक दलको राज्यसत्ता नै हो, त्यसको विकल्प खोज्दा मुलुक संकटमा पर्नसक्ने अनेक खतराहरु आउन सक्छन् ।
अहिले राजनीतिक दलहरु प्रधानन्यायाधिशको नेतृत्वमा नयाँ सरकार गठन गरी चुनावमा जाने जुन बेतुकको कुरामाथि छलफल गरिरहेका छन् त्यो आफ्नो पोष्टमा आत्मघाती गोल गर्नु, बञ्चराले मुढाको साटो घुँडामा हान्नुभन्दा फरक देखिँदैन । यहाँनेर हिन्दुधर्मग्रन्थमा उल्लेख गरिएको दृष्टान्त उपयुक्त हुनसक्छ । भगवान महादेवले खरानी घस्नका लागि भस्मासुर भन्ने एक असुरको जन्म गराएका थिए । टाउकोमाथि हात राखेर जसलाईपनि भस्म बनाउनसक्ने बरदानको शक्ति दिएर भस्मासुरलाई महादेवले खटाएका थिए । भस्मासुरले केही समय त महादेवको सेवा गरेको थियो तर उसको मनमा आफु बहुशक्तिशाली भएको कुरो पलायो । असुरहरुले उसलाई उचाले । र, उसले महादेवलाई नै भस्म बनाउने योजना बनायो । त्यसपछि महादेव भाग्नुको विकल्प थिएन, उनी विष्णुको शरणमा पुगेर ज्यान जोगाउन अपिल गरे । अहिले दलहरुको चरित्र यो उदाहरणभन्दा फरक छैन । न्यायपालिका र कार्यपालिकामात्र जीवित भएको मुलुकमा दुवै अधिकार एकै व्यक्तिलाई दिँदा ऊ भस्मासुरभन्दा फरक हुन नसक्ला । जसले दलहरु नै संकटमा पुग्ने अवस्थापनि आउनसक्छ र निर्दलीय व्यवस्था हावी हुन सक्छ । हिजो निर्दलीय व्यवस्थाबाट पार लगाउनका लागि जुन आन्दोलनको जगमा बहुदलीय व्यवस्थामा हामी आइपुगेका छौं, त्यसको हत्या गर्नु जनआन्दोलन, जनताको चाहनाको अपमान गर्नु हो । त्यसकारण दलहरु यो अपमानको काममा लागेका छन्– राजनीतिको फाहोरी खेल, चाल र षडयन्त्रमा । यसले उदाउँदो नयाँ पुस्ताको चाहनालाई कुल्चिएकोमात्र छैन, अपमान पनि गरेको छ ।
हामी राजनीतिमा पुस्तान्तरणको अवस्थामा नपुगेका कारणले संक्रमणकालिन अवस्थाका नाममा दलगत स्वार्थको कुटील षडयन्त्रको मारमा परेका छौं । जसले लोकतन्त्र सखाप बनाउने ठूलो चाल चलिरहेका छन् । यो चाललाई रोक्न, चुनौति दिन र सत्ताशक्तिलाई हस्तान्तरणका बाध्यकारी बनाउनका लागि युवाशक्तिको सक्रियताविना असम्भव देखिन्छ । त्यसकारण अव युवाशक्ति मुलधारको राजनीतिलाई प्रभाव पार्नेगरी उदाउन आवश्यक देखिएको छ ।
चीन, जापान र अमेरिकाको विकास इतिहाँसमा युवाशक्तिको ठूलो योगदान रहेको छ । जसका कारण आज उनीहरु विश्वका ठूला अर्थतन्त्र भएका बलिया मुलुकका रुपमा गनिएका छन् । नेपालमा पनि नयाँ पुस्ताको राजनीतिक मुलधारको प्रवेशविनाको विकास कल्पना गर्न सकिँदैन । राजनीतिक लाइनबाटमात्रै उक्त समस्याको समाधान खोज्न सकिन्छ । नयाँपुस्ताले आफ्ना असली युवा नेता छान्ने प्रकृयामा कुनै गल्ती गर्न हुँदैन । युवा नेतृत्वको कुरा गरिरहँदा जुझारु युवादस्ताका रुपमा उदाएको नेकपा एमालेको भ्रातृ संगठन
युवा संघ नेपालको आसन्न आठौं महाधिवेशन सुरु हुन लागेको छ । उक्त महाधिवेशनबाट पनि मुलुक परिवर्तनका एजेण्डाबारे हामी आशा गर्न सक्नेछौं । यसक्रममा युवा संघले ल्याएको उत्पादन, सहकारी, रोजगारी, व्यावसायमा सहभागीतका सवाल राष्ट्रिय राजनीतिका मुर्धन्य दलहरुको नीतिकार्यक्रम भन्दापनि वैज्ञानिक देखिन्छ, जसलाई युवासंघ महासचिव निरज आचार्यले कोरेका थिए । यसले गर्दा वैचारिक रुपमा भोलीका सवल नेताका रुपमा उनलाई लिन थालिएको छ । उनका सवै प्रस्ताव विना संशोधन समर्थनमा आउनुले पनि यसको पुष्ट्याँई गरेको छ । तर, वैचारिक रुपमा आचार्य जुन ढंगबाट युवामाझ छाइरहेका छन् यो कुरालाई नजरअन्दाज गर्दा आम युवाको सहानुभुतिबाट एमाले पाखा लाग्दै जानेछ । एमालेले उनको युवा विचारलाई राष्ट्रिय आवश्यकताका आधारमा संस्थागत गर्नुपर्दछ ।
राष्ट्रिय राजनीतिमा आफुलाई विचारको प्रवाह गर्ने घमण्डमा एमाले नेतृत्वले युवाशक्तिको हर्कतलाई जसरी बचाउ गर्ने प्रयत्न गरेको थियो, त्यो इतिहाँस कसैबाट लुकेको छैन । पत्रकार खिलानाथ ढकालकाण्डदेखि विग्रिएको युवा संघको छवी उही नेतृत्वको निरन्तरतामा कदापी राम्रो हुन सक्तैन, त्यसका लागि पनि युवा संघले नेतृत्व परिवर्तनको मुद्दालाई व्यापक बनाउन जरुरी छ र नयाँ अनुहारलाई नेताका रुपमा स्थापित गर्न आवश्यक छ । युवा संघमा रहेर पुस्तान्तरणको नीतिलाई कागजी रुपमामात्र उतार्ने भन्दापनि व्यवाहारिक रुपमा उतारी नयाँ राजनीतिक दिशामा दवावमुलक उपस्थिति राख्न सके युवा संघको भविष्य बलियो देखिन्छ । जसले अलमलमा रहेको मुलधारको राजनीतिलाई ट्रयाकमा स्थापित गराउनका लागि आफ्नो भुमिका खेल्नसक्नेछ ।
हरेक परिवर्तनमा युवाको भुमिका प्राथमिक भएपनि नेपाली युवाशक्तिको अहिलेको अवस्था प्रशंशामय चाँही छैन । प्रत्येक दिन रोजगारीको खोजीमा एक हजार सात सयजना युवा विदेशिएको अवस्थालाई सकारात्मक रुपमा लिन सकिदैन । युवाको सहज व्यवस्थापन हुन नसकेका कारण उक्त संख्या अहिले विदेशिन बाध्य भएको हो । कम्तिमा नेपालका ५० लाख युवाशक्ति अहिले मुुलुकबाहिर रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
राजनीतिक दलहरुले युवाको आफ्नै परिभाषा गरेका छन् । उनीहरुले आफ्ना युवा संगठनका लागि तय गरेको उमेर समूह पनि फरक–फरक छन् । नेकपा एमाले युवासङ्घमा १६–४० वर्ष, एकीकृत नेकपा माओवादीको योङ्ग कम्युनिस्ट लीग, नेपालको १६–४० वर्ष र नेपाली कांग्रेसको तरुण दलको १६–४५ वर्ष उमेर समूहकालाई युवा भनिएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद, साङ्गीतिक, वित्तीय उत्पादन तथा श्रमका क्षेत्रमा युवाहरू नै परिवर्तनका संवाहकका रूपमा देखिएका पनि छन् । आर्थिक उत्पादन तथा श्रमका लागि युवा पाखुरी, सीप तथा मस्तिष्क अपरिहार्य छ । सामाजिक, सांस्कृतिक क्रियाकलापहरू युवाको अनुपस्थितिमा अपूरो होइन असम्भव नै हुन्छ । हरेक आन्दोलनमा युवाको भुमिकालाई परिभाषित गर्दा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन ०६२÷६३ को जनआन्दोलन नियाल्नु अनिवार्य हुन्छ । उक्त जनआन्दोलनमामात्र १८ जना युवाले सहादत प्राप्त गरेका थिए । २१ जना प्रत्यक्ष रुपमा मारिँदा युवाहरु १८ जना मारिएका थिए जुन प्रतिशतकै आधारमा पनि ८६ प्रतिशत देखिन्छ । यो राजनीतिक परिवर्तन बाहेक आर्थिक क्षेत्रमा पनि युवाको भुमिका उत्तिकै बलियो देखिएको छ ।
मुलधारको राजनीति स्थापित गराउनका लागि युवाको भुमिका जुन प्रकारले सक्रिय देखिएको छ, अहिलेको संक्रमणकालिन राजनीतिलाई व्यवस्थापन गर्ने हिम्मत पनि युवा नेताले राख्नेछन् । युवा संघको आसन्न महाधिवेशनले त्यो एजेण्डा बोेकेर मुलुकभरका युवालाई राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी नीति अवलम्बन गराउन सक्दछ । आचार्यले प्रस्तुत गरेको प्रस्तावका आधारमापनि राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सकिने अवस्था छ । त्यसकारण तत्कालै सवै राजनीतिक दलभित्र हस्तक्षेप गर्ने भन्दापनि दलको आन्तरिक नीतिमा प्रभाव पार्न सकिन्छ । जुन शिक्षालाई अन्य दलका युवा संगठनहरुले पनि अवलम्बन गर्दा अलमलमा रहेको मुलधारको राजनीति लोकतान्त्रिक गणतन्त्र, जनताको जनमत र आकांक्षा अनुरुप चल्नसक्ने आधार देखिन्छ । अन्यथा मुलुकको दशा मगरको सपना, महादेवको कथाभन्दा फरक हुँदैन ।
यो हिमालय टाइम्स दैनिकमा छापिएको लेख हो ।
No comments:
Post a Comment